शुक्रबार, १२ भदौ २०८३

/frontend/images/redline.png
https://jawaaf.com/storage/01J217NM8V4DNE68MF8MP5VJK4.jpg

एकीकृत समाजवादीको ९३ सदस्यीय केन्द्रीय कमिटी घोषणा

काठमाडौ, २१ असार I नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)को दशौँ राष्ट्रिय महाधिवेशनले ९३ सदस्यीय केन्द्रीय कमिटी घोषणा गरिएको छ । 

यही असार १६ गतेदेखि जारी महाधिवेशनको छैटौँ दिन आज महाधिवेशन अध्यक्ष मण्डलका अध्यक्ष झलनाथ खनालले माधवकुमार नेपालको अध्यक्षतामा सम्मानित नेता झलनाथ खनाल र महासचिव घनश्याम भुसालसहित ९३ जनाको केन्द्रीय कमिटी घोषणा गर्नुभएको हो । 

अध्यक्ष मण्डलका सदस्य राजेन्द्र पाण्डेले १० दिनभित्र बाँकी केन्द्रीय सदस्यको नाम सार्वजनिक गरिने जानकारी दिनुभयो ।

प्रकाशित मितिः शुक्रबार, २१ असार २०८१
https://jawaaf.com/storage/01J216ZFA79HFTV9QBBN84EH74.jpg

प्रधानमन्त्रीले शुक्रबार विश्वासको मत लिने

काठमाडौँ, २१ असार I प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले यही असार २८ गते शुक्रबार प्रतिनिधिसभामा विश्वासको मत लिने व्यवस्थाका लागि संसद् सचिवालयलाई पत्राचार गर्नुभएको छ ।

प्रधानमन्त्री दाहालले सङ्घीय संसद्का महासचिवलाई आज एक पत्र पठाएर उक्त दिन विश्वासको मतका लागि प्रतिनिधिसभासमक्ष प्रस्ताव राख्नुपर्ने भएकाले आवश्यक व्यवस्था मिलाउन अनुरोध गर्नुभएको हो । 

“मेरो नेतृत्वमा संवत् २०७९ पुस ११ गते गठित सरकारमा सहभागी दलहरुमध्ये एक दलले आफ्नो समर्थन फिर्ता लिएको हुँदा नेपालको संविधानको धारा १०० को उपधारा (२) बमोजिम ३० दिनभित्र प्रधानमन्त्रीले विश्वासको मतका लागि प्रतिनिधिसभासमक्ष प्रस्ताव राख्नुपर्ने प्रावधान भए अनुरुप उक्त विषय संवत् २०८१ साल असार २८ गतेको प्रतिनिधिसभा बैठकको कार्यसूचीमा समावेश गर्ने व्यवस्थाका लागि अनुरोध छ”, प्रधानमन्त्रीले लेख्नुभएको पत्रमा भनिएको छ ।

प्रकाशित मितिः शुक्रबार, २१ असार २०८१
https://jawaaf.com/storage/01J212TAZ3APJ5EDHRP8CT6GGZ.jpg

कुश्मा–ज्ञादी झोलुङ्गे पुल जीर्ण, सवारी सञ्चालनमा रोक

पर्वत, २१ असार I जिल्लाको सबैभन्दा पहिलो, अग्लो र लामो कुश्मा–ज्ञादी झोलुङ्गे पुलमा सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ । डेढ दशकअघि निर्माण गरिएको उक्त पुल मर्मत नहुँदा जीर्ण बन्दै गएपछि सवारीसाधन सञ्चालनमा रोक लगाइएको हो ।     
     
पुलबाट यात्रा गर्दा जोखिम निम्तिन सक्ने खतरा बढेकाले मोटरसाइकल, स्कुटरलगायत दुई पाङ्ग्रे सवारीसाधन सञ्चालन गर्न रोक लगाइएको प्रमुख जिल्ला अधिकारी केदारनाथ शर्माले बताउनुभयो । विसं २०६६ मा निर्मित कुश्मा–ज्ञादी झोलुङ्गे पुल अहिलेसम्म मर्मत हुन सकेको छैन ।     
     
मानिस पैदलयात्रा गर्ने पुलमा एकैपटक दर्जनौँ मोटरसाइकल गुडाउँदा दुर्घटनाको जोखिम भएपछि जिल्ला विपद् व्यवस्थापन समितिले सहरी विकास मन्त्रालयअन्तर्गत सस्पेन्सन ब्रिज डिभिजनसँग परामर्श गरी अर्को सूचना जारी नहुँदासम्म दुई पाङ्ग्रे सवारीसाधन सञ्चालनमा पूर्णरुपमा रोक लगाइएको उहाँले जानकारी दिनुभयो ।     
     
तीन सय ४४ मिटर लामो र एक सय ३५ मिटर उचाइको उक्त पुलले पर्वतको कुश्मा नगरपालिकाका कटुवाचौपारी, पिपलटारी, पकुवा, ठूलीपोखरी, खौलालाकुरी, आर्थरडाँडाखर्क, फलेवास, महाशिला, विहादी र पैंयुँ गाउँपालिकालाई सदरमुकाम कुश्मा बजारसँग जोडेको छ ।     
     
कुश्मा–५ बाट कुश्मा–९ कटुवाचौपारी जोड्ने यो पुल हुँदै दैनिक सयाँैैको सङ्ख्यामा मोटरसाइकल र स्कुटर सञ्चालन हुँदै आएका थिए । सवारी प्रयोगकर्ताले छोटो मार्गका रुपमा जोखिमपूर्ण तरिकाले पुलबाट सवारी वारपार गर्दै आएका छन् । यसले पैदलयात्रीलाई समेत समस्या पर्दै आएको भन्दै गत आइतबारदेखि पूर्णरुपमा सवारी आवागमन बन्द गरिएको हो ।     
     
केही दिनअघि कर्णाली प्रदेशमा भएको खच्चर दुर्घटनाको नियति पर्वतमा नदोहोरियोस् भनेर पुलबाट सवारीसाधन वारपार गर्न रोक लगाइएको प्रजिअ शर्माले बताउनुभयो । “जिल्ला विपद् व्यवस्थापन समितिको बैठकले पुलको प्राविधिक नापजाँच नगरिकन सवारीसाधन सञ्चालन नगर्ने÷नगराउने निर्णय गरेपछि हाललाई उक्त पुल भएर सवारीसाधन नचलाउन स्थानीयलाई अनुरोध गरेका छौँ”, उहाँले भन्नुभयो ।     
     
सस्पेन्सन ब्रिज डिभिजनको प्राविधिक टोली आगामी साउन अन्तिम सातामात्र पुल मर्मत र चेकजाँचका लागि आउने जानकारी आएको प्रजिअ शर्माले बताउनुभयो । डिभिजनले पत्र पठाएर कुश्मा–ज्ञादी झोलुङ्गे पुलमा मात्र नभई कुनै पनि झोलुङ्गे पुलबाट मोटरसाइकल, स्कुटरलगायतका सवारीसाधन सञ्चालन गर्न नहुने जनाएको उहाँको भनाइ छ ।     
     
पुल निर्माण भएको डेढ दशक पुगिसकेको छ । पुलका लट्ठा, दुवै छेउका बार, डेक उप्कने, नोटबोल्टु खुकुलो हुने समस्या देखिन थालेका छन् । यो पुल निर्माणपछि मोदीखोलाको किनारमा पुगेर डाँडामा आउन लाग्ने एक घण्टाको बाटो छोटिएर तीन मिनेटमा सीमित बनेको थियो । यो पुलपछि सदरमुकाम कुश्मामा थप चार वटा अग्ला र लामा झोलुङ्गे पुल निर्माण भएका छन् । ती पुलबाट भने दुईपाङ्ग्रे सवारी साधन निर्वाधरुपमा सञ्चालन हुँदै आएका छन् ।     

प्रकाशित मितिः शुक्रबार, २१ असार २०८१
https://jawaaf.com/storage/01J20WX9V5EQR3RTWZ42F7WWY9.jpg

निःशुल्क शिक्षाका लागि थप बजेट विनियोजन गर्न मन्त्री श्रेष्ठको आग्रह

काठमाडौँ, २१ असार I शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले विद्यालय शिक्षालाई निःशुल्क र गुणस्तरीय बनाउन सरकारले बजेट थप गर्नुपर्ने बताउनुभएको छ । राष्ट्रियसभाको आजको बैठकमा ‘विनियोजन विधेयक, २०८१’ माथिको छलफलमा उठेका प्रश्नको जवाफ दिँदै मन्त्री श्रेष्ठले शिक्षाका ऐन, नियम र निर्देशिकाको पालनाका लागि अनिवार्य दायित्वका रुपमा बजेट विनियोजन हुन आवश्यक रहेको औँल्याउनुभएको हो । शिक्षाका लागि अतिरिक्त बजेट कसरी निर्धारण गर्ने भनेर सोच्नुपर्नेमा जोड दिँदै उहाँले गुणस्तरीय शिक्षाका लागि शैक्षिक गुणस्तर परीक्षण केन्द्रबाट अध्ययन र अनुसन्धान गरेर निचोड निकाल्नुपर्ने जनाउँदै उहाँले विद्यालय शिक्षालाई गुणस्तरीय र राजनीतिक हस्तक्षेपबाट मुक्त राख्न ‘शिक्षक सरुवासम्बन्धी निर्देशिका २०८१’ जारी गरिएको स्पष्ट गर्नुभयो ।     
     
“शिक्षण पेसा भनेको जागिरको विषय होइन, दायित्व हो । उनीहरु जतिबेला पनि विद्यार्थीको सिकाइमा केन्द्रित हुनुपर्छ”, मन्त्री श्रेष्ठले भन्नुभयो, “त्यसैले शिक्षकलाई कुनै पनि राजनीतिक दलको जिम्मेवारी र सदस्यमा राख्नुहुन्न । यसका लागि म सबै राजनीतिक दलको सहयोगको अपेक्षा गर्दछु ।”     
     
मन्त्री श्रेष्ठले शिक्षक ‘पोर्टल’ निर्माणगरी एकीकृत तथ्याङ्क तयार गर्ने र सरुवालाई वैज्ञानिक बनाउन उक्त पोर्टल सहयोगी हुने बताउनुभयो । उहाँले ‘साथीसँग सिकाइ’ कार्यक्रमका साथै एक हजार विद्यार्थीलाई प्रशिक्षण दिएर हरेक पालिकामा पठाउने जानकारी दिनुभयो ।     
     
मन्त्री श्रेष्ठले शैक्षिक परामर्श केन्द्र र विदेशी सम्बन्धनमा सञ्चालित कलेजहरुको दर्ता, नवीकरण र अनुगमनका लागि विगतमा काम नभएको पाइएकाले अहिले अनुगमन सुरु गरिएको पनि स्पष्ट गर्नुभयो । यसैगरी मन्त्री श्रेष्ठले प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्को पुनःसंरचाका लागि प्रक्रिया सुरु भएको जानकारी दिँदै विद्यार्थीले ‘सिक्दासिक्दै कमाउने’ र ‘कमाउँदाकमाउँदै’ शैक्षिक प्रमाणपत्र पाउने अवस्था ल्याउन काम गरिएको र त्यसका लागि अतिरिक्त बजेट आवश्यक नपर्ने स्पष्ट गर्नुभयो । 

प्रकाशित मितिः शुक्रबार, २१ असार २०८१
https://jawaaf.com/storage/01J20TF34RHQB5GS72V09ZM7FS.jpg

लेबर पार्टीको फराकिलो जीत, स्टार्मर नयाँ प्रधानमन्त्री बन्ने

लन्डन, २१ असार  I किअर स्टार्मरको नेतृत्वमा रहेको लेबर पार्टीले बेलायती संसद्को तल्लो सदनमा स्पष्ट बहुमतसहित विजय प्राप्त गरेको छ ।  संसद्को ६५० सिटमध्ये ४६७ सिट घोषणा हुँदा लेबर पार्टीले ३२६ सिट जितेको स्काइ न्युजले शुक्रबार बिहान जनाएको छ ।

कुनै पनि मिडिया आउटलेटले ३२६  सिटको सीमा पुगेको घोषणा गर्नु अघि नै बेलायती प्रधानमन्त्री ऋषि सुनकले आम निर्वाचनमा हार भएको स्वीकार गर्नुभएको थियो ।  

बीबीसी, आइटीवी, र स्काई न्यूजले गरेको एक्जिट पोलले केही घण्टा अघि लेबरले ४१० सिटको शानदार जित हासिल गर्ने अनुमान गरेका थिए भने कन्जरभेटिभका लागि सिटको सङ्ख्या १३१ मा कायम हुने अनुमान गरिएको थियो ।  

“लेबर पार्टीले यो आम चुनाव जितेको बताउँदै नेता स्टार्मरलाई जीतका लागि बधाई दिएको सुनकले उल्लेख गर्नुभएको छ ।  

बेलायती जनताले  गम्भीर फैसला दिएको तथा त्यहाँ सिक्नुपर्ने धेरै कुरा भएको बताउँदै उहाँले हानिको जिम्मेवारी लिने उल्लेख गर्नुभएको छ ।  

प्रधानमन्त्री सुनकले राजा चाल्र्स तृतीयलाई भेटी चाँडै आफ्नो राजीनामा घोषणा गर्ने अपेक्षा गरिएको छ । यसले स्टार्मरललाई बेलायतको नयाँ प्रधानमन्त्रीको पदभार ग्रहण गर्ने मार्ग प्रशस्त गर्नेछ । 

स्टार्मरले लेबर पार्टीको बहुमत पुष्टि भएपछि मध्य लन्डनमा  जनतालार्ई सम्बोधन  गर्दै भन्नुभयो, “हामीले जित्यौँ । तपाईँले यसका लागि अभियान चलाउनुभयो, सङ्घर्ष गर्नुभयो, र जितको अवस्था आइपुगेकोले परिवर्तनको अनुभूति छिट्टै हुनेछ ।”  

उहाँले भन्नुभयो, “बेलायती जनताले लेबर पार्टी र यसको नेतृत्वलाई विस्वास गरेका छन् र हामी उनीहरूको हितको लागि काम गर्न सक्छौँ ।” नेता स्टार्मरले लेबरको जीतमा योगदान गर्ने सम्पूर्ण नेता, कार्यकर्ता, शुभचिन्तकलगायत मतदाताप्रति आभार प्रकट गर्नुभएको छ ।(रासस/एजेन्सी)

प्रकाशित मितिः शुक्रबार, २१ असार २०८१
https://jawaaf.com/storage/01J20PH5CP5HWZBJTNGZ6KRSEK.jpg

सुनको मूल्य तोलामा रु एक सयले वृद्धि

काठमाडौँ, २१ असार I स्थानीय बजारमा सुनको मूल्यमा सामान्य वृद्धि भएको छ । आज सुन तोलामा रु एक सयले वृद्धि भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार, छापावाला सुन प्रतितोला रु एक सयले वृद्धि भएको हो । बिहीबार प्रतितोला रु एक लाख ४४ हजार तीन सयमा कारोबार भएको छापावाला सुन आजका लागि भने रु एक लाख ४४ हजार चार सय निर्धारण भएको छ ।

तेजाबी सुन बिहीबार प्रतितोला रु एक लाख ४३ हजार छ सयमा कारोबार भएकामा आजका लागि रु एक लाख ४३ हजार सात सय निर्धारण भएको छ ।

चाँदीको मूल्य बिहीबार प्रतितोला रु एक हजार आठ सय ६५ मा कारोबार भएकामा आजका लागि भने रु एक हजार आठ सय ७० निर्धारण भएको छ । 

प्रकाशित मितिः शुक्रबार, २१ असार २०८१
https://jawaaf.com/storage/01J20NGDG5HXTHVNWCDV2NNMK6.jpg

कुटपिटबाट एकको मृत्यु, तीनजना घाइते

पाँचथर, २१ असार I अज्ञात व्यक्तिहरूको कुटपिटबाट पाँचथरमा एकजनाको मृत्यु भएको छ भने तीनजना घाइते भएका छन् । फिदिम नगरपालिका–१४ आहालका ३७ वर्षीय दिनेशकुमार राईको कुटपिटबाट मृत्यु भएको  जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

गए राति गाउँकै धनकुमार राईको घरमा राखिएको चिन्ता ९धामी÷झाँक्री० हेर्न गएका  दिनेशसहित पर्शु राई, ध्रुव राई र पुस्कर विकमाथि १५–२० जनाको समूहमा आएका व्यक्तिले कुटपिट गरेका थिए । घाइते भएका चारै जनालाई उपचारका लागि जिल्ला अस्पताल फिदिम ल्याइएको थियो । उपचारका क्रममा दिनेशको आज बिहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी बिनालाल साह तेलीले जानकारी दिनुभयो ।

घाइतेमध्ये धुव्र र पुस्कर विक सामान्य उपचारपछि अस्पतालबाट ‘डिस्चार्ज’ भएका छन् । कुटपिटमा संलग्न व्यक्तिको पहिचान हुन बाँकी रहेको प्रहरीले जनाएको छ । घटनामा संलग्नको खोजीका लागि प्रहरी निरीक्षकको नेतृत्वमा प्रहरी चौकी रानीटार र पौवासारतापबाट टोली परिचालन भएको जनाइएको छ ।  

प्रकाशित मितिः शुक्रबार, २१ असार २०८१
https://jawaaf.com/storage/01J20MGV32565DZFC5ZHHPCTPV.jpg

सुनसरीमा आँप उत्पादन घट्यो

धरान (सुनसरी), २१ असार I जिल्लामा यस वर्ष आँपको उत्पादनमा कमी आउँदा मूल्य बढेको छ । हुरीबतास र कीराले क्षति पुर्याएको कारण गत वर्षका तुलनामा यस वर्ष आँपको उत्पादनमा कमी आएको जिल्ला कृषि ज्ञान केन्द्रका सूचना अधिकृत प्रविनलाल श्रेष्ठले जानकारी दिनुभयो ।     
     
 उहाँले भन्नुभयो, “ कीराको जोखिम र हुरीबतासका कारण गत वर्षभन्दा यस वर्ष उत्पादन कम भएको हो । उत्पादन कम भएसँगै मूल्यवृद्धि भएको छ । खुद्रा प्रतिकेजी रु ५५ सम्ममा बिक्री हुने आँप अहिले प्रतिकेजी रु ८० देखि १०० सम्ममा बिक्री हुने गरेको छ ।” गत वर्ष प्रतिकिलो रु ५० भन्दा कममै आँप बिक्री भएको उहाँले बताउनुभयो ।     
     
केन्द्रका अनुसार जिल्लामा यस वर्ष एक हजार एक सय २४ हेक्टर क्षेत्रफलमा सात हजार एक सय ८६ मेट्रिक टन आँप उत्पादन भएको छ । गत वर्ष एक हजार एक सय २४ हेक्टरमा सात हजार पाँच सय ६५ मेट्रिक टन उत्पादन भएको थियो ।     
     
जिल्लाको इनरुवा, नसिङ, हरिनगरा, बक्लौरी, गौतमपुर, प्रकाशपुर, भोक्राहालगायत ठाउँ आँप ‘पकेट’ क्षेत्र हुन् । अहिले बजारमा माल्दा, आम्रपाली, कलकत्तिया, बम्बई, कृष्णभोगलगायत आँप बिक्री हुने गरेको छ । जिल्लामा व्यावसायिक रूपमा किसानले आँपखेती नगरे पनि पछिल्लो समय आँप उत्पादन घट्दै गएको सूचना अधिकृत श्रेष्ठले बताउनुभयो । आँपको एक वर्ष राम्रो फल लाग्ने र अर्को वर्ष फल कम लाग्ने भएकाले पनि उत्पादनमा कमी आएको जनाइएको छ ।  

प्रकाशित मितिः शुक्रबार, २१ असार २०८१
https://jawaaf.com/storage/01J20JQQSW8CCRYM0ER6D519ZD.jpg

नेपालमा गोतोखोरको सङ्ख्या एक सय १० पुग्यो

मुग्लिन (चितवन), २१ असार I सशस्त्र प्रहरी बल, नेपाल विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारमा सञ्चालन गरिएको गोताखोर तालिम सम्पन्न भएको छ । चितवनको इच्छाकामना–४ कुरिनघाटस्थित त्रिशूली नदी किनारमा शिक्षालयले गत जेठ ९ गतेदेखि तालिम सञ्चालन गरेको थियो । बागमती प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री गङ्गानारायण श्रेष्ठले विपद्को जोखिममा परेका नागरिकको जीवनरक्षा गर्न आफूले सिकेको ज्ञान, सीप र अनुभवलाई इमान्दारिका साथ मानव सेवामा समर्पित गर्न आग्रह गर्नुभयो ।     
      
उहाँले भन्नुभयो, “ देशमा मनसुन सुरु भइसकेको छ, नागरिकको जीउधनको सुरक्षा गर्ने कुरालाई केन्द्रविन्दुमा राखेका छौँ ।” प्रदेशसभा सदस्य कृष्णप्रसाद सिलवालले सशस्त्र प्रहरीले नागरिकको सुरक्षाका लागि अहम भूमिका निर्वाह गरिरहेको बताउनुभयो । प्रदेश सरकारको सहयोगमा ३६ दिनसम्म सञ्चालित तालिममा १९ जना सहभागिता रहको थियो ।     
      
सो अवजसरमा सशस्त्र प्रहरी अतिरिक्त महानिरिक्षक वंशीराज दाहालले नेपालमा गोतोखोरको सङ्ख्या ११० पुगेको जानकारी दिनुभयो । शिक्षालयका समादेशक सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक माधवप्रसाद पौडेलले प्रशिक्षार्थीलाई चितवनको कुरिनटारस्थित त्रिशूली नदी, कास्कीको पोखरास्थित फेवाताल र सुनसरीस्थित कोशी नदीमा तालिमको अभ्यास गराइएको बताउनुभयो । प्रशिक्षार्थीहरूले पानीजन्य घटना–दुर्घटनामा उद्धारसम्बन्धी नमूना अभ्यास प्रदर्शन गरेका थिए ।     
      
कार्यक्रममा चितवन र गोरखाका स्थानीय पालिकाका प्रमुख–उपप्रमुख, नेपाली सेना नं ६ बाहिनी अड्डा बैरेनी धादिङका बाहिनीपति सहायक रथी रोजप्रताप जबरा, सशस्त्र प्रहरी बल राष्ट्रिय सशस्त्र प्रहरी बल प्रशिक्षण प्रतिष्ठानका कार्यकारी निर्देशक सशस्त्र प्रहरी नायब महानिरीक्षक कमल गिरी, नं ३ गढिमाई बाहिनी मुख्यालयका बाहिनीपति सशस्त्र प्रहरी नायब महानिरिक्षक गणेश ठाडामगर, चितवन, धादिङ र गोरखाका प्रमुख जिल्ला अधिकारीको उपस्थिति थियो ।

प्रकाशित मितिः शुक्रबार, २१ असार २०८१
https://jawaaf.com/storage/01J20JDS0K0WK2A0TXMZZ5KFBF.jpg

जीवन बचाउने थलो बन्दै चारआली स्थित सर्पदंश उपचार केन्द्र

झापा, २१ असार I मेचीनगर नगरपालिका–१३ चारआली स्थित सर्पदंश उपचार केन्द्रले दुई दशकमा २० हजारभन्दा बढी मानिसलाई अकाल मृत्युबाट बचाएको छ । नेपाली सेना र समुदायको साझेदारीमा सञ्चालित २५ शय्याको उपचार केन्द्रमा इलाम, पाँचथर, ताप्लेजुङ, तेह्रथुमबाट मात्र नभएर छिमेकी मुलुक भारत पश्चिम बङ्गालको दार्जीलिङ, सिलीगुढी र बिहारको किशनगञ्ज र ठाकुरगञ्जसम्मका सर्पदंशका बिरामी आउने गर्छन् । यहाँ सबै प्रकारका विषालु सर्पले डसेको उपचार हुन्छ ।     
     
सञ्चालक समितिका अध्यक्ष दुर्गा भट्टराई सानो र कम सुविधायुक्त भएता पनि जनविश्वास अन्तर्राष्ट्रियस्तरमा फैलिएको कारण सर्पदंश उपचार केन्द्रको स्तरोन्नतिमा राज्यको ध्यान दिनुपर्छ भन्नुभयो । उहाँले केन्द्रलाई सेनाले जग्गा र प्राविधिक सहयोग गरिरहेको जानकारी दिनुभयो । आफ्नो ब्यारेकभित्र रहँदै आएको यस उपचार केन्द्रलाईसेनाले विसं २०६० चैत ५ गते समुदायलाई हस्तान्तरण गरेको थियो ।     
     
त्यसअघि सैनिकहरूलाई सर्पले डसेमा शीघ्र उपचार गर्न ब्यारेकभित्र सानो युनिट सञ्चालनमा रहेको थियो । गैरसैनिक व्यक्तिलाई सर्पले डसेमा उपचारका लागि ब्यारेकभित्रै लगिन्थ्यो । बिरामीको चाप बढ्दै गएपछि सेनाले समुदायलाई नै यसको जिम्मा दिएको हो ।     
     
मेचीनगरको चारआलीमा चन्द्रगढी जाने सडकमा पायक पर्नेगरी सेनाले उपचार केन्द्रका लागि जग्गा उपलब्ध गराएपछि तत्कालीन चन्द्रगढी गाविसका अध्यक्ष दुर्गा भट्टराईको नेतृत्वमा उपचार केन्द्रका लागि सहयोग जुटाउने अभियान चल्यो । उहाँकै अध्यक्षतामा गठित समितिले केन्द्रको भवन र अन्य सुविधा थप्ने कार्य गर्यो ।     
     
उपचार केन्द्र मानिसहरूको जीवन बचाउने थलो बन्दै गएको छ । मेचीनगरले यसका लागि भवन बनाउनदेखि सञ्चालनका लागि विभिन्न समयमा सहयोग पुर्याउँदै आएको मेचीनगर नगरपालिकाका नगरप्रमुख गोपालचन्द्र बुढाथोकी बताउनुभयो । “सर्पदंश उपचार केन्द्र मेचीनगरको गौरव गर्नलायक संस्था हो”, उहाँले भन्नुभयो, “जुन ढङ्गले बिरामीको चाप बढिरहेको छ । त्यसअनुरुप सेवा र सुविधाको विस्तार गर्न आवश्यक भइसकेको छ । अब यसको स्तरोन्नतिका लागि नयाँ योजना र सङ्कल्पको खाँचो छ ।”     
     
झापा र इलामका सबै पालिकाले बैठक गरेर वार्षिक रु दुईदेखि पाँच लाखसम्म अनुदान दिने हो भने चारआलीको सर्पदंश उपचार केन्द्र मुलुककै नमूना अस्पताल बन्ने र त्यसका लागि आफू समन्वय गर्न तयार रहेको उहाँले जानकारी दिनुभयो ।     
     
मेचीनगरले यस संस्थाको स्तरोन्नतिका लागि प्रदेश सरकारसँग समन्वय गरेर बजेटको व्यवस्था गर्दै आएको छ । आर्थिक वर्ष २०८१/८२ का लागि प्रदेश सरकारबाट प्राप्त योजना तथा कार्यक्रमका लागि सशर्त अनुदानस्वरुप नगरले रु १५ लाख बजेट तथा नीति कार्यक्रममा समावेश गरेको छ । नगर प्रमुख बुढाथोकीले केन्द्रको स्तरवृद्धिका नयाँ योजना बनाउन समितिका पदाधिकारीलाई आग्रह गरिसकेको बताउनुभयो ।     
     
सर्पदंश उपचार केन्द्रमा बिरामीको चाप दिनानुदिन बढिरहेको छ । यो साता उपचारका लागि आएका ८० प्रतिशत इलामका थिए । बिगतमा झापाका बिरामी धेरै हुने गरेको अहिले इलामका बिरामी बढेका छन् । बर्सेनि एक हजारभन्दा बढीले उपचार पाइरहेको केन्द्रबाट यही वैशाखमा ६१, जेठमा एक सय २३ र असारमा ९३ जनाले उपचार सेवा लिएका छन् । विसं २०८० मा सर्पले डसेका नौ सय७६ जनाले केन्द्रबाट उपचार प्राप्त गरेको अध्यक्ष भट्टराईले राससलाई जानकारी दिनुभयो ।     
     
इलामको सूर्योदय वडा नं १ का ३९ वर्षीय दिनेश तामाङले यही उपचार केन्द्रका कारण आफूले नयाँ जीवन पाएको बताउनुभयो । उहाँलाई केही दिनअघि घाँस काट्ने क्रममा गुर्बे सर्पले डसेको थियो । मेचीनगर–१५ का ५१ वर्षीय जुपुई हेमरमलाई पनि गत साता ओछ्यानमै विषालु सर्पले डस्यो । तत्कालै उहाँलाई मोटरसाइकलमा चढाएर यस उपचार केन्द्रमा ल्याइएका कारण उहाँको ज्यान बच्यो ।     
     
हिउँदमा गुप्तबास बस्ने गरेका सर्प बर्खायाममा जमिनको सतहमा आहाराका लागि निस्कन्छन् । ओसिलो, पाखो र कुनाकाप्चा खोज्दै जाने सर्पसँग जम्काभेट हुँदा मानव–सर्प द्वन्द्व हुने गरेको छ । यसका कारण नेपालमा बर्सेनि सयौँले ज्यान गुमाउने गरेका छन् । पहाडमा गुर्बे र हरेउ सर्प विषालु हुन्छन् भने तराईमा गोमन र करेत अत्यधिक विषालु हुन्छन् । उपचार नपाएमा गोमनले डसेको केही घण्टाभित्रै मानिसको मृत्यु हुने गर्छ । बेलैमा भरपर्दो अस्पताल वा चिकित्सकको सम्पर्कमा पुर्याए सर्पदंशका सबै बिरामी उपचारबाट बाँच्ने नेपाली सेनाका चारआलीस्थित अरिदम गणका स्वास्थ्य प्राविधिक कृष्ण थापा बताउनुुहुन्छ ।     
     
केन्द्रका अध्यक्ष भट्टराईले विसं २०६० चैत ५ गतेदेखि नेपाली सेनाले समुदायलाई हस्तान्तरण गरेको यस उपचार केन्द्रबाट दुई दशकमा २० हजारभन्दा बढी सर्पदंशका घाइतेले सफल उपचार पाएको बताउनुभयो । केन्द्रले बिरामीको दर्ता शुल्क रु एक सय र साधारण उपचार सेवा शुल्क रु छ सय मात्र लिने गरेको छ । उपचारका लागि बस्दा बेड शुल्क रु एक सय, पाँच भाइलसम्म औषधि (एन्टी स्नेक भेनम सिरम)को रु एक हजार पाँच सय र पाँच भाइलभन्दा जतिसुकै धेरै लागे पनि रु तीन हजार मात्र शुल्क लिने गरिएको केन्द्रले जनाएको छ ।     
     
विपन्न र असहाय बिरामीका लागि निःशुल्क उपचार गर्दै आएको उहाँले जानकारी दिनुभयो । “समुदायको सहयोगबाट चलिरहेको उपचार केन्द्र भएकाले बिरामीबाट सामान्य व्यवस्थापन शुल्क मात्र लिने गरेका हौँ”, उहाँले भन्नुभयो । कोशी प्रदेशमा १३ सर्पदंश उपचार केन्द्र रहेकामा यस जिल्लामै चारवटा रहेका छन् । चारआलीस्थित सेनाको ब्यारेक परिसरमा रहेको सर्पदंश उपचार केन्द्र कोशी प्रदेशकै सबैभन्दा ठूलो उपचार केन्द्र हो । -रासस

प्रकाशित मितिः शुक्रबार, २१ असार २०८१