शनिबार, १३ भदौ २०८३

/frontend/images/redline.png
https://jawaaf.com/storage/01J230MFF0GTFB9FK28G952PT2.jpg

पहिरोले कालीगण्डकी करिडोर अवरुद्ध

ढोरपाटन (बागलुङ), २२ असार I अविरल वर्षाका कारण कालीगण्डकी कोरिडोर अवरुद्ध भएको छ । दुई दिनदेखिको  निन्तर वर्षाका कारण उक्त करिडोरको बागलुङ र पर्वत खण्डमा सडक अवरुद्ध भएको हो । 

बागलुङको जैमिनी नगरपालिका–बिनामारे क्षेत्रमा पहिरो झर्दा कोरिडोर अवरुद्ध भएको छ । कोरिडोर अवरुद्ध हुँदा जैमिनीको छिस्ती, जैदी, अर्जेवा, बिनामारेलगायतका स्थानदेखि जिल्ला सदरमुकाम बागलुङ बजार आउने सावारीसाधान बाटोमै ठप्प रहेका जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायव उपरीक्षक विजय यादवले जानकारी दिनुभयो । भारी वर्षाका कारण सडक खुलाउने कार्यमा बाधा पुगेको छ । 
 
“लगातार वर्षा भइरहेकाले पहिरो झर्ने क्रम रोकिएको छैन”, प्रहरी नायव उपरीक्षक यादवले भन्नुभयो । वर्षाका कारण अवरुद्ध मध्यपहाडी लोकमार्गको बडिगाड गाउँपालिका–२ डुडियामा भने  यातायात सञ्चालनमा आएको छ ।

मालढुङ्गा–बेनी सडक अवरुद्ध 

यसैगरी म्याग्दी र मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने कालीगण्डकी कोरिडोर आयोजना अन्तर्गत पर्वतको मालढुङ्गा–बेनी  सडक पनि अवरुद्ध भएको छ । भारी वर्षाका कारण कुश्मा नगरपालिका–१ मालढुङ्गा नजिक भिरबाट ढिस्कोसहित पहिरो खसेपछि सडक अवरुद्ध बनेको हो । 

आज बिहानदेखि सडक अवरुद्ध बनेको पर्वतका ट्राफिक प्रहरी प्रमुख सिताराम ओझाले जानकारी दिनुभयो । सडक अवरुद्ध भएपछि म्याग्दी र मुस्ताङदेखि छुटेका सवारीसाधन खनियाघाटमा थन्किएका  छन् । अन्यत्रबाट आएका सवारीसाधन मालढुङ्गामा रोकिएका छन् । 

प्रकाशित मितिः शनिबार, २२ असार २०८१
https://jawaaf.com/storage/01J22ZDS3VD2RBXWWPFWY8PVGD.png

अपाङ्गता भएका व्यक्तिको स्वास्थ्य बीमा

तनहुँ, २२ असार I जिल्लाको घिरिङ गाउँपालिकाले ‘ग’ र ‘घ’ वर्गका ६३ अपाङ्गता भएका व्यक्तिको निःशुल्क स्वास्थ्य बीमा गरिदिने भएको छ । अपाङ्गता परिचयपत्र लिएका दुई सय ८२ जनामध्ये पहिलो चरणमा ‘ग’ वर्गका ४९ र ‘घ’ वर्गका १४ जनाको बीमा गर्न लागिएको हो । 

अपाङ्गता भएका व्यक्तिको स्वास्थ्य उपचारमा सहज किसिमले पहुँच पुयाउन बीमा प्रक्रिया अघि बढाएको गाउँपालिका अध्यक्ष होमबहादुर थापाले बताउनुभयो । उहाँले भन्नुभयो, “आर्थिक वर्ष २०८०/८१ मा अपाङ्गता भएका व्यक्तिका क्षेत्रमा काम गर्न गाउँपालिकाबाट विनियोजित रु चार लाख बजेटमध्येबाट उक्त काम गर्न लागिएको हो ।” 

वार्षिक शुल्कबापत जनही रु सात सयका दरले बीमा रकम तिरेपछि रु एक लाखसम्म स्वास्थ्य उपचारको सुविधा पाउन सकिने व्यवस्था छ । ‘क’ वर्ग र ‘ख’ वर्गका अपाङ्गता भएका व्यक्तिले राज्यबाट मासिक भत्ता पाउँदै आएका छन् ।  ‘ग’ र ‘घ’ वर्गकाले कुनै सुविधा पाउन सकेका छैनन् । घिरिङले केही दिनअघि दश जना ‘ग’ र ‘घ’ वर्गका अपाङ्गतालाई बीउ पुँजीको रुपमा बोयर उन्नत जातका बाख्रा वितरण गरेको थियो । अपाङ्गता भएका व्यक्तिलाई स्वरोजगार बनाई आयआर्जनमा सबल बनाउने लक्ष्यअनुरुप बाख्रा वितरण गरिएको गाउँपालिकाले जनाएको छ । 

प्रकाशित मितिः शनिबार, २२ असार २०८१
https://jawaaf.com/storage/01J22Y08VXH23QX34GKFEKPH3S.png

आज दिउँसो ३ बजे कांग्रेस संसदीय दलको बैठक बस्दै

काठमाडौँ, २२ असार । नेपाली कांग्रेसको संसदीय दलको बैठक बस्ने भएको छ । उक्त बैठक नयाँ वानेश्वरस्थित सङ्घीय संसद् भवनको ल्होत्से हलमा दिउँसो ३ बजे बस्ने तय भएको छ । 

यही असार १७ गते नेपाल कम्युनिष्ट पार्टी (एमाले)सँग सत्ता सहकार्यको सहमति भएसँगै त्यसबारे जानकारी गराउन बैठक बस्न लागेको कांग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले जानकारी दिनुभयो । असार १९ गते बसेको कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठकले एमाले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार गठनको सहमति अनुमोदन गरेको थियो । आजको बैठकले पनि सोही निर्णयलाई अनुमोदन गर्ने प्रमुख सचेतक लेखकले बताउनुभयो ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले यही असार २८ गते विश्वासको मत लिन सङ्घीय संसद्लाई जानकारी गराउनुभएको छ ।  

प्रकाशित मितिः शनिबार, २२ असार २०८१
https://jawaaf.com/storage/01J22X7JFMX814GXQW2Q4CH7WK.jpg

आजको मौसम : देशभर वर्षा

काठमाडौँ, २२ असार I मनसुनी वायुको प्रभावले देशभर पूर्णतया बदली रही वर्षा भइरहेको छ । बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका अधिकांश स्थानमा अहिले हल्कादेखि मध्यम वर्षा भइरहेको छ । बाँकी प्रदेशका केही स्थानामा समेत वर्षा भइरहेको छ ।

आज दिउँसो पनि पूर्ण बदली रही सबै प्रदेशका धेरै स्थानमा हल्कादेखि मध्यम वर्षा हुने जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानमा भारी वर्षाको सम्भावना छ । अन्य प्रदेशका केही स्थानमा समेत वर्षा भइरहेको छ । 

आज राति पनि देशभर साधारणतयादेखि पूर्णतया बदली रही कोशी र मधेश प्रदेशका केही तथा बाँकी प्रदेशका धेरै स्थानमा मेघ गर्जन-चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।  कोशी,  बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेशका थोरै स्थानमा तथा मधेश प्रदेशका एक–दुई स्थानमा आज राति भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

प्रकाशित मितिः शनिबार, २२ असार २०८१
https://jawaaf.com/storage/01J21HGQ4CSHXF3N33A8QQQEEG.jpg

जनता समाजवादी पार्टीद्वारा सरकारलाई दिएको समर्थन फिर्ता

काठमाडौँ, २१ असार I जनता समाजवादी पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । 

पार्टीको आज बसेको बैठकको निर्णयअनुसार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारलाई दिएको समर्थन आजैका मितिबाट लागू हुने गरी फिर्ता लिएको जसपा अध्यक्ष एवं सो पार्टीका संसदीय दलका नेता अशोक कुमार राईद्वारा आज जारी विज्ञप्तिमा उल्लेख छ । 

जनता समाजवादी पार्टीले यसअघि सङ्घीय संसद् सचिवालयलाई पत्र पठाएर सरकारलाई दिएको समर्थन फिर्ता लिएको जानकारी गराइसकेको सो पार्टीका महासचिव मोहम्मद इस्तियाक राईले जानकारी दिनुभयो । 

जनता समाजवादी पार्टीबाट सङ्घीय सरकारमा नवलकिशोर साह सुडी वन मन्त्री, प्रदीप यादव स्वास्थ्य मन्त्री र हसिना खान स्वास्थ्य राज्यमन्त्री रहनुभएको थियो ।  

प्रकाशित मितिः शुक्रबार, २१ असार २०८१
https://jawaaf.com/storage/01J21G1P29X6EH0JDE2M2K1YME.jpg

मुख्यमन्त्री सिंहलाई एमालेले विश्वासको मत दिने

महेन्द्रनगर (धनुषा), २१ असार I मधेस प्रदेश सरकारका मुख्यमन्त्री शतिशकुमार सिंह नेतृत्वको सरकारलाई नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले विश्वासको मत दिने भएको छ । एमाले मधेस प्रदेशसभाका प्रमुख सचेतक हरिनारायण महतोले जनमत पार्टीको नेतृत्वको सरकारलाई विश्वासको मत दिने जानकारी दिनुभयो । 

सिंहले भोलि विहान ११ बजे प्रदेशसभा समक्ष विश्वासको मत लिने कार्यसूची रहेको प्रदेशसभा सचिवालयले जनाएको छ ।

मधेस प्रदेशमा जनमत नेतृत्वको सरकारमा नेपाल कम्युनिष्ट पार्टी (एमाले), नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र), नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी), नेपाल सङ्घीय समाजवादी पार्टी र नागरिक उन्मुक्ति पार्टी सहभागी छन् । 

प्रकाशित मितिः शुक्रबार, २१ असार २०८१
https://jawaaf.com/storage/01J21DAJEP5Q03SZCFHY5CE9D1.jpg

मधेस प्रदेशसभा बैठक स्थगन

जनकपुर, २१ असार I बजेट पुनःलेखनको माग गर्दै मधेश प्रदेशसभाको आजको बैठक सुरु भएको केही बेरमै स्थगन भएको छ । प्रदेशसभाको आजको बैठकमा प्रदेश सरकारका तर्फबाट अर्थमन्त्री भरतप्रसाद साहले पेस गर्नुभएको आर्थिक वर्ष २०८१/८२ को बजेटमाथि छलफल हुने तय भएको थियो । बिहान ११ बजेका लागि बोलाएको उक्त बैठक ढिलो गरी सुरु भएको थियो । 

बैठक सुरु हुने बित्तिक्कै लोकतान्त्रिक समाजवादी पार्टीकी नेत्री रानी शर्मा तिवारीले यही असार १६ गते मुख्यमन्त्रीलाई ध्यानाकर्षण पत्र बुझाएको र सो विषयमा सरकारको धारणा नआएसम्म बजेटमाथि छलफल गर्न नदिने बताउनुभयो । उहाँले भन्नुभयो, “माग पूरा नभएसम्म बजेटमाथि छलफल हुँदैन ।”

प्रदेश सभामुख रामचन्द्र मण्डलले प्रदेशसभाको बैठक १० मिनेटका लागि स्थगन गर्नुभए पनि अहिलेसम्म बस्न सकेको छैन । अहिले सभामुख मण्डलको उपस्थितिमा विभिन्न दलका नेता सम्मिलित बैठक प्रदेशसभा सचिवालयमा जारी छ ।

नेपाली कांग्रेस, जनता समाजवादी पार्टी, लोसपासहित चार दलले बुझाएको ध्यानाकर्षण पत्रको विषयमा आधिकारिक धारणा आएपछि मात्र बजेटमाथि छलफल हुने बताइएको छ ।

यही असार १ गते मधेस प्रदेश सरकारका तर्फबाट अर्थमन्त्री भरतप्रसाद साहले आर्थिक वर्ष २०८१/८२ का लागि रु ४३ अर्ब ८९ करोड २१ लाख ७० हजारको बजेट प्रदेशसभामा पेस गर्नुभएको थियो । चालुतर्फ रु १६ अर्ब सात लाख एक हजार र पुँजीगततर्फ रु २७ अर्ब ८९ करोड १४ लाख ६९ हजारको बजेट सार्वजनिक गरिएको  थियो । 

प्रकाशित मितिः शुक्रबार, २१ असार २०८१
https://jawaaf.com/storage/01J21C989K3DK5YPPM4AHYPV60.jpg

आइतबारसम्म मुलुकका विभिन्न स्थानमा बाढीको जोखिम

काठमाडौँ, २१ असार I जल तथा मौसम विज्ञान विभागअन्तर्गतको बाढी पूर्वानुमान माहाशाखाले आइतबारसम्म मुलुकका विभिन्न स्थानमा बाढीको जोखिम रहेको भन्दै उच्च सतर्कता अपनाउन आग्रह गरेको छ । आइतबारसम्म भारी वर्षाको सम्भावना रहेकाले नदीमा पानीको बहाव बढ्नसक्ने र बाढीको जोखिम रहेको भन्दै सतर्कता अपनाउन अनुरोध गरिएको छ । 

विभागका बाढीविद् तथा हाइड्रलोजिस्ट इन्जिनियर विजय ढुकुछुले आज इलाम, झापा, मोरङ, लमजुङ, कास्की, पाल्पा, नवलपरासीपूर्व र आसपासका जिल्ला भई बहने अधिकांश स–साना नदीमा बहाव बढ्ने तथा केही स–साना नदीमा आकस्मिक बाढीको मध्यम जोखिम रहने पूर्वानुमान गरिएको जानकारी दिनुभयो । 

उहाँका अनुसार आज उदयपुर, सिन्धुली, मकवानपुर, चितवन, सिन्धुपाल्चोक, रामेछाप, अछाम, डोटी, कैलाली र आसपासका जिल्ला भई बहने स–साना नदीहरुमा बहाव पनि बढ्ने पूर्वानुमान छ । “भोलि भने देशभरका अधिकांश स–साना नदीहरूमा बहाव बढ्ने तथा गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश भई बहने केही स–साना नदीहरुमा आकस्मिक बाढी आउनसक्छ”, उहाँले भन्नुभयो । 

महाशाखाका अनुसार आज देशभर साधारणतयादेखि पूर्णतया बदली रहने छ । सबै प्रदेशका धेरै स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।  कोशी,  मधेस, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा तथा बाँकी प्रदेशका एक–दुुई  स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावमा छ । सबै प्रदेशका धेरै स्थानका मेघगर्जन÷चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।  

“भारी वर्षाको सम्भावमा भएका क्षेत्रमा हुनसक्ने गेग्र्यान बहाव, बाढी, पहिरो तथा भू–क्षयका जस्ता प्रकोपको जोखिम वा क्षतिबाट बच्न तथा यसबाट ती क्षेत्रमा दैनिक जनजीवनलगायत कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा आंशिक असर पर्ने सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउनु हुन अनुरोध छ,” विभागद्वारा जारी विज्ञप्तिमा भनिएको छ । 

प्रकाशित मितिः शुक्रबार, २१ असार २०८१
https://jawaaf.com/storage/01J21B43X0XX6PEWBTFZ5QVHA0.jpg

विपद् व्यवस्थापन र पूर्वतयारीमा गम्भीर भएर काम गरौँ : प्रधानमन्त्री

काठमाडौँ, २१ असार I प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजनीतिक परिस्थितिमा उतारचढावजस्तो देखिए पनि सरकारले विपद् व्यवस्थापनलाई उच्च प्राथमिकता दिएर काम गर्नुपर्ने बताउनुभएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज भएको मनसुनजन्य जोखिमको न्यूनीकरण तथा जोखिम प्रतिकार्यसम्बन्धी उच्चस्तरीय बैठकमा उहाँले प्राकृतिक विपत्तिको उच्च जोखिमयुक्त देश भएकाले तीनवटै सुरक्षा अङ्गको समन्वयात्मक प्रयासमा विपद् व्यवस्थापन पूर्वतयारीका काम व्यवस्थित गर्न निर्देशन दिनुभयो ।

प्रधानमन्त्रीले भन्नुभयो, “राजनीतिमा उतारचढाव भइरहन्छ तर सरकार र राज्यका निकायले आफ्नो जिम्मेवारी भुल्नु हुँदैन । नेपाल विपद्का दृष्टिले उच्च जोखिमयुक्त देश हो । यो वर्ष मौसम प्रतिकूल हुने पूर्वानुमान छ । त्यसैले व्यवस्थित पूर्वतयारी गरौँ । विपद् व्यवस्थापनमा हामीसँग स्रोत पनि छ तर, कार्यविधिको झन्झटले स्रोत परिचालन गर्न नसकेको कुरा बोध गर्दै यसलाई सहज परिचालन गर्न सकिनेगरी परिमार्जन गरौँ । राज्यका सबै निकायको सम्पूर्ण ध्यान पूर्वतयारी र जोखिम न्यूनीकरणमा केन्द्रित गरौँ ।”

छलफलमा गृहमन्त्रालय र नेपाली सेनाकोतर्फबाट गरिएको पूर्वतयारीका लागि आभार प्रकट गर्नुभयो । छलफलमा नेपाली सेना र गृह मन्त्रालयका तर्फबाट विपद् व्यवस्थापनको पूर्वतयारी र जोखिम पूर्वकार्यसम्बन्धी आफ्नोतर्फबाट गरिएको तयारीबारे प्रधानमन्त्रीलाई जानकारी दिइएको थियो ।

बैठकमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने, प्रधानसेनापति प्रभुराम शर्मा, निमित्त मुख्यसचिव लीलादेवी गड्तोला, गृहसचिव एकनारायण अर्याल, रक्षासचिव किरणराज शर्मा, प्रहरी महानिरीक्षक वसन्त कुँवर, सशस्त्र प्रहरी बलका महानिरीक्षक राजु अर्याललगायत अधिकारीहरूको सहभागिता थियो ।

प्रकाशित मितिः शुक्रबार, २१ असार २०८१
https://jawaaf.com/storage/01J218K7J60ZRR22B9G8QH32KF.jpg

दिक्तेलबाट सहाराविहीन दुईजनाको उद्धार

खोटाङ, २१ असार I दिक्तेल बजारमा कष्टपूर्ण जीवन बिताइरहेका सहाराविहीन दुईजनाको उद्धार गरिएको छ । शारीरिक तथा मानसिक समस्यामा परेर खुला सडकपेटीमा जीवन बिताइरहेका एक महिला र एक पुरुषलाई प्रहरीले उद्धार गरेर मानवसेवा आश्रम विराटनगर पठाएको हो । 

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले निःशुल्क उपलब्ध गराएको एम्बुलेन्समार्फत उनीहरुलाई बिहीबार साँझ मानवसेवा आश्रम पठाइएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रमुख प्रहरी नायब उपरीक्षक पुरुषोत्तम खड्काले जानकारी दिनुभयो । 

अन्दाजी ३०÷३५ वर्षका ती पुरुष स्थानीय बासिन्दाले दिएको खानेकुरा खाएर खुला आकाशमुनि बस्दै आएका थिए । बोल्न नसक्ने भएकाले उहाँको नाम थर एवम् ठेगाना थाहा नभएको प्रहरीले जनाएको छ । यस्तै, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–३ शङ्खु घर र हस्तकला राई नाम बताउने अन्दाजी ४५÷४६ वर्षीया मानसिक समस्या भएकी महिलाको पनि उद्दार गरिएको छ । 

नगरप्रमुख तीर्थराज भट्टराईले बेसहारा बनेका व्यक्तिको जीवनयापन तथा सडक मानवमुक्त बनाउन नगरपालिकाले प्रहरीसँगको सहकार्यमा कार्यक्रम गरिरहेको बताउनुभयो । 

प्रकाशित मितिः शुक्रबार, २१ असार २०८१