विद्यार्थी दुई, शिक्षक पनि दुई : प्रअ भन्दछन् ‘दिन बिताउन साह्रै गाह्रो भयो ’
ढोरपाटन (बागलुङ), २१ असार I बागलुङको जैमिनी नगरपालिका–८ छिस्ती, धुसस्थित ताराज्योति प्राथमिक विद्यालयमा पछिल्लो तीन वर्षमा विद्यार्थीको सङ्ख्या ह्वात्तै घटेको छ । हाल सो विद्यालयमा दुईजना छात्रमात्र अध्ययनरत छन् । उनीहरूमध्ये एकजनाले कक्षा १ र एकजनाले कक्षा ३ मा अध्ययन गर्छन् । कक्षा २ मा भने विद्यार्थी नै छैनन् ।
स्थानीयवासी सुविधाको खोजीमा अन्यत्र बसाइँ सरेपछि विद्यालयमा विद्यार्थी आउन छाडेका प्रधानाध्यापक गोविन्द अधिकारीले जानकारी दिनुभयो । विसं २०८० मा तीनजना हुँदै नयाँ शैक्षिकसत्रमा दुईजनामा सीमित भएको छ । उहाँका अनुसार विसं २०४६ मा स्थापना भएर २०४७ सालमा अनुमति पाएको विद्यालयमा २०७८ सालसम्म ११ जना विद्यार्थी थिए । विसं २०७९ मा त्यो सङ्ख्या १० जनामा झर्यो । विद्यालयमा एकजना स्थायी दरबन्दीको शिक्षक, एक अस्थायी र एकजना कार्यालय सहयोगी कार्यरत छन् । बर्सेनि विद्यार्थीको सङ्ख्या घट्दै गएपछि विद्यालयको अस्तित्व नै धरापमा परेको छ । पैतीस वर्ष अगाडि स्थापित विद्यालयमा दशक अगाडि विद्यार्थीको चाप हुँदा भुइँमै बसेर पढ्नुपर्ने बाध्यता थियो । तर अहिले भौतिक रूपमा सम्पन्न हुँदा विद्यार्थीको सङ्ख्या निकै कम भएका छन् ।
धुसगाउँ भौगोलिक हिसाबले अलि विकटमा हुँदा धेरैले आफ्ना बालबालिका सुविधायुक्त विद्यालयमा पठाउँदा विद्यार्थी कम भएको प्रअ अधिकारी बताउनुहुन्छ । गाउँभन्दा नजिकै गुल्मीको पुर्तिघाटमा निजी विद्यालय रहेको हुँदा गाडीले घर नजिकै लिन आउँदा धेरै विद्यार्थी त्यता जान थालेको उहाँ बताउनुहुन्छ । उहाँले भन्नुभयो, “विद्यार्थी कम हुँदा शिक्षण सिकाइ क्रियाकलाप प्रभावकारी बन्न नसकेको, आफूहरूमा नैराश्य छाएको छ । पछिल्लो समय गाउँमा बालबालिका पनि कम छन् । भएका पनि सहरबजार जाने प्रचलन बढेको छ । हामी त जागिर खानका लागि यहाँ आइयो विद्यार्थी धेरै नहुँदा सिक्न र सिकाउन पाइएको छैन, दिन बिताउन साह्रै गाह्रो हुन्छ, पहिलेको जस्तो भुइँमा बसेर पढ्नुपर्ने अवस्था छैन, धेरै सुविधा थपिएको छ ।”
खासगरी यस गाउँका स्थानीय बसाइँसराइ गरी चितवन, रुपन्देही गएका छन् । जैमिनी नगरपालिकाका उपप्रमुख हरिहर शर्माले विद्यालयको भौतिक संरचनादेखि अन्य व्यवस्थापन गरेको तर धेरै विद्यालयमा विद्यार्थी सङ्ख्या कम हुँदै गएको बताउनुभयो । नगरपालिकाले कम विद्यार्थी भएको विद्यालयलाई समायोजन गर्ने नीति रहेको उहाँले जानकारी दिनुभयो । उहाँले भन्नुभयो ,“नगरपालिकाले नगर शिक्षा ऐन बनाएको, त्यसअन्तर्गत रहेर दरबन्दी मिलान अगाडि बढाएको , विद्यालय समायोजनसम्बन्धी कार्यविधि बनाएर काम अगाडि बढेको छ । विद्यालय समायोजनपछि नगरपालिकाले सञ्चालन गरेको ‘लिड’ विद्यालयमा टाढाका विद्यार्थीलाई आवासीय सुविधा प्राप्त हुनेछ । ”
जैमिनी नगरपालिकाका शिक्षा शाखा प्रमुख खेमप्रसाद आचार्यले ताराज्योति प्राथमिक विद्यालयलाई छिट्टै समायोजन गर्ने जानकारी दिनुभयो । अहिले नगरपालिकाले कुन विद्यालय समायोजन गर्ने, कुन तह मिलान गर्ने भन्ने विषयमा अध्ययन गरिसकेको उहाँले बताउनुभयो ।
गृहसचिवद्वारा कार्यक्षेत्र नछाड्न प्रजिअलाई निर्देशन
काठमाडौँ, २१ असार I गृहसचिव एकनारायण अर्यालले विपद् प्रतिकार्यमा उच्च प्राथमिकताका साथ समन्वयात्मक काम गर्न प्रमुख जिल्ला अधिकारीहरूलाई निर्देशन दिनुभएको छ । गृह मन्त्रालयमा बिहीबार ‘भर्चुअल’ माध्यमबाट ‘कमाण्ड पोष्ट’का संयोजक तथा सदस्यहरूसहित ७७ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारी एवं सुरक्षा निकायका पदाधिकारीसँग विपद्जन्य घटना व्यवस्थापनबारे भएको छलफलमा उहाँले देशभर मनसुन भित्रिएसँगै हुनसक्ने विपद्जन्य घटना व्यवस्थापन गर्न आफ्ना जिल्लाका स्थानीय पालिकासँग सहकार्य एवम् समन्वय गरेर पूर्वतयारी अवस्थामा रहन निर्देशन दिनुभएको हो ।
प्रदेश सरकार, निजी क्षेत्र,सामाजिक संस्थाहरू परिचालनका निम्ति समन्वय गर्न एवं सडक विभागबाट तयारी अवस्थामा राखिएका उपकरण मुख्य राजमार्गमा तैनाथ गर्नुपर्ने जनाउँदै गृहसचिव अर्यालले त्यसका लागि आवश्यक जनशक्तिको व्यवस्थापन गर्नसमेत निर्देशन दिनुभएको मन्त्रालयले जनाएको छ ।
विपद् व्यवस्थापनमा पालिकाको भूमिका महत्त्वपूर्ण रहने भएकाले प्रजिअहरूले पालिकासँगका समन्वयमा जोड दिनुपर्ने गृहसचिव अर्यालले निर्देशनमा बताउनुभयो । “स्थानीयस्तरमा विपद्जन्य घटनाको पहिलो जिम्मेवारीमा पालिका नै रहने भएकाले जनप्रतिनिधिसहित कर्मचारीसँगको समन्वय महत्त्वपूर्ण छ”, उहाँले भन्नुभयो, “यस्तो अवस्थामा आफ्नो कार्यक्षेत्र नछाड्न निर्देशन दिनुहोला ।”
यसैगरी मौसम पूर्वानुमान गर्ने निकायको तत्परतालाई थप प्रभावकारी गर्न अनुरोध गर्दै तत्काल उद्धार र राहतका लागि हेलिकप्टरदेखि अन्य प्रभावकारी स्रोत साधन चुस्त राख्न सम्बद्ध सबै पक्षलाई उहाँले अनुरोध गर्नुभएको छ । जिल्लामा काम गर्ने सिलसिलामा असहजता भएका मन्त्रालयसँग समन्वय गर्न र सहजीकरणका लागि तत्काल तयार रहेको उहाँले बताउनुभयो । गृहसचिव अर्यालले विपद्बाट मानवीय क्षति व्यहोर्न पुगेका परिवारहरूमा आफैँ उपस्थित भई आवश्यक सहयोग गर्न प्रमुख जिल्ला अधिकारीहरूलाई निर्देशन दिनुभएको थियो ।
नेकपा एसको अध्यक्षमा नेता नेपाल सर्वसम्मत
काठमाडौँ, २० असार I नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)को अध्यक्षमा माधवकुमार नेपाल सर्वसम्मत चयन हुनुभएको छ ।
नेपाल प्रज्ञाप्रतिष्ठानमा जारी पार्टीको दशौँ महाधिवेशनले उहाँलाई उक्त पदमा सर्वसम्मतिले चयन गरेको हो । पार्टीको महासचिवमा घनश्याम भुसाल सर्वसम्मत चयन हुनुभएको छ । महाधिवेशनले झलनाथ खनाललाई सम्मानित नेतामा चयन गरेको छ ।
उक्त पार्टीको प्रचार विभागका अनुसार ती तीन पदमा सर्वसम्मत चयन गरिएको हो भने अन्य पद पार्टी सचिवालयले टुङ्ग्याउने निर्णय गरेको छ ।
नेप्से परिसूचक दोहोरो अङ्कले बढ्दा करिब साढे छ अर्बको कारोबार
काठमाडौँ, २० असार I यो साता कारोबारको अन्तिम दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक दोहोरो अङ्कले बढ्दा कारोबार रकम पनि उच्च देखिएको छ । आज नेप्से परिसूचक १५ दशमलव ४६ अङ्कले बढेर दुई हजार एक सय १९ दशमलव ६९ अङ्कमा कायम भएको हो ।
आज तीन सय १३ कम्पनीको दुई करोड २१ लाख ६७ हजार छ सय ७९ कित्ता शेयर ८४ हजार एक सय २६ पटक खरिदबिक्री हुँदा रु छ अर्ब ४८ करोड २५ लाख ४६ हजार नौ सय ८० बराबरको कारोबार भएको छ ।
आज वित्त समूह शून्य दशमलव ५९ र उत्पादन तथा प्रशोधन समूह शून्य दशमलव १५ प्रतिशतले घटेको छ भने अरु सबै समूहको उपसूचक बढेको छ । सबैभन्दा धेरै विकास बैंक समूहको उपसूचक तीन दशमलव ४३ प्रतिशतले बढेको छ ।
बैंकिङ शून्य दशमलव ४८, होटल तथा पर्यटन एक दशमलव ७५, जलविद्युत् शून्य दशमलव २२, लगानी एक दशमलव ८९ र जीवन बीमा एक दशमलव ९७ प्रतिशतले बढेको छ । त्यसैगरी, लघुवित्त शून्य दशमलव २१, म्युचुअल फन्ड शून्य दशमलव २४, निर्जीवन बीमा शून्य दशमलव ५८, व्यापार शून्य दशमलव ४८ र व्यापार समूह शून्य दशमलव १५ प्रतिशतले बढेको छ ।
आँखुखोला जलविद्युत् कम्पनी लिमिटेडको शेयर मूल्यमा आज सकारात्मक सर्किट लागेको छ । सबैभन्दा धेरै गुमाउनेमा भने दोर्दीखोला जलविद्युत् कम्पनी लिमिटेडको शेयर मूल्य चार दशमलव ७५ प्रतिशतले घटेको छ ।
कारोबार रकमका आधारमा आज सबैभन्दा धेरै एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट लिमिटेडको रु तीस करोड नौ लाख चार हजार छ सय ९४ बराबरको कारोबार भएको छ । कारोबार भएका शेयर सङ्ख्याका आधारमा भने एनआईसी एसिया ब्यालेन्स फण्डको ३५ लाख एक हजार दुई सय कित्ता शेयर किनबेच भएको छ ।
प्रधानमन्त्रीलाई थप कार्यभार
काठमाडौँ, २० असार I राष्ट्रपति रामचन्द्र पौडेलले मौजुदा मन्त्रिपरिषद्का उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधारमन्त्री रघुवीर महासेठसहित आठजना मन्त्रीले पदबाट राजीनामा दिएपछि उहाँहरूले सम्हाल्नुभएका मन्त्रालयहरूको कार्यभार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ स्वयंले सम्हाल्ने गरी तोक्नुभएको छ ।
प्रधानमन्त्री दाहालको सिफारिसमा राष्ट्रपतिले प्रधानमन्त्री स्वयंलाई ती मन्त्रालयको कार्यभार तोक्नुभएको राष्ट्रपतिको कार्यालयले आज जनाएको छ ।
मौजुदा मन्त्रिपरिषद्का कानुन न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरी, कृषि तथा पशुपक्षी विकासमन्त्री ज्वालाकुमारी साह, भूमि व्यवस्था सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारी, उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारी, महिला बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री भगवती चौधरी, खानेपानीमन्त्री राजेन्द्रकुमार राई र रक्षामन्त्री हरिप्रसाद उप्रेतीले बुधबार अपराह्न प्रधानमन्त्री दाहालसमक्ष नेपालको संविधानको धारा ७७ को उपधारा (२) बमोजिम राजीनामा दिनुभएको थियो
बेलायतमा आम निर्वाचनका लागि मतदान सुरु
लन्डन, २० असार (रासस/एएनआई) I संयुक्त अधिराज्य (बेलायत) को ऐतिहासिक आकस्मिक आम निर्वाचनका लागि बिहीबार मतदान सुरु भएको छ ।
मतदान स्थानीय समय बिहान ७ बजे सुरु भई राति १० बजे बन्द हुनेछ ।
सबै प्रमुख दलहरूको छ हप्ताको अभियानपछि आजको मतदान समाप्त भएसँगै देशले अर्को प्रधानमन्त्री प्राप्त गर्नेछ ।
इङ्ल्यान्ड, वेल्स, स्कटल्यान्ड र उत्तरी आयरल्यान्डका कूल छ सय ५० निर्वाचन क्षेत्रमा मतदान गरिनेछ । कूल छ सय ५० संसदीय सिटमध्ये ३२६ सिट प्राप्त गर्ने कुनै पनि पार्टीको नेता देशको प्रधानमन्त्री बन्नेछ ।
बेलायतको सार्वजनिक सेवाको स्थिति, जीवनयापनको लागत, कर, आप्रवासन र अर्थतन्त्र निर्वाचनको प्रमुख विषय रहेको सिएनएनले जनाएको छ ।
यो निर्वाचनमा अर्थव्यवस्था, कर र आप्रवासनजस्ता मुद्दाले वर्तमान प्रधानमन्त्री ऋषिसुनकलगायत दावेदारहरूका लागि कसरी लहर बदल्छ भन्ने कुरा हेर्न महत्त्वपूर्ण छ ।
बेलायतको युरोपेली सङ्घसँगको सम्बन्धका विषय भने निर्वाचनमा धेरै हदसम्म बेवास्ता गरिएको छ ।
यस वर्षको मे महिनाको अन्त्यमा प्रधानमन्त्री सुनकले आकस्मिक चुनावको आह्वान गर्नुभएको हो । उहाँको पार्टीमा केही नेता समेतले यो निर्णयप्रति आश्चर्य जनाएका थिए ।
जङ्गली बिषालु च्याउ खादाँ एकै परिवारका सातजना बिरामी
बागमती, २० असार I जङ्गली विषालु च्याउ खाँदा मकवानपुरको भिमफेदी गाउँपालिकामा एकै परिवारका सातजना बिरामी परेका छन् ।
जङ्गलबाट ल्याएको च्याउ खाँदा भिमफेदी–६ उर्लाघारी निवासी ६५ वर्षीया मङ्गली स्याङतान, उहाँका ३२ वर्षीय छोरा बुद्धिबहादुर स्याङतान, बुहारी ३० वर्षीया पासाङमाया स्याङतान, नाति सात वर्षीय लासाङ स्याङतान, बुद्ध स्याङतानकी छोरी १९ वर्षीया लक्ष्मीमाया स्याङतान, १५ वर्षीया पार्वती स्याङतान र सात वर्षीया छोरी आरती स्याङतान सिकिस्त बिरामी परेका जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिनुभयो ।
प्रनाउ भण्डारीका अनुसार विषालु च्याउ खाएर बिरामी परेको सूचना पाएलगत्तै जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीको टोलीले उद्धार गरी पाँच जनालाई उपचारका लागि चितवनस्थित भरतपुर अस्पताल पठाएको छ । बिरामीमध्ये मङ्गली र लक्ष्मीमायाको हेटौँडास्थित अस्पतालमा उपचार भइरहेको उहाँले जानकारी दिनुभयो ।
यसअघि यही असारको पहिलो साता जङ्गली विषालु च्याउ खाँदा जिल्लाका विभिन्न ठाउँमा तीनजनाको मृत्यु भएको थियो ।
खोटाङका ८५ घर बाढी, चार सय ३९ घर पहिराको उच्च जोखिममा
खोटाङ, २० असार I जिल्ला प्रहरी कार्यालय खोटाङले बाढी र पहिराको उच्च जोखिममा रहेका घर तथा प्रभावित हुनसक्ने मानिसको सङ्ख्या सर्वेक्षण गरेको छ । मनसुनजन्य प्रकोपबाट हुने जनधनको क्षतिबाट जिल्लावासीलाई जोगाउन जिल्ला प्रहरी कार्यालयले प्रहरी परिचालन गरेर बाढी र पहिरोको उच्च जोखिममा रहेका परिवार तथा प्रभावित हुनसक्ने मानिसको सङ्ख्या सर्वेक्षण गरेको हो ।
प्रहरीले गरेको सर्वेक्षणअनुसार १० स्थानीय तह रहेको जिल्लामा बाढीबाट ८५ परिवारका तीन सय २० र पहिरोबाट चार सय ३९ परिवारका एक हजार सात सय ६१ जना उच्च जोखिममा रहेका छन् ।
मनसुन सुरु भएसँगै प्रहरी परिचालन गरेर उच्च जोखिममा रहेका स्थानीयलाई सतर्कता अपनाउन आग्रह गरिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक पुरुषोत्तम खड्काले बताउनुभयो । उहाँका अनुसार दुई नगरपालिका र आठ गाउँपालिका रहेको जिल्लामा चारवटा स्थानीय तह बाढी र डुबानको उच्च जोखिममा रहेको प्रहरीको सर्वेक्षणले देखाएको छ ।
ऐसेखुखर्क गाउँपालिका–१ राखाबाङ्देल र वडा नं ३ ऐसेलुखर्क, रावाबेँसी गाउँपालिका–१ कुभिण्डे र वडा नं ६ हौँचुर, हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थान र वडा नं ९ सल्ले तथा केपिलासगढी गाउँपालिका–४ बाक्सिला र वडा नं ७ सुङ्देल बाढी तथा डुबानको उच्च जोखिममा रहेका प्रनाउ खड्काले जानकारी दिनुभयो ।
पहिरोको उच्च जोखिममा जिल्लाका १० वटै स्थानीय तहका अधिकांश वडा रहेका प्रहरीले जनाएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–११ खार्मी र वडा नं १५ विजयखर्क, ऐसेलुखर्क–५ जलेश्वरी, केपिलासगढी–५ सप्तेश्वरको दामथला, जन्तेढुङ्गा गाउँपालिकाका सबै वडा, बराहपोखरी–२ सुन्तले, वडा नं ३ साउनेचउर र वडा नं ४ फाक्टाङ, खोटेहाङ–६ को इन्द्रेणीपोखरी पहिरोको उच्च जोखिममा रहेका प्रनाउ खड्काले जानकारी दिनुभयो । उहाँका अनुसार खोटाङ बजारमा भने पहिरोको जोखिम छैन ।
रावाबेँसी गाउँपालिकाको वडा नं १ कुभिण्डे र वडा नं ३ लामीडाँडा, वडा नं ६ हौँचुर, दिप्रुङ चुइचुम्मा गाउँपालिकाको वडा नं १ याम्खा, वडा नं ५ सप्तेश्वर छितापोखरी र वडा नं ६ छितापोखरी, साकेला गाउँपालिकाको वडा नं १ बाँझेच्यानडाँडा, वडा नं २ रतन्छा, वडा नं ३ खिदिमा, वडा नं ४ मात्तिमको आहाले र वडा नं ५ कात्तिके पहिरोको उच्च जोखिममा छन् ।
हलेसी तुवाचुङ नगरपालिकाको वडा नं १ बाहुनीडाँडास्थित ट्यामटुकु, फर्चेपु, खर्क र ठुल्ढुङ्गा, वडा नं ७ महादेवस्थानको महादेवबेँसी र गैरीगुठ, वडा नं ८ धितुङको दीपखर्क, दियाले, गैरी, रातेखोला, गराबु, वडा नं ९ सल्लेको चिचिङ्गा र लुगु तथा वडा नं १० अर्खौलेको डुक्सेली र नवलपुर पहिरोको उच्च जोखिममा रहेका प्रहरीको सर्वेक्षणमा उल्लेख गरिएको छ ।
बाढी र पहिरोको उच्च जोखिममा रहेका जिल्लावासीलाई विपद् आइपरेको खण्डमा तत्काल उद्धार गरेर सुरक्षित स्थानमा सार्नका लागि सम्भावित ठाउँको समेत पहिचान गरिएको प्रहरीले जनाएको छ । विपद् आइपरेको खण्डमा उनीहरूलाई उद्धार गरेर जिल्लामा सञ्चालित विद्यालय तथा सार्वजनिक भवनमा छ हजार आठ सय ५५ जनालाई राख्न सकिने ठाउँ रहेको प्रनाउ खड्काले जानकारी दिनुभएको छ ।
प्रहरीले जिल्लामा हुनसक्ने विपद्जन्य जोखिमलाई घटाउन २४ घण्टे आपत्कालीन सेवा सुरु गरेको जनाएको छ । मनसुन सुरु भएसँगै जिल्ला प्रहरी कार्यालयले १०० नम्बरको ‘हटलाइन’ सेवा सञ्चालन गरेर २४ घण्टे आपत्कालीन सेवा सुरु गरेको प्रनाउ खड्काले जानकारी दिनुभयो ।
यसैबीच, जिल्लामा हुनसक्ने प्राकृतिक प्रकोपलाई तत्काल उद्धार तथा राहत उपलब्ध गराउन जिल्ला विपद् व्यवस्थापन समिति तयारी अवस्थामा रहेको समितिका संयोजक एवं प्रमुख जिल्ला अधिकारी शिवकुमार कार्कीले बताउनुभयो । मनसुनजन्य विपद् व्यवस्थापन गर्न तीनवटै सुरक्षा निकाय तथा रेडक्रसलाई तयारी अवस्थामा रहन निर्देशन दिइएको उहाँले जानकारी दिनुभयो ।
उद्धार तथा राहत वितरणका लागि जिल्लास्थित सबै स्थानीय तहलाई आ–आफ्नो क्षेत्रमा तयारी अवस्थामा रहन पत्राचार गरिएको विपद् व्यवस्थापन समितिले जनाएको छ । विपद् आइपरेको खण्डमा समितिले जिल्लास्थित स्थानीय तहसँग सहकार्य गरेर उद्धार तथा राहत वितरण गर्ने निर्णय गरिएको समितिका संयोजक एवं प्रजिअ कार्कीले जानकारी दिनुभयो ।
नयाँ गठबन्धनलाई जसपाले समर्थन गर्ने
काठमाडौँ, २० असार । नयाँ सत्ता समीकरणका लागि नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्टीबीच भएको सहमतिलाई अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी (जसपा)ले समर्थन गर्ने भएको छ ।
वर्तमान सरकारमा पार्टीका तर्फबाट सहभागी मन्त्रीहरुलाई आजै राजीनामा दिन निर्देशन दिइने पार्टीका महासचिव मोहम्मद इस्तियाक राईले जानकारी दिनुभयो । प्रतिनिधिसभाका ठूला दुई दलबीच भएको सहमतिलाई जसपाले समर्थन गर्ने उहाँले बताउनुभयो ।
महासचिव राईले भन्नुभयो, “परिवर्तित राजनीतिक घटनाक्रमअनुसार वर्तमान सरकार अल्पमतमा परिसकेकाले आफ्नो पार्टीको तर्फबाट सरकारमा सहभागी मन्त्रीलाई राजीनामा गर्न लगाएर नयाँ परिस्थितिअनुरुप पार्टी अगाडि बढ्ने छ । पदाधिकारी बैठक आजै साँझसम्म वा भोलि बिहान बस्नेछ ।”
जसपाका अध्यक्ष अशोक राई र नेता राजेन्द्र श्रेष्ठको कार्यव्यस्तताले आज साँझसम्म वा भोलि बिहान ७ बजे बैठक बसेर निर्णय गरिने जनाइएको छ । जसपाबाट वर्तमान सरकारमा दुई मन्त्री र एक राज्यमन्त्री सहभागी हुनुहुन्छ ।
मकैबालीलाई फौजी कीराले नष्ट गर्दा किसान चिन्तित
बैतडी, २० असार I अमेरिकन फौजी कीराले मकैखेतीलाई नष्ट गरिदिँदा यहाँका किसान चिन्तित भएका छन् । जिल्लाको दोगडाकेदार गाउँपालिकाको रिम, कालागाउँ, न्वाली, श्रीकेदारलगायतका स्थानमा फौजी कीराले मकैखेतीलाई असर पुयाएको हो । कीराले मकैको बोट सखाप पारेको दोगडाकेदार–५ न्वालीका किसान मदनसिंह कार्कीले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “कीराले मकैको पातमा पसेर गाबोसमेत खाने गरेको छ । कीराले खेतमा लगाइएको मकैबाली नष्ट गर्न थालेपछि समस्या भएको छ । कीरा नियन्त्रणका लागि विषादी उपलब्ध गराइदिन गाउँपालिकाको कृषि शाखालाई अनुरोध गरेका छौँ ।”
विभिन्न ठाउँका किसानले मकैबालीमा फौजी कीराको जोखिम देखिएको भन्ने गुनासो आएपछि अनुगमन र विषादी वितरण गर्ने कार्य भइरहेको कृषि प्राविधिक भुवनेश्वरी भट्टले बताउनुभयो । उहाँले भन्नुभयो, “किसानले फौजी कीराले मकैबालीलाई नष्ट गरेको गुनासो गरेपछि अनुगमन गरेर आवश्यक सुझाव सल्लाहका साथै विषादी वितरण गर्ने गरेका छौँ ।”
समयमा वर्षा नहुँदा तथा खडेरीका कारण फौजी कीरा बढी सक्रिय हुने गरेको छ । मकैको पकेट क्षेत्रमै कीराले मकैबाली नोक्सान गरेको हो । दिनभरि मकैको बोटमा लुक्ने र रात परेपछि कीराले मकैको घोघा, डाँठ, पात र टुप्पा खाएर थोरै समयमा पनि धेरै बाली नष्ट गर्ने गर्दछ ।
पालिकाका विभिन्न वडामा अमेरिकन फौजी कीराको जोखिम देखा परेको भन्ने जानकारी आएको दोगडाकेदार गाउँपालिकाका कृषि शाखा अधिकृत सन्तोष भट्टले बताउनुभयो । रिम, कालागाउँलगायतका किसानले फोन गरेर फौजी कीराको जोखिम देखिएको जानकारी गराएका छन् । उहाँले भन्नुभयो, “मकैमा फौजी कीराको आक्रमणबारे जानकारी पाएपछि वडास्तरबाटै कृषि प्राविधिक पठाएर अनुगमन कार्य गरी विषादीको व्यवस्था गरेको छौँ ।” फौजी कीरा रातको समयमा बढी सक्रिय हुने गरेकाले जोखिम देखिएको ठाउँमा विषादीको प्रयोग गर्न आवश्यक रहेको शाखा अधिकृत भट्टको भनाइ छ ।
गएको चार वर्षयता हरेक वर्ष फौजी कीराको जोखिम देखिने गरेको कृषि ज्ञान केन्द्रका प्रमुख घनश्याम चौधरीले बताउनुभयो । उहाँले भन्नुभयो, “मकैमा फौजी कीराको जोखिम प्रत्येक याममा देखा पर्ने गरेको छ, माटोमा अण्डा भइरहने र लार्भा उत्पन्नको तहबाटै मकैको बोट खान थाल्छ । नियन्त्रणका लागि मुस्किल हुने गरेको छ ।”
पालिकाको कृषि शाखाको समन्यमा किसानहलाई ज्ञानकेन्द्रले बिषादी वितरण गर्ने गरेको छ । इमामेक्टिन वेन्जोएट, अल्टाकोर नामक विषादी वितरण गर्ने र एक किसानले मात्रै विषादी प्रयोग गरेर नहुने भएकाले जोखिम देखिएका सबै बारीमा विषादी छर्केपछि मात्रै कीराको जोखिम नियन्त्रण हुने जनाइएको छ । माटोको उपचार गरेर पनि फौजी कीराको जोखिम हटाउन सकिने प्रमुख चौधरीको भनाइ छ । फौजी कीराको जोखिम देखा परेकाले यस वर्ष मकै उत्पादनमा ह्रास आउने देखिएको छ ।
बैतडीमा १३ हजार हेक्टर क्षेत्रफलमा मकैखेती हुने गरेको भए पनि जङ्गली जनावर, विभिन्न रोगकीरा, बसाइँसराइका कारण हाल पाँच हजार चार सय हेक्टर क्षेत्रफल जमिनमा मात्रै मकैखेती गरिएको केन्द्रले जनाएको छ ।