अमेरिकामा ‘नेपाल–अमेरिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सव’
काठमाडौँ, ८ असार I अमेरिकाको मेरिल्याण्डमा ‘नेपाल–अमेरिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सव’ को सातौँ संस्करण सुरू भएको छ ।
नवीन सुब्बाले निर्देशन गर्नुभएको चलचित्र ‘गाउँ आएको बाटो’ को अमेरिका प्रदर्शनी (युएसए प्रिमियर) सँगै सुरू भएको उक्त महोत्सवमा नेपाल, अमेरिका, इरान, जर्मनी, पाकिस्तानलगायत ११ देशका चलचित्र, वृत्तचित्र, छोटा र सजीवता (एनिमेसन) विधाका गरी ३५ चलचित्र प्रदर्शन गरिने महोत्सव निर्देशक पूर्णसिंह बराइलीले जानकारी दिनुभयो ।
“नेपाल र अमेरिकाको कला, संस्कृति, परम्परा, ज्ञानलाई चलचित्रमार्फत जोड्ने उद्देश्यले महोत्सव आयोजना गरेका हौँ । यसपटकको संस्करणमा हामीले छनोट गरेका चलचित्रले नेपालको आम जनजीवन र प्रवास नियतिलाई प्रष्ट्याउने छ”, उहाँले भन्नुभयो ।
यही असार ९ गतेसम्म चल्ने उक्त महोत्सवमा प्रदर्शन गरिएकामध्येबाट उत्कृष्ट चलचित्रलाई विभिन्न अवार्ड प्रदान गरिने छ । महोत्सवको उद्घाटन समारोहमा निर्देशक सुब्बासँगै सहभागी हुनुभएका अभिनेता दयाहाङ राईले यस्ता गतिविधिले नेपाली चलचित्रको प्रवद्र्धनमा मद्दत पुग्ने बताउनुभयो ।
उहाँले भन्नुभयो, “अमेरिकामा बस्ने नेपालीको सक्रियतामा आयोजना हुने महोत्सवले नेपाली चलचित्रका दर्शक बढाउने छन् । यसले नेपाली मात्र नभई विदेशी दर्शकलाई पनि आकर्षित गरेको छ । साथै, यस्ता महोत्सवमा देखाउन योग्य चलचित्र गाउँ आएको बाटो लिएर आउन पाउँदा झनै हर्षित छु ।” महोत्सवलाई नेपाल अमेरिका फिल्म सोसाइटीले आयोजना गरेको हो ।
पोखरामा इन्ड्राइभलगायतका ‘राइड सेयरिङ’ सञ्चालनमा रोक
गण्डकी, ८ असार I कास्कीको पोखरामा अनधिकृत रुपमा ‘एप’मार्फत ‘राइड सेयरिङ’ गरी यात्रु बोक्ने कार्य तत्कालका लागि बन्द गरिएको छ । यातायात व्यवस्था कार्यालय कास्कीले उक्त एपमार्फत यात्रु ओसारपसार गर्ने कार्य तुरुन्त बन्द गर्न शुक्रबार सार्वजनिक सूचना जारी गरेको हो ।
सूचनाको अटेर गरी यात्रु बोक्ने कार्य जारी राखेमा यसमा संलग्नलाई कारबाही गरिने सूचनामा उल्लेख छ । यातायात व्यवस्था कार्यालय (सवारी) पोखराका प्रमुख डिल्लीराम रिजालले कानुनविपरीत निजी सवारीसाधनले ‘राइड सेयरिङ’ सेवा सञ्चालन गरिरहेको पाइएकाले त्यसलाई रोक लगाइएको बताउनुभयो ।
“अनधिकृत रुपमा एपको प्रयोग गरी यात्रु बोकेमा सवारी तथा यातायात व्यवस्था ऐनअनुसार कारबाही हुन्छ”, उहाँले भन्नुभयो, “प्रकाशित सूचना अनुसार काम भए नभएको बारेमा प्रहरीको सहयोगमा कडाइका साथ अनुगमन गर्छौं ।”
गण्डकी प्रदेशमा ‘राइड सेयरिङ’ एपमार्फत हुने यातायात सेवालाई वैधानिक बनाउन सवारी तथा यातायात व्यवस्था नियमावली–२०८० मा व्यवस्था भए पनि नियमनका लागि कार्यविधि भने बनेको छैन । नियमावलीमा निजी प्रयोजनका लागि दर्ता प्रमाणपत्र प्राप्त चार पाङ्ग्रे तथा दुई पाङ्ग्रे सवारीसाधनले यात्रु बीमासहित तोकिएको प्रक्रिया पूरा गरेर यात्रु बोक्न पाउने व्यवस्था छ ।
साथै यातायात कार्यालयले नै सार्वजनिक सवारीका लागि भाडादर तोक्ने गर्छ । तर हाल सञ्चालनमा रहेका इन्ड्राइभलगायतका निजी सवारीसाधनले भने आफै एप बनाएर भाडादर आफै लागु गर्ने गरेका छन्, तर कानुनअनुसार यस्तो कार्य अवैध हो ।
“नियमवली बनेपछि मापदण्ड नबन्दा गण्डकी प्रदेशमा राइड सेयरिङ सेवालाई नियमन गर्न सकिएको छैन”, कार्यालय प्रमुख रिजालले भन्नुभयो, “अहिले यातायात कार्यालयको अनुमतिसमेत नलिई आफूखुसी एपमार्फत यात्रु ओसारपसार गर्ने कार्य भइरहेको छ, आफै भाडा तोकेर सञ्चालन भएको छ । यातायात कार्यालयले समायोजन गर्ने गरेको भाडाबमोजिम छ कि छैन भनेर पनि निजी सवारीसाधनले हेर्ने गरेका छैनन् । गण्डकी प्रदेशमा राइड सेयरिङ सेवा गैरकानुनी छ ।”
मापदण्ड र कार्यविधि बनेपछि मात्र निजी सवारीसाधन ‘राइड सेयरिङ’मा दर्ता हुन पाउने छन् । मोबाइल एपको प्रयोगमार्फत यातायात सेवा लिन सकिने ‘राइड सेयरिङ’हरु पोखरामा यात्रु भने बढ्दै छन् । यहाँ यी सवारीसाधन लोकप्रिय बन्दै गएका भए पनि नियमन गर्न र वैधानिक बनाउन भने सकिएको छैन । नेपालमा पठाओ, टुटल, सहारा, इनड्राइभ, सजिलो, ट्याक्सिमान्डु, क्याब ट्याक्सीलगायत राइड सेयरिङ एप सञ्चालनमा छन् ।
गण्डकी प्रदेशको राजधानी पोखरामा कम्पनी रजिष्ट्रारको कार्यालय तथा उद्योग विभागमा दर्ता भएको इनड्राइभलगायत ‘राइड सेयरिङ’ चलिरहेको छ । यातायातसम्बन्धी कानुनअनुसार यसले गण्डकीमा हालसम्म वैधानिकता पाएको छैन । ‘राइड सेयरिङ’ सेवाका लागि दुई पाङ्ग्रे सवारीसाधन दर्ता गर्न रु २५ हजार र नवीकरण शुल्क प्रतिवर्ष रु १२ हजार पाँच सय तोकिएको छ । चार पाङ्ग्रे सवारी साधनको दर्ता तथा अनुमति शुल्क रु ५० हजार र नवीकरण शुल्क रु २५ हजार कायम गरिएको छ ।
दुई पाङ्ग्रे र चार पाङ्ग्रेको दर्ता अनुमतिका लागि रु ७० हजार र वार्षिक नवीकरण रु ३५ हजार तोकिएको छ । सार्वजनिक यातायात क्षेत्रमा यात्रु ठगिने र दुःख पाउने अवस्थाको अन्त्यका लागि ‘राइड सेयरिङ’लाई वैधानिकता दिनुपर्ने माग हुँदै आएकाले राइड सेयरिङ एपहरुको नियन्त्रण र व्यवस्थापन जरुरी रहेको बताइएको छ ।
यातायात व्यवसायी महासङ्घ गण्डकी प्रदेशका संयोजक केदार पौडेलले राइड सेयरिङ सेवालाई कानुनको दायरामा ल्याउनुपर्ने बताउनुभयो । “जसलाई मन लाग्यो उसैले एप राखेर यात्रु बोक्न पाइँदैन, सरकारले नियमन गर्नुपर्छ”, उहाँले भन्नुभयो, “निजी सवारीसाधनले आफूखुसी यात्रु बोकेपछि सार्वजनिक यातायात किन चाहियो ?”
बाढीपहिरोले कोशी राजमार्गमा करोडौँको क्षति
खाँदबारी (सङ्खुवासभा), ७ असार I कोशी राजमार्गअन्तर्गत खाँदबारी–नुम सडक खण्डमा बाढीपहिरोले पक्की पुल बगाउँदा रु सात करोड बराबरको क्षति भएको छ । खाँदबारी– थामसेर्कुअन्तर्गत ठूलोढुङ्गा– अरुणथान खण्डमा सडकको ‘सब–बेस’ बगाउँदा रु एक करोड बराबरको क्षति भएको छ ।
थामसेर्कु –कप्ताने सडक र कप्ताने– नुम सडक खण्डमा नाली, ग्याबिन पर्खाललगायतका संरचना बगाउँदा दुई करोडभन्दा बढीको क्षति भएको उत्तर दक्षिण कोशी सडक आयोजना कार्यालय सङ्खुवासभाका प्रमुख सबिन कोइरालाले जानकारी दिनुभयो । एकुवा खोलामा डेढ वर्षअघि निर्माण सम्पन्न भएको पुल पहिराले बगाउँदा चार करोड बराबरको क्षति भएको आयोजनाले जनाएको छ ।
मकालु गाउँपालिकाको फ्याक्सिन्दा दोभानमा रहेको अरुण नदीमाथिको पक्की पुल उच्च जोखिममा परेको छ । यो सडकखण्ड किमाथाङ्का हुँदै चीनसँग जोडिन्छ ।
सुन तस्करीको आरोपमा तीन पक्राउ
काठमाडौँ, ७ असार I कतारबाट कम्मरमा सुन लुकाएर ल्याउनेसहित तीन जनालाई प्रहरीले पक्राउ गरी आज सार्वजनिक गरेको छ ।
उनीहरुलाई काठमाडौँको सिनामङ्गलबाट पक्राउ गरिएको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले जानकारी दिएको छ । प्रहरीले पक्राउ गरेकामा बाँकेको खजुरा गाउँपालिका–८ का २४ वर्षीय मोहमद दिलसाद खाँ, नवलपरासीको पूर्व गैडाकोट नगरपालिका–१३ का २६ वर्षीय सन्तोष परियार र तनहुँको भानु नगरपालिका–१३ का २५ वर्षीय अञ्जिल गुरुङ रहेका छन् ।
हिमालय एयरको उडानमार्फत कतारबाट नेपाल आउने क्रममा खाँले कम्मरमा लुकाएर सुन ल्याएको भेटिएपछि उनलाई सिनामङ्गलबाट पक्राउ गरिएको कार्यालयका प्रहरी उपरीक्षक अङ्गुर जिसीले जानकारी दिनुभयो ।
सुरक्षा जाँचका क्रममा खाँको साथबाट निलो रङ्गको जिन्स पाइन्टको कम्मरको भागमा सेतो टिस्यु पेपरले फोल्ड गरी लुकाइछिपाइ राखेको अवस्थामा झण्डै १० लाख पर्ने ६९ दशलमव आठ सय ९० ग्राम तौलको ब्रासलेट र ११ दशमलव छ सय ५० ग्राम तौलको बेरुवा औँठी फेला पारिएको जिसीले बताउनुभयो ।
खाँले सुन ओसारपसार कार्यमा सन्तोष परियार र अञ्जिल गुरुङको पनि संलग्नता रहेको बताएपछि प्रहरीले तीनै जनालाई पक्राउ गरेको हो । बिहीबार पक्राउ परेका उनीहरुलाई भन्सार ऐनअनुसार आवश्यक अनुसन्धान तथा कारबाहीका लागि आजै विमानस्थल भन्सार कार्यालयमा बुझाइएको प्रहरीले जनाएको छ ।
पर्सा राष्ट्रिय निकुञ्जमा सिकारीको मृत्यु
काठमाडौँ, ७ असार I बारास्थित पर्सा राष्ट्रिय निकुञ्ज क्षेत्रमा चोरी सिकारीमा संलग्न एक व्यक्तिको मृत्यु भएको छ ।
त्यहाँ सुरक्षार्थ तैनाथ नेपाली सेना र निकुञ्ज प्रशासनका कर्मचारीसहित नियमित गस्तीमा रहेको टोलीमाथि पकडीवास ठूलोथलीमा सिकारीको समूहले फायर खोल्दा सेनाले जवाफी फायरिङ गरेको थियो । हतियारसहित निकुञ्ज इलाकामा प्रवेश गरेका सिकारीलाई नभाग्न चेतावनी दिएकामा उल्टै सेनाको टोलीमाथि शिकारी समूहले फायरिङ गरेपछि सेनाको गस्तीले जवाफी फायरिङ गर्नुपरेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।
सेनाको जवाफी फायरिङपछि भागेका शिकारीको टोलीलाई घटनास्थल वरपर खोज्दै जाँदा एक जना मृत अवस्थामा फेला परेको सेनाले पुष्टि गरेको छ । घटनास्थलबाट सेनाले दुई नाल भरुवा बन्दुक र शिकारीले प्रयोग गरेका बन्दोबस्तीका सामग्री फेला परेको जानकारी दिएको छ । अम्लेश्वर मध्यवर्ती सामुदायिक वन समितिका प्रतिनिधि, स्थानीय निकायका प्रतिनिधि, निकुञ्ज प्रशासन तथा इलाका प्रहरी कार्यालय सिमराबाट खटिएको प्रहरीद्वारा घटनासम्बन्धी अनुसन्धान तथा मृतकको मुचुल्का उठाइ शवको पोस्टमार्टमका लागि सम्बन्धित स्वास्थ्य संस्थामा पठाउन लागिएको पनि सेनाले जानकारी दिएको छ ।
एघार महिनामा १३ खर्ब १४ अर्बको व्यापार घाटा
काठमाडौ, ७ असार I चालु आर्थिक वर्ष २०८०/८१ को ११ महिना अवधिमा मुलुकले रु १३ खर्ब १४ अर्ब ४४ करोड बराबर व्यापार घाटा ब्यहोरेको छ । भन्सार विभागले आज सार्वजनिक गरेको चालु आर्थिक वर्षको जेठ मसान्तसम्मको वैदेशिक व्यापारको तथ्याङ्कअनुसार यो अवधिमा नेपालले रु १४ खर्ब ५३ अर्ब ७० करोड ४१ लाखको आयात गर्दा रु एक खर्ब ३९ अर्ब २६ करोड २३ लाख बराबरको मात्रै निर्यात गरेको हो ।
विभागका अनुसार ११ महिनामा नेपालले कूल रु १५ खर्ब ९२ अर्ब ९६ करोड ६५ लाख बराबरको वैदेशिक व्यापार गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा गरेको कूल वैदेशिक व्यापारको तुलनामा यो एक दशमलव ९५ प्रतिशतले कम हो । गत आर्थिक वर्ष २०७९/८० को जेठ महिनासम्ममा कूल रु १६ खर्ब २४ अर्ब ५६ करोड बराबरको वैदेशिक व्यापार भएको थियो । गत आर्थिक वर्षको तुलनामा चालु आर्थिक वर्षमा आयात एक दशमलव ८४, निर्यात तीन दशमलव एक र वैदेशिक व्यापार घाटा एक दशमलव ७२ प्रतिशतले घटेको हो ।
जेठ मसान्तसम्ममा नेपालले भारतसँग मात्र रु आठ खर्ब १३ अर्ब ७८ करोड २९ लाख बराबर व्यापारघाटा व्यहोरेको छ । भारतसँग रु नौ खर्ब आठ अर्ब २९ करोड ९२ लाखको आयात हुँदा रु ९४ अर्ब ५१ करोड बराबरको मात्रै निर्यात भएको छ । अर्को छिमेकी मुलुक चीनसँग ११ महिना अवधिमा रु दुई खर्ब ७० अर्ब ४० करोड व्यापार घाटा देखिएको छ । चीनबाट रु दुई खर्ब ७२ अर्ब ८१ करोड को आयात हुँदा रु दुई अर्ब ४० करोड ९८ लाख बराबर निर्यात देखिएको हो । बढी व्यापार घाटा देखिएका मुलुकको सूचीमा युनाइटेड अरब इमिरेट्स तेस्रो नम्बरमा छ । युएईसँग रु २८ अर्ब ४८ करोड २५ लाखको आयात र रु दुई अर्ब ४२ करोड ८३ लाखको निर्यात हुँदा कूल रु २६ अर्ब पाँच करोड ४२ लाख बराबरको व्यापार घाटा देखिएको हो ।
नेपालको वैदेशिक व्यापारमा सबैभन्दा नाफा अफगानिस्तानसँग देखिएको छ । चालु आर्थिक वर्षको जेठ मसान्तसम्ममा अफगानिस्तानबाट रु एक करोड १६ लाख ९० हजार बराबरको आयात हुँदा रु ४० करोड ३४ लाख ९७ हजार बराबर निर्यात भएको छ । अर्थात् नेपालले अफगानिस्तानसँगको व्यापारमा रु ३९ करोड १८ लाख सात हजार बराबर फाइदा गरेको छ । त्यस्तै, नर्वे, सुडान, आइसल्यान्ड, मौरिससलगायतका मुलुकसँगको व्यापारमा पनि नाफा देखिएको छ I
प्रतिपक्षी दलको विरोधपछि लुम्बिनी प्रदेशसभाको बैठक स्थगन
लुम्बिनी, ७ असार I प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको विरोधका कारण लुम्बिनी प्रदेशसभाको आजको बैठक स्थगन भएको छ । प्रदेशसभाको आज अपराह्न १ बजे बसेको बैठकमा नेपाली कांग्रेसका सांसदहरूले विरोध जनाएपछि बैठक केही समयका लागि स्थगन गरिएको थियो ।
त्यसलगत्तै सभामुख तुलाराम घर्तीले प्रतिपक्षी दलसँग छलफल गर्दा सहमति जुट्न नसकेपछि प्रदेशसभा सचिवालयले आजको अर्को बैठक बस्न नसक्ने सूचना जारी गरी आइतबार बिहान ८ बजे बस्ने जानकारी दिएको छ ।
प्रदेशसभामा सरकारका तर्फबाट असार १ गते ल्याइएको आर्थिक वर्ष २०८१/८२ को बजेटमाथि बिहीबारदेखि छलफल सुरु भएको थियो । बजेटमाथिको छलफलका क्रममा आजको बैठक सुरु हुने बित्तिकै नेपाली कांग्रेस संसदीय दलका नेता डिल्लीबहादुर चौधरीले सरकारले जनतामैत्री र सङ्घीयता विरोधी बजेट ल्याएको धारणा राख्नुभएको थियो ।
नेता चौधरीले धारणा राखिसकेपछि कांग्रेसले सदन अवरुद्ध गरेको हो । दलका नेता बोलिसकेपछि कांग्रेसका सदस्यहरुले उठेर विरोध जनाएका थिए । नेता चौधरीले सरकारले कृषिमा कर लगाएको, चालु आर्थिक वर्षभन्दा रु ५७ करोड बजेट घटाएको, किसानमैत्री बजेट नल्याएको आरोप लगाउनुभयो । उहाँले आमजनतालाई मलबीउ पु¥याउन नसक्ने तर औचित्यहीन क्षेत्रमा रकम खर्चने बजेट मान्य नहुने बताउनुभयो ।
उहाँले प्रस्तुत बजेटले पर्यटन क्षेत्रलाईसमेत धरापमा पारेको बताउँदै विगतको सरकारले स्थानीय जनजातिहरूको आयआर्जनका लागि लिएको मदिराको नीति अहिले काटिएकामा विरोध जनाउनुभयो ।
डेल्टा कम्प्लेक्समा भएको आगलागीबाट ५० करोड क्षतिको अनुमान
लुम्बिनी, ७ असार I बुटवल उपमहानगरपालिका–८ स्थित मिलनचोकमा रहेको डेल्टा कम्प्लेक्समा बिहीबार साँझ भएको आगलागीबाट रु ५० करोड बढीको क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ । कम्प्लेक्सका सञ्चालक पाठकका अनुसार क्षतिको पूर्ण विवरण सङ्कलनको काम भइरहेको छ भने आगलागीबाट रु ५० करोड बढीको क्षति भएको प्रारम्भिक अनुमान छ । बिहीबार साँझ लागेको आगो राति २ बजे मात्र पूर्णरुपमा नियन्त्रणमा आए पनि सबै सामान तथा भवन जलेर नष्ट भएका पाठकले बताउनुभयो ।
मेटल स्टक्चरमा निर्माण गरिएको चार तले भवनको चौथो तलामा रहेको डेल्टा एजुकेसन मार्टको पश्चिमतर्फबाट साँझ ६ः३० बजेदेखि आगलागी सुरु भएको र करिब आठ घण्टापछि निभाइएको थियो । ओम कम्प्लेक्समा स्टेसनरी, झण्डै दुई दर्जन बढी विद्यालयका तयारी पोसाक, काँचो र तयारी कपडा पसल, खेलकुदका सामग्रीसहित नेपाली लुगा घर, जुत्ता बजार र खाद्यान्नको व्यवसाय सञ्चालनमा थिए ।
इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायब उपरीक्षक विजयराज पण्डितले कम्प्लेक्समा सञ्चालित सम्पूर्ण पसलमा रहेका सामानमा क्षति भएको बताउनुभयो । पण्डितका अनुसार मोटरग्यारेज, दुईवटा पेट्रोल पम्प र बाक्लो बस्तीको बीचमा रहेको डेल्टा कम्प्लेक्सबाट अन्यत्र आगो फैलिनबाट जोगिए पनि कम्प्लेक्स भने पूर्णरुपमा ध्वस्त भएको छ ।
आगलागी नियन्त्रणधका लागि बुटवल उपमहानगरपालिका, देवदह, सैनामैना, सिद्धार्थनगर, लुम्बिनी सांस्कृतिक नगरपालिका, नवलपरासीको बर्दघाट र परासी, कपिलवस्तुको वाणगङ्गा तथा नेपाल आयल निगम भलवारी र गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थललगायतका १३ बारुणयन्त्र परिचालन गरिएका थिए ।
उपप्रधानमन्त्री श्रेष्ठ ‘एसिया सहयोग संवाद’मा भाग लिन इरान जानुहुँदै
काठमाडौँ, ७ असार I उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ एसिया सहयोग संवाद (एसिडी)का सदस्य राष्ट्रका विदेश मन्त्रीहरूको १९औँ बैठकमा भाग लिन शनिबार इस्लामिक गणतन्त्र इरान प्रस्थान गर्नुहुनेछ ।
उहाँ इरानको राजधानी तेहरानमा सोमबार (असार १० गते) आयोजना हुने उक्त बैठकमा सहभागी हुन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै त्यसतर्फ प्रस्थान गर्न लाग्नुभएको मन्त्रालयले जनाएको छ । उपप्रधानमन्त्री श्रेष्ठले बैठकका अवसरमा सदस्य राष्ट्रका विदेशमन्त्रीहरुसँग द्विपक्षीय भेटवार्ता गर्नुहुने कार्यक्रम छ ।
मन्त्रिस्तरीय बैठक अघि मन्त्रालयको क्षेत्रीय सङ्गठन महाशाखाका सहसचिव ज्ञानबहादुर मगरले यही असार ९ गते हुने एसिडीका वरिष्ठ अधिकारीहरूको बैठकमा भाग लिनुहुनेछ । उपप्रधानमन्त्री श्रेष्ठ यही असार १२ गते स्वदेश फर्कनुहुने तालिका छ ।
दिल्लीका मुख्यमन्त्रीलाई सम्पत्ति शुद्धीकरण मुद्दामा जमानत दिएको छ
नयाँ दिल्ली, ७ असार I दिल्लीको एक अदालतले मदिराको अन्तः शुल्क नीतिसम्बन्धी सम्पत्ति शुद्धीकरण मुद्दामा जेलमा रहेका दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाललाई बिहीबार जमानत दिएको छ । “प्रवर्तन निर्देशनालय (ईडी) को सबै आपत्तिलाई अस्वीकार गर्दै सम्मानित अदालतले दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाललाई जमानत दिएको छ,” आम आदमी पार्टी (आप) ले सामाजिक सञ्जालमा लेखेको छ ।
बिहीबार साँझ आदेश जारी भएपछि आदेशलाई पुनरावेदन गरी चुनौती दिन सकियोस् भनी ईडीले जमानतपत्रमा हस्ताक्षर गर्न ४८ घण्टा पछि सार्न अनुरोध गरेको थियो । न्यायाधीशले उक्त आदेशमा रोक लगाउन अस्वीकार गरेका थिए । जमानतपत्र शुक्रवार न्यायाधीश समक्ष पेश गरिनेछ । आम आदमी पार्टी (आप) का प्रमुखसमेत रहेका केजरीवाल शुक्रबार जेलबाट बाहिर निस्कने सम्भावना छ किनभने जमानतको आदेश पहिले जेल पुग्नुपर्ने हुन्छ ।
केजरीवाललाई ईडीले गत मार्चमा विशिष्ट व्यक्तिहरूको पक्षमा मदिरामा अन्तःशुल्क निर्धारणमा प्रत्यक्ष संलग्नतासँग सम्बन्धित भ्रष्टाचारको आरोपमा गिरफ्तार गरेको थियो । सन् २०२२ को अगष्टमा भारतको प्रमुख अनुसन्धान निकाय सेन्ट्रल ब्युरो अफ इन्भेस्टिगेसन (सीबीआई) ले दिल्ली सरकारले घूस खाएका केही मदिरा व्यापारीलाई फाइदा पु¥याउन उक्त नीतिको प्रयोग गरेको आरोप लगाएपछि दिल्लीको अन्तःशुल्क नीतिको अनुसन्धान सुरु भएको थियो । उक्त नीति पछि खारेज गरिएको थियो ।
गत महिना भारतको सर्वोच्च अदालतले केजरीवाललाई देशको आम चुनावमा आफ्नो पार्टी र विपक्षी गठबन्धनका लागि प्रचार गर्न जुन १ सम्मका लागि अन्तरिम जमानत दिएको थियो । अन्तरिम जमानत अवधि सकिएपछि उहाँ जेठ २८ गते जेल फर्किनुभएको थियो । आम आदमी पार्टीले एक दशकभन्दा बढी समयदेखि भारतको राष्ट्रिय राजधानी क्षेत्रमा शासन गर्दै आएको छ । यसले उत्तरी भारतीय राज्य पञ्जाबमा पनि शासन गर्छ ।-रासस/सिन्ह्वा