शुक्रबार, १२ भदौ २०८३

/frontend/images/redline.png
https://jawaaf.com/storage/01J0TPR8BKSXC0NG2Z82XYDB7C.jpg

सरकारसँगको सहकार्य हाम्रा कारणले टुट्दैन : अध्यक्ष नेपाल

महोत्तरी, ६ असार I नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले मुलुकको विकास र जनचाहना सम्बोधनका लागि आफ्नो दलले सरकारसँग सहकार्य गरेको बताउनुभएको छ । महोत्तरीको बर्दिबासमा समाजवादी प्रेस सङ्गठन नेपालद्वारा आज आयोजित पत्रकार भेटघाट कार्यक्रममा उहाँले निश्चित उद्देश्य प्राप्तिका लागि गरिएको सहकार्यले निरन्तरता पाउने उल्लेख गर्नुभयो । 

“जनताका आवश्यकता पूरा गर्न र समृद्धिको यात्रा अघि बढाउने उद्देश्यकासाथ सरकारसँग सहकार्य गरिएको हो”, अध्यक्ष नेपालले भन्नुभयो, “सरकारसँगको सहकार्य हाम्रा कारणले टु्ट्दैन ।” यद्यपि सत्ता गठबन्धनमा सहभागी दलहरुबीच सघन संवाद भने हुन नसकेको उहाँको गुनासो थियो ।

“सरकार सञ्चालन गर्न सत्ता गठबन्धन दलहरुबीच सरसल्लाह भइरहनुपर्छ, यो पर्याप्तरुपमा हुन सकेको छैन”, अध्यक्ष नेपालले भन्नुभयो । गठबन्धन दलहरुबीचको सम्बन्ध जीवन्त राख्न प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’कै मुख्य पहलकदमी हुनपर्ने उहाँको सुझाव छ । पार्टीको महाधिवेशनको तयारीका सिलसिलामा विभिन्न जिल्लाको दौडाहामा रहनुभएका अध्यक्ष नेपाल महोत्तरी आउनुभएको हो ।

प्रकाशित मितिः बिहिबार, ०६ असार २०८१
https://jawaaf.com/storage/01J0TKVRB4A14E4T175EXBAHM9.jpg

अविरल वर्षासँगै आएको बाढीपहिरोले पुल बगाएपछि आवगमन ठप्प

किमाथाङ्का (सङ्खुवासभा), ६ असार I सङ्खुवासभाको भोटखोला गाउँपालिका जोड्ने इकुवा खोलाको पक्की पुल बगाएको छ । गएराति अविरल वर्षासँगै आएको बाढीपहिरोले इकुवा खोलामाथिको पक्की पुल बगाएको हो । मकालु गाउँपालिका–३ स्थित इकुवा खोलाको पुल बगाउँदा भोटखोला गाउँपालिकासम्मको आवागमन ठप्प भएको छ । 

पहिरोले मकालु–३ र भोटखोला–४ को बीचमा रहेको इकुवा खोलामाथिको पुल बगाउँदा उत्तरी क्षेत्रको यातायात आवगमन ठप्प भएको उत्तर दक्षिण कोशी सडक आयोजनाका प्रमुख इञ्जिनियर सविन कोइरालाले जानकारी दिनुभयो । उहाँका अनुसार उत्तर–दक्षिण राजमार्गमा पर्ने उक्त पुल २० मिटर लामो थियो ।

पुल पिलरसहित बगाउँदा रु चार करोड बढीको क्षति भएको आयोजनाका प्रमुख कोइरालाले बताउनुभयो । उक्त पुल २०७९ सालमा निर्माण गरिएको थियो । पुल बगाएपछि मकालु गाउँपालिकाका केही वडा र भोटखोला गाउँपालिकामा यातायात सेवा बन्द भएको छ । यसअघि सदरमुकाम खाँदबारीबाट भोटखोलाको बरुणसम्मको ८० किलोमिटरसम्म यातायात सञ्चालन हुँदै आएको थियो । 

पहिरोले उत्तर–दक्षिण राजमार्गमा पर्ने विभिन्न सडक खण्डमा क्षति पुयाउनुका साथै गत जेठ ३१ गते राति आएको बाढीले कोशी राजमार्गस्थित सभाखोलाको पक्की पुल जोखिममा परेको इञ्जिनियर कोइरालाले बताउनुभयो । 

उहाँका अनुसार चैनपुर नगरपालिका र पाँचखपन नगरपालिका जोड्ने हेवा खोला, चिचिला गाउँपालिका–२ र ३ जोड्ने खोलाका साथै अरुण तेस्रो पावर हाउस जाने छ्याङ र कागुवा खोलाको पक्की पुलमा समेत क्षति पुगेको छ । 

प्रकाशित मितिः बिहिबार, ०६ असार २०८१
https://jawaaf.com/storage/01J0TJ0AQDXEDW8QDJXESET8PE.jpg

लालुपाते सहकारी घोटला प्रकरणः बचतकर्ताको रकम फिर्ता गर्दै सञ्चालक समिति

केदार मगर 

खोटाङ, ६ असार I लालुपाते बहुउद्देश्यीय सहकारी संस्था सञ्चालक समितिले बचतकर्ताको रकम धमाधम फिर्ता दिन थालेको छ । बचतकर्ताको बचत रकम ठगी प्रकरणमा मुद्दा चलिरहेको अवस्थामा सञ्चालक समितिले ऋणीबाट उठाएर बचतकर्तामध्ये उजुरी दिने दुई सय ६५ बचतकर्तालाई बचत रकम फिर्ता दिन थालेको हो ।     
     
अदालतमा विचाराधीन मुद्दा मिलापत्र गर्ने उद्देश्यले ऋणीले चलाएको रकम उठाएर बचतकर्तालाई फिर्ता दिन थालिएको सहकारीका सहजकर्ता गोपाल सैँजूले बताउनुभयो । “अदालतमा विचाराधीन मुद्दाको फैसला हुन केही समय लाग्छ, फैसला पर्खँदा बचतकर्ता पीडितमाथि झनै पीडित हुने अवस्था देखियो”, उहाँले भन्नुभयो, “‘सर्प पनि नमर्ने, लौरो पनि नभाँचिने’ भन्ने कथनअनुसार मध्यमार्गी भूमिका निर्वाह गरेका छौँ, यसले सबैको भलाइ हुन्छ ।”     
     
बचतकर्ता पदमकुमारी सैँजूसमेत दुई सय ६५ जनाले दिएको जाहेरीमा सरकारी वकिलले मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ३२ बमोजिम रु चार करोड ४० लाख ६१ हजार १८ बिगो मागदाबीसहित अदालतमा अभियोगपत्र दर्ता गराएको थियो । सञ्चालक समितिले उनीहरु सबैजनालाई दिक्तेलमा बोलाएर भर्पाइ गराउँदै बचत रकम फिर्ता दिने काम गरिरहेको छ ।     
     
डुबेको रकम फिर्ता पाएकामा आफूहरू खुसी रहेको बचतकर्ताहरूले बताएका छन् । “घरजग्गा बिक्री गरेर अन्यत्र लगानी गर्न रु ५२ लाख ४४ हजार छ सय ८७ रकम सहकारीमा बचत गरेको थिएँ, सञ्चालक समितिको लापरबाहीले सहकारीमा जम्मा गरेको बचत रकम डुब्ने अवस्थामा पुगेको थियो, ढिलै भए पनि फिर्ता पाएका छौँ”, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेलका बचतकर्ता लेखनाथ आचार्यले भन्नुभयो, “सञ्चालक समितिको यो भूमिकाप्रति हामी आभारी छौँ, हामीले पसिना बगाएर जम्मा गरेको रकम ढिलै भए पनि फिर्ता पाएका छौँ ।”     
     
सहकारीका तत्कालीन अध्यक्ष अनिल जोशीको कोभिड–१९ को सङ्क्रमणका कारण विसं २०७८ वैशाख १५ गते पोखरामा निधन भएको थियो । जोशीको निधनपछि निक्षेपकर्ता निक्षेप रकम फिर्ता माग्न जाँदा सञ्चालक समितिका पदाधिकारी तथा सरोकारवालाले सहकारीको कारोबार एवं हिसाब हेर्ने क्रममा निक्षेप फिर्ता गर्ने मौज्दात रकम नै नदेखिएपछि बचत अपचलन भएको विषय बाहिरिएको थियो ।     
     
 तत्कालीन अध्यक्ष जोशीको निधनपछि विसं २०७८ वैशाख १६ गतेदेखि सहकारीको कारोबार ठप्प छ । सहकारीबाट ऋणीलाई रु २५ हजारदेखि रु ९९ लाखसम्म ऋण दिइएको देखिएको जिल्ला सरकारी वकिलको कार्यालयले जनाएको छ ।     
     
 सहकारीका ऋणीमध्ये २४ जनालाई सहकारीको नियम मिचेर ऋण प्रवाह गरेको पाइएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक बेनु कार्कीले जानकारी दिनुभएको छ । “सहकारीको नियम मिचेर मनोमानी गरेकै कारण सहकारी सङ्कटमा फसेको अनुसन्धानमा देखियो, सहकारीको निक्षेप रु चार करोड ४७ लाख ५७ हजार दुई सय २१, शेयर पुँजी रु ५१ लाख १४ हजार सात सय ८१, जगेडा कोषमा रु १९ लाख ५८ हजार चार सय ९२ र संस्थागत कोषमा रु २४ लाख ८६ हजार पाँच सय ६४ देखिन्छ”, उहाँले भन्नुभयो, “सञ्चालक समितिले रु चार करोड ९० लाख ९७ हजार तीन सय ९३ तिर्नुपर्ने देखिएको छ, संस्थाको वित्तीय अवस्था हेर्दा सहकारी ‘डुबेको’ छैन ।”     
     
बचत रकम ठगी प्रकरणमा सहकारीका तत्कालीन अध्यक्ष जोशीका भाइ सौर्य एयरलायन्सका क्याप्टेन सुनिल जोशीसहित चारजना पुर्पक्षका लागि कारागार चलान भएका छन् । तत्कालीन अध्यक्ष जोशीका सहोदर भाइ क्याप्टेन सुनिल, सुनिलकी श्रीमती रविना जोशी (श्रेष्ठ), प्रबन्धक रुकु जोशी र ऋणी जसुदा पौडेल जिल्ला अदालतका तत्कालीन न्यायाधीश सुभाषबाबु गिरीको आदेशमा विसं २०८० मङ्सिर २१ गते कारागार चलान भएका हुन् ।     
     
सुनिल र सुनिलकी श्रीमती रविना विसं २०८० असोज १३ गते काठमाडौँस्थित उनीहरूको घरैबाट पक्राउ परेका थिए । उनीहरूमध्ये सुनिलले सहकारीको रकममा खरिद गरिएको जग्गा आफ्नो नाममा पास गरेको तथा रविनाले रु दुई करोड ३५ लाख बचतकर्ताको रकम अपचलन गरेको अदालतको ठहर छ ।     
     
तत्कालीन अध्यक्ष जोशीसँगको मिलेमतोमा सहकारीबाट लाखौँ ऋण लगेको तर, फिर्ता नगरेको भन्दै परेको किटानी जाहेरीका आधारमा पोखराकी जसुदालाई प्रहरीले विसं २०८० कात्तिक १५ गते चितवनबाट पक्राउ गरेको थियो । उनीसहित तत्कालीन अध्यक्ष जोशीका परिवारविरुद्ध सहकारी सञ्चालक समितिले विसं २०८० फागुन २ गते प्रहरीमा उजुरी दिएको थियो ।     
     
तत्कालीन प्रबन्धक जोशीले तत्कालीन अध्यक्ष जोशीसँगको मिलेमतोमा बचतकर्ताको करौडौँ रकम अपलचन गरेको अदालतले दिएको थुनछेक आदेशमा उल्लेख छ । प्रबन्धक जोशीलाई सञ्चालक समितिको जाहेरीका आधारमा विसं २०८० असोज १७ गते काठमाडौँबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।     
     
 सहकारीका लेखा समिति संयोजक प्रितम श्रेष्ठ र कोषाध्यक्ष रमा शाक्य रु १०–१० लाख तथा उपाध्यक्ष अर्जुन चौलागाईँ र सचिव मनोज राई रु पाँच–पाँच लाख धरौटीमा रिहा भएका छन् । लेखापाल सुमना राई अदालतबाट रु १० लाख धरौटी तोकिए पनि बुझाउन नसक्दा कारागार चलान भएर चार महिनापछि अदालतले तोकेको धरौटी रकम बुझाएर छुटेका थिए ।     
     
बचतकर्ताको लगानी डुबाएको भन्दै जाहेरी परेपछि सहकारीका सञ्चालक समितिका उपाध्यक्ष चौलागाईँ, सचिव राई, कोषाध्यक्ष शाक्य, लेखा समिति संयोजक श्रेष्ठ र लेखापाल राईलाई प्रहरीले विसं २०८० कात्तिक १२ गते पक्राउ गरेको थियो । सञ्चालक समितिका पदाधिकारी पक्राउ गर्नुभन्दा महिना दिनअघि ऋणीहरूलाई प्रहरीले पक्राउ गरे पनि अनुसन्धानमा असर गर्ने भन्दै उनीहरूको नाम सार्वजनिक गरेको थिएन ।     
     
प्रहरीले पक्राउ परेका नौ जनालाई सङ्गठित अपराधमा मुद्दा चलाउने भन्दै ६० दिनसम्म हिरासतमा राखेर सरकारी वकिलको कार्यालयमा राय प्रतिवेदन बुझाएको थियो । प्रहरीले सङ्गठित अपराधअन्तर्गतको राय प्रतिवेदन बुझाए पनि सरकारी वकिलले ठगी मुद्दाको अभियोगपत्र तयार गरेर अदालतमा बुझाएको हो ।     
     
सहकारीको नाममा हलेसीमा रु ४८ लाखमा खरिद गरिएको छ रोपनी तीन आना एक पैसा एक दाम (दुई कित्ता) जग्गा तत्कालीन अध्यक्ष जोशीका भाइ क्याप्टेन सुनिलको नाममा पास गरेको पाइएको छ । सहकारीको नाममा जग्गा किन्ने निर्णय गरेर तत्कालीन अध्यक्ष जोशीको मिलेमतोमा व्यक्तिको नाममा पास गरेको पाइएको प्रहरीले जनाएको छ ।     
     
तत्कालीन व्यवस्थापक जोशीको नाममा राखिएको बाम्राङको १६ रोपनी (तीन कित्ता) जग्गा सहकारीको नाममा ल्याइसकिएको पाइएको छ । लालुपाते सहकारी सङ्कटमा फसेको विषयमा अनुसन्धान अघि बढाइएको प्रहरीले ऋण तिर्नका लागि सूचना जारी गर्दा तोकिएको समयभित्र पाँच ऋणीले रु १५ लाख १६ हजार फिर्ता गरेका छन् ।  

प्रकाशित मितिः बिहिबार, ०६ असार २०८१
https://jawaaf.com/storage/01J0TED1JS6HN9P6MY33NDW11N.jpg

भारतमा विषाक्त मदिरा पिउँदा ३४ जनाको मृत्यु, एक सयभन्दा बढीलाई अस्पताल भर्ना

मुम्बई, ६ असार I भारतमा विषाक्त अवैध रक्सीको सेवनबाटे कम्तिमा ३४ जनाको ज्यान गएको साथै एक सयभन्दा बढीलाई अस्पताल भर्ना गरिएको तमिलनाडु राज्यका अधिकारीले बिहीबार सञ्चारमाध्यमलाई जानकारी गराउनुभएको छ । स्थानीय रूपमा उत्पादन गरिएको उक्त पेय पदार्थ घातक मिश्रण विषाक्त मेथानोलले भरिएको मुख्यमन्त्री  स्टालिनलाई उद्धृत गरी पिटिआईले जनाएको छ । 

घटनासँग दोषी भनिएका आरोपितलाई प्रहरीले पक्राउ गरी अनुसन्धान सुरू गरेको मुख्यामन्त्री स्टालिनले बताउनुभयो । अपराधले समाजलाई बर्बाद गर्ने बताउँदै यस्ता घटनामा संलग्न सबैलाई कडा कानुनी कारबाही हुने उहाँले बताउनुभएको मुख्यामन्त्रीको कार्यालयद्वारा जारी विज्ञप्तिमा भनिएको छ । मदीराको शक्ति बढाउनका लागि रक्सीमा प्रायः मेथानोल मिसाइन्छ, जसले अन्धोपन, कलेजोको क्षति र मृत्यु निम्त्याउन सक्छ ।

घटनासँग सम्बन्धित १०० भन्दा बढी व्यक्ति अस्पतालमा भर्ना भएका राज्यको कल्लाकुरिची जिल्लाका शीर्ष सरकारी अधिकारी प्रशान्तलाई भारतीय सञ्चारमाध्यमले उद्धृत गरेका छन् । तामिलनाडुका राज्यपालले सामजिक सञ्जाल एक्समा धेरै पीडितको स्वास्थ्य गम्भीर अवस्थामा रहेको उल्लेख गर्दै मृतकप्रति गहिरो शोक व्यक्त गर्नुभयो । गत वर्ष पूर्वी भारतीय राज्य बिहारमा विषाक्त मदिरा सेवन गर्दा कम्तीमा २७ जनाको मृत्यु भएको थियो भने सन् २०२२ मा गुजरातमा कम्तीमा ४२ जनाको मृत्यु भएको थियो ।-रासस/एएफपी

प्रकाशित मितिः बिहिबार, ०६ असार २०८१
https://jawaaf.com/storage/01J0TD0N90RX91XCV6WY40RMY8.jpg

प्रत्यक्ष निर्वाचनमा महिलाका लागि छुट्टै सिट निर्धारण गर्नुपर्नेमा जोड

काठमाडौँ, ६ असार I नेपाली कांग्रेसमा आवद्ध नेताहरुले प्रत्यक्ष निर्वाचनमा महिलाको सहभागिता बढाउन छुट्टै सिट निर्धारण गर्नुपर्नेमा जोड दिनुभएको छ ।

नेपाल महिला सङ्घले आज यहाँ अयोजना गरेको कार्यक्रममा सहभागीले निर्वाचनमा सबै राजनीतिक दलले थोरै सङ्ख्यामा महिला उम्मेदवार बनाउने गरेकाले विजयी हुनेको सङ्ख्या पनि कम हुने भन्दै महिलाका लागि छुट्टै सिट निर्धारण गर्नुपर्ने धारणा व्यक्त गर्नुभएको हो ।

कार्यक्रममा कांग्रेस सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले प्रत्यक्ष निर्वाचनमा महिलाका लागि छुट्टै सिट निर्धारण गर्नुपर्ने विषय सकारात्मक रहेको बताउनुभयो । “प्रत्यक्ष निर्वाचनमा महिलाको सहभागिता बढाउन अलग्गै सिटको व्यवस्था गर्नुपर्छ भन्ने सकारात्मक विषय हो”, उहाँले भन्नुभयो । त्यसअघि पार्टीभित्र हुने अन्तर्घात अन्त्य गर्न सके महिलाले थप अवसर पाउने उहाँको भनाइ छ ।

नेपाल महिला सङ्घको भावी कार्ययोजना निर्माण विषयक कार्यशाला गोष्ठी' मा सम्बोधन गर्दै पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा ।



सभापति देउवाले मुलुकमा भएको समावेशी समानुपातिक व्यवस्थाले महिलालाई राज्यका हरेक क्षेत्रमा स्थान दिएको र उक्त व्यवस्थाले आगामी दिनमा पनि अझ सशक्त र प्रभाकारी भूमिका निर्वाह हुँदै जाने अपेक्षा गर्नुभयो । संसारमा महिला अधिकार र समावेशी समानुपाति व्यवस्थाका विषयमा आवाज उठिरहेको भन्दै उहाँले नेपालमा यसको उपलब्धिकारुपमा राष्ट्रपति पदमा महिला सहभागी भइसकेको उल्लेख गर्नुभयो ।

भोलिका दिनमा यस्तै महत्वपूर्ण जिम्मेवारीमा महिला आउन सक्ने बताउँदै सभापति देउवाले त्यसका लागि तयारी गरेर आफूलाई योग्य र सक्षम बनाउन सबै महिलालाई आग्रह गर्नुभयो  । 

कार्यक्रममा कांग्रेस वरिष्ठ नेता डा शेखर कोइरालाले महिलाले राजनीतिक सशक्तिकरणका साथै आर्थिक र सामाजिक सशक्तिकरण पनि आफूलाई सक्षम बनाउँदै लैजानुपर्ने बताउनुभयो । उहाँले विद्यमान आरक्षणको प्रतिशत वृद्धिको मागसँगै त्यसका लागि आफू सक्षम हुनुपर्नेमा जोड दिनुभयो ।

नेता कोइरालाले संविधान संशोधन गरेर भए पनि आगामी दिनमा प्रत्यक्ष निर्वाचनमा महिलाले मात्र प्रतिस्पर्धा गर्नेगरी सिट निर्धारणको व्यवस्था गर्नुपर्ने धारणा व्यक्त गर्नुभयो । 

महामन्त्री विश्वप्रकाश शर्माले समाजमा देखिएका महिला हिंसा र द्वन्द्व न्यूनीकरणका लागि महिला सङ्घले नेतृत्वदायी भूमिकाका साथ अभियान सञ्चालन गर्नुपर्ने सुझाव दिनुभयो । उहाँले महिला सङ्घसँग राजनीतिक सङ्घर्षको लामो इतिहास भएको उल्लेख गर्दै समाजमा शान्ति कायम गर्न, थिति स्थापित गर्न सङ्घ लाग्नुपर्ने धारणा राख्नुभयो ।

कांगेस प्रवक्ता डा प्रकाशशरण महतले अभिव्यक्ति स्वतन्त्रता नभएसम्म कसैले पनि अधिकार नपाउने भएकाले कांग्रेसले समयसमयमा विभिन्न राजनीतिक आन्दोलन गर्नुपरेको बताउनुभयो । उहाँले प्रत्यक्ष निर्वाचनमा महिलाले मात्र प्रतिस्पर्धा गर्ने व्यवस्था गर्न संविधान संशोधनतर्फ जानुपर्नेमा जोड दिनुभयो । 

उषा राउत मिश्रको अध्यक्षतामा भएको कार्यक्रममा कांग्रेस नेत्री पुष्पा भुसाल, कांग्रेस नेत्री एवं पूर्वमन्त्री सीता गुरुङलगायले कांग्रेसभित्र महिलामैत्री वातावारण रहेको बताउनुभएको थियो । संविधान, विभिन्न कानुन र पार्टी विधानमा भएका महिला अधिकार, समावेशी समानुपातिसम्बन्धी व्यवस्था कार्यान्वयनमा उहाँहरुले जोड दिनुभएको थियो ।

प्रकाशित मितिः बिहिबार, ०६ असार २०८१
https://jawaaf.com/storage/01J0TCJ6Y4ESG1T50XNE90BF47.jpg

९१ प्रतिशत भौतिक प्रगति गरेको, सिदिन–याङनाम खानेपानी योजना मुहानको विवादले सङ्कटमा

पाँचथर, ६ असार I मुहान क्षेत्रका बासिन्दाले संरचना निर्माण गर्न र पानी लैजान नदिएपछि पाँचथरको सिदिन–याङनाम खानेपानी योजना सङ्कटमा परेको छ । फालेलुङ गाउँपालिका–६ र ७ को सीमामा अवस्थित प्युरेखोलामा मुहान थापेर सञ्चालन गर्न लागिएको योजनाको मुहानको विवादले समस्यामा परेको हो । मुहान प्रयोग गर्ने विषयमा लामो समयदेखि संवाद हुँदै आए पनि स्थानीयवासी अझैसम्म मुहान प्रयोग हुन दिने पक्षमा छैनन् । यही खोलामा मुहान थापेर खानेपानी र सिँचाइका योजना सञ्चालनमा रहेको, पानीका मुहान क्रमशः सुकिरहेको अवस्थामा यहाँ मुहान दिए निकट भविष्यमै आफूहरूको जीविकोपार्जन सङ्कटमा पर्ने स्थानीयवासीको भनाइ छ । जसकारण करिब ९१ प्रतिशत भौतिक प्रगति गरेको योजना अघि बढ्न सकेको छैन ।     
      
जिल्लाको फिदिम नगरपालिका वडा नं १० र फालेलुङ गाउँपालिका वडा नं ८ का सुक्खा प्रभावित क्षेत्रका एक हजार दुई सय ११ परिवारका लागि सङ्घीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना कार्यालय इलामबाट योजना निर्माण भइरहेको छ । विसं २०७९ असार २३ गते ठेक्का सम्झौता भई निर्माण थालिएपछि नै फालेलुङ गाउँपालिका–७ ले अनुमति र जानकारी नलिई योजना निर्माण सुरु भएको भन्दै निर्माणकार्य रोक्न पत्राचार गरेको थियो । जिल्ला समन्वय समितिको अगुवाइमा भएको छलफलपछि निर्माण सुरु भएको थियो ।     
      
विसं २०८० असोज १३ गते फालेलुङ वडा नं ६ को कार्यालयले समेत निर्माणकार्य रोक्न भनेपछि मुहान क्षेत्रमा काम ठप्प भएको थियो । यद्यपि उपभोक्ता समिति र निर्माण कम्पनीले वितरण क्षेत्रमा निर्माणकार्य धमाधम सम्पन्न गरेका थिए । मुहानको विवाद समाधान गर्न गत वैशाख १३ र जेठ २० गते सर्वपक्षीय बैठक बसे पनि समाधान निस्कन नसकेको फालेलुङ–८ का वडाध्यक्ष श्रीहाङ केरुङले बताउनुभयो । सर्वपक्षीय बैठकले समाधान निकाल्न नसकेपछि गत जेठ २६ गतेबाट मुहान क्षेत्रमा संरचना निर्माण थालिएकामा जेठ ३१ गते स्थानीयवासीले अवरोध गरेपछि निर्माण रोकिएको वडाध्यक्ष केरुङले बताउनुभयो ।     
      
चालु आवमा योजनाका लागि छुट्टिएको बजेट निकासा गराउनुपर्ने, समयमा निर्माणकार्य रोकिएपछि प्राप्त भएको बजेट फिर्ता हुने र भविष्यमा बजेट प्राप्त गर्ने सम्भवना कम भएको फिदिम नगरपालिका–१० का वडाध्यक्ष ओमराज थाम्सुहाङको भनाइ छ । “बजेट फ्रिज भएपछि यो योजनाको भविष्य अन्योलमा पर्छ”, थाम्सुहाङले भन्नुभयो, “दुई वडाको खानेपानीको समस्या समाधानका लागि उक्त योजनाको मुहानभन्दा अर्को उपयुक्त विकल्प पनि छैन ।”     
      
मुहान क्षेत्रका बासिन्दाले खानेपानी नदिए आफ्नो क्षेत्रबाट सञ्चालन भएको सडक, विद्युत्, इन्टरनेटलगायत सेवासमेत अवरुद्ध पार्ने योजनाको लाभान्वित क्षेत्रका बासिन्दाले चेतावनी दिएका छन् । उपभोक्ताको भेलाले समस्या समाधान नभए यही असार ९ गतेबाट मुहान क्षेत्र फालेलुङ गाउँपालिका वडा नं ७, ६ लगायतमा प्रवाह हुने विद्युत्सहित सवारीसाधन सञ्चालनमा रोक लगाउने निर्णय गरेको उपभोक्ता समितिका सचिव भुवन जबेगूले बताउनुभयो ।     
      
तर मुहान क्षेत्रका बासिन्दाले भने आफूहरूसँग समन्वय नै नगरी योजना निर्माण थालिएकाले खानेपानी दिन नसकिने बताउँदै आएका छन् । जिल्ला प्रशासन कार्यालय पाँचथरमा केही समयअघि भएको सर्वपक्षीय छलफलमा मुहान क्षेत्रका बासिन्दा प्रकाश केरुङले भन्नुभयो, “त्यही मुहानबाट सिँचाइको व्यवस्था गर्नुका साथै जीविकोपार्जनको माध्यम अलैँची बनाएका छौँ । योजनाले अर्को उपयुक्त मुहान खोज्नु ठिक हुन्छ ।”     
      
पटक–पटक भएका छलफल स्थानीयवासी मुहान दिन तयार देखिएका छैनन् । यता उपभोक्ताले भने सुक्खायाममा मुहानमा हुने पानीको एकतिहाइ पानी दिन आग्रह गरिरहेका छन् । वर्षायाममा भने पानी प्रशस्तै हुने हुनाले मुहान क्षेत्रमा कुनै प्रभाव नपर्ने उपभोक्ताको तर्क छ ।     
      
यस योजनामा अहिलेसम्म ९१ प्रतिशत भौतिक प्रगति र ८३ प्रतिशत वित्तीय प्रगति भएको छ । विसं २०७९ असार २३ मा अञ्जना–पराजुली–पाथीभरा जेभीले ३० महिनाभित्र निर्माण सम्पन्न गर्नेगरी रु १३ करोड ६० लाख ९१ हजार छ सय ८६ लागतमा योजनाको ठेक्का लिएको थियो । मुहानको विवाद र निर्माणकार्यमा अवरोध हुँदा आयोजनाको भविष्य नै सङ्कटमा पर्ने निर्माण कम्पनीका प्रतिनिधि लोकेन्द्र राजभण्डारीले बताउनुभयो ।     
      
योजनाले एक हजार दुई सय ११ घरका पाँच हजार आठ सय तीन जनसङ्ख्या लाभाविन्वत हुनेछन् । योजनामा ७२ दशमलव २३ किलोमिटर पाइपलाइन, ११ वटा मुख्य पानी भण्डारण ट्याङ्की, २३ वटा बिपीटी, ४५ वटा भल्भ च्याम्बर, ८० वटा ब्लक तथा पाइप सपोर्ट पोस्ट, फिल्टर ट्याङ्कीलगायत संरचना छन् । योजनाको निर्माणकार्य गरेवापत हालसम्म रु ११ करोड ३६ लाख १४ हजार आठ सय ५३ रकम आफूलाई भुक्तानीसमेत भइसकेको निर्माण कम्पनीले जनाएको छ ।     
      

योजनाको सबै पानी भण्डारण ट्याङ्की, उपभोक्ता समितिको भवन, पानी प्रशोधनशाला निर्माण भइसकेकोे छ । पाइपलाइन तथा वितरण लाइनको अधिकांश निर्माणकार्य सकिएको छ भने एक हजार दुई सय ११ घरमध्ये एक हजार ३२ घरमा धारा जडान सम्पन्न भएको उपभोक्ता समितिले जनाएको छ ।     

प्रकाशित मितिः बिहिबार, ०६ असार २०८१
https://jawaaf.com/storage/01J0T8DN3AP5JM3AW1F0WTW5PV.jpg

प्रदेशमा सडक दुर्घटना आधा घटाउने गरी कार्य गरिने

मोरङ, ६ असार I कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आगामी एक वर्षभित्र प्रदेशमा सडक दुर्घटना आधा घटाउने गरी कार्ययोजना तयार गरिने बताउनुभएको छ ।आन्तरिक मामिला तथा कानुन मन्त्रालय र नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्था कार्यालय सुनसरीद्वारा संयुक्त रुपमा आज यहाँ आयोजित ‘ट्राफिक सप्ताह’ कार्यक्रममा मुख्यमन्त्री कार्कीले दुर्घटना न्यूनीकरण गर्न ट्राफिक प्रहरी, नागरिक समाज, विद्यार्थी र सञ्चारकर्मीको सहकार्यमा सडक दुर्घटना ५० प्रतिशत घटाउने गरी कार्ययोजना तयार गरेर कार्यान्वयन गरिने बताउनुभयो । उहाँले मानवीय क्षति न्यून गर्न समाजका सबै वर्गको सहयोग र योगदान आवश्यक पर्ने उल्लेख गर्नुभयो ।     
     
मुख्यमन्त्री कार्कीले दुर्घटना न्यूनीकरण गर्न ट्राफिक प्रहरीलाई साधन स्रोतले सम्पन्न गराउने र जनशक्ति वृद्धि गर्ने जानकारी दिँदै चालक, सहचालक र नागरिक समाज, विद्यालय, शिक्षकलगायत सबैका लागि सचेतना कार्यक्रम गरी सहभागी गराउनुपर्ने आवश्यकता औँल्याउनु भयो ।     
     
उहाँले मोरङ, सुनसरी र झापामा अध्यधिक सडक दुर्घटना हुने १०–१५ किलोमिटर क्षेत्रलाई नमुना ट्राफिक केन्द्रका रुपमा निर्धारण गरी दुर्घटना न्यूनीकरणसम्बन्धी सचेतना, ट्राफिक नियम पालना गर्दाका राम्रा पक्षलगायत विषयमा जानकारीमूलक अभियान सञ्चालन गरेमा अन्यले अनुशरण गर्ने विश्वास व्यक्त गर्नुभयो ।     
     
आन्तरिक मामिला तथा कानुनमन्त्री लीलावल्लभ अधिकारीले सडक अनुशासन र नियम पालना गरी दुर्घटना न्यूनीकरण गर्नुपर्ने आवश्कता औल्याउँदै ट्राफिकलाई आधुनिकरण गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।     
     

कोशी प्रदेश प्रहरी कार्यालयका प्रमुख चन्द्रकुबेर खापुङ, मोरङका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराई, नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्था कार्यालयका प्रहरी उपरीक्षक सरोज पौडेल र नेपाल राष्ट्रिय यातायात व्यवसायी महासङ्घ कोशीका संयोजक सरोज श्रेष्ठले जनधनको सुरक्षाका लागि ट्राफिक नियम सबैले पालना गर्नुपर्ने सुझाव दिनुभएको थियो । कार्यक्रममा मुख्यमन्त्री कार्कीले प्रदेश ट्राफिक प्रहरीलाई राडार गर्न तथा ट्राफिक दुर्घटना न्यूनीकरणमा सहयोग पु¥याउने विभिन्न सङ्घ संस्था एवं व्यक्तिलाई सम्मान गर्नुभएको थियो ।     
     
यसअघि ट्राफिक सप्ताह–२०८१ अन्तर्गत विराटनगरको रोडशेष चोकबाट निस्केको आन्तरिक मामिला तथा कानुनमन्त्री, विभिन्न निकायका अधिकारी, सुरक्षा निकायका प्रतिनिधि, विद्यार्थीसहितको प्रभातफेरीले नगरको मुख्यमुख्य भागको परिक्रमा गरेको थियो ।     

प्रकाशित मितिः बिहिबार, ०६ असार २०८१
https://jawaaf.com/storage/01J0T6XRPJFZAY3EX7P7SKQH8K.png

विश्वकप क्रिकेट खेलेर स्वदेश फर्कियो नेपाली टोली

काठमाडौँ, ६ असार I  आइसिसी टि ट्वान्टी विश्वकप क्रिकेट प्रतियोगिता प्रतियोगिताको समूह चरणको खेल खेलेर नेपाली क्रिकेट टोली आज स्वदेश फर्किएका छन् । अमेरिका र वेस्टइण्डिजमा भएको विश्वकप क्रिकेट प्रतियोगितामा नेपालले चार खेल खेलेकोमा तीनमा हार तथा एक खेल बराबरी खेलेको थियो । नेपाली टोलीलाई क्यानका पदाधिकारीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थालमा स्वागत गर्नुभएको थियो । 

 विश्वकप क्रिकेटमा नेपाल समूह डि मा परेको थियो । नेपालको समूहमा दक्षिण अफ्रिका, बङ्गलादेश, श्रीलङ्का र नेदरल्यान्ड्स रहेका थिए । नेपालले अमेरिकामा दुई खेल र वेस्टइण्डिजमा समान दुई खेल खेलको थियो । अमेरिकामा भएको आफनो पहिलो खेलमा नेपाल नेदरल्यान्ड्सँग ६ विकेटले पराजित भएको थियो । 

त्यस्तै श्रीलङ्कविरुद्धको दोस्रो खेल वर्षाका कारण रद्ध भएसँगै दुवै टोलीले समान एकर एक अङ्क बाँडेका थिए ।त्यसपछि वेस्टइण्डिजमा भएको दक्षिण अफ्रिकाविरुद्धको खेलमा नेपाल एक रनको झिनो अन्तरले पराजित भएको थियो । त्यस्तै समूह चरणको अन्तिम खेलमा नेपाल बङ्गलादेशसँग २१ रनले पराजित भएसँगै नेपालको विश्वकप यात्रा समाप्त भएको थियो । 

विश्वकपमा नेपालसँगै श्रीलङ्का र नेदरल्यान्डस् प्रतियोगिताबाट बाहिरिएका थिए । त्यस्तै  दक्षिण अफ्रिका  र बङ्गलादेश भने सुपर आठमा पुगे । दक्षिण अफ्रिका समूह डि को शीर्ष र बङ्गलादेश दोस्रो स्थानमा रहदै सुपर आठमा पुगेका हुन । 

प्रकाशित मितिः बिहिबार, ०६ असार २०८१
https://jawaaf.com/storage/01J0T6EPY5KQ2DTAY828M0GHWT.jpg

जिबी राईलाई नेपाल ल्याउने विषयमा छलफल भइरहेको छ : गृहमन्त्री लामिछाने

चितवन, ६ असार I उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले सहकारी ठगी प्रकरणका मुख्य आरोपी  जितेन्द्र बाबु (जिबी) राईलाई नेपाल ल्याउने विषयमा छलफल भइरहेको बताउनुभएको छ ।  

चितवनको भरतपुर विमानस्थलमा आज सञ्चारकर्मीसँग कुराकानी गर्दै गृहमन्त्री लामिछानेले आफू  मलेसियाका गृहमन्त्रीसँग लगातार सम्पर्कमा रहेको बताउनुभयो । मलेसियामा राई रहेको ठाउँ पत्ता लागिसकेको उहाँको भनाइ थियो । 
 

फरक प्रसङ्गमा गृहन्त्री लामिछाने राष्ट्रिय स्वतन्त्र पार्टीका मन्त्रीहरूले राजीनामा पत्र बोकेर हिँडेको भन्ने अभिव्यक्तिका कारण सरकार वा गठबन्धनमा समस्या आएको भन्ने कुरामा कुनै सत्यता नभएको बताउनुभयो । उहाँले भन्नुभयो– “हामीले सुरुआतदेखि नै राम्रो काम गर्न सकिएन भने सत्तामा टाँसिएर बस्न हुँदैन भन्दै आएका छौँ ।” 

गृहमन्त्री लामिछानेले आफ्ना पार्टीका मन्त्रीहरूलाई केही गर्न पाए हुन्थ्यो भन्ने हुटहुटी रहेको र राजीनामा पत्र त्यो हुटहुटीको प्रतिबिम्ब भएको उल्लेख गर्नुभयो । प्रहरी महानिरीक्षक फेर्ने कुरामा सत्यता नभएको उहाँको भनाइ थियो । 

प्रकाशित मितिः बिहिबार, ०६ असार २०८१
https://jawaaf.com/storage/01J0T5HG3F6B000R0G8MD4XDJN.jpg

उत्तर कोरियासँगको रक्षा सम्झौतामा हस्ताक्षरपछि पुटिन भियतनाममा

हनोई, ६ असार  I उत्तर कोरियाली नेता किम जोङ उनसँग पारस्परिक रक्षा सम्झौतामा हस्ताक्षर गरेको एक दिनपछि रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले भियतनामी समकक्षीसँग बिहीबार हनोईको राजकीय भ्रमणका क्रममा भेटवार्ता गर्नुभएको छ ।     
      
 नेता पुटिनलाई भियतनामका नवनियुक्त राष्ट्रपति तो लाम र हनोईस्थित राष्ट्रपति भवनमा एक सैन्य गार्डले स्वागत गर्नुभएको थियो । उहाँले लामसँग वार्ता गर्नुका साथै भियतनामको सत्तारुढ कम्युनिष्ट पार्टीका शक्तिशाली महासचिव गुयेन फु ट्रोङलगायत अन्य वरिष्ठ भियतनामी नेतासँग पनि भेटवार्ता गर्नुहुनेछ ।     
      
 यसअघि, नेता पुटिनले उत्तर कोरियाको भ्रमण गर्नुभएको थियो । पुटिन र किमले प्योङयाङमा भएको शिखर सम्मेलनमा आक्रमण भएमा एकअर्कालाई सहयोग गर्ने प्रतिबद्धता पनि समावेश भएको एक रणनीतिक सम्झौतामा हस्ताक्षर गरेका थिए । किमले युक्रेनविरुद्ध रूसको युद्धलाई आफ्नो पूर्ण समर्थन रहने प्रतिबद्धता पनि व्यक्त गर्नुभएको छ ।   

रुसी राष्ट्रपति भ्लादिमिर पुटिन भियतनामको हनोईस्थित नोइ बाई अन्तर्राष्ट्रिय विमानस्थलमा
 
      
 

वासिङ्टन र उसका सहयोगीहरूले उत्तर कोरियाले युक्रेनयुद्धका लागि रूसलाई गोलाबारुद र क्षेप्यास्त्र आपूर्ति गरेको आरोप लगाउँदै आएका छन् । अमेरिकी विदेश मन्त्रालयले रुस र उत्तर कोरियाबीचको सम्बन्ध प्रगाढ हुनु ’ठूलो चिन्ताको विषय’ भएको बताएको छ भने युक्रेनका एक उच्च अधिकारीले प्योङयाङले मस्कोलाई ‘युक्रेनी नागरिकको सामूहिक हत्या’ गर्न उक्साएको आरोप लगाएका छन् ।     
      

बुधबार २४ वर्षमा उत्तर कोरियाको पहिलो भ्रमण गर्दै पुटिनले मस्कोजस्तै कडा अन्तर्राष्ट्रिय प्रतिबन्धको सामना गरिरहेको प्योङयाङसँग ‘सैन्य प्राविधिक सहयोग’लाई आफूले इन्कार नगरेको बताउनुभएको थियो । पुटिनले भन्नुभयो, “आज हामी संयुक्त राज्य अमेरिका र उसका सहयोगीको ‘आधिपत्यवाद र नव–औपनिवेशिक अभ्यास’ को विरुद्ध एकसाथ लडिरहेका छौं।     
     
उत्तर कोरियाको स्थापना भएदेखि अर्थात् दोस्रो विश्वयुद्धपछि नै यी दुई देश सहयोगी रहँदै आएका छन् भने सन् २०२२ मा रूसले युक्रेनमा गरेको आक्रमणपछि पुटिनविरूद्ध पश्चिमा मुलुकहरूले विश्व मञ्चमा आवाज वुलन्द पार्ने र आक्रमणविरूद्ध एक भएपछि यी दुई देश अझ नजिक भएका हुन् । नेता किमले पुटिनलाई ‘कोरियाली जनताको सबैभन्दा प्रिय मित्र’ को संज्ञा दिँदै युक्रेनमा जारी युद्धप्रति आफ्नो ‘पूर्ण समर्थन र ऐक्यबद्धता’ व्यक्त गर्नुभएको छ ।(रासस/एएफपी)   

प्रकाशित मितिः बिहिबार, ०६ असार २०८१