प्रदेशसभाद्वारा विनियोजन विधेयक बहुमतले पारित
विराटनगर, ८ असार I कोशी प्रदेशसभाको आजको बैठकले विनियोजन विधेयक- २०८१ र अर्थसम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको विधेयक, २०८१ बहुमतले पारित भएको छ । बैठकमा आर्थिक मामिला तथा योजनामन्त्री रामबहादुर मगरले आर्थिक वर्ष २०८१/ ८२ को सेवा र कार्यको लागि कोशी प्रदेश सञ्चित कोषबाट रकम विनियोजन र खर्च गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, कोशी प्रदेश विनियोजन विधेयक, २०८१ र कोशी प्रदेश सरकारको अर्थसम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न वनेको विधेयक, २०८१ पेस गर्नुभएको थियो । नेपाली कांग्रेसका गोपाल तामाङ र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)की सविना बजगाईंले प्रस्तुत गर्नुभएको खर्च कटौतीको प्रस्ताव बहुमतले अस्वीकृत भएको थियो ।
त्यसअघि विशेष समयमा नेपाली कांग्रेसका भूपेन्द्र राईले प्रदेश संरचनामा प्रश्न खडा हुननदिन प्रदेशसभा सचेत हुनुपर्नेमा जोड दिँदै प्रदेशका धेरै ऐनमा त्रुटि भएकाले कार्यान्वयनमा समस्या हुने बताउनुभयो । “निजामती सेवा ऐन, यातायात सेवा ऐन, र प्रदेश प्रहरी ऐनमा गम्भीर त्रुटि छन्,” उहाँले भन्नुभयो ।
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का इन्द्रबहादुर आङबोले सार्वजनिक गरेको बजेट सन्तुलित छ भन्नुभयो । अर्को सूचना जारी नभएसम्म प्रदेशसभाको बैठक स्थगन भएको छ ।
चीनद्वारा फ्रान्सको सहकार्यमा नयाँ उपग्रह प्रक्षेपण
झिचाङ(चिन),८ असार I चीनले फ्रान्ससँगको सहकार्यमा शनिबार नयाँ खगोलीय उपग्रह प्रक्षेपण गरेको छ । उपग्रह चिनियाँ र फ्रान्सेली वैज्ञानिकहरुले लगभग २० बर्षको कडा परिश्रमको परिणाम हो, जसले गामा–रेहरू क्याप्चर गर्न ब्रह्माण्डको सबैभन्दा टाढाको भागमा आतिशबाजी जस्तै चम्कन्छ ।
चीनको राष्ट्रिय अन्तरिक्ष प्रशासनका अनुसार दक्षिणपश्चिम चीनको सिचुआन प्रान्तको जिचाङ स्याटेलाइट प्रक्षेपण केन्द्रबाट लङ मार्च–द्दसी रकेटबाट अन्तरिक्षमा आधारित मल्टि–ब्यान्ड भेरिएबल ओब्जेक्ट मोनिटर (एसभिओएम) नामक उपग्रह प्रक्षेपण गरिएको थियो ।
“ब्रह्माण्ड भएका प्रारम्भिक गामा–रे विस्फोटहरू जस्ता खोजहरूको लागि तयार पारिएको यस उपग्रहले ब्रह्माण्डको विकासको अध्ययन गर्न मद्दत गर्नेछ । एसभिओएमका चिनियाँ प्रमुख अन्वेषक र चिनियाँ एकेडेमी अफ साइन्सेजको नेसनल एस्ट्रोनोमिकल अब्जर्वेटरीमा काम गर्ने वेई जियान्यानले बताउनु भयो ।
गामा–रे फटहरू, सामान्यतया अवधिमा धेरै छोटो, बिग ब्यांग पछि ब्रह्माण्डमा सबैभन्दा हिंस्रक विस्फोटक घटना हो, भने तिनीहरू विशाल ताराहरूको पतन तथा बाइनरी कम्प्याक्ट ताराको विलयको समयमा हुन्छन् । गामा–रे फटहरूमा गहिरो अवलोकन र अनुसन्धानले विज्ञानका केही आधारभूत प्रश्नहरू बुझ्न मद्दत गर्ने उहाँले बताउनु भयो ।
एसभिओएमको मुख्य वैज्ञानिक उद्देश्यहरूमा विभिन्न गामा–रे फटहरूको खोजी गरी पत्ता लगाउनु, फटको विद्युत चुम्बकीय विकिरण मापन तथा अध्ययन गर्नु, अन्धकार ऊर्जा र फटहरू मार्फत ब्रह्माण्डको विकासको अध्ययन गर्नु, र गुरुत्वाकर्षण तरंगहरूसँग सम्बन्धित विद्युत चुम्बकीय सङ्केत अवलोकन गर्नु आदी रहेका छन् ।
फ्रान्सेली वैकल्पिक ऊर्जा र आणविक ऊर्जा कमिसनमा काम गर्ने एसभिओएमका फ्रान्सेली प्रमुख अन्वेषक बर्ट्रान्ड कोर्डियरले प्रारम्भिक ब्रह्माण्ड अवलोकन गर्न उपकरणको रूपमा गामा–रे फट प्रयोग गरेर, पहिलो ताराहरू अवलोकन गर्न सक्ने बताउनु भयो । यो धेरै रोचक भएको बताउदै उहाँले वर्तमान युगमा ब्रह्माण्डको बारेमा जानकारी प्राप्त गर्ने यो एक मात्र तरिका भएको उल्लेख गर्नुभयो ।
उपग्रहमा चारवटा वैज्ञानिक उपकरणहरू स्थापित छन्, जसमध्ये दुईवटा चीनले र दुईवटा फ्रान्सले विकास गरेको हो । चारवटा उपकरणहरूले दृश्यको ठुलो क्षेत्र र उच्च–परिशुद्धता अवलोकन गर्न सक्छन् ।-रासस/सिन्ह्वा
शान्ति प्रक्रियामा दमननाथ ढुङ्गाना र पद्मरत्न तुलाधरको योगदान बिर्सन नसकिने
पाटन (ललितपुर), ८ असार I उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले शान्ति प्रक्रियामा दमननाथ ढुङ्गाना र पद्मरत्न तुलाधरको योगदान बिर्सन नसकिने बताउनुभएको छ । पद्मरत्न लुमन्ति गुथिद्वारा आज यहाँ आयोजित ‘स्मृतिमा पद्मरत्न तुलाधर’ पुस्तक विमोचन तथा व्यक्तित्व सम्मान कार्यक्रममा उपप्रधानमन्त्री श्रेष्ठले भाषिक, साहित्यिक आन्दोलनमा मात्रै नभएर नेपाली राजनीतिको निरंकुशताविरुद्धको आन्दोलनमा पनि तुलाधरको योगदान महत्त्वपूर्ण रहेको बताउनुभयो । नेवा समुदायका अग्रज, मानवअधिकारवादी व्यक्तित्व, नेपालभाषा मङ्का खलका पूर्वअध्यक्ष तुलाधरको व्यक्तित्व समेटेर उक्त पुस्तक प्रकाशित गरिएको हो ।
“तुलाधरको बहुआयामिक व्यक्तित्व र प्रतिभाबाट धेरै कुरा सिक्न सकिन्छ, नेपाली समाजमा लोकतान्त्रिक उपलब्धि हासिल गर्न तुलाधरले गर्नुभएको योगदान अतुलनीय छ । उहाँ साहित्यकार, सिद्धहस्त पत्रकार, लेखक तथा जनप्रतिनिधिसमेत हुनुहुन्थ्यो । उहाँको योगदानलाई सम्मान गर्दै उहाँले देख्नुभएका सपना साकार पार्न सबै एकजुट भएर लाग्नुपर्छ”, उपप्रधानमन्त्री श्रेष्ठले भन्नुभयो, “लोकतान्त्रिक आन्दोलनको योद्दाका रुपमा समन्वयकारी भूमिका खेल्ने र सहकार्यको सूत्राधार गर्ने व्यक्तित्व तुलाधर हुनुहुन्थ्यो ।”
उपप्रधानमन्त्री श्रेष्ठले पद्मरत्नसँग आफ्नो भावनात्मक सम्बन्ध रहेको स्मरण गर्दै यस्ता सुयोग्य पात्रको सम्झानमा पुस्तक प्रकाशन गरेर उत्कृष्ट कार्य गरिएको बताउनुभयो । पुस्तकले एउटा यतिहासलाई जीवन्त बनाइराख्नुका साथै उहाँहरुको महत्वपूर्ण योगदानको स्मरण सदैव भइरहेको उहाँको भनाइ छ ।
“पद्मरत्न र दमननाथ संविधानसभाको प्रवक्ता हुनुहुन्थ्यो, उहाँहरुकै कारण आज यो व्यवस्थाका लागि सहज भएको छ, अब प्राप्त उपलब्धिलाई माध्यम र साधन बनाएर समृद्धि हासिल गर्न सकेमा समृद्ध मुलुक निर्माण हुनेछ । उहाँहरुले नेपाली समाजको परिवर्तनका लागि दिनुभएको योगदान महत्वपूर्ण छ”, उपप्रधानमन्त्री श्रेष्ठले भन्नुभयो । ढुङ्गाना र तुलाधरले शान्ति प्रक्रियामा पु¥याउनुभएको योगदान बिर्सन नसकिने भन्दै उहाँले सङ्क्रमणकालीन न्याय यथाशीघ्र पूरा गरिने बताउनुभयो ।
कार्यक्रममा पद्मरत्न तुलाधरसँग सहकार्य, भाषा साहित्यको योगदानमा लाग्ने, राजनीतिक मानवअधिकार आन्दोलनमा काम गर्ने सहकर्मी पूर्वसभामुख दमननाथ ढुङ्गाना, पूर्वराजदूत एवं पूर्वसांसद हिरण्यलाल श्रेष्ठ, भाषिक आन्दोलनका अग्रजद्वय वीरसिंह कंसाकार र नर्मदेश्वर प्रधानलाई सम्मान गरिएको थियो ।
पूर्वसभामुख ढुङ्गानाले तुलाधरको अभावमा शान्ति प्रक्रियासँग सम्बन्धित काम पूरा हुन नसकेको बताउँदै उहाँ भएको भए हालसम्म सङ्क्रमणकालीन न्याय टुङ्गोमा पुगिसक्ने थियो होला भन्नुभयो । “अब देशको राजनीतिलाई धेरै जिम्मेवारीपूर्ण बनाउनुपर्नेछ, नेपाललाई उन्नत राष्ट्र बनाउने नीतिअनुसार छिमेकीप्रतिको नीति र विश्वप्रतिको नीति हुनु आवश्यक छ । अहिलेका नेताहरुले नैतिक धरातलमा उभिएर राष्ट्र र जनताका पक्षमा काम गर्नुपर्छ । उहाँ(तुलाधर)सँग नैतिक धरालत थियोे, उहाँको जीवनीबाट सबैले नैतिकताको पाठ सिक्नुपर्छ”, उहाँले भन्नुभयो ।
पूर्वराजदूत तथा पूर्वसांसद श्रेष्ठले तुलाधरसँग भाषा र पत्रकारिताको माध्यमबाट पहिलो सम्बन्ध बनेको स्मरण गर्दै तुलाधर एउटा जात वा समुदायको मात्रै नेता नभएको बताउनुभयो । “उहाँ नेपाली भाषाको पनि सम्पादक हुनुहुन्थ्यो । उहाँ राजनीतिक व्यक्तित्व मात्रै हैन देशभक्त पनि हुनुहुन्थ्यो, उहाँले साहित्य र शान्ति प्रक्रियामा विशेष योगदान पुर्याउनुभएको छ”, उहाँले भन्नुभयो ।
ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले तुलाधरको योगदानलाई जीवन्त राख्न गुठीले गर्ने हरेक कार्यक्रममा महानगरका तर्फबाट सहयोग गर्न तत्पर रहेको बताउनुभयो । काठमाडौँ महानपालिकाकी उपप्रमुख सुनिता डङ्गोलले तुलाधरले पुर्याउनुभएको योगदानलाई स्मरण गर्दै गुठीले आगामी दिनमा रचनात्मक र सिर्जनात्मक काम गर्ने विश्वास रहेको बताउनुभयो ।
डेनमार्कका लागि प्रस्तावित राजदूत, गुठीका उपाध्यक्ष तथा पद्मरत्न तुलाधरकी छोरी सुम्निमा तुलाधरले बुवाले जनताको मुक्तिका लागि जीवन अर्पण गर्नुभएकामा गौरवान्वित बनाएको बताउनुभयो । भाषा, साहित्य तथा राष्ट्र हितका लागि उहाँले पुर्याउनुभएको योगदान राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा अध्ययन गर्न उपयोगी हुने ठानेर पुस्तक प्रकाशन गरिएको उहाँको भनाइ छ ।
पर्यटकको रोजाइमा वेतना सिमसार
बेलबारी (मोरङ) ८ असार I पूर्व–पश्चिम राजमार्गअन्तर्गत मोरङको बेलबारीमा रहेको वेतना सिमसार आन्तरिक पर्यटकको रोजाइमा पर्न थालेको छ । प्राकृतिक सौन्दर्यले भरिपूर्ण मानिएको वेतनामा प्रत्यक्ष रुपमा देख्न पाइने साइबेरियाबाट आउने पर्यटक चराका साथै कछुवा, माछा, अजिङ्गरका साथै हरिणलगायत पशुपन्छीले यहाँ आउने पर्यटकलाई लोभ्याउने गरेको हो ।
दुई प्रजातिका वेत वनस्पतीको जङ्गल रहेकाले यस क्षेत्रलाई वेतना सिमसार क्षेत्र भनिएको वेतना सिमसार सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष शम्भु भटराईले बताउनुभयो । यहाँ विषेश गरी चिसो पानी, स्वच्छ हावा र मनोरम दृश्य भएकाले आन्तरिक पर्यटकको रोजाइमापर्न थालेको उहाँको भनाइ छ । उहाँका अनुसार सिमसार घुम्न आउने पर्यटकका लागि पाइडल डुङ्गाको पनि व्यवस्था गरिएको छ ।
करिब ६५ बिघा क्षेत्रफल ओगटेको यस सिमसारमा साइबेरियाबाट आउने चराका साथै २५ प्रजातिका दुर्लभ चरा पाइन्छन् । साथै अति सङ्कटापन्न सूचीमा रहेको ‘ब्लाक सफ्टसेल’ नामक कछुवा दुई दर्जनभन्दा बढीको सङ्ख्यामा फेला परेको अध्यक्ष भटराईले जानकारी दिनुभयो ।
यहाँ पाइने वनस्पती, पशुन्छीको संरक्षणमा उपभोक्ता समिति लागिरहेको उहाँको भनाइ छ । उहाँका अनुसार विश्वमै दुर्लभ प्रजातिका कछुवा, विभिन्न जातका माछा, जीवजन्तु, वनस्पती यस क्षेत्रमा पाइन्छन् ।
सिमसारबाट आउने पानीले करिब एक हजार दुई सय बिघा खेतीयोग्य जमीनमा सिँचाइ हुँदै आएको समितिका सचिव सुजित बस्नेतले जानकारी दिनुभयो । “यहाँ आउने पर्यटका साथै सय क्षेत्रको प्रवर्द्धन गर्ने उद्देश्यले राजमार्ग क्षेत्रतर्पm तारले घेराबारा गरिएको छ भने यस क्षेत्रलाई थप आकर्षक बनाउन फुलबारी, विश्रामस्थल, वनभोजस्थल निर्माण गरिएको छ”, उहाँले भन्नुभयो ।
बेलबारी नगरपालिकाका प्रमुख दिलप्रसाद राईका अनुसार वेतना सिमसारलाई पुर्वी नेपालको एउटा महत्वपूर्ण पर्यटकीय गन्तव्यको रुपमा विकास गरिने बताउनुभयो । उहाँका अनुसार पछिल्लो समय विभिन्न गोष्ठी र सेमिनरका लागि देशका विभिन्न स्थानबाट समूहमा आगन्तुक आउने गरेका छन् ।
वेतनामा दैनिक तीन सयभन्दा बढी र बिदाको समयमा पाँच सयभन्दा बढीको सङ्ख्यामा आन्तरिक पर्यटक अवलोकन गर्न आउने गरेका समितिका अध्यक्ष भट्टराईले जानकारी दिनुभयो । उहाँका अनुसार सिमसार प्रवेशवापत रु ३० को टिकट निर्धारण गरिएको छ ।
महाधिवेशनका लागि एक हजार आठ सय प्रतिनिधि छनोट
काठमाडौँ, ८ असार I नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)ले दशौँ राष्ट्रिय महाधिवेशनका लागि देशभरबाट एक हजार आठ सय प्रतिनिधि छनोट गरेको छ । यही असार १६ देखि २० गतेसम्म काठमाडौँमा आयोजना हुने महाधिवेशनका लागि ७७ जिल्ला र विभिन्न सङ्गठनबाट एक हजार आठ सय प्रतिनिधि छानिएको पोलिटब्युरो सदस्य दिलु पन्तले जानकारी दिनुभयो । उहाँका अनुसार महाधिवेशनका लागि एक हजार आठ सय ४९ प्रतिनिधिको व्यवस्था गरिएकामा केही क्षेत्र र मातहतका कमिटीमा विवाद भएकाले प्रतिनिधि छनोट बाँकी छ ।
अधिकांश स्थानमा सर्वसम्मतरुपमा प्रतिनिधि छनोट भएको जनाउँदै पन्तले केही ठाउँमा मात्रै निर्वाचन प्रक्रियाबाट छनोट गरिएको बताउनुभयो । उहाँका अनुसार महाधिवेशन आयोजक समिति स्वतः प्रतिनिधि हुने व्यवस्था गरिएकाले करिब चार सय ५० केन्द्रीय नेता स्वतः प्रतिनिधि हुनेछन् ।
यसअघि केन्द्रीय नेता पनि चुनियर आउनपर्ने निर्णय गरिएकामा उक्त व्यवस्थालाई संशोधन गरी केन्द्रीय तहका नेता स्वतः प्रतिनिधि हुने व्यवस्था गरिएको थियो । छनोट गरिएका प्रतिनिधिको कूल सङ्ख्याको पाँच प्रतिशत अर्थात ९५ जना मनोनयन गर्ने व्यवस्था छ । केही दिनमा ती प्रतिनिधि मनोनयन गरिने पार्टी कार्यालयले जनाएको छ ।
तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (एमाले) सँग अलग भएर गठन गरिएको एकीकृत समाजवादीले पहिलो पटक महाधिवेशन गर्न लागेको जनाउँदै यसका सदस्य एमालेकै निरन्तरताबाट आएकाले दशौँ महाधिवेशन गर्न लागिएको पोलिटब्युरो सदस्य पन्तले बताउनुभयो ।
पार्टीको वैचारिक दृष्टिकोणका साथै नीति तथा कार्यक्रम पारित गर्ने महाधिवेशनले नयाँ नेतृत्व पनि चयन गर्नेछ । सङ्घीय संसद्मा १० र राष्ट्रियसभामा आठ सदस्य रहेको पार्टीले सुदूरपश्चिम प्रदेशमा सरकारको नेतृत्व गरेको छ ।
बजेटका कारण सत्ता साझेदार दलबीच समस्या नहुने
सुदूरपश्चिम, ८ असार I सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले आगामी आर्थिक वर्षको बजेटका कारण सत्तासाझेदार दलबीच समस्या नहुने बताउनुभएको छ ।
प्रेस सेन्टरले आज धनगढीमा गरेको पत्रकार सम्मेलनमा सरकारका प्रवक्तासमेत रहनुभएकी मन्त्री शर्माले आगामी आर्थिक वर्षको बजेटप्रति व्यक्त गुनासा एवं त्यसमा भएका त्रुटिलाई सम्भव भएसम्म सुधार गरेर जाने प्रयत्न भइरहेको बताउनुभयो । बजेट सन्तुलित रहेको चर्चा गर्दै उहाँले भन्नुभयो, “जनतातिर फर्केको, समाजवादोन्मुख र उत्पादनलाई ध्यान दिएको बजेट छ ।”
बजेटमा कतिपय कुरा सच्च्याएर जान सकिने भए पनि सुधार गरेर लैजान पाइँदैन भन्ने परम्परागत संसदीय व्यवस्थाको अभ्यासलाई मानेर जानुपर्छ भन्ने कुरा बेठिक रहेको बताउनुभयो । उहाँले अहिलेको गठबन्धन सरकारको विकल्पबारे नसोचिएको स्पष्ट गर्नुभयो । विभिन्न दलले गठबन्धन गरेर सरकार चलाइरहेकाले एउटै पार्टीले सरकार चलाएजस्तो नहुने बताउँदै उहाँले सत्तापक्षीय दलबीच लामो समयसम्म सहकार्य गरेर जाने नेकपा (माओवादी केन्द्र) सोच छ भन्नुभयो ।
“सञ्चार तथा सूचना प्रविधि मन्त्रालय र गृहमन्त्रालयलगायतको समन्वय बैठकबाट रेडियो नेपाल, निजी सामुदायिक रेडियो, नेपाल टेलिकमबाट एसएमएसका माध्यमबाट बाढी, पहिरो, डुबानजस्ता विपद्का बारेमा पूर्वसूचना दिने भनेर एक सम्झौता गरिएको छ, सरकार विपद् व्यवस्थापनका निम्ति तम्तयार छ एवं संवेदनशील छ,” मनसुन प्रारम्भ भएसँगै दैवी विपत्तिको जोखिम बढ्ने सन्दर्भमा विपद् व्यवस्थापनमा सरकारको तयारीबारेको जिज्ञासामा उहाँले भन्नुभयो ।
सूचना प्रविधि दशक मनाउने सरकारको योजनाले निजी क्षेत्र उत्साहित बनेको उल्लेख गर्दैै मन्त्री शर्माले सूचना प्रविधि क्षेत्रको विकास गरी व्यवस्थित गर्न सकिएमा देशमा अर्बौं भित्र्याउन सकिने बताउनुभयो ।
उहाँले भन्नुभयो, “१६औँ योजना र आगामी आर्थिक वर्षको नीति कार्यक्रम र बजेट वक्तव्यमा पनि सूचना प्रविधिको विषय समेटिएको छ, यसको विकास गरी नेपाललाई ‘आइटी हब’ मा रुपान्तरण गर्नेगरी काम गरिरहेका छौँ ।” मन्त्री शर्माले आमसञ्चारसम्बन्धी पुराना नियमलाई समयानुकूल बनाइने बताउनुभयो ।
मिथिलाका २१ जोडीद्वारा दाइजोमुक्त सामूहिक अन्तरजातिय विवाह
गोदार (धनुषा), ८ असार I जिल्लाको मिथिला नगरपालिका–२ बेलाचापीस्थित सतलोक आश्रममा २१ जोडीले सामूहिकरुपमा दाइजोमुक्त अन्तरजातिय विवाह गरेका छन् । सन्त रामपालको सतलोक आश्रममा कबिर परमेश्वरको ६२७औँ प्रकट दिवसको अवसरमा आयोजित समारोहमा शुक्रबार २१ जोडीले सामूहिक अन्तरजातिय विवाह गरेका हुन् । गुरुवाणीद्वारा २३ करोड देवीदेवताको स्तुति गर्दै रमैणी मन्त्र उच्चारण गरी १७ मिनेटमा सामूहिक विवाह सम्पन्न गराइएको सन्त रामपालका अनुयायी ईश्वरदत्त भट्टले जानकारी दिनुभयो । उहाँका अनुसार विभिन्न महोत्सवमा यहाँ सामूहिक तथा दाइजोमुक्त विवाह हुने गरेको छ ।
कबिर जयन्तीका अवसरमा उहाँको सम्झनामा प्रत्येक वर्ष मनाइने ‘कबिर परमेश्वर प्रकट दिवस’ आज यहाँ विविध कार्यक्रम गरी भव्यताका साथ मनाइँदै छ । सन्त रामपालजी महाराजका अनुयायीद्वारा यही असार ६ गतेदेखि ८ गतेसम्म तीन दिवसीय अखण्ड पाठ तथा भण्डारा कार्यक्रम आयोजना गरिएको थियो ।
असार ६ गते पाठ प्रकाश गरी भण्डाराको प्रारम्भ गरिएको भट्टले बताउनुभयो । उहाँका अनुसार दोस्रो दिन दाइजोमुक्त सामूहिक विवाहलगायत विभिन्न किसिमका समाज सुधारका कार्यक्रम भएका छन् । अनुयायीहरुले दिवसको अवसरमा नेपाल रेडक्रस सोसाइटीसँगको समन्वयमा रक्तदान गरेका छन् । कार्यक्रममा मधेस प्रदेशका सभामुख रामचन्द्र मण्डल, मुख्यमन्त्री सतिशकुमार सिंहलगायत प्रदेशका विभिन्न सङ्घसंस्थाका प्रतिनिधिको उपस्थिति थियो ।
जङ्गली च्याउ खाँदा मृत्यु
दमौली (तनहुँ), ८ असार I तनहुँको आँबुखैरेनी गाउँपालिकामा जङ्गली च्याउ खाएर बिरामी परेका एक जनाको मृत्यु भएको छ । आँबुखैरेनी गाउँपालिका–६ हिलेखर्कका ८५ वर्षीया द्रोणपति गुरुङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
च्याउ खाएर बिरामी गुरुङको चितवनस्थित अस्पतालमा उपचार भइरहेकामा शुक्रबार मृत्यु भएको प्रहरी नायब उपरीक्षक दीपककुमार रायले जानकारी दिनुभयो । अन्य चार जनाको अवस्था भने खतरामुक्त रहेको प्रहरीले जनाएको छ । यही असार १ गते ५४ वर्षीय डिलबहादुर गुरुङले घर नजिकको जङ्गलबाट ल्याएको च्याउ खाँदा उहाँसहित ५७ वर्षीया मधु गुरुङ, ९२ वर्षीय रणबहादुर गुरुङ, ५८ वर्षीया पम्फी गुरुङ बिरामी हुनुभएको थियो ।
पालिकाको प्रशासनिक भवन निर्माण सम्पन्न
खोटाङ, ८ असार I जन्तेढुङ्गा गाउँपालिकाको पक्की भवन रु दुई करोड ३९ लाख आठ हजारको लागतमा निर्माण सम्पन्न भएको छ । निर्धारित समयभन्दा एक महिनाअघि भवन निर्माण पूरा भएको हो । तीनतले पक्की भवन निर्माणका लागि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले रकम प्रदान गरेको हो । दश स्थानीय तह रहेको जिल्लामा सबैभन्दा पहिले खोटेहाङ गाउँपालिकाले आफ्नै लगानीमा प्रशासनिक भवन निर्माण गरेर सञ्चालनमा ल्याएको थियो । हाल जिल्लाका सबै स्थानीय तहमा प्रशासनिक भवन धमाधम निर्माण भइरहेका छन् I
दुर्घटनामा एक युवकको मृत्यु, अन्य दुईजना गम्भीर घाइते
बनियानी (झापा), ८ असार I झापाको मेचीनगर नगरपालिका–१५ मा आज बिहान मोटरसाइकल आफैँ अनियन्त्रित हुँदा एक युवकको मृत्यु भएको छ । अन्य दुईजना गम्भीर घाइते भएका छन् ।
दुर्घटनामा मेचीनगर–१० का २२ वर्षीय राजीव दनुवारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक कृष्णकुमार चन्दले जानकारी दिनुभयो । मेचीनगर–१५ लालझोडास्थित भित्री सडक खण्डमा भद्रपुरबाट धुलाबारीतर्फ आउँदै गरेको प्रदेश १–०१–०१६ प ४१८ नम्बरको मोटरसाइकल आफैँ अनियन्त्रित हुँदा उक्त दुर्घटना भएको हो ।
मोटरसाइलकमा तीन जना सवार थिए । दुर्घटनामा घाइते मेचीनगर–१० का २१ वर्षीय अभिषेक राई र सोही स्थानका २१ वर्षीय विवेक दनुवार घाइते भएका जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।