शुक्रबार, १२ भदौ २०८३

/frontend/images/redline.png
https://jawaaf.com/storage/01J12W54SHCFQ285RCVCQQTR1P.jpg

पोखरा महानगरको नीति तथा कार्यक्रमः पर्यटन राजधानी एकीकृत रणनीतिक कार्ययोजना तयार गरिने

गण्डकी I पोखरा महानगरपालिकाले ‘पर्यटन राजधानी पोखरा एकीकृत रणनीतिक कार्ययोजना’ तयार गर्ने भएको छ ।

महानगरप्रमुख आचार्यले आर्थिक वर्ष २०८१/८२ को वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गर्दै पर्यटन राजधानी पोखराको योजनाबद्ध विकासका लागि कार्ययोजना तयार गरी सङ्घ, प्रदेश र अन्य सरोकारवालाहरूसँगको समन्वय तथा साझेदारीमा कार्यान्वयन गरिने बताउनुुभयो ।

महानगरका ३३ वडाको मौलिकता तथा विशिष्टताको पहिचान, वडाको सम्भावना र अवसरको उपयोग गर्ने गरी ‘एक वडा एक विशिष्ट कार्यक्रम’ अभियान सञ्चालन गरिने पनि उहाँले बताउनुुभयो ।

पर्यटन राजधानी पोखरामा पर्यटकीय पूर्वाधार निर्माणमा आवश्यक नीतिगत तथा प्रक्रियागत सुधार गरी स्वदेशी तथा विदेशी लगानीकर्तालाई सम्भाव्य परियोजनाहरूमा लगानीको लागि प्रोत्साहित गर्न लगानी बैठक आयोजना गरिने नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ ।

यस्तै, आगामी सन् २०२५ लाई ‘पोखरा भ्रमण वर्ष २०२५’ घोषणा गर्ने सङ्घ, प्रदेश सरकार र नीजि क्षेत्रसँग सहकार्य गरी पोखरामा कम्तीमा पन्ध्र लाख पर्यटक भित्र्याउने  र निजी क्षेत्रको सहकार्यमा ‘पोखरा सबै मौसमका लागि’ अभियान सञ्चालन गरिने पनि विवरणमा उल्लेख छ ।

नीति तथा कार्यक्रममा अगाडि भनिएको छ,“पोखराको पर्यटकीय उपजको पार्श्वचित्र निर्माण तथा प्रवर्द्धन, यहाँका प्रमुख पर्यटकीय गन्तव्यहरूको आधिकारिक विवरणसहित महानगर पर्यटकीय गन्तव्य प्रोफाइल तयार गरिने छ । प्रमुख पर्यटकीय गन्तव्य पहिचान, विकास तथा प्रवर्द्धन गर्दा छिमेकी नगरपालिका तथा गाउँपालिकाहरूसँग समेत आवश्यकताअनुसार समन्वय गरिने छ । पर्यटन प्रवर्द्धनमा विद्युतीय माध्यमको प्रयोगलाई अधिकतम रूपमा प्रयोग गरिने छ । ”

पोखरा महानगरपालिका वडा नं १ स्थित सीमपानीमा कालिगङ्गा तथा सेती  गङ्गाको जलसिंचित शालिग्रामसहितको ‘मुक्ति क्षेत्र प्रवेशद्वार’ निर्माण प्रक्रिया अघि बढाइने, हर्पनखोला र फेवातालको सङ्गममा ‘फेवा बिच’ निर्माण गरिने,  फेवाताल जाने सडकको सहिद चोकदेखि हल्लनचोक सडकखण्ड र सिद्धार्थ चोकदेखि विन्ध्यवासिनीसम्मको सम्पदा बस्ती क्षेत्रमा वैकल्पिक यातायात व्यवस्थापन गरी क्रमशः पैदलिकरण लागू गर्नेसमेत महानगरको नीति छ । 

पर्यटन राजधानी पोखरा अध्ययन समितिको प्रतिवेदनको आधारमा तत्काल, अल्पकाल तथा दीर्घकालमा गर्नुपर्ने गतिविधिहरूको पहिचान गरी नीतिगत सुधार, पर्यटकीय पूर्वाधार निर्माण तथा निजी क्षेत्रको क्षमता विकास र जवाफदेहिता बढाउँदै लगिने नीति तथा कार्यक्रममा उल्लेख छ ।

फेवातालको किनारमा अवस्थित रत्न मन्दिरको सञ्चालन तथा व्यवस्थापन महानगरले गर्ने व्यवस्थाका लागि नेपाल ट्रष्टको कार्यालयसँग समन्वय गरिने र रत्न मन्दिर तथा परिसरको संरक्षण र प्रवर्द्धन गरी मन्दिरलाई ‘प्यालेस म्युजियम’ का रूपमा विकास गरिने पनि महानगरपालिकाले जनाएको छ ।

पोखराका विभिन्न क्षेत्रमा पहिचान बनाउँदै आएका जेठोबुढो धान, उखु, मह, कफीलगायतका स्थानीय मौलिक उत्पादनको विस्तार, व्यवसायीकरण बजारीकरणमा प्रोत्साहन गरिने भन्दै नीति तथा कार्यक्रममा पहाडी क्षेत्र  काष्ठफल तथा फलफूल विकास आयोजनासँगको साझेदारीमा सुन्तला, कागती, मेकाडेमियानट, एभोकार्डो आदि फलफूल खेतीको विस्तार तथा प्रवर्द्धन गरिने प्रमुख आचार्यले जानकारी दिनुभयो । 

‘दिगो कृषिको आधार प्राङ्गारिक खेतीको विस्तार’ को अभियानअन्तर्गत प्राङ्गारिक पकेट क्षेत्र घोषणा गरी वातावरणमैत्री सहरी कृषिलाई प्रवर्द्धन र किसान परिचयपत्रको आधारमा कृषि अनुदान दिँदा भौचर प्रणाली अवलम्बन गर्ने पनि महानगरको तयारी छ ।

बाँदरका कारण प्रभावित क्षेत्रमा वैकल्पिक तथा सुरक्षित कृषि बालीको सम्भाव्यता अध्ययन गरी त्यसको सिफारिसका आधारमा बाँदरले मन नपराउने तर किसानलाई फाइदा हुने कृषि बालीको विकास तथा प्रवर्द्धन गरिनुका साथै सङ्घ र प्रदेश सरकारसँग समन्वय गरी बाँदर व्यवस्थापनको पहल गरिने महानगरको नीति तथा कार्यक्रम छ ।

“स्थानीय उत्पादनको विकास, विस्तार र प्रवर्द्धनका लागि ‘मेकइन पोखरा मेडइन पोखरा’ लाई प्राथमिकतामा राखिने छ । सहकारी सुशासनमा देखिएको विद्यमान समस्या र चुनौतीको विश्लेषण एवं मूल्याङकन गरी आवश्यक नीतिगत सुधार, अनुगमन र कानुनबमोजिम कारबाहीलाई योजनाबद्ध रूपमा अघि बढाइने छ । रूग्ण सहकारी संस्थाहरूको उत्थानका लागि आवश्यक व्यवस्था गरिने छ”, नीति तथा कार्यक्रममा उल्लेख छ ।

समृद्धिका लागि सरोकारवालाहरूसँग हातेमालो गर्दै अघि बढ्ने नीति अनुरूप विश्व बैंक, एसियाली विकास बैंक, जाइका, कोइका, युएनडिपी, युएसएआइडीलगायत विभिन्न अन्तर्राष्ट्रिय विकास साझेदारहरूसँगको आर्थिक तथा प्राविधिक सहयोगमा रणनीतिक महत्वका विभिन्न विकास आयोजनाहरू सञ्चालन भइरहेका तथा सञ्चालनको क्रममा रहेकाले तिनको तप प्रभावकारीताका लागि काम गर्ने महानगरको योजना रहेको छ । 

पोखरालाई स्वच्छ, सफा, हरियाली र सुन्दर सहरका रूपमा विकास गर्न विज्ञहरूको सहयोगमा ‘स्वच्छ सहर हरित सहर’  परियोजनाको प्रारूप तयार गरिएको आचार्यले बताउनुुभयो । “महानगरपालिकामा उद्यम व्यवसाय प्रवर्द्धन तथा रोजगारीका अवसर सृजना गर्न उद्यम क्लिनिक, वृत्ति परामर्श तथा रोजगार मेला, पोखरा आइडिया मार्ट, स्टार्टअप प्रोत्साहन जस्ता नवीनतम कार्यक्रम सम्पन्न गरिएको छ । यस अवधिमा विभिन्न विषयमा एक हजारभन्दा बढीलाई व्यावसायिक तथा सीप विकास तालिम प्रदान गरिएको छ”, आचार्यले वक्तव्यमा अगाडि भन्नुभयो । 


आन्तरिक स्रोतको दिगो परिचालन तथा राजस्व परिचालनका सम्बन्धमा आवश्यक अध्ययन, अनुसन्धान तथा प्रवर्द्धन गर्न, अनुगमन तथा कारबाहीलाई तीव्र बनाउन मौजुदा सङ्गठनात्मक संरचना तथा कार्य पद्धतिमा सुधार गर्न महानगरले आगामी आवमा थप योजनावद्ध काम गर्ने पनि महानगरको नीति तथा कार्यक्रममा उल्लेख छ । 

“भ्रष्टाचारविरुद्ध शून्य सहनशीलता अवलम्बन गर्दै भ्रष्टाचार नियन्त्रणका लागि आचारसंहिता कार्यान्वयन, प्रविधिको अधिकतम प्रयोग, अनुगमन, सचेतना अभियान र खरिद लगायतका प्रक्रिया र सेवाप्रवाहमा पारदर्शिता अपनाइने छ । महानगरपालिकामा हुने सार्वजनिक खर्च व्यवस्थापनलाई विधिसम्मत बनाउँदै कूल खर्चमा बेरुजु प्रतिशत घटाउँदै लगिने छ । राजस्व परिचालनमा योगदान पुग्ने गरी सम्पत्ति कर, मालपोत र भूमिकरलाई व्यवस्थित गर्न जिआइस ट्रयाकिङ प्रणालीको विकास गरी कार्यान्वयन गरिने छ”, नीति तथा कार्यक्रममा उल्लेख छ,“जनताको जीवनस्तर उठ्ने, स्थानीय बासिन्दाको सहभागिता जुट्ने र स्थानीय स्रोतसाधन तथा सीपको प्रयोग हुने, दिगो विकास र वातावरण संरक्षण तथा संवर्द्धनमा सघाउ पुग्ने आयोजना तथा कार्यक्रमलाई प्राथमिकता दिइने छ । विकास खर्चलाई रोजगारीसँग आबद्ध गर्ने, न्यायिक समितिको क्षमता विकास गर्दै न्याय सम्पादन प्रक्रियालाई थप निष्पक्ष, गुणस्तरीय र विश्वसनीय बनाउँदै लगिने छ ।”

एसियाली विकास बैंकको सहयोगमा आगामी आर्थिक वर्षमा साविक लेखनाथ नगरपालिकाको कार्यालय परिसरमा विपद् व्यवस्थापन केन्द्र स्थापना गरिने पनि महानरप्रमुख आचार्यले जानकारी गराउनुभयो । 

यस्तै, मितेरी सहरहरुसँगको सम्बन्धलाई थप प्रगाढ र उच्चस्तरको बनाइराख्न महानगरपालिकामा अन्तर्राष्ट्रिय सम्बन्ध तथा समन्वय ब्यूरो स्थापना गरिने उल्लेख गर्दै आचार्यले यी शहरहरूमा युवा विद्यार्थी, उद्यमी, व्यवसायी, कलाकार  तथा अन्य  क्षेत्रका व्यक्तिहरूको  भ्रमण तथा अनुभव आदानप्रदानलाई जोड दिइने बताउनुुभयो ।
यसैगरी व्यवसाय प्रवर्द्धन केन्द्रको क्षमता विकास गर्दै स्वरोजगार तथा मर्यादित रोजगारीको अवसर सिर्जना गर्न बजारको माग र आवश्यकतामा आधारित व्यावसायिक तथा सीप विकास तालिम सञ्चालन गरिने, उद्यमशीलता तथा श्रम गर्ने संस्कृतिको विकास गर्दै महिला तथा युवा उद्यमशीलता विकास तथा प्रवर्द्धनमा जोड दिने पनि जनाइएको छ ।

रोयल ट्रेकलाई पुनः रेखाङ्कन गरी विकास तथा प्रवर्द्धन गरिने र ‘लेक टु लेक’, ‘केभ टु केभ’  तथा ‘कोट टु कोट’ पदमार्ग निर्माण सम्बन्धमा आवश्यक अध्ययन गरी प्रतिवेदनको आधारमा कार्यान्वयनको प्रक्रिया अघि बढाइने, रानीपौवा शोभा भगवतीस्थान नजिक रहेको पोखराको पुरानो नगरपालिका कार्यालय भवनलाई पोखरा स्मृति सङ्ग्रहालयको रूपमा विकास गर्ने पनि महानगरको कार्यक्रम छ । 

‘घरदैलोमा स्वास्थ्य सेवा, ज्येष्ठ नागरिकलाई टेवा’ कार्यक्रम सञ्चालन गरी दीर्घरोगी,  अपाङ्गता भएका व्यक्ति र ७० वर्ष माथिका ज्येष्ठ नागरिकलाई घरघरमा गई निःशुल्क स्वास्थ्य परीक्षणको व्यवस्था मिलाइने नीति तथा कार्यक्रममा उल्लेख छ । बालबालिका, युवादेखि ज्येष्ठ नागरिकको सहभागिता रहने गरी ‘स्वच्छ पोखरा, स्वस्थ पोखरेली’ विशेष अभियान सञ्चालन गरिने, पोखरालाई ‘सदाचार, नैतिकता र अनुशासनको सहर’ का रूपमा विकास गर्दै लग्ने नीति अवलम्बन गरिने आचार्यले उल्लेख गर्नुभयो । 

पोखरामा साहसिक खेल प्रवर्द्धन गर्दै पोखरालाई खेलकुदको सहर र पोखरा नगरीलाई खेल पर्यटन केन्द्रका रूपमा विकास गर्न सङ्घ, प्रदेश सरकार अन्य विकास साझेदारहरूसँग समन्वय गरिने कार्यक्रममा उल्लेख छ ।

अनुशासन, नैतिकता, सदाचारसहितको जीवनोपयोगी शिक्षा विकासका लागि तदनुरूप स्थानीय पाठ्यक्रम र शैक्षिक सिकाइ पद्धतिमा सुधार गरी कार्यान्वयन गरिने उल्लेख गर्दै महानगरप्रमुख आचार्यले माध्यमिक तहका विद्यार्थीका लागि नियमित रूपमा ‘उद्यमशीलता विकास तथा वृत्ति परामर्श कार्यक्रम’ सञ्चालन गरिने पनि महानगरले आगामी आवको नीति तथा कार्यक्रममा उल्लेख गरेको छ । 

प्रकाशित मितिः आइतबार, ०९ असार २०८१
https://jawaaf.com/storage/01J12T1F7DBT9376ATCMQNGAPB.jpg

मकवानपुरमा जङ्गली च्याउ खाँदा एकको मृत्यु, चार बिरामी

मकवानपुर, ९ असार I मकवानपुरको राक्सिराङ गाउँपालिकामा जङ्गली च्याउ खाँदा एक मृत्यु भएको छ भने चारजना बिरामी भएका छन् । 

आज राक्सिराङ गाउँपालिका–७, दगुवाङमा जङ्गली च्याउ खाँदा एकै परिवारका पाँच जना बिरामी भएका थिए । स्थानीयले उद्धार गरी चितवनस्थित भरतपुर अस्पताल पु¥याएकामा एकजनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

जङ्गली च्याउ खाँदा स्थानीय बलबहादुर प्रजा, उहाँकी ४५ वर्षीया श्रीमती जालिमाया प्रजा, छोरी १५ वर्षीया रेञ्जु प्रजा, आठ वर्षीया सविना प्रजा र १० वर्षीय छोरा सुशील प्रजा बिरामी भएका हुन् । बलबहादुरको उपचारका क्रममा मृत्युभएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । 

प्रकाशित मितिः आइतबार, ०९ असार २०८१
https://jawaaf.com/storage/01J12S0PDE3R0KCNQVKJS0J443.jpg

गाग्रीमा पानी ओसार्ने समस्या समाधान हुन्छः खानेपानीमन्त्री राई

काठमाडौँ, ९ असार I खानेपानी मन्त्री राजेन्द्रकुमार राईले खानेपानीको समस्या समाधानका लागि आगामी आर्थिक वर्षको बजेट महत्वपूर्ण कोशेढुङ्गा साबित हुने बताउनुभएको छ ।

विनियोजन विधेयक, २०८१ को विभिन्न शीर्षकमाथि भएको छलफलका क्रममा खानेपानी मन्त्रालयका शीर्षकमाथिको छलफलका क्रममा उठेका प्रश्नको आज प्रतिनिधिसभाका जवाफ दिनुहुँदै खानेपानीमन्त्री राईले उक्त दाबी गर्नुभएको छ । 

“खानेपानीको लाइनमा बस्न नपर्ने अवस्थाको सिर्जना गर्न गर्ने प्रतिवद्धता व्यक्त गर्दछु । खानेपानीका लागि कम्मरमा गाग्री र पिठ्युँमा डोको बोक्नुपर्ने समस्याको अन्त्य गर्ने र तपाईंहरुले अर्कोचोटी प्रश्न नउठाउने गरी काम गर्ने प्रवद्धता व्यक्त गर्दछु”, खानेपानी मन्त्री राईले भन्नुभयो ।

मेलम्ची खानेपानी आयोजनामा बाढीले पु¥याएको क्षति पछि आयोजनालाई कसरी अगाडि बढाउने भनेर अध्ययन भएको र बाढीका कारण पुरिएको आयोजनाको ट्याङ्की सुरक्षित स्थानमा लैजानका लागि मन्त्रिपरिषद्मा स्वीकृती पाएको र त्यसका लागि एसियाली विकास बैंकले करिब रु दुई अर्ब अनुदान सहयोग गर्ने पनि उहाँले बताउनुभयो । आयोजनाको दोस्रो चरणअन्तर्गतको कामका लागि लार्के र याङ्ग्री खोलाबाट समान दैनिक १७ करोड लिटर पानी काठमाडौँ पु¥याउनेगरी योजना निर्माण भइरहेको बताउनुभयो । याङ्ग्री र लार्के खोलामा बन्ने हेडवक्र्ससम्म पहुँचमार्ग निर्माण भइरहेको उहाँको भनाइ छ ।

खानेपानी र सरसफाई तीनवटै तहको साझा अधिकार क्षेत्रभित्र पर्ने भएकाले प्रदेश र स्थानीय तहले पनि पर्याप्त बजेट विनियोजन गर्ने विश्वास व्यक्त गर्नुभयो ।

आगामी आर्थिक वर्षका लागि तय भएको खानेपानी मन्त्रालयको बजेट र वार्षिक विकास कार्यक्रमले सबै जिल्ला र निर्वाचन क्षेत्रका मागलाई सम्बोधन गरेको खानेपानीमन्त्री राईले दावी गर्नुभयो । वार्षिक विकास कार्यक्रममा नपरेका धेरैवटा योजना कार्यान्वयनमा लैजाने तयारी मन्त्रालयले गरिरहेको पनि उहाँको भनाइ छ ।

एसियाली विकास बैंकको सहयोगमा विभिन्न स्थानीय तहमा खानेपानी आयोजनाको प्रक्रियाअघि बढेको र खानेपानी संस्थानले अघि बढाउने आयोजना पनि रातो किताबमा नपरेको उहाँको भनाइ छ । मधेस प्रदेशको खानेपानी समस्या समाधानका लागि अल्पकालिन, मध्यमकालिन र दीर्घकालिन योजना मन्त्रालयले बताइरहेको खानेपानी राईले उल्लेख गर्नुभयो ।

प्रतिनिधिसभाको अर्को बैठक भोलि असार १० गते सोमबार बिहान ११ बजे बस्नेछ ।

प्रकाशित मितिः आइतबार, ०९ असार २०८१
https://jawaaf.com/storage/01J12D755DMEBBF4YA920NJNA9.jpg

‘बेनीको बजार, जता माया उतै छ नजर’ गीत नयाँ स्वरुपमा

म्याग्दी (बेनी), ९ असार I बुहचर्चित नेपाली लोकगीत ‘बेनीको बजार, जता माया उतै छ नजर’ को म्युजिक भिडियोलाई नयाँ प्रस्तुतिका साथ पुनःनिर्माण गर्न सुरु गरिएको छ । जिल्ला सदरमुकाम बेनीलाई राष्ट्रिय, अन्तर्राष्ट्रिय रूपमा चिनाउन सफल उक्त गीतलाई पुनः नयाँ स्वरुपमा रेडर्क गरेर म्युजिक भिडियो तयार गर्न लागिएको हो ।

युवाको नेतृत्व र व्यक्तित्व विकाससँगै कला, संस्कृतिको संरक्षण र संवर्द्धनमा सक्रिय म्याग्दी जेसिजले गीतका सर्जकको परिवारबाट अनुमति लिएर गीतलाई नयाँ प्रस्तुतिका साथ बजारमा ल्याउन लागेको जनाएको छ । गीतको पुनः ताजकी गर्न र स्रष्टालाई सम्मान गर्न पुरानो वास्तविक गीतसँगै नयाँ शब्द सङ्कलन समेत गरेर बेनीको बजार गीतलाई पुनः निर्माण गर्न लागिएको जिल्लास्थित जेसिजका शाखा अध्यक्ष दिनेश बानियाँले जानकारी दिनुभयो । 

उहाँका अनुसार पुनःनिर्माण गर्न लागिएको गीतमा गायक रामचन्द्र काफ्ले र गायिका समीक्षा अधिकारीले स्वर भर्नुभएको छ । गीत रेकर्डको काम सकेर अहिले म्युजिक भिडियो छायाङ्कन भइरहेको निर्देशक डिके पुनले बताउनुभयो । उहाँका अनुसार सदरमुकाम बेनीबजार, गलेश्वरधाम र लभ्लिहिल क्षेत्रमा छायाङ्कन गरिएको म्युजिक भिडियोमा रघुगङ्गा गाउँपालिका–७ चिमखोलाबाट सुरुआत भएर पछिल्लो समय लोकप्रिय बनेको थालीनाचलाई समेत समावेश गरिएको छ । 

मोडल गम्भीर विष्ट र अञ्जली अधिकारीले अभिनय गर्नुभएको म्युजिक भिडियोमा म्याग्दीका करिब ४५ भन्दाबढी कलाकारले नृत्य र अभिनय गर्नुभएको छ । टिकाबहादुर श्रेष्ठले रचना गर्नुभएको उक्त गीतमा सर्जक श्रेष्ठ र उहाँकी श्रीमती मन छन्त्यालले पहिलोपटक बेनीको बजार गीत गाउनुभएको थियो । विसं २०३१ मा रेडियो नेपालमा मन छन्त्यालको स्वरमा रेकर्ड भएपछि विश्वभरका नेपालीमाझ निकै चर्चामा आएको यो गीतलाई पछि राजु परियार र बिमाकुमारी दुराको स्वरमासमेत रेकर्ड गरेर बजारमा ल्याइएको थियो । 

विसं २०१९ फागुन ७ गते प्रजातन्त्र दिवसका दिन काठमाडौँको राष्ट्रिय नाचघरमा पहिलोपटक रचनाकार श्रेष्ठ दम्पतीले ‘बेनीको बजार, जता माया उतै छ नजर’ बोलको गीत गाउनुभएको थियो । उक्त कार्यक्रममा तत्कालीन १४ अञ्चलबाट आएका कलाकारलाई उछिनेर श्रेष्ठ दम्पतीको गीत प्रथम भएको थियो । गीतका सर्जक श्रेष्ठको निधन भएकाले उहाँकी धर्मपत्नीको सहमतिमा गीत र म्युजिक भिडियोलाई पुनःनिर्माण गर्न लागिएको जेसिजका शाखा अध्यक्ष बानियाँले जानकारी दिनुभयो ।

म्याग्दी जेसिजले जिल्लाका लोकप्रिय गायक खड्क गर्वुजाको पानीखायो बाघैले बोलको सालैजो गीतको समेत नयाँ म्युजिक भिडियो तयार गर्न लागेको छ । दुवै गीत र म्युजिक भिडियो पुनःनिर्माणमा करिब रु आठ लाख खर्च हुने जनाइएको छ । सालैजो गीतको बेनी नगरपालिका–१ अर्जममा छायाङ्कन गरिएको छ ।

शेखर पुन र मिलन थापा मगरले अभिनय गर्नुभएको उक्त म्युजिक भिडियोको छायाङ्कन सन्तोष पिठाकोटे मगरले गर्नुभएको छ । म्याग्दीका कलाकारले सृजना गरेका गीतसङ्गीतलाई नयाँ पुस्तासँग जोड्ने गरी पुनः रेकर्ड गरेर बजारमा ल्याउँदा जिल्लालाई थप उचाइमा चिनाउन र सर्जकको सम्मानमा सघाउ पुग्ने जिल्लास्थित उद्योग वाणिज्य सङ्घका अध्यक्ष सुबिनकुमार श्रेष्ठले बताउनुभयो ।

प्रकाशित मितिः आइतबार, ०९ असार २०८१
https://jawaaf.com/storage/01J12CGZFZYJK96DMMSHYFBSWA.jpg

सबै भाषा, संस्कृतिको सम्वर्धन र विकास गर्न सरकार प्रतिबद्ध छ : मन्त्री तामाङ

काठमाडौँ, ९ असार I संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री हितबहादुर तामाङले नेपालमा बोलिने सबै भाषा, साहित्य र संस्कृतिको सम्वर्धन र विकास गर्न सरकार सचेत र प्रतिबद्ध रहेको बताउनुभएको छ ।     
      

नेपाल प्रज्ञा–प्रतिष्ठानको ६७औँ वार्षिकोत्सवका अवसरमा यहाँ आज आयोजित कार्यक्रममा मन्त्री तामाङले नेपाल प्रज्ञा–प्रतिष्ठानमार्फत भाषा, साहित्य, संस्कृति र दर्शनको विकास गर्न सरकारकातर्फबाट अधिकतम सहयोग गर्ने बताउनुभयो । प्रतिष्ठानले नेपालको मौखिक इतिहासको खोजी गर्ने, नेपालमा बोलिने मातृभाषाको संरक्षण र सम्वद्र्धनमा जोड दिने, बालसाहित्यको विकास गर्ने, सातै प्रदेशका भौगोलिक, सामाजिक, सांस्कृति, ऐतिहासिक, भाषिक तथा साहित्यिक विषयकको खोज अन्वेषण गर्दै आएको उल्लेख गर्दै उहाँले यसमा सरकारकातर्फबाट भरपुर सहयोग रहने विश्वास दिलाउनुभयो ।     
      
नेपाल प्रज्ञा–प्रतिष्ठान जनताको सङ्घर्र्ष र बलिदानको पृष्ठभूमिमा उभिएको जिकिर गर्दै मन्त्री तामाङले नेपाल प्रज्ञा–प्रतिष्ठान नेपालका सबै भाषा, साहित्य, संस्कृति, दर्शनशास्त्र तथा सामाजिक शास्त्रसम्बन्धी अध्ययन, अन्वेषण गर्ने तथा मौलिक सिर्जना एवं अनुवादको काम गर्ने सर्वोच्च निकाय भएको उल्लेख गर्नुभयो ।     
      
नेपाल प्रज्ञा–प्रतिष्ठान २०१४ सालमा ‘नेपाली साहित्य–कला एकेडेमी’का नाममा स्थापना भएको हो । त्यसपछि यो नेपाल एकेडेमी, नेपाल राजकीय प्रज्ञा–प्रतिष्ठान हुँदै नेपाल प्रज्ञा–प्रतिष्ठानमा परिणत भएको हो । प्रतिष्ठानले ६७औँ वार्षिकोत्सवका अवसरमा राष्ट्रिय कविता महोत्सव आयोजना गरेको थियो ।     

प्रकाशित मितिः आइतबार, ०९ असार २०८१
https://jawaaf.com/storage/01J127AQ1K74M73A3DCEJZVN43.jpg

भारतमा विषाक्त मदिरा सेवनका कारण मृत्यु हुनेको सङ्ख्या ५३ पुग्यो

बेङ्गलोर, ९ असार I भारतमा विषाक्त मदीराको सेवनबाट ज्यान गुमाउनेको सङ्ख्या ५३ पुगेको भारतीय सञ्चारमाध्यमले आइतबार जनाएका छन् । तमिलनाडु राज्यका मुख्यमन्त्री एम.के स्टालिनले मङ्गलबार मदीरा पिएका ३७ जनाको केही घण्टाभित्रै मृत्यु भएको र अन्य दर्जनौँ व्यक्तिलाई अस्पतालमा भर्ना गरिएको बताउनुभएको थियो । 

स्थानीयस्तरमा उत्पादन गरेको मदीरामा विषाक्त मेथानोल मिसाइएको पुष्टि भएको उहाँले बताउनुभयो । रक्सी पिउने १०० भन्दा बढी मानिसहरूलाई अस्पताल लगिएको थियो I भारतमा ब्याकस्ट्रिट डिस्टिलरीहरूमा बनेको सस्तो रक्सीबाट हरेक वर्ष सयौं मानिसहरू मर्छन्, तर यो विषाक्तता हालका वर्षहरूमा थप भयानक दखिएको छ । रक्सीको शक्ति बढाउन मिसाइने पदार्थ मेथानोलले अन्धोपन, कलेजोको क्षति र मृत्यु निम्त्याउन सक्छ । 

कल्लाकुरिची जिल्लाका गरिब मजदुरहरूले नियमित रूपमा प्लास्टिकको झोलामा ६० रुपैयाँ मूल्य पर्ने रक्सी किन्ने र काम गर्नु अघि पिउँने र यसैको नशामा काम गर्ने गरेको इन्डियन एक्सप्रेस पत्रिकाले आइतबार उल्लेख गरेको छ । 

रक्सीको सेवनपछि कतिपयले आँखा देख्न नसकेको बताएका थिए भने कतिपय बेहोस भई सडकमै ढलेका र उनीहरूमध्ये केहीको तत्काल मृत्यु भएको थियो । कल्लाकुरिची जिल्लाका शीर्ष सरकारी अधिकारी एम.एस प्रशान्तले घटनासँग सम्बन्धित व्यक्तिमध्ये शनिबारसम्ममा ५३ जनाको मृत्यु भएको बताउनुभएको छ ।  केही भारतीय सञ्चारमाध्यमले आइतबार मृतकको सङ्ख्या ५५ पुगेको बताएका थिए तर यसको कुनै आधिकारिक पुष्टि भएको छैन । 

प्रशान्तले नक्कली रक्सी त्रासदीसँग सम्बन्धित सात जनालाई पक्राउ गरिएको बताउनुभयो । इन्डियन एक्सप्रेसले बिहीबार विषालु पेय पदार्थको प्याकेट पिएर मृत्यु भएकाको पत्नि घरेलु कामदार कोलान्जीसँग  कुरा गरेको थियो । उहाँका अनुसार स्थानीयले सरकारी पसलहरूबाट रक्सी किन्न नसक्ने तर नशाका लागि दुषित मुनशाइन नामक रक्सी पिउने गर्छन् । 

भारतका धेरै भागहरूमा रक्सी बेच्न र सेवन गर्न निषेध गरिएको छ, जसले गर्दा घातक ब्याकस्ट्रिट मुनशाइनजस्ता पेय पदार्थको कालो बजार फस्ट्याएको छ । गत वर्ष पूर्वी भारतीय राज्य बिहारमा विषाक्त मदिरा सेवन गर्दा कम्तीमा २७ जनाको मृत्यु भएको थियो भने सन् २०२२ मा गुजरातमा कम्तीमा ४२ जनाको मृत्यु भएको थियो ।-रासस/एएफपी

प्रकाशित मितिः आइतबार, ०९ असार २०८१
https://jawaaf.com/storage/01J126DXA9JTQEXDHGPRCP628W.jpg

बुद्ध एयरले ७२ सिटे जहाजबाट काठमाडौँ–भरतपुर उडान गर्ने

चितवन, ९ असार I बुद्ध एयरले ७२ सिटे जहाजबाट काठमाडौँ–भरतपुर उडान गर्ने भएको छ । धावनमार्ग छोटो भएका कारण विगतमा ४२ सिटे जहाजबाट उडान गर्दै आएको बुद्धले अब ७२ सिटे जहाजबाट उडान गर्न लागेको हो ।     
      
बुद्ध एयर भरतपुरका प्रबन्धक भक्तबहादुर बस्नेतले एक सातापछि ठूलो जहाज सञ्चालन गर्ने तयारी रहेको जानकारी दिनुभयो । गत साता श्री एयरले काठमाण्डौँ–भरतपुर ८० सिटे जहाजको परीक्षण उडान गरिसकेको छ । बस्नेतका अनुसार एयरलायन्सले अनुमति प्राप्त गरिसकेकाले परीक्षण उडानसँगै नियमित उडान गरिनेछ ।     
      
धावनमार्ग छोटो भएकाले जहाजका सबै सिट भरेर सञ्चालन गर्न नसकिने उहाँले बताउनुभयो । बस्नेतका अनुसार जहाजले काठमाडौँबाट भरतपुर आउँदा ६० देखि ६२ जना र भरतपुरबाट काठमाडौँ जाँदा ५० देखि ६० जना यात्रु बोक्ने अनुमान गरिएको छ । अहिले बुद्धको एटिआर–४२ जहाज काठमाडौँ र पोखरा सञ्चालन हुँदै आएका छन् । काठमाडौँ–भरतपुर दैनिक नौवटा र भरतपुर पोखरा दैनिक एउटा सञ्चालनमा छ । यो जहाजको क्षमता ४७ सिट भए पनि धावनमार्ग र गर्मीका कारण पूर्ण क्षमतामा सञ्चालन हुन सकेको छैन ।     
      
अब सञ्चालन गर्न लागिएको जहाज एटिआर–७२ हो । बुद्धले सन् २००५ बाट नियमित भरतपुर उडान गर्दै आएको छ । अहिले मासिक ११ हजार भन्दा बढी यात्रुलाई बुद्ध एयरले सेवा दिइसकेको छ ।     
      
साना जहाज उडान हुँदा एकतर्फी भाडा रु चार हजार सात सय भन्दा बढी छ । ठूला जहाज सञ्चालन भएसँगै हवाई भाडा घट्ने जनाइएको छ । भरतपुर विमानस्थलको नयाँ टर्मिनल भवन निर्माण र धावन मार्गसमेत विस्तार हुँदैछ ।  

प्रकाशित मितिः आइतबार, ०९ असार २०८१
https://jawaaf.com/storage/01J1249PTBM883K9R9CFGBJCCP.jpg

शिक्षातर्फ आकर्षित हुँदै हरुवाचरुवा मुसहर समुदायका बालबालिका

शम्भुनाथ (सप्तरी), ९ असार I पढ्ने उमेर भए पनि जिल्लाको शम्भुनाथ नगरपालिका–७ भगवतपुरस्थित मुसहर बस्तीका नौ वर्षीय प्रदीप सदा विद्यालय जान पाउँदैन थिए । घरदेखि करिब पाँच सय मिटरको दूरीमा रहेको विद्यालय नगई घरमै खेलेर समय बिताउँथे । अहिले प्रदीप बिहान हुनेबित्तिकै झोलामा कापीकिताब बोकेर विद्यालय जान थालेका छन् । 

आमाबुवाले स्थानीय साहुको घरखेतमा काम गर्न जाँदा उहाँहरुसँगै साहुमहाजनको गाईगोरु चराउने गरेका सोही ठाउँका ११ वर्षीय राकेश सदाको पनि अहिले दिनचर्या फेरिएको छ । राकेश पनि अहिले घर नजिकै रहेको बुद्धिलाल मुनर माध्यमिक विद्यालय जान थालेका छन् । 

प्रदीप र राकेश मात्र होइनन्, पछिल्लो समय अति पिछडिएको उक्त मुसहर बस्तीका बालकालिकाको शिक्षाप्रतिको आकर्षण बढ्दै गएको छ । हरुवाचरुवा र मुसहर समुदायको उल्लेख्य बसोबास रहेको शम्भुनाथ–७ भगवतपुर, वडा नं २ कनकपट्टी, वडा नं ३ डङ्गराही र वडा नं ५ स्थित मोहनपुरका मुसहर बालबालिका अचेल नियमित विद्यालय जान थालेका छन् । 

सो नगरपालिकाका हरुवाचरुवा परिवारका बालबालिकालाई लक्षित गरी श्रीपुर्राज सामुदायिक विकास केन्द्रले सञ्चालन गरेको शैक्षिक अभियानअन्तर्गत निःशुल्क बाल ट्युसन कक्षा सञ्चालन गरेपछि विद्यालय जाने दलित बालबालिकाको सङ्ख्या बढ्दै गएको हो ।

केही वर्षअघिसम्म अत्यन्त न्यून सङ्ख्यामा मात्र मुसहर बालबालिका विद्यालय जाने गरेकामा पछिल्लो समय ती समुदायबाट विद्यालय जानेको सङ्ख्या उत्साहजनकरुपमा बढ्दै गएको केन्द्रका सहजकर्ता बिजली रामले बताउनुभयो ।

तीन वर्ष अघिसम्म ती वडाबाट हरुवाचरुवा र मुसहर समुदायका विद्यालय जाने बालबालिकाको सङ्ख्या १२ थियो ।  केन्द्रले ‘द फ्रिडम फन्ड’ संस्थाको सहयोगमा ‘सामाजिक परिचालन तथा शिक्षाका माध्यमबाट हरुवाचरुवाको सशक्तीकरण कार्यक्रम’अन्तर्गत जनचेतना अभियान, अभिभावक भेला तथा निःशुल्क बालकक्षा सञ्चालनमा ल्याएपछि अहिले विद्यालय जाने विद्यार्थीको सङ्ख्या तीन सयभन्दा बढी पुगेको हरुवाचरुवा शम्भुनाथ नगर बालक्लबका अर्जुन सदाले जानकारी दिनुभयो ।  

“पहिलापहिला हरुवाचरुवा मुसहर परिवारका बालबालिका पढाइभन्दा खेलकुदमै दिन बिताउने गर्खथे । गाउँमै निःशुल्क बालकक्षा सञ्चालनमा आएपछि विस्तारै पढाइलेखाइप्रति आकर्षित हुन थालेका छन्”, अर्जुनले भन्नुभयो, “केही वर्षअघिसम्म विद्यालयमा मुसहर परिवारका बालबालिका न्यून सङ्ख्यामा भेट्थ्यो, अहिले विस्तारै उक्त सङ्ख्या बढ्दै गएको छ ।” 

“हरुवाचरुवा परिवारमा शिक्षाको महत्व थाहा नभएर होला अभिभावकले पनि आफ्ना छोराछोरी विद्यालय पठाउँदैनथे”, मोहनपुरका दिपा सदाले भन्नुभयो, “अहिले चेतनाको स्तर वृद्धि हुनुका साथै शिक्षामूलक अभियानले गर्दा अभिभावकमा छोराछोरीलाई पढाउनुपर्छ भन्ने चेतनाको विकास भएको छ ।” कुनैबेला आफूलाई पढ्न रहर हुँदाहुँदै पनि बाल्यकालमै अभिभावकले विवाह गरिदिएको सम्झिँदै उहाँले अहिले त्यस्तो अवस्था बिस्तारै हट्दै गएको बताउनुभयो । हरुवाहरुवा मुसहर परिवारका अभिभावक जिम्मेवार बन्दै गएका उहाँको बुझाइ छ ।

हरुवाचरुवा परिवारमा शिक्षाको अवस्था अत्यन्तै नाजुक देखिएपछि संस्थाले शम्भुनाथ नगरपालिकाको विभिन्न वडामा सञ्चालन गरेको निःशुल्क बालशिक्षा कार्यक्रममा अहिले उक्त समुदायका दुई सयभन्दा बढी बालबालिका नियमितरुपमा अध्ययन गर्न आउने गरेका श्रीपुर्राज सामुदायिक केन्द्रका संयोजक विनोदानन्द चौधरीले बताउनुभयो । तीमध्ये एक सय ५० बालबालिकालाई विभिन्न विद्यालयको पहँुचमा पु¥याइएको उहाँले जानकारी दिनुभयो । 

संयोजक चौधरीका अनुसार विद्यालयमा भर्ना भएका बालबालिकालाई संस्थाकोतर्फबाट शैक्षिक सामग्री र स्कुल झोला निःशुल्क उपलब्ध गराएको छ । विद्यालय बाहिर रहेका बालबालिकाका लागि हाल तीन जना दक्ष शिक्षिका र एक दर्जन स्वयंसेवक परिचालित गरेर नौमहिने बालशिक्षा प्रदान गरिरहेको भन्दै क्रमिकरुपमा विद्यालय भर्ना गराउँदै लगिने उहाँले जानकारी दिनुभयो । 

“प्रारम्भिक बालशिक्षाबाट राम्रो गर्दै गएका एक सय ५० जना हरुवाचरुवा परिवारका बालबालिकालाई अहिलेसम्म स्थानीय विद्यालयमा भर्ना गराइसकिएको छ”, केन्द्रका सहजकर्ता रामले भन्नुभयो, “बाँकी रहेकालाई क्रमशः पाइकपर्ने विद्यालयमा भर्ना गराउने तयारीमा छौँ ।” 

गरिबी र अभावबाट गुज्रिरहेका हरुवाचरुवा र मुसहर समुदायका अधिकांश बालबालिका विद्यालयको पहुँचभन्दा बाहिर हुने गरेकामा उनीहरुलाई शिक्षासँग जोड अभियान सञ्चालन गरी आगामी शैक्षिकसत्रदेखि सबैलाई विद्यालयसँग जोड्न पहल गरिएको उहाँको भनाइ छ ।

शैक्षिकरुपमा पछाडि परेका हरुवाचरुवा र मुसहर समुदायका बालबालिकाको विद्यालय आउनेक्रम बढेको भन्दै यस्तो अभियानलाई अझ सशक्त बनाएर निरन्तरता दिनुपर्ने शम्भुनाथ–३ स्थित बौकीदेवी दलित आधारभूत विद्यालयका प्रधानाध्यापक गोसाइँ पासवानले बताउनुभयो । भर्ना हुन आउने बालबालिकालाई विद्यालयको तर्फबाट आवश्यक सहयोग र सहजीकरण गरिने उहाँको भनाइ छ ।

प्रकाशित मितिः आइतबार, ०९ असार २०८१
https://jawaaf.com/storage/01J122E0XK3ANQFHGPEFNFZB0N.jpg

भोजपुरको वैकुण्ठेमा विद्युत् विस्तार

भोजपुर, ९ असार I विद्युत् विस्तारले भोजपुरको रामप्रसादराई गाउँपालिका–६ वैकुण्ठेका स्थानीयको दैनिकीमा सहजता थपिएको छ । भौगोलिकरुपमा विकट रहेका यहाँका सबै स्थानमा विद्युत् विस्तार भएपछि स्थानीयको दैनिकीमा परिवर्तन आएको हो ।     
      
अहिले स्थानीयले विद्युत्को उपयोग गर्दै आधुनिक विद्युतीय उपकरण सञ्चालन गरिरहेका छन् । विद्युत्ले कुटानीपिसानीसँगै दैनिक कामकाजमा सहज भएको वडा सदस्य जयन्द्रकुमार राईले बताउनुभयो । अहिले विभिन्न विद्युतीय उपकरण जोडेर दैनिक काम गर्नसक्ने वातावरण बनाइएको उहाँको भनाइ छ ।     
      
“विद्युत् विस्तारसँगै स्थानीय उद्यमशीलतामा जोडिएका छन्”, राईले भन्नुभयो, “हामीले विद्युत्को अधिकतम उपयोगमा जोड दिँदै गाउँले जीवनलाई सहज बनाउने प्रयत्न गरिरहेका छौँ ।” विद्युत् विस्तारको काम सम्पन्न भएसँगै स्थानीयलाई विद्युत्का माध्यमबाट उद्यमशीलतासँग जोड्ने काम थालिएको उहाँले जानकारी दिनुभयो ।     
      
वडाध्यक्ष एकराज आचार्यका अनुसार स्थानीयको कुटानीपिसानीको समस्यालाई समाधान गर्दै उनीहरुलाई उद्यमी बनाउन वडाले १६ वटा आधुनिक विद्युतीय मिल वितरण गरेको छ । वडा कार्यालयले रु चार लाख ५० हजार खर्च गरेर टोलस्तरमा १६ वटा आधुनिक मिल वितरण गरेको उहाँले जानकारी दिनुभयो ।     
      
“भौगोलिकरुपमा विकट भए पनि यहाँका सम्पूर्ण स्थानमा विद्युत् विस्तार गर्न सफल भएका छौँ”, वडाध्यक्ष आचार्यले भन्नुभयो, “अहिले विद्युत्को उपयोग गर्दै स्थानीयवासी उद्यममा जोडिएका छन् । स्थानीयलाई स्वरोजगारका अवसर सिर्जना गर्न आवश्यक साथ र सहयोग गर्दै आएका छौँ ।” उहाँका अनुसार वडाले ‘वैकुण्ठेको उत्पादन काठमाडौँको भान्सामा’ भन्ने नाराका साथ रैथाने तथा नगदेबाली उत्पादनमा जोड दिएको छ ।     
      
मिलको सहायताले यहाँ उत्पादन भएका कोदो, फापर, मकै, जौँलगायत रैथाने बालीलाई पिसेर सहरका भान्सामा पु¥याउने योजनाका साथ काम गरिरहेको वडाध्यक्ष आचार्यले जानकारी दिनुभयो । उत्पादित सामग्री बाहिर पठाउन वैकुण्ठेबाट गएर काठमाडौँ तथा अन्य सहरमा बसेकासँग समन्वय गरिरहेको उहाँले बताउनुभयो ।     
      
“उद्यमशीलतमा जोड्दै यहाँका रैथाने बालीको संरक्षणसँगै उत्पादनलाई प्रशोधन गरिरहेका छौँ । प्रशोधित सामग्री विभिन्न जिल्लामा पठाउन थालेका छौँ । यसले युवामा उत्साह थप्नुका साथै स्थानीयको आर्थिकस्तर सबल बन्दै गएको छ”, वडाध्यक्ष आचार्यले भन्नुभयो । विद्युत् विस्तार भएपछि स्थानीयमा सूचनाको पहुँचमा पनि विस्तार भएको उहाँको भनाइ छ ।     
      
विद्युतीय मिल वितरणले उद्यमशीलतासँगै महिलालाई घरयासी कामकाजमा पनि सहजता भएको वडासदस्य सावित्रा राईले बताउनुभयो । “प्रविधिको उपयोगबाट दैनिकीलाई सहज बनाउन सकिँदोरहेछ”, उहाँले भन्नुभयो, “कुटानीपिसानीका लागि घण्टौँ समय लगाएर अन्य ठाउँमा जानुपर्ने बाध्यात्मक अवस्था हटेको छ । महिला पनि विभिन्न स्वरोजगारमूलक काममा व्यस्त हुन थालेका छन् ।”     

प्रकाशित मितिः आइतबार, ०९ असार २०८१
https://jawaaf.com/storage/01J121PG98DZYMSRZZDB5W2KP7.jpg

हेटौँडा सिमेन्ट उद्योगबाट आजदेखि पुनःउत्पादन सुरु

मकवानपुर, ९ असार I करिब तीन महिनाअघिदेखि बन्द रहेको हेटौँडा सिमेन्ट उद्योगले आजदेखि पुनःउत्पादन सुरु गरेको छ । उद्योगको आगो बाल्ने भट्टीका साथै केही उपकरण मर्मतसम्भार गर्नुपर्ने भएकाले दुई हप्ताका लागि उत्पादन बन्द गरिएको थियो ।

उक्त उद्योगबाट अवकाश पाएका कर्मचारीले आफूले पाउने उपदान र औषधि उपचार खर्चको एकमुष्ठ रकम भुक्तानी नगरेको भन्दै कर्मचारीले लामो समयसम्म हड्ताल जारी राखेकाले सिमेन्टको उत्पादन सञ्चालन गर्न नसकिएको उद्योगका नायब महाप्रबन्धक नवीनकुमार कर्णले जानकारी दिनुभयो । अहिले निवृत्त भएका कर्मचारीले हड्ताल स्थगित गरेपछि आजदेखि नियमित उत्पादन र प्याकिङ गर्ने काम सञ्चालन भएको उहाँको भनाइ छ ।

उद्योगमा अहिले पटकपटक गरी करिब चार हजार पाँच सय मेट्रि«कटन कोइला बोलपत्रद्वारा आह्वान गरी आपूूर्ति गरिरहेकाले अब नियमित उत्पादन भइरहने सिमेन्ट उद्योगका महाप्रबन्धक वसन्तकुमार पाण्डेले  जानकारी दिनुभयो । उहाँका अनुसार केही महिनाअघि आर्थिक सङ्कटले कोइला खरिद गर्न कठिनाइ हुँदा पटकपटक उत्पादनमा रोक लगाउनुपरेको थियो । 

स्थापनाकालदेखि केही वर्षअघिसम्म उक्त उद्योगमा कार्यरत विभिन्न तहका २९ जना कर्मचारीले अवकाश पाएपछि निजहरुले नियमअनुसार पाउनुपर्ने उपदान, औषधि उपचार खर्चसमेत गरी करिब रु १७ करोड पाँच लाख रकम दिनुपर्नेमा आर्थिक सङ्कटले भुक्तानी दिनुपर्ने रकम नभएकाले समस्या आएको उद्योगका लेखा प्रमुख हरेराम कोइरालाले बताउनुभयो ।

उद्योगका महाप्रबन्धक पाण्डेसँग आज सङ्क्षिप्त कुराकानी गर्दै उद्योगलाई अब नयाँ प्रक्रियाबाट सञ्चालनमा ल्याई सिमेन्ट उत्पादन नियमित गर्ने योजना बनाइएको बताउनुभयो । “अवकाश लिएका कर्मचारीलाई दिनुपर्ने रकम हाल उद्योगमा मौज्दात नरहेकाले नवनियुक्त अध्यक्षलगायत पदाधिकार र प्रतिनिधिसभाका सदस्यद्वय दिपकबहादुर सिंह र महेशकुमार बर्तौलासहितको प्रतिनिधिमण्डलले प्रधानमन्त्री, अर्थमन्त्री र उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रीलाई भेटी उद्योगमा आइपरेको आर्थिक सङ्कटबारे जानकारी गराएका छौँ”, उहाँले भन्नुभयो, “सरोकार भएका निकायको पहलमा समस्या समाधान गर्नेछौँ ।”

उद्योग मन्त्रालयले सरकारकोतर्पmबाट सिमेन्ट उद्योगलाई उपलब्ध गराइदिने रकमका लागि आवश्यकीय कागजपत्र अर्थमन्त्रालयमा पठाइसकेको जनाउँदै महाप्रबन्धक पाण्डेले केही हप्ताभित्रै अनुदान रकम प्राप्त हुने भएकाले अवकाश प्राप्त कर्मचारीलाई दिइने बताउनुभयो ।

तत्कालीन श्री ५ को सरकारले विसं २०३३ मा हेटौँडाको लामसुरेमा हेटाँैडा सिमेन्ट उद्योगको स्थापना गरेको थियो । तत्कालीन समयमा उद्योग निर्माणका लागि रु एक अर्ब ५० करोड रकम सरकारले उपलब्ध गराएको थियो । 

विसं २०४३ मङ्सिर २६ गतेदेखि व्यावसायिकरुपमा सिमेन्टको उत्पादन गरी काठमाडौँलगायत विभिन्न सहरमा आपूर्ति गर्दै आएको उद्योग प्रशासनले जनाएको छ । उद्योगको साविक सिमेन्ट उत्पादन गर्ने क्षमता दैनिक १८ हजार बोरा भए पनि अहिले १० हजार बोरा मात्र उत्पादन भइरहेको छ । उद्योगमा अहिले प्रशासन, लेखा, प्रविधिक, चुनढुङ्गाखानी एवं कामदार मजदुर गरी करिब दुई सयले प्रत्यक्ष रोजगार पाइरहेका छन् ।

उद्योगमा अहिले पटकपटक गरी एक लाख ५० हजार बोरा सिमेन्ट मौज्दात रहेको उद्योगको व्यवस्थापनले जनाएको छ । 

प्रकाशित मितिः आइतबार, ०९ असार २०८१