शुक्रबार, १२ भदौ २०८३

/frontend/images/redline.png
https://jawaaf.com/storage/01J0R04S6HVV1PTJTMQ2S19HH2.jpg

दलित विद्यार्थीलाई स्नातक तहमा छात्रवृत्ति

दमक(झापा), ५ असार I झापाको कमल गाउँपालिकाले पालिकाभित्रका स्नातक तहमा अध्ययनरत दलित समुदायका १७ विद्यार्थीलाई छात्रवृत्ति रकम प्रदान गरेको छ । 

गाउँपालिकाभित्र स्थायी बसोबास गरी विभिन्न शिक्षण संस्थामा उच्च शिक्षा हासिल गरिरहेका दलित समुदायका ती विद्यार्थीको उच्च शिक्षा अध्ययनमा निरन्तरताका लागि छात्रवृत्तिबापत रु तीन लाख वितरण गरिएको गाउँपालिकाले जनाएको छ । गाउँपालिकाले चालु आर्थिक वर्षदेखि सो कार्यक्रम सञ्चालनमा ल्याइएको जनाइएको छ ।
 
गाउँपालिकाको शिक्षा शाखाको वार्षिक चालु आर्थिक वर्षमा स्वीकृत कार्यक्रम अन्तर्गत उनीहरूले अध्ययन गरिरहेको विषय र शिक्षण संस्थाको शुल्कका आधारमा जनही रु १७ हजारदेखि अधिकतम रु ५० हजारसम्म छात्रवृत्ति रकम प्रदान गरिएको हो । गाउँपालिकाका अध्यक्ष हुकुमसिंह राईले सो छात्रवृत्ति रकम सम्बन्धित विद्यार्थीलाई हस्तान्तरण गर्दै कमलवासी विद्यार्थीको शिक्षा प्राप्तिको चाहनामा आर्थिक अभावले कुनै बाधा नहोस् भन्ने उद्देश्य राखेर सो रकम प्रदान गरिएको बताउनुभयो । 

उहाँले शिक्षाको माध्यमबाट मात्रै समग्र कमलवासीको भविष्य उज्यालो हुने भएकाले राज्यको मूल प्रवाहमा आउन नसकेका, दलित, अल्पसङ्ख्यक तथा सीमान्तकृत समुदायका नागरिकलाई सहयोग पुग्ने किसिमका कार्यक्रम ल्याइएको बताउनुभयो । 

आगामी आर्थिक वर्षमा पनि यस कार्यक्रमलाई प्राथमिकताका साथ निरन्रता दिइने उहाँको भनाइ छ । छात्रवृत्तिबापतको रकमले आफूलाई थप उच्च शिक्षा अध्ययन गर्न हौसलासमेत मिलेको र उच्च शिक्षा अध्ययन गर्न सहयोग पुग्ने कमल–१ घर भई हाल जनता बहुमुखी क्याम्पस इटहरीमा अध्ययनरत छात्रा कविता दमाइले बताउनुभयो ।

प्रकाशित मितिः बुधबार, ०५ असार २०८१
https://jawaaf.com/storage/01J0QV3YD158SQHYV0P19BZHCN.jpg

प्रतिनिधिसभा बैठक : दूधको भुक्तानी गर्न सांसदहरुको माग

काठमाडौँ, ५ असार I  प्रतिनिधिसभाको बैठकमा नेकपा (एमाले) का प्रमुख सचेतक महेशकुमार बर्तौलाले किसानलाई दूधको भुक्तानी तत्काल दिन माग गर्नुभएको छ । किसानका  समस्या सरकारले तत्काल वार्तामार्फत सम्बोधन गर्नुपर्ने उहाँले उल्लेख गर्नुभयो । 

प्रतिनिधिसभाको आजको बैठकमा आकस्मिक समयमा बोल्दै प्रमुख सचेतक बर्तौलाले किसानले दूधको भुक्तानीको माग गर्दै आन्दोलन गरेको लामो समय भएकाले सरकारले तत्काल समस्या समाधान गर्नुपर्नेमा जोड दिनुभयो । धर्नामा बसेका ४५ किसानलाई पक्राउ गर्नु दुःखद भएको उहाँको भनाइ थियो ।

“किसानको माग न्यायोचित छ, ६ लाख किसानले करिब रु ६ अर्ब भुक्तानी पाउन बाँकी छ”, प्रमुख सचेतक बर्तौलाले भन्नुभयो– “किसानले बैँकबाट ऋण लिएका छन्, तिर्ने अवस्था छैन ।” उहाँले किसानको समस्याको विषयमा कृषि मन्त्रालय, अर्थ मन्त्रालय र प्रधानमन्त्रीको ध्यानाकर्षण गराउँदै दूधको भुक्तानीको बक्यौता अविलम्ब उपलब्ध गराउनुपर्नेमा जोड दिनुभयो । 

नेपाली कांग्र्रेसकी सांसद नागिना यादवले किसानको जीविकोपार्जनको मुख्य आधार कृषि भएकाले किसानको जायज माग पूरा गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो । “आन्दोलनरत किसानको माग तत्काल सम्बोधन गर्नुपर्छ”, उहाँले भन्नुभयो । 

 नेकपा (एकीकृत समाजवादी) का सांसद मेटमणी चौधरीले कानुनसम्मत् दर्ता भएका क्रसर र खानी उद्योगको नवीकरण गर्नुपर्ने बताउनुभयो । क्रसर व्यवसायीबाट रु ६ अर्ब राजस्व प्राप्त भइरहेको उहाँको भनाइ थियो । 

स्वतन्त्र सांसद डा अमरेशकुमार सिंहले आन्दोलनरत कवाडी व्यवसायीमाथि लाठीचार्ज हुनु दुःखद भएको बताउनुभयो । आन्दोलनका क्रममा घाइते भएकाको उपचार निःशुल्क गर्न उहाँले माग गर्नुभयो ।

नेकपा (एमाले) का सांसद एकनाथ ढकालले गोरखाको  भिमसेन थापा गाउँपालिका र धादिङको त्रिपुरासुन्दरी जोड्ने झोलुङ्गे पुल हालसम्म मर्मत हुन नसकेकोप्रति सरकारको ध्यानाकर्षण गराउनुभयो ।   

आम जनता पार्टीका अध्यक्ष प्रभु साहले शान्तिपूर्ण आन्दोलनमा रहेका कवाडी व्यवसायीमाथि लाठीप्रहारको घटनाप्रति सरकारको ध्यानाकर्षण गराउनुभयो । 

नेकपा (एमाले) का सांसद मानवीर राईले लामो  समयदेखि लुक्लास्थित तेन्जीङ हिलारी विमानस्थल अवरुद्ध हुँदा पर्यटकले सास्ती खेप्नुपरेको उल्लेख गर्नुभयो । उक्त विमानस्थलसँगै सडकसमेत अवरुद्ध हुँदा बिरामीलाई समस्या भएकोप्रति सरकारको ध्यानाकर्षण गराउनुभयो ।

प्रकाशित मितिः बुधबार, ०५ असार २०८१
https://jawaaf.com/storage/01J0QSKZVGK90NNNK9Q7X3EN0Q.jpg

सुदूरपश्चिममा डेङ्गु सङ्क्रमित बढ्दै

महेन्द्रनगर (कञ्चनपुर) ५ असार I  लामखुट्टेको टोकाइबाट लाग्ने डेङ्गुको सङ्क्रमण सुदूरपश्चिमका पहाडी जिल्लामा बढ्दै गएको छ । तराईका जिल्लामा अधिकांश देखिने मलेरिया, डेङ्गुलगायत रोगको सङ्क्रमण पछिल्लो समय पहाडी जिल्लामा पनि बढ्दै गएको देखिएको छ ।

सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयका भेक्टर कन्ट्रोल अधिकृत हेमराज जोशीले पहाडी जिल्लामा लामखुट्टे बढेसँगै पछिल्लो समय डेङ्गुको सङ्क्रमण पनि बढ्दै गएको बताउनुभयो । उहाँका अनुसार गत माघ यता सुदूरपश्चिममा एक सय ४० जनामा डेङ्गुको सङ्क्रमण देखिएको छ । सबैभन्दा बढी डोटी जिल्लामा ४७ जना सङ्क्रमित फेला परेका उहाँले जानकारी दिनुभयो ।

निर्देशनालयको तथ्याङ्कअनुसार अछाममा २६, कञ्चनपुरमा २४, बाजुरामा १५, दार्चुलामा १०, कैलालीमा नौ, बझाङमा चार, डडेल्धुरामा तीन र बैतडीमा दुईजनामा सङ्क्रमण देखिएको छ । “पानी पर्न थालेपछि तराईमा समेत सङ्क्रमण बढ्ने जोखिम रहन्छ”, जोशीले भन्नुभयो, “अहिले तराईमा अत्यधिक गर्मीका कारण लामखुट्टे मरेका छन् । पानी परेर केही चिसो हुन थालेपछि सङ्क्रमणको जोखिम बढ्ने छ ।” उहाँले पछिल्ला केही वर्षयता सुदूरपश्चिमका पहाडीका साथै तराईका जिल्लामा एकैसाथ सङ्क्रमण देखिन थालेको बताउनुभयो ।

डेङ्गु नियन्त्रणका लागि सुदूरपश्चिम प्रदेश सरकारले किट र औषधि व्यवस्थापन, चिकित्सकसहित स्वास्थ्यकर्मीको क्षमता विकास एवं प्रशिक्षणका साथै यहाँका अस्पतालहरुमा सङ्क्रमति बिरामीका लागि छुट्टै वार्ड र शय्याको व्यवस्थापन गरेको निर्देशनालयका भेक्टर कन्ट्रोल अधिकृत जोशीले जानकारी दिनुभयो । स्थानीय तहले लामखुट्टेको लार्भा भएका ठाउँको पहिचान गरी ‘खोप र नष्ट गर’ सञ्चालन गरिरहेका उहाँको भनाइ छ ।

निर्देशनालयका अनुसार सन् २०२३ मा सुदूरपश्चिममा एक हजार एक सय ९४ जनामा डेङ्गु सङ्क्रमण देखिनाका साथै चारजनाको मृत्यु भएको थियो ।

प्रकाशित मितिः बुधबार, ०५ असार २०८१
https://jawaaf.com/storage/01J0QS8SQC5BGPZR9F2P30DXPH.jpg

ताप्लेजुङमा बाढीपहिरोबाट ८१ परिवार विस्थापित

ताप्लेजुङ, ५ असार I ताप्लेजुङमा मनसुनी वर्षा सुरु भएयता बढीपहिरोका कारण ८१ घरका तीन सय ४२ जना विस्थापित भएका छन् । एक साताको अवधिमा पहिरोमा परेर पाँचजनाको ज्यान गएको प्रमुख जिल्ला अधिकारी रवीन्द्रप्रसाद आचार्यले जानकारी दिनुभयो । उहाँका अनुसार यहाँका आठ घर पूर्णरुपले क्षति भएका छन्भने १८ घर उच्च जोखिममा छन् । जिल्लाका विभिन्न स्थानका ५५ घर जोखिममा रहेका उहाँले बताउनुभयो ।

“बाढीपहिरोबाट एक साताको अवधिमा ८४ वटा पशुचौपाया मरेका छन् । चार सवारीसाधनमा क्षति पुग्नाका साथै दुईवटा काठको मोटरेवल पुलसहित चारवटा पुल बाढीले बगाएको छ”, प्रजिअ आचार्यले भन्नुभयो । बाढीपहिरोबाट विस्थापित ७० परिवार आफन्त तथा छिमेकीकामा आश्रय लिएर बसेको जनाउँदै ११ परिवार नजिकैको विद्यालयमा बसेका उहाँले बताउनुभयो ।
 
पहिरोबाट विस्थापित हुने अधिकांश सिरीजङ्घा, सिदिङ्वा, मिक्वाखोला र फक्ताङलुङ गाउँपालिकाका बढिरहेका प्रजिअ आचार्यले बताउनुभयो । उहाँका अनुसार पहिरोमा परेर फक्ताङलुङ–२ का एकै परिवारका चारजनाको निधन भएको थियो भने पाँचथर फिदिमका एकजनाको सिरीजङ्घामा निधन भएको थियो । 

पहिरोले अधिकांश ग्रामीण क्षेत्रका सडकका साथै विद्युत् आयोजनामा क्षति पुगेको छ । अवरुद्ध सडक स्थानीय तहले खुलाउने प्रयास गरिरहेका जनाएका छन् । सिरीजङ्घा र फक्ताङलुङ गाउँपालिकाका अधिकांश ग्रामीण सडक अवरुद्ध बनेका हुन् । बाढीपहिरोले नगदेबाली अलैँचीमा सबैभन्दा बढी क्षति पुगेको स्थानीयले बताएका छन् । हरेक दिन वर्षा भइरहेकाले ग्रामीण क्षेत्रका नागरिक त्रसित बनेका छन् ।

प्रकाशित मितिः बुधबार, ०५ असार २०८१
https://jawaaf.com/storage/01J0QRR2K6T7YNMP9YM2M13PQ3.png

अवरुद्ध मध्यपहाडी लोकमार्ग एकतर्फी सञ्चालनमा

कमलामाई (सिन्धुली), ५ असार I आज बिहानदेखि अवरुद्ध मध्यपहाडी लोकमार्ग एकतर्फी सञ्चालनमा आएको छ । सिन्धुलीको फिक्कल गाउँपालिका–२ सुम्नामबेँसी, गोलन्जोर गाउँपालिका–१ कुडुले र गोलन्जोर –६ अक्करेभिरमा लगायत क्षेत्रमा  सडक अवरुद्ध भएको थियो ।

गएराति परेको वर्षाका कारण सडक माथिबाट बगेको लेदो र खसेको पहिरोले अवरुद्ध सडक दुवैतर्फी सञ्चालन गर्ने प्रयास भइरहेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुख, प्रहरी उपरीक्षक गोविन्दराज काफ्लेले जानकारी दिनुभयो । उहाँका अनुसार स्थानीय पालिकाको सहयोगमा जेसिभीले  पहिरो पन्छाउने कार्य भइरहेको छ । 

प्रकाशित मितिः बुधबार, ०५ असार २०८१
https://jawaaf.com/storage/01J0QDXY1HK6G4FJCSRNWBEJD9.jpg

किसान सूचीकरण कार्यक्रममा अठार लाख किसान सूचीकृत

काठमाडौँ, ५ असार I किसान सूचीकरण कार्यक्रममा १८ लाख किसान सूचीकृत भएका छन् । अनुदानलगायत  सहायता उपलब्ध गराउन सरकारले यो कार्यक्रम ल्याएको हो । कृषि तथा पशुपक्षी विकास मन्त्रालयका सूचना अधिकारी महानन्द जोशीका अनुसार किसानबाट उत्पादित उपज, खेती गरेको जमिनको क्षेत्रफललगायत विवरणसहितको एकीकृत तथ्याङ्क सङ्कलन भइरहेको छ । राज्यबाट देशभरका किसानलाई विद्युतीय प्रणालीमार्फत सुविधा दिने तयारी भएको छ । यो विद्युतीय सूचना प्रणालीमा किसान जोडिएपछि रासायनिक मल, बीउ, अनुदान, सेवा व्यवस्थापनलगायत सुविधा उपलब्ध गराउन सहज हुने छ ।

कृषि सूचना तथा प्रशिक्षण केन्द्रले समन्वय गरेको उक्त कार्यक्रममा देशभर स्थानीय तहमार्फत किसानका सूचना सङ्कलन गरिएको हो । विसं २०७७ फागुनमा मन्त्रिस्तरीय बैठकबाट सुरु भएको यस कार्यक्रममा आगामी वर्ष १२ लाख सूचीकृत गर्ने योजना रहेको मन्त्रालयका सूचना अधिकारी जोशीले जानकारी दिनुभयो । 

यसैबीच, उक्त मन्त्रालयले कृषि पशुपक्षी विकाससम्बन्धी सार्वजनिक सेवा प्राप्तिको मुख्य आधार तथा किसान पहिचानको प्रमाणका रूपमा किसान परिचयपत्रलाई मान्यता दिने जनाएको छ । किसानलाई प्राविधिक सेवा प्रवाह गर्न निकट भविष्यमा ‘मोबाइल एप्लिकेसन’को विकास गरिने जनाइएको छ ।

प्रकाशित मितिः बुधबार, ०५ असार २०८१
https://jawaaf.com/storage/01J0QCNP7ZS3ETJ6ES651Q04H6.jpg

प्रहरी जवानद्वारा आत्महत्या

काठमाडौँ, ५ असार I नयाँबानेश्वरस्थित संसद् भवन परिसरमा नेपाल प्रहरीका एक जवानले गोली प्रहार गरेर आत्महत्या गरेका छन् ।     
     
संसद् भवनमा ड्युटीमा खटिएका प्रहरी जवान अजित गोलेको शव आज बिहान ८ बजे शौचालयमा फेला परेको काठमाडौँ प्रहरी प्रमुख वसन्त रजौरेले बताउनुभयो । प्रहरी जवान गोेलेले आफ्नो सेवा राइफलबाट निधारमा गोली प्रहार गरेका उहाँले जानकारी दिनुभयो । घटनासम्बन्धी विस्तृत विवरण प्राप्त हुन बाँकी छ ।     

प्रकाशित मितिः बुधबार, ०५ असार २०८१
https://jawaaf.com/storage/01J0QA3Q8B8MFS1GSCE1ZB400S.jpg

मध्यपहाडी लोकमार्ग खुर्कोट–घुर्मी सडकखण्ड आज बिहानदेखि अवरुद्ध

कमलामाई (सिन्धुली), ५ असार I मध्यपहाडी लोकमार्गअन्तर्गत खुर्कोट–घुर्मी सडकखण्ड आज बिहानदेखि अवरुद्ध भएको छ । पहिरोले गोलञ्जोर गाउँपालिका–६ हैबारबेँसी नजिकको अक्करेभिर, गोलञ्जोर–१ कुडुले, फिक्कल गाउँपालिका–२ सुम्नामबेँसीलगायत क्षेत्रमा सडक अवरुद्ध भएको हो ।     
      
जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक गोविन्दराज काफ्लेका अनुसार खुर्कोटबाट पूर्वतर्फको सडकखण्ड अवरुद्ध हुँदा दर्जनौँ सवारीसाधन तथा यात्री अलपत्र परेका छन् । त्यस्तै गोलञ्जोर–१ कुडुलेमा प्र२–०३–००१ख ७१४४ नम्बरको टेलर पहिरोले पुरिएको छ । सडक अवरुद्ध भएको स्थानमा स्थानीय सरकारका प्रतिनिधि र सुरक्षाकर्मी पुगेका छन् । अवरुद्ध सडक खुलाउने प्रयास जारी छ ।     
 

प्रकाशित मितिः बुधबार, ०५ असार २०८१
https://jawaaf.com/storage/01J0Q5AWEHY66A25AQ2CRT54QK.jpg

भकिम्लीको आलुलाई ‘ब्राण्डिङ’ गरेर बजार पठाइँदै

गलेश्वर (म्याग्दी), ५ असार I म्याग्दीको बेनी नगरपालिका–३ भकिम्लीस्थित बेलढुङ्गा कृषि फार्मले उत्पादन गरेको उन्नत जातका आलुलाई ‘बेलढुङ्गा’ ब्राण्डिङ गरेर बजार पठाइने भएको छ ।   
  
उक्त फार्मले सय रोपनी जग्गामा फलाएको आलु बेलढुङ्गा ब्राण्डमा बजार पठाउने तयारी गरेको फार्मका अध्यक्ष केयरसिङ पुनले बताउनुभयो । ‘बेलढुङ्गा’ म्याग्दीको भकिम्ली र बागलुङको धम्जाको सिमानामा पर्ने प्रसिद्ध पर्यटकीयस्थल हो । पचहत्तर रोपनीमा बर्खे र २५ रोपनीमा उन्नत जातको जनकदेव र रोजिटा जातका आलुखेती गरिएकामा जनकदेव र रोजिटाको उत्पादन प्रशस्त भएको पुनले जानकारी दिनुभयो । स्वदेश तथा विदेशमा रहेका १९ जनाको लगानी रहेको फार्ममा खेतबारीदेखि उपभोक्ताको भान्सासम्म भकिम्लीको आलुको ब्राण्ड स्थापित गर्नेगरी संस्थाको नाम, ठेगाना र परिमाण उल्लेख गरी बजारमा लैजाने तयारी गरेको उहाँले बताउनुभयो ।   
  
फार्ममा आबद्ध आलु उत्पादक समूहले आफ्नोबाहेक स्थानीय किसानद्वारा उत्पादित आलु बजारीकरणमा सघाउने जनाएको छ । समूहले जनकदेव र रोजिटा जातका आलुको आकारअनुसार मूल्य तोकेको छ । सानालाई प्रतिकेजी रु ३५, मध्यमको रु ४० र ठूलो आलु प्रतिकेजी रु ५० मा खुद्रा बिक्री गर्ने समूहले जनाएको छ ।   
  
समुद्र सतहबाट एक हजार छ सयदेखि तीन हजार पाँच सय मिटरको उचाइसम्म रोजिटा आलु प्रतिहेक्टर १० देखि १४ मेट्रिक टन फल्ने भएकाले आलुको बीउ कृषि ज्ञान केन्द्रले सिफारिस गरेको कृषि प्राविधिक सहायक श्यामशरण कर्मीले बताउनुभयो । उन्नत जातका आलुमा रोग, कीराको प्रकोप नहुने र उत्पादन राम्रो हुने भएकाले किसान त्यसप्रति आकर्षित भएका उहाँले बताउनुभयो ।   
  
जिल्लाको मुसुङ, भुकभुके, भकिम्ली क्षेत्र आलु उत्पादनका लागि उपयुक्त भएकाले केन्द्रले समुदायस्तरमा प्रविधियुक्त कृषि उत्पादन प्रवर्द्धन आयोजनाअन्तर्गत किसानलाई आलुखेतीमा लाग्न प्रोत्साहन गरेको उहाँले जानकारी दिनुभयो । गण्डकी प्रदेश कृषि तथा सहकारी मन्त्रालयले म्याग्दीमा आलुको संरक्षण तथा विस्तार र व्यावसायिकताका लागि चालु आवमा रु तीन करोड बजेट विनियोजन गरेको थियो । केन्द्रका अनुसार म्याग्दीमा वार्षिक २५ हजार मेट्रिक टन आलु उत्पादन हुने गरेको छ ।  

प्रकाशित मितिः बुधबार, ०५ असार २०८१
https://jawaaf.com/storage/01J0Q4YT72NGAWWD82QB0Z4C3J.jpg

मेची भन्सारद्वारा १२ अर्ब ९३ करोड बढी राजस्व सङ्कलन

भद्रपुर (झापा), ५ असार I मेची भन्सार कार्यालय काँकडभिट्टाले चालु आर्थिक वर्षको ११ महिनामा १२ अर्ब ९३ करोड १७ लाख ३७ हजार राजस्व सङ्कलन गरेको छ । भन्सार कार्यालयले चालु आब सकिन एक महिना बाँकी हुँदा लक्ष्यको ७७ दशमलव ५७ प्रतिशत राजस्व सङ्कलन गरेको हो ।   
  
मेची भन्सार कार्यालय काँकरभिट्टाका सूचना अधिकारी गणपति कँडेलका अनुसार चालु आवको ११ महिनामा गत आवको सोही अवधिको तुलनामा आयात तीन दशमलव ६१ प्रतिशतले घट्दा निर्यात भने १० दशमलव ७६ प्रतिशतले वृद्धि भएको छ । उहाँका अनुसार काँकडभिट्टा भन्सारबाट ४० अर्ब ७९ करोड ६१ लाख ७२ हजारको मालवस्तु आयात हुँदा २२ अर्ब २१ करोड ९० लाख १० हजारको मालवस्तु निर्यात भएको छ ।   
  
चालु आवको जेठसम्म गत आवको तुलनामा निर्याततर्फ छुर्पी ६५ दशमलव २९ प्रतिशत, प्लाउड ५६ दशमलव ३३ प्रतिशत, अदुवा ३५ दशमलव ४५ प्रतिशत, अम्रिसो ३१ दशमलव ३४ प्रतिशत र भेनियस सिट १२ दशमलव ५७ प्रतिशतले वृद्धि भएको सूचना अधिकारी कँडेलले जानकारी दिनुभयो । अलैँची दुई दशमलव ६१ प्रतिशत र चिया १३ दशमलव ४२ प्रतिशतले निर्यात घटेको उहाँले बताउनुभयो ।   
  
यसैगरी, पेट्रोल, फलामका सामग्री र विद्युतीय उपकरणलगायत आयातमा सामान्य वृद्धि हुँदा डिजेल, हवाई इन्धन, तरकारी, जुट, जिप्सम, कपडा, एलपिजीलयायत सामग्री आयात भने गत आवको ११ महिनाको तुलनामा चालु आवको सोही अवधिमा घटेको छ । काँकरभिट्टा नाकाबाट आयात हुने पेट्रोल, डिजेल, जुट र जुटबाट बनेका सामान, खाना पकाउने ग्यास, सबै प्रकारका तरकारी, जिप्सम, अलकिड रेजिन, सबै प्रकारका कपडा तथा फलफूल (जुससमेत), भेनियस सिटलगायत छन् ।   
  
यो नाकाबाट अलैँची, फलामका पाता, प्लाइउड, चिया, छुर्पी, अम्रिसो, अदुवा, सुठो, धातुका अन्य अवशेष, भेनियस सिट, क्लिङ्करलगायत सामग्री निर्यात हुने गरेका छन् ।  

प्रकाशित मितिः बुधबार, ०५ असार २०८१