कृषि विश्वविद्यालयका एक हजारभन्दा बढी विद्यार्थी दीक्षित
चितवन, ३ असार I कृषि तथा वन विज्ञान विश्वविद्यालयका एक हजार ५९ विद्यार्थी दीक्षित भएका छन् । प्रधानमन्त्री एवं विश्वविद्यालयका कुलपति पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उहाँहरुलाई दीक्षित गर्नुभएको हो ।
कार्यक्रममा प्रमुख अतिथिका रुपमा सिक्किम स्किल विश्वविद्यालयका उपकुलपति प्रा डा अजयकुमार मिश्र उपस्थित हुनुभएको थियो । सो अवसरमा स्नातक तह उत्तीर्ण सात सय ९८ जना दीक्षित हुनुभयो । विश्वविद्यालयका उपकुलपति प्रा डा पुण्यराज रेग्मीका अनुसार कृषि संकायतर्फ पाँच सय ६८, पशु चिकित्सातर्फ ४७, मत्स्य विज्ञानका २६ जना र वन विज्ञानका एक सय ५७ जना विद्यार्थी दीक्षित हुनुभएको हो ।
स्नातकोत्तरतर्फ कृषिका एक सय २३ जना, पशु चिकित्साका ३६, पशु विज्ञानका २० जना, मत्स्य विज्ञानका १३ जना र वन विज्ञानका ६० गरी दुई ५२ विद्यार्थी दीक्षित हुनुभएको छ । विद्यावारिधिमा दीक्षित हुनुभएका नौ जनामध्ये आठ जना कृषि र एक जना विद्यार्थी वन विज्ञानका हुनुहुन्छ ।
विश्वविद्यालयको यो चौथो दीक्षान्त समारोह हो । विसं २०६७ असार ३ गते विश्वविद्यालय स्थापना भएको हो । रेग्मीले स्थापना दिवसका दिन दीक्षान्त समारोह सुरु गरेसँगै अब नियमित दीक्षान्त समारोह हुने विश्वास व्यक्त गर्नुभयो । सो अवसरमा साहित्यिक कार्यक्रम, रक्तदान, वृक्षारोपण पनि गरिएको थियो । विश्वविद्यालयमा यही असार ४ र ५ गते अन्तर्राष्ट्रिय सम्मेलन पनि आयोजना हुँदैछ ।
कोशी प्रदेशमा चट्याङबाट एक दशकमा दुई सय ५४ को मृत्यु
झापा, ३ असार I कोशी प्रदेशमा विगत दश वर्षमा चट्याङ लागेर दुई सय ५४ जनाले ज्यान गुमाएका छन् । मनसुनी वर्षाको अवधिभर प्रदेशमा चट्याङले त्रास सृजना गर्दै आएको छ कोशी प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयका उपसचिव कमल थापाका अनुसार विसं २०७० देखि २०८० सम्मको एक दशकका मनसुनजन्य विपद्को विश्लेषण गर्दा सबैभन्दा बढी मानवीय क्षति चट्याङबाट सृजना भएको छ ।
उक्त अवधिमा कोशी प्रदेशमा चट्याङका छ सय ९८ घटना भएका थिए । त्यसमा दुई सय ५४ जनाको मृत्यु र पाँच सय ८७ जना घाइते भएको उहाँले जानकारी दिनुभयो । प्रदेशभर एक दशकमा सात सय ५७ परिवार चट्याङबाट प्रभावित भएका थिए ।
उपसचिव थापाका अनुसार एक दशकमा चट्याङबाट रु तीन करोड ९५ लाख ५८ हजार पाँच सय बराबरको भौतिक सम्पत्तिको क्षति भएको छ । खेतमा कृषिको काम गरिरहेका किसान चट्याङको सिकार बन्ने गरेका छन् ।
कोशी प्रदेशमा एक दशक अवधिमा मनसुनजन्य विपद्का दुई हजार ६० घटना भएको ‘मनसुन पूर्वतयारी तथा प्रतिकार्य कार्ययोजना २०८१’ मा उल्लेख छ । यस अवधिमा मनसुनजन्य विपद्बाट पाँच सय ८३ मानिसको मृत्यु, एक सय २० बेपत्ता र सात सय ४९ जना घाइते भएका थिएभने १८ हजार सात सय २८ परिवार प्रभावित भएका थिए ।
मनसुनजन्य विपद्मध्ये बाढीका चार सय ६४ घटनामा एक सय ३२ जनाले ज्यान गुमाएका थिएभने ८२ बेपत्ता र २५ जना घाइते भएका थिए । पहिरोबाट सोही अवधिमा छ सय ७२ घटना भएका थिए । त्यसमा एक सय ९२ जनाले ज्यान गुमाउनु परेको थियोभने ३८ जना बेपत्ता र एक सय १९ जना घाइते भएका थिए ।
एक दशकको मनसुनजन्य विपद्बार भएको मानवीय क्षतिको विश्लेषण गर्दा लगभग आधा जति मानवीय तथा भौतिक क्षति चट्याङबाटै हुने गरेको छ । विपद्विज्ञ यशप्रसाद सुब्बाले विश्वको चट्याङ पर्ने पाँच ‘हटस्पट’मा नेपाल पनि पर्ने बताउनुभयो । जलवायु परिवर्तन र भौगोलिक स्थितिका कारण नेपालमा चट्याङको प्रकोप हुने गरेको छ ।
“प्रभावकारी अर्थिङको व्यवस्था नहुनु र सचेतनाको कमीका कारण चट्याङबाट बढी क्षति भइरहेको छ”, सुब्बा भन्नुहुन्छ । चट्याङ प्राकृतिक प्रकोप भए पनि यसबाट हुने क्षति न्यूनीकरणका उपाय भए पनि मानवीय लापर्वाहीले बढी क्षति हुने गरेको विज्ञहरु बताउँछन् ।
नेपालमा खेतमा काम गरिरहेका किसान चट्याङको निशानामा पर्ने गरेका छन् । मानिस र पशु चौपायाको बढी सङ्ख्यामा मृत्यु भइरहेको छ । चट्याङबाट विद्युतीय उपकरणमा समेत ठूलो आँकडामा हुने क्षति हुने गरेको छ ।
कोशी प्रदेशमा यस वर्ष एक लाख १३ हजार तीन सय ५३ घरधुरी मनसुनजन्य विपद्बाट प्रभावित हुने अनुमान गरिएको छ । त्यसमध्ये ३७ हजार आठ सय घरधुरी अझ बढी प्रभावित हुनसक्ने अनुमान गरिएको ‘मनसुन पूर्वतयारी तथा प्रतिकार्य कार्ययोजना २०८१’ मा उल्लेख छ ।
बकर-इदको अवसरमा जसपा अध्यक्ष राईद्धारा शुभकामना व्यक्त
काठमाडौँ, ३ असार । जनता समाजवादी पार्टीका अध्यक्ष एवं पूर्वमन्त्री मा. अशोक राईले इस्लाम धर्मालम्बीको महान पर्व ईद–उल–अजहा (बकर–ईद) को अवसरमा शुभकामना व्यक्त गर्नुभएको छ ।
अध्यक्ष राईले इस्लाम धर्मावलम्वीहरुले मनाउने त्याग र बलिदानको महान पर्व ईद–उल–अजहा (बकर–ईद) २०८१ को पावन अवसरमा स्वदेश र विदेशमा बस्ने सबै इस्लाम धर्मावलम्बी दाजुभाई तथा दिदीबहिनीहरूमा यस पर्वको उपलक्ष्यमा सुख, शान्ति, समृद्धि तथा उत्तरोत्तर प्रगतिको कामना गर्दै ईद–उल–अजाह (बकर–ईद) मुबारक रहोस भन्ने शुभकामना व्यक्त गर्नुभएको छ ।
साथै यस पर्वले मुलुकमा शान्ति, सद्भाव र समृद्धि ल्याउन सबैलाई प्रेरणा दिने विश्वास व्यक्त गर्नुभएको छ । उहाँले ईद–उल–अजहा (बकर–ईद) ले सम्पूर्ण जातजाति तथा धर्मावलम्बीमा एकताको सन्देश दिन सफल हुनेछ भन्ने विश्वास व्यक्त गर्नुभएको छ ।
धाप्लाङघाटमा निर्माणाधीन पक्की पुलको खम्बा बाङ्गियो
खोटाङ, ३ असार I खोटाङ र उदयपुर जोड्ने सुनकोशीस्थित धाप्लाङघाटमा निर्माणाधीन पक्की पुलको खम्बा (पिल्लर) बाङ्गिएको छ । खोटाङको बराहपोखरी गाउँपालिका–२ सुन्तले र उदयपुरको त्रियुगा नगरपालिका–१४ साउने जोड्ने धाप्लाङघाट पुलको खोटाङतर्फको खम्बा नदीतर्फ ढल्किएको हो ।
वर्षा सुरु नहुँदै नदीको पानीले जग्गा कटान गरेपछि खम्बा बाङ्गिँदै गएको प्रत्यक्षदर्शीले बताएका छन् । निर्माण कम्पनी रसुवा एसएनएस पप्पु जेभीले ठेक्का लिएको पुल तत्कालीन प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले २०७४ साल भदौ ३१ गते शिलान्यास गर्नुभएको थियो ।
विसं २०७६ मै बनिसक्नुपर्ने पुलको २०८० साल फागुन २८ गतेदेखि ‘पाइल’ फाउन्डेसनको काम भइरहेको छ । त्यही ‘पाइल’ फाउन्डेसन बनाउने क्रममा खोटाङतर्फ फर्काइएको पानीले कटान गर्दा खम्बा बाङ्गिएको बराहपोखरी गाउँपालिका प्रमुख शालिकराम बञ्जाराले बताउनुभयो ।
धाप्लाङघाटका स्थानीय दीर्घ मगरका अनुसार खम्बाको माथिल्लो भाग फाट्दै गएको र नदीतिर ढल्किँदै गएको छ, तर सडक विभाग पुल सेक्टर धरान, सुनसरीका योजना प्रमुख इन्जिनियर दारोगा प्रसादले भने पुलको खम्बा बाङ्गिएको विषयमा जानकारी नभएको जवाफ दिनुभयो । सुरुमा यहाँ ‘वेल’ फाउन्डेसन प्रविधिको पुल बनाउने ठेक्का खुलाइएको थियो । शिलान्यास गरेको सात वर्षपछि गत वर्ष ‘पाइल’ फाउन्डेसन प्रविधिको पुल बनाउने गरी डिजाइन परिवर्तन गरिएको हो ।
रसुवा एसएनएस पप्पु जेभीले विसं २०७६ असार–२९ गतेभित्र सम्पन्न गर्नेगरी विसं २०७३ असार ३० गते धाप्लाङघाटमा दुई सय मिटर लम्बाइको पक्की पुल निर्माणको सम्झौता गरेको थियो । म्याद नाघेको पाँच वर्ष बित्दा ठेकेदारले खम्बाको काम पूरा गरेको छैन । खोटाङ र उदयपुरतर्फ वर्षौंअघि सडक बनिसकेको भए पनि धाप्लाङघाटमा पक्की पुल निर्माण नहुँदा झोलुङ्गे पुलको प्रयोग हुँदै आएको छ ।
निर्माणाधीन पक्की पुलको खम्बा बाङ्गिएपछि गुणस्तरमासमेत प्रश्न उठेको छ । धाप्लाङघाटमा पक्की पुल नहुँदा सबैभन्दा बढी कृषि उपज लोडअनलोड गर्दा किसानले व्ययभार खेपिरहेका छन् । भोजपुरको आमचोक गाउँपालिका र उदयपुरको रानीटार जोड्ने पुलका साथै धाप्लाङघाटको गरी दुईवटा पुल रु ५० करोड १४ लाख ६० हजार लागतमा सम्पन्न गर्नेगरी रसुवा एसएनएस पप्पुले एउटै ठेक्कामार्फत जिम्मा लिएको थियो । एकै दिन शिलान्यास गरिएका रानीटार पुलको प्रगति पनि निराशाजनक रहेको स्थानीयबासीले बताएका छन् ।
भारतमा रेल दुर्घटनामा परी पाँच जनाको मृत्यु
नयाँदिल्ली, ३ असार I भारतको पूर्वी राज्य पश्चिम बङ्गालमा सोमबार मालबहाक रेल र यात्रु बाहक रेल आपसमा ठोक्किँदा कम्तीमा पाँच जनाको मृत्यु हुनुका साथै २५ जनाभन्दा बढी घाइते भएको उत्तरपूर्वी रेल सेवा, नर्थइस्ट फ्रन्टियर रेलवे (एनएफआर) का अधिकारीले बताएका छन् ।
दार्जिलिङ जिल्लाको फान्सिडेवा क्षेत्रको रङ्गापानी रेलवे स्टेसन नजिकै स्थानीय समय अनुसार बिहान करिब नौ बजे मालबहाक रेल ‘कञ्चनजङ्घा एक्सप्रेस’ यात्रुबाहक रेलसँग ठोक्किँदा दुर्घटना भएको प्रहरीले जनाएको छ । पश्चिम बङ्गालकी मुख्यमन्त्री ममता बनर्जीले सामाजिक सञ्जाल एक्समा दार्जिलिङ जिल्लाको फान्सिडेवा क्षेत्रमा भएको रेल दुर्घटनाबाट उहाँ स्तब्ध भएको उल्लेख गर्नुभएको छ । जिल्ला मजिस्ट्रेट, प्रहरी अधिक्षक, चिकित्सक, एम्बुलेन्स र विपद् टोलीलाई उद्धार र चिकित्सकीय सहायताका लागि घटनास्थलमा खटाइएको छ ।घटनाको अनुसन्धान भइरहेकोले थप विवरण अनुसन्धानपछि आउने प्रहरीले बताएको छ ।-रासस/एएफपी
छ किलो सुनसहित एक चिनियाँ मूलका नागरिक पक्राउ
काठमाडौँ, ३ असार I नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआबी) ले छ किलो सुनसहित एक चिनियाँ मूलका नागरिकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा ३७ वर्षीय चिनियाँ मूलका नागरिक सोनाम गुरुङ रहेका केन्द्रीय अनुसन्धान ब्यूरो (सिआबी) का प्रवक्ता एवं प्रहरी उपरीक्षक होसवन्द्र बोगटीले जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो, “काठमाडौँबाट छ किलो सुनसहित सोनाम गुरुङ भन्ने चिनियाँ मूलका नागरिकलाई पक्राउ गरिएको छ, यस विषयमा थप अनुसन्धान भइरहेको छ ।” पक्राउ परेका गुरुङको घरबाट प्रहरीले रु ४८ लाख नगद पनि बरामद गरेको सिआइबी ले जनाएको छ ।
अत्यावश्यक पेट्रोलियम ढुवानीमा हडताल
काठमाडौँ, ३ असार I नेपाल पेट्रोलियम ट्याङ्कर चालक सङ्घले विभिन्न सात बुँदे माग राख्दै अत्यावश्यक पेट्रोलियम पदार्थको ढुवानीमा हडताल गरेपछि उपत्यकाका पेट्रोलपम्पहरुमा सवारी साधनको चर्को लाइन देखिएको छ । सोमबारदेखि पेट्रोलियम पदार्थको ढुवानी रोकिएपछि अभाव सिर्जना भएको हो ।
आवश्यक सेवा सञ्चालन ऐन, २०१४ तथा आवश्यक पदार्थ नियन्त्रण (अधिकार) ऐन, २०१७ ले पेट्रोलियम पदार्थलाई अत्यावश्यक सेवाभित्र राखेको छ भने यी सेवामा बन्द तथा हडताल गर्न बर्जित छ । ट्याङ्कर चालक सङ्घमा आवद्ध चालकहरुले भने विद्यमान कानुनी व्यवस्थाको उल्लङ्घन गर्दै आन्दोलनमा उत्रिएका हुन् ।
नेपाल पेट्रोलियम ट्याङ्कर चालक सङ्घको आह्वानमा पेट्रोलियम पदार्थ ढुवानी गर्ने चालक तथा सहचालक आन्दोलिन भएपछि आज उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा छलफलका लागि बोलाइएको नेपाल आयल निगमका कार्यकारी निर्देशक डा चण्डिकाप्रसाद भट्टले जानकारी दिनुभयो । “आन्दोलनरत पक्षसँग छलफल थालेका छौँ । आज बेलुकासम्ममा केही निष्कर्ष आउला”, उहाँले भन्नुभयो ।
आयल निगममा लामो समयदेखि ट्याङ्कर चालक मजदुरहरु आवश्यक सेवा सुविधाबिना नै काम गर्न बाध्य रहेको र यो समस्या समाधानका लागि लामो समयदेखि अनुरोध गर्दा पनि सुनुवाइ नभएपछि आन्दोलित हुनुपरेको पेट्रोलियम ट्याङ्कर चालक सङ्घले जनाएको छ ।
सम्पूर्ण ट्याङ्कर चालक÷सहचालक मजदुरको श्रम ऐन अनुसार नियुक्तिपत्र दिई नेपाल सरकारले तोके अनुसारको तलबको व्यवस्था गरिनुपर्ने, स्वरोजगारको हकमा मात्र लागू गरिएको दोब्बर बैंक ग्यारेण्टी र वार्षिक नवीकरण खारेज गरिनुपर्ने, सामाजिक सुरक्षा कोषमा आवद्धताको व्यवस्था गरिनु पर्नेलगायत माग सङ्घले राखेको छ ।
त्यस्तै, ‘टेम्प्रेचर’को सही व्यवस्थापन गरिनुपर्ने, ५० लिटरभन्दा बढी नाममा परेको दोब्बर प्रकरण खारेज गरिनुपर्ने, चालक तथा सहचालकलाई जोखिम भत्ताको व्यवस्थापन गरिनुपर्ने र प्रत्येक तीन महिनामा सुरक्षा सतर्कतासम्बन्धी तालिमको व्यवस्था गरिनुपर्ने माग सङ्घको छ ।
सङ्घले गत जेठ २९ गते आफ्ना माग सम्बोधनका लागि आयल निगमलाई पत्र पठाएको थियो । साथै सात बुँदे माग पूरा नभए जेठ ३२ गते कालोपट्टी बाँधेर विरोध गर्ने, असार १ गते गाडीमा कालो झण्डा राखेर विरोध गर्ने र असार २ गते पूर्णरुपमा काम छोडेर गाडीको साँचो ट्याङ्कर धनीलाई हस्तान्तरण गर्ने गरी विरोधका कार्यक्रम घोषणा गरेको थियो ।
प्रतितोला छ सयले घट्यो सुनको मूल्य
काठमाडौँ, ३ असार I बजारमा पहेँलो धातुको मूल्य आज तोलामा रु छ सयले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार, छापावाला सुन आज प्रतितोला रु एक लाख ४२ हजार दुई सय निर्धारण भएको छ । आइतबार छापावाला सुन प्रतितोला रु एक लाख ४२ हजार आठ सयमा कारोबार भएको थियो । यस्तै, तेजाबी सुन आइतबार प्रतितोला रु एक लाख ४२ हजार एक सयमा कारोबार भएकामा आजका लागि रु एक लाख ४१ हजार पाँच सय निर्धारण भएको छ ।
त्यस्तै, चाँदी आज प्रतितोला रु एक हजार आठ सय निर्धारण भएको छ । आइतबार चाँदी प्रतितोला रु एक हजार आठ सय २० मा कारोबार भएको थियो ।
ताप्लेजुङका २५ घर परिवार बाढी पहिरोबाट विस्थापित
ताप्लेजुङ, ३ असार I यहाँका विभिन्न गाउँका २५ घर परिवार बाढी पहिरोका कारण विस्थापित भएका छन् । बाढी पहिरोका कारण उच्च जोखिममा रहेका १३ र जोखिममा रहेका १२ गरी २५ घर परिवार विस्थापित भएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।
सिरिजङ्घा गाउँपालिका–६ मामांखेका पाँच घर उच्च जोखिममा रहेका छन् । तीमध्ये चार परिवारलाई लक्ष्मी माध्यमिक विद्यालयमा राखिएको छ भने एक परिवार छिमेकीकामा आश्रय लिएर बसेको छ ।
यस्तै सिदिङ्वा गाउँपालिका–४ साब्लाखुका आठ घर उच्च जोखिममा रहेका छन् । उक्त आठ घरमध्ये सात घरका परिवारलाई सिंहेश्वरी आधारभूत विद्यालयमा स्थानान्तरण गरिएको छ । एउटा परिवार छिमेकीकामा आश्रय लिएर बसेको जनाइएको छ ।
यस्तै जोखिममा रहेका मिक्वाखोला गाउँपालिका–५ का चार र फुङलिङ नगरपालिका–१० का छ परिवारसमेत अन्यत्र सरेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । बाढी पहिरोका कारण एउटा माइक्रो हाइड्रो र क्रसर उद्योग जोखिममा रहेका छन् ।
बाढीपहिरोले चार घर बगाएको छ भने पाँच जनाको निधन भएको छ । जेठ ३१ गते राति पहिरोले घर बगाउँदा फक्ताङ्लुङ गाउँपालिकास्थित खेजेनिमका एकै परिवारका चार जनाको निधन भएको थियो भने सोही ठाउँकै दुई जना घाइते भएका थिए । फक्ताङ्लुङकै विभिन्न खोलाका चार पुलसमेत बाढीले बगाएको थियो ।
यता मिक्वाखोला–३ मा रहेको एउटा माइक्रो हाइड्रोपावरमा समेत क्षति पुगेको छ । हाइड्रोको पाइप पहिरोले बगाएर विद्युत् अवरुद्ध हुँदा स्थानीय अन्धकारमा छन् । मनसुन सुरु भएदेखि नै भारी वर्षा भई जिल्लाका अधिकांश क्षेत्रमा बाढी र पहिरो जाँदा अलैँचीसहितका बालीमा ठूलो क्षति पुगेको स्थानीयले बताएका छन् ।
नौ स्थानीय तह रहेको जिल्लाका ६१ वडामध्ये ४१ वडा बाढी पहिरोको उच्च जोखिममा रहेका छन् भने १८ मध्यम र दुई न्यून जोखिममा रहेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । सबैभन्दा बढी फक्ताङ्लुङका सात वटै वडा उच्च जोखिममा रहेका छन् ।
बाढी पहिरोले खानेपानीसहित विभिन्न जलविद्युत् आयोजनामा क्षति पुग्दा कतिपय ठाउँका नागरिक खानेपानी र विद्युत्को अभावमा परेका छन् । यता सिरिजङ्घा गाउँपालिका र फक्ताङलुङ गाउँपालिकाका विभिन्न ठाउँमा सडकसमेत पहिरोका कारण अवरुद्ध बनेका छन् । बाढी र पहिरोले पुगेको थप क्षतिको विवरण सङ्कलन भइरहेको जनाइएको छ ।
श्रीलङ्कासँग नेदरल्यान्ड्स पराजित
आइसिसी टि ट्वान्टी विश्वकप क्रिकेट प्रतियोगिताअन्तर्गत आज भएको समूह ‘डी’ को अन्तिम खेलमा श्रीलङ्का नेरदल्यान्ड्सलाई पराजित गर्दै विजयी भएको छ । सेन्ट लुसियास्थित डारेन शामी राष्ट्रिय क्रिकेट मैदानमा भर्खरै सम्पन्न समूह चरणको आफ्नो अन्तिम खेलमा श्रीङ्लका ८३ रनले विजयी भएको हो । जितसँगै समूह ‘डी’ को श्रीलङ्काले चार खेलमा तीन अङ्क जोड्यो । पराजित नेदरल्यान्ड्सको भने समान खेलबाट दुई अङ्क नै छ । यस समूहबाट दक्षिण अफ्रिका र बङ्गलादेश विश्वकपको सुपर आठमा पुगिसकेका छन् ।
श्रीलङ्काले प्रस्तुत गरेको दुई सय दुई रनको विजयी लक्ष्य पछ्याएको नेदरल्यान्ड्स १६ दशमलव चार ओभरमा सबै विकेट गुमाउँदै एक सय १८ रनमा समेटियो । उसका लागि माइकल लेभिट र कप्तान स्कट एड्वार्डसले समान ३१-३१ रन जोडे । त्यस्तै म्याक्स ओडोउड र साइब्रान्ड एन्जलब्रेख्तले समान ११-११ रन बनाए । आर्यन दत्तले १० रन जोडे ।
श्रीलङ्काका लागि नुवान तुसाराले तीन विकेट लिए भने कप्तान वानिन्दु हसरंगा र मथिशा पथिरानाले समान दुई–दुई विकेट लिए । त्यस्तै महेश तिक्क्षणा र डुसान सनाकाले समान एक एक विकेट लिए ।
त्यसअघि टस हारेर पहिला ब्याटिङको निम्तो पाएको श्रीङ्लकाले निर्धारित २० ओभरमा छ विकेट गुमाउँदै दुई सय एक रनको योफफल बनाएको थियो । श्रीलङ्काका लागि कुशल मेन्डिस र चरिथ अस्लंकाले समान ४६-४६ रनको योगदान दिए ।
त्यसैगरी धनन्नजय डी सिल्भाले ३४ रन बनाए भने एन्जेलो म्याथ्युजले अविजित ३०, वानिन्दु हसरंगाले अविजित २० तथा कामिन्दु मेन्डिसले १७ रन बनाए । नेदरल्यान्ड्सका लागि लोगन भान विकले दुई विकेट लिए भने भिभियन किंगमा, आर्यन दत्त, पउल भान मिक्रेन र टिम प्रिन्गेलले समान एक–एक विकेट लिए ।