कोशी प्रदेशका केही स्थानमा भारी वर्षाको चेतावनी
काठमाडौँ, ५ असार I हाल देशका पूर्वी भू–भागमा मनसुनी प्रणालीको प्रभाव रहेको तथा बाँकी भू–भागमा स्थानीय वायु तथा भारतको विहार आसपास रहेको न्यून चापीय क्षेत्रको आंशिक प्रभाव रहेको छ ।
जल तथा मौसम विज्ञान विभागका अनुसार कोशी र मधेश प्रदेशमा पूर्णतया बदली, बाग्मती र गण्डकी प्रदेशमा साधारणतया देखि पूर्णतया बदली तथा बाँकी भू–भागमा आंशिक बदली देखि मुख्यतया सफा रहेको छ । कोशी, बागमती र कर्णाली प्रदेशका केही तथा गण्डकी र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा मेघ गर्जनसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।
आज दिउँसो कोशी प्रदेश, मधेस प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने छ । कोशी, बागमती र गण्डकी प्रदेशका केही तथा मधेस प्रदेशलगायत बाँकी भू–भागका एक–दुई स्थानमा मेघगर्जनसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । साथै कोशी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ ।
त्यसैगरी आज राति कोशी, मधेस, बागमती र गण्डकी प्रदेशमा साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने छ । कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका केही स्थान तथा बाँकी भू–भागका एक–दुई स्थानमा मेघ गर्जनसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । साथै कोशी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना छ ।
आगामी २४ घण्टामा कोशी, मधस, बागमती र गण्डकी प्रदेशका केही स्थान तथा बाँकी भू–भागका एक–दुई स्थानमा मेघ गर्जनसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जनाउँदै विभागले अहिले ६ः०० बजे जारी गरेको बुलेटिनमा कोशी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको बताएको छ ।
विभागले ती क्षेत्रमा हुन सक्ने गेग्रान बहाव, बाढी, पहिरो तथा भू–क्षयको जोखिम वा क्षतिबाट बच्न तथा भारी वर्षाबाट ती क्षेत्रमा दैनिक जनजीवनलगायत कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा आंशिक असर पर्ने सम्भावना रहेकाले सतर्कता अपनाउन अनुरोध गरेको छ I
गण्डकी प्रदेशस्तरीय क्रिकेट : नवलपुरको दोस्रो जित
कास्की, ४ असार I पोखरा रङ्गशालामा जारी गण्डकी प्रदेशस्तरीय टी–२० पुरुष क्रिकेट प्रतियोगिताअन्तर्गत आजको खेलमा नवलपुर विजयी भएको छ । नवलपुरले गोरखालाई एक सय २५ रनले पराजित गरेको हो ।
नवलपुरले लगातार दुवै खेल जित्दै कुल चार अङ्कका साथ समूहमा पहिलो स्थान बनाएको छ । नवलपुरले सोमबार पर्वतमाथि जित हासिल गरेको थियो । स्याङजा एक जित र एक खेलमा बराबरी गरी तीन अङ्कका साथ दोस्रो स्थानमा छ । अङ्क तालिकामा पर्वतले एक अङ्क जोडेको छ भने गोरखा अङ्कविहीन छ । आजको पहिलो खेल भारी वर्षाका कारण रद्द भएसँगै बलियो मानिएको स्याङजाले पर्वतसँग अङ्क बाड्न बाध्य भयो ।
नवलपुरले गोरखासँगको खेलमा टस जितेर ब्याटिङ सुरुवात गरेकामा निर्धारित ओभरमा छ विकेट गुमाउँदै एक सय ७८ रन बनायो । जसमा ओपनर प्रमिश अर्यालले ६० बलमा १० चौका र ३ छक्का प्रहार गर्दै ८० रन बनाए । सुदीप अर्यालले १५ बलमा तीन छक्का प्रहार गर्दै २७ रनको व्यक्तिगत योगदान दिए । यसै गरी रिजन काफ्लेले १४ बलमा २१ रन, दीपक डुम्रेले १० र कमल परियारले १२ रन बनाए ।
गोरखाका बलर मेहुल श्रेष्ठले चार ओभरमा ५३ रन दिएर तीन विकेट लिए । प्रशिद्ध बज्रचार्यले दुई विकेट हात पार्दा सुनिल गुरुङले एक विकेट लिए । जितका लागि एक सय ७९ रनको लक्ष्यसहित मैदानमा उत्रिएको गोरखाले भने १५ ओभरको तेस्रो बलमा सबै विकेट गुमाउँदै ५३ रन मात्र जोड्न सक्यो । गोरखाका लागि मेहुल श्रेष्ठले सर्वाधिक १२ रनको योगदान दिए भने गौरव पौडेलले ११ र पङ्कज पाण्डेले १० रन बाहेक अन्य खेलाडीले दोहोरो अङ्कको रन लिन सकेनन् ।
गोरखालाई सस्तैमा समेट्न पवन सापकोटा र कमल परियारले तीन÷तीन विकेट लिए । स्वीकार श्रेष्ठले दुई र सुदीप अर्यालले एक विकेट हात पारे । खेलमा प्रमिश अर्याल ‘खेलको प्लेयर अफ दि म्याच’ घोषित भए ।
प्रतियोगिताअन्तर्गत बुधबारको खेलले फाइनल पुग्ने टोलीको टुङ्गो लाग्ने छ । समूह ‘बी’ को पहिलो खेलमा नवलपुर र स्याङ्जाले फाइनलमा पुग्न प्रतिस्पर्धा गर्नेछन् भने पर्वत र गोरखा प्रतिष्ठाको लागि भिड्नेछन् । घरेलु टोली कास्की समूह ‘ए’ को विजेता बन्दै फाइनलमा पुगिसकेको छ ।
प्रदेश खेलकुुद परिषद्को आयोजना तथा प्रादेशिक क्रिकेट सङ्घको व्यवस्थापनमा यही जेठ ३२ गतेदेखी प्रतियोगिता सञ्चालन भएको हो । प्रतियोगिताबाट आसन्न दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि प्रारम्भिक टोली छनोट गरिने प्रादेशिक क्रिकेट सङ्घका अध्यक्ष सञ्जयकान्त सिग्देलले जानकारी दिनुभयो ।
प्रतियोगितामा विजेता टिमले नगद पुरस्कार रु एक लाख र उपविजेता टिमलाई नगद रु ५० हजारका साथमा ट्रफी, मेडल तथा प्रमाणपत्र पाउनेछन् । प्रतियोगितामा आठ जिल्लाको सहभागिता रहेको छ ।
गर्मीले बेहोस भएका एक व्यक्तिको मृत्यु
सुदूरपश्चिम, ४ असार I अत्यधिक गर्मीपछि बेहोस भएका धनगढी उपमहानगरपालिका–१६ का ५३ वर्षीय बलराम मग्राठीको आज अस्पतालमा उपचारको क्रममा मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता कविन्द्रसिंह बोहराले अत्यधिक गर्मीका कारण बेहोस भएका ५३ वर्षीय मग्राठीको सेती प्रदेशिक अस्पतालमा उपचारका क्रममा निधन भएको जानकारी दिनुभयो ।
गङ्गादशहरा पर्वको अवसरमा यही असार २ गतेदेखि धनगढीको बेहडाबाबा धाममा लागेको मेलामा सञ्चालित होटेलको स्टलमा काम गरिरहेका मग्राठी गर्मीले बेहोस भएका थिए । उपचारका लागि सेती प्रादेशिक अस्पतालमा भर्ना गरिएकामा चिकित्सकले मृत घोषणा गरेको प्रवक्ता बोहराले जानकारी दिनुभयो ।
गर्मी बढेपछि धनगढी उपमहानगरपालिका क्षेत्रका विद्यालयमा आजबाट थप तीन दिन बिदा दिइएको छ । धनगढी उपमहानगरपालिकाले आज सार्वजनिक गरेको सूचनामा गर्मीले विद्यार्थीको स्वास्थ्यमा पर्न सक्ने असरलाई मध्यनजर गरी असार ७ गतेसम्मका लागि बिदा दिइएको उल्लेख छ । गर्मी बढेपछि यसअघि गत जेठ महिनामा पनि केही दिन विद्यालयमा बिदा दिइएको थियो ।
पश्चिम तराईका कैलालीसहितका जिल्लामा पहिलोपटक लगातार अत्यधिक गर्मीको महसुस भएको स्थानीयवासीले बताएका छन् । “विगत वर्षहरूमा यति धेरै समयसम्म चर्को गर्मीको महसुस भएको थिएन”, स्थानीय राजेश भट्टले भन्नुभयो, “तराई क्षेत्रमा बर्सेनि गर्मी बढ्दै जाँदा तराईको बसाइँ असहज हुन थालेको छ ।” झण्डै एक महिनादेखि धनगढीको तापक्रम निरन्तर उकालो लागिरहेको छ ।
“यो वर्ष गएको जेठ १७ गते धनगढीमा यो वर्षकै सबैभन्दा बढी अधिकतम तापक्रम ४४ दशमलव एक डिग्री सेल्सियस मापन भएको थियो”, अत्तरियास्थित जल तथा मौसम विज्ञान विभागको महाकाली बेसिन फिल्ड कार्यालयका प्रमुख सञ्जय साहले भन्नुभयो, “गर्मी बढ्दै जाँदा अधिकतम् तापक्रम र न्यूनतम तापक्रमको अन्तर घट्दै गएको छ ।” अधिकतम तापक्रम र न्यूनतम तापक्रमको अन्तर घट्दै जाँदा गर्मी बढी महसुस हुने गरेको साहले बताउनुभयो ।
आज धनगढीको अधिकतम तापक्रम ४३ दशमलव एक डिग्री सेल्सियस मापन भएको छ । गर्मी बढ्दै जाँदा रोपाइँका लागि खेतमा राखिएका धानका ब्याड (बीउ) सुक्न लागेको किसानले बताएका छन् ।
गर्मी बढेसँगै धनगढीसहितका बजारमा चहलपहल घटेको छ ।
बराहपोखरी पूर्ण खोप सुनिश्चितता गाउँपालिका
खोटाङ, ४ असार I बराहपोखरी गाउँपालिकालाई पूर्ण खोप सुनिश्चितता गाउँपालिका घोषणा गरिएको छ । नेपाल सरकारले निःशुल्क उपलब्ध गराउँदै आएको १३ वटा रोगविरुद्धको खोप गाउँपालिकाभित्रका सबै बालबालिकाले पाएको सुनिश्चित भएपछि आज औपचारिकरुपमा पूर्ण खोप सुनिश्चितता गाउँपालिका घोषणा गरिएको हो ।
गाउँपालिकाभित्रका १६ महिनादेखि ५९ महिना उमेर समूहका पाँच सय ५७ जना बालबालिकालाई नेपाल सरकारबाट निःशुल्क प्राप्त हुने सबै प्रकारका खोप पाएसँगै पूर्ण खोप सुनिश्चितता पालिका घोषणा गरिएको गाउँपालिका प्रमुख शालिकराम बञ्जराले जानकारी दिनुभयो ।
जिल्ला खोप समन्वय समिति खोटाङले परीक्षण गर्दासमेत गाउँपालिकाका सबै बालबालिकाले पूर्ण खोप पाएको सुनिश्चित भएको जनाएको छ । गाउँपालिकाको स्वास्थ्य शाखाले आयोजना गरेको कार्यक्रममा जिल्ला खोप समन्वय समिति खोटाङका संयोजक एवं जिल्ला समन्वय समिति खोटाङका प्रमुख सनबहादुर राईले उक्त गाउँपालिकालाई पूर्ण खोप सुनिश्चितता घोषणा गर्नुभएको हो ।
यसअघि साकेला गाउँपालिका, हलेसी तुवाचुङ तथा दिक्तेल रुपाकोट मझुवागगढी नगरपालिका, केपिलासगढी, ऐसेलुखर्क, खोटेहाङ र रावाबेँसी गाउँपालिका पूर्ण खोप सुनिश्चितता घोषणा भइसकेका छन् ।
नेपाल सरकारको राष्ट्रिय कार्यक्रमअन्तर्गत खोटाङ जिल्लालाई आगामी असार १० गतेभित्र पूर्ण खोप सुनिश्चितता जिल्ला घोषणा गर्ने तयारी गरिएको छ । दुई नगरपालिका र आठ गाउँपालिका रहेको जिल्लामा नियमित खोप लगाउने १२ हजार बालबालिका रहेको स्वास्थ्य कार्यालय खोटाङले जनाएको छ ।
सरकारले जन्मेदेखि दुई वर्षभित्र हरेक बालबालिकाले बिसिजी, दादुरा–रुबेला, पोलियो, जापनिज इन्सेफइटिस लगायतका १३ रोगविरुद्धको खोप निःशुल्क उपलब्ध गराउँदै आएको छ । जन्मेदेखि दुई वर्षभित्रका ९५ प्रतिशत बालबालिकाले सबै प्रकारका खोप पाएको खण्डमा सरकारले पूर्ण खोप सुनिश्तिता घोषणा गर्ने गरेको छ ।
काठमाडौँमा ‘शिक्षा मेला–२०८१’ हुने
काठमाडौँ, ४ असार I काठमाडौँको उत्तरी भेगमा सञ्चालित विद्यालयको शैक्षिक विकासका लागि ‘शिक्षा मेला–२०८१’ हुने भएको छ ।
उच्च माध्यामिक विद्यालय सङ्घ नेपाल (हिसान), निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) र राष्ट्रिय निजी तथा आवासिय विद्यालय एसोसिएसन (एनप्याब्सन) को आयोजना तथा स्काइ भिजन फाउण्डेसनको संयोजनमा यही असार ७ गते शुक्रबार मेला आयोजना हुन लागेको हो ।
स्काइ भिजन फाउण्डेशनले आज यहाँ पत्रकार सम्मेलन गरी माध्यमिक शिक्षा परीक्षा (एसइई) दिएर बसेका विद्यार्थीलाई लक्षित गरी मेला आयोजना गर्न लागिएको जनाएको छ । पत्रकार सम्मेलनमा फाउण्डेशनका सञ्चालक सुनिल भट्टराईले उत्तरी क्षेत्रमा सञ्चालित विद्यार्थीको शैक्षिक उन्नयनका लागि मेला आयोजना गर्न लागिएको जानकारी दिनुभयो ।
मेलामा काठमाडौँका दुई दर्जनभन्दा बढी उच्च शिक्षा अध्यापन गराइरहेका कलेजको सहभागिता रहने टोखा नगरपालिका हिसानका अध्यक्ष राजन अधिकारीले जानकारी दिनुभयो । लर्ड प्यालेस ग्रीनल्याण्डमा बिहान ११ बजेदेखि सुरु हुने मेलाको चार हजारभन्दा बढी विद्यार्थीले प्रत्यक्ष अवलोकन गर्ने आयोजकले जनाएको छ ।
मेलामा गायिक रचना रिमाल, श्रीधर अधिकारी र हाँस्य कलाकार शेरबहादुर गुरुङलगायतको प्रस्तुतिसमेत रहने फाउण्डेनका सञ्चालक भट्टराईले बताउनुभयो ।
अतिथिलाई काँक्रा उपहार, गलामा दुबोको माला
गण्डकी, ४ असार I “घर व्यवहारै चल्छ, गर्न सके सुन फल्छ”, पोखरा महानगरपालिका–११ को काहँुडाडास्थित सर्वेश्वर आइपिएम कृषक पाठशालाको समापन समारोहमा स्थानीय आमाहरूले गाएको भजनको एक टुक्का हो यो ।
आमाहरूले भजन गाइरहँदा गलामा दुबोको मालासँगै पिपलको पातमा अतिथि लेखिएको ब्याचले सजिएका अतिथिहरूले अभिरुचीपूर्वक सुनिरहेका थिए । कार्यक्रममा खादाजन्य सामग्री प्रयोग गरिएको थिएन । अतिथिलाई उपहारमा काँक्रो प्रदान गरिएको थियो । खाजामा सेलरोटी र काँक्राको अचारसँग मोही थियो ।
पोखरा महानगरपालिकाको सहयोगमा काहुँको सिस्नेरीमा सञ्चालित १४ हप्ताको आइपिएम कृषक पाठशालाको अनुभव सहभागीले व्यवहारमा उतारिरहँदा कार्यक्रमको आकर्षण भिन्नै देखिन्थ्यो ।
कृषिप्रति अनिच्छाका कारण जग्गा बाँझो भइरहेका अवस्थामा पोखरा महानगरपालिका– ११ काहुँ डाँडाका स्थानीय भने आइपिएम कृषक पाठशालाका माध्यमबाट सामूहिक कृषिमा जोडिएका हुन् । पाठशालाबाट धेरै कुरामा सक्षमता हासिल गरेको सर्वेश्वर आइपिएम कृषक समूहका अध्यक्ष इन्द्रकुमारी आचार्यले बताउनुुभयो । समूहमा आवद्ध भई आइपिएम कृषक पाठशाला मार्फत आधा रोपनी क्षेत्रमा गरिएको काँक्रो खेतीबाट पाँच सय किलोभन्दा बढी बिक्री गर्न सफल भएको उहाँको अनुभव छ ।
कार्यक्रमकै क्रममा आमाहरूले कृषि सन्देशमूलक गीत तथा भजन गाउनुका साथै कृषि उत्पादनमा विषादीको प्रयोगले निम्त्याउने समस्यालाई जीवन्त चित्रण गरेको लघु नाटक प्रस्तुत गरे । विषादीको प्रयोगले समाजमा पार्ने नकारात्मक प्रभावबारे जानकारी गराउन नाटक प्रस्तुत गरिएको नाटक अभिनय दलका सदस्य ७५ वर्षीया सावित्री आचार्यको भनाइ छ ।
“हामी आइपिएम कृषक पाठशालाका माध्यमबाट धेरै विषयमा जानकार भएका छौँ यसले हामीलाई सामाजिक सक्षमता बढाएको छ”, उहाँले भन्नुभयो, “पाठशालामा सिकेका सिकाइलाई हामीले व्यावहारिक जीवनमा प्रयोग गर्नेछौँ ।”
पाठशालाको सिकाइसँगै बोल्ने बानीको विकासका कारण आफ्ना कुरा निर्धक्कका साथ राख्ने क्षमतामा वृद्धि भएको समूहका सदस्यहरू बताउँछन् । महानगरपालिकाको सहयोगमा आइपिएम कृषक पाठशाला सञ्चालन गरिएको हो । यहाँका २५ जना महिलाहरू एकीकृत शत्रुजीव व्यवस्थापन (आइपिएम) पाठशालामार्फत सामूहिक खेतीमा अध्ययन अनुसन्धानसँगै आयआर्जनमा जोडिएको कृषि महाशाखा प्रमुख मनहर कडरियाले बताउनुुभयो ।
किसानलाई प्राङ्गारिक विधिबाट खेती गर्न ज्ञानसीप उपलब्ध गराउने उद्देश्यले पाठशाला सञ्चालनका लागि सहयोग गरेको उहाँले जानकारी दिनुभयो । “यसका माध्यमबाट उहाँहरूमा धेरै ज्ञान सीप हासिल हुनुका साथै समाजमा आफ्ना कुरा राख्न सक्ने क्षमता वृद्धि भएको छ”, उहाँले भन्नुभयो, “प्राप्त सिकाई र अनुभवलाई गीत भजनका साथै नाटकका माध्यमबाट प्रस्तुत गर्न सक्नुुले सामाजिक सचेतना र क्षमता अभिवृद्धि भएको देखिन्छ ।”
कृषक पाठशालाबाट आफूहरूले कृषिका सम्बन्धमा धेरै विषयहरू जानकारी प्राप्त गरेको अर्का सदस्य सुभद्रा आचार्य बताउनुुहुन्छ । पाठशालामा स्थानीय किसानलाई रासायनिक मल र विषादीको प्रयोगविना प्राङ्गारिक विधिबाट खेती गर्न सिकाइएको थियो ।
सिकाइलाई प्रभावकारी बनाउन गँड्यौला, खपटे, खुम्रे, पुतली र औँसा पाँच समूहमा विभाजित भई प्राविधिकसहित प्रयोगात्मक सिकाइ गरेका थिए । पाठशालाका लागि किसानले गत चैत १६ गते भक्तपुरे लोकल जातको काँक्राका बेर्ना रोपेका थिए ।
कार्यक्रमको समापनमा पोखरा महानगरपालिका–११ का वडाध्यक्ष प्रेमप्रसाद कर्माचार्य, वडा कृषि सञ्जालका संयोजक भीमप्रसाद आचार्य, वडा सदस्य विष्णुप्रसाद घिमिरेलगायतले पाठशालाका सिकाइ व्यावहारिक जीवनमा उपयोग गर्नुपर्नेमा जोड दिनुुभयो ।
कोशी प्रदेशसभा राजस्व र व्ययको वार्षिक अनुमानमाथि छलफल सुरु
विराटनगर, ४ असार I कोशी प्रदेशसभाको आजको बैठकमा आर्थिक वर्ष २०८१/८२ को राजस्व र व्ययको वार्षिक अनुमानमाथि छलफल प्रारम्भ भएको छ । प्रदेशसभा नियमावली, २०७४ को नियम ११५(२) बमोजिम यही असार १ गते आर्थिक मामिला तथा योजनामन्त्री रामबहादुर मगरले राजस्व र व्ययको वार्षिक अनुमान सदनमा पेस गर्नुभएको थियो ।
छलफल प्रारम्भ हुनुअघि मन्त्री मगरले सङ्घीय सरकारबाट प्राप्त हुने ससर्त अनुदान कम हुने भएकाले प्रदेशको बजेटमा सङ्कुचन आएको जानकारी दिनुभयो । उहाँले बजेटमा स्रोतहरुको कमी भए पनि आन्तरिक राजस्व र राजस्व बाँडफाँटबाट प्राप्त हुने रकम बढिरहेको जानकारी दिँदै प्रदेश सरकारले प्रशासनिक खर्च घटाउने बताउनुभयो ।
मन्त्री मगरले कृषिमा आमूल परिवर्तन गर्न अनुदान हटाई कृषिको व्यवसायिकीकरण तथा यान्त्रिकीकरण गर्न वित्तीय संस्थाबाट लिइने क्रृणको ब्याज प्रदेश सरकारले व्यहोर्ने भन्दै आगामी आर्थिक वर्षमा अन्तर्राष्ट्रिय चिया सम्मेलन गर्ने तथा १०औँ राष्ट्रिय खेलकुदका निम्ति खेल र खेलाडीको मनोबल बढाउन बजेट विनियोजन गरेको जानकारी दिनुभयो । उहाँले यातायात क्षेत्र प्रदेशको आम्दानीको ठूलो स्रोत भएकाले यसलाई व्यवस्थित गर्नुपर्नेमा जोड दिनुभयो ।
राजस्व र व्ययको वार्षिक अनुमानमाथिको छलफलमा भाग लिँदै प्रदेशसभा सदस्य रेवतीरमण भण्डारीले बजेट यथार्थपरक तथा सन्तुलित रहेको चर्चा गर्दै सरकार स्रोतको चापमा परे पनि सामाजिक न्याय, कृषि, खानेपानी तथा सिँचाइका निम्ति योजना कार्यान्वयन गर्न सक्नेगरी प्रस्तुत भएको बताउनुभयो ।
सभाका अर्का सदस्य गोम्बु शेर्पाले आन्तरिक आय वृद्धि नभएकामा चिन्ता व्यक्त गर्दै सरकारले चालु खर्चभन्दा पुँजीगत खर्च बढाउनु सुखद पक्ष हो भन्नुभयो । त्यसैगरी, अर्का सदस्य रमेशकुमार बस्नेतले आगामी आर्थिक वर्षको बजेट सङ्घीयताको मर्मअनुरुप समयानुकूल भएको बताउनुभयो ।
प्रदेशसभा सदस्य शोभा चेम्जोङले चालु खर्च घटाई पुँजीगत खर्च बढाउनेतर्फ सरकार लाग्नुपर्ने सुझाव दिँदै किसानलाई अनुदान दिन माग गर्नुभयो । अर्का सदस्य भूपेन्द्र राईले जनताका आवश्यकता बजेटले सम्बोधन नगरेको टिप्पणी गर्नुभयो ।
त्यसैगरी, अर्का सदस्य गोपाल तामाङले बजेटसँगै रातो पुस्तक पनि प्रदेशसभा सदस्यका हातमा आउनुपर्नेमा त्यसअघि नै सामाजिक सञ्जालबाट सार्वजनिक गर्नु दुःखद भएको टिप्पणी गर्नुभयो । अर्का सदस्य एवं कोशी प्रदेशका पूर्वमुख्यमन्त्री राजेन्द्रकुमार राईले सरकारको पुँजीगत खर्च कमजोर रहेकामा चिन्ता व्यक्त गर्दै फजुलखर्च घटाउन समिति गठन गर्नुपर्ने सुझाव दिनुभयो ।
त्यसअघि शून्य समयमा प्रदेशसभा सदस्यहरु तारादेवी ढकाल, रामदेव यादव, भूमिप्रसाद राजवंशी, रामप्रसाद महतो, मीना श्रेष्ठ, सविना बजगाईं, उमाकान्त गौतम र गोपालबहादुर विश्वकर्माले मुलुकको समसामयिक अवस्थाबारे मन्तव्य व्यक्त गर्नुभएको थियो ।
प्रत्येक नागरिकलाई राजनीति र सङ्घीयता बुझाउनुपर्ने खाँचो छ : नेता बिजुक्छेँ
भक्तपुर, ४ असार I नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँले देशका प्रत्येक नागरिकलाई राजनीति र सङ्घीयताका विषयमा बुझाउनुपर्ने धारणा व्यक्त गर्नुभएको छ ।
कानुन अध्ययन समाजले भक्तपुरमा आज आयोजना गरेको ‘सङ्घीयता कार्यान्वयनका चुनौती र उपादेयता’ विषयक कार्यक्रममा उहाँले तीनवटै तहका १० प्रतिशतभन्दा कम मान्छेले मात्र राजनीति र सङ्घीयताको विषयलाई बुझेकाले सो सम्बन्धमा सबै नागरिकलाई बुझाउनुपर्ने खाँचो औँल्याउनुभयो । राजनीतिक कार्यकर्ता र संसद् सदस्यले पेन्सन लिन नहुने उल्लेख गर्दै उहाँले संसद् सदस्यहरुले ठेक्का–पट्टाको काममा हात हाल्न नहुने धारणा व्यक्त गनुभयो ।
नेता बिजुक्छेँले भन्नुभयो, “संसद् सदस्य ठेक्का–पट्टा र विकास भन्दै हिँड्ने होइन, उनीहरुले त नीति बनाउनुपर्ने हो । नीति बनाउनुपर्ने मान्छेले विकास निर्माण गरेकै कारण सङ्घीयताको कार्यान्वयनमा समस्या आएको हो ।”
देशका लागि राम्रा, इमानदार र कर्तव्यनिष्ठ कानुनविद्को आवश्यकता रहेको भन्दै उहाँले हरेक कुरालाई आलोचनात्मक रुपमा हेर्न र सभ्यतादेखिकै इतिहासको अध्ययन गर्न युवा पुस्ताको ध्यानाकर्षण गर्नुभयो ।
समाजका संस्थापक अध्यक्ष एवं भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले संविधान मस्यौदाका क्रममा स्वायतता र विकेन्द्रीकरणमा जोड दिएको स्मरण गर्दै संवैधानिक रूपमा प्राप्त स्थानीय तहको अधिकार क्रमशः खोसिने क्रममा रहेको भनी चिन्ता व्यक्त गर्नुभयो ।
ताप्लेजुङमा राहत र उद्धारका लागि गृहमन्त्रीको ध्यानाकर्षण
काठमाडौँ, ४ असार I उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछाने समक्ष ताप्लेजुङबाट प्रतिनिधित्व गर्ने सांसदहरुले सो जिल्लाका विभिन्न स्थानमा हालै आएको बाढीपहिरोबाट भएको जनधनको क्षतिबारे ध्यानाकर्षण गराउनुभएको छ । बाढीपहिरोमा परी हालसम्म पाँच जनाको मृत्यु तथा ठूलो भौतिक क्षति भइसकेको छ ।
प्रतिनिधिसभाका सदस्यहरु योगेश भट्टराई, उर्मिला थेबे, लीलादेवी बोखिम (लिम्बू) ले आज उपप्रधानमन्त्रीसमक्ष भेट गरी जिल्लाका दर्जनौँ घरमा भएको क्षतिले सयौँको सङ्ख्यामा मानिस विस्थापित भएको तथा पक्की, झोलुङ्गे र काठे पुल तथा सडकमा भएको क्षतिले यातायातका साधन सञ्चालन हुन नसक्ने गरी विभिन्न स्थानमा आवतजावत तथा यातायातसमेत अवरुद्ध भएको अवगत गराउनुभएको हो ।
भेटमा गृहमन्त्री लामिछानेले ताप्लेजुङमा परेको विपत्तिबारेमा आफू जानकार रहेको र राहत, उद्धार र पुनःनिर्माणलाई उच्च प्राथमिकतामा राखी स्थानीय तह, प्रदेश सरकार, सङ्घका सरकारी कार्यालयसँगको समन्वय र सहकार्यमा सबै कार्य अघि बढाउने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
पशुपति क्षेत्र विकास कोषले तिलगङ्गा आवास क्षेत्रका संरचना हटाउने
काठमाडौँ, ४ असार I पशुपति क्षेत्र विकास कोषले काठमाडौँ महानगरपालिका–८ तिलगङ्गा ‘बी’ १३ आवास क्षेत्रका अधिग्रहण भएका संरचना हटाउने भएको छ । कोषको गुरुयोजनाका स्वीकृत अवधारणात्मक गुरुयोजनाअनुसार नेपाल सरकारको विसं २०६९ भदौको निर्णयअनुसार गुरुयोजना कार्यान्वयनका क्रममा तिलगङ्गा आवास क्षेत्रका जग्गा तथा पक्की-कच्ची घर, टहरा, गोठ, पर्खाल आदि संरचनासमेत स्थायी रुपले अधिग्रहण गर्ने भई मुआब्जा वितरण गरिए पनि खाली नभएकाले खाली गराउन लागिएको विकास कोषका प्रवक्ता रेवतीरमण अधिकारीले राससलाई जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो, “अधिग्रहण प्रभावित क्षेत्रका प्रायः सबैलाई भुक्तानी भइसकेको छ, हालसम्म पनि तिलगङ्गा आवास क्षेत्रका संरचना खाली गरिएको छैन, कोषले खाली गराउन १५ दिनको म्याद दिएको छ, म्यादभित्र ती संरचना नहटाए कानुनबमोजिम कोष आफैँले हटाई खाली गराउने छ ।”
पशुपति क्षेत्र विकास कोषको गुरुयोजनाअनुसार विसं २०६९ भदौ ६ गते जग्गा अधिग्रहण गर्ने निर्णय गरेको थियो । सोही योजनाअनुसार विसं २०७० जेठ ३० गतेदेखि मुआब्जा दिन सुरु गरिएको र विसं २०७१ प्रायः सबैको मुआब्जा वितरण भइसकेको प्रवक्ता अधिकारीले बताउनुभयो ।
तिलगङ्गा क्षेत्रका झन्डै एक सय सङ्ख्यामा पक्की तथा कच्ची घरटहरा हटाउन लागिएको कोषले जनाएको छ । यसैगरी, अधिग्रहण भएको तिलगङ्गा आवासीय क्षेत्र खाली गराउन यसअघि विसं २०७७ असार ३ गते पनि कोषले ३५ दिने सूचना जारी गरिएको थियो । त्यसबेला विविध कारणले खाली नगरिए पनि कोषले आज पुनः १५ दिने म्याद दिइएको प्रवक्ता अधिकारीले जानकारी दिनुभयो ।