शुक्रबार, १२ भदौ २०८३

/frontend/images/redline.png
https://jawaaf.com/storage/01J0N7ZW51KRWWWNAAB9JC36B3.jpg

उत्तर कोरियाली सैनिकले सीमा पार प्रयास गर्दा सियोलको चेतावनी गोली

सियोल(दक्षिणकोरिया),४ असार  I उत्तर कोरियाका दर्जनौँ सैनिकहरूले मङ्लबार कडा किल्लाको सीमा पारको प्रयास गर्दा चेतावनी पुर्ण गोली चलाइए पछि पछाडी हटेको, सियोलले जनाएको छ । प्योङयाङले दक्षिणसँगको आफ्नो सीमालाई बलियो बनाएको दुई हप्तामा भएको यो दोस्रो घटना हो ।     
     
सीमा नजिकैको विस्फोटले धेरै उत्तर कोरियाली सैनिकलाईसमेत घाइते बनाएको जोइन्ट चिफ अफ स्टाफले जनाउनु भयो । प्योङयाङले हालै दुई कोरियाबिचको सम्बन्ध खस्किएपछि झाडी सफा गर्न थता बारुती सुरुङहरु बिछ्याउन सेना तैनाथ गरेको थियो ।     
     
दुई देशहरू प्राविधिक रूपमा युद्धमा रहदा १९५०–१९५३ को द्वन्द्व एक युद्धविराम पछि समाप्त भयो ।     
तर उत्तर कोरियाले प्रायद्वीप विभाजनलाई बलियो बनाउन अघि बढिरहेको छ । थप बारुती सुरुङहरु बिछ्याउँदै, रणनीतिक सडकलाई सुदृढ पारी ट्याङ्क विरोधी अवरोधहरू जस्तो देखिने, सियोलको सेनाले भन्यो ।     
     
मङ्गलबार पनि क्रसिङ जुन–९ मा अघिल्लो पटक भएको जस्तै–दुर्घटना भएको जनाउदै जेसीएसले करिब २० देखि ३० उत्तर कोरियाली सैनिकहरूले सैन्यै उपकरणहरू बोकेको उल्लेख गर्नु भयो ।     
“दर्जनौँ उत्तर कोरियाली सैनिकहरूले सैन्य सीमाङ्कन रेखा पार गर्दै गर्दा चेतावनी गोली चलाइएपछि उत्तरतर्फ पछि हटेको एक जेसीएस अधिकारीले भने ।     
     
सीमालाई सुदृढीकरण गर्ने जिम्मेवारी दिइएको उत्तर कोरियाली सैनिकको “बारम्बार बारूदी सूङग विस्फोटका घटनाहरूबाट धेरै हताहत भएता पनि उनीहरूले “लापरवाहीपूर्वक अपरेसनहरू अगाडि बढाउँदै गरेको अधिकारीले भने ।     
     
“उत्तर कोरियाको गतिविधिहरू आन्तरिक नियन्त्रणलाई बलियो बनाउने उपाय जस्तो देखिने बताउदै जेसीएस अधिकारीले उत्तर कोरियाली सेना र उत्तर कोरियालीहरूलाई दक्षिणतर्फ जानबाट रोक्नु यसको उदाहरण भएको उल्लेख गर्नु भयो ।     
     
रुसी राष्ट्रपति भ्लादिमिर पुटिनका मङ्गलबार पछि प्योङयाङ भ्रमण गर्ने तयारी सियोलमा चिन्ताको विषय बनेको छ, जसले उत्तरले आफ्नो उपग्रह कार्यक्रममा सहयोगको बदलामा युक्रेनमा प्रयोगका लागि मस्कोलाई हतियार पठाएको आरोप लगाएको छ ।-रासस/एएफपी  

प्रकाशित मितिः मङ्गलबार, ०४ असार २०८१
https://jawaaf.com/storage/01J0N7KWKVFM81SGYZ3772TCKR.jpg

कमजोर आर्थिक अवस्थाले मुसहर बालबालिका विद्यालय शिक्षाबाट वञ्चित

मर्चवार (रुपन्देही), ४ असार I संविधानमा माध्यमिक तहसम्मको शिक्षालाई निःशुल्क पाउने हकलाई सुनिश्चित गरिएको भए पनि नवलपरासी प्रतापपुर गाउँपालिका–६ कठहवाका अधिकांश मुसहर बालबालिका आर्थिक अभावमा विद्यालय जान पाएका छैनन् ।     
     
निजी विद्यालयमा कक्षा २ सम्म अध्ययन गरेर पुनम मुसहरले परिवारको कमजोर आर्थिक अवस्थाका कारण कक्षा ३ मा भर्ना हुन सक्नुभएन । निजी विद्यालयमा शुल्क तिर्न नसकेको र जनजागृति माध्यमिक विद्यालयले पनि उहाँलाई भर्ना नगरेको पुनमका बुवा धिमल मुसहरले बताउनुभयो ।     
     
धिमलले तीन छोराछोरीलाई नजिकैको एक निजी विद्यालयमा भर्ना गर्नुभएको थियो तर अहिले सो विद्यालयमा शुल्क तिर्न नसकेपछि उहाँले छोराछोरीलाई सामुदायिक विद्यालयमा पढाउन खोज्नुभएको थियो तर निजी विद्यालयले रु पाँच हजार शुल्क नबुझाएको भन्दै प्रमाणपत्र दिन अस्वीकार गरेपछि सामुदायिक विद्यालयमा भर्ना गर्न नसकिएको उहाँले सुनाउनुभयो ।     
     
 कठहवामा मुसहर जातिको ४० घर छन् । जहाँ ७० प्रतिशत जनसङ्ख्या विद्यालय जाने उमेर समूहका बालबालिकाको छ । गाउँबाट अहिलेसम्म माध्यमिक शिक्षा परीक्षा अर्थात् (एसइई) दिने उमेश मुसहर एक्ला विद्यार्थी हुन् । हाल उनी परीक्षाको नतिजा कुरिरहेका छन् । “यो गरिबहरुको बस्ती हो, यहाँ मजदुरी नगरे खान धौधौ पर्छ, बालबच्चा कसरी पढाउने”, उहाँले भन्नुभयो ।     
     
जनजागृति माविका प्रधानाध्यापक बाबुराम सुवेदीले स्थानान्तरण प्रमाणपत्र (टिसी) बिना भर्ना गर्न नसकिने स्पष्ट पार्नु भयो  । “अझ यस वर्ष अनलाइन प्रणाली लागू भएकाले अध्ययनरत विद्यालयले स्थानान्तरण प्रमाणपत्र नदिएसम्म अर्को विद्यालयले भर्ना गर्न नपाउने व्यवस्था छ”, उहाँले भन्नुभयो ।     
     
गाउँपालिका शिक्षा शाखा प्रमुख डिल्लीराम ढुङ्गानाले मुसहर गाउँका अधिकांश बालबालिका विद्यालय बाहिर रहेको समस्याबारे आफू जानकार भएको बताउनुभयो । यो समस्या जटिल बन्दै गएको उहाँको भनाइ छ ।     
     
प्रतापपुर गाउँपालिका–६ का अध्यक्ष केशवप्रसाद अधिकारीले मुसहर समुदायको सामाजिक विकासका लागि धेरै प्रयास भए पनि सफलता प्राप्त नभएको बताउनुभयो । उहाँले भन्नुभयो, “सामुदायिक विद्यालयमा निःशुल्क शिक्षा, खाजा र छात्रवृत्ति पनि व्यवस्था छ ।” तर मुसहर जातिका बालबालिका विद्यालय जान सकेका छैनन् ।     
 

प्रकाशित मितिः मङ्गलबार, ०४ असार २०८१
https://jawaaf.com/storage/01J0N6488AEN8K8YBMN2V8ZF57.jpg

भोजपुर सिक्रेटारका सुक्खाग्रस्त क्षेत्रमा सिँचाइ पोखरी

भोजपुर, ४ असार I अरुण गाउँपालिका–७ सिक्रेटारका सुक्खाग्रस्त क्षेत्रलाई लक्षित गरी सिँचाइ पोखरी निर्माण सुरु गरिएको छ । यस क्षेत्रका जमिन खेतीका लागि उर्वरभूमि भए पनि पर्याप्त सिँचाइ सुविधा नहुँदा बाझिन थालेका थिए तर पछिल्लो समय उक्त क्षेत्रमा एक टोल एक सिँचाइ पोखरी निर्माण सुरु गरिएको वडाध्यक्ष कुमार थापाले जानकारी दिनुभयो ।     
      
गाउँपालिकाको रु १५ लाख लागतमा ढुङ्गेटोलमा नौ लाख लिटर क्षमताको ठूलो पोखरी निर्माण भइसकेको छ । बेलटार टोलमा पाँच लाख लिटर र मैदाने टोलमा तीन लाख लिटर क्षमताका पोखरी निर्माण गरिएको अध्यक्ष थापाले बताउनुभयो । उहाँका अनुसार वडाका अन्य टोलमा चारवटा पोखरी निर्माणाधीन छन् । सबै स्थानमा पानीको स्रोत सुनिश्चित भएपछि पोखरी निर्माण थालिएको उहाँले बताउनुभयो ।     
      
पोखरी निर्माणपछि यहाँका सुक्खाग्रस्त क्षेत्रका करिब एक हजार आठ सय रोपनी क्षेत्रफलमा सिँचाइको सुविधा पुग्नेछ । माथिल्लो भेगमा खनिएका यी पोखरीहरुले खानेपानीको मुहान रिचार्जमा पनि सहयोग गर्ने अध्यक्ष थापाको भनाइ छ । “पोखरी निर्माणपछि सिँचाइसँगै अन्य उपयोगका लागि पनि गर्न सकिन्छ”, उहाँले भन्नुभयो । उहाँका अनुसार सबै टोलमा रु एक करोड बराबर लगानीमा पोखरी निर्माणको उद्देश्य लिइएको छ ।     
      
यहाँका सिक्रेटार, पीपलटार, जगरे खिसु, गौरालगायत क्षेत्र सुक्खाग्रस्त क्षेत्रमा पर्छन । सिँचाइको व्यवस्था भएमा यहाँ जिरा, मेथी, बदाम, आँप, लिची, कटहर, केरा, ड्रागनफ्रुट, रुद्राक्ष तथा तरकारीको व्यावसायिक खेती गर्न सकिने स्थानीय किसान केदारप्रसाद अधिकारीले बताउनुभयो । एक टोल एक सिँचाइ पोखरी निर्माण अभियानले किसानमा उत्साह थपिएको उहाँको भनाइ छ ।     
      
पोखरी निर्माणले स्थानीयलाई तरकारीखेतीका लागि सहज भएको स्थानीय हेमचन्द्र अधिकारीले बताउनुभयो । उहाँले आफूले पनि पोखरीको पानी प्रयोग गरेर तरकारीखेती गरिरहेको र सहज भएको बताउनुभयो । “सिँचाइका लागि पर्याप्त पानी नहुँदा बसाइँसराइ बढ्दो थियो, अब यो क्रम रोकिन्छ कि भन्ने आशा छ”, उहाँले भन्नुभयो ।     
      
जलवायु परिवर्तनका कारण देखिएका असरको न्यूनीकरण गर्दै जलाधारहरुको संरक्षण गर्ने लक्ष्यका साथ टोलस्तरमा सिँचाइ पोखरी निर्माण कार्यक्रम सञ्चालन गरिएको सो वडाका सचिव अशोक अधिकारीले बताउनुभयो । यो कार्यक्रमले भविष्यका लागि ठूलो लाभ पुग्ने उहाँको विश्वास छ ।     
   

प्रकाशित मितिः मङ्गलबार, ०४ असार २०८१
https://jawaaf.com/storage/01J0MX67V69GJQD0MGFCWGJ6BY.webp

नेकपा एस महाधिवेशनः मतदाता नामावली आज प्रकाशन हुँदै

काठमाडौँ, ४ असार I नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)ले यही असार १६ देखि २० गतेसम्म यहाँ आयोजना हुने पार्टीको राष्ट्रिय महाधिवेशनका लागि आज साँझ मतदाता नामावली प्रकाशन गर्नेभएको छ ।  


नेपाल प्रज्ञाप्रतिष्ठानको प्रेक्षालयमा हुने दशौँ राष्ट्रिय महाधिवेशनमा मतदान गर्नेको विवरण आज साँझसम्ममा प्रकाशन गरिने पार्टीका सचिव जीवनराम श्रेष्ठले  जानकारी दिनुभयो ।

पार्टी मातहतका सम्बन्धित कमिटीले सोही नामावलीका आधारमा महाधिवेशन प्रतिनिधिका लागि मनोनयन दर्ता, मनोनयन दर्ता भएका उम्मेदवारहरूको सूची यही असार ५ गते प्रकाशन गर्ने कार्यतालिका छ । योग्यता नपुगेका उम्मेदवारविरुद्ध उजुरी दिने, उजुरी छानबिन गर्ने मनोनयनपत्र दर्ता भएका उम्मेदवारहरूको नामावली पनि सोही दिन प्रकाशन गरिने छ ।

बुधबार नै उम्मेदवारको नाम फिर्ता लिने, सर्वसम्मति नभए मतदान गर्ने, मतदान सकिएलगत्तै मतगणनाको समयसीमा निर्धारण गरिएको छ । सम्बन्धित कमिटीले केन्द्रलाई मतपरिणाम सार्वजनिक गरेपछि त्यसको अभिलेख केन्द्रमा पठाउनुपर्ने छ ।

देशभर एक लाख पचास हजार सङ्गठित सदस्य रहेको पार्टीले एक सय २५ सङ्गठित सदस्य बराबर एक प्रतिनिधि छनोट गरिने जनाएको छ । आसन्न राष्ट्रिय महाधिवेशनमा सङ्गठित सदस्यमध्ये करिब एक हजार आठ सय प्रतिनिधि छनोट गरिने छ ।

महाधिवेशनका लागि केन्द्रीय तहका नेता र केन्द्रीय आयोगका सदस्यहरू स्वतः प्रतिनिधि छनोट गरिने छ । विभिन्न निर्वाचन क्षेत्र तथा समूहबाट प्रतिनिधि चुनिएर आउनेछन् । दलित, युवा महिलालगायत केही प्रतिनिधि समानुपातिक प्रतिनिधित्वको मापदण्डबाट सहभागी हुने व्यवस्था गरिएको छ । पार्टी निकट जनवर्गीय सङ्गठनमा आबद्ध सदस्यको सदस्यताका आधारमा प्रतिनिधि छनोटका लागि सङ्ख्या निर्धारण गरिएको छ । 

प्रकाशित मितिः मङ्गलबार, ०४ असार २०८१
https://jawaaf.com/storage/01J0MWGRBZHZAWT5QTZEQR6HFK.jpg

बाढी खेतमा पस्दा मकैबाली नष्ट

बनियानी (झापा), ४ असार I अविरल वर्षाका कारण माईखोलामा आएको बाढी खेतमा पस्दा ५० बिघामा लगाएको मकैबालीलाई नष्ट भएको छ । जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायब उपरीक्षक कृष्णकुमार चन्दले बाढीेले झापा गाउँपालिका–२ सुगाबथान टोल नजिकै करिब ५० बिघामा लगाएको मकैखेतीलाई नष्ट गरेको जानकारी दिनुभयो ।     
     
त्यस्तै, गए राति झापा –३ गौरीगाउँस्थित धनप्रसाद पौडेलको दुई बिघा खेतको परालमा वर्षासँगै परेको चट्याङ लागेर आगलागी भएको छ । उक्त आगलागी शिवसताक्षी नगरपालिका, कमल गाउँपालिकाको बारुणयन्त्र र स्थानीयवासीको सहयोगमा निभाइएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । आलगीबाट करिब रु २० हजार बराबरको क्षति भएको जनाइएको छ । 

प्रकाशित मितिः मङ्गलबार, ०४ असार २०८१
https://jawaaf.com/storage/01J0MNMPTJA0ATW2KK1RJX2RDQ.jpg

सूर्यविनायक–धुलिखेल सडक विस्तार सुस्त : डेढ वर्षमा २५ प्रतिशत प्रगति

रमेश गिरी (रासस) 
भक्तपुर, ४ असार I अरनिको राजमार्ग खण्डअन्तर्गत सूर्यविनायकबाट धुलिखेलसम्मको १६ किलोमिटर सडकको छ लेन विस्तारको काम सुस्ताएको छ । भक्तपुरको सूर्यविनायकबाट साँगासम्म र साँगाबाट धुलिखेलसम्मको सडकखण्ड विस्तार गर्न छुट्टाछुट्टै गरी दुई चरणमा ३६ महिनाभित्र निर्माण सम्पन्न गर्नेगरी सडक विस्तार सुरु भएको डेढ वर्ष बितिसक्दा बल्ल करिब २५ प्रतिशतमात्रै प्रगति भएको आयोजनाले जनाएको छ ।     
      
विसं २०७९ पुस २४ गते निर्माण कम्पनीले दुई खण्डमा गरी तीन वर्षभित्र सम्पन्न गर्नेगरी ठेक्का सम्झौता गरेको थियो । सडक विस्तारका लागि सात दशमलव पाँच किमी लामो सूर्यविनायक–साँगा सडकखण्ड रु तीन अर्ब ८८ करोड ९३ लाख र साँगा–धुलिखेल आठ दशमलव चार किमी सडकखण्ड विस्तारका लागि रु चार अर्ब पाँच करोड ६४ लाखमा ठेक्का सम्झौता गरेको थियो ।     
      
सूर्यविनायक–धुलिखेल, सिन्धुली–बर्दिबास सडक आयोजना कार्यालयका अनुसार धुलिखेलसम्मको मुख्य सडक र सर्भिस लेन गरी छ लेनको सडक विस्तारको कार्य बजेट अभावका कारणले ढिलाइ भएको छ । आयोजना प्रमुख राजेन्द्रप्रसाद दासले सडक विस्तारका क्रममा रहेका अस्थायी घरटहरा र संरचना भक्तपुर जिल्ला प्रशासन कार्यालय र सूर्यविनायक नगरपालिकाको सहयोगमा भत्काउने काम सम्पन्न भएको जानकारी दिनुभयो ।     
      
सडक मापदण्डभित्र परेका केही स्थायी संरचनाले सडक विस्तारमा अवरोध पुगेको जनाउँदै उहाँले बीचबीचमा काम छाड्दै अगाडि बढ्नुपरेको छ भन्नुभयो । उहाँले स्थायी संरचना हटाउनेबारेमा छिटो निर्णय गर्न सम्बन्धित मन्त्रालयमा पत्राचार गरेको जनाउँदै अहिलेसम्म क्षतिपूर्ति दिनेबारेमा निर्णय नहुँदा पनि समस्या भइरहेको जानकारी दिनुभयो ।     
      
आयोजना प्रमुख दासले भन्नुभयो, “वर्षा लागिसक्यो, महत्त्वपूर्ण काम छिटो सम्पन्न गर्ने भनेर दिनरात नभनी काम गरिरहेका छौँ, सडकको दायाँबायाँ टेवा पर्खाल लगाउने, नाली निर्माण गर्ने र ‘कलभर्ट’ निर्माण अन्तिम चरणमा पुगेको छ । छिटोभन्दा छिटो सूर्यविनायक र त्यसमाथिका तीनवटा कलभर्ट सञ्चालन गर्ने तयारी गरेका छौँ, कलभर्ट सञ्चालनमा आएपछि सवारी आवागमनमा समस्या हुँदैन ।” सडक निर्माणका क्रममा ठूलो घुम्ती, तल ठूलो भिर भएकाले साँगामा निकै समस्या परिरहेको उहाँले बताउनुभयो ।     
      
रु आठ अर्बभन्दा बढीको लागतमा ठेक्का सम्झौता भएको यो सडकखण्डमा यस वर्ष सरकारले रु ५४ करोड अर्थात् सात प्रतिशतमात्रै बजेट निकासा गरेको छ । यस्तो अवस्थामा काम गर्न गाह्रो, मजदुर थप्न समस्या, सामान खरिदमा समस्या हुने भएकाले पनि काममा ढिलाइ हुन गएको छ । सरकारले सम्झौताअनुसार बजेट निकासा गरिदिए अझै पनि निर्धारित समयमा सडक निर्माण सम्पन्न गर्न सक्ने आयोजनाको दाबी छ ।     
      
भक्तपुरका प्रमुख जिल्ला अधिकारी रोशनीकुमारी श्रेष्ठले सूर्यविनायकबाट साँगासम्मका अस्थायी संरचना, घरटहरा हटाउने काम सम्पन्न भइरहेको जानकारी दिनुभयो । उहाँले सूर्यविनायक नगरपालिकाको समन्वयमा अस्थायी संरचना हटाउने काम भइसकेको र स्थायी संरचना हटाउन भने प्रतिवेदन र मूल्याङ्कनको प्रतिक्षामा रहेको बताउनुभयो ।     
      
स्थायी टहरा हटाउनेबारेमा जिम्मेवार निकायबाट प्रतिवेदन आउने, त्यस्ता संरचनाको मूल्याङ्कनसहितको मुआब्जा दिनेबारेमा निर्णय आएर प्रक्रिया अगाडि बढेपछि स्थायी संरचना पनि हटाइने उहाँले जानकारी दिनुभयो । प्रजिअ श्रेष्ठले भन्नुभयो, “यो सडकखण्डमा अस्थायी संरचना, घरटहरा ५३ थियो, त्यो हटाएका छौँ । अब सडकमा ७८ वटा स्थायी संरचना छन्, त्यो हटाउन मूल्याङ्कनसहितको प्रतिवेदन आउन बाँकी छ, सडक विभागमा फाइल छ, हटाउनुपर्ने स्थायी संरचनाको मुआब्जा दिनु अगाडि २०७२ सालको भूकम्पमा ती घरले राहत लिएका छन् कि छैनन् भनेर बुझ््ने काम पुनःनिर्माण प्राधिकरणबाट भइरहेको जानकारी पाएका छाँै । मुआब्जा निर्धारणमा ढिलाइ हुँदा त्यस्ता स्थायी संरचना हटाउन ढिलाइ भइरहेको छ ।”     
      
जिल्ला प्रशासन कार्यालयले त्यसका लागि पनि सहजीकरण गरिरहेको जनाउँदै उहाँले अहिले बजेट न्यून आएकाले सडक विस्तार सुस्ताएको जानकारी पाएको बताउनुभयो । जेठमा पानी पर्दा केही काम रोकिएको, सडकको डिपिआरमै नभएको चौबाटोमा समेत थप काम गर्नुपर्ने भएकाले डिपिआर नै संशोधनको तयारी भइरहेको प्रजिअ श्रेष्ठले बताउनुभयो ।     
      
विद्युत् प्राधिकरणले सडकमा परेका पोल नसारिदिँदा काममा थप समस्या आएको जनाउँदै उहाँले प्रशासनबाट पोल सारदिन समन्वय गरिरहेको बताउनुभयो । सडकमा करिब २० वटाभन्दा बढी पोल रहेको तर प्राधिकरणले पोल सार्न आउँछौँ भनेर पटकपटक भनेर पनि नआएकाले ताकेता गरिरहेको उहाँले बताउनुभयो । उहाँले वर्षा सुरु भइसकेकाले दुईतर्फी सडक आवागमनमा समस्या नहोस् भनेर मुख्य काम छिटो सम्पन्न गर्नुपर्ने बताउनुभयो ।     
      
बागमती प्रदेशसभा सदस्य किरण थापाले बर्खा लागिसकेकाले जगातीबाट साँगासम्मको सडकखण्डअन्तर्गतका अप्ठ्यारो काम तत्कालै सम्पन्न गर्न आयोजना र सरकारले ध्यान जानुपर्छ भन्नुभयो ।     
      
उहाँले भन्नुभयो, “नगरपालिका र स्थानीयबाट समस्या आउँदैन, आएका समस्या हामी सुल्झाउँछौँ, तर सरकारले बजेट नपठाएपछि आयोजनाको काम सुस्ताएको छ, बर्खा लागिसक्यो अप्ठ्यारा ठाउँमा काम नसके समस्या आउँछ, त्यसैले छिटो काम गर्नु आवश्यक छ ।”     
      
यो सडकमा पुलहरू थप निर्माण गर्न आवश्यक पर्ने भएकाले पुलका लागि रु एक अर्ब लाग्ने आयोजनाले अनुमान गरेको छ । अध्ययन प्रतिवेदनअनुसार यस आयोजनामा २०–२० मिटरको तीन पुल, जगाती र महादेवखोला पेट्रोल पम्पनजिक निर्माण गरिने भएको छ । यसका लागि प्रतिमिटर रु १५ लाख लाग्ने अनुमान गरिएको छ ।     
      
साँगामा समस्या रहेको डेढदेखि दुई किलोमिटर सडकमा जाने–आउने लेन तल–माथि हुने भए पनि ‘सर्भिस लेन’ भने निर्माण गर्न नसकिने देखिएको डिपिआर अध्ययनले देखाएको छ । उक्त दूरीमा सडक विस्तार गर्न भौगोलिक बनावट कमजोर भएकाले सुरुङ निर्माण योजनालाई रोकेर यो योजना अघि बढाइने जनाइएको हो । यस्तै प्रतिवेदनले यो सडक विस्तारका लागि आवश्यक पर्ने १७ रोपनी जग्गाका लागि करिब रु एक अर्ब मुआब्जा दिनुपर्ने छ ।     
      
विसं २०१७ मा राजमार्ग बन्दा सडक दायाँबायाँ २५–२५ गज अर्थात् २२ दशमलव ८६ मिटर कायम गरिएको थियो । यस्तै २०२१ सालमा सरकारले कानुन बनाएर यो मार्गमा त्यही नियमलाई यथावत कायम गर्यो । यही आधारमा सडकका दायाँ–बायाँमा घर बनेको थिए ।     
      
सडक विस्तार भएपछि चीनसँगको छोटो दूरीको नाका सिन्धुपाल्चोकको तातोपानी खुला भए यो सडकखण्डमा अझै सवारी चाप बढ्ने छ । यो सडकमा हाल कोटेश्वरबाट लामा दूरीका सवारीमात्र दैनिक एक हजारभन्दा बढी छुट्ने गरेको जनाइएको छ ।     
      
सङ्घीय राजधानी काठमाडौँबाट बागमती प्रदेशअन्तर्गत मध्यपहाडीका बिपी र पुष्पलाल रार्जमार्ग हुँदै पूर्वसम्मको दूरी यही सडकबाट पार गरिन्छ भने यो सडकबाट अरनिको राजमार्ग हुँदै कोशी र मधेस प्रदेशका नागरिकसमेत काठमाडौँ आवतजावत गर्दै आएका छन् । 

प्रकाशित मितिः मङ्गलबार, ०४ असार २०८१
https://jawaaf.com/storage/01J0MGY0EEQ3AF6200PJ2X0D1Q.jpg

लुक्लामा दश दिनदेखि हवाई उडान ठप्प, पर्यटक मर्कामा

- सुवास दर्नाल
सोलुखुम्बु, ४ असार I मौसम प्रतिकूलताका कारण यहाँस्थित तेन्जिङ हिलारी विमानस्थल लुक्लामा हवाई उडान ठप्प हुँदा पर्यटक समस्यामा परेका छन् । गत जेठ २६ गतेदेखि अतिव्यस्त सो विमानस्थलमा कुनै पनि जहाजले उडान भर्न नसक्दा खुम्बु भ्रमणमा आएका पर्यटक मर्कामा परेका हुन् ।   
 
अत्यधिक हुस्सु र ‘भिजिबिलिटी’ कमजोर हुँदा लुक्लामा जहाज र हेलिकप्टरले उडान भर्न नसकेको नेपाल नागरिक उड्डयन प्राधिकरण लुक्लाका एयर ट्राफिक कन्ट्रोलर दिवस दाहालले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “अहिले सगरमाथा क्षेत्र भ्रमणमा आएका विदेशी तथा स्वदेशी पर्यटक फर्कने सिजन हो । यतिखेर आउनेभन्दा फर्किने पर्यटक ज्यादा हुन्छन्, तर मौसमअनुकूल छैन । त्यसैले सबै उडान तालिका १० दिनदेखि रद्द भइरहेको छ, हुस्सुले वरको वस्तु परबाट देखिन्न, झन् जहाज उडान हुने त कुरै छैन ।”   
 
लुक्ला विमानस्थलमा मौसमका कारण हेलिकप्टरसमेत अवतरण हुन नसक्दा लुक्लाभन्दा तल रहेको सुर्के हेलिप्याडबाट हेलिकप्टरहरूले उडान गरिरहेको एयर ट्राफिक कन्ट्रोलर दाहालले जानकारी दिनुभयो । सुर्के केही होचो स्थान भएकाले त्यहाँबाट हेलिकप्टरले पर्यटक काठमाडौँ लैजाने गरेको उहाँले बताउनुभयो । भौगोलिक बनावटका कारण पनि लुक्लामा बढी हुस्सु लाग्ने भएकाले उडानमा समस्या हुने गरेको नेपाल नागरिक उड्डयन प्राधिकरण लुक्लाले जनाएको छ ।   
 
मौसम सामान्य प्रतिकूल हुनेबित्तिकै लुक्लामा उडान ठप्प हुने भएकाले पर्यटक मर्कामा पर्ने गरेको तारा एयरका लुक्ला स्टेशन प्रमुख अमृत मगरले बताउनुभयो । यतिखेर खुम्बुमा पर्यटक यामको सकिन लागेकाले लुक्ला भित्रिनेको तुलनामा बाहिरिने बढी छन् । यद्यपि मौसमका कारण सबै उडान तालिका रद्द गर्नुपरेको उहाँ बताउनुहुन्छ । “विदेशीहरू यतिबेला आउनेभन्दा फर्किने बढी छन् आउने फाट्टफुट्ट छन् तर आएकाहरू फर्कने अलि बढी छन्”, उहाँले भन्नुभयो ।   
 
लुक्लाभन्दा तल करिब चार घण्टाको पैदल दूरीमा पर्ने थामडाँडासम्म गाडी पुग्ने गर्छ । यसका कारण कतिपय पर्यटक तीनदेखि चार घण्टाको पैदल हिँडेर थामडाँडा झरेर त्यहाँबाट गाडीमार्फत सदरमुकाम सल्लेरी हुँदै काठमाडौँ फर्कने गरेका छन् । थामडाँडाबाट सल्लेरीको दूरी करिब ७० किलोमिटर छ । उक्त सडक कच्ची भएकाले बोलेरो गाडीमात्रै सञ्चालन हुने गरेको छ ।   
 
थामडाँडाबाट सल्लेरीको गाडी भाडा प्रतिव्यक्ति रु दुई हजार दुई सय लिने गरेको यातयात व्यवसायी रामबहादुर विश्वकर्माले बताउनुभयो । थामडाँडाबाट आएको दिन सल्लेरी बास बस्ने पर्यटक भोलिपल्ट विमान, जिप तथा बसमार्फत काठमाडाँै फर्कने गरेका छन् । सल्लेरीबाट दुई सय ७५ किलोमिटरको दूरीमा पर्ने काठमाडौँको जिपभाडा प्रतिव्यक्ति रु दुई हजार लिने गरेका छन् ।   
 
छैन मौसममा सुधारको सङ्केत   
 
मौसम तत्काल खुल्ने सम्भावना नरहेकाले हवाई उडान अझै केही दिन अवरुद्ध हुने मौसम पुर्वानुमान महाशाखाले जनाएको छ । पूर्वको कोशीमा भित्रिएको मनसुन निरन्तर सक्रिय भइरहेकाले कोशीसहितका क्षेत्रमा झरीको सम्भावना उच्च रहेको मौसमविद् राजु प्रधानाङ्गले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “मौसम अहिले तत्काल सुधार हुने सम्भावना छैन, त्यसैले हवाई उडान अझ केही दिन प्रभावित हुनसक्छ, मनसुन सक्रिय भइरहेकाले अझै धेरै वर्षात् हुनसक्छ ।”   
 
 
सगरमाथा क्षेत्रमा पर्ने एकमात्र विमानस्थल भएकाले तेन्जिङ हिलारी विमानस्थललाई महत्वका साथ हेर्ने गरिन्छ । विश्वको प्रमुख पर्यटकीय गन्तव्यका रूपमा परिचित सगरमाथा क्षेत्र भ्रमण गर्न आउने अधिकांश स्वदेशी तथा विदेशी पर्यटकले यही विमानस्थल प्रयोग गर्ने गर्छन् ।   
 
यहाँ काठमाडौँको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल र रामेछापको मन्थली विमानस्थलबाट उडान हुने गर्दछ । यो विमानस्थल भएर बर्सेनि ६० हजारभन्दा बढी विदेशी तथा स्वदेशी पर्यटक सगरमाथा क्षेत्र भ्रमणका लागि पुग्ने गरेको नेपाल नागरिक उड्डयन प्राधिरणको तथ्याङ्क छ । लुक्लासम्म सडक सञ्जाल नपुगेकाले यस विमानस्थलको महत्व बढिरहेको लुक्लाका तोयाकुमार श्रेष्ठले बताउनुभयो ।   
 
काठमाडौँबाट जहाजमार्फत लुक्ला .ओर्लिने पर्यटक यहाँबाट पदमार्ग हुँदै उकालो लाग्ने गर्छन् । यसभन्दा माथि सञ्चालनमा रहेका अन्य विमानस्थल नभएकाले खुम्बु भ्रमणका लागि हवाईमार्ग रोज्ने हरेक पर्यटकले यही विमानस्थल प्रयोग गर्नुपर्ने बाध्यता छ ।   
 
खुम्बु पासाङल्हामु गाउँपालिका–२ लुक्लामा सरएडमण्ड हिलारीको सहयोगमा सन् १९६० मा निर्माण गरिएको यस विमानस्थल विसं २०६४ पुसमा तेन्जिङनोर्गे शेर्पा र सरएडमण्ड हिल्लारीको सम्मानमा उनीहरूकै नामबाट नामकरण गरिएको थियो । लुक्ला बजारको तलपट्टि पहाडको काखमा अवस्थित यस विमानस्थल समुद्री तहबाट दुई हजार आठ सय मिटरको उचाइमा अवस्थित छ । यस विमानस्थलको धावनमार्गको लम्बाइ चार सय ६० मिटर अर्थात् एक हजार पाँच सय फिट रहेको जनाइएको छ ।   
 
‘हिस्ट्री च्यानलको मस्ट एक्स्ट्रिम एयरपोर्ट र्याङ्किङ’मा लुक्ला विमानस्थल विश्वकै डरलाग्दो विमानस्थलको सूचीमा समावेश गरेको छ । जसलाई अन्तर्राष्ट्रिय वेबसाइड ‘प्राइभेटफ्लाइ डटकम’ले सूचीकृत गर्दै विश्वभरका रोमाञ्चक अनुभुति दिने विमानस्थलको आठौँ स्थानमा सूचीकृत गरेको छ । यस विमानस्थलमा उडान तथा अवतरणका लागि मौसम नै प्रमुख चुनौती हुने गरेको नेपाल नागरिक उड्डयन प्राधिकरणका उमेशकुमार पन्थी बताउनुहुन्छ ।   
 
भिरको काखमा रहेको र छिनछिनमा यहाँको मौसममा फेरबदल भइरहने भएकाले उडान र अवतराणमा चुनौती थपिने गरेको उहाँ बताउनुहुन्छ । यद्यपि, पर्यटकीय विमानस्थल भएकाले यामका बेला एकैदिन एक सयभन्दा बढी हवाई उडान हुने गरेको प्राधिकरणको तथ्याङ्क छ । सगरमाथा क्षेत्र पुग्ने पर्यटक यही विमानस्थलमा ओर्लिएर उकालो लाग्ने भएकाले यसको महत्व र व्यस्तता बढेको स्थानीय जानकार बताउँछन् I -रासस

प्रकाशित मितिः मङ्गलबार, ०४ असार २०८१
https://jawaaf.com/storage/01J0MG9VXRNXYM2T1V975QH6WM.jpg

मध्यपहाडी लोकमार्ग : निर्धारित समयअगावै भालुखोला र मेवाखोलामा पुल निर्माण

खोटाङ, ४ असार I दिक्तेल–चखेवाभञ्ज्याङ सडकखण्डमा पर्ने दुईवटा खोलामा तोकिएको समयभन्दा अगावै मोटरेबल पक्की पुल निर्माण सम्पन्न भएको छ । मध्यपहाडी लोकमार्गअन्तर्गत पर्ने उक्त सडकखण्डको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ सोल्मास्थित भालुखोला र मझुवागढी – ६ नेर्पास्थित मेवाखोलामा पुलको काम सम्पन्न भएको हो ।   
  
विसं २०८१ असार २२ गते दुवै मोटरेबल पुलको काम सक्नेगरी विसं २०७९ असार २२ गते निर्माण कम्पनीले सडक विभागसँग सम्झौता गरेको थियो । मूल्य अभिवृद्धि कर (भ्याट)बाहेक रु सात करोड ७४ लाख २५ हजारमा ती पुल बनेका थिए । हालै सम्पन्न भएको दुवै पक्की पुल २०–२० मिटर लम्बाइको छ ।   
  
निर्माण सम्पन्न गरेर सञ्चालनमा आइसकेको दुवै पुलको वारि र पारि दुवैतर्फको ‘एप्रोच रोड’को कामसमेत सम्पन्न भएको बताइएको छ । तोकिएको समयअगावै मोटरेबल पक्की पुल निर्माण सम्पन्न भएर सञ्चालनमा आएपछि आवतजावत सहज भएको खोटाङ यातायात प्रालि खोटाङका महासचिव राम हिङमाङले बताउनुभयो ।   
  
सोही सडकखण्डको नेर्पा र सोल्माको सिमानामा पर्ने छेपेखोलामा अर्को २० मिटर लम्बाइको मोटरेबल पुल पनि सम्झौता मितिभन्दा अघि नै निर्माण सम्पन्न भएको छ । अहिले सञ्चालनमा रहेको छेपेखोलाको मोटरेबल पक्की पुल निर्माणको जिम्मा सगरमाथा सजीव जेभी खोटाङले लिएको हो ।   
  
विसं २०८० कात्तिक ११ गते पुल बनाइसक्नेगरी २०७८ मङ्सिर १४ गते भ्याटबाहेक रु तीन करोड पाँच लाख ८० हजार एक सय ३७ मा ठेकेदार कम्पनीले सडक विभागसँग सम्झौता गरेको थियो । यद्यपि, यो छेपेखोला पुलको सम्झौता म्याद सकेर ठेकेदार कम्पनीले अर्को म्याद थपेको हो ।   
  
निर्माण सम्पन्न गरेर सञ्चालनमा आइसकेको पुलको अन्तिम भुक्तानी लिएर सडक विभागलाई हस्तान्तरण गर्ने तयारी भइरहेको निर्माण कम्पनीका प्रतिनिधि कृष्ण घिमिरेले जानकारी दिनुभयो । छेपेखोलामा निर्माण गरिएको मोटरेबल पक्की पुलको पहिलोपटक थपिएको समयसीमा असार २५ गते सम्पन्न हुँदैछ ।   
  
दिक्तेल–चखेवाभञ्ज्याङ सडकखण्डमा निर्माणाधीन मोटरेबल पक्की पुल छिटो सक्न तथा गुणस्तर कायम गर्न ठेकेदार कम्पनीलाई पटक–पटक निर्देशन गरिएको जिल्ला समन्वय समिति खोटाङका प्रमुख सनबहादुर राईले बताउनुभएको छ । “निर्माणाधीन तीनवटा पुलमध्ये दुईवटाले समयअगावै सम्पन्न गरेको छ । तोकिएको मितिअगावै पुल निर्माण सम्पन्न गर्न हामीले पनि हौसला प्रदान गर्यौैँ”, उहाँले भन्नुभयो, “वर्षा सुरु भएपछि त्यो काम सम्भव थिएन । तोकिएको समयभन्दा अगाडि नै पुल सम्पन्न गरेकाले ठेकेदार कम्पनीलाई पुरस्कृत गर्ने योजना बनाएका छौँ ।”   
  
छिमेकी जिल्ला भोजपुर जोड्ने दिक्तेल–चखेवाभञ्ज्याङ सडकखण्डको बुवालुङस्थित बुवासुङ–लामीडाँडा जोड्ने पङ्खुखोलाको १५ मिटर मोटरेबल पुलको काम सिरुवा कन्ट्रक्सन काठमाडौँले नगरेपछि गत वर्ष जेठ १२ गते ठेक्का तोडिएको छ । ठेक्का सम्झौता तोडिएको पङ्खुखोला पुलका लागि अर्को ठेक्का लगाउन हालसम्म सम्बन्धित निकायले चासो नदिएको जनाउँदै जिल्लावासीले असन्तुष्टि पोख्न थालेका छन् ।   
  
पाँचखण्डमा विभाजन गरेर कालोपत्र गरिएको दिक्तेल–चखेवाभञ्ज्याङ सडकखण्डको निर्मलीडाँडाभन्दा यता (दिक्तेलतर्फ)का सडकखण्डमा पर्ने भुल्केखोला, लप्सेखोला, दाम्देखोला, साप्सुखोलालगायत विभिन्न पाँचवटा खोलामा भने यसअघि नै पक्की पुल तयार सञ्चालनमा आइसकेको छ । तीनवटा निर्माण भर्खरै सम्पन्न भएको तथा एउटा ठेक्का सम्झौता तोडिएको ४८ किलोमिटर लामो दिक्तेल–चखेवाभञ्ज्याङ सडकखण्डमा पर्ने नौवटा खोलामा मोटरेबल पक्की पुल निर्माण हुनेछ ।   
  
विसं २०७२ चैतबाट कालोपत्र थालिएको दिक्तेल–चखेवाभञ्ज्याङ सडकखण्डको साकेला गाउँपालिका–१ बाँझेच्यानडाँडाको सेखुवा–चखेवाभञ्ज्याङ (१० किलोमिटर) सडक कालोपत्र भएको छैन । भारत कन्स्ट्रक्सन-मैनाचुली-सिद्धिसाई जेभीले जिम्मा लिएको यो सडकखण्ड कालोपत्र नहुँदा स्थानीय बासिन्दा चिन्तित छन् ।   
  
भोजपुर हुँदै पाँचथरको चिवाभञ्ज्याङ जोडिने दिक्तेल–चखेवाभञ्ज्याङ सडकखण्डको सेखुवा–चखेवाभञ्ज्याङ (१० किलोमिटर) सडक ठेकेदार कम्पनीले कालोपत्र नगरेपछि ठेक्का तोडिएको थियो । तर, ठेकेदार कम्पनीले उच्च अदालत विराटनगर, अस्थायी इजलास ओखलढुङ्गाबाट ‘स्टेअर्डर’ ल्याए पनि निर्माणको काम अगाडि नबढाएको बताइएको छ ।  

प्रकाशित मितिः मङ्गलबार, ०४ असार २०८१
https://jawaaf.com/storage/01J0MFQDPZYKZFS0272G2JB5TX.jpg

घरका मठमा तुलसीको दल राखिँदै

काठमाडौ, ४ असार I वैदिक सनातन धर्मावलम्बीले आ–आफ्नो घरको मठमा आज तुलसीको दल राख्दैछन् ।   
  
प्रत्येक वर्ष ज्येष्ठ शुक्ल एकादशीका दिन घर–घरमा तुलसीको दल राख्ने गरिन्छ । यस दिनलाई निर्जला एकादशी पनि भनिन्छ । यस दिन रोपेको बीउ एक महिनापछि आषाढ शुक्ल एकादशी अर्थात् हरिशयनी एकादशीका दिन रोपिन्छ ।   
  
आषाढ शुक्ल एकादशीदेखि कार्तिक शुक्ल एकादशीका दिनसम्म तुलसीको विशेष पूजा गरिन्छ । यसलाई तुलसी हुकाई बढाई दामोदरसँग विवाह गरिने भन्ने पनि बुझिन्छ । यो चार महिनालाई चतुर्मास भनिन्छ ।   
  
चतुर्मासमा स्नान, पूजन र दान गर्नाले मनोकाङ्क्षा पूरा हुने धार्मिक विश्वास छ । निर्जला एकादशीसमेत भनिने भएकाले यस दिन पानीसमेत नपिइ व्रत गर्नाले अभिष्ट फल पाइने शास्त्रीय वचन रहेको धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक समितिका सदस्य प्रा डा देवमणि भट्टराईले जानकारी दिनुभयो ।   
  
सक्नेले पानी नखाई व्रत गरे पनि नसक्नेका लागि फलफूल खाएर बस्न सकिने पनि उहाँले जानकारी दिनुभयो । आयुर्वेदिकरुपमा पनि लाभकारी औषधि मानिने तुलसी विभिन्न रोगको उपचारमा समेत प्रयोग गरिन्छ । तुलसीमा धेरै अक्सिजन पाइने आधुनिक विज्ञानले प्रमाणित गरेको छ । यस अवसरमा देशभरका नारायणस्थान एवं विष्णु मन्दिरमा भक्तजनको विशेष भीड लाग्ने गर्छ ।  

प्रकाशित मितिः मङ्गलबार, ०४ असार २०८१
https://jawaaf.com/storage/01J0K6A3M12TFW8VE93MNMVB0P.jpg

योजना अलपत्र छोडेर निर्माण कम्पनी सम्पर्कविहीन

गलेश्वर (म्याग्दी), ३ असार I जिल्लाकै ‘लाइफलाइन’ बेनी–दरबाङ सडकको तेस्रो खण्ड (करिब सात किलोमिटर) स्तरोन्नति गरी कालोपत्र गर्ने जिम्मा पाएको निर्माण कम्पनी सम्पर्कविहीन भएपछि योजना अलपत्र परेको छ ।   
  
सदरमुकाम बेनीबजारदेखि पश्चिम म्याग्दीको प्रमुख व्यापारिक केन्द्र दरबाङसम्म २४ किमी दूरीको यो सडकको पहिलो र दोस्रो खण्डको १७ किमी सडक कालोपत्र भए पनि बिरुवा–क्याराभान जेभीले जिम्मा लिएको तेस्रो खण्ड भने कालोपत्र गर्ने सुरसार छैन । निर्माण कम्पनी बिरुवा–क्याराभान जेभीका सञ्चालक चन्द्र थकाली सम्पर्कमा नआएपछि पत्र पठाएर ताकेता गरिएको पूर्वाधार विकास कार्यालय म्याग्दीले जनाएको छ ।   
  
विसं २०६३ मा ट्र्याक खुलेको यो सडकको स्तरोन्नति तथा कालोपत्रको काम तीन खण्डमा विभाजन गरेर अलग–अलग निर्माण कम्पनीले जिम्मा लिएका थिए । त्यसमध्ये दुई वटा खण्ड कालोपत्र भइसकेका छन् । यो सडक कालोपत्र आयोजनाको ठेक्का बिरुवा–क्याराभान जेभीले विसं २०७६ जेठ ३१ लिएको थियो । निर्माण कम्पनीको अटेरीले पाँच वर्षमा पनि आयोजनाले पूर्णता पाउन नसक्दा यात्रु, यातायात व्यवसायी र स्थानीयवासी सास्ती पाउने गरेका छन् ।   
  
मङ्गला गाउँपालिका–२, रणबाङदेखि मालिकाको केन्द्र दरबाङसम्म सात किमी सडक कालोपत्र गर्न निर्माण कम्पनी र पूर्वाधार विकास कार्यालय म्याग्दीबीच रु २२ करोड ५७ लाख नौ सय ३२ मा ठेक्का सम्झौता भएको थियो । कार्यालयका अनुसार आयोजनाको अहिलेसम्म भौतिक प्रगति करिब ७२ प्रतिशत सम्पन्न भएको छ । गत वैशाख पहिलो सातादेखि निर्माण व्यवसायी आयोजनास्थलमा नदेखिएका स्थानीयले बताएका छन् ।   
  
निर्माण कम्पनी सम्पर्कविहीन भएपछि दुर्घटनाको जोखिम र यातायात सञ्चालनमा समस्या हुने गरेको रणबाङका श्रीराम पौड्यालले बताउनुभयो । सडक निर्माण अलपत्र हुँदा धुलो र धुवाँले हैरान बनाउनुका साथै स्वास्थ्यमा समस्या देखिन थालेको मालिका गाउँपालिका–६ तोलाबाङकी पूर्णकली विकले गुनासो गर्नुभयो । सडक आयोजनाका निर्माण व्यवसायीलाई पटकपटक ताकेता गरे पनि अटेरी गरेको पूर्वाधार विकास कार्यालय म्याग्दीका इञ्जिनियर अर्जुन शर्माले बताउनुभयो ।   
  
निर्माण व्यवसायीले चार किमीमा सब बेस राखिसकेका छन् । मङ्गला, मालिका र धवलागिरि गाउँपालिकालाई जिल्ला सदरमुकाम बेनीसँग जोड्ने २४ किमी दूरीको यो सडक विसं २०६३ मा मार्ग खुलेको थियो । बागलुङको तमानखोला गाउँपालिकाका बासिन्दाले प्रयोग गर्ने गर्दछन् । सो खण्डको कालोपत्र योजनाका लागि बजेट अभाव नभएको पूर्वाधार विकास कायालयले जनाएको छ ।  

प्रकाशित मितिः सोमबार, ०३ असार २०८१