पहिरो पन्छाएपछि पृथ्वी राजमार्ग पुनःसञ्चालनमा
मुग्लिन (चितवन), ३ असार I पहिरोका कारण अवरुद्ध बनेको पृथ्वी राजमार्ग पुनःसञ्चालनमा आएको छ । मुग्लिन मलेखु खण्डअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–३ स्थित फिस्लिङ र मौवाखेलाको बीचमा पहिरो जाँदा आज विहानदेखि राजमार्ग अवरुद्ध बनेको थियो ।
इलाका प्रहरी कार्यालय मुग्लिनका प्रमुख प्रहरी निरीक्षक निरला भण्डारीले पहिरो पन्छाएपछि अहिले राजमार्ग दुईतर्फी सञ्चालनमा आएको जानकारी दिनुभयो । राजमार्ग पुनःसञ्चालनमा आएपछि रोकिएका सवारी साधन आ–आफ्नो गन्तव्यतर्फ लागेका छन् ।
राष्ट्रपतिको सम्मानमा वर्लिनमा स्वागत समारोह
काठमाडौँ, ३ असार I जर्मनीको भ्रमणमा रहनुभएका राष्ट्रपति रामचन्द्र पौडेलको सम्मानमा जर्मनीको वर्लिनस्थित नेपाली राजदूतावासले आाइतबार स्वागत समारोह आयोजना गरेको छ । सो समारोहमा उहाँले एकचोटीको नेपाली सधैँको नेपाली रहेको धारणा व्यक्त गर्दै संसारमा जहाँ रहे पनि आफ्नो माटो र मातृभूमिलाई कहिल्यै नविर्सन आग्रह गर्नुभयो । “जहाँ रहे पनि आफूले सिकेको ज्ञान, सीप र प्रविधिको प्रयोगबाट नेपालको आर्थिक विकासमा योगदान पु¥याउन म सबै नेपालीलाई हार्दिक आह्वान गर्दछु”, राष्ट्रपति पौडेलले भन्नुभयो ।
उहाँले आफूले अन्तर्राष्ट्रिय श्रम सङ्गठनको सम्मेलनलाई सम्बोधन गर्दै श्रम र सामाजिक न्यायको सम्मानका लागि विश्व समुदायलाई अपिल गरेको स्मरण गर्नुभयो । उहाँले जलवायु परिवर्तनले पारेको असर न्यूनीकरण गर्नु आजको विश्वको साझा चुनौती रहेको बताउँदै खासगरी यसका कारक नरहेका विकासशील देशहरूलाई विकसित देशहरूले असर न्यूनीकरणमा सघाउनुपर्नेमा जोड दिनुभयो ।
सो अवसरमा राष्ट्रपति पौडेललाई जर्मनका लागि नेपालका राजदूत रामकाजी खड्का तथा यहाँस्थित नेपालीहरूले स्वागत गर्नुभएको थियो । सो अवसरमा राजदूत खड्काले जर्मन नेपालबीच लामो समयदेखिको सम्बन्ध, विकास र सहयोगका बहुआयामिक पक्षबारे जानकारी गराउनुभएको थियो । साथै, जर्मनमा रहेका नेपालीको अवस्था, उनीहरूले गरिरहेका काम तथा समस्या र राजदूतावासले गरिरहेको सहकार्य र समन्वयबारे जानकारी गराउनुभएको राष्ट्रपतिको स्वकीय सचिवालयले जनाएको छ ।
सो अवसरमा जर्मनमा रहेको गैरआवासीय नेपाली सङ्घका तर्फका राष्ट्रपति पौडेललाई अभिनन्दन गरिएको थियो । राष्ट्रपति पौडेलले यसअघि आइतबार दिउँसो जर्मनीका जलवायु परिवर्तनका क्षेत्रमा विज्ञान प्रविधि तथा अनुसन्धान गर्दै आइरहेका संस्थाको अवलोकन गर्नुभएको थियो ।
राष्ट्रपति पौडेल स्वीट्जरल्याण्डको भ्रमण सकेर शनिबार राति जर्मनीको राजधानी बर्लिन पुग्नुभएको हो । जर्मनीका राष्ट्रपतिको मैत्रीपूर्ण निमन्त्रणामा उहाँ स्वीट्जरल्याण्डको भ्रमण सकेर जर्मनीको राजधानी बर्लिन आइपुग्नुभएको हो । राष्ट्रपति पौडेल र उहाँका समकक्षी सङघीय गणतन्त्र जर्मनीका राष्ट्रपति डा फरयाङक वाल्टर स्टाइनमेयरबीच आज औपचारिक भेटवार्ता हुनेछ ।
विश्वकप क्रिकेट : बङ्गलादेशले नेपालाई दियो एक सय सात रनको चुनौती
काठमाडौँ, ३ असार I आइसिसी टि ट्वान्टी विश्वकप क्रिकेट प्रतियोगिताअन्तर्गत नेपालले बङ्गलादेशलाई एक सय ६ रनमा अलआउट गरेको छ । वेस्टइन्डिजको सेन्ट भिसेन्टस्थित अरनोस भाले रङ्गशालामा जारी खेलमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको बंगलादेश १९ दशमलव ३ ओभरमा सवै विकेट गुमाउँदै एक सय ६ रनमा समेटियो ।
यससँगै नेपालले नयाँ इतिहास रच्नको लागि एक सय सात रनको लक्ष्य पाएको छ । नेपालले हालसम्म टेस्ट टोलीलाई अहिलेसम्म हराउन सकेको छैन । खेलमा बङ्गलादेशका लागि सकिब अल हसनले २२ बलमा २ चौकासहित सर्वाधिक १७ रनको योगदान दिए । त्यस्तै रिशाद हसनले ७ बलमा १ चौका र १ छक्कासहित १३ रन जोडे । महमुदूल्लाह रियादले १३ बलमा दुई चौकाको सहायताले समान १३ रन नै जोडे ।
यसैगरी तक्किन अहमद र जाकेर अलीले समान १२ /१२ रन जोडे भने लिटन दासले १० रन बनाए । तोव्हीद ह्रिदोयले ९, कप्तान नाज्मुल हसन सान्टाले चार तथा तान्जिम हसन सकिब र मुस्तब फिजुर रहमानले समान ३/३ रन बनाए । बङ्गलादेशलाई सस्तैमा समेट्नेक्रममा नेपालका सोमपाल कामी, दीपेन्द्रसिंह ऐरी, सन्दीप लामिछाने र रोहितकुमार पौडेलले समान दुई दुई विकेट लिए । नेपालल अहिले जवाफी ब्याटिङमा उत्रेको छ ।
बकर इद मनाइँदै : सरकारद्वारा सार्वजनिक बिदा
काठमाडौँ, ३ असार I मुस्लिम धर्मावलम्बीको दोस्रो महान् पर्व बकर इद (इदुल जोहा) आज देशभरका मस्जिदमा मनाइँदै छ । इदुल फित्रअर्थात् रमजान पर्वको ७०औँ दिनमा बकर इद मनाउने धार्मिक विधि छ । मुस्लिम धर्मावलम्बीले आज बिहानै स्नान गरी नजिकैको मस्जिद वा इदगाहमा गई सामूहिक नमाज पढ्छन् । नमाज पढिसकेपछि एकापसमा शुभकामना आदानप्रदान गर्ने चलन छ ।
यस अवसरमा दरबारमार्गस्थित नेपाली जामे मस्जिद, काश्मिरी मस्जिदलगायत देशभरका मस्जिद र इदगाहमा मुस्लिम धर्मावलम्बीको भीड लाग्छ । हिजरी संवत् अनुसार १४३९ वर्ष पहिले अल्लाहको आदेशमा इब्राहिमले आफ्ना छोरा इस्माएल अलेह सलामलाई बलिदान गर्न तयार भएको सम्झनामा यो पर्व मनाउन थालिएको हो ।
मुस्लिम धर्म गुरु (मौलाना) रहमत अली ऐतिहासिक बकर इद पर्वको आधार बनेका इब्राहिमको वंशमा सन् ५७१ मा मक्कामा मोहम्मद सलल्ला जन्मिई निरन्तरता दिएको बताउनुहुन्छ । जसले यो पर्व एवं धर्मलाई पुस्तान्तर गर्न महत्वपूर्ण योगदान गर्दै हदिस नामक धर्मग्रन्थको रचना गर्नुभएको थियो ।
“जुन ग्रन्थलाई अहिले मुस्लिम धार्मिक विद्यालय (मदरसा) मा समेत अध्ययन अध्यापन गराइन्छ, मक्कामा जन्मिनुभएका सलल्ला ५३ वर्षको उमेरपछि मदिनामा सर्नुभएको थियो, यही सम्झनामा अहिले पनि साउदी अरबमा पर्ने यी दुवै तीर्थस्थलमा ठूलो मेला लाग्ने गरेको छ”, उहाँले भन्नुभयो ।
यस पर्वका अवसरमा मक्का मदिना जानु शुभ मानिन्छ । मक्का मदिना जान गृह मन्त्रालयले आतेजाते विमान टिकटको व्यवस्था गरी हज यात्रा गराउने गरेको छ । यसका लागि गृह मन्त्रालयअन्तर्गत हज समितिको सचिवालय स्थापना गरिएको छ । मक्का मदिना जान नपाउने हजयात्रीले समेत घर घरमै बकर इद मनाउँछन् । यो पर्वको मुख्य उद्देश्य नै हज यात्रा हो । यस पर्वमा अल्लालाई खुसी पार्न मुसलमानले धर्मले जायज मानेका जनावरलाई कुर्बानी (बली) दिन्छन् ।
धार्मिक मान्यताअनुसार अल्लाहका नवी (दूत) इब्राहिम अलि सलामले ९० वर्षको उमेरमा पत्नी हाजराबाट प्राप्त गरेको सन्तान छोरा इस्माइललाई कुर्बानी गर्नुपर्ने आदेश प्राप्त भयो । जसलाई पालना गर्दा अल्लाह प्रशन्न भएर इस्माइलको कुर्बानी नभएर स्वर्ग (जन्नत) मा पालिएका दुम्बाको कुर्बानी भएको धार्मिक मान्यता छ । यसै कारण अहिलेसम्म कुर्बानी गर्ने प्रचलनलाई कायम राखेको मुस्लिम धर्मावलम्बीको भनाइ छ ।
निसन्तान इब्राहिमले सन्तान प्राप्तिका लागि अल्लाहसँग मनन्नत मागेका थिए । अल्लाहले मलाई सन्तानको सुख दियो भने म कुर्बानी गर्छु भन्ने इब्राहिमको प्रतिबद्धता थियो । सोहीअनुरुप अल्लाहले निजको परीक्षणस्वरुप सपनामा कुर्बानी गर्नुपर्छ भनेका थिए भन्ने मुस्लिम धर्मावलम्बीको विश्वास छ ।
उनले धेरै जनावर कुर्बानी गरे तर अल्लााह खुसी भएका थिएनन् । अन्तिममा आफ्ना सबैभन्दा प्यारा छोरालाई नै कुर्बानी गरी अल्लाहलाई राजी गर्न चाहेका थिए । यस घडीमा उहाँको परीक्षण सफल सावित भएपछि कुर्बानी गर्ने स्थानमा मानिसको होइन त्यही जन्नतमा पालिएर आएका दुम्बाको कुर्बान (बलि) भएको थियो । कुर्बानीको मासु तीन भागमा वितरण गरिन्छ । एक भाग गरिब एवं विपन्न परिवारलाई, अर्को एक भाग आफ्ना इष्टमित्रलाई र तेस्रो भाग आफैँले खानुपर्ने मुस्लिम धार्मिक मान्यता छ । यसैअनुसार आज पहिलो दिनको बकर इद मनाइँदै छ ।
मुस्लिम धर्मावलम्बीले बुधबारसम्म तीन दिन यो पर्व मनाउने जनाइएको छ । यो पर्व मनाउने तीनै दिन कुर्बानी गर्नुपर्ने मुस्लिम धर्मावलम्बीको विधि रहेको नेपाली जामे मस्जिदका सचिव मन्सुर हुसेनले जानकारी दिनुभयो । यस अवसरमा सरकारले आज सार्वजनिक बिदा दिएको छ ।
पहिराले मुग्लिन मलेखु खण्ड अवरुद्ध
भरतपुर, ३ असार I पृथ्वी राजमार्गको मुग्लिन मलेखु खण्डअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–३ स्थित फिस्लिङ र मौवाखेलाको बीचमा पहिरो जाँदा राजमार्ग अवरुद्ध बनेको छ ।
सडक निर्माणका क्रममा खनेका ठाउँमा आज विहान पहिरो खस्दा राजमार्गमा सवारी साधान आवत जावत रोकिएको इलाका प्रहरी कार्यालय मुग्लिनका प्रमुख निरला भण्डारीले जानकारी दिनुभयो । उहाँले अहिले पहिरो पन्छाउने काम जारी रहेको बताउनुभयो । पहिरोका कारण गन्तव्यमा हिँडेका सवारीसाधन बाटोमा नै रोकिएका छन् ।
कुन प्रदेशको कस्तो कर नीति ?
काठमाडौँ, २ असार I सबै प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८१/८२ को बजेट प्रदेशसभामा प्रस्तुत गरिसकेका छन् । प्रदेशहरुले विनियोजन विधेयक तथा आर्थिक विधेयकमार्फत करका विभिन्न सहुलियत तथा नयाँ व्यवस्था ल्याएका छन् ।
प्रदेशको एकल तथा साझा अधिकार क्षेत्रभित्र रहेका विज्ञापन कर, मनोरञ्जन कर, ढुङ्गा, गिट्टी, बालुवालगायतका विभिन्न क्षेत्र लाग्दै आएका करका दरहरु केहिले परिमार्जन गरेका छन् भने केहिले यथावत् राखेका छन् । सवारी साधन दर्ता तथा नवीकरण, उद्योग दर्ता तथा नवीरकणलगायतका विभिन्न शूल्कमा भएको परिवर्तन र प्रदेशहरुले आगामी आर्थिक वर्षको बजेटमार्फत् तय गरेका राजस्व नीतिबारे समीक्षा I
कोशी प्रदेश
कोशी प्रदेशले राजस्वसम्बन्धी गरेको नयाँ व्यवस्थाअनुसार निजी सवारी साधनधनीले चाहेमा लाग्ने सवारी साधन कर पाँच वर्षसम्मका लागि एकमुष्ठ रुपमा बुझाई नवीकरण गर्न सक्नेछन् । अन्य प्रदेशको सरुवा सहमतिबाट यस प्रदेशमा दर्ता भएका सवारी साधनहरुलाई लाग्ने सवारी साधन करमा ५० प्रतिशत छुट दिने व्यवस्थालाई निरन्तरता दिइएको छ ।
प्रदेशभित्रका सिमेन्ट तथा इँटा, कङ्क्रिट ब्लक उद्योग, नदीजन्य पदार्थ प्रशोधन उद्योगमा वातावरण तथा औद्योगीकरण व्यवस्थापन दस्तुर लगाइएको छ । विगतका आर्थिक वर्षको सङ्कलित मनोरञ्जन कर एकमुष्ठ बुझाउँदा सोमा लाग्ने ब्याज छुटको व्यवस्था कोशी प्रदेशले बजेटमा व्यवस्था गरिएको छ ।
प्रदेश सरकार र स्थानीय तहबाट पर्यटकीय पूर्वाधार निर्माण भई समिति वा अन्य सङ्गठित संस्थाबाट सञ्चालनमा रहेका पर्यटकीयस्थलबाट उठ्ने रकमको २० प्रतिशत सम्बन्धित स्थानीय तहको विभाज्य कोषमा जम्मा गर्ने व्यवस्था ल्याइएको छ । कोशी प्रदेश सरकारअन्तर्गतका निकाय र स्थानीय तहका सरकारी निकाय लगायतका अन्य निकायले आफ्नो कार्यसँग सम्बन्धित कुनै विज्ञापन, सूचनाको प्रसारण वा प्रकाशन गर्दा लाग्ने रकम सम्बन्धित सञ्चारमाध्यम वा विज्ञापन एजेन्सीलाई भुक्तानी गर्दा तीन प्रतिशतका दरले विज्ञापन कर कट्टा गरी स्थानीय तहको विभाज्य कोषमा दाखिला गर्नुपर्ने व्यवस्था ल्याइएको छ ।
यसैगरी, ट्राफिक नियम उल्लङ्घन गरेबापत हुने दण्ड जरिवानाबापतको रकम कोशी प्रदेशभित्रका ट्राफिक प्रहरी कार्यालयले प्रदेश लेखा नियन्त्रक कार्यालय वा प्रदेश लेखा एकाइ कार्यालयमार्फत प्रदेश सञ्चित कोषमा जम्मा गर्नुपर्ने व्यवस्था बजेटमा राखिएको छ । कोशी प्रदेशले राजस्व व्यवस्थापनलाई थप प्रभावकारी बनाई आन्तरिक आय अभिवृद्धि गर्नका लागि आगामी आर्थिक वर्षमा कोशी प्रदेश कर तथा गैरकर ऐन, २०७५ लाई प्रतिस्थापन गर्न नयाँ ऐन तर्जुमा गर्ने नीति लिएको छ । आन्तरिक राजस्व सम्भाव्यता अध्ययन प्रतिवेदनलाई प्रभावकारी कार्यान्वयनका लागि राजस्व सुधार कार्ययोजना तर्जुमा गरी नीतिहरुको कार्यान्वयन गरिने पनि बजेट वक्तव्यमा उल्लेख छ ।
मधेस प्रदेश
मधेस प्रदेशका अर्थमन्त्री भरतप्रसाद शाहले प्रदेशसभा बैठकमा प्रस्तुत गर्नुभएको आगामी आर्थिक वर्षको बजेट वक्तव्यमा राजस्व प्रशासन सुदृढीकरण गरी कर तथा गैर कर चुहावट न्यूनीकरण गरिने गर्ने व्यवस्था मिलाइने उल्लेख छ । त्यस्तै, उक्त प्रदेशको राजस्व अभिवृद्धिका लागि गरिएको अध्ययन अनुसन्धान प्रतिवेदनको सुझावहरुलाई प्राथमिकता निर्धारण गरी क्रमशः कार्यान्वयन गर्ने व्यवस्था मिलाएको जनाइएको छ ।
बागमती प्रदेश
बागमती प्रदेशभित्र दर्ता भई २० वर्ष वा सोभन्दा बढी अवधि पूरा भएका सार्वजनिक सवारी साधनका धनीले आफ्नो सवारी साधनको दर्ता खारेज गराउन चाहेमा २०८१ पुस मसान्तसम्म २० वर्ष अवधिसम्मको तिर्न बुझाउन बाँकी सवारी साधन कर र नवीकरण दस्तुर बुझाएमा जरिवानामा ८० प्रतिशत छुट हुनेछ ।
सांस्कृतिक प्रदर्शन हल, कन्सर्ट, विष्टर/नाटकघर, दोहोरी साँझ, डान्सबार, नाइट क्लब, क्यासिनो, पार्क प्रवेश, फुटसल, स्वीमिङ पल, जिपलाइन, स्वीड, आकाशे सीसाको पुल, बन्जी जम्पलगायतको कर परिमार्जन गरिएको छ ।
व्यावसायिक फर्म दर्ता गरी नवीकरण नगरेका उद्योग, निजी र साझेदारी फर्म तथा व्यवसायले पछिल्लो तीन आर्थिक वर्षको नवीकरण दस्तुर र जरिवाना रकम आगामी पुस मसान्तभित्र दाखिला गरेमा सोभन्दा अगाडिका वर्षहरुमा दाखिला गर्नुपर्ने जरिवाना मिनाहा गरी नवीकरण दस्तुरमा ५० प्रतिशत छुट दिइने व्यवस्था बागमती प्रदेशले बजेतमार्फत ल्याएको छ ।
प्रदेशको आन्तरिक स्रोत परिचालनलाई दिगो र भरपर्दो बनाउन आय परिचालनका थप क्षेत्र पहिचान गर्ने तथा प्रदेशको स्रोत परिचालन सम्बन्धमा अध्ययन गरी सुझाव पेस गर्न विज्ञसहितको कार्यदल गठन गरिने पनि बजेट वक्तव्यमा उल्लेख छ । त्यस्तै, प्रदेश सरकारको एकल अधिकार क्षेत्रभित्र रहेको कृषि आयमा लाग्ने करको क्षेत्र तथा आधार निर्धारण गर्ने सम्बन्धमा अध्ययन गरिने विषय बागमती प्रदेशको बजेट वक्तव्यमा राखिएको छ ।
गण्डकी प्रदेश
गण्डकी प्रदेश सरकारले भूमि सुधार/मालपोत कार्यालयबाट मानो जोडिएकोमा लाग्ने लिखतबापतको शुल्कलाई समायोजन गरेको छ । भूमि सुधार/मालपोत कार्यालयबाट जग्गाधनी र मोहीबीच जग्गा बाँडफाँट भई दाखिल खारेज हुन आउँदा लाग्ने सेवा शुल्कलाई समायोजन गरी सेवा शुल्क नलाग्ने व्यवस्था गरिएको छ ।
सार्वजनिक बस, मिनिबस तथा माइक्रोबसमा ज्येष्ठ नागरिक र अपाङ्गता भएका व्यक्तिलाई छुट दिने व्यवस्था बजेटमा राखिएको छ । यस्तो छुट सहुलियत दिएबापत त्यस्ता सवारी साधनकाधनीलाई सवारी साधन करमा ६० प्रतिशत छुट दिने व्यवस्था ल्याइएको छ ।
गण्डकी प्रदेशको राजस्व परिचालनका लागि आर्थिक मामिला मन्त्रालयअन्तर्गत प्रदेश राजस्व व्यवस्थापन कार्यालय स्थापना गर्न आवश्यक तयारी गरिने बजेट वक्तव्यमा उल्लेख छ । त्यसैगरी, शैक्षिक परामर्श सेवा, पूर्वतयारी कक्षा र भाषा सिकाइ केन्द्रको अनुमति तथा नवीकरण शुल्क जिल्लास्थित पर्यटन तथा उद्योग कार्यालयबाट हुँदै आएकोमा आगामी आवदेखि त्यस्तो कार्य जिल्लास्थित सामाजिक विकास कार्यालयले गर्ने व्यवस्था गण्डकी प्रदेशको बजेटमा राखिएको छ ।
लुम्बिनी प्रदेश
लुम्बिनी प्रदेश सरकारबाट विभिन्न व्यक्ति, समूह, संस्थालगायतलाई नगद अनुदान उपलब्ध गराउँदा निश्चित सीमासम्मको अनुदानमा छुट दिने र सो सीमाभन्दा बढीमा न्यून दरमा सेवा शुल्क लगाई असुल गरिने बजेट वक्तव्यमा उल्लेख छ । प्रदेशको एकल अधिकार क्षेत्रभित्र रहेको कृषि आयमा लाग्ने करका दरहरु घटाइएको छ । प्रदेशभित्र सवारी साधनसम्बन्धी दण्ड जरिवानाबापतको रकम प्रदेश सञ्चित कोषमा जम्मा हुने व्यवस्था ल्याइएको छ । यातायात व्यवस्था कार्यालयबाट सङ्कलन हुँदै आएको टाँगा, रिक्सा, अटोरिक्सा र विद्युतीय रिक्सामा लाग्ने सवारी साधन कर आगामी आर्थिक वर्षदेखि सम्बन्धित स्थानीय तह आफैँले उठाउने व्यवस्था लुम्बिनी प्रदेशको बजेटमा राखिएको छ ।
यसअघि अन्य प्रदेश वा प्रदेशभित्रका अन्य कार्यालयमा सवारी साधन लैजाँदा सरुवा सहमती दस्तुर लाग्दै आएकोमा यस्तो दस्तुर नलाग्ने व्यवस्था ल्याइएको छ । त्यसैगरी, प्रदेशभित्र इजाजतपत्र नलिएका वा नवीकरण नगरी सञ्चालनमा रहेका पर्यटन व्यवसायलाई एक पटकका लागि न्यून शुल्कमा इजाजतपत्र प्राप्त गर्न वा नवीकरण गर्न सक्ने मिलाउनुका अतिरिक्त निजी तथा साझेदारी फर्मलाई विवरण बुझाउँदा लाग्ने तथा शुल्कमा छुट दिने व्यवस्था बजेटमा राखिएको छ ।
कर्णाली प्रदेश
कर्णाली प्रदेशको राजस्व परिचालनको सम्भाव्यताको आँकलन तथा अध्ययन गरी सुझाव दिन एक अध्ययन सुझाव कार्यदल गठन गरिने बजेट वक्तव्यमा उल्लेख छ । प्रदेश र स्थानीय तहको साझा अधिकारअन्तर्गत स्थानीय तहबाट सङ्कलन भई प्रदेशमा बाँडफाँटमार्फत प्राप्त हुने राजस्वलाई अनुमानयोग्य, स्वचालित र व्यवस्थित बनाउने उल्लेख छ ।
कृषि प्रयोजनका लागि दुई वा दुईभन्दा बढी व्यक्तिले आपसी सहमतिमा जग्गाको चक्लाबन्दी गर्न उद्योगको नाममा लिखत पारित गर्दा लाग्ने रजिष्ट्रेसन शुल्कमा ७५ प्रतिशत छुट दिने व्यवस्था ल्याइएको छ । कर्णाली प्रदेशभित्र सुर्ती र मदिराजन्यबाहेकका उत्पादनमूलक उद्योग स्थापना तथा सञ्चालन गर्न उद्योगको नाममा खरिद गर्ने जग्गाको लिखत पारित गर्दा लाग्ने रजिष्ट्रेसन शुल्क शतप्रतिशत छुट दिइएको छ । आर्थिक वर्ष २०७६/७७ भन्दा अगाडिको सवारी साधन कर बुझाउन छुट भएका सवारी साधन धनीले आव २०८०/८१ सम्मको सवारी साधन कर २०८१ चैत्र मसान्तसम्म दाखिला गरेमा आर्थिक वर्ष २०७६/७७ भन्दा अगाडिको सवारी साधन करमा लाग्ने जरिवाना रकम छुट हुने व्यवस्था ल्याइएको छ ।
सुदूरपश्चिम प्रदेश
सुदूरपश्चिम सरकारले घरजग्गा रजिस्ट्रेसनतर्फको सेवा शुल्क बढाएको छ । स्रोत, साधन, प्रविधि तथा जनशक्ति व्यवस्थापन एवं कानुनी व्यवस्था भई नसकेका स्थानीय तहहरूको हकमा टाँगा, रिक्सा, अटोरिक्सा र विद्युतीय रिक्सामा प्रदेश सरकारले कर लगाउने तथा उठाउने व्यवस्था गरी त्यस्तो सङ्कलित करको बाँडफाँट गर्ने व्यवस्था बजेटमा राखिएको छ ।
त्यस्तै, सवारी साधन कर, दस्तुर र शुल्कमा केही संशोधन गरिएको छ । प्रदेशभित्र विद्युतीय सूचना प्रणालीमा आधारित राइड सेयरिङ एपमार्फत सार्वजनिक सवारी साधन प्रयोग गरी सेवा दिने संस्थाको दर्ता तथा नवीकरण र दुई पाङ्ग्रे सार्वजनिक सवारी साधन करसम्बन्धी नयाँ व्यवस्था ल्याइएको छ ।
कम्तीमा पाँच वर्ष वा सोभन्दा बढी अवधिसम्म नियमानुसार बुझाउनुपर्ने सवारी साधन कर नबुझाएका र नवीकरण नगरेका सवारी साधनको हकमा सवारी साधन कर तथा नवीकरणको जरिवानामा ५० प्रतिशत छुट दिने व्यवस्था गरिएको छ । सामुदायिक तथा साझेदारी वनको आन्तरिक तथा बाह्य बिक्री वितरणबाट हुने आम्दानीमा लाग्ने बिक्री शुल्कलाई क्रमशः १० र २५ प्रतिशत कायम गरिएको छ । प्रदेशका निजी तथा साझेदारी व्यवसायलाई औपचारिक अर्थतन्त्रको परिधिमा ल्याउन प्रोत्साहन गर्दै दर्ता तथा नवीकरण दस्तुरलाई घटाइएको छ । नवीकरणको म्याद समाप्त भई पाँच वर्ष नाघिसकेका व्यवसायीहरू नवीकरण गर्न आएमा जरिवानाको १० प्रतिशत मात्र लिने विशेष व्यवस्था सुदूरपश्चिम प्रदेशले ल्याएको छ ।
विश्वकप क्रिकेटः नेपालले बङ्गलादेशसँग खेल्ने
काठमाडौँ, २ असार I आइसिसी विश्वकप क्रिकेट २०२४ अन्तर्गत समूह डी को आफ्नो अन्तिम खेलमा नेपालले भोलि बङ्गलादेशको सामना गर्दैछ ।
वेस्टइन्डिजको सेन्ट भिसेन्टस्थित अरनोस भाले रङ्गशालामा हुने उक्त खेल नेपाली समयअनुसार बिहान ५ः१५ बजेदेखि सुरु हुनेछ । अन्तिम आठमा स्थान बनाउने प्रतिस्पर्धाबाट बाहिरिसकेको नेपालका लागि उक्त खेल प्रतिष्ठाका लागि मात्र हुनेछ । तर बङ्गलादेशका लागि भने निकै महत्वपूर्ण मानिएको छ ।
समूह डि बाट दक्षिण अफ्रिका आठ अङ्कका साथ शीर्ष स्थानमा रहँदै विश्वकपको दोस्रो चरणमा प्रवेश गरिसकेको छ । अब समूह डि बाट सुपर आठमा पुग्ने दोस्रो टोलीको टुङ्गो लाग्न बाँकी छ । नेपाललाई पराजित गरेमा बङ्गलादेश समूहको दोस्रो स्थानमा रहँदै अन्तिम आठमा प्रवेश गर्नेछ । अङ्क तालिकामा बङ्गलादेशको चार अङ्क छ ।
विश्वकपमा एक अङ्क बटुलेको श्रीलङ्का भने प्रतियोगिताबाट बाहिरिसकेको छ । नेदरल्यान्ड्सको सम्भावना भने कायमै छ । नेदरल्यान्ड्स दुई अङ्कका साथ अङ्क तालिकाको तेस्रो स्थानमा छ । नेदरल्यान्ड्स र श्रीलङ्काबीचको खेल पनि भोलि नै हुनेछ ।
भोलिको खेलमा नेपाललाई बङ्गलादेशविरुद्ध दश वर्षअघि भोगेको हारको बदला लिने सुनौलो अवसर छ । नेपालले सन् २०१४ मा पहिलोपटक विश्वकपमा सहभागिता जनाउँदा बङ्गलादेशसँग पराजित हँदै प्रतियोगिताबाट बाहिरिएको थियो ।
विश्वकपमा नेपालले यसअघि खेलेको तीन खेलमा दुई खेलमा हार तथा एक खेल बराबरी खेलेको थियो । नेपालले पहिलो खेल नेदरल्यान्ड्ससँग पराजित भएको थियो । श्रीलङ्काविरुद्धको दोस्रो खेल वर्षाका कारण रद्द भएपछि दुवै टोलीले समान एक एक अङ्क बाँडेका थिए । त्यस्तै दक्षिण अफ्रिकाविरुद्धको तेस्रो खेलमा नेपाल एक रनले पराजित भएको थिथो I
नेपाल किसान महासङ्घको प्रधानमन्त्रीलाई ज्ञापनपत्र
चितवन, २ असार I नेपाल किसान महासङ्घले विभिन्न आठबुँदे मागसहित प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएको छ ।
प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई बुझाइएको ज्ञापनपत्रमा किसानका समस्या समाधान गर्न आग्रह गरिएको छ ।
दूध व्यवसायी किसानले राज्यबाट सञ्चालित दुग्ध विकास संस्थान र निजी क्षेत्रका डेरी उद्योगले भुक्तानी दिनुपर्ने रकम छ महिनादेखि बक्यौता रहेको भन्दै यथाशीघ्र उपलब्ध गराउन माग गरिएको छ । अहिले दूध उत्पादक किसानले रु चार अर्ब भुक्तानी पाउन बाँकी रहेको ज्ञापनपत्रमा उल्लेख छ ।
यस्तै, जेठ महिनामा आएको हावाहुरीका कारण जिल्लाका विभिन्न भागमा सात सय किसानले लगाएको तीन हजार पाँच सय बिगाहा क्षेत्रफलको केरामा क्षति भएको भन्दै यसको तथ्याङ्क सङ्कलन गरी यथोचित क्षतिपूर्तिको माग गरिएको महासङ्घका अध्यक्ष नीलकण्ठ रिजालले जानकारी दिनुभयो ।
जिल्लाका किसानलाई आवश्यक पर्ने मलमध्ये जम्मा ४० प्रतिशत मात्र आपूर्ति भएको र सो मलले छ महिना पनि नपुग्ने भन्दै ज्ञापनपत्रमा रासायनिक मलको आपूर्तिका लागि स्थायी प्रबन्ध गर्न माग गरिएको छ । किसानले प्रत्यक्ष पाउने गरेको ८० प्रतिशत बीमा रकम बीमा प्रदायक कम्पनीले अनुदानित बीमा रकम नआएको भनी किसानले पाउने क्षतिपूर्ति दाबी भुक्तानी रकम सात महिनादेखि रोकिएकाले यथाशीघ्र भुक्तानी दिने व्यवस्था मिलाउन माग गरिएको छ ।
महासङ्घको ज्ञापनपत्र बुझ्दै प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले किसानको माग जायज रहेको भन्दै मागसहितको ज्ञापनपत्र प्रधानमन्त्री कार्यालयलमा तत्काल पठाउने प्रतिबद्धता व्यक्त गर्नुभयो । सङ्घीय सरकारले पूरा गर्नुपर्ने माग भएको र जिल्लाबाट हुन सक्ने सहयोग गरेर हुने भए गर्न आफू तयार रहेको उहाँले बताउनुभयो ।
नेप्से परिसूचक १७ अङ्कले घट्यो
काठमाडौँ, २ असार I यो सातामा कारोबारको पहिलो दिन आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक १७ दशमलव ०४ अङ्कले घटेर दुई हजार ९५ दशमलव २५ को विन्दुमा कायम भएको छ ।
आज तीन सय १७ कम्पनीको एक करोड ३२ लाख २३ हजार आठ सय ८४ कित्ता शेयर ७१ हजार नौ सय ९७ पटक खरिदबिक्री हुँदा रु पाँच अर्ब ४७ करोड २२ लाख ५३ हजार पाँच सय ५१ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।
होटल तथा पर्यटन समूहको उपसूचक शून्य दशमलव ०४ प्रतिशतले बढेको छभने अरू सबै समूहको उपसूचक घटेको छ । सबैभन्दा धेरै लघुवित्त समूह एक दशमलव ७१ र अन्य विकास बैङ्क समूह एक दशमलव २० प्रतिशतले घटेको छ ।
नेपाल फाइनान्स लिमिटेडको शेयर मूल्यमा आज सकारात्मक सर्किट लागेको छभने भगवती हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको शेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ ।
कारोबार रकम र कारोबार भएको शेयर सङ्ख्याका आधारमा नेपाल फाइनान्स लिमिटेडको सबैभन्दा धेरै रु ३० करोड ४० लाख ५३ हजार चार सय ९२ बराबरको चार लाख ७९ हजार नौ सय ८७ कित्ता शेयर किनबेच भएको छ ।
नर्वेद्वारा युक्रेनलाई १० करोड ३० लाख डलर सहयोग
ओस्लो, २ असार I नर्वेले युक्रेनको ऊर्जा पूर्वाधारको मर्मत सम्भार गर्न र आगामी हिउँदअघि नै देशको विद्युत् आपूर्ति सुरक्षित गर्न युक्रेनलाई १.१ अर्ब क्रोनर (१० करोड ३० लाख अमेरिकी डलर) उपलब्ध गराउने घोषणा गरेको छ ।
प्रधानमन्त्री जोनास गाहर स्टोरले एक वक्तव्य जारी गर्दै भन्नुभएको छ, “रूसले विद्युत उत्पादन केन्द्रलाई ध्वस्त बनाउन व्यापक तथा व्यवस्थित आक्रमण गरिरहेको छ । तर युक्रेनी अधिकारी र विदेशी सहयोगीले युक्रेनको लागि आवश्यक विद्युत आपूर्ति कायम राख्न दिनरात काम गरिरहेका छन् ।
नयाँ अनुमानअनुसार युक्रेनको विद्युत् उत्पादन क्षमताको ५० प्रतिशतभन्दा बढी नष्ट भएको छ ।
“हामी युक्रेनसँग यो कोषको प्रभावकारी प्रयोग कसरी गर्न सकिन्छ भन्ने विषयमा नजिकको संवादमा छौँ । युक्रेनी आफैलाई के आवश्यक छ भन्ने बारेमा सबैभन्दा राम्रो अन्तर्दृष्टि छ,” स्टोरले भन्नुभयो । जाडो सुरु हुनु अघि पूर्वाधार मर्मत सुरु गर्न महत्त्वपूर्ण छ ।
नर्वेले हालै रूसी आक्रमणबाट सबैभन्दा बढी प्रभावित खार्किभ क्षेत्रमा १२ करोड क्रोनर मर्मतका लागि जाने निर्णय भइसकेको जनाएको छ ।स्विट्जरल्याण्डमा युक्रेनको शान्ति शिखर सम्मेलनमा भाग लिने क्रममा स्टोरले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “खार्किभ क्षेत्रका सातवटा प्रसूति एकाइ र सञ्चालन थिएटरमा सौर्य प्यानल जडान गरिनेछ ।सन् २०२२ मा नर्वेले युक्रेनी ऊर्जा क्षेत्रमा दुई अर्ब १० करोड क्रोनर र गत वर्ष एक अर्ब ९० करोड क्रोनर अनुदान उपलब्ध गराएको थियो । स्क्यान्डिनेभियन देशले युक्रेनलाई सन् २०२३ देखि २०२७ सम्मको पाँच वर्षको अवधिका लागि ७५ अर्ब क्रोनर सैन्य तथा नागरिक सहायता उपलब्ध गराउने प्रतिबद्धता जनाएको छ ।-रासस/एएफपी