काँकरभिट्टा नाकाबाट हुने नेपाल-बङ्गलादेश व्यापार निरन्तर घाटामा
भद्रपुर (झापा), २५ जेठ I नेपालले आर्थिक वर्ष २०५४/०५५ देखि सिधा व्यापार सुरु गरेको दक्षिण एसियाली मुलुक बङ्गलादेशसँग व्यापार घाटा बढ्दो क्रममा छ । कुनै समय रु पाँच अर्बभन्दा बढीको मालसामान बङ्गलादेश निर्यात गरेको नेपाल अहिले केही करोडमै सीमित हुन पुगेको छ ।
नेपाल पारवहन तथा गोदाम व्यवस्था कम्पनी लिमिटेड शाखा कार्यालय काकरभिट्टाका निमित्त प्रमुख सुवास पाण्डेयका अनुसार नेपाल—बङ्गलादेशबीचको व्यापार पछिल्लो एक दशकयता निरन्तर खुम्चिँदो अवस्थामा छ । आव २०७०/०७१ सम्ममा द्विपक्षीय व्यापारमा आयात कम र निर्यात बढी हुने गरेकामा हाल निर्यातको अवस्था झरेको छ ।
मेची भन्सार कार्यालय काकरभिट्टाका सूचना अधिकारी गणपति कँडेलले चालु आवको वैशाख मसान्तसम्म बङ्गलादेश निर्यात रु २३ करोड ७४ लाख ३९ हजार हुँदा आयात रु तीन अर्ब १७ करोड ९९ लाख बढी भएको छ । उहाँका अनुसार आव २०७८/०७९ मा नेपालले बङ्गलादेशबाट पछिल्लो दशककै सबैभन्दा बढी आयात गरेको थियो । त्यस वर्ष आयात रु ११ अर्बभन्दा बढी हुँदा निर्यात भने रु ६३ करोडमै सीमित हुन पुगेको थियो ।
गोदाम व्यवस्था कम्पनीको तथ्याङ्कअनुसार द्विपक्षीय व्यापारको पछिल्लो २६ वर्षमा १० वर्षयता नेपालबाट हुने निर्यात बङ्गलादेशबाट हुने आयातको तुलनामा बढी देखिन्छ । आव २०७१/०७२ देखि नेपालबाट निर्यात कम र बङ्गलादेशबाट आयात निरन्तर बढिरहेको छ ।
हाल दाल, जडीबुटी, मोलासिस, खाद्यपदार्थ, पशु आहाराका लागि कच्चापदार्थ, खयरकत्था, रङ्गरोगनका पदार्थ मुख्य निर्यात हुने वस्तुहरु हुन् भने जुट, भटमासको पिना, एलोपेथिक औषधि, लिड—एसिड ब्याट्री, कपडा, फलफूलका जुस, ग्लास सिट, बिस्कुट तथा चकलेटलगायतका मालवस्तु बढी आयात हुनेमा पर्छन् ।
भन्सार एजेन्ट नवीन दाहालले नेपालबाट निर्यात हुने वस्तुमा बङ्गलादेशले भन्सार महसुल धेरै लगाएको र उताबाट यहाँ आयात हुने वस्तुमा ज्यादै न्यून भन्सार महसुल दर छ । भन्सार महसुल कम गर्न सकेमा बङ्गलादेशमा उच्च माग रहेका तरकारीजन्य वस्तु र अन्य कृषिजन्य उत्पादन नेपाली व्यवसायीहरूले निर्यात गर्न सक्ने उहाँले बताउनुभयो ।
बङ्गलादेशमा अदुवा, अलैँची, अम्लिसो तथा जडीबुटी निर्यातको सम्भावना धेरै छ । नेपाल सरकारले यी वस्तुको निर्यातमा अनुदानको व्यवस्था गरी प्रोत्साहन दिन सकेमा निर्यात बढ्ने व्यावसायीहरुको भनाइ छ ।
बङ्गलादेशले भारतबाट निकासी हुने कतिपय उस्तै वस्तु नेपालबाट निर्यात गर्दा बढी भन्सार महसुल लिने गरेकाले निर्यात घटेको भन्सार एजेन्ट दाहालले बताउनुभयो । द्विपक्षीय व्यापारमा यीलगायत अन्य समस्या समाधान गर्न सकेमा बङ्गलादेशमा निर्यात बढाउन सक्ने उहाँको भनाइ थियो ।
नेपाल-बङ्गलादेश द्विपक्षीय व्यापार सम्झौतामा सुधार गरी निकासी गर्ने नयाँ मालवस्तु पहिचान गर्न सकेमा निर्यात बढ्ने नेपाल पारवहन तथा गोदाम व्यवस्था कम्पनी लिमिटेड शाखा कार्यालय काकरभिट्टाका निमित्त प्रमुख पाण्डेय बताउनुहुन्छ । “बङ्गलादेशमा उच्च माग रहेका वस्तु पहिचान गरी नेपालबाट निकासी गर्न सकेमा धेरै लाभ उठाउन सकिन्छ”, उहाँले भन्नुभयो ।
नेपालको पूर्वी नाका काकरभिट्टाबाट भारत पश्चिम बङ्गालको फूलबारी, बङ्गलादेशको उत्तरी नाका बङ्गलाबन्ध हुँदै जान्छ । सुरुआतमा यो रुटबाट नेपाल—बङ्गलादेशबीच मात्रै व्यापार हुने गरेकामा पछिल्लो समय भारत र भुटानले समेत बङ्गलादेशसँग व्यापार गरिरहेको फूलबारी भन्सारका ‘सुपरिटेन्डेन्ट’ सञ्जीव कुमार बताउनुहुन्छ ।
बङ्गलाबन्ध नाका प्रयोग गरी भुटानले दैनिक औसतमा १५० बढी टिप्पर ढुङ्गा गिट्टी बङ्गलादेश निर्यात गरी आर्थिक लाभ लिइरहेको फूलबारी भन्सारका ‘सुपरिटेन्डेन्ट’ कुमारले बताउनुभयो । “भारतले पनि ढुङ्गा गिट्टीलगायत अन्य मालवस्तु यही नाकाबाट बङ्गलादेश निर्यात गरिरहेको छ” उहाँले भन्नुभयो ।
केराखेतीबाट रु तीन करोड आम्दानी
म्याग्दी (बेनी), २५ जेठ I बेनी नगरपालिका–२ खबराका तेजेन्द्र कार्कीले धान रोप्ने खेतमा केराखेती विस्तार गर्नुभएको छ । विगत छ वर्षदेखि व्यावसायिक केराखेती सुरु गर्नुभएका कार्कीले करिब २० रोपनी खेतबारीमा खेती विस्तार गर्नुभएको छ ।
यस वर्ष बगरफाँटमा रहेको खेतमा पनि केराखेती विस्तार गर्ने योजना रहेको कार्कीले बताउनुभयो । खेती गर्न सजिलो, लगानी धेरै नहुने र उत्पादन भएको केराको सहज बजारीकरण हुने भएकाले परम्परागत अन्नबाली छाडेर नगदेबालीको रुपमा केराखेती विस्तार गरेको उहाँको भनाइ छ । कार्कीले अहिले वार्षिक रु छ लाख बढी आम्दानी हुने गरेको जानकारी दिनुभयो ।
कार्की जस्तै स्थानीय चन्द्रबहादुर घिमिरेले पनि १० रोपनी बारीमा केराखेती गर्नुभएको छ । धानखेती गर्दा धेरै खेताला चाहिने र लगानी अनुसारको उत्पादन नहुने भएपछि केराखेतीमा लागेको उहाँले बताउनुभयो । “केरा लगाएको दुई वर्षमा फल दिन सुरु हुन्छ । एउटा बोट लगाएपछि आफैँ घारीको रुपमा विस्तार हुन्छ । यो वर्ष थप तीन रोपनी खेतमा केरा लगाउन सुरु गरेको छु, अहिले मासिक रुपमा रु १५ देखि २० हजारको केरा बिक्री हुँदै आएको छ”, उहाँले भन्नुभयो ।
खबरा क्षेत्रमा चन्द्रबहादुर कार्की, सोवित शर्मा, प्रेमबहादुर कुँवर, राजीप घिमिरे, डोलेन्द्र सापकोटा, गणेश जिसी, रामकृष्ण खड्का, ध्रुव सापकोटा, मानबहादुर थापालगायतले प्रत्येकले १० रोपनी बढीमा केरा खेती गर्दै आउनुभएको छ ।
बेनी नगरपालिका–२ को सानो खबरा, ठूलो खबरा, अम्बोट, रोटेपानी, बगरफाँटलगायत बस्ती केराखेतीको पकेट क्षेत्र मानिन्छ । यो क्षेत्रका करिब दुई सय ५० किसानले छ सय ५० रोपनीभन्दा बढी क्षेत्रफलमा व्यावसायिक रुपमा केराखेती गर्दै आएका खबरा केरा पकेट विस्तार कार्यक्रमका संयोजक सोवित शर्माले जानकारी दिनुभयो । उहाँका अनुसार सिङ्गो गाउँ नै केराखेतीमा लागेपछि यहाँका स्थानीयको आर्थिकस्तरम सुधार हुँदै गएको छ ।
गत वर्षमा केरा बिक्री गरेर गाउँमा रु तीन करोड भित्रिएको संयोजक शर्माले जानकारी दिनुभयो । “गाउँमा केराखेतीको लहर चलेको छ, उपयुक्त उर्भर भूमि भएकाले पनि केराखेतीमा लागेकाहरु उत्साहित बनेका छन्”, उहाँले भन्नुभयो, “उत्पादन भएको केरा खरिद गर्न बेनी र बागलुङ बजारबाट व्यापारी गाउँसम्म आइपुग्छन् ।”
यस क्षेत्रमा चिनीचम्पा, हजारिया, धुर्से, मुरेलगायत प्रजातिका केरा उत्पादन हुने गरेको संयोजक शर्माले बताउनुभयो । उहाँका अनुसार खबरा क्षेत्रमा परम्परागत रुपमा घरायसी प्रयोजनका लागि केराखेती हुँदै आएकामा एक दशक अघिबाट केराको व्यावसायिक खेती सुरु भएको हो ।
गाउँका अधिकांश किसानले धान, गहुँ, मकै लगायतका परम्परागत खाद्यबाली लगाउन कम गरिसकेका छन् । खेतीयोग्य जमिन अधिकांशमा केराखेती विस्तारको अभियान चलेको छ । केरामा अत्यधिक सम्भावना देखिएपछि बेनी नगरपालिकाले यस क्षेत्रमा केरा पकेट विकास कार्यक्रम सञ्चालन गरेर व्यावसायिकता र क्षेत्र विस्तारमा सहयोग गर्दै आएको छ ।
गत वर्षदेखि सुरु भएको केरा पकेट कार्यक्रमअन्तर्गत नगरपालिकाले क्षेत्र विस्तार, थोपा सिँचाइ, तालिम, औँजार उपकरण, मल, बिरुवालगायत क्षेत्रमा अनुदान सहयोग गर्न थालेको छ । गतवर्ष नगरपालिकाको रु ११ लाख र किसानको रु ११ लाख साझेदारीमा एक सय रोपनी बढीमा केराखेतीको क्षेत्र विस्तारसँगै मल, बिरुवा र आँैजार उपकरणमा सहयोग गरिएको नगरपालिकाका कृषि शाखा प्रमुख आकृति ढुङ्गानाले जानकारी दिनुभयो ।
उहाँका अनुसार, चालु आर्थिक वर्षमासमेत नगरपालिकाले रु छ लाख र समुदायको रु छ लाख साझेदारीमा केराका बिरुवा वितरणसँगै थोपा सिँचाइ विस्तार र केराको बहुआयामिक उपयोगिताको सन्दर्भमा तालिम सञ्चालन गरिएको छ । गतवर्ष छ हजार दुई सय बोट केरा विस्तार गरिएकामा चालु आर्थिक वर्षमा थप तीन हजार पाँच बिरुवा लगाएर खेती विस्तार गर्ने तयारी भइरहेको उहाँले जानकारी दिनुभयो ।
केराको व्यावसायिक खेतीगर्दै आएका यहाँका किसानले फल र बोट दुवैबाट आयआर्जन गर्न थालिसकेका छन् । केराको थामबाट रेशा निकालेर फाइबर, धागो, कपडा र सेनेटरी प्याड बनाउने र खेर गएको थामको थुलोबाट कम्पोष्ट मल बनाउने तालिम लिएपछि केराखेतीमा लागेका किसानले बोट र फल दुवैबाट आयआर्जन गर्न थालेका कृषि शाखा प्रमुख ढुङ्गानाले बताउनुभयो ।
गर्मीयाममा केराको बजार अभाव नहुने भए पनि चिसो मौसममा बजार अभाव हुने भएकाले स्थानीयले केराबाट पाउडर, चिप्स, बिस्कुट बनाउने प्रविधिको खोजी गर्न थालेका उहाँको भनाइ छ ।
अमेरिकामा बढ्दो गर्मीका कारण ११ जना अस्पताल भर्ना
वासिङ्टन डीसी, २५ जेठ (रासस /एएनआई) I एरिजोना राज्यको फिनिक्स शहरमा बढ्दो गर्मीका कारण पूर्व–राष्ट्रपति डोनाल्ड ट्रम्पको कार्यक्रमका लागि प्रतिक्षा गरिरहेका लगभग एक दर्जन मानिसहरू अस्पतालमा भर्ना भएका छन् ।
फिनिक्स फायर विभागले उत्तरी फिनिक्सको ड्रीम सिटी चर्चमा आयोजना गरिएको कार्यक्रममा सहभागी ११ जनालाई अस्पतालमा लगेको द हिलले जनाएको छ ।
फिनिक्स राष्ट्रिय मौसम विभागका अनुसार यस वर्ष पहिलो पटक बिहीबार तापक्रम ११० डिग्री फरेनहाइट पुगेको बताएको हो । अनलाइनमा प्रसारण गरिएको भिडियो र फोटोहरूले चरम गर्मीका कारण धेरै मानिसहरू बेहोस भएको र चिकित्सा सहायताको आवश्यकता परेको देखाइएको छ ।
गाँजा खेती सम्भाव्यताबारे नियमावली बनाएर अध्ययन गरिने : गृहमन्त्री लामिछाने
काठमाडौँ, २५ जेठ I उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले गाँजा खेतीको सम्भाव्यताबारेमा अध्ययन तथा अनुसन्धान गर्न यथाशीघ्र नियमावली बनाउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।
आगामी आव २०८१/८२ को बजेटमा समावेश गरिएको गाँजा खेतीबारे छलफल गर्न प्रतिनिधिसभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठकमा गृहमन्त्री लामिछानेले यस विषयमा पर्याप्त छलफल भइसकेकाले अब कुनै दुविधा नरहेको बताउनुभयो ।
उहाँले भन्नुभयो, “गाँजा खेतीको औषधिजन्य र व्यावसायिक प्रायोजनका लागि अध्ययन तथा अनुसन्धान गर्न यथाशीघ्र नियमावली बनाउँदैछाँै । यी दुई विषय मात्र नभई गाँजासम्बन्धी बहुआयामिक तरिकाले अध्ययन गर्न सकियोस् भने एक महिनामा सम्भवत अध्ययन समित बनाउनेछौँ ।”
गृहमन्त्री लामिछानेले गाँजासम्बन्धी कानुन बनाउँदा सामाजिक परिवेशलगायत नियमनको पाटोमा पनि जोड दिने बताउनुभयो । उहाँले लागुऔषध दुव्र्यसनीमा फसेका र लागुऔषध ओसारपसारमा लागेकालाई फरक तरिकाले हेरिने भन्दै यसबारेमा पनि अध्ययन भइरहेको जानकारी दिनुभयो । ।
“कोही कानुनी अनभिज्ञताका कारणले पनि जेल बसेका छन् । जनचेतनाको अभावले पनि दुव्र्यसनी तथा ओसारपसारमा लागेका छन् । यसबारेमा पनि गहिरिएर अध्ययन गर्दैछाैँ”, गृहमन्त्री लामिछानेले भन्नुभयो ।
समितिका सभापति डा आरजु राणा देउवाले गृहमन्त्री लामिछानेको प्रतिबद्धतालाई स्वागत गर्दै आगामी भदौसम्म नियमावलीका लागि समयावधि उपलब्ध गराउनुभएको छ । उहाँले भन्नुभयो, “उक्त अवधिमा गृह मन्त्रालयले काम अघि नबढाए समितिअन्तर्गत उपसमिति गठन गर्नेछ । छलफलमा उठेका विषयलाई गृह र अर्थ मन्त्रालयलाई जानकारी दिने छौँ ।”
गणेश हिमालको आधार शिविरसम्म पदमार्गको खोजी
गोरखा, २५ जेठ I गोरखाको उत्तरी क्षेत्रमा पर्ने चुमनुब्री गाउँपालिकास्थित गणेश हिमाल आधार शिविरसम्म पुग्न पदमार्गको सम्भाव्यता अध्ययन गरिएको छ । धार्चे मनास्लु पर्यटन विकास समितिका अध्यक्ष सानेबहादुर गुरुङले पर्यटन प्रवद्र्धनमा थप मद्दत पुग्ने अपेक्षासहित गणेश हिमालको आधार शिविरसम्म पदमार्गको पहिचानका लागि प्रारम्भिक अध्ययन गरिएको जानकारी दिनुभयो ।
स्थानीय सरोकार भएकाहरू सहित इन्फ्रा डेभलपमेण्ट कन्सल्ट्यान्टको टोलीले करिब चार हजार आठ सय १० मिटर उचाइसम्म पुगेर पदमार्गको सम्भाव्यता अध्ययन गरेको उहाँले बताउनुभयो । सम्भावित पदमार्गको कतिपय ठाउँमा खानेपानीको समस्या देखिएकाले कहाँबाट पानी ल्याउन सकिन्छ भन्नेमा थप अध्ययन गर्न बाँकी रहेको उहाँले बताउनुभयो । ‘‘विसं २०७९ मा धार्चेसम्म गणेश हिमाल पदमार्ग सम्भाव्यता अध्ययन भइसकेको थियो, चुमनुब्रीतर्फ काम भएको थिएन, यसपटक प्रारम्भिक अध्ययनको काम सम्पन्न गरिएको छ’’, अध्यक्ष गुरुङले भन्नुभयो ।
अध्ययनका क्रममा पदमार्गमा पर्यटक बस्नका लागि सुरक्षित क्याम्प रहने स्थान, जोखिमपूर्ण स्थानलगायतको पनि अध्ययन गरिएको थियो । धार्चे र चुमनुब्री गरी गणेश हिमाल पदमार्ग पूरा गर्न करिब एकहप्ता लाग्ने अनुमान गरिएको छ ।
टोलीले सल्लेरी, पातीबाट देवल, दोङकरचेत, लङ्तखर्क, भीमाथाङखोला हुँदै गणेश हिमालको आधार शिविरसम्म पदमार्गको अध्ययन गरेको अध्यक्ष गुरुङले जानकारी दिनुभयो । ‘‘पदमार्गको ठाउँठाउँमा साइन बोर्ड राख्नुपर्ने र तीन ठाउँमा पुल हाल्नुपर्ने अध्ययनका क्रममा पाइएको छ”, उहाँले भन्नुभयो, “त्यति गर्नसके पदमार्गमा पर्यटक भित्र्याउन सकिन्छ ।’’
अस्थिरतामा रमाउनु राम्रो होइन : अध्यक्ष ओली
चितवन, २५ जेठ I नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक अस्थिरतामा रमाउनु राम्रो नभएको बताउनुभएको छ ।
आज यहाँ पत्रकारसँग कुराकानी गर्दै उहाँले राजनीतिक अस्थिरतामा रमाउनुभन्दा स्थिरता कायम गरेर अघि बढ्नु राम्रो हुने बताउनुभयो । “सात प्रदेश र केन्द्रमा कसैको पनि बहुमत छैन, यसले अस्थिरता जन्माउँछ । यस स्थितिमा कोही पनि रमाउने र खुसी हुने कुरा छैन”, उहाँले भन्नुभयो,“संवैधानिक र कानुनी व्यवस्थाका कारण कोही कसैको पनि बहुमत आउने स्थिति छैन, यसर्थ राष्ट्रिय दृष्टिकोणका साथ अघि बढ्नुपर्ने आवश्यकता छ ।”
राजनीतिक दलमा परिपक्वता नदेखिँदा अस्थिरता बढेको बताउँदै अध्यक्ष ओलीले अब राष्ट्रिय राजनीतिलाई जिम्मेवार र परिपक्व बनाएर लैजानुपर्नेमा जोड दिनुभयो । उहाँले वर्तमान सत्ता गठबन्धनलाई अगाडि बढाउन जरुरी रहेकाले यसलाई भत्काउन दिइँदैन भन्नुभयो । “ अहिलेको समीकरण बनाउन र विश्वासको मत नदिने योजनामा केही दलहरु थिए तर त्यो सफल भएन । यो समीकरण टुट्यो भने देशमा राम्रो हुनेवाला छैन, त्यसैले समीकरण भत्किन दिइँदैन”, अध्यक्ष ओलीको भनाइ थियो ।
यसैगरी उहाँले आफ्नो पार्टीले सरकारले ल्याएको बजेट राम्रो हुनुपर्छ भन्ने कुरा राखेको र यस्तो भन्नु नराम्रो नभएको बताउनुभयो । फरक प्रसङ्गमा कुरा गर्दै उहाँले भारतका प्रधानमन्त्रीको शपथग्रहणमा नेपालका प्रधानमन्त्रीहरू जाने पुरानो परम्परा रहेकाले वर्तमान प्रधानमन्त्री त्यहाँ जानुलाई अन्यथा लिन नहुने धारणा राख्नुभयो ।
भाजपा नेता मोदीले राष्ट्रपतिलाई गठबन्धन सम्झौता प्रस्तुत गर्ने
नयाँदिल्ली, २५ जेठ I भारतीय जनता पार्टी (भाजपा)को नेतृत्वमा भएको राष्ट्रिय लोकतान्त्रिक गठबन्धन (एनडिए) का नेता नरेन्द्र मोदीले शुक्रबार राष्ट्रपतिसँग गठबन्धन सम्झौता प्रस्तुत गर्ने अपेक्षा गरिएको छ ।
विगत एक दशकसम्म स्पष्ट रूपमा शासन गरेको मोदीको हिन्दू–राष्ट्रवादी भारतीय जनता पार्टी (भाजपा) ले आफ्नो अघिल्लो दुई फराकिला जित दोहो¥याउन भने असफल भएपछि गठबन्धन सम्झौता गर्र्नुपरेको छ ।
अर्को सरकार गठनका लागि औपचारिक स्वीकृति लिन मोदीले आफ्ना सहयोगी दलका नेतासहित शुक्रबार राष्ट्रपति द्रौपदी मुर्मुसँग भेट्ने अपेक्षा गरिएको भारतीय समाचार संस्था प्रेस ट्रस्ट अफ इन्डिया (पिटिआई)ले जनाएको छ ।
नेता मोदीले तेस्रो कार्यकालका लागि इच्छा प्रकट गरेपछि यसलाई समर्थन गर्दै एनडिएले बुधबार सर्वसम्मतिले नेताको रूपमा चयन गरेको छ । गठबन्धनले संसदमा दुई सय ९३ सिट हाँसिल गरेको छ ।
मोदीको पार्टीले गठबन्धनका सदस्यहरूको समर्थन प्राप्त गर्नका लागि के–कस्ता सम्झौता गरिएको थियो भन्ने खुलासा गरेको छैन तर ठूला दलहरूले महत्वपूर्ण मन्त्री पदहरू खोजिरहेका भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
इन्डियन एक्सप्रेसले शुक्रबार दक्षिणी राज्य आन्ध्र प्रदेशको तेलुगु देशम पार्टी (टिडिपी) १६ सिटसहित सबैभन्दा ठुलो भाजपाको सहयोगीले नयाँ विधायिकी राजधानी निर्माण गर्ने योजनाको पुनरुत्थानका लागि दबाब दिने रिपोर्ट गरेको छ ।
यसैबिच, भाजपाको दोस्रो ठुलो सहयोगी, बिहार राज्यको जनता दल (युनाइटेड) पार्टीले सैन्य खर्च कटौती गर्न सरकारले सन् २०२२ मा सुरु गरेको विवादास्पद सेना भर्ती योजनाको समीक्षा गर्न खोजिरहेको छ ।
भारतीय सञ्चारमाध्यमका अनुसार मोदीले आइतबार प्रधानमन्त्रीका रूपमा शपथ लिने सम्भावना छ ।
बङ्गलादेशकी शेख हसिना र श्रीलङ्काका राष्ट्रपति रनिल विक्रमसिङ्घे र नेपालका प्रधानमन्त्री पुष्प कमल दाहालसहितका क्षेत्रीय नेताहरूले समारोहमा सहभागी हुने अपेक्षा गरिएको छ ।
“हाम्रो तेस्रो कार्यकालले देश विकासको नयाँ अध्याय लेख्नेछ,” मोदीले आफ्नो जितपछि राजधानी नयाँ दिल्लीमा उत्साही समर्थकहरूको भन्नुभयो ।(रासस/एएफपी)
मधेस प्रदेशको मुख्यमन्त्रीमा सिंह नियुक्त
धनुषा, २५ जेठ I मधेस प्रदेशको मुख्यमन्त्रीमा जनमत पार्टीका सतिशकुमार सिंह नियुक्त हुनुभएको छ ।
प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले संविधानको धारा १६८ को उपधारा २ अनुसार प्रदेशसभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलका बहुमत सदस्यको समर्थनसहित दाबी परेपछि सिंहलाई आज मुख्यमन्त्रीमा नियुक्त गर्नुभएको हो ।
उहाँलाई सङ्घीय सत्ता गठबन्धनमा रहेका दल नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), नागरिक उन्मुक्ति पार्टीलगायत बहुमत प्रदेशसभा सदस्यले समर्थन गरेका छन् ।
सिहंले आजै पद तथा गोपनीयताको सपथ ग्रहण गर्ने तयारी छ ।
सिंह सप्तरी निर्वाचन क्षेत्र नं २ (क) बाट निर्वाचित हुनुहुन्छ । यसअघि उहाँ २०७४ को स्थानीय तह निर्वाचनमा सप्तरीको तिलाठी कोइलाडी गाउँपालिकाका अध्यक्ष निर्वाचित हुनुभएको थियो । त्यसपछि २०७९ मा भएको स्थानीय तह निर्वाचनमा सोही गाउँपालिका अध्यक्षमा पराजित भएपछि सोही वर्षको आम निर्वाचनमा जनमतबाट उम्मेदवार भई प्रदेशसभा सदस्य हुनुभएको थियो ।
नौ महिनामा विद्युत् प्राधिकरणको नाफा ११ अर्ब
काठमाडौँ, २५ जेठ I नेपाल विद्युत् प्राधिकरणले चालु आर्थिक वर्ष २०८०/ ८१ को नौ महिनामा रु ११ अर्ब छ करोड बराबरको नाफा कमाएको छ । प्राधिकरणको चालु आवको चैत महिनाको वित्तीय विवरण (अपरिष्कृत) अनुसार, यस अवधिमा विद्युत् बिक्री, ब्याज तथा अन्य आम्दानीबाट कूल रु ९३ अर्ब ९४ करोड आम्दानी गरेको छ ।
प्राधिकरणले सूचनाको हकसम्बन्धी ऐनमा भएको व्यवस्थाबमोजिम सार्वजनिक गरेको विवरणअनुसार विद्युत्् खरिद, प्रशासनिक, आयोजनामा लगानीलगायतमा जम्मा रु ८२ अर्ब ८८ करोड खर्च भएको छ । प्राधिकरणको मुख्य आम्दानी र खर्च क्रमशः विद्युत् बिक्री र खरिद तथा आयोजनामा हुने गरेको छ ।
प्राधिकरणले यसअवधिमा रु ११ अर्ब छ करोड नाफा (करकट्टी गर्नुअघि अपरिष्कृत) आर्जन गरेको हो । गत आर्थिक वर्ष २०७९÷८० को सोही अवाधिमा प्राधिकरणको नाफा रु आठ अर्ब ८८ करोड थियो । गत आवको मुनाफा रु १३ अर्ब ३७ करोड थियो ।
प्राधिकरणको सञ्जित मुनाफा रु ३३ अर्ब ६४ करोड पुगेको छ । आव २०७२÷७३ मा रु आठ अर्ब ८९ करोड वार्षिक घाटामा रहेको प्राधिकरण त्यसपछिका वर्षहरुबाट निरन्तर नाफामा छ । विद्युत्् चुहावट नियन्त्रण, आन्तरिकरुपमा तथा भारतर्फको विद्युत् निर्यात बढ्दा आम्दानीमा भएको वृद्धि, खर्च नियन्त्रणलगायतले गर्दा चालु आवको नौ महिनामा उल्लेख्य नाफा कमाउन सफल भएको बताउनुभयो ।
प्राधिकरणले चालु आवको नौ महिनामा विद्युत् बिक्रीबाट रु ६८ अर्ब ८९ करोड खुद सङ्कलन गरेको छ । यस अवधिमा देशभित्रका निजी क्षेत्रका ऊर्जा उत्पादकबाट र आफ्ना सहायक तथा सम्बद्ध कम्पनीबाट विद्युत्् खरिदका रु ३८ अर्ब २० करोड भुक्तानी गरिएको छ ।
यसअवधिमा हिउँदयामको माग धान्न रु ११ अर्ब ५५ करोडको विद्युत्् भारतबाट आयात गरिएको छ । आन्तरिक रुपमा खपत गरी बढी भएको रु १३ अर्ब ४२ करोड बराबरको विद्युत्् भारततर्फ निर्यात गरिएको प्राधिकरणले जनाएको छ ।
आफ्नो स्रोतबाट झण्डै १८ अर्ब खर्च
प्राधिकरणले आफूले कमाएको नाफाबाट चालु आवको चैत महिनासम्ममा रु १७ अर्ब ८२ करोड विद्युत्् उत्पादन, प्रसारण र वितरणतर्फका आयोजनाको लगानी गरेको छ । यसअवधिमा सरकारले विभिन्न आयोजना र ग्रामीण विद्युतीकरणका लागि प्राधिकरणलाई रु एक अर्ब ६३ करोड ऋण दिएको छ ।
सरकारले दिएको ऋण र आफ्नो स्रोतबाट यस अवधिमा रु १९ अर्ब ४५ करोड विकास बजेट खर्च भएको छ । यसअवधिमा वैदेशिक सहायतातर्फबाट रु १४ अर्ब ४३ करोड खर्च भएको छ ।
सरकारको बजेट सीमितताका कारण सरकारबाट लगानीका लागि पर्याप्त रकम पाउन सकिरहेका छैनौँ, यस्तो जटिल अवस्थामा संस्थाले कमाएको नाफाबाट विद्युत्् उत्पादन, प्रसारण र वितरणतर्फका पूर्वाधार विस्तार तथा सुदृढीकरण, विद्युतीकरणतर्फका आयोजनामा प्राधिकरणले हरेक वर्ष अर्बौं रुपैयाँ लगानी गरिरहेको छ I
विश्वकपको पूर्वविजेता पाकिस्तान अमेरिकासँग पराजित
काठमाडौँ, २५ जेठ I आइसिसी टि–२० विश्वकपको पूर्वविजेता पाकिस्तान सुपरओभरमा अमेरिकासँग पराजित भएको छ ।
अमेरिकाको डालसस्थित ग्राण्ड प्रेरी क्रिकेट रङ्गशालामा गए राति सम्पन्न समूह ‘ए’को खेलमा दुवै टोलीले बराबर खेलेपछि खेल सुपरओभरमा पुगेको थियो । डालासमा घरेलु टोली अमेरिकाले पाकिस्तानलाई जितको लागि १९ रनको लक्ष्य दिएको थियो । पाकिस्तान १३ रनमा समेटिएपछि अमेरिका विजयी भएको हो ।
टस हारेर पहिला ब्याटिङ गरेको पाकिस्तानले निर्धारित २० ओभरमा सात विकेट गुमाउँदै एक सय ६० रनको लक्ष्य प्रस्तुत गरेको थियो । अमेरिकाले २० ओभरमा तीन विकेट गुमाएर बराबर गर्यो। अमेरिकाका लागि कप्तान मोनाङक पटेलले सर्वाधिक ५० रन बनाए । उनले ३८ बलमा सात चौका र एक छक्काको सहायताले सर्वाधिक ५० रन बनाएका थिए । त्यस्तै आरोन जोनेसले ३६ र आन्द्रेस गौसले ३५ रन बनाएका थिए । पाकिस्तानका मोहम्मद आमिर, नसिम साह र हरिस रौफले समान एक–एक विकेट लिए ।
त्यसअघि पाकिस्तानको लागि कप्तान बाबर आजमले ४३ बलमा ४४ रन बनाए । त्यस्तै सादव खानले २५ बलमा ४० रन बनाए भने साहिन शाह अफ्रिदीले २३ रन जोडे । अमेरिकाका नोष्थुश केजिङ्गेले तीन विकेट लिए भने सौरभ नेत्रवालकरले दुई विकेट झारे । त्यस्तै अली खान र जसदीप सिंहको नाममा समान एक–एक विकेट रह्यो ।