सोमबार, ०८ असार २०८३

/frontend/images/redline.png
https://jawaaf.com/storage/01KFF7WM8T17D0TC0SCA0CNKQQ.jpg

सिन्धुली–२ मा नेकपा र कांग्रेसभित्र विद्रोह, आधिकारिक उम्मेदवारविरुद्ध छुट्टाछुट्टै दाबी

रामेछाप । फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि मनोनयन दर्ताको क्रममा सिन्धुली–२ मा दुई ठूला दल नेपाली कम्युनिष्ट पार्टी (नेकपा) र नेपाली कांग्रेस भित्र विद्रोही उम्मेदवारी परेको छ ।

नेकपाका आधिकारिक उम्मेदवार लेखनाथ दाहाल ‘राजन’ विरुद्ध सोही पार्टीका नेता तथा पत्रकार महेश्वर दाहालले विद्रोही उम्मेदवारी दर्ता गराएका छन् । दाहालले पार्टीका नेता हरिबोल गजुरेल, वसन्त माझी, पानीराज बम्जन लगायतको समर्थनमा मनोनयन दर्ता गराएका हुन् ।

जिल्ला पार्टीले सिफारिस नै नगरेका व्यक्तिलाई पार्टी संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उम्मेदवार बनाएको भन्दै जिल्लास्तरमा असन्तुष्टि देखिएको छ । उम्मेदवार छनोट कार्यदलले पार्टी केन्द्रलाई पत्र पठाउँदै निर्णय पुनर्विचार गर्न सुझावसमेत दिएको थियो ।

यस्तै, अर्को ठूला दल नेपाली कांग्रेसमा पनि आधिकारिक उम्मेदवारविरुद्ध विद्रोही उम्मेदवारी परेको छ । पार्टीले टिकट नदिएपछि कांग्रेस नेता खड्ग वाइबाले स्वतन्त्र रुपमा उम्मेदवारी दर्ता गराएका हुन् । सिन्धुली–२ बाट नेपाली कांग्रेसले सुशिला थिङलाई आधिकारिक उम्मेदवार बनाएको छ ।

उक्त निर्वाचन क्षेत्रबाट यसअघिको निर्वाचनमा माओवादी केन्द्रका लेखनाथ दाहाल ‘राजन’ विजयी भएका थिए।

दुई निर्वाचन क्षेत्र रहेको सिन्धुलीमा यसपटक नेकपा एमाले, नेपाली कांग्रेस र नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवारबीच मुख्य प्रतिस्पर्धा हुने देखिएको छ ।

नेकपा एमालेले निर्वाचन क्षेत्र नं– १ बाट प्रदीपकुमार कटुवाल र क्षेत्र नं–२ बाट मनोजजंग थापालाई उम्मेदवार बनाएको छ । नेपाली कांग्रेसले क्षेत्र नं– १ बाट उज्जल बराल र क्षेत्र न–ं २ बाट सुशिला थिङलाई उम्मेदवार बनाएको छ । यस्तै, नेपाली कम्युनिष्ट पार्टीले क्षेत्र नं– १ मा डेकेन्द्र सुवेदी र क्षेत्र नं–२ मा लेखनाथ दाहाललाई उम्मेदवार बनाएको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टीले क्षेत्र नं १ मा धनेन्द्र कार्की र क्षेत्र नं २ मा आशिष गजुरेललाई उम्मेदवार बनाएको छ भने राष्ट्रिय प्रजातन्त्र पार्टीले क्षेत्र नं १ मा रामनारायण अधिकारी र क्षेत्र नं २ मा डा. मुकुन्द गजुरेललाई उम्मेदवार बनाएको छ ।

प्रकाशित मितिः बुधबार, ०७ माघ २०८२
https://jawaaf.com/storage/01KFEXTENEWYC59ADBS5G8T75A.jpg

प्रतिनिधिसभा निर्वाचनको लागि २ हजार ९ सय २५ जनाले गराए उम्मेदवारी मनोनयन दर्ता

काठमाडौं । निर्वाचन आयोगले फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनको लागि अहिलेसम्म २ हजार ९ सय २५ जनाले उम्मेदवारी मनोनयन दर्ता गरेको जानकारी दिएको छ । मंगलबार पत्रकार सम्मेलन गर्दै निर्वाचन आयोगका सचिव कृष्ण बहादुर राउतले महिला ३ सय ३६ र पुरुष २ हजार ५ सय ८९ जनाले मनोनयन दर्ता गरेको बताए ।

उनले भने, ‘अहिले हाम्रो सिस्टमा आइसकेको २ हजार ९ सय २५ उम्मेदवारी मनोनयन दर्ता भएको सूची प्राप्त भएको छ । त्यसमा महिला ३३६ र पुरुष २ हजार ५ सय ८९ दर्ता भएको छ । समावेशी समुह अन्तरगत अपांगताको ८५ जना, पिछडिएको क्षेत्रबाट १३८ जनाको उम्मेदवारी परेको भनेर आएको छ । बाँकी निरन्तर अपडेट भइ नै रहन्छ ।’

बिहान १०ः०० बजेबाट सुरु भएर अपराह्न ५ः०० बजेसम्म तोकिएको उक्त समयभित्र सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयमा उपस्थित भएका कतिपय उम्मेदवारहरूको दर्ता कार्य हालसम्म पनि जारी नै रहेको आयोगले जनाएको छ ।

यसैगरी आयोगले माघ ७ गते बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेदवारको विरोधमा उजुरी दिन सकिने कार्यक्रम रहेको जनाएको छ भने सोही दिन दिउँसो ३ बजेदेखि माघ ८ गते बेलुका ५ बजेसम्ममा मनोनयन पत्र र उजुरी उपर जाँचबुझ एवम् निर्णय गरी माघ ८ गते बेलुका ५ बजेदेखि ७ बजेसम्म उम्मेदवारको नामावली प्रकाशन गरिनेछ ।

माघ ९ गते बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म उम्मेदवारको नाम फिर्ता लिन सकिनेछ भने सोही दिन दिउँसो १ बजेदेखि ३ बजेसम्म उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरी दिउँसो ४ बजेदेखि साँझ ७ बजेसम्म उम्मेदवारहरुलाई निर्वाचन चिन्ह् प्रदान गरिने आयोगले जनाएको छ ।

प्रकाशित मितिः बुधबार, ०७ माघ २०८२
https://jawaaf.com/storage/01KFD6VQMWRKXWT7TT8W03PC6R.jpeg

निवर्तमान उपसभामुख इन्दिरा राना मगरले गराइन् मनोनयन दर्ता

झापा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की वरिष्ठ नेतृ तथा निवर्तमान उपसभामुख इन्दिरा राना मगरले मनोनयन दर्ता गराएकी छिन् । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि झापा निर्वाचन क्षेत्र नम्बर २ बाट राना मगरले मनोनयन दर्ता गराएकी हुन् ।

यो क्षेत्रमा एमालेबाट पूर्वसभामुख देवराज घिमिरे छन् । पूर्व सभामुख र उपसभामुख भएर पनि यो यो क्षेत्र राजनीतिक रूपमा थप चासोको केन्द्र बनेको छ ।

प्रकाशित मितिः मङ्गलबार, ०६ माघ २०८२
https://jawaaf.com/storage/01KFCJQVP7N2RGGSZ0FS1GNM3V.jpg

फागुन २१ को निर्वाचनका लागि आज मनोनयन दर्ता सुरु

काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आज देशभर उम्मेदवारको मनोनयन दर्ता हुँदैछ। निर्वाचन आयोगले निर्धारण गरेको कार्यसूचीअनुसार सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयमा मनोनयन प्रक्रिया सुरु भएको हो।

प्रत्यक्षतर्फ उम्मेदवारी दिन नागरिकताको प्रमाणपत्र वा मतदाता परिचयपत्रको प्रतिलिपि, सम्बन्धित निर्वाचन क्षेत्रको अन्तिम मतदाता नामावलीमा नाम समावेश भएको निस्सा अनिवार्य गरिएको छ। उम्मेदवारले एक जना प्रस्तावक र एक जना समर्थकको विवरणसहित मनोनयनपत्र पेस गर्नुपर्नेछ।

नेपाल सरकार, प्रदेश सरकार वा स्थानीय तह तथा सरकारी स्वामित्व वा अनुदान प्राप्त संस्थामा बहाल रहेका व्यक्तिले उम्मेदवारी दिनुअघि पदबाट राजीनामा दिएको निस्सा बुझाउनुपर्ने व्यवस्था छ। दलको तर्फबाट उम्मेदवारी दिने हकमा सम्बन्धित दलको केन्द्रीय कार्यकारिणी समितिबाट प्रदान गरिएको औपचारिक मनोनयन पत्र पनि आवश्यक पर्ने आयोगले जनाएको छ।

उम्मेदवारले १० हजार रुपैयाँ धरौटी रकम जम्मा गरेको रसिद पेस गर्नुपर्नेछ भने महिला, दलित, अल्पसंख्यक र आर्थिक रूपमा विपन्न उम्मेदवारलाई सो धरौटी रकममा ५० प्रतिशत छुटको व्यवस्था गरिएको छ। आर्थिक विपन्नताको हकमा स्थानीय तहको सिफारिस पत्र अनिवार्य हुनेछ।

यसका साथै उम्मेदवारले स्वघोषणा पत्र, वैयक्तिक विवरण फाराम, सम्पत्ति विवरण, पेस्की फछ्र्योट तथा बेरुजु फछ्र्योटसम्बन्धी आवश्यक निस्साहरू पनि पेस गर्नुपर्नेछ।

मनोनयन दर्तासँगै देशभर राजनीतिक दलहरूका गतिविधि तीव्र बनेका छन् भने निर्वाचन कार्यालय वरपर चुनावी चहलपहल बढेको छ।

प्रकाशित मितिः मङ्गलबार, ०६ माघ २०८२
https://jawaaf.com/storage/01KFA9TZGGJ69N1W8EZZ4RNQHF.jpeg

लहानमा मधेशका प्रथम सहिद रमेश महतोको शालिकमा बालेन साहद्वारा माल्यार्पण

सिरहा । सिराहा जिल्लाको लहान नगरपालिकामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता तथा काठमाडौं महानगरपालिकाका पूर्व मेयर बालेन साहले मधेशका प्रथम सहिद रमेश महतोको शालिकमा माल्यार्पण गरेका छन् ।

मधेश आन्दोलनका क्रममा सहादत प्राप्त गरेका सहिद रमेश महतोप्रति श्रद्धाञ्जली अर्पण गर्दै साहले उनको योगदान मधेश मात्र नभई सम्पूर्ण राष्ट्रका लागि प्रेरणादायी रहेको बताए ।
कार्यक्रमका क्रममा उनले सहिदहरूको बलिदानकै कारण आजको लोकतान्त्रिक उपलब्धि सम्भव भएको उल्लेख गर्दै सहिदको सपना पूरा गर्न इमानदार राजनीति, सुशासन र न्याय आवश्यक रहेको धारणा व्यक्त गरे ।

उनी यसअघि आज बिहानै जनकपुरधामस्थित ऐतिहासिक जानकी मन्दिर पुगेर नियमित हुने बिहानी आरतीमा सहभागी भएका थिए ।

प्रकाशित मितिः सोमबार, ०५ माघ २०८२
https://jawaaf.com/storage/01KFA0W5C6HYWHG7VXAS6JKYFH.jpg

आजदेखि निर्वाचन आचारसंहिता लागू

काठमाडौं । निर्वाचन आयोगले निर्वाचन आचारसंहिता, २०८२ लागू गरेको छ । आगामी माघ ११ गते हुने राष्ट्रिय सभा सदस्य निर्वाचन र फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि (आज (सोमबार) बिहान १२ बजेदेखि आचारसंहिता लागू गरेको हो ।
निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, पारदर्शी तथा भयमुक्त वातावरणमा सम्पन्न गर्न आचारसंहिता, २०८२ स्वीकृत गरी कार्यान्वयनमा ल्याइएको आयोगले जनाएको छ ।
आयोगबाट अर्को सूचना प्रकाशन नभएसम्म विभिन्न निकाय र त्यसमा कार्यरत व्यक्तिलाई आचारसंहिता लागू हुनेछ । आयोगका अनुसार नेपाल सरकार र नेपाल सरकारका मन्त्री, प्रदेश सरकार र प्रदेश सरकारका मन्त्री, संवैधानिक निकाय र सो निकायका पदाधिकारी र नेपाल सरकार वा प्रदेश सरकारका निकाय र सो निकायका पदाधिकारीलाई आचारसंहिता लाग्नेछ ।
साथै, स्थानीय कार्यपालिका र सोका सदस्य, सङ्घ प्रदेश र स्थानीय तहका कर्मचारी, सुरक्षा निकाय, सुरक्षाकर्मी तथा कर्मचारी, सरकारी, अर्धसरकारी तथा सार्वजनिक संस्थाको कार्यालय र कर्मचारी, राजनीतिक दल तथा राजनीतिक दलको भातृ सङ्गठनलाई आचारसंहिता लाग्नेछ ।
यस्तै, उम्मेदवार तथा सम्बन्धित व्यक्ति, राजनीतिक दल तथा उम्मेदवारको निर्वाचन प्रतिनिधि, मतदान प्रतिनिधि तथा मतगणना प्रतिनिधि, सार्वजनिक पद धारणा गरेको व्यक्ति, अनुगमन समितिका पदाधिकारी तथा अनुगमनकर्ता, मतदाता, विकास साझेदार संस्था, सरकारी तथा अर्धसरकारी निकायबाट सञ्चालित परियोजना तथा परियोजनाका कर्मचारी, मतदाता शिक्षा कार्यक्रम सञ्चालन गर्ने संस्था तथा सो संस्थाका कर्मचारीलाई आचारसंहिता लाग्ने आयोगले जनाएको छ ।

प्रकाशित मितिः सोमबार, ०५ माघ २०८२
https://jawaaf.com/storage/01KF9Z4BBYDJ2MWMC4JA8EXRDT.jpg

आज सोनाम ल्होसार हर्षोल्लासका साथ मनाइँदै

काठमाडौं । आज सोनाम ल्होसार तामाङ समुदायले विविध कार्यक्रम आयोजना गरी हर्षोल्लासपूर्वक मनाउँदै छन् । प्रत्येक वर्ष माघ शुक्ल प्रतिपदाका दिन तामाङ समुदायले विशेष परम्परागत अनि सांस्कृतिक महत्त्वका साथ ल्होछार मनाउने गरेका छन् ।

यसरी नेपालको उच्च पहाडी भेग र पहाडी भेगमा बसोबास गर्ने तामाङ समुदाय लगायत उत्तर छिमेकी मूलक चीन सहितका बौद्धमार्गीहरुको घनत्व रहेको क्षेत्रमा पनि आजको दिनलाई हर्ष बढाई गर्दै नयाँ वर्ष मनाउने गर्दछन् ।

तामाङ जातिको बाहुल्य रहेको बागमती प्रदेशका विभिन्न जिल्लामा यो पर्व विशेष रूपमा मनाइन्छ । राजधानीको टुँडिखेल, बौद्ध, स्वयम्भू क्षेत्रमा विविध कार्यक्रम आयोजना गरी ल्होछार मनाइँदै छ । सोनाम ल्होछारको अवसरमा सरकारले आज देशभर बिदा पनि दिएको छ ।

मुसा, गाई, बाघ, खरायो, ड्रागन, सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र सुँगुर गरी १२ वर्गमा सोनाम ल्होसारलाई विभाजन गरिएको छ । ‘ल्हो’ अर्थात् वर्ष तथा ‘सार’ अर्थात् नयाँ भन्ने अर्थ बोकेको यस पर्वले नयाँ ऊर्जा, समृद्धि र सकारात्मक परिवर्तनको सन्देश दिने गर्छ ।

भूमिपूजा, कूलपूजा एवं दानदक्षिणा, ढोगभेट, नाचगान, मिठो परिकार बनाएर खाने र शुभकामना आदानप्रदान गरी यो पर्व मनाउने चलन छ । समुदायका सबै जना एकै ठाउँमा भेला भई सामूहिक रुपमा मनाइने यो पर्व मुलुकका विभिन्न भू(भागमा बसोबास गर्ने तामाङसहित ह्योल्मो, थकाली, जिरेल, नेस्याङ्वा, भोटे, दुरा, लेप्चा लगायतले आ–आफ्नो परम्परा अनुसार मनाउँछन् ।

नेपालमा ल्होछार मनाउने प्रचलन चीन तथा चीन प्रशासित राज्यबाट भित्रिएको मानिन्छ, किनभने चिनियाँ पात्रोमा पनि नयाँ वर्षलाई विभिन्न पशुपन्छीका नामले सम्बोधन गरिन्छ । त्यसो त तामाङ समुदायले चिनियाँ पात्रोभन्दा बेग्लै अनि मौलिक आफ्नै पात्रोको प्रयोग गर्ने गर्दछन् जसलाई ‘चन्द्र पात्रो’ भनिन्छ । बौद्ध धर्म अनुसार तामाङ जाती महायान सम्प्रदायका हुन् । तामाङहरूका अलावा ल्होछार पर्व शेर्पा, गुरुङ, मगर, थकाली, जिरेल, नेस्याङ्वा, भोटे, दुरा र लेप्चा लगायतका जातीले मनाउँदछन् ।

सोनाम ल्होछार पर्व तामाङ जातीहरू पुगेका नेपाल सहितका अन्य मुलुकहरू सिङ्घापुर, मङ्गोलिया, मलेसिया, भारत, थाइल्यान्ड, भियतनाम, भुटान, लाओस, म्यान्मार, जापान लगायतका देशमा मनाइँदै आएको छ । आजको दिन यी देशहरूका अधिकांश वौद्धविहारहरु रङ्गिन र उल्लासमय हुन्छन्, रङ्गिन सजावटका ध्वजा पताका अनि पुष्पद्वारलगायत अन्य मनमोहक सजावटले आज वौद्धविहार बडो गज्जब देखिन्छ ।

प्रकाशित मितिः सोमबार, ०५ माघ २०८२
https://jawaaf.com/storage/01KF8E0MAT3WDEK4171KPZK1MN.jpg

संयुक्त विद्यार्थी संगठनद्वारा रवि लामिछानेसम्बन्धी मुद्दा फिर्ता लिने निर्णयको विरोध

काठमाडौं । संयुक्त विद्यार्थी संगठनहरूले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्व उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेमाथि चलिरहेका सम्पत्ति शुद्धीकरण र संगठित अपराधसम्बन्धी मुद्दामा अभियोगपत्र संशोधनको नाममा मुद्दा फिर्ता लिने सरकारको निर्णयप्रति कडा विरोध जनाएका छन् ।

आइतबार जारी संयुक्त प्रेस वक्तव्यमा विद्यार्थी संगठनहरूले विभिन्न अदालतमा विचाराधीन सम्पत्ति शुद्धीकरण र संगठित अपराधसम्बन्धी मुद्दामा रवि लामिछानेसहित छविलाल जोशी र जीबी राईलगायतका व्यक्तिहरूलाई उन्मुक्ति दिने निर्णय सर्वोच्च अदालत विपरीत तथा राज्यसत्ता र कानूनको चरम दुरूपयोग भएको ठहर गरेका छन् ।

गम्भीर वित्तीय अपराधसँग सम्बन्धित अभियुक्तलाई उन्मुक्ति दिन सरकारले अग्रसरता देखाउनु देशको अन्तर्राष्ट्रिय छविलाई थप धुमिल पार्ने कार्य भएको उनीहरूको भनाइ छ । संयुक्त विद्यार्थी संगठनहरूले रवि लामिछानेसहित सम्बन्धित व्यक्तिहरूमाथि लागेको सम्पत्ति शुद्धीकरण र संगठित अपराधसम्बन्धी मुद्दाको निष्पक्ष छानबिन तथा अनुसन्धानको माग गरेका छन् । साथै, २०४६ साल यता सार्वजनिक पदमा बसेका उच्चपदस्थ कर्मचारी तथा सबै राजनीतिक दलका नेतृत्वकर्ताहरूको सम्पत्ति छानबिन गर्न र भ्रष्टाचारमा संलग्नलाई कारबाही गर्न उच्चस्तरीय छानबिन आयोग गठन गर्न सरकारसँग माग गरिएको छ ।

वक्तव्यमा अपराधको प्रोत्साहन र अपराधीलाई उन्मुक्ति दिनु लोकतन्त्रको मूल्य र मान्यताविपरीत हुने उल्लेख गर्दै विभिन्न राजनीतिक आन्दोलनका मुद्दालाई नजरअन्दाज गर्दै आपराधिक घटनामा संलग्न व्यक्तिहरूलाई उन्मुक्ति दिनु अमान्य हुने चेतावनी दिइएको छ ।

३ करोड नेपाली जनताको वास्तविक लोकतन्त्र, सुशासनसहितको कानुनी राज्य र न्यायको पुनस्र्थापनाका लागि संयुक्त विद्यार्थी आन्दोलन अग्रपंक्तिबाट संघर्ष अघि बढाउने उद्घोषसमेत गरिएको छ । विद्यार्थी संगठनहरूले महान्यायाधिवक्ता सविता भण्डारीको राजीनामाको माग गर्दै भ्रष्टाचारको अन्त्य र न्यायप्रणालीमा आमूल सुधार गरी सुशासन कायम गर्न सरकारलाई आग्रह गरेका छन् ।

संयुक्त वक्तव्यमा नेपाल विद्यार्थी संघ, अनेरास्ववियु, अखिल (समाजवादी), अखिल (क्रान्तिकारी), समाजवादी विद्यार्थी युनियन नेपाललगायत विभिन्न विद्यार्थी संगठनका अध्यक्ष तथा संयोजकहरूको हस्ताक्षर रहेको छ ।

प्रकाशित मितिः आइतबार, ०४ माघ २०८२
https://jawaaf.com/storage/01KF860MMN9XG0DDXMPQAXNA0V.jpeg

एमाले बाजुराको पार्टी कार्यालयमा ताला, युवापुस्तालाई अवसर नदिएको आक्रोश

बाजुरा । नेपाल कम्युनिष्ट पार्टी एमाले बाजुराको पार्टी कार्यालयमा तालाबन्दी गरिएको छ । आसन्न फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनका लागि बाजुरामा एमालेको तर्फबाट युवालाई अवसर नदिएको भन्दै तालाबन्दी गरिएको हो ।
बाजुरामा नेकपा एमाले केन्द्रीय कमिटीले युवालाई अवसर नदिएको असन्तुष्टी जनाउँदै एमाले निकटका युवा संघ नेपाल र अनेरास्ववियु बाजुराले संयुक्त रुपमा पार्टी कार्यालयमा तालाबन्दी गरेका हुन् ।
पार्टीले नवपुस्ता युवाहरुलाई अवसर नदिई पटक–पटक टिकट पाई उम्मेदवार बनेर जित्दै आएका व्यक्तिलाई टिकट दिएको विरोध जनाउँदै पार्टी कार्यालयमा तालाबन्दी गरिएको एमाले निकट राष्ट्रिय युवा संघ नेपाल सुदूरपश्चिम प्रदेश कमिटी उपसचिव रामचन्द्र रोकायाले बताए ।
एमाले केन्द्रीय सदस्य तथा अनेरास्ववियुका पूर्व महासचिव नरेश रोकायालाई प्रतिनिधिसभाको निर्वाचनका लागि उम्मेदवार बनाउन टिकट नदिएको र सिंगो एमाले बाजुरेली युवाहरुमाथी खेलवाड गरिएको उनीहरुको भनाई छ ।
युवाहरुले यस पटकको निर्वाचनमा एमालेका नयाँ अनुहारलाई उम्मेदवार बनाउनु पर्ने माग राख्दै आएका थिए । तर एमालेले निर्वाचनका लागि केन्द्रीय कमिटी सदस्य लालबहादुर थापालाई सिफारिस गरेपछि युवाहरु आक्रोशित भएका हुन् ।

प्रकाशित मितिः आइतबार, ०४ माघ २०८२
https://jawaaf.com/storage/01KF7WF205WM7HRF5FJDGV8GJ4.jpg

प्रत्यक्षतर्फ एमालेमा महिला उम्मेदवारहरुको संख्या न्यून

काठमाडौं । नेकपा एमालेले आगामी निर्वाचनको लागि उम्मेदवार टुङगो लगाएको छ । सूचीमा महिला उम्मेदवारको संख्या अत्यन्तै न्यून रहेको देखिन्छ ।

सूचीअनुसार कमला बोहरा (कञ्चनपुर), कल्पना राई (सोलुखुम्बु), अस्मिता थापा (ओखलढुंगा), भगवती चौधरी (सुनसरी), ज्वाला शाह (बारा), भगवती न्यौपाने (तनहुँ), विमला विक (बर्दिया) र जुली महतो (धनुषा) मात्र महिला उम्मेदवार छन् ।

यसलाई महिला प्रतिनिधित्वमा असन्तुलन र लैङ्गिक समावेशीता कमजोर भएको भन्दै आलोचना पनि सुरु भएको छ ।

एमाले यस पटक उम्मेदवार छनोटमा महिला सहभागिता बढाउने नीति प्रभावकारी रूपमा लागू गर्न चुकेको देखिन्छ ।

एमालेको पुरुष प्रधान उम्मेदवार संरचनाले आगामी निर्वाचनमा लैङ्गिक समानता र समावेशीता सम्बन्धी बहसलाई पनि सक्रिय बनाउने देखिन्छ ।

कमला बोहरा (कञ्चनपुर)
कल्पना राई (सोलुखुम्बु)
अस्मिता थापा (ओखलढुंगा)
भगवती चौधरी (सुनसरी)
ज्वाला शाह (बारा),
भगवती न्यौपाने (तनहु)
विमला विक (बर्दिया)
जुली महतो (धनुषा)

प्रकाशित मितिः आइतबार, ०४ माघ २०८२