एभरेस्ट म्याराथनको उपाधि कुलुङ र शेर्पालाई
१६ जेठ,सोलुखुम्बु I सगरमाथा दिवसका अवसरमा आयोजित तेन्जिङ–हिलारी एभरेस्ट म्याराथनको उपाधि पुरुषतर्फ अर्जुन कुलुङ र महिलातर्फ ल्हाक्पा ङिमा शेर्पाले जितेका छन् । विश्वकै सबैभन्दा उच्च स्थानमा दौडिदै पुरुषतर्फ सोलुखुम्बु महाकुलुङका कुलुङ र महिलातर्फ नेपाल प्रहरीका शेर्पाले उपाधि जितेका हुन् ।
सगरमाथा आधार शिविरबाट सगरमाथा राष्ट्रिय निकुञ्जको कार्यालय नाम्चेसम्म ४२ दशमलब १९ किमिको दूरी कुलुङले तीन घण्टा ५२ मिनेट २ सेकेन्डमा पार गर्दै पहिलो हुनुभएको हो । महिलातर्फ सोही दूरी प्रहरी जवान शेर्पाले चार घण्टा ४२ मिनेटमा पार गर्नुभयो । पुरुषतर्फ तीन घण्टा ५३ मिनेट २७ सेकेन्डमा दूरी पार गर्दै सुमन कुलुङ दोस्रो र चार घण्टा सात मिनेट ४० सेकेन्डमा निर्धारित दूरी पूरा गर्दै रामकुमार राजभण्डारी तेस्रो हुनुभएको छ । महिलातर्फ पाँच घण्टा एक मिनेट २२ सेकेन्डमा दूरी पार गर्दै प्रिया राई दोस्रो हुनुभएको छ । प्रतियोगितामा दुई सय १० जना धावक सहभागी रहेको आयोजकले जनाएको छ ।
सगरमाथामा पहिलो पटक एड्मन्ड हिलारी र तेन्जिङ नोर्गे शेर्पाले ७१ वर्षअघि सन् १९५३ मे २९ मा पाइला राखेको दिनको सम्झनामा हिमालयन एक्स्पिडिसन कम्पनी लिमिटेडले म्याराथन आयोजना गर्दै आएको छ ।
झापामा हुरीबतासले करोडौँको क्षति
१६ जेठ, झापा I गए राति वर्षा र चट्याङसहित आएको हुरीबतासले मेचीनगर नगरपालिकामा ठूलो क्षति गरेको छ । हुरीले बिजुलीको खम्बा ढालेपछि गए रातिदेखि मेचीनगर क्षेत्रको विद्युत् आपूर्ति बन्द भएको छ ।
जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी कृष्णकुमार चन्दले हुरीले मेचीनगर–७, ८ र १० मा ठूलो मात्रामा क्षति पु¥याएको बताउनुभयो । उहाँका अनुसार सो क्षेत्रका सयौँ घरको छाना उडाएको, विद्युत्का खम्बा ढालेको, विद्यालयका छाना भत्काएको, सडक र निजी जग्गाका रूख ढालेको र केही स्थानमा खानेपानीको वितरण अवरुद्ध भएको छ ।
मेचीनगर–१० स्थित जयश्री हलेसी भेनियर उद्योग, सिद्धिविनायक भेनियर उद्योग र सिद्धार्थ भेनियर उद्योगको जस्तापाताको छाना उडाएको छ । भेनियरका सञ्चालक डिल्लीराम श्रेष्ठले रु एक करोडभन्दा बढीको क्षति भएको जानकारी दिनुभयो । उहाँले तयारी अवस्थामा रहेका सात ट्रक भेनियर पत्ता, टिनको छाना र बेरा भएको उद्योग भत्काएको बताउनुभयो । सिद्धिविनायकका सञ्चालक श्याम न्यौपानेले हुरीबाट रु १० लाखबढीको क्षति पुगेको बताउनुभयो ।
नगरका अन्य भेनियर उद्योगमा पनि भौतिक क्षति पुगेको भन्दै यकिन विवरण आइ नपुगेको सूचना अधिकारी चन्दले बताउनुभयो ।
मेचीनगर–७ का वडाध्यक्ष प्रह्लादमणि ओलीको जोरसिमलस्थित घरको छाना हुरीले उडाएको छभने आसपासका बस्तीमा दर्जनौँ घरमा क्षति पुगेको छ ।
धुलाबारी इलाका प्रहरी कार्यालयको ब्यारेकको फल्स सिलिङसहित क्यान्टिनको छानो उडाएको छ । त्यस्तै, मेचीनगर–८ इँटाभट्टास्थित आदर्श माध्यमिक विद्यालयको जस्तापाताको छानो हुरीले क्षति पु¥याएको सूचना अधिकारी चन्दले जानकारी दिनुभयो । उहाँले क्षतिको थप विवरण सङ्कलन भइरहेको भन्दै मानवीय क्षति भने नभएको बताउनुभयो ।
एमाले मकवानपुरको अधिवेशनको तयारी अन्तिम चरणमा
१६ जेठ, वाग्मती I नेपाल कम्युनिष्ट पार्टी (एमाले) मकवानपुरको जिल्ला अधिवेशनको तयारी अन्तिम चरणमा पुगेको छ । अधिवेशनको पार्टी अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्ने जनाइएको छ ।
हेटौँडामा यही जेठ १८ र १९ गते हुने १२ औँ जिल्ला अधिवेशनको पार्टी अध्यक्ष ओलीले उद्घाटन गर्ने कार्यक्रम तय भएको एमाले मकवानपुरका अध्यक्ष एकालाल श्रेष्ठले जानकारी दिनुभयो । एमाले मकवानपुरद्वारा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष श्रेष्ठले अधिवेशन भव्यतापूर्वक सम्पन्न गर्न विभिन्न तयारी समितिसमेत गठन गरिएको बताउनुभयो ।
मकवानपुरका १० वटै पालिकाका प्रतिनिधि, परिवेक्ष तथा विभिन्न जनवर्गीय सङ्गठनबाट छानिएका सात सय ६९ प्रतिनिधि सहभागी हुने अधिवेशनको तयारी अन्तिम चरणमा पुगेको अध्यक्ष श्रेष्ठको भनाइ छ । सो अधिवेशनले अध्यक्षसहित पदाधिकारी चयन गर्नेछ । अधिवेशनलाई सफल बनाउन दुई सय जना स्वंयसेवक परिचालन गरिने र उद्घाटनको अघिल्लो दिन हेटौँडा उपमहानगरपालिका क्षेत्रमा मोटरसाइकल ¥यालीको आयोजना गरिने जनाइएको छ ।
उत्खनन र अनुसन्धानको पर्खाइमा मुक्तेश्वर मन्दिर
१६ जेठ, बरहथवा (सर्लाही) I धार्मिक पर्यटनको प्रशस्त सम्भावना बोकेको सर्लाहीको बरहथवा नगरपालिकास्थित मुक्तेश्वर महादेव मन्दिर उत्खनन र अनुसन्धानको पर्खाइमा छ । बरहथवा नगरपालिका–९, मूर्तियामा रहेको ऐतिहासिक मुक्तेश्वर मन्दिर प्रचारप्रसार अभावमा ओझेलमा परेको हो ।
विभिन्न दस्तावेजमा उल्लेख भएअनुसार दुई हजार ६ सय वर्ष पहिला भक्तपुरको तलेजु भवानी मन्दिरसँगै गयासुद्घिन भन्ने भारतका शासकले यस मन्दिर पनि भत्काइदिएका थिए । तलेजु भगवतीको मन्दिर भत्काएर फर्कने क्रममा बाटोमा रहेको यस मन्दिर समेत ध्वस्त बनाइदिएको स्थानीय जानकारहरुको भनाइ छ । यस मन्दिर बजेट अभावमा संरक्षण हुन सकेको छैन । बजेट अभावमा पुनःनिर्माण हुन नसक्दा मन्दिर परिसरमा रहेका ऐतिहासिक संरचना जीर्ण अवस्थामा पुगेका वडाध्यक्ष तुलसीप्रसाद लुइँटेलले बताउनुभयो ।
पूर्व–पश्चिम राजमार्गबाट १० किलोमिटरको दूरीमा रहेको यस मन्दिरमा दैवी शक्ति रहेको स्थानीय विमला कार्कीको भनाइ छ । विषेश गरेर यस मन्दिरमा साउनको सोमबार र शिवरात्रिमा भक्तजनको बाक्लो घुइँचो लाग्ने गर्दछ । मन्दिर दर्शनका लागि भारतका विभिन्न स्थानबाट समेत भक्तजन आउने गर्दछन् । बरहथवा नगरपालिका–९, स्थानीय ८२ वर्षीया चन्द्रनिधि तिवारीले तत्कालीन अवस्थामा यस क्षेत्र चीन र भारतको व्यापारिक केन्द्र सुवर्णग्राम सहरका रुपमा रहेको कौटिल्य शास्त्रमा उल्लेख रहेको बताउनुभयो । गयासुद्घिनले मन्दिर र सहरमा आक्रमण गरेपछि यस क्षेत्र जङ्गलमा परिणत भएको उहाँको भनाइ छ । यस मन्दिर आसपासमा अझै पनि बुद्धकालीन इँटाहरु फेला पर्ने गरेको छ ।
मन्दिर परिसरमार रहेका संरचनामध्ये मूल मन्दिरको पुरातत्व विभागले पुनःनिर्माण गरेको थियो । सोही क्रममा मन्दिरमा प्रयोग भएको कलात्मक ढुङ्गामा दुई हजार ६ सय वर्ष पुरानो बोलीचालीको भाषा ब्रह्म लिपि फेला परेको हो । विभागका तत्कालीन योजना प्रमुख रामबहादुर कुँवरको नेतृत्वमा भएको उत्खनन तथा पुनःनिर्माणका क्रममा ढुङ्गाको ब्लकमा ब्रह्म लिपि अर्थात् पाली भाषा कुँदिएको फेला परेको थियो । “मन्दिर बनाउन प्रयोग गरेको ढुङ्गामा पाली भाषामा लेखिएको भेटियो,” वडाध्यक्ष लुइँटेलले भन्नुभयो, “काम गर्ने मन्दिर बनाउने कर्मीले पक्कै त्यतिबेलाको बोलीचालीको भाषा नै ढुङ्गामा कँुदेको हुनुपर्छ ।” यस क्षेत्रमा चार फिट गहिरो खन्ने बित्तिकै ८÷८, ११÷११, १२÷१२ आकारका बुद्धकालीन इँटा फेला पर्ने गरेको स्थानीय रामकुमार नेपालले बताउनुभयो ।
मन्दिरको तीन किलोमिटर दक्षिणमा लौकठ, हिरापुरलगायतका गाउँ रहेको थियो । उक्त गाउँमा वाग्मतीलगायत विभिन्न नदीको बाढी पसेपछि २०११ सालमा स्थानीय बासिन्दा यस मन्दिर नजिकै बसाइँ सरेका थिए । गाउँ बढ्दै जाँदा यस मन्दिरको संरचनाहरु फेला परेको स्थानीय ७४ वर्षीय कृष्ण कडरियाले जानकारी दिनुभयो । उहाँका अनुसार २०२२ सालमा स्थानीयको पहलमा मन्दिर क्षेत्र सरसफाइ तथा यत्रतत्र रहेका मन्दिरका मूर्ति, गजुरलगायत सामान जम्मा गरेर मन्दिर स्थापना गरिएको थियो ।
मन्दिरको तीन सय मिटरदेखि तीन किलोमिटरको दूरीमा समकालीन चक्रेश्वर महादेव मन्दिर, गणेश मन्दिर, कटकुइँया (काठको पानी खाने डुँड), पोखरी, गुलरिया ताल, किसनपुर पोखरी, ब्रह्मनाल गुफालगायत संरचनाहरु अहिले पनि छन् । यी संरचना संरक्षणको अभावमा नष्ट हुने अवस्थामा पुगेका वडाध्यक्ष लुइँटेलले बताउनुभयोे । मन्दिर परिसरमा रहेको १० फिट गहिरो ४२ फिट लामो टनेलसंरक्षण हुन नसक्दा भत्किने अवस्थामा पुगेको छ ।
बजेट अभावमा यस मन्दिर क्षेत्रको उत्खनन र पुनःनिर्माण पूरा हुन नसकेको बरहथवा नगरपालिकाले जनाएको छ । ठूलो धनराशि लाग्ने भएपछि मन्दिर क्षेत्रको पहिलो चरणको पुनः निर्माण गरेर अरु त्यसै छाडिएको छ । स्थानीय तहको पहलमा २०७२÷७३ सालदेखि मन्दिरको मुख्य संरचनाको पुनःनिर्माण सुरु भएको थियो । दुईपटक गरेर पुरातत्व विभागले पहिलोपटक एक करोड र दोस्रो पटक पाँच करोड ३२ लाख लगानीमा मूल मन्दिरको पुनः निर्माण गरेको हो । विभागले सात वर्ष लगाएर मन्दिरको पुनःनिर्माण तथा उत्खनन गरेको थियो ।
विभागले गरेको अनुसन्धानबाट लुम्बिनीको मायादेवी मन्दिरमा फेला परेकै भाषा र जमिनमुनिको इँटा यस मन्दिर परिसरमा पनि फेला परेको हो । यस अर्थमा पनि यो मन्दिरको संरचना पनि समकालीन रहेको दाबी गरिएको छ । यस मन्दिरको संरचना पुनः निर्माण तथा यस क्षेत्रको उत्खननका लागि पुरातत्व विभागबाहेक कतैबाट बजेटको व्यवस्था नभएको नगरपालिकाका प्रमुख कल्पनाकुमारी कटुवालले बताउनुभयो । बजेट नभएकै कारण धार्मिक पर्यटनको ठूलो सम्भावना बोकेको यस मन्दिरको प्रचारप्रसार तथा संरक्षण र पुनःनिर्माणका बाँकी काम अलपत्र परेको उहाँको भनाइ छ ।
धनियाँ बिक्री गरेर वार्षिक आठ लाख आम्दानी
१६ जेठ, देउखुरी (दाङ) I खेतका गराभरी हरियो धनियाँ छ । धनियाँ उखेलेर साना साना मुठा पार्दै गरेको अवस्थामा भेटिनुभयो घोराही उपमहानगरपालिका–६ चोरगाउँका अमित चौधरी । उहाँले दुई कठ्ठा जमिनमा धनियाँखेती गर्नुभएको छ । धनियाँको माग बाह्रैमहिना हुने भएकाले बाह्ैमहिना खेती गर्ने गरेको उहाँले बताउनुभयो ।
उहाँका बुवाले विगत आठ वर्ष अघिदेखि व्यावसायीक रुपमा धनियाँखेती गर्नुहुन्थ्यो । आम्दानी राम्रो भएपछि त्यसैलाई निरन्तरता दिएको उहाँले बताउनुभयो । दुई कठ्ठाखेतमा चार किलो धनियाको बीउ रु दुई हजार चार सयमा खरिद गरि खेती गरेको उहाँले बताउनुभयो । त्यो धनियाँ बिक्री गरेर रु दुई लाख आम्दानी गरेको उहाँले बताउनुभयो ।
बाह्रैमहिना धनियाँ माग हुने भएकाले बाहै महिना खेती गर्ने उहाँले बताउनुभयो । सिजनमा रु पाँच मुठाका दरमा बिक्री हुन्छ भने बेमौसममा रु १० मुठाका दरमा बिक्री हुन्छ । धनियाँ उखेल्न समय लाग्ने भएकाले दैनिक धेरै उखेल्न नसकिने उहाँले बताउनुभयो । धेरै उखेल्न सक्यो भने दैनिक रु तीन हजारदेखि रु तीन हजार पाँच सयसम्म आम्दानी हुने गरेको अमितले बताउनुभयो । उखेल्न नसकेको समयमा रु एक हजारदेखि रु एक हजार पाँच सयसम्मको बिक्री हुने गरेको उहाँको भनाइ छ ।
धेरै मेहनत गर्नुनपर्ने, रोगकीरा नलाग्ने र विषादी पनि राख्नु नपर्ने भएकाले कम खर्चमा धेरै आम्दानी गर्न सकिने भएकाले धनियाँखेतीलाई निरन्तरता दिएको उहाँले बताउनुभयो । “वैशाख, जेठ र असारमा धनियाँ रु १० प्रतिमुठाको दरमा बिक्री हुन्छ, यो याममा राम्रो मूल्य पाइन्छ”, उहाँले भन्नुभयो । गत वर्ष यी तीन महिनामा रु दुई लाख आम्दानी गरेको उहाँले बताउनुभयो । सरदर वर्षको रु आठ लाख धनिया बिक्रीबाट मात्रै आम्दानी हुने गरेको उहाँले बताउनुभयो ।
“धनिया छरेको ३५ दिनमा बिक्रीका लागि योग्य हुने भएकाले उखेल्न सुरु गर्छौँ, तयार भएको दुई महिनाभित्र बिक्री गरिसक्नुपर्छ”, उहाँले भन्नुभयो, “लामो समय राख्न मिल्दैन, छिप्पियो भने बिक्री हुँदैन, बिक्री भएर खाली भएको जमिनमा हरेक १० दिनको फरकमा धनियाँ छर्ने गर्छु, त्यसैले एक लट बिक्री गरिसक्दा अर्को लट तयार भइसकेको हुन्छ ।”
उहाँसँग बाह्ैमहिना धनियाँ हुने गरेको छ । छोटो समयमा मनग्य आम्दानी हुने भएकाले धनियाँखेती बाह्ैमहिना गर्ने गरेको उहाँले बताउनुभयो । “इनारको पानीले सिँचाइ गरेर खेती गर्ने गरेका छौँ, पानीको अन्य सुविधा छैन, बिक्रीका लागि घोराही बजारमा लैजानुपर्छ, बजारमा धनियाँ अभाव भयो भने व्यापारी घरमै आउने गर्छन्, खेतीपाती गर्न बुवाआमा र श्रीमतीको सहयोग रहेको छ”, उहाँले भन्नुभयो ।
सुरक्षा टोलीसहित यार्सा सङ्कलनमा पुगे मनाङवासी
- नवीन लामिछाने
१६ जेठ, मनाङ I हिमाली जिल्ला मनाङमा अहिले औषधीय जडीबुटी यार्सागुम्बा सङ्कलन भइरहेको छ । यहाँ वैशाख १० गतेदेखि यार्सागुम्बा सङ्कलनको कार्य पहिलो गन्तव्य नाम्के खर्कबाट सुरु भएको हो । दोस्रो गन्तव्यका रुपमा रहेको फु गाउँमा जेठ १४ बाट यार्सागुम्बा सङ्कलनको अनुमति दिइएको छ । जेठ १३ गतेदेखि पुर्जी काटेर मनाङवासीले मात्रै यार्सागुम्बा सङ्कलनका लागि अनुमति दिइएको नार्पाभूमि गाउँपालिकाका अध्यक्ष कोन्जो तेन्जिङ लामाले जानकारी दिनुभयो । उहाँका अनुसार अनुमति पाएका मनाङवासीले फु गाउँको लेकमा एक महिनासम्म यार्सागुम्बा सङ्कलन गर्नेछन् । विगतको घटनाबाट पाठ सिक्दै यार्सागुम्बा सङ्कलनलाई सुरक्षित र व्यवस्थित बनाउन लागिपरेको उहाँले बताउनुभयो ।
अध्यक्ष लामाले भन्नुभयो, “नार्पाभूमिको नार र फु संरक्षित तथा निषेधित दुवै क्षेत्र भएकाले सुरक्षाको दृष्टिबाट पनि विगतको जस्तो अवस्था नआओस् भनी मनाङवासीलाई मात्र यार्सागुम्बा सङ्कलन गर्न अनुमति दिने गर्छौं, हाललाई फु गाउँका लेकमा मात्र यार्सागुम्बा सङ्कलन गर्न पाइन्छ ।” यार्सागुम्बा सङ्कलनका लागि रु ३५ हजार शुल्क तिर्नुपर्ने हुन्छ । शुल्क तिरी सकेपछि मात्र सङ्कलनका लागि पुर्जी दिइन्छ । फु गाउँको लेकमा यार्सागुम्बा सङ्कलकबाट उठेको रकमको ६० प्रतिशत संरक्षण क्षेत्र व्यवस्थापन समितिले राख्छ भने बाँकी ४० प्रतिशत गाउँपालिकाले राख्ने गरी पुर्जी काटिएको अध्यक्ष लामाले जानकारी दिनुभयो ।
यसैगरी सङ्कलन भएको यार्सागुम्बाको प्रतिकिलो १० प्रतिशत निकासी कर लाग्ने उहाँले बताउनुभयो । यार्सागुम्बा सङ्कलनलाई सहज र सुरक्षित बनाउन प्रशासनले सुरक्षा टोलीसमेत खटाएको उहाँले बताउनुभयो । सङ्कलकलाई समस्या भएको खण्डमा पनि सुरक्षा टोलीले जानकारी प्रदान गर्ने र उद्धारका काम गर्ने गर्दछन् ।
सुरक्षा व्यवस्थापन कडा
लेकका खर्कमा यार्सागुम्बा सङ्कलनको समयमा झैझगडा नहोस् भनी शान्ति सुरक्षा मजबुत पारिएको छ । नार्पाभूमि गाउँपालिकाको संयोजकत्वमा फू गाउँको यार्सागुम्बा सङ्कलनको समयमा शान्ति सुरक्षाको प्रयोजनार्थ च्याँखु र मेताका प्रहरी टोलीलाई त्यसतर्फ खटाइएको छ । च्याँखु प्रहरी पोष्टबाट एक महिनासम्म पाँच जनाको प्रहरी टोलीले यार्सागुम्बा सङ्कलकलाई सुरक्षा दिनेछ ।
फुमा प्रहरीको दरबन्दी नभएकाले सो टोलीले एक महिनासम्म त्यहाँ बसेर यार्सागुम्बा सङ्कलकलाई सुरक्षा दिने अध्यक्ष लामाले बताउनुभयो । उहाँका अनुसार प्रहरी टोली बसोबासका लागि बन्दोबस्तीका सामानसहित रासनपानीको व्यवस्था गरी परिचालन गरिएको छ । यार्सागुम्बा टिप्ने क्रममा विसं २०६६ मा नारस्थित नाम्ग्य खर्कमा गोरखाका सात जनाको स्थानीयले हत्या गरेका थिए । त्यसपछि सुरक्षा चुनौतीका कारण मनाङका साविकको नार र फु गाउँ विकास समितिमा यार्सागुम्बा सङ्कलन रोकिएको थियो । अहिले त्यस्ता घटना दोहोरिन नदिन अन्य जिल्लाका सङ्कलकलाई अनुमति दिइएको छैन ।
प्रमुख जिल्ला अधिकारी सुवासकुमार लामिछानेले सङ्कलनको रकममध्ये केही पालिकामा नै रहने भएकाले त्यस क्षेत्रको संरक्षण क्षेत्र व्यवस्थापन समिति (सिएमसी) सक्रिय हुनुपर्नेमा जोड दिनुभयो । उहाँका अनुसार जिल्लाभित्र यार्सागुम्बा सङ्कलनको याम सुरु भएसँगै सुरक्षा व्यवस्थामा कडाइ गरिएको छ । उहाँले भन्नुभयो, “हुन त पाँच जनाको टोलीले के नै सुरक्षा गर्न सकिन्छ र, तैपनि सुरक्षाकर्मी पनि छन् है ढुक्कसँग यार्सागुम्बा सङ्कलन गर्नुहोस् भनी आश्वत पार्न प्रहरी खटाएका छौँ ।”
विगतको जस्तो अप्रिय घटना नहोस् भनी प्रहरी परिचालन गरिएको जनाउँदै उहाँले भन्नुभयो, “यसपाली मनाङवासीलाई मात्रै फुमा यार्सागुम्बा सङ्कलनका लागि अनुमति दिइएको छ, त्यस्तो अप्रिय केही नहोस् भन्ने हाम्रो कामना हो, यदि केही भइहाल्यो भने पनि पहिलो कारबाही भनेको संरक्षण क्षेत्र व्यवस्थापनलाई नै हुनेछ ।” यसलाई व्यवस्थित गर्ने कानुन भनेको यससँग सम्बन्धित निर्देशिकामा यार्सागुम्बा सङ्कलन व्यवस्थापन संरक्षण समितिले गर्ने उल्लेख छ ।
प्रजिअ लामिछानेले भन्नुभयो, “सुरक्षाकर्मी छन् भनेर सोच्यो भने हरेक क्षेत्र सुरक्षित हुन्छ, तर सुरक्षित बनाउन केही मात्रमा मात्रै हाम्रा सुरक्षाकर्मी खटाइएमा पनि त्यस क्षेत्रको सुरक्षा हुन्छ, सूचना समयमा दिने, आवश्यक सहयोग र समन्वय गर्ने कुरामा सहमति भएको छ ।” अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) इलाका कार्यालयले यार्सागुम्बा सङ्कलनका लागि स्वीकृति दिएपछि मात्रै सङ्कलनका लागि खर्कतर्फ प्रवेश दिइने गरिन्छ ।
एक्यापका प्रमुख ढकबहादुर भुजेलले नार्पाभूमिका खर्कमा यार्सागुम्बा खोज्न बाहिरी जिल्लाका सङ्कलकलाई अनुमति नदिएको बताउनुभयो । उहाँका अनुसार जिल्लाका तीन खर्कमा यार्सागुम्बा सङ्कलनमा बाहिरी जिल्लाका व्यक्तिलाई रोक लगाइएको छ । नार्पाभूमिका अध्यक्ष लामाले सुरक्षा चुनौतीकै कारण बाहिरी जिल्लाबाट आउने यार्सागुम्बा सङ्कलकलाई रोक लगाइएको बताउनुभयो । उहाँले भन्नुभयो, “विगतमा भएको जस्तो घटना दोहोरिन दिनुहुँदैन भनेर स्थानीयलाई मात्र सङ्कलनको अनुमति दिँदै आएका छौँ ।”
फस्टाएन यार्सा
गत वैशाख १४ गतेदेखि मनाङको नाम्के खर्कबाट यार्सागुम्बा सङ्कलन भइरहेको छ । यसपालि विगतको तुलनामा थोरै मात्र सङ्कलन गरिएको छ । नासों–८ का वडाध्यक्ष एवं ताचै बगरछाप संरक्षण क्षेत्र व्यवस्थापन समितिका अध्यक्ष याद घलेले मलजल नमिल्दा यार्सागुम्बा साना मसिना भेटिएको बताउनुभयो । उहाँले भन्नुभयो, “जलवायु परिवर्तनका कारण समयमा हिउँ परेन, यार्साका लागि मल तथा जल भनेकै हिउँ हो, यसपालि बल्ल थाहा भयो समयमा हिउँ नपर्दा यार्सागुम्बा पनि कम सङ्कलन भएको छ, सङ्कलन गरिएका पनि साना, मसिना मात्रै छन् ।”
वैशाख १० गतेदेखि दुई सय जनाको टोली औषधीय जडीबुटी यार्सागुम्बा सङ्कलनको अनुमति लिएर नाम्के खर्कतर्फ गएको थियो । ताचैको टोली वैशाख २८ गते सङ्कलनका लागि गएको भए पनि जेठ ४ गते फर्कियो । घलेले भन्नुभयो, “सिङ्गो गाउँ नै खर्कतिर लाग्दा मृत्यु संस्कार चलाउनसमेत गाह्रो भयो, गाउँमा ५ गते अर्घौं परेको थियो, अर्घौं सकेर फेरि टोली लेक बसेका छन् ।” नाम्के खर्कमा मनाङवासीका अलावा अन्य गोरखा, लमजुङलगायतका जिल्लाका सङ्कलकलाई पनि यार्सागुम्बा सङ्कलनको अनुमति दिइएको छ ।
नाम्के र हुलाकी ओडारका खर्कमा यार्सागुम्बा सङ्कलन कार्य सकिने क्रममा रहेको छ । मनाङमा यार्सागुम्बा पाइने क्षेत्रमा सङ्कलन गर्न जाने सङ्कलनले १० वटा यार्सागुम्बा टिपिएकामध्ये एउटा सोही स्थानमा छाड्नुपर्ने प्रावधान निर्धारण गरिएको छ । मनाङमा १३ वटा सिएमसीमध्ये हाल धारापानी, थोंचे र चामेले काम गर्न सकेको छैन । दश वटा सिएमसीले भने काम गरिरहेको छ । जिल्लाका नाम्ग्य खर्क, किन्चो लेक, याक खर्क, मनाङ, पिसाङ, खाङ्सार, भ्राका, नाम्के, हुलाकी, नार र फुका खर्कबाट औषधीय जडीबुटी यार्सागुम्बा सङ्कलन गरिन्छ । असारको पहिलो सातासम्म यार्सागुम्बा सङ्कलन कार्य सकिन्छ ।
प्रधानमन्त्री कप भलिबलको खेल तालिका सार्वजनिक
१६ जेठ, काठमाडौँ I नेपाल भलिबल सङ्घको आयोजनामा हुने आठौँ प्रधानमन्त्री कप महिला तथा पुरुष भलिबल लिगको खेल तालिका आज सार्वजनिक भएको छ ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा यही जेठ १९ देखि २६ गतेसम्म आयोजना हुने उक्त प्रतियोगितामा पुरुष तर्फ आठ र महिला तर्फ छ टोलीको सहभागिता रहने आयोजकले जनाएको छ ।
प्रतियोगिताको पुरुषतर्फ टिपटप हेल्प नेपाल स्पोटर्स क्लब, सशस्त्र प्रहरी बलको एपिएफ, त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लबका साथै कोसी प्रदेश, गण्डकी प्रदेश, सुदूरपश्चिम प्रदेश र बूढानीलकण्ठ भलिबल क्लब रहेका छन् ।
महिलातर्फ एभरेष्ट भलिबल क्लब बुटवल, नेपाल पुलिस क्लब, एपिएफ क्लब, चन्द्रागिरि न्युडायमण्ड, त्रिभुवन आर्मी क्लब र कर्णाली प्रदेश भलिबल टिमले प्रतिस्पर्धा गर्नेछन् ।
यही जेठ १९ गते हुने प्रतियोगिताको उद्घाटन खेलमा पुरुषतर्फ टिपटप हेल्प नेपाल र बूढानीलकण्ड क्लबबीच प्रतिस्पर्धा हुनेछ । पहिलो दिन पुरुषतर्फ चार र महिलातर्फ दुई गरी छ खेल हुनेछन् ।
साथै पुरुषतर्फ नेपाल पुलिस र सुदूरपश्चिम स्पोर्ट्स, एपिएफ र गण्डकी प्रदेश तथा त्रिभुवन आर्मी क्लब र कोसी प्रदेशबीच खेल हुनेछ । यसैगरी उद्घाटन खेलको महिलातर्फ एपिएफ र चन्द्रागिरि न्युडायमण्ड तथा नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी क्लबबीच हुनेछ ।
प्यालेस्टाइनलाई राज्यको मान्यता अभियानलाई संयुक्त राष्ट्रसङ्घद्वारा स्वागत
प्यालेस्टिनी जनताको अतिआवश्यक अधिकारको प्रत्याभूत गर्न बनेको विभागले प्यालेस्टाइनलाई राज्यको मान्यता दिने अभियानलाई मङ्गलबार स्वागत गरेको छ ।
विभागले बार्बाडोस, बहामास, आयरल्याण्ड, जमैका, नर्वे, स्पेन, ट्रिनिडाड र टोबागोले प्यालेस्टाइनलाई दिएको राज्यको मान्यतालाई हार्दिकताका साथ स्वागत गर्दै विभागले संयुक्त राष्ट्रसङ्घ महासभा अन्तर्गत समितिको नेतृत्व गर्दछ ।
ब्यूरोले प्यालेस्टिनी जनताको आत्मनिर्णयको अपरिहार्य अधिकारलाई समर्थन गरी गाजामा विनाशकारी युद्ध र प्यालेस्टिनी जनताको अस्तित्वको खतराको बीचमा आशा ल्याउन यी देशहरूको दृढ सङ्कल्पको प्रशंसा गर्दछ ।
प्यालेस्टिनी जनताको स्वतन्त्र राज्यको अधिकारसहित आत्मनिर्णयको अधिकारलाई पुष्टि गर्ने सन् २०२४ मे–१० को महासभाको प्रस्तावपछि मान्यताको दिने क्रम बढेको हो ।
यस्तो घटनाक्रमले संयुक्त राष्ट्रसङ्घको बडापत्रमा स्थापित समान अधिकार र आत्मनिर्णयको माग गर्दै बढ्दो अन्तर्राष्ट्रिय आवाजहरू प्रतिध्वनित गर्दछ । यो पूर्वी जेरुसेलमलगायत प्यालेस्टिनी क्षेत्रमा ५७ बर्षे इजरायली कब्जाको अन्त्य र प्यालेस्टाइनको प्रश्नको न्यायपूर्ण, शान्तिपूर्ण र कूटनीतिक समाधानका लागि आवश्यक छ ।
ब्यूरोले राष्ट्रसङ्घीय सुरक्षा परिषद्लाई महासभाले व्यक्त गरेको व्यापक सहमतिसँग जोड्न र प्यालेस्टिनी राज्यलाई संयुक्त राष्ट्रसङ्घको पूर्ण सदस्यको रूपमा प्रवेश गर्न सिफारिस गर्न आग्रह गर्दछ ।
यसैगरी, विभागले गाजामा चलिरहेको चरम इजरायली सैन्य कारबाहीको निन्दा गरेको छ । रफाहमा विस्थापित मानिसहरूको शिविरमा आइतवारको आक्रमणमा कम्तिमा ४५ प्यालेस्टिनी नागरिकहरू मारिए भने २०० भन्दा बढी घाइते भए । विभागले अनुसन्धानको माग गर्दै अन्तर्राष्ट्रिय कानूनको गम्भीर उल्लङ्घनका लागि जिम्मेवार व्यक्तिहरूको जवाफदेहीताको माग गर्दछ ।
विभागले अन्तर्राष्ट्रिय समुदायलाई इजरायली कब्जाको अन्त्य गरी प्यालेस्टाइनको प्रश्नको न्यायपूर्ण, स्थायी र शान्तिपूर्ण समाधान गर्न तत्काल र समन्वित प्रयासका लागि अपील गर्दै ऐतिहासिक र गम्भीर अन्यायको अन्त्य गर्न सकियोस् भन्न अभिप्राय उल्लेख गरेको छ ।
नेपालकै पहिलो एकीकृत च्याङ्ग्रा पस्मिना फार्म स्थापना
१६ जेठ, मुस्ताङ I व्यावसायिक च्याङ्ग्रा खेतीको विकास गर्न र स्थानीय समुदायलाई आर्थिक रूपमा सशक्त बनाउने उद्देश्यले माथिल्लो मुस्ताङको लो मान्थाङमा च्याङ्ग्रा पस्मिना रिसर्च एन्ड एग्रो टुरिजम फार्मको स्थापना गरिएको छ । नेपालको पहिलो एकीकृत च्याङ्ग्रा फार्मका रूपमा स्थापना भएको यस फार्ममा एक हजार भन्दा बढी च्याङ्ग्रापालन गर्न मिल्ने क्षमता रहेको छ ।
स्थानीय च्याङ्ग्रा किसान र नेपाल पस्मिना उद्योग सङ्घको संयुक्त पहलमा स्थापना भएको उक्त फार्मले आधुनिक च्याङ्ग्रापालनको अभ्यासलाई दिगो कृषि पर्यटनसँग एकीकृत गर्नका लागि नयाँ आयाम प्रदान गर्ने विश्वास गरिएको छ । यो फार्म यस व्यवसायसम्बन्धी ज्ञान आर्जन र आदानप्रदान गर्ने केन्द्रका रूपमा रहनाका साथै च्याङ्ग्रा प्रजनन र पालनमा विशेषज्ञता र उत्कृष्ट अभ्यासहरूलाई बढावा दिनका लागि उपयोगी हुने सङ्घले जनाएको छ ।
नेपालका लागि युरोपियन युनियन (इयु) की राजदूत भेरोनिक लोरेन्जोले आज सो फार्मको उद्घाटन गर्दै उच्च गुणस्तरको च्याङ्ग्रा फाइबरको भरपर्दो स्रोत सिर्जना गरी पस्मिना मूल्य शृङ्खलालाई बलियो बनाउने बताउनुभयो । राजदूत लोरेन्जोले च्याङ्ग्रापालनमा युवा र महिलाको महत्वलाई ध्यानमा राखी स्थानीय रोजगारीका अवसरहरू सिर्जना गर्न र ग्रामीण बसाइँसराइको समस्या समाधान गर्न उनीहरूलाई यस व्यवसायमा अझ बढी प्रोत्साहित गर्नुपर्नेमा जोड दिनुभयो ।
सो अवसरमा लोमान्थाङ गाउँपालिकाका अध्यक्ष टासी नोर्बु गुरुङले स्थानीय सरकारले च्याङ्ग्रा किसानका लागि अनुदान मिलाउने जस्ता कार्यक्रम आफ्नो वार्षिक योजनामा समावेश गरी सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । अन्तर्राष्ट्रिय च्याङ्ग्रा विज्ञ डा. सरफराज बानीले दिगो अभ्यासलाई प्रवर्द्धन गर्दै व्यावसायिक च्याङ्ग्रा खेतीमा क्रान्तिकारी परिवर्तन गर्ने सम्भाव्यताबारे चर्चा गर्दै फार्मको प्राविधिक डिजाइन प्रस्तुत गर्नुभएको थियो ।
राजदूत लोरेन्जोले इयू–नेपाल व्यापार तथा लगानी कार्यक्रमको प्राविधिक सहयोगमा स्थापना भएको पस्मिना फाइबर सङ्कलन केन्द्रको अवलोकन गर्नुभयो । नेपालको पस्मिना क्षेत्रको मूल्य शृङ्खला मजबुत बनाउन युरोपियन युनियनले निरन्तर सहयोग गर्दै आएको छ ।
दिल्लीमा अहिलेसम्मकै उच्च तापक्रम मापन
भारतको राजधानी नयाँ दिल्लीमा तापक्रम अहिलेसम्मको उच्च अर्थात् ४९.९ डिग्री सेल्सियस (१२१.८ फरेनहाइट) पुगेको छ । तापक्रम वृद्धिसँगै पानीको अभाव हुन सक्ने चेतावनी अधिकारीहरूले दिएका छन् ।
भारतीय मौसम विज्ञान विभाग (आईएमडी) ले मङ्गलबार नरेला र मुङ्गेशपुरस्थित दिल्लीका दुई उपनगरीय क्षेत्रमा उच्च तापक्रम मापन गरेको हो ।
मौसम विभागका अनुसार यहाँको तापक्रम अपेक्षाभन्दा नौ डिग्री बढी रहेको छ ।
तीन करोडभन्दा बढी जनसङ्ख्या रहेको यस सहरमा बुधबार पनि यस्तै तापक्रम हुने पूर्वानुमान गरिएको छ र मानिसहरूलाई सतर्क रहन सूचना जारी गरिएको छ ।
सन् २०२२ को मे महिनामा दिल्लीको केही भागको तापक्रम ४९.२ डिग्री सेल्सियस (१२०.५ फरेनहाइट) पुगेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
भारतमा गर्मी याममा तापक्रम उच्च रहने भएपनि पछिल्ला बर्षहरूमा लामो र अत्यधिक गर्मी हुने गरेको छ ।
वर्षौंको वैज्ञानिक अनुसन्धानले जलवायु परिवर्तनका कारण गर्मी लामो हुने, बारम्बार हुने र तीव्र हुने गरेको जनाएको छ ।
–‘खानेपानीको अभाब’–
नयाँ दिल्लीका अधिकारीहरूले गर्मी बढेसँगै पानीका स्रोतहरू पनि घट्दै केही क्षेत्रमा आपूर्ति कटौती हुने र खानेपानीको अभाव हुनसक्ने चेतावनी दिएका छन् ।
भारतीय जल मन्त्री आतिशी मार्लेनाले पानीको अनावश्यक प्रयोग रोक्न ‘सामूहिक जिम्मेवारी’ लिन आह्वान गर्नुभएको छ ।
“पानीको अभावको समस्या समाधान गर्न हामीले धेरै क्षेत्रमा पानीको आपूर्ति दिनको दुई पटकबाट घटाएर दिनमा एक पटक गर्ने जस्ता धेरै उपायहरू अपनाएका छौं,” आतिशीले भन्नुभयो ।
उहाँले भन्नुभयो, “यसरी बचत गरिएको पानीलाई मिलाएर पानीको निकै अभाव भएका र दैनिक १५ देखि २० मिनेट मात्र पानी आपूर्ति क्षेत्रमा पु¥याइनेछ ।
मौसम विज्ञान विभागले गर्मीले स्वास्थ्यमा विशेष गरी शिशुहरू, वृद्धहरू र दीर्घकालीन रोगहरू भएकाहरूको स्वास्थ्यमा असर पार्नसक्ने भन्दै सावधानी अपनाउन आग्रह गरेको छ ।
धेरैले राजस्थान राज्यको तापक्रम ५०.५ डिग्री सेल्सियस मापन गरिएको र त्यहाँबाट आएको उष्ण लहरका कारण तापक्रम बढेको बताएका छन् ।
राजस्थानको मरुभूमि फलोदीमा सन् २०१६ मा ५१ डिग्री सेल्सियस तापक्रम पुगेको थियो ।
पश्चिम बङ्गाल राज्य र उत्तरपूर्वी राज्य मिजोरममा आइतबार भारत र बङ्गलादेशमा आएको चक्रवात ‘रेमाल’बाट आएको आँधीबेहरी र भारी वर्षाका कारण ३८ जनाभन्दा बढीको मृत्यु भएको छ ।
बङ्गलादेशको मौसम विज्ञान विभागले यो चक्रवात ‘देशको इतिहासमा सबैभन्दा लामो मध्ये एक’ भएको बताएको छ ।