कांग्रेस अहिले सरकारमा जाँदैन : नेता निधि
१७ जेठ, चितवन I नेपाली कांग्रेसका नेता बिमलेन्द्र निधिले अहिले सरकारमा जाने कांग्रेसको कुनै योजना नभएको बताउनुभएको छ । यहाँ आज सञ्चारकर्मीसँग कुराकानी गर्दै उहाँले कांग्रेसले प्रतिपक्षको भूमिका सशक्तरुपमा निर्वाह गर्ने बताउनुभयो ।
“कांग्रेस प्रतिपक्षको भूमिकामा रहन्छ । हामी पार्टीलाई सङ्गठन सुद्धिकरण अभियानमा लैजाने तयारीमा छौँ”, नेता निधिले भन्नुभयो । संसदीय प्रणालीमा लोकतान्त्रीक शक्ति सत्तापक्षमा वा प्रतिपक्षमा बस्ने उहाँको भनाइ छ ।
फरक प्रसङ्गमा नेता निधिले संविधानमा मध्यावधी निर्वाचन तथा संसद् विघटन गर्ने व्यवस्था नभएको उल्लेख गर्नुभयो । “मुलुक मध्यावधी निर्वाचनमा जाने स्थिति देखिएको छैन”, उहाँले भन्नुभयो ।
मधेश प्रदेशमा नेपाली कांग्रेस, नेकपा (एकीकृत समाजवादी) सहितका दलको सरकार बन्ने सम्भावना बढेर गएको नेता निधिको भनाइ थियो । यसबारे विषयमा छलफल सकारात्मक रुपमा भइरहेको उहाँले जानकारी दिनुभयो । सहकारी ठगि प्रकरणमा संसदीय छानबिन समिति बन्नु कांग्रेसका लागि ठूलो सफलता भएको उहाँले बताउनुभयो ।
क्रिकेट : नेपाल र अमेरिका भिड्दै
१७ जेठ, काठमाडौँ I आइसिसी टि ट्वान्टी विश्वकप क्रिकेट प्रतियोगिता तयारीको आफ्नो अन्तिम अभ्यास खेल नेपालले आज राति अमेरिकासँग खेल्दैछ ।
अमेरिकाको डालासमा हुने उक्त खेल नेपाली समयअनुसार राति ९ः१५ बजेदेखि सुरु हुनेछ । यसअघि भएको अभ्यास खेलमा नेपाल क्यानाडासँग ६३ रनले पराजित भएको थियो । त्यसैगरी अमेरिकाले टेष्ट राष्ट्र बङ्गलादेशविरुद्ध तीन खेलको शृङ्खला २–१ ले जितेको थियो ।
विभिन्न २० टोली सहभागी उक्त टी–२० विश्वकपमा नेपाल समूह ‘डी’ मा रहेको छ । नेपालको समूहमा नेदरल्यान्ड्स, श्रीलङ्का, दक्षिण अफ्रिका र बङ्गलादेश छन् । नेपालले पहिलो खेल नेदरल्यान्ड्ससँग यही जेठ २२ गते खेल्नेछ । जेठ २९ गते श्रीलङ्कासँग दोस्रो खेल खेल्नेछ भने जेठ ३२ गते दक्षिण अफ्रिकासँग खेल्नेछ । त्यस्तै नेपालले आगामी असार २ गते बङ्गलादेशसँग खेल्नेछ ।
सुनको मूल्य निरन्तर उकालोतिर
१७ जेठ, काठमाडौँ I स्थानीय बजारमा पहेँलो धातुको मूल्य निरन्तर बढिरहेको छ । बुधबारको तुलनामा आज सुनको तोलामा नै रु दुई हजार तीन सयले वृद्धि भएको छ ।
बुधबार प्रतितोला रु एक लाख ३८ हजार दुई सयमा कारोबार भएको छापावाला सुन आज रु एक लाख ४० हजार पाँच सय निर्धारण भएको छ भने तेजाबी सुन भाउ पनि बढेको छ । तेजाबी सुन बुधबार तोलामा रु एक लाख ३७ हजार पाँच सय ५० मा कारोबार भएकामा आज यो रु एक लाख ३९ हजार आठ सयमा कारोबार भएको छ । अघिल्लो दिनको तुलनामा तेजाबी सुनको मूल्य तोलामा रु दुई हजार दुई सय ५० ले वृद्धि भएको छ ।
यसैगरी चाँदीको मूल्य तोलामा रु ७० ले वृद्धि भएको छ । बुधबार रु एक हजार नौ सय ३० मा कारोबार भएको चाँदी आज रु एक हजार नौ सयमा बिक्री भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
‘जलवायु परिवर्तनका प्रभाव घटाउन सहकार्य गरौँ’
१७ जेठ, काठमाडौँ I नेपालले जलवायु परिवर्तनका प्रभाव घटाउने लगायत विश्वसमुदायले भोग्नुपरेका साझा समस्या समाधानका निम्ति विशेष परिस्थितिमा रहेका मुलुकहरू बीच सहकार्य हुनुपर्नेमा जोड दिएको छ ।
संयुक्त राष्ट्रसङ्घको आयोजनामा एन्टिगुवा र बरबुडाको राजधानी सेन्ट जोन्समा जारी विकासशील साना टापु राष्ट्र (सिड्स) को चौथो सम्मेलनमा सम्मेलनका भागलिने सिलसिलामा सेन्ट जोन्समा रहनुभएकी परराष्ट्र सचिव सेवा लम्सालले त्यहाँका परराष्ट्र, कृषि तथा व्यापारमन्त्री एभर्ली पल चेट ग्रीनीसँग बुधबार भएको शिष्टाचार भेटमा उक्त कुरामा जोड दिनुभएको हो ।
त्यस अवसरमा उहाँहरूबीच नेपाल– एन्टिगुवा र बरबुडा सम्बन्धका साथै अन्तरराष्ट्रिय रूपमा अनुमोदन गरिएका विकासका लक्ष्य, दोहा कार्ययोजना तथा विकासशील साना टापु राष्ट्रका निम्ति तयार गरिएको बरबुडा कार्ययोजनाको प्रभावकारी कार्यान्वयबारे छलफल भएको न्युयोर्कस्थित संयुक्त राष्ट्रसङ्घका लागि नेपालको स्थायी नियोगले जनाएको छ ।
सम्मेलनका क्रममा अल्पविकसित देशहरूको समूहका लागि वैश्विक समन्वय ब्युरोको अध्यक्षका हैसियतमा उहाँले साना तथा टापु राज्य एवं अल्पविकसित देशहरूको विकासका लागि अन्तरराष्ट्रिय समुदायको सघन सहयोगमा जोड दिनुभएको थियो ।
संयुक्त राष्ट्रसङ्घले ‘उत्थानशील समृद्धितर्फको मार्गचित्र’ शीर्षकमा आयोजना गरेको सम्मेलनमा दिगो विकासका लक्ष्य प्राप्तिमा विकासशील साना टापु राष्ट्रको प्रगति समीक्षा भएको थियोभने बरबुडा कार्ययोजना अनुमोदन भएको थियो । सम्मेलन आज समापन हुँदैछ । राष्ट्रसङ्घले प्रत्येक दश वर्षमा सिड्स सम्मेलन आयोजना गर्दै आएको छ ।
एमाले महिला भेला: आज १२ समूहमा छलफल हुँदै
१७ जेठ, काठमाडौँ I नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले आयोजना गरेको ‘राष्ट्रिय महिला भेला’ आज पनि जारी छ । आज १२ वटा समूहले सात वटा विषयमा सामूहिक छलफल गर्नेछन् । एमाले केन्द्रीय सदस्य रचना खड्काका अनुसार संविधानले गरेको महिला हकको व्यवस्था तथा कार्यन्वयनको अवस्था, पार्टी, संसद्, सरकार र कर्मचारीतन्त्रमा महिलाको सहभागितालगायत विषयमा सामूहिक छलफल हुनेछ ।
भेलामा पार्टीका केन्द्रीय सदस्य, पार्टीका २३ वटै सङ्गठनका नेत्री, सङ्घ, प्रदेश, स्थानीयमा निर्वाचित महिला, पार्टीको प्रदेश तथा जिल्ला कमिटीका पदाधिकारी, अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियनबाट निर्वाचित पदाधिकारीसहित पाँच हजार जना सहभागी छन् ।
एमालेले २०६३ साल जेठ १६ गते आमाको नामबाट नागरिकता, राज्यका सबै तहमा एक तिहाइ महिला सहभागिताको सुनिश्चितता, विभेदकारी कानुनको खारेजी र महिला हिंसाको अन्त्य गर्ने विषयलाई संसद्को सङ्कल्प प्रस्तावको रूपमा पास गरेको स्मरणमा भेलाको आयोजना गरेको हो । महिलाका नेतृत्व विकासलगायत समसामयिक प्रस्ताव समेटिएको घोषणापत्र जारी गरी आजै समापन हुनेछ ।
घोडाघोडीमा भेटियो नयाँ प्रजातिको चरा
घोडाघोडी (कैलाली), १७ जेठ: विश्व रामसार सूचीमा सूचीकृत कैलालीको घोडाघोडीमा नयाँ प्रजातिको चरा भेटिएको छ । घोडाघोडी चरा अभय आरक्ष क्षेत्रमा यही जेठ ७ देखि १३ गतेसम्म चरा गणना तथा अनुुसन्धान गरिएको थियो । सोही क्रममा पहिलोपटक लालचुच्चे ठेउवा भेटिएको छ ।
घोडाघोडीको बेतहनी क्षेत्रमा एक जोडी लालचुच्चे ठेउवा भेटिएको पन्छी संरक्षण सङ्घका सहजकर्ता हिरुलाल डगौराले जानकारी दिनुभयो । उहाँका अनुसार यो प्रजातिको चरा भारत र बङ्गलादेशबाट गर्मी याममा नेपाल आउने गर्छन् । यो नयाँ प्रजाति थपिएसँगै घोडाघोडी आरक्षमा चराको सङ्ख्या तीन सय ८१ पुगेको छ । गर्मी याममा बसाइँ सर्ने चराको प्रजाति, सङ्ख्या र अवस्था पत्ता लगाउने उद्देश्यका साथ डिभिजन वन कार्यालयको आयोजना र नेपाल पन्छी संरक्षण सङ्घको समन्वयमा चरा गणना गरिएको हो ।
काठमाडौँ उपत्यकाको तापक्रम ३३ डिग्री सेल्सियस पुग्ने पूर्वानुमान
काठमाडौँ, १७ जेठ I हाल मुलुकमा स्थानीय वायु, पश्चिमी वायुको आंशिक प्रभावका साथै भारतको विहार आसपासको न्यून चापीय प्रणालीको पनि आंशिक प्रभाव रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
कोशी र सुदुरपश्चिम प्रदेश लगायत पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रही देशका बाँकी भागमा मुख्यतया मौसम सफा रहेको छ ।
विभागका अनुसार आज दिउँसो कोशी प्रदेशलगायत देशका पहाडी भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भागमा मुख्यतया मौसमसफा रहने छ । कोशी प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ । कोशी, वाग्मती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना छ ।
यसैगरी, आज राति कोशी, मधेस, वाग्मती र गण्डकी प्रदेशमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भागमा मौसम सफा रहने छ । कोशी, मधेस, वाग्मती र गण्डकी प्रदेशका केही स्थान तथा लुम्बिनी प्रदेशका पहाडी भागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।
आगामी २४ घण्टामा कोशी, मधेस, वाग्मती र गण्डकी प्रदेशका केही स्थान तथा लुम्बिनी प्रदेशका पहाडी भागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जनाउँदै विभागले कोशी, वाग्मती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेकाले सतर्कता अपनाउन अनुरोध गरेको छ ।
काठमाडौँ उपत्यकाको तापक्रम बुधबारदेखि पुनः बढेको छ । गत मङ्गलबार २८ दशमलव पाँच डिग्री सेल्सियस तापक्रम मापन भएकामा बुधबार त्यो बढेर ३३ दशमलव तीन डिग्री सेल्सियस पुगेको थियो । आज यहाँको तापक्रम ३१देखि ३३ डिग्री सेल्सियसका बीच रहने विभागको पूर्वानुमान छ ।
जुनमा स्टारसिपको चौथो उडान परीक्षण सुरु गर्ने स्पेसएक्सको योजना
स्पेसएक्सले नियामक अनुमोदनको लागि बाँकी रहेको जुन ५ सम्ममा आफ्नो विशाल स्टारसिप रकेटको चौथो उडान परीक्षण गर्ने योजना बनाएको कम्पनीले जनाएको छ । उक्त योजना नियामक अनुमोदनका लागि ‘पेन्डिङ’ मा छ ।
स्पेसएक्सले मार्चमा स्टारसिपको तेस्रो उडान परीक्षण गरेको थियो, तर कम्पनीले हिन्द महासागरमा आफ्नो योजनाबद्ध स्प्लासडाउन स्थानमा पुग्नुअघि नै गाडीसँग सञ्चार गुमाएको थियो ।
स्पेसएक्सले तेस्रो उडान परीक्षणले द्रुत रूपमा भरपर्दो पुनः प्रयोज्य रकेटहरूको भविष्यतर्फ ठूलो प्रगति गरेको जनाएको छ । परीक्षणले अन्तरिक्षबाट पहिलो स्टारसिप पुनःप्रवेश, अन्तरिक्षमा पहिलो पटक स्टारसिपको पेलोड ढोका खोल्ने र बन्द गर्ने तथा सफल प्रोपेलेन्ट स्थानान्तरण प्रदर्शनसहित धेरै रोमाञ्चक कार्यहरू पूरा ग¥यो ।
चौथो उडान परीक्षणले कक्षा प्राप्त गर्नेदेखि स्टारसिप र सुपर हेभीको पुनः प्रयोग गर्ने क्षमता प्रदर्शन गर्न केन्द्रित हुने स्पेसएक्सले बताएको छ । प्राथमिक उद्देश्यहरू सुपर हेभी बुस्टरका साथ मेक्सिकोको खाडीमा ल्यान्डिङ बर्न र सफ्ट स्प्ल्यासडाउन कार्यान्वयन गर्ने र स्टारसिपको नियन्त्रित प्रविष्टि प्राप्त गर्ने हो ।
उडान–४ ले अघिल्लो उडान परीक्षण जस्तै समान ट्र्याजेक्टोरी उडान गर्नेछ । स्टारसिपलाई हिन्द महासागरमा स्प्लासडाउन गर्न लक्षित छ ।
स्पेसएक्सको स्टारसिप स्पेसक्राफ्ट र सुपर हेभी रकेटलाई सामूहिक रूपमा स्टारसिप भनेर चिनिन्छ । यसले एक पूर्ण पुनः प्रयोज्य यातायात प्रणाली प्रतिनिधित्व गर्दछ जुन चालक दल र कार्गो दुवैलाई पृथ्वीको कक्षा, चन्द्रमा, मङ्गल र त्यसभन्दा बाहिर लैजान डिजाइन गरिएको हो ।
सन् २०२४ मा विश्व बेरोजगारी थोरै कम हुने
यस वर्ष विश्वव्यापी बेरोजगारी थोरै घट्ने राष्ट्रसङ्घीय एजेन्सीले बुधबार जनाएको छ । यद्यपि एजेन्सीले असमानतालाई सम्बोधन गर्न ‘ढिलो प्रगति’ को चेतावनी दिँदै वृद्धिको अघिल्लो भविष्यवाणीलाई उल्ट्याएको छ ।
अन्तर्राष्ट्रिय श्रम सङ्गठन (आइएलओ) ले सन् २०२४ मा विश्वव्यापी बेरोजगारी दर चार दशमलव नौ प्रतिशत हुने अनुमान गरेको छ । यो सन् २०२३ मा पाँच प्रतिशतबाट बढेर यस वर्ष पाँच दशमलव दुई प्रतिशत हुने पूर्वानुमानपछि आएको हो ।
जेनेभास्थित आधारित राष्ट्रसङ्घीय एजेन्सीले एक प्रतिवेदनमा सन् २०२५ मा यो दर दर चार दशमलव नौ प्रतिशतमा रहने प्रक्षेपण गरेको छ । यद्यपि आइएलओले चेतावनी दिँदै भनेको छ, “श्रम बजारमा असमानता कायम छ, कम आय भएका देशहरूमा महिलाहरू विशेषरूपमा प्रभावित छन् ।”
प्रतिवेदनअनुसार १८ करोड ३० लाख मानिसले बेरोजगारीको परिभाषा पूरा गर्छन् । अर्थात उनीहरू सक्रियरूपमा कामको खोजीमा छन् र तुरुन्त उपलब्ध छन् । तर काम गर्न चाहने कामबिनाको व्यक्तिको सङ्ख्या ४० करोड २० लाख पुगेको छ ।
महिलाहरू अनिच्छापूर्वक कामबाट बाहिर हुने र अवसरहरूको अभावबाट असमानरूपमा प्रभावित हुने सम्भावना रहेको एजेन्सीले जनाएको छ । कम आय भएका देशहरूमा महिलाहरू विशेषगरी पीडित रहेका थिए । पुरुषहरूको १५ दशमलव तीन प्रतिशतको तुलनामा २२ दशमलव आठ प्रतिशत महिलाले काममा नभएको काम चाहन्थै । उच्च आय भएका देशहरूको लागि महिलाहरूको यो दर नौ दशमलव सात र पुरुषहरूका लागि सात दशमलव तीन प्रतिशत थियो ।
महिलाहरूले पुरुषको तुलनामा श्रमशक्ति पूर्णरूपमा छाड्ने सम्भावना धेरै रहेको प्रतिवेदनले चेतावनी दिएको छ । प्रतिवेदनमा सन् २०२४ मा काम गर्ने उमेरका ४५ दशमलव छ प्रतिशत महिलाहरू र ६९ दशमलव दुई प्रतिशत पुरुषहरू कार्यरत रहेको उल्लेख छ ।
“विश्वव्यापी असमानता कम गर्ने हाम्रो प्रयासको बावजुद श्रम बजार एक असमान खेल मैदान बनेको छ”, आइएलओका महानिर्देशक गिल्बर्ट होङबोले प्रेस विज्ञप्तिमा भन्नुभयो, “हामीले समावेशीकरण र सामाजिक न्यायलाई हाम्रा नीति र संस्थाहरूको केन्द्रविन्दुमा राख्नुपर्छ ।”
तरकारीमा कर खारेजीले गृहिणीलाई राहत
काठमाडौँ, १६ जेठ : प्रत्येक वर्षको बजेट भाषणले गृहिणीलाई बढी चिन्तित बनाउँथ्यो । किनकी महँगी वृद्धिले भान्सामा आलु, प्याज जुटाउन मुस्किल हुने गर्थ्यो । यसपटक भने बजेट भाषण सुनेपछि गृहिणीहरुले राहत महसुस गरेका छन् ।
अर्थमन्त्री वर्षमान पुनले मङ्गलबार प्रस्तुत गर्नुभएको आगामी आर्थिक वर्षको बजेट वक्तव्यमा तरकारी तथा फलफूलमा लगाइने मूल्य अभिवृद्धि कर खारेज गरेको बताउनुभयो । स्वदेशी उत्पादन संरक्षणमा टेवा पुग्ने हेतुले सरकारले यस्तो निर्णय लिएको उहाँको भनाइ थियो । तर मदिरा, बियर, सूर्ती र चुरोटलगायतमा भने अन्तःशुल्क दरमा वृद्धि गरिने वक्तव्यमा उल्लेख छ ।
शङ्खमूलकी शारदा भण्डारीले बजेट भाषण प्रत्यक्ष नसुनेपनि अरुकै मुखबाट तरकारी र फलफूलमा कर खारेज भएको समाचार सुनेको बताउनुभयो । सरकारको यो निर्णयले शारदा निकै खुसी हुनुहुन्छ । “वर्षैपिच्छे बजेट भाषणले भान्सा महँगिने चिन्ता हुन्थ्यो, यसपाली ढुक्क भएँ”, उहाँले भन्नुभयो, “तरकारीको मूल्य बढ्दा सबैभन्दा तनाव हामी गृहिणीलाई हुन्छ ।”
घरमा कमाउने श्रीमान् भए पनि सीमित खर्चमै परिवार धान्नुपर्ने बाध्यता रहने उहाँले बताउनुभयो । महँगी बढेमा कसरी पकाएर खुवाउने भन्ने तनाव यो पटक हटेकोमा उहाँले खुशी व्यक्त गर्नुभयो ।
बुद्धनगरकी प्रियङ्का दाहालले बजेट भाषणको सबैभन्दा राहत दिने पक्ष भनेकै तरकारी र फलफूलमा कर खारेजी भएको सुनाउनुभयो । घरको भान्सा सकेसम्म सस्तो हुनुपर्ने उहाँको बुझाइ छ । यसमा सरकारले मर्म बुझ्नुपर्ने हुँदा कर खारेजी प्रशंसनीय रहेको उहाँले बताउनुभयो । तर विचौलिया र कालोबजारीले गर्दा सस्तो तरकारी महँगोमा किन्नुपर्ने बाध्यता कसरी हट्ला भन्ने उहाँको चिन्ता छ । उहाँले गाउँमा १० रुपैयाँ मूल्य पर्ने टमाटर काठमाडौँमा महँगोमा खरिद गर्नुपर्ने बाध्यता रहेको बताउनुभयो ।
अघिल्लो वर्ष फलफूलमा १३ प्रतिशत भ्याट लगाउने नीति राखिएको थियो । १३ प्रतिशत भ्याटले रु ४० प्रतिकिलोको प्याजमा मूल्यवृद्धि भई रु ६० पुगेको थियो । अब भने त्यही १३ प्रतिशत भ्याट कर खारेजी पछि प्याज, आलुलगायत तरकारीको मूल्य सस्तो पर्ने व्यापारी बताउँछन् ।
नेपाल कृषिउपज आलुप्याज आयात निर्यात तथा थोक बिक्रेता सङ्घका महासचिव प्रकाश गजुरेलले सरकारले घोषणा गरेको भ्याट खारेजीले नेपाली उत्पादनमा सहयोग पुग्ने बताउनुभयो । “कर खारेजले स्थानीय किसानदेखि घरको भान्सासम्म राहत मिल्छ”, उहाँले भन्नुभयो, “हामीले धेरैपटक कर हटाउनुपर्छ भन्दै सरकारकासँग माग गर्दै आएका थियौँ । यसैको सुनुवाइ भएको हो ।”