इरानी राष्ट्रपति रायसीको गृहनगरमा आज अन्त्येष्टि गरिने
हेलिकप्टर दुर्घटनामा परी मृत्यु भएका इरानका राष्ट्रपति इब्राहिम रायसीको बिहीबार उहाँको गृहनगरमा अन्त्येष्टि गरिने भएको छ । बाँध उद्घाटन गरी फर्कने क्रममा आइतबार देशको उत्तरपश्चिम हिमाली क्षेत्रमा हेलिकप्टर दुर्घटना हुँदा ६३ वर्षीय रायसीसहित इरानी विदेशमन्त्री र अन्य छ जनाको मृत्यु भएको थियो ।
उहाँको अन्तिम विश्रामस्थल उत्तरपूर्वी शहर मशादमा रहेको एक महत्वपूर्ण शिया समाधिस्थल इमाम रेजाको पवित्र दरगाहमा हुनेछ । मशाद रायसीको जन्मस्थल हो । इरानी सञ्चारमाध्यमले बुधबार सार्वजनिक गरेको तस्बिरमा मशादका अधिकारीहरू अन्त्येष्टिको अन्तिम दिनको तयारी गरिरहेको देख्न सकिन्छ ।
अन्त्येष्टिको तयारी भइरहँदा इरानको दोस्रो ठूलो सहर मशादस्थित इमाम रेजा दरगाहको वरिपरि राईसी, कालो झण्डा र शिया प्रतीकहरूको ठूलो फोटोहरू राखिएको छ । राजधानी तेहरानमा बुधबार दिवङ्गत राष्ट्रपति रायसीलाई अन्तिम श्रद्धाञ्जलि दिन ठूलो भीड जम्मा भएको थियो । इरानी अधिकारी र सञ्चारमाध्यमले रायसीलाई ‘शहीद’ को संज्ञा दिएका छन् ।
बुधबार तेहरानमा भएको श्रद्धाञ्जलि सभामा सर्वोच्च नेता अयातोल्लाह अली खामेनीले दुर्घटनामा ज्यान गुमाएका राष्ट्रपति रायसी र अन्य आठ जनाको कफिनअगाडि घुँडा टेकेर उनीहरूको आत्माको शान्तिका लागि प्रार्थना गरेका थिए ।
गर्मीले अण्डा उत्पादन घट्दा लागत बढ्यो
चितवन I अण्डाको मूल्य बढेपछि उत्साहित कुखुरापालक किसान गर्मीका कारण उत्पादन घटेपछि निरास भएका छन् । उत्पादनमा कमी आएसँगै अण्डाको लागत बढेको छ ।
नेपाल भेटेनरी एसोसिएसन वागमती प्रदेशका अध्यक्ष डा दीपक तिवारी यो समयमा कुखुराले दानापानी कम खाने र कमजोर हुने हुँदा रोगको जोखिम हुने बताउनुहुन्छ । गर्मीमा २० देखि २५ प्रतिशत उत्पादनमा ह्रास आउने गर्दछ । गर्मीसँगै एच नाइन रोगका कारण पनि उत्पादनमा गिरावट आएको छ । दिउँसो कुखुरालाई दाना नखुवाउन सुझाव दिँदै उहाँले उत्पादन घटेकाले किसानको लागत मूल्य बढेको जानकारी दिनुभयो ।
पोल्ट्री क्षेत्रमा लामो अनुभव सँगाल्नुभएका विज्ञ डा तिलचन्द्र भट्टराई उत्पादन घटेसँगै लागत मूल्य बढ्दा किसान र व्यवसायी प्रभावित भएको बताउनुहुन्छ । हाल एउटा अण्डा तयार गर्न रु १६ हाराहारी खर्च हुने गरेको छ । यसअघि अण्डाको लागत मूल्य रु १४.५ थियो ।
नेपाल लेयर्स कुखुरा पालक सङ्घका अध्यक्ष विनोद पोखरेल चर्काे गर्मी र रोगका कारण अण्डा उत्पादनमा कमी आएको बताउनुहुन्छ । दैनिक ५० देखि ६० लाख अण्डा उत्पादन हुँदै आएकोमा आधा घटेको उहाँ बताउनुहुन्छ ।
पोल्ट्री व्यवसायी मञ्च चितवनका अध्यक्ष रघुनाथ भट्ट किसानले लागत मूल्य पाउन नसकेका भन्दै अन्य वस्तुको तुलनामा अण्डाको मूल्य कम रहेको बताउनुहुन्छ । उहाँले भन्नुभयो, “धेरै किसान विस्थापित भए, अब पनि लागत मूल्य नपाए व्यवसाय ध्वस्त हुन्छ ।”
मञ्चका पूर्वअध्यक्ष राजेन्द्र लामिछाने पोल्ट्री व्यवसाय संवेदनशील भएकाले राज्यले यसलाई विशेष ध्यान दिनुपर्ने बताउनुभयो ।
प्रधानमन्त्रीको प्रमुख आतिथ्यमा लुम्बिनीमा विशेष समारोह हुँदै
लुम्बिनी I आज २५६८ औँ बुुद्धजयन्ती एवं लुम्बिनी दिवस । बुद्ध जन्मस्थल लुम्बिनीमा आज प्रधानमन्त्री पुुष्पकमल दाहाल ‘प्रचण्ड’को प्रमुख आतिथ्यमा विशेष समारोह हुँदैछ । बुद्धजयन्ती बौद्ध सम्प्रदायको मात्र नभई सबैको साझा उत्सव भएको बताउँदै लुम्बिनी विकास कोषका उपाध्यक्ष ल्हारक्याल लामाले पवित्र लुम्बिनीको विकास गर्ने आफ्नो सङ्कल्प सुनाउँदै त्यस निम्ति समाजका सबै वर्गको सहयोग अपरिहार्य भएको बताउनुभयो ।
विशेष समारोहमा सहभागी हुन प्रधानमन्त्री दाहालसँगै उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ, लुम्बिनी विकास कोषका अध्यक्ष एंव संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री हितबहादुर तामाङ, लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महरासहितका उच्चअधिकारी, कूटनीतिक नियोगका प्रमुख तथा पदाधिकारी लुम्बिनी आउने कार्यक्रम रहेको उहाँले जानकारी दिनुभयो ।
कोषका कोषाध्यक्ष तथा प्रचारप्रसार व्यवस्थापन उपसमितिका संयोजक ढुण्डिराज भट्टराईले लुम्बिनीसहित रामग्राम, कपिलवस्तु र देवदहमा विविध कार्यक्रम आयोजना गरिने बताउनुभयो । बुधबार साँझ भारतीय दूतावाससँगको साझेदारीमा सांस्कृतिक कार्यक्रम आयोजना गरिएको थियो । हिजो साँझ देखि नै मायादेवी मन्दिरमा महापरित्राण पाठ जारी छ ।
आज बिहान अन्तर्राष्ट्रिय भिक्षु भिक्षुणीहरूको सहभागितामा प्रार्थनासभा तथा शोभायात्रा भएको छ । लुम्बिनीबाट आजै नेपाल, भारत र श्रीलङ्का त्रिदेशीय मोटरसाइकल यात्रा समेत प्रारम्भ गर्ने कार्यक्रम रहेको कोषाध्यक्ष भट्टराईले राससलाई बताउनुभयो ।
‘बुद्धका उपदेश पालना गरौँ’
काठमाडौँ I नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले बुद्ध जयन्तीको अवसरमा सम्पूर्ण नेपालीमा सुख, शान्ति, समृद्धि एवं उत्तरोत्तर प्रगतिको कामना गर्नुभएको छ ।
बुद्ध जयन्तीका अवसरमा आज शुभकामना सन्देश जारी गरेर उहाँले हाम्रो देश अझै पनि हिंसा, मानव अधिकार प्रतिकूल घटनाबाट मुक्त हुन नसकेको बताउँदै मानव अधिकार विरोधी क्रियाकलाप सदाका लागि अन्त्य गर्न सबैले आ–आफ्नो क्षेत्रबाट जिम्मेवारीपूर्वक काम गर्नुपर्नेमा जोड दिनुभएको छ ।
“शान्ति, सहिष्णुता तथा सद्भावका प्रणेता गौतम बुद्धको उपदेशलाई सबैले मन, वचन र कर्मले पालना गरौँ, अशान्ति, हत्या र हिंसाको विरोध गरौँ । देशमा शान्ति कायम होस्, सबै प्रकारका दमनबाट सबैले मुक्ति पाउँन्”, उहाँले शुभकामना सन्देशमा भन्नुभएको छ ।
पूर्वराष्ट्रपति भण्डारीद्वारा उँभौलीको शुभकामना
काठमाडौँ I पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले किराँत समुदायको पर्व उँभौलीका अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका राई, लिम्बू, याक्खा, सुनुवारलगायत सम्पूर्ण किरात दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति र समृद्धिको कामना गर्नुभएको छ ।
भौगोलिक, जातीय, भाषिक एवं सांस्कृतिक विविधतायुक्त नेपाली समाजमा यस प्रकारका चाडपर्वको माध्यमबाट विविध जातजाति र समुदायबीच आपसी एकता, सद्भाव, सहिष्णुताको भावना अभिवृद्धि भई राष्ट्रिय एकतालाई थप सुदृढ बनाउन मद्दत पुग्ने विश्वास पूर्वराष्ट्रपतिले भण्डारीले आज जारी गर्नुभएको शुभकामना सन्देशमा व्यक्त गर्नुभएको छ ।
उँभौली पर्वले सम्पूर्ण नेपालीहरूलाई आपसमा एक भएर सभ्य, सुसंस्कृत र समृद्ध समाज निर्माणका लागि अग्रसर हुन सबैलाई प्रेरणा प्रदान गरोस् भन्ने कामना उहाँले सन्देशमा गर्नुभएको छ । उँभौली किरात समुदायद्वारा वैशाख शुक्ल पूर्णिमाको दिन पितृ र प्रकृति (भूमि)को पूजा गरी मनाइने विशिष्ट चाड हो ।
एटीएफ यु–१२ टेनिस टिम प्रतियोगिता : नेपालको पहिलो जित
काठमाडौँ I नेपालले एटीएफ यु–१२ टेनिस टिम प्रतियोगिता (दक्षिण एसियाली क्षेत्रीय छनोट) अन्तर्गत छात्रतर्फको खेलमा जित हात पारेको छ ।चार राष्ट्र रहेको समूह ‘बी’ को लिग खेलमा नेपालले भुटानलाई आज ३–० को सोझो सेटमा पराजित गरी सान्त्वना जित हात पारेको हो । यसअघि नेपाल श्रीलङ्का र पाकिस्तानसँग पराजित भएको थियो । यो नतिजासँगै नेपाल प्रतियोगिताबाट बाहिरिएको छ ।
पहिलो सिङ्गल्समा नेपालका विश्व विशेष डल्लाकोटीले डुडु तेन्जिङलाई ६–० र ६–३ तथा निश्चल ज्ञवालीले पेल्थोप छिरिङलाई ६–२ र ६–३ को सोझो सेटमा पराजित गरे । डबल्समा नेपालका विश्व र साहनावाज आलमको जोडीले पेल्थोप र मिफाम छिरिङको जोडीलाई ६–० र ६–२ को सेटमा हराए ।
नेपाल टेनिस सङ्घद्वारा आयोजित उक्त प्रतियोगिताको छात्रमै पाकिस्तानले श्रीलङ्का तथा भारतले बङ्गलादेशलाई समान ३–० ले पन्छाए । योसँगै छात्रमा सेमिफाइनल समीकरण पूरा भएको छ । सेमिफाइनलमा भारतको भेट श्रीलङ्कासँग हुनेछ भने पाकिस्तानले बङ्गलादेशको सामना गर्नेछ ।
यसैगरी छात्रामा श्रीलङ्काले नेपाललाई ३–० ले पराजित ग¥यो । सिङ्गल्समा लियङ सानुथी वोङले नेपालीकी सारा पन्तलाई ६–० र ६–० तथा श्रीलङ्काकी दाम्सिलुनी सहन्साले अनुश्री धोजुलाई ६–० र ६–१ को सोझो सेटमा पन्छाए । डबल्समा श्रीलङ्काका लियङले हेवासाम पथिराजाको जोडीले अनुश्री र आयुशा जिसीको जोडीलाई ६–४ र ६–३ को सेटमा पाखा लगाए । नेपालको यो लगातार तेस्रो हार हो । यसअघि नेपाल बङ्गलादेश र भारतसँग पराजित भएको थियो ।
किराँत समुदायको महान् पर्व साकेला उभौली भोलि देखि सुरु
धरान (सुनसरी) I किराँत समुदायको महान् पर्व साकेला उभौली भोलि बिहीबारदेखि सुरु हुने भएको छ । आज किराँत राई यायोक्खा सुनसरी जिल्ला समितिले यायोक्खा भवनमा पत्रकार सम्मेलन गरी उक्त जानकारी दिएको हो ।
प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिनदेखि किराँत समुदायले मनाउने उभौली पर्व धरान सुनसरीको सबै स्थानमा भूमेस्थानमा पूजा आराधना गरी मनाउँदै आएका छन् ।
किरात समुदायले अन्नबाली लगाउने र चराचुरुङ्गी तथा जनावर बेंसीदेखि लेकतिर लाग्ने समयका साथै अन्नबाली सप्रियोस, रोगव्याधि नलागोस्, प्राकृतिक विपत्ति नपरोस् भन्ने कामनाका साथ साकेला उभौली पर्व मनाउने गरेको वरिष्ठ पत्रकार हर्ष सुब्बाको भनाइ छ ।
विगतमा झैँ यसवर्ष पनि सुनसरी धरान, तरहरा, इटहरी, पकली, प्रकाशपुर, बराहक्षेत्र, भरौल, रामधुनी, चक्रघट्टीलगायतका सबै ठाउँमा बृहत् साकेला नृत्यसहित उभौली मनाइने भएको छ । साकेला उभौली–२०८१ (यलम्बर संवत्–५०८४)का अवसरमा राष्ट्रिय फुटबल खेलाडी प्रीति राईलाई नगद रु एक लाख पाँच हजार र सम्मानपत्रसहित सम्मान गरिने यायोक्खा सुनसरीका अध्यक्ष राजेन्द्र राईले बताउनुभयो ।
साथै राष्ट्रिय एथलेटिक्सको कबड्डी प्रशिक्षक पार्वती राई, इन्ञ्जिनियर पारशमणि राई, महेन्द्र बहुमुखी क्याम्पसका प्रमुख चन्द्रकुमार राई र गोर्खा सैनिक सेवामा एमबिइ उपाधि प्राप्त सुवास राईलाई सम्मान गरिनेछ ।
कार्यक्रम यही जेठ २६ गते धरान उपमहानगरपालिका–१७ साकेला पार्कमा बृहत् साकेला नृत्यसहित समापन हुने सुनसरी किराँत राई यायोक्खाका अध्यक्ष राईले जानकारी दिनुभयो । समापनका दिन विभिन्न ठाउँबाट आउनुभएका राईहरुको साकेला सिल्ली चण्डी नाचमध्ये उत्कृष्ट नाच्ने समूहलाई पनि नगद पुरस्कारसहित सम्मान गरिने छ ।
समापन कार्यक्रममा ७० हजारभन्दा बढीको सहभागिता रहने उहाँको भनाइ छ । साकेला उभौली चाड विगतका वर्ष जस्तै भव्यताका साथ मनाउने तयारी गरिएको छ । जसमा रु आठ लाख ९६ हजार ८४ खर्च हुने अनुमान गरिएको छ ।
उभौली र उधौलीमा सरकारले राष्ट्रिय बिदासमेत दिने गरेको छ । सरकारले किरात चाड घोषणा गरेपछि उभौली र उधौलीलाई विशेष उत्सवका रुपमा मनाउने गरिएको छ ।
ताप्लेजुङमा अवस्थित टिप्ताला नाका खुलाउने तयारी
फुङ्लिङ (ताप्लेजुङ) I ताप्लेजुङमा अवस्थित टिप्ताला नाका खुलाउने तयारी भइरहेको छ । चीन र नेपालको दुई पक्ष समझदारीमा नाका खुलाउन लागिएको हो ।
गत वैशाखको अन्तिम साता प्रमुख जिल्ला अधिकारी रवीन्द्रप्रसाद आचार्यको नेतृत्वमा सुरक्षा निकायलगायतको टोली टिप्ताला नाका पुग्नुभएको थियो । जिल्ला प्रशासन कार्यालय ताप्लेजुङका अनुसार चीनका तर्फबाट तिब्बतको डिङ्जी काउन्टी सरकारका अधिकारीबीचको समन्वयमा गत वैशाख २५ गते नाका खुलाउने सहमति भएको थियो ।
चीनका तर्फबाट तयारी पूरा नभएकाले गत वैशाख २५ गते नाका खुलाउन नसकेको ताप्लेजुङका प्रमुख जिल्ला अधिकारी आचार्यले बताउनुभयो । उहाँले भन्नुभयो, “चीनको तर्फबाट नाका खुलाउन तयारी पूरा नभएकाले सहमतिअनुसार नाका खुलेन । यही महिना भित्र खुल्ने गरी तयारी भयरहेको छ ।”
नेपालबाट व्यापारसम्बन्धी अध्ययन गर्नका लागि पहिलो चरणमा ५० जना व्यापारीलाई तिब्बको रिउ प्रवेश गर्न दिने र तिब्बतकालाई व्यापारका लागि अध्ययन गर्न अनुमति दिनेगरी समझदारी भएको प्रमुख जिल्ला अधिकारी आचार्यले बताउनुभयो । उहाँका अनुसार नाका खुल्ने सहमति भएसँगै सीमावर्ती क्षेत्रमा बसोबास गर्ने एक सय १५ जनालले तिब्बत प्रवेशका लागि अनुमति लिएका छन् ।
जिल्ला प्रशासन ताप्लेजुङका अनुसार फक्ताङ्लुङ गाउँपालिकाको–६ लेलेप र फक्ताङ्लुङ–७ ओलाङचुङगोला क्षेत्रका साथै मिक्वाखोला गाउँपालिका–५ पापुङका नागरिक अनुमति लिएका छन् । चीनको स्वशासित क्षेत्र तिब्बतले कोरोना सङ्क्रमणपछि टिप्ताला नाका बन्द गर्दै आएको थियो । पाँच हजार दुई सय मिटर उचाइको नेपाल–चीनको स्वशासित क्षेत्र तिब्बतको टिप्ताला पुगेको नेपाली अधिकारीको टोलीले नाका सञ्चालन र यातायात सहजताका विषयमा त्यहाँका अधिकारीसँग छलफल गरेको आचार्यले बताउनुभयो ।
ओलाङचुङगोला, लेलेप र पापुङमा गरी करिब २४ जना नागरिक नाका बन्दका कारण लामो समयदेखि आफ्नो माइतीघरसम्म जान पाएका थिएनन् । प्रजिअ आचार्यका अनुसार टिप्ताला नेपाल–तिब्बतको महत्वपूर्ण व्यापारिक नाका भएकाले द्विदेशीय व्यापार प्रवर्द्धनमा समेत योगदान पु¥याउँदै आएको छ । “व्यावसायिक हिसाबले यो नाका महत्वपूर्ण छ”, उहाँले भन्नुभयो, “यसलाई उपयोग गर्नेगरी सबै पक्षबाट सहयोग र समन्वय जरुरी छ ।”
नाका समयमै खुल्न नसक्दा सीमावर्ती बस्तीका समुदायले सास्ती खेप्दै आएका छन् । आलोचुङगोलामा उत्पादन गरिएको गलैँचा तिब्बती बजारमा बढी मूल्यमा बिक्री हुनेमा लामो समयसम्म नाका बन्द हुँदा यहाँ उत्पादित गलैँची बिक्रीमा समस्या हुँदै आएको स्थानीय बताउँछन् । हिमाली क्षेत्रमा बसोबास गर्ने समुदाय पुख्र्यौली पेसा पशुपालनमा (याक) निर्भर हुँदै आएका छन् । चीनका बजारमा चौँरीयाकहरुको माग अत्यधिक हुने मिक्वाखोला–५ का चौँरीयाकपालक मिलन दोर्जेले बताउनुभयो । लामो समय चीनतर्फ चौँरीयाक निर्यात हुन नसक्दा आर्थिक सङ्कट समेत आएको उहाँको भनाइ छ ।
स्वास्थ्यमन्त्री यादवद्वारा वीर अस्पतालमा छड्के अनुगमन
काठमाडौं I स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप यादवले आज वीर अस्पतालमा छड्के अनुगमन गर्नुभएको छ । आज दिउँसो १ बजे मन्त्रीसहित सचिव डा रोशन पोखरेललगायत कर्मचारी अनुगमनमा सहभागी हुनभएको थियो ।
मन्त्री प्रदीपले वीर अस्पतालको नयाँ भवनदेखि पुरानो भवनको अवलोकन गर्नुभयो । त्यसपछि नजिकै रहेको राष्ट्रिय ट्रमा सेन्टरको समेत अवस्था बुझ्न जानुभएको थियो । करिब तीन घण्टाको अनुगमनमा मन्त्री यादवले प्रत्यक्षरुपमा बिरामीलाई भेटेर अवस्थाका बारेमा जानकारी लिनुभएको थियो ।
अस्पतालको अकस्मात कक्ष, ओपिटीमा सबैभन्दा बढी समस्या देखापरेको मन्त्री यादवले बताउनुभयो । “देशभरकै बिरामीको उपचारको केन्द्र रहेको अस्पताल व्यवस्थित हुुनुपर्छ”, उहाँले भन्नुभयो, “कतिपय कक्ष तथा सेवा व्यवस्थित नहुँदा बिरामीले दुःख पाउनुभएको छ । मुख्यतया जनशक्तिको अभाव देखिएको छ, यसले व्यवस्थापनमा समस्या देखिएको हो ।”
मन्त्री यादवले अस्पतालको सेवा थप प्रभावकारी बनाउन जनशक्तिको व्यवस्थापन तुरुन्तै गरिने बताउनुभयो । शय्या अभावका कारण एउटै शय्यामा महिला र पुरुष राखेर उपचार गरेकोसमेत भेटिएको थियो ।
अस्पतालमा आएका सर्वसाधारणले सेवासुविधामा भोग्नु परेको समस्या प्रत्यक्ष मन्त्रीसमक्ष राखेका थिए । अस्पतालको औषधि पसलमा घण्टौँ लाइन लागेका सर्वसाधाणलाई मन्त्री यादवले समस्या के छ ? भन्दै सोध्नुभएको थियो । औषधि पसलमा टोकन सिस्टम नहुँदा घण्टौँ लाइनमा बस्नुपर्ने बाध्यता रहेको सर्वसाधारणले सुनाउनुभएको थियो ।
मन्त्री यादवले औषधि पसलको लाइन व्यवस्थापन गर्न तुरुन्तै टोकन सिस्टम ल्याउन अस्पतालका उपकुलपति डा भूपेन्द्र बस्नेतलाई निर्देशन दिनुभयो । त्यस्तै, सर्वसाधारणले स्वास्थ्य बीमामार्फत औषधि नपाएको गुनासो गर्नुभएको थियो ।
डा भूपेन्द्रले अनुगमनकै क्रममा सर्वसाधारणमाँझ औषधि अभाव भएको स्वीकार गर्दै औषधि ल्याउने प्रक्रियामा रहेको र दुई साताभित्र स्वास्थ्य बीमाको औषधि आइपुग्ने जानकारी दिनुभयो । “औषधीको अभाव छ, हामी स्वीकार गर्छौं”, उहाँले भन्नुभयो, “दुई सातभित्र औषधि अभाव पूर्ति गरेसँगै बीमासम्बन्धी हेर्ने छुट्टै डेस्कको व्यवस्थापन समेत मिलाउने छौँ ।”
मन्त्री यादवले अनुगमनका क्रममा वीर अस्पतालको पछाडि थुप्रिएका प्रयोगविहीन भौतिक सामग्रीको तुरुन्तै व्यवस्थापन गर्न समेत निर्देशन दिनुभएको थियो ।
भारतमा वेपत्ता बङ्गलादेशी सांसद्को खोजी सुरू
गत हप्ता भारतबाट बेपत्ता भएका बङ्लादेशको सत्तारूढ पार्टी अवामी लिगका सांसद्को खोजी गर्न उच्चस्तरीय खोजी अभियान सुरु भएको छ ।
बेपत्ता सांसद अनवारुल आजिम मे १२ मा भारत प्रवेश गरी मे १३ मध्यान्नतिर साथीहरूसँग मेडिकल जाँचका लागि कोलकाता नजिकैको बिधाननगरको घरमा अन्तिम पटक देखिएको उहाँको पारिवारिक स्रोतले जनाएको छ ।
कोलकाताको बिधाननगरमा बस्दै आएका उहाँ निकट स्रोतका अनुसार आजिमले दिल्ली जाने बताउनुभएको थियो तर मे १३ देखि हालसम्म उहाँसँग सम्पर्क भएको छैन । ढाकामा उहाँको परिवारलाई बिधाननगरका साथीले उहाँ दिल्लीतर्फ जाने बताएको मोबाइल सन्देशमार्फत् जानकारी गराएको बताइएको छ ।
सञ्चारको अभाव अचानक बेपत्ता भएको भन्दै चिन्तित सांसदका पारिवारलगायत सांसदकी छोरीले बुबासँग सम्पर्क गर्न असमर्थ भएको जनाएका छन् । परिवारले बिधाननगरको बारानगर पुलिस स्टेसनमा बेपत्ता भएको उजुरी दिएको छ ।
सांसद् अजिमको परिवारले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “छोरीले बुबासँग कुराकानी गर्न सबै परिचितहरूलाई फोनमा सम्पर्क गर्दा पनि सम्पर्क हुन सकेन ।”
दिल्लीका उच्चायुक्त र कोलकातास्थित बङ्गलादेशी बाणिज्य दूतावासले खोजीका लागि समन्वय गरेपछि भारतीय अधिकारीहरूले अनुसन्धान सुरु गरेका छन् ।
सांसदको परिवार र साथीहरूले भारत भ्रमण मुख्यतया चिकित्सा उद्देश्यका लागि भएको बताएका छन् ।