गोरखाकी फुञ्जो लामाको नाममा छिटो सगरमाथा आरोहणको कीर्तिमान
काठमाडौँ I नेपाली महिला आरोही फुञ्जो झङ्मु लामाले १५ घण्टाभन्दा कम समयमै विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण गरेर कीर्तिमान कायम गर्नुभएको छ । वसन्त ऋतुको जारी सगरमाथा आरोहणमा गोरखाकी फुञ्जोले आज बिहान ६ः२३ बजे सगरमाथाको चुचुरोमा पुगेर सगरमाथाको सबैभन्दा छिटो महिला आरोहीको कीर्तिमान बनाउनुभएको हो ।
सगरमाथा आधारशिविरस्थित पर्यटन विभागको अस्थायी फिल्ड कार्यालयका प्रमुख खिमलाल गौतमका अनुसार बुधबार दिउँसो ३.५२ मा आधार शिविरबाट आरोहण सुरू गरी आज बिहान ६ः२३ बजे आरोही फुञ्जोले सगरमाथाको चुचुरोमा पाइला टेक्नुभएको थियो । उहाँले १४ घण्टा ३१ मिनेटमा सगरमाथा आरोहण गरी कीर्तिमान कायम गर्नुभएको जनाइएको छ ।
यसअघि सन् २०१८ मा फुञ्जोले ३९ घण्टा ६ मिनेटमा सगरमाथाको शिखरमा पुगेर रेकर्ड बनाउनुभएको थियो । पछि सन् २०२१ मा हङकङकी स्याङ यिन हङले २५ घण्टा ५० मिनेटमा सगरमाथा आरोहण गरेर बनाएको कस्सतमान फुञ्जोले तोड्नुभएको हो । यसअघि दोलखाका पेम्बादोर्जे शेर्पाले आठघण्टा १० मिनेटमा सगरमाथा आरोहण गरेर सबैभन्दा छिटो सगरमाथा आरोहण गर्ने पुरुषको रूपमा गिनिजबुकमा रेकर्ड कायम गर्नुभएको थियो ।
विसं २०४३ मा गोरखाको छेकाम्बर बुर्जी गाउँ (चुम भ्याली) मा सामान्य परिवारमा जन्मेकी फुञ्जोको सानै उमेरदेखि हिमाल आरोहणमा रुचि थियो । अमेरिकाको ‘डेनाली’ हिमाल आरोहण गरेर आरोहण यात्रा प्रारम्भ गरेकी फुञ्जोले चोयु, अमाडब्लम, लापुछे, मनास्लुजस्ता हिमाल चढिसक्नु भएको छ । उहाँले फ्रान्सको ‘मोमलङ’ हिमाल पनि आरोहण गरिसक्नुभएको छ । सगरमाथा आरोही सङ्घका महासचिव नेपाल पर्वतारोहण सङ्घका सचिव शिवबहादुर सापकोटाका अनुसार आरोही फुञ्जोले २४ घण्टा २४ मिनेटमा सगरमाथाको आधारशिविरबाट चुचुरोसम्म र सगरमाथाको चुचुरोबाट आधार शिविरसम्म आरोहण सकेर नयाँ कीर्तिमान बनाउनुभएको छ ।
उहाँले नेपाली चेलीको साहसिक कार्यले संसारभर नेपालको साहसिक पर्यटन प्रवर्द्धमा सन्देश दिनुका साथै विश्वशान्ति, जलवायु परिवर्तन, पर्यटन प्रवर्द्धमा लाग्ने आरोहीको प्रोत्साहनमा पनि भूमिका खेलेको बताउनुभयो ।
फुञ्जोले हिमाल आरोहणका क्रममा दुर्घटनामा परेकालाई हेलिकप्टरमा झुण्डिएर उद्धार गर्ने काम गर्दै आउनुभएको छ । उहाँले सोलुखुम्बुको खुम्बु क्षेत्र र गोरखाको मनास्लु क्षेत्रमा हेलिकप्टरमा झुण्डिएर हिमालको चुचुरा, खोच, ग्ल्यासिएरसम्म पुगेर उद्धार कार्य गर्दै आउनुभएको छ । पहिलो नेपाली महिला हेलिकप्टर लामोलाइन उद्धारकर्ता फुञ्जो यसअघि नै तेन्जिङ–हिलारी पुरस्कारबाट सम्मानित भइसक्नुभएको छ ।
मधेश प्रदेशः १० महिनामा करिब १९ प्रतिशत खर्च
जनकपुरधाम I मधेश प्रदेशमा चालु आर्थिक वर्षको १० महिनामा १८ दशमलव आठ प्रतिशतमात्र खर्च भएको छ ।
मधेश प्रदेश लेखा नियन्त्रणको कार्यालय जनकपुरधामले मधेश प्रदेश सरकारको कूल बजेट रु ४४ अर्ब ११ करोड ४० लाख ३२ हजारमध्ये उक्त अवधिमा १८ दशमलव आठ प्रतिशतमात्र खर्च भएको जनाएको हो । उक्त अवधिमा चालु खर्च तर्फ २४ दशमलव ६४ प्रतिशत अर्थात रु चार अर्ब ४६ करोड ७४ लाख ६८ हजार तथा पुँजीगत तर्फ १४ दशमलव ४४ प्रतिशत अर्थात रु तीन अर्ब ६९ करोड २१ लाख ८० हजार बजेट खर्च भएको कार्यालयका लेखा अधिकृत मनोज झाले जानकरी दिनुभयो ।
मधेश प्रदेशको वर्तमान सरकारमा सम्बन्धित मन्त्रालयमा मन्त्रीको हेरफेर, सचिवलगायत कर्मचारीको अभाव, निमित्तको भरमा मन्त्रालय सञ्चालन हुनु, योजना र बजेट बाँडफाँडलगायत समस्याले लक्ष्यअनुसार विनियोजित बजेट खर्च नभएको उहाँले बताउनुभयो ।
चालु आर्थिक वर्षको पूर्ण बजेटमध्ये चालु तर्फ १८ अर्ब ५४ करोड ५८ लाख तथा पुँजीगत तर्फ २५ अर्ब ५७ करोड ७५ लाख ७४ हजार अर्थात ४४ अर्ब ११ करोड ४० लाख ३२ हजार कूल बजेट रहेको सो कार्यालयले जनाएको छ । गत आर्थिक वर्षमा कूल बजेटको ६१ प्रतिशतमात्र खर्च भएको थियो ।
आर्थिक वर्ष सकिन एक महिनामात्र बाँकी रहेकाले यही अवस्थामा योपटक ५० प्रतिशतसमेत बजेट कार्यावन्यन हुन चुनौती रहेको जानकारहरूको भनाइ छ ।
कार्यदलको बैठक निष्कर्षविहीन, शुक्रबार बिहान पुनः बस्ने
काठमाडौँ I सहकारी छानबिन गर्न संसदीय छानबिन समितिको कार्यादेश टुङ्गो लगाउन गठित कार्यदलको आज बसेको बैठक निष्कर्षविहीन बनेको छ । आज सिंहदरबारस्थित कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयमा बसेको बैठकमा संसदीय छानबिन समितिको कार्यादेशका बारेमा छलफल भएको नेकपा (एमाले) को संसदीय दलका प्रमुख सचेतक महेश बर्तौलाले जानकारी दिनुभयो ।
प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको नाम किटान गरेरै अनुसन्धान गर्नुपर्ने अडानका कारण बैठक निष्कर्ष विहीन भएको उहाँको भनाइ छ । उहाँका अनुसार उक्त कार्यदलको बैठक शुक्रबार बिहान फेरि बस्ने तय भएको हो । “बैठक निष्कर्षविहीन भयो”, उहाँले भन्नुभयो, “सहमति जुटन नसकेपछि निष्कर्ष विहीन भएको हो । आजको बैठकबाट करिब करिब ठ्याकै टुङ्गो चाही भोलि बिहान ८.३० बजे लगाउने गरी समितिको केही कार्या देश विषयमा नजिक पुग्यौँ । ”
नेपाली कांग्रेसका सहमहामन्त्री जीवन परियारले बैठकमा सरकारपक्षबाट राखिएको मौखिक प्रस्तावमा नाम नराखी छानबिनको दायरा अघि बढाउनसक्ने आशय आफूहरुलाई स्वीकार्य नभएको बैठकपछि सञ्चारकर्मीलाई बताउनुभयो ।
“विपक्षी दलले उपप्रधान एवं गृहमन्त्री लामिछाने छानबिन सम्बन्धित व्यक्तिकै बारेमा छानबिन नगरिकन कांग्रेसले कार्यदलमा सहमति गर्ने अवस्था छैन”, उहाँले भन्नुभयो, “हामीले स्पष्ट रुपमा भनेका छाँै, यसबारे छानबिन समिति बनाउनुपर्छ भनेर उठाएका हाँै, जबसम्म त्यहाँ पुग्दैन हामी मान्दैनाँै भनेर भनेका छौँ । आजको बैठकमा सरकारपक्षलाई यही कुरा राखेको छु ।”
प्रतिनिधिसभाको बैठक शुक्रबार बिहान ११ बजे बस्ने तय भएको छ । सभाको बैठक अघि कार्यदलले सहमति जुटाउन बैठक बस्ने जनाएको छ । उक्त कार्यदलमा कानुन, न्याय तथा संसदीय मामिला मन्त्री पदम गिरी, प्रमुख सचेतक बर्तौला, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता शिशिर खनाल, कांग्रेसका नेता ज्ञानेन्द्रबहादुर कार्की र परियार हुनुहुन्छ
दर्जन बढी बस्तीमा खानेपानी समस्या
तुलसीपुर I दाङको तुलसीपुर उपमहानगरपालिका–३ अम्बास, कल्ले–बल्लेलगायतका बस्तीमा खानेपानीको हाहाकार छ । तुलसीपुर बजार देखि १३ किलोमिटरको दूरीमा रहेको सोही ठाउँमा खानेपानीको विगत देखिकै समस्या छ । घर अगाडि नै पाइप पुगेका भए पनि नियमित पानी आउँदैन । वर्षात्मा पानीको सहज आपूर्ति हुने गरेको भए पनि त्यहाँका आधा दर्जन गाउँ काकाकूल हुन्छन् ।
धारामा पानी नआएपछि तीन घण्टा हिँडेर खोलाबाट पानी ल्याउनुपर्ने अवस्था रहेको तुलसीपुर–३ अम्बास निवासी शशिकला विकले बताउनुभयो । उहाँका अनुसार खोलामा पालो पाउन गाह्रो पर्छ । धारामा पनि नियमित नआउने र खोलामा पनि पालो कुुर्नुपर्ने अवस्था छ ।
सडक र विद्युत् पुगे पनि सहजै खानेपानी पुग्न नसकेको उहाँको गुनासो छ । “घरमा पानी सकिएको हुन्छ, पानी ल्याएपछि खाना पकाउने भन्ने हुन्छ”, उहाँले भन्नुभयो, “तर कहिल्यै १२ बजेसम्म पनि पानी ल्याइ नपुयाउँदा त्यतिबेलासम्म खाना पाकेको हुँदैन ।”
गाउँका सबै मान्छे दुईतीन घण्टा हिँडेर धारेखोला गएर पानी ल्याउने गर्छन् । त्यहाँ पनि पालो पाइँदैन । मुहान सानो भएकाले पहिले गएकाले पानी पाउँछन् भनेपछि गएकाहरुले पानी पाउन पनि मुस्किल हुने गरेको स्थानीय सावित्रा विकले बताउनुभयो । “पानी ल्याउन हामी राति ३ बजे उठेर जानुपर्छ, जो अघि गयो, उसैले पानी पाउने र पछि गएकाले पानी पनि नपाउने अवस्था छ”, उहाँले भन्नुभयो, “पानी ल्याउनलाई राति उठ्नुपर्छ ।”
पालो पाएपछि बिहान ६ बजे घर पुगिन्छ नपाए भने १०-११ बज्ने गरेको उहाँहरुको गुनासो छ । उहाँहरुका अनुसार त्यहाँ थापानी र घुटघुतेबाट पानी ल्याउने गरिएको छ । त्यहाँ गाउँका दुई ट्याङ्की छन् । तीमध्ये एउटा ट्याङ्कीको कल्लेबल्ले र अर्को ट्याङ्कीको अम्बास पानीका लागि पाइपबाट पठाउने गरिन्छ । त्यहाँ पानी नपाउने समस्याले वर्षांैदेखि आजित भएको स्थानीय मालबहादुर वलीले बताउनुभयो ।
अहिले त्यहाँ सडक र विद्युत् पुगेको छ । विद्युत् पनि वर्षा लाग्नैबित्तिकै जाने गर्छ । चार वर्षअघि त्यहाँ विद्युत् जडान गरिएको हो । उहाँका अनुसार बीचबीचमा विद्युत् जाने आउने समस्या भइरहने गर्छ । “एउटा रुख ढल्यो कि विद्युत् बन्द हुन्छ, त्यसलाई मर्मत गर्न कसैको पनि चासो हुँदैन”, स्थानीय अगुवा लीलामणि बाँठाले भन्नुभयो, “सडक पनि वर्षात्मा त्यस्तै समस्या हुन्छ ।” त्यहाँ कल्ले, बल्ले, टुनापानी, नाउला, अम्बास, सितधारालगायतका गाउँहरु छन् । त्यहाँ करिब तीन सय बढी घर रहेका छन् ।
अन्तर्राष्ट्रिय एसियन तेक्वान्दो प्रतियोगिता शुक्रबारदेखि
काठमाडौँ I नेपाल चाङ हुन अन्तर्राष्ट्रिय तेक्वान्दो महासङ्घको आयोजनामा प्रथम चाङ हुन अन्तर्राष्ट्रिय एसियन तेक्वान्दो प्रतियोगिता शुक्रबार देखि हुने भएको छ । सातदोबाटो स्थित कराते महासङ्घको एकेडेमीमा आयोजना हुने उक्त प्रतियोगितामा आयोजक नेपाल सहित मलेसिया, बङ्गलादेश, भारत, चीन, पाकिस्तान, भियतनाम, फिलिपिन्स, श्रीलङ्का र सिङ्गापुर गरी करिब दुई हजार पाँच सय खेलाडीको सहभागिता रहने महासङ्घका अध्यक्ष कुलबाहदुर बुढामगरले जानकारी दिनुभयो ।
यही जेठ १३ गतेसम्म आयोजना हुने प्रतियोगितामा ८५ स्वर्णपदक, ८५ रजत तथा एक सय १६ कास्यपदकका लागि प्रतिस्पर्धा हुने आयोजकले जनाएको छ । प्रतियोगितामा पुरुषतर्फ २० किलो, २१—२६, २७—३२, ३३—३८, ३९—४४, ४५—५०, ५१—५६, ५७—६२, ६३—६८, ६९—७४ र ७४ किलोमाथि तौल समूहमा प्रतिस्पर्धा हुनेछ ।
त्यसैगरी महिलातर्फ २० किलोमुनि, २१–२६, २७–३२, ३३–३८, ३९–४४, ४५–५०, ५१–५६, ५७–६२ र ६२ किलोभन्दा माथि तौल समूहमा प्रतिस्पर्धा हुनेछ । सिनियर तौल समूह (ब्ल्याक बेल्ट)को पुरुषतर्फ ४४ किलो मुनि, ४५–५०, ५१–५६, ५७–६२, ६३–६८, ६९–७४, ७५–८० र ८० किलोमाथि, महिलातर्फ ३८ किलोमुनि, ३९–४४, ४५–५०, ५१–५६, ५७–६२, ६३–६८, ६९–७४ र ७४ किलोमाथि तौल समूहमा प्रतिस्पर्धा हुनेछ ।
यस्तै एकल काताको पुरुषतर्फ एलो, ग्रीन, ब्ल्यु, रेड, ब्ल्याक बेल्ट (पहिलो देखि पाँचौं डान) र महिलातर्फ एलो, ग्रीन, ब्ल्यु, रेड, ब्ल्याक बेल्ट (पहिलो देखि पाँचौं डानसम्म प्रतिस्पर्धा हुनेछ । समूह काताअन्तर्गत पुरुष सिनियर (ब्ल्याक बेल्ट), जुनियर (कलर बेल्ट) र महिला सिनियर (ब्ल्याक बेल्ट), जुनियर (कलर बेल्ट) मा प्रतिस्पर्धा हुनेछ ।
उक्त प्रतियोगिता सञ्चालनको लागि करिब रु ५० लाख खर्च लाग्ने आयोजकले जनाएको छ ।
लोसपाको महासचिवमा यादव मनोनित
काठमाडौँ I लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालको महासचिव पदमा शीतलप्रसाद यादव मनोनित हुनुभएको छ । अध्यक्ष महन्थ ठाकुरले सिरहाका यादवलाई पार्टीको संशोधित अन्तरिम विधानअनुसार केन्द्रीय सदस्य यादवलाई महासचिव पदमा मनोनित गर्नुभएको हो ।
लोसपा नेपालले महाधिवेशन लक्षित सदस्यता वितरण अभियान सुरु गरेको छ । जसअनुसार सिरहामा अगामी शनिबार सदस्यता वितरण कार्यक्रम हुने तय भएको छ । गत असोज ८ गते अध्यक्ष ठाकुरले तीन सय ११ सदस्यीय केन्द्रीय समिति घोषणा गर्नुभएको थियो ।
कार्यसमितिमा अध्यक्षसहित ६४ जना पदाधिकारी रहेका छन् । पदाधिकारीमध्ये राजेन्द्र महतो, अनिलकुमार झा, केशव झा, कौशलकुमार सिंहलगायत पदाधिकारीले पार्टी छाडिसक्नुभएको छ ।
जहाजले ठक्कर दिँदा कर्मचारी घाइते
मुगु I मुगुस्थित रारा विमानस्थलमा जहाजले ठक्कर दिँदा सोही विमानस्थलमा कार्यरत एक कर्मचारी घाइते भएका छन् ।
यात्रु बोकेर बाँकेको नेपालगन्जका लागि उड्ने तयारीमा रहेको सीता एअरको टुइनेटर जहाजको अघिल्लो भागले ठक्कर दिँदा सोही जहाजका मुगु स्टेशन प्रमुख धीरेन्द्र भाम घाइते भएका हुन् । जहाजका चालकलाई विमान उडान सङ्केत गरिरहेका बेला चालकले बोलाएपछि जहाजतर्फ जाँदै गर्दा जहाजको अघिल्लो भागले ठक्कर दिँदा भाम घाइते भएको प्रहरी नायव उपरीक्षक वीरेन्द्र थापाले जानकारी दिनुभयो ।
घाइते कर्मचारी भामलाई सीता एयरकै जहाजमार्फत उपचारका लागि नेपालगन्ज लगिएको प्रहरी नायव उपरीक्षक थापाले बताउनुभयो ।
साकेला उभौलीः उल्लासमय बन्दै किराँत गाउँबस्ती
खोटाङ I किराँत समुदायको प्रमुख चाड साकेला (उभौली) आजदेखि औपचारिक रूपमा सुरु भएको छ । किराँत समुदायमा ‘खेतीपाती सप्रियोस्, रोगब्याधी नलागोस्, प्राकृतिक विपत्ति नपरोस्’ भन्ने कामनासहित पितृ तथा भूमिको पूजाआजा गर्दै महिना दिनसम्म साकेला (उभौली) मनाउने प्रचलन छ ।
साकेला उभौलीका अवसरमा परम्परागत वेशभूषामा सजिएका दाजुभाइ, दिदीबहिनी, बुबाआमा, इष्टमित्र भेला भएर गोलो घेरामा ढोल र झ्याम्टा बजाउँदै साकेला सिली नाच्ने गरिन्छ । घरघरमा तीन चुल्हा पुज्नुका साथै साकेला थानमा भूिमको पूजाआजा गरेपछि साकेला गीतको भाका तथा ढोल र झ्याम्टाको तालमा हात र खुट्टाले सिली टिप्दै गोलो घेरामा साकेला नाच्ने गरिन्छ ।
यहीँ अवसरमा किराँत समुदायको बसोबास रहेको प्रत्येक गाउँ तथा बस्तीमा युवायुवती, केटाकेटी र बूढापाकाको जमघट तथा साकेला गीत र नाचले गुञ्जयमान बन्ने गरेको छ । साकेला चाड अन्नबाली छर्ने बेला अर्थात् वैशाख पूर्णिमा र उठाउने बेला मङ्सिरे पूर्णिमाको अवसर पारेर वर्षमा दुईपटक मनाउने गरिन्छ ।
उभौलीको अवसरमा किराँत राईहरूको ऐतिहासिक थलो मानिएका ठाउँहरूमा पूजाआजा गरिएसँगै महिना दिनसम्म यो चाड मनाउने प्रचलन छ । जिल्लाको किराँत ऐतिहासिकस्थल तथा पर्यटकीयस्थल तुवाचुङ जायाजुङ, रुपाकोट, मेरुङ, जन्तेढुङ्गा, छोङ्खालगायत धार्मिक तथा पर्यटकीयस्थलका साथै साकेला थानमा साकेला नाचिन्छ ।
किराँती राई समुदायको घनाबस्ती रहेको माझ किराँत खोटाङका हरेक गाउँ तथा बस्तीमा साकेला सिली प्रदर्शन गर्दै उभौली चाड मनाउने गरिएको छ । छितको गुन्यु मखमलको चोली, पहेँलो पटुकी, दौरासुरुवाल, ढाकाटोपी किराँती मौलिक वेशभूषामा ठाँटिएर हरेक किराँतीका घरघरमा नाच्दै गाउँदै हर्षोल्लासका साथ मनाइने यो पर्वमा किराँत समुदायमात्र नभई गैरकिराँत समुदायका युवायुवतीसमेत औपचारिक तथा अनौपचारिक कार्यक्रममा सहभागी भएर साकेला सिली नाच्ने गर्दछन् ।
चराचुरुङ्गी तथा जीवजन्तुको नक्कल गर्दै ढोल÷झ्याम्टाको तालमा सुम्निमा र पारुहाङले सम्पूर्ण सृष्टिजगत्को रक्षा गरून् भन्ने कामनासहितका गीत गाउँदै साकेला उभौली मनाइन्छ । खुला आकाशमुनि गोलो घेरा हालेर संयुक्त रूपमा नाचगान गरी हर्षोल्लासपूर्वक साकेला नाच्ने र एकआपसमा सद्भाव साटेर यो पर्व मनाउने गरिएको छ ।
बालकदेखि वृद्धवृद्धासम्म एउटै लहरमा सामूहिक रूपमा नाचिने साकेला नृत्यले यो आदिवासी जनजातिको सामूहिक भावना प्रदर्शन गर्दछ । हातखुट्टाको चालले पङ्क्तिबद्ध रूपमा साकेला सिली नाच्दा प्रस्तुत हुने शरीरको हाउभाउ र अभिनयमा खोरिया फाँडेको, अन्नबाली लगाएको, गोडमेल गरेको र बाली उठाएर थन्क्याएको जस्ता कृषि कार्यमा गरिने प्रक्रियाहरू प्रदर्शन गरिन्छ ।
साकेला उभौली चाडले जातीय, धार्मिक तथा सांस्कृतिक सद्भाव, आपसी मेलमिलाप कायम गर्दै द्धन्द्धलाई निरुत्साहित गर्न भूमिका खेल्ने किराँत राई यायोख्खा खोटाङका अध्यक्ष युगशन किराँतले बताउनुभयो । “साकेलामा विशेषगरी प्रकृति र पितृको पूजा गर्दै आपसमा शुभकामना आदानप्रदान गर्ने गरिन्छ । प्रकृति र पितृको पूजासँगै मनाइने यो चाडले किराँत र गैरकिराँतबीच आपसी सद्भाव र बन्धुत्व कायम गर्न सघाउ पुर्याउँछ”, उहाँले भन्नुभयो, “साकेला अन्नबाली छर्ने बेला अर्थात् वैशाख पूर्णिमा र उठाउने बेला मङ्सिरे पूर्णिमाको अवसर पारेर वर्षमा दुईपटक मनाउने गरिन्छ । यसले पराइघर गएका छोरीचेली र बाउमाइती भेटेर दुःखसुखको कुराकानी गर्ने वातावरणसमेत सिर्जना गर्ने भएकाले पनि महत्वपूर्ण मानिन्छ ।”
दश स्थानीय तह रहेको खोटाङमा किराँत ऐतिहासिकस्थल मझुवागढीबाट औपचारिक रूपमा सुरुआत गरिने साकेला उभौली महिना दिनपछि दिक्तेलको माटीकोरे खेलमैदानमा सिली प्रदर्शनी तथा शुभकामना आदानप्रदान गर्दै समापन गरिने अध्यक्ष किराँतले जानकारी दिनुभयो ।
उहाँका अनुसार समापनको अवसरमा जिल्लास्थित राजनीतिक दलका प्रमुख तथा प्रतिनिधि, जिल्लास्थित जनप्रतिनिधि, कार्यालय प्रमुख तथा सुरक्षा निकायका प्रमुख, जातीय सङ्घसंस्थाका प्रतिनिधिलगायतलाई सहभागी गराएर साकेला सिली नाच्न लगाउने गरिन्छ ।
साकेला उभौली चाड पूर्वी नेपालको खोटाङ, भोजपुर, धनकुटा, उदयपुर, ओखलढुङ्गा, सोलुखुम्बु, सङ्खुवासभा, सुनसरी, इलाम, पाँचथर, झापा, मोरङलगायत किराँत समुदायको बसोबास रहेको ठाउँ तथा जिल्लामा धुमधामकासाथ मनाउने गरिएको छ ।
यसलाई किराँत राई, लिम्बू, याक्खा र सुनुवार समुदायले मुख्य चाड मान्ने गरेका छन् । साकेला उभौली चाडको अवसरमा सरकारले आज सार्वजनिक बिदासमेत दिएको छ । आज किराँत समुदायको साकेला उभौली चाडसँगै बुद्धजयन्तीसमेत परेको छ ।
महिला एसिया कप क्रिकेटका लागि नेपाली टोली घोषणा
काठमाडौँ I नेपाल क्रिकेट सङ्घ (क्यान) ले एसिसी महिला एसिया कप क्रिकेट प्रतियोगिताका लागि आज २८ सदस्यीय प्रारम्भिक टोली घोषणा गरेको छ । एसियाली क्रिकेट काउन्सिल (एसिसी) का आयोजनामा हुने महिला एसिया कप क्रिकेट प्रतियोगिताका लागि इन्दु बर्माको कप्तानीमा नेपाली टोली रहेको छ । प्रतियोगिता आगामी जुलाई १९ देखि २८ तारिखसम्म श्रीलङ्कामा हुँदै छ ।
छनोट हुने अन्य नेपाली सदस्यमा सबनम राई, रुबिना क्षेत्री, सीता राना मगर, खुसी डङ्गोल, विन्दु रावल, कविता कुँवर, रुबी पोदार, लक्ष्मी साउद, यशोदा विष्ट, कीर्तिका मरासिनी, सोनी पाख्रिन, राजमती ऐरी, हेलिशा गुरुङ र सम्झना खड्का छन् ।
यस्तै, अलिशा खाडिया, कविता जोशी, अप्सरी बेगम, काजोल श्रेष्ठ, सङ्गीता राई, आरती महतो, रोमा थापा, सावित्री धामी, ममता चौधरी, करुणा भण्डारी, पूजा महतो, अस्मिना कर्माचार्य र डोली भट्ट छन् । प्रतियोगितामा नेपाल समूह ‘ए’ मा परेको छ । नेपालको समूहमा भारत, पाकिस्तान र संयुक्त अरब इमिरेट्स तथा ‘बी’ मा श्रीलङ्का, बङ्गलादेश, मलेसिया र थाइल्यान्ड छन् ।
प्रकृतिको पूजा गर्दै उभौली मनाइँदै
- सङ्गीता राई
१० जेठ, धरान (सुनसरी)
मधेसैको लहरे वर पात खस्यो हरर हो ।
रेलमा चढी झ्यालेमा बसी, पछ्यौरी फरर ।
आकासैको गड्याङ र गुडुङ पातलैको भुइँचाल ।
मर्ने जति मरी ना गए बाच्नेको येई साल ।....
ढोल झ्याम्टाको सुरैमा यो गीत सुन्दा सबैलाई नाचौँ ना नाचौँ हुन्छ । प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमासँगै किराँत राई समुदायले मनाउने उभौली पर्व देशभर भूमेस्थानमा पूजा आराधना गरी मनाइन्छ । विशेषगरी बाली लगाउनुअघि गाउँगाउँमा रहेका भूमेस्थानमा राम्रोसँग काम होस् भनी प्रकृतिको पूजा आराधना गरिने परम्परा रहेको बुढापाकाको भनाइ छ । उधौली विशेषगरी एक दिन मनाइन्छ भने उभौली महिनौ दिनसम्म मनाइन्छ । हरेक साकेला थानमा विभिन्न लयका गीतहरु गाउँदै ताल मिलाएर नाच्नेहरुको लस्कर हुने गर्छ ।
आधुनिक सहरका रुपमा परिचित धरानमा अरु बेला आधुनिक गीत, हिपहप, रक जस्ता पाश्चात्य सङ्गीतमा रमाउने युवा पुस्ताहरु अहिले उभौली, उधौलीजस्ता सांस्कृतिक चाडपर्वमा पनि उत्तिकै रमाउँछन् । टोलटोलमा भइरहेका साकेला सिलीमा युवा पुस्ताकै बाक्लो उपस्थिति रहेको दखिन्छ ।
धरान–१७ वान्तावा लाक्छाम संरक्षण समितिका सचिव तथा संस्थाका (सिलिहिाङपा) मिलन बासाखोरा राई साकेलाको समयमा साथीसँगै आफ्नो मौलिक गहना र पहिरनमा नाच्ने गरेको बताउनुभयो । उहाँ भन्नुहुन्छ, “आफ्नो पुर्खाले मान्दै आउनुभएको चाडपर्व हामीले बिर्सिनु हुन्न, हामी किरातीलाई चिनाउने एउटा मुख्य चाडको रुपमा लिइन्छ, त्यसैले हामीले १०÷१५ दिन अगाडिदेखि भाइबहिनीलाई प्रशिक्षण गराई पूर्वको सबै ठाउँमा साकेला नाच्न जान्छाँै ।”
उहाँ जस्तै धरान–११ वान्तावा लाक्छाम संरक्षण समितिका सदस्य बरदान भरत राई साकेला किरात जातिको पहिचान रहेको बताउनुभयो । साकेला सुरु भएसँगै छुट्टै रमाइलो हुने बान्तावा सिलिका रुपमा विभिन्न गीतहरुको प्रस्तुत गरेर नाच्ने उहाँले सुनाउनुभयो । “आफ्नो सस्कृतिलाई बचाइराख्नुपर्छ भन्ने हिसाबले पनि साकेलाको अवसर पारेर भाई बहिनीलाई साकेला सिलिहरु सिकाएर धरान बाहेक सबै ठाउँमा नाच्न जाने गरेका छौँ”, उहाँले भन्नुभयो ।
साकेलाको समयमा साथीसँगै आफ्नो मौलिक गहना र पहिरनमा नाच्न जाने गरेको धरान–११ निलम राई बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, “आफ्नो संस्कार संस्कृति अनि हाम्रा पुर्खाले मान्दै आउनुभएको चाडपर्व हामीले बिर्सिनु हुन्न, त्यसैले हामी भाइबहिनीलाई पनि लिएर साकेलाको समयमा नाच्न जान्छु ।”
दौरा सुरुवाल र टोपीमा सजिएका युवा र गुन्युचोली, लाछा, सिरबन्दी, चेप्टे सुन, पैसाको हारी माला, नौगेडीजस्ता गहनामा सजिएका युवतीहरू हातमा ढोल, झ्याम्टा बोकेर गीतमा लय मिलाउँदै नाच्ने गरिन्छ । छातीमा पेचुरी धजुरी, बाबु, बुन्छत र मुर्चुङ्गा झुन्ड्याएका युवायुवती ढोल झ्याम्टाको तालमा विभिन्न चरा चुरुङ्गी र जीवजनावारको हाउभाउ गर्दै नाचि रहेको हुन्छन् ।
साकेला सांस्कृतिक रुपमा राई जातिले अन्नबाली रोप्ने बेलामा भूमिको पूजा गर्ने क्रममा विकास भएको मानिन्छ । हातमा चम्मर, झ्याम्टा बोकेर वरिपरि गोलो घेरामा बसेर विभिन्न जनावारको अभिनय गर्दै नाच्नुलाई सिली भनिन्छ । हात र खुट्टाको ताल मिलाएर नाचिने सिली पनि राईका जाति र ठाउँपिच्छे फरकफरक हुने गरेको किराँत राई यायोक्खा सुनसरीका अध्यक्ष राजेन्द्र राईको भनाइ छ ।
“साकेला एउटा अद्भुत शक्ति भएको ढुङगा जस्तै हो, कहिले ठूलो हुन्छ कहिले सानो हुन्छ । प्राकृतिक पुजक भएकाले प्रकृतिलाई पूजा गरेर साकेला नाच सुरु गरिन्छ”, उहाँले भन्नुभयो, “विशेष गरी साकेला हजारौ किमिमको नाच्ने गरिए पनि अहिले मुख्य तीनवटा सिलीमा नाचिन्छ, जसमा आराथानात्मक सिलि जस्मा प्रकृतिलाई पुज्ने घाम पानी हावा हुरी, आकाश जमिनलाई पुज्ने गरिन्छ भने अनुकरण सिलीमा हाम्रा सृष्टि सँगसँगै उत्पति भएका किरा फट्याङ्रा, चराचुरुङगी झिङ्गाहरुकोे नक्कल गरी नाच्ने गरिन्छ ।”
प्रतिक्रियात्मक सिलि हामीले दैनिक रुपमा गरिने कृयाकलापहरु बारी खन्ने, डोको बोक्ने, नमस्कार गर्ने जस्ता यी तीनवटा मुख्य आधारभित्र हजारौ सिलि हुन्छन् । जसमा रहेर साकेला नाच्ने गरिएको किराँत राई यायोक्खा सुनसरीका अध्यक्ष राईको भनाइ छ । साकेला विशेषगरी हामीले उधौली र उभौलीमा मात्र नाच्ने गरिन्छ तर पछिल्लो समय विवाह, व्रतबन्धलगायतमा पनि नाच्ने गरेको पाइन्छ । साकेलाको बिड ढोल झ्याम्टा अनि त्यहा गुञ्जिने साकेला सिलिको धुनले नै पछिल्लो समय युवा पुस्ताहरुमा बाहुल्यता बढाएको राईको भनाइ छ ।
बुढापाकाको भनाइअनुसार पूर्वी पहाडी भेगमा उभौली नाच सुरु हुनुभन्दा अगाडि पितृ पुजिन्छ । पितृलाई पूजा गरिसकेपछि कोशी काटेर जानुहुन्न भन्ने मान्यता रहेको धरान बान्तावा सिलि लाक्छाम संरक्षण समितिका केन्द्रीय उपाध्यक्ष चिन्तमणि राईको भनाइ छ । उहाँले भन्नुभयो, “पहाडी भेगमा मनाइने साकेला र तराई भेगमा मनाईने पितृ पुज्ने धामी अथवा (नाक्छोङ) ले गाउँभन्दा बाहिर गएर गरिखानु हुँदैन भन्ने चलन रहेकाले वर्षमा घरको एक पाठी अन्न दिने चलन छ । तर पछिल्लो समय लोभ हुदै गएको राईको भनाइ छ ।
पहाडी भेगमा रामनवमी सुरुभएसंगै साकेला मनाउन सुरु गरिन्छ । टोल–टोल गाउँगाउँमा ढोल झ्याम्टासँगै गाउँमा नाच गरेर हिड्ने चलन रहेको उहाँले बताउनुभयो । साकेला किरात राईहरुको विशुद्ध चाड रहेको पहिचान साहित्य लेखनका अभियनता तथा बागियान पत्रिकाका सम्पादक श्रीसिशा राईको भनाइ छ । उहाँले भन्नुभयो, “यो चाडमा किरात राईहरुले पुर्खा लाई सम्झेर सिलिमार्फत सम्मान गर्छन्”, उहाँले भन्नुभयो, “किरात राई समुदायमा पुर्खाहरुको ठूलो स्थान र महत्व छ वर्षमा दुई पटक उधौली र उभौलीमा पितृहरुको पुजा अथवा (माङ) गर्ने चलन छ ।”
साकेला किरात राईहरुको पहिचानसँग जोडिएको छ , आफ्नो आस्थाको देवतालाई आफ्नै तरिकाले पुज्ने र पुजालाई महान चाडको रुपमा लिने चलन किरात समुदायमा छ । यसलाई विशेष अवसर मानेर किरात राई महिला तथा पुरुषहरु मौलिक सांस्कृतिक पहिरनमा सजिएर नाच्ने गरिन्छ । “साकेला अथवा उभौली–उधौलीप्रति युवा पुस्ताको चासो बढ्नु अत्यन्तै सकारात्मक छ”, उहाँले भन्नुभयो, “पछिल्लो समय पहिचान र मौलिकताप्रति युवापुस्तामा आएको चेतना हो, आधुनिक पुस्तामा पनि अब आफ्नो उद्गम र थातथलोको महत्वको बोध हुँदै गएको छ ।”
पूर्वका धरान, इटहरी, तरहरा, बेलवारी, विराटचोक, दमक, उर्लावारी, पथरी, विर्तामोड, काँकडभिट्टालगायतका क्षेत्रमा उत्सवका रुपमा मनाउने प्रचलन बढिरहेको छ । राई समुदायको बाहुल्यता रहेका पूर्वी पहाडी भेगका खोटाङ, भोजपुर, सङ्खुवासभा, उदयपुर, सोलुखुम्बु, ओखलढुङ्गा, धनकुटा, इलामलगायत जिल्लामा पनि साकेला सिली नाच्नेहरु उत्तिकै हुन्छन् । काठमाडौँमा पनि पूर्वेली राई समुदायको बसोबास भएका क्षेत्रमा उत्तिकै उल्लासमय रुपमा साकेला नाचिन्छ । काठमाडौँका टुँडिखेल, हात्तीवनलगायत स्थानमा साकेला भव्यताका साथ नाचिन्छ ।
चार किराँत (राई, लिम्बु, सुनुवार र याख्खा) समुदायमा वैशाख पूर्णिमालाई बाली लगाउने समयका रुपमा उभौली र मङ्सिर पूर्णिमालाई बाली थन्क्याउने समयका रुपमा उद्यौली पर्व भव्यताका साथ मनाउने प्रचलन छ । उँधौलीलाई लिम्बु, सुनुवार र याक्खाले समुदायले भव्य उत्सवका रुपमा मनाउँछन् भने राई समुदायले उभौली अर्थात् वैशाख पूर्णिमादेखि करिब एक महिनासम्म टोलटोलमा झोल झ्याम्टा बजाउँदै साकेला मनाउँछन् । मङ्सिर पूर्णिमा अर्थात् उँधौलीमा भने राई समुदायले एक दिन मात्र साकेला थानमा सिली नाचेर चलन छ ।
वैशाख शुक्ल पूर्णिमादेखि चराचुरुङ्गीलगायत जङ्गली जनावर पनि उँभो लाग्ने किराँत समुदायको विश्वास छ । नदीमा माछा पनि गर्मीबाट बच्न बेँसीको नदीबाट लेकतिर लाग्छन् भन्ने बुढापाखाको भनाइ छ । मार्गशीर्ष शुक्ल पूर्णिमाका दिन बाली भित्र्याएर जाडो छल्न बेँसी झरेका मानिस आजदेखि उँभो लाग्छन् । उँभोको अर्थ खेतीपाती राम्रो होस्, धेरै होस्, उन्नति होस् भन्ने पनि रहेको भनाइ छ ।
किराँत जातिहरुको मागलाई सम्बोधन गर्दै सरकारले २०६४ सालमा उभौली अर्थात् वैशाख पूर्णिमा घोषणा गरेको थियो भने २०५८ सालमा उधौली अर्थात् मङ्सिर पूर्णिमालाई किराँत चाड भनेर घोषणा गरिएको थियो । उधौली र उभौलीमा सरकारले सार्वजनिक बिदासमेत दिने गरेको छ । सरकारले किराँत चाड घोषणा गरेपछि उभौली र उधौलीलाई विशेष उत्सवका रुपमा मनाउने गरिएको छ ।