बिहिबार, ११ भदौ २०८३

/frontend/images/redline.png
https://jawaaf.com/storage/01HYAVXE21X4XMQJ3K1SRFC72Y.jpg

जगदुल्लाको ऋण सम्झौता भयो, तर पुल बनेन

काँक्रेविहार (सुर्खेत) I जगदुल्ला जलविद्युत् आयोजनाले यही जेठ २ गते ऋण सम्झौता गरेको छ । आयोजनास्थल जानका लागि निर्माण हुनुपर्ने त्रिवेणीस्थित पुलको गति भने अझैँ बढ्न सकेको छैन । क्याराभान निर्माण सेवाले रु १५ करोडमा पुलको ठेक्का लिएर आयोजनासँग स्म्झौता गरेको थियो ।     
      
जगदुल्ला जलविद्युत् कम्पनी लिमिटेडले जाजरकोट, डोल्पा र रुकुमको बीचमा रहेको त्रिवेणीस्थित भेरी नदीमा निर्माण गर्न लागेको पुल दुई वर्षदेखि अलपत्र पारेर ठेक्का बिक्री गरेको थियो ।     
      
क्याराभान कन्ट्रक्सनले काम नै सुरु नगरी अर्को स्थानीय रेट्रो ट्रेक कन्स्ट्रक्सनलाई ठेक्का बेचेपछि पुल निर्माण अन्योल बनेको हो । भेरी करिडोरको बीचमा रहेको उक्त पुल समयमा निर्माण नहुँदा तल्लो डोल्पाका साथै जुम्ला जोड्ने सडक निर्माणमा समेत समस्या भइरहेको छ ।     
      
भेरी नदीमा एक सय मिटर लामो पक्की पुल तीन वर्षदेखि निर्माण नहुँदा स्थानीयका साथै उक्त सडक भएर यात्रा गर्नेलाई सास्ती हुँदै आएको छ । तीन जिल्लाको सङ्गमस्थल रहेको त्रिवेणीमा अहिले ठेक्का खरिद गरेको रेट्रो ट्रेक कन्ट्रक्सनलेसमेत काममा गति नदिएको स्थानीयवासीको आरोप छ ।     
      
रु १५ करोडमा उक्त पुल निर्माण गर्ने भन्दै कम्पनीले तीन वर्षअघि ठेक्का खोलेको थियो । क्याराभान कन्ट्रक्सनबाट रु १४ करोड १७ लाखमा कामको जिम्मा लिएको रेट्रो ट्रेकले कहिले वर्खा र कहिले जग्गा विवादको कारण देखाउँदै काम ढिला गर्दा तोकिएको समयमा सम्पन्न हुन नसकेको स्थानीय पूर्ण बुढाले बताउनुभयो ।     
      
निर्माणको जिम्मा पाएका कन्ट्रक्सनले विभिन्न बहानामा पुल निर्माणमा ढिलासुस्ती गरेपछि १०६ मेघावाटको जगदुल्ला हाइड्रोपावर निर्माणमा बाधा पुग्ने देखिएको छ । हाइड्रोपावर कम्पनीले हजारौँ टन तौल भएका निर्माण सामग्री आयोजनास्थलसम्म लैजान भन्दै २०७७ साउनमा बोलपत्र आह्वान गरेको थियो ।     
      
रेट्रो ट्रेकका प्रमुख बादल बुढाले पुलमा दुई वटा पिल्लर उठाउने काम भएको बताउनुभयो । क्याराभानले बोलपत्र पाएको केही समयमै प्रमुख चन्द्र थकालीले तत्काल काम सुरु गर्ने भन्दै आयोजनाबाट पेस्की लिएको आयोजना कार्यालयले जनाएको छ । पुल समयमै नबन्दा आयोजनाको निर्माण प्रभावित भएको भन्दै डोल्पाका सरोकार भएका निकायले चिन्ता व्यक्त गरेका छन् । थकालीले आफूले जिम्मा लिएको काम सम्पन्न नगरी अरुलाई ठेक्का बिक्री गर्दा समस्या थप बढेको स्थानीय बताउँछन् ।     
      
आयोजनाको ऋण सम्झौता भइसकेकाले काम गर्न पुनःबोलपत्र आह्वान गर्ने अवस्था आएको आयोजना कार्यालयले जनाएको पुगेको छ । आयोजनास्थल जानका लागि निर्माण हुन लागेको पुल ठेकेदारले पूरा नगर्दा आयोजना निर्माणमा समस्या उत्पन्न हुने सम्भावना बढेको कर्णाली प्रदेशका सामाजिक विकासमन्त्री वीरबहादुर शाहीले बताउनुभयो । आइतबार स्थलगत अनुगमन गर्नुभएका शाहीले कामको गति राम्रो नभएको बताउनुभयो ।     
      
तल्लुस्थित भेरी नदीमा बेलिब्रिज पुल निर्माण भए पनि सोही ठाउँमा पक्की पुल निर्माण भइसक्नुपर्नेमा अझैँ काम नभएको मन्त्री शाहीले बताउनुभयो ।     
      
त्रिदेशीय व्यापारिक सडक भेरी करिडोरको प्रमुख पूर्वाधारका रुपमा रहेको तल्नुबगर बेलिब्रिज पुल सञ्चालनमा आएको छ । जाजरकोटको नलगाड नगरपालिका–१२ र रुकुम पश्चिमको आठबीसकोट नगरपालिकाको अनाहबीचको भेरी नदीमा बनेको उक्त पुल आइतबारदेखि सञ्चालनमा आएको हो ।     
      
भारत–नेपाल हुँदै चीन जोड्ने भेरी करिडोरकोअन्तर्गतको तल्नु बगर बेलिब्रिजको निर्माण सम्पन्न भएसँगै पुल सञ्चालनमा आएपछि सामाजिक विकासमन्त्री शाहीले बेलिब्रिज पुलमा यात्रासमते गर्नुभयो ।     
      
तीन वर्षअघि निर्माण सुरु भएकामा विविध कारणले ढिला हुँदै आएको थियो । सरोकार भएका पक्षको दबाबपछि पुल सम्पन्न भएको हो ।     
      
पुल सञ्चालनमा आएसँगै डोल्पासम्म सिधा सडक सञ्जाल जोडिएको छ । मालबाहक गाडीहरू दुनैसम्म पुग्न थालिसकेका छन् । बर्खामा यातायात सञ्चालनमा ल्याउन भेरी करिडोर बीचमा पर्ने केही खोलाहरूमा ह्युम पाइप राख्न निर्देशन दिइएको सामाजिक विकासमन्त्री शाहीले जानकारी दिनुभयो । करिडोरले भारतको रुपैहिडिया–नेपालगञ्ज हुँदै डोल्पा चीनको सीमा क्षेत्र मोरिम्ला नाका जोड्ने भएकाले यस सडक राष्ट्रिय महत्वको सडक रहेको उहाँको भनाइ छ ।     
      
उक्त पुल सञ्चालनमा आउनु सबैका लागि सुखद विषय भएको मन्त्री शाहीले बताउनुभयो । तीन वर्षअघि सडक डिभिजन कार्यालय चौहरजहारीले उक्त बेलिब्रिज पुल निर्माणका लागि ठेक्का खुलाएको थियो ।     
      
विसं २०७८ पुसमा हिम सगरमाथा खड्का कृष्ण जेभीले रु तीन करोड ८१ लाखमा पुल निर्माणको जिम्मा पाएको एक वर्षपछि मात्र काम सुरु गरेको थियो । विभिन्न कारणले पुल निर्माणमा ढिलासुस्ती भए पनि अहिले सञ्चालनमा आएको भेरी करिडोर कार्यालयका जाजरकोटका प्रमुख सुनिल रञ्जितकारले जानकारी दिनुभयो । बाँकी खोलामा ह्युम पाइप राखेर डोल्पासम्म सिधा यातायात सञ्चालनमा ल्याउने विषयमा छलफल भइरहेको उहाँको भनाइ छ ।     
      
भेरी करिडोर कार्यालयका अनुसार एक सय १८ किलोमिटर लम्बाइ रहेको जाजरकोट–डोल्पा सडक खण्डभित्रको ५६ किलोमिटर सडक खण्डमा अहिले काम भइरहेको छ । ६२ किलोमिटरमा कार्यालयले फराकिलो बनाउने काम सुरु गर्न थालेको जनाएको छ । जाजरकोट–डोल्पा सडकखण्डअन्तर्गत पर्ने करोपगार्ड, खदाङ, त्रिपुराकोटको बेलिब्रिज पुल यसअघि नै निर्माण भइसकेको छ, भने रुपगार्ड खोलाको बेलिब्रिजको काम सुरु भइसकेको छ ।     
      
 रुपगार्डको बेलिब्रिज पुल निर्माण सम्पन्न भएपछि भेरी करिडोरअन्तर्गतका पाँचवटा मुख्य खोलाका पुल बन्नेछन् भने अझै सानातिना खोलामा गरेर आठवटा खोलामा पुल बन्न बाँकी छ ।     

प्रकाशित मितिः सोमबार, ०७ जेठ २०८१
https://jawaaf.com/storage/01HYAWAGD11KSHZAXBA3VD2GGN.jpg

सुर्खेत बस दुर्घटना : दुईजनाको मृत्यु, २१ घाइते

भेरीगङ्गा (सुर्खेत) I दैलेखबाट सुर्खेत आइरहेको बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने २१ जना घाइते भएका छन् । कर्णाली प्रदेश ०२००१ ख ०८५२ नम्बरको बस सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–७ कटकुवा नजिक दुर्घटना भएको हो । 

दुर्घटनामा दुल्लु नगरपालिका–१० गमौडी घर भई हाल ठाकुरबाबा नगरपालिका–५ नेउलापुर बस्दै आउनुभएका ६५ वर्षीय शेरबहादुर खड्का र दैलेख डुङ्गेश्वर गाउँपालिका–६ का भीमसेन राना रहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक वीरेन्द्रवीर विश्वकर्माले जानकारी दिनुभयो । उहाँले गाडीमा सवार अन्य २१ जना घाइते भएका, एक जना गम्भीर घाइते भएका र अन्य २० जनाको अवस्था सामान्य रहेको बताउनुभयो । 

घाइतेको कर्णाली प्रदेश अस्पताल सुर्खेत र वीरेन्द्रनगरका केही मेडिकलमा उपचार भइरहेको प्रहरीले जनाएको छ । बस सडकबाट तल खसेको तर रूखमा अड्किँदा थप मानवीय क्षति हुनबाट जोगिएको जनाइएको छ । तीव्रगतिका कारण बस दुर्घटना भएको प्रहरीको प्रारम्भिक अनुमान छ । 

प्रकाशित मितिः सोमबार, ०७ जेठ २०८१
https://jawaaf.com/storage/01HYAV0F0WYQD6W127ZJWSGDJS.jpg

वडाध्यक्षलाई विद्यार्थीको प्रश्न : ‘खेल्ने सामग्री कसले दिन्छ ?

काठमाडौँ  I “हाम्रो विद्यालयमा केटीहरुलाई खेल्ने सामग्री छैन । कसले दिन्छ वडाध्यक्ष ज्यु ” यो प्रश्न कक्षा ९ की विद्यार्थी क्रिष्टिना खड्काले काठमाडौँ महानगरपालिका–१० का वडाध्यक्ष रामकुमार केसी समक्ष गरेकी हुन् । 

रत्नराज्यलक्ष्मी उच्च माध्यमिक विद्यालयमा अध्ययनरत क्रिष्टिनाले आज विद्यालयको हलभित्र वडाध्यक्षलाई प्रश्न गरेकी छन् । “स्कुलमा खेलकुदमा विभेद् छ । केटालाई जति खेलकुदमा महत्व दिइन्छ त्यति केटीलाई ध्यान दिने गरिँदैन”, उहाँले भन्नुभयो । 

क्रिष्टिनाको प्रश्नप्रति वडाध्यक्ष केसीले तत्कालै सम्बोधन गर्दै आवश्यकपर्ने खेलकुद सामग्रीको बजेट तयार पारेर खरिद गर्न विद्यालयका प्रधानाध्यापकलाई निर्देशन दिनुभयो । खेलकुद सामग्री आउने कुराले क्रिष्टिनालगायत बालबालिकाले खुसी हुँदै उहाँलाई धन्यवाद दिएका थिए ।

एकता फाउन्डेशनले आज मध्यबानेश्वरस्थित उक्त विद्यालयमा ‘बालबालिका र वडाध्यक्षबीच प्रश्न–उत्तर’ कार्यक्रम आयोजना गरेको थियो । ‘बालविकास विषयक’ विद्यालयस्तरीय कार्यक्रममा सहभागी अरु विद्यार्थीलेसमेत आफ्ना जिज्ञासा जनप्रतिनिधिसमक्ष राखेका थिए । वडाध्यक्ष केसीले बालबालिकाको विकासका लागि आवश्यक रणनीति बनाएर अघि बढ्नुपर्ने भन्दै आफ्नोतर्फबाट सदैव सहयोग रहने प्रतिबद्धता जनाउनुभयो । 

विद्यालयमा खेलमैदानको अभाव रहेको भन्दै वडाध्यक्ष केसीले भद्रघले सदनको खुला मैदानमा विद्यालयका लागि रङ्गशाला बनाउने तयारी भइरहेको जानकारी दिनुभयो । “खेलमा विभेद् हुनुहुँदैन, सबैले खेल्ने वातावरण बनाउदैछौँ”, उहाँले भन्नुभयो, “योजना बनाएर हरेक सामुदायिक विद्यालयमा खेल मैदान बनाउने छौँ ।” विद्यार्थीले शैक्षिक भ्रमण गर्न नपाएको गुनासो गरेपछि वडाध्यक्षले विद्यार्थीलाई शैक्षिक भ्रमण समिति बनाउन सुझाव दिँदै सोहीअनुसार बजेट ल्याइने बताउनुभयो ।

“एउटै बेच्नमा सात जना कोचिएर पढ्नुपर्छ । हामीले कहिले खुला भएर पढ्न पाउने रु” यो प्रश्नमा वडाध्यक्ष केसीले उक्त समस्याको चाँडै समाधान निकाल्ने प्रतिबद्धता जनाउनुभयो । कार्यक्रमा शिक्षा मन्त्रालयका शाखा अधिकृत उषा लामिछानेले ‘बालअधिकार र विद्यालयमा बालमैत्री वातावरण निर्माणमा विद्यार्थीको भूमिका’ विषयमा कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । 

वडा सदस्य सुनिता भित्रकोटीले रत्नराज्यलक्ष्मी विद्यालयको शैक्षिक गुणस्तर सुधारिँदै गएको बताउनुभयो । विद्यालयका प्रधानाध्यापक रामाशिष यादवले विद्यालयको सीमित स्रोतसाधनमा पनि बालबालिकालाई पढ्ने अनुकूल वातावरण मिलाउँदै आएको बताउनुभयो । उहाँले पछिल्लो समय पढ्ने मात्रै शिक्षा नभई असल संस्कृति अनुशरण गर्नु पनि रहेको बताउँदै बालबालिकामा असल संस्कृतिको अभ्यास गराइरहेको जानकारी दिनुभयो । 

एकता फाउन्डेशनका अध्यक्ष रामहरि शाही (समुन्द्री)ले बालबालिकामा प्रश्न गर्ने संस्कार विकास गराउन यस्तो अन्तक्र्रिया कार्यक्रम गर्दै आइएको जानकारी दिनुभएको थियो । 

प्रकाशित मितिः सोमबार, ०७ जेठ २०८१
https://jawaaf.com/storage/01HYAPF1Y2C3QEE66F2M3H23XY.webp

इरानी राष्ट्रपति रायसीको निधनपछि उपराष्ट्रपति मोखबरले जिम्मेवारी सम्हाल्ने

इरानका राष्ट्रपति इब्राहिम रायसीको आइतबार हेलिकप्टर दुर्घटनामा परी मृत्यु भएपछि देशको पहिलो उपराष्ट्रपति मोहम्मद मोखबरले कार्यबाहक राष्ट्रपतिका रूपमा पदभार ग्रहण गर्ने सर्वोच्च नेता आयातोल्लाह खामेनीले बताउनुभएको छ ।

इरानको संविधानले मोखबरको आन्तरिम नियुक्तिका लागि सर्वोच्च नेता खामेनीलाई अधिकारसुम्पिएको छ । उहाँ सबै राज्य मामिलामा अन्तिम निर्णायक हुनुहुन्छ ।

हालको अवस्थामा स्थायी उत्तराधिकारी छनोट गर्न ५० दिनभित्र राष्ट्रपतीय निर्वाचन गर्नुपर्ने प्रावधान इरानी संविधानमा रहेको छ र सभामुख , न्यायपालिकाका प्रमुख र उपराष्ट्रपतिले बनेको परिषद्लाई राष्ट्रिय मतदानको आयोजना गर्ने जिम्मा दिइन्छ। 

इरानले राष्ट्रपति रायसीलगायतका दुर्घटनामा दिवङ्गत भएका नेताहरूको सम्झनामा पाँच दिनको राष्ट्रिय शोकको घोषणा गरेको छ ।

इरानी संविधानले ‘राष्ट्रपतिको मृत्यु, बर्खास्त, राजीनामा, अनुपस्थिति वा दुई महिनाभन्दा बढी बिरामी भएमा’ पहिलो उपराष्ट्रपतिले राष्ट्रपतिको पदभार ग्रहण गर्ने व्यवस्था गरेको छ । 

विदेश मन्त्री हुसेन अमिर–अब्दुल्लाहियन र अन्य अधिकारीहरूसँगै आइतबार दुर्घटनामा पर्नुभएको राष्ट्रपति रायसी आफ्नो चार वर्षीय पहिलो कार्यकालको अन्त्यतिर हुनुहुन्थ्यो । 

अगस्त २०२१ मा रायसीले कार्यभार सम्हालेपछि ६८ वर्षीय मोखबरलाई उपराष्ट्रपति नियुक्त गरिएको थियो। 

सन् २००७ देखि वर्षौँसम्म मोखबरले सन् १९७९ को इस्लामिक क्रान्तिपछि जफत गरिएका सम्पत्तीहरुको व्यवस्थापन गर्ने सरकारी सङ्गठन इमाम खोमेनीको आदेशको कार्यान्वयनको अध्यक्षता गर्नुभएको थियो । सन् १९८० को दशकमा स्थापना भएको यो सङ्गठन राज्यको प्रमुख आर्थिक समूह बनेको छ । 

सन् १९८० मा इस्लामिक गणतन्त्रको पहिलो मतदानपछि प्रत्येक चार वर्षमा इरानीहरूले राष्ट्रपति चुनावका लागि मतदान गर्दै आइरहेका छन् । संविधानले इरानी राष्ट्रपतिका लागि दुई कार्यकालको सीमा तय गरेको छ । 

प्रधानमन्त्रीको प्रावधान नरहेको इरानमा राष्ट्रपतिलाई विभिन्न उपराष्ट्रपतिहरूसँगको सहकार्यमा मन्त्रिपरिषद्को गठन र निर्देशनको जिम्मेवारी दिइन्छ । 

प्रकाशित मितिः सोमबार, ०७ जेठ २०८१
https://jawaaf.com/storage/01HYANWVSZD388G8X35999JQS2.jpg

बृहत् खोटाङ–हलेसी महोत्सवमा राष्ट्रिय गायनको उपाधि मिलनलाई

खोटाङ I नेपाल खेलकुद प्रतिष्ठान खोटाङले आयोजना गरेको ‘प्रथम बृहत् खोटाङ–हलेसी खेलकुद, साहित्यिक, साङ्गीतिक तथा पर्यटन महोत्सव’अन्तर्गत राष्ट्रिय गायन प्रतियोगिताको उपाधि मिलन विश्वकर्माले जित्नुभएको छ ।     
      
दिक्तेलस्थित खोटाङ बहुउद्देश्यीय कभर्डहलमा गएराति सम्पन्न प्रतियोगितामा १८ वर्षमुनिका २९ जना प्रतिस्पर्धीको सहभागिता थियो । प्रतियोगितामा २८ जनालाई पछि पार्दै मिलनले उपाधि जित्नुभएको हो ।     
      
देशभरका २९ जनाको सहभागिता रहेको प्रतियोगितामा सुदीप विश्वकर्मा दोस्रो, कञ्चन राई तेस्रो, अदिती शाक्य चौथो र डेनिस राई पाँचौँ हुनुभएको आयोजकले जनाएको छ । प्रतियोगितामा पहिलो, दोस्रो, तेस्रो, चौथो र पाँचौँ हुनेलाई क्रमशः नगद रु ४० हजार, रु २५ हजार, रु १७ हजार, रु ११ हजार र सात हजारको साथमा मेडल र प्रमाणपत्र प्रदान गरिएको आयोजकले जनाएको छ ।     
      
प्रतियोगिताका विजयी तथा सहभागी गायकगायिकालाई कार्यक्रमका प्रमुख अतिथि, गीतकार एवं कोशी प्रदेशका पूर्वसामाजिक विकासमन्त्री राजन राईले पुरस्कार तथा प्रमाणपत्र प्रदान गर्नुभएको थियो । खोटाङ कलाकार समाजको सहआयोजनामा सञ्चालन भएको राष्ट्रिय गायन प्रतियोगिताको निर्णायकमा सङ्गीतकार महेश खड्का, गायिका पार्वती राई र गायक तथा सङ्गीतकार रोशन राई रहनुभएको थियो ।     
      
प्रतियोगितामा सहभागीमध्ये पहिलो चरणबाट दोस्रो चरणमा उत्कृष्ट १५ जना छनोट गरिएको थियो । उत्कृष्ट १५ मा छनोट भएकाले पुनःप्रस्तुति दिएपछि विजेतासँगै उत्कृष्ट पाँच छनोट गरिएको सहआयोजक समाजका अध्यक्ष एवं गायक तथा सङ्गीतकार रुपकुमार राईले जानकारी दिनुभयो ।     
      
गत वैशाख ३१ गते देखि यही जेठ १० गतेसम्म सञ्चालन हुने महोत्सवअन्तर्गत गायन प्रतियोगिता समापनका अवसरमा वरिष्ठ सङ्गीतकार महेश खड्का र गायिका पार्वती राईलाई सम्मान गरिएको छ । खोटाङमा जन्मिएर नेपाली साङ्गीतिक क्षेत्रमा पु¥याएको योगदानको कदरस्वरुप उहाँहरुलाई नगद रु सात हजार सात सय ७७ नगदसहित सम्मान गरिएको आयोजकले जनाएको छ ।     
      
खेलकुदका माध्यमबाट खोटाङलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा परिचित गराउने, पर्यटकीय जिल्लाको रुपमा अघि बढाउने, खेलकुदलाई जिल्लाको गौरवको आयोजना बनाउने, सन् २०५० भित्र ओलम्पिक पदक जित्ने खेलाडी जिल्लामै उत्पादन गर्नेलगायत उद्देश्य सहित खेलकुद, साहित्यिक, साङ्गीतिक तथा पर्यटन महोत्सवको आयोजना गरिएको आयोजक नेपाल खेलकुद प्रतिष्ठान खोटाङका अध्यक्ष सञ्जयकुमार राईले जानकारी दिनुभयो ।     
      
एघार दिनसम्म सञ्चालन हुने महोत्सवअन्तर्गत गत वैशाख ३१ गते एथ्लेटिक्स विद्याका प्रतियोगिता तथा जेठ ४ गते खुला राष्ट्रिय कविता प्रतियोगिता सञ्चालन गरिएको थियो ।     
      
एथ्लेटिक्स प्रतियोगिताअन्तर्गत खुला महिला/पुरुष हाफ म्याराथनको उपाधि महिलातर्फ नेपाल प्रहरीका राममायाँ बुढा र पुरुषतर्फ त्रिभुवन आर्मी क्लबका गजेन्द्र राईले पाउनुभएको छ । उपाधि विजेता बुढा र राईलाई जनही नगद रु ७५/७५ हजार, ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिएको छ ।     
      
त्रिधार्मिकस्थल हलेसीमा आयोजित खुला राष्ट्रिय कविता प्रतियोगितामा १५ जना प्रतियोगीलाई पछि पार्दै सुनसरीका कवि किरण सिवाले उपाधि जित्नुभएको थियो । कवि सिवाको ‘बिर्खे दमाईको आवाज’ शीर्षकको कविताले रु ४० हजार राशीको उपाधि जितेको हो ।     
      
जेठ ८ गतेदेखि १० गतेसम्म राष्ट्रिय कराँते प्रतियोगिता सञ्चालन हुँदैछ । सातवटै प्रदेश, सोतोकान कराँते, गोजोरियो कराँते, वादोरिया कराँते र आयोजक सहित ११ टोली सहभागी प्रतियोगितामा महिला/पुरुष दुवै विधाका टोली प्रथम, द्वितीय, तृतीय र चौथोले क्रमशः रु एक लाख ११ हजार एक सय ११, रु ५५ हजार पाँच सय ५५, रु ३३ हजार तीन सय ३३ र २२ हजार दुई सय २२ नगद पुरस्कार प्राप्त गर्ने जनाइएको छ ।     
      
चन्दा सङ्कलन तथा दाताको सहयोगमा आयोजना गरिएको महोत्सव सम्पन्न गर्न करिब रु ५२ लाख खर्च हुने आयोजक संस्थाका अध्यक्ष राईले जानकारी दिनुभयो ।     
      
दिक्तेल बजारमा आयोजना गरिएको बृहत् महोत्सव अवधिभरमा करोडौँको आर्थिक कारोबार हुने अपेक्षा गरिएको उद्योग वाणिज्य सङ्घ खोटाङका अध्यक्ष राजनप्रसाद आचार्यले बताउनुभयो ।     
      
महोत्सव सफल पार्न जिल्ला समन्वय समितिका प्रमुख सनबहादुर राईको संयोजकत्वमा मूल समारोह समिति, विभिन्न सङ्घसंस्थाका प्रमुख तथा प्रतिनिधिलाई समेटेर नौ वटा उपसमिति गठन गरिएको छ । महोत्सवमा सहभागी हुन राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरका खेलाडीका साथै साहित्यिक एवं सङ्गीतिककर्मीहरु दिक्तेल बजारमा भेला भएका छन् ।     
 

प्रकाशित मितिः सोमबार, ०७ जेठ २०८१
https://jawaaf.com/storage/01HYAFW7D41ATQSP464T09ZB4N.jpg

इरान : हेलिकप्टर दुर्घटनामा इरानी राष्ट्रपति रायसीसहित नौ जनाको मृत्यु भएको पुष्टि

इरानको उत्तरपश्चिमी क्षेत्रमा आइतबार दुर्घटना भएको हेलिकप्टरमा सवार इरानी राष्ट्रपति इब्राहिम रायसी, विदेशमन्त्री हुसेन अमिर अब्दुल्लाहियन र अन्य सबैको मृत्यु भएको इरानी सरकारी सञ्चारमाध्यमले जनाएका छन् । 

प्रेस टिभीद्वारा सम्प्रेषित समाचारमा भनिएको छ, “हेलिकप्टर दुर्घटनामा राष्ट्रपति रायसी, विदेशमन्त्री हुसेन अमिर–अब्दुल्लाहियन, पूर्वी अजरबैजानका गभर्नर मालेक राहमती, इस्लामिक धर्मगुरू मोहम्मद अली अले–हाशेम र अन्य सबै यात्रुहरूको मृत्यु भएको छ ।”

इरान–अजरबैजान सीमा क्षेत्रबाट फर्कने क्रममा इरानको उत्तरपश्चिममा रहेको तब्रिज सहरतर्फ जाँदै गर्दा राष्ट्रपति रायसी सवार हेलिकप्टर खराब मौसम (बाक्लो हुस्सु) का कारण दुर्घटनामा परेको थियो । हेलिकप्टरको भग्नावशेष खोयलर गाउँबाट केलेम जाने बाटोमा सोमबार बिहान क्षतविक्षत अवस्थामा फेला परेको हो ।

इरानी समाचार संस्था आइआरएनएका अनुसार राष्ट्रपति र विदेशमन्त्रीको निधनपछि तत्काल मन्त्रिपरिषद् बैठक बोलाइएको छ । केही शवहरू पहिचान खुल्न नसक्ने गरी जलेको इरानी अधिकारीहरूले बताएका छन् ।  

रेड क्रिसेन्टले लिएको भग्नावशेषको ड्रोन फुटेज राष्ट्रिय सञ्चारमाध्यममा प्रसारित गरिएको थियो । सिएनएनका अनुसार फुटेजमा ठाडो जङ्गली पहाडमा दुर्घटनामा परेको हेलिकप्टरको निलो र सेतो पुच्छरभन्दा बाहेक सबै भाग जलेको वा क्षतिग्रस्त भएको देखिन्छ । 

दुर्घटनास्थलको सम्भावित दिशा घोषणा भएपछि उद्धार टोली तुरुन्तै तोकिएको स्थानमा गएको भएपनि हेलिकप्टर फेला नपरेको तस्निम न्यूजले वर्जेकानबाट जानकारी गराएको हो । 
उत्तरपश्चिम इरानमा आइतबार दुर्घटना भएको हेलिकप्टरमा राष्ट्रपति रायसीसहित तीन उच्च पदस्थ सरकारी अधिकारी, एक जना इस्लाम धर्मगुरू र चालक दलका सदस्य र सुरक्षा टोली गरी नौ जना सवार रहेको  तस्निम न्यूजले उल्लेख गरेको छ । 

मृत्यु हुने अन्य व्यक्तिमा चालक, सह–चालक, चालक दलका प्रमुख, सुरक्षा प्रमुख, र एक अङ्गरक्षक रहेको जानकारी दिइएको छ ।

प्रकाशित मितिः सोमबार, ०७ जेठ २०८१
https://jawaaf.com/storage/01HYAFEX5YBZ92EBEDHHTTADYK.jpg

सङ्खुवासभाको सभापोखरीमा चट्याङ लागेर ७२ भेडा मरे

किमाथाङ्का (सङ्खुवासभा) I सङ्खुवासभाको सभापोखरी गाउँपालिका–५ फाकुवामा चट्याङ लागेर ७२  भेडा मरेका छन् । जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाका प्रहरी निरीक्षक रामकुमार लामिछानेले गत शनिबार  रातका समयमा परेको चट्याङ लागेर एकै गोठका ७२ वटा भेडा मरेका जानकारी दिनुभयो ।  

सभापोखरी गाउँपालिका उपाध्यक्ष लक्ष्मी चापागाईंले सभापोखरी–५ का  सोमबहादुर लिम्बूको चारसय भेडामध्ये ७२ वटा भेडा मरेको जानकारी दिनुभयो । रातको समयमा हुरीसँगै असिना परेपछि रुखको फेदमा बसेका ती भेडा एकैठाउँ मरेको भेटिएको उपाध्यक्ष चापागार्इंले बताउनुभयो । 

सभापोखरी गाउँपालिकाको माथिल्लो भेग नेपालको ताप्लेजुङ र  चीनसँग जोडिएको छ । घटनास्थल सभापोखरी गाउँपालिकाको केन्द्र बाह्रबीसे बजारदेखि एक दिनको पैदल दूरीमा पर्दछ । सभापोखरी गाउँपालिकाको माथिल्लो भेगमा एकल र संयुक्त ६० भन्दाबढी भेडीगोठहरु छन् । क्षतिको विवरण सङ्कलन भइरहेको प्रहरीले जनाएको छ । 

प्रकाशित मितिः सोमबार, ०७ जेठ २०८१
https://jawaaf.com/storage/01HYADHC6EBC7EH89B3RSDZRMD.webp

कांग्रेसको अवरोध असंसदीय : प्रधानमन्त्री दाहाल

काठमाडौँ  I प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधानअनुसार प्रधानमन्त्रीले विश्वासको मत लिने सहज वातावरण नबनाएर प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले असंसदीय व्यवहार प्रदर्शन गरेको बताउनुभएको छ ।
 
प्रतिनिधिसभाको आजको बैठकमा विश्वासको मतसम्बन्धी प्रस्तावको छलफलमाथि उठेका प्रश्नको जवाफ दिँदै उहाँले सदनमा प्रधानमन्त्रीले विश्वासको मत लिने कार्यसूची रहे पनि प्रमुख प्रतिपक्षी दलले अवरोध गरेकामा चिन्ता व्यक्त गर्दै प्रतिपक्षी दल नेपाली कांग्रेसले गरेको उक्त कार्य गलत भएको टिप्पणी गर्नुभयो ।
 

 “विपक्षीलाई समेत सहमतिकम लिएर आफू अगाडि बढ्न खोजिरहेको अवस्थामा तपाईंहरुले जुन खालको व्यवहार प्रदर्शन गर्नुभएको छ, यो बहुत गलत गर्नुभएको छ भन्ने मलाई लागेको छ । इतिहासमा जुन प्रधानमन्त्रीले तपाईंहरुलाई साथ दियो, त्यही प्रधानमन्त्रीलाई यस प्रकारको व्यवहार गर्नुभएको छ, यो घटना संसदीय इतिहासमा कलङ्कका रुपमा स्थापित हुनेछ”, प्रधानमन्त्री दाहालले भन्नुभयो । 
 
उहाँले आफूलाई विश्वासको मतसम्बन्धी प्रस्तावमा समर्थन गर्ने नेकपा (एमाले)सहित अन्य दल र सांसदलाई धन्यवाद दिनुभयो । प्रमुख प्रतिपक्षीको अवरोधका बीच विश्वासको मतसम्बन्धी प्रस्तावलाई मत विभाजनको प्रक्रियाबाट टुङ्गो लगाइँदैछ ।

प्रकाशित मितिः सोमबार, ०७ जेठ २०८१
https://jawaaf.com/storage/01HYACZ6Q097KTEDDE6P8K4XBF.jpg

भोजपुरको टेम्केमैयुङ गाउँपालिका– ९ लेखर्कका एक सय २५ विपन्न परिवारलाई जस्तापाता वितरण

भोजपुर I भोजपुरको टेम्केमैयुङ गाउँपालिका– ९ लेखर्कका एक सय २५  विपन्न परिवारलाई जस्तापाता वितरण गरिएको छ । गरिबीका कारण  छानो फेर्न नसक्दा वषौँबाट चुहिने फुसको छानोमा बस्दै आएका स्थानीयले छानो पाएका हुन् ।  

यहाँका गरिबीका कारण चुहिने छानोमुनि बस्दै आएका परिवारको पहिचान गरेर छानो फेरिदिएको वडा कार्यालयले जनाएको छ । वडाको पहलमा सरकारको सघन सहरी कार्यालयमार्फत यहाँका ती  परिवारको फुसको छानो हटाइएको वडाध्यक्ष नभराज माङपाहाङले जानकारी दिनुभयो । 

एक परिवारले रु ७५  हजार लगानीमा जस्तापाताको छानो पाएको वडाध्यक्ष माङपाहाङको भनाइ छ । वर्षातका समयमा फुसको चुहिने घरमा बस्दै आएका गरिब तथा विपन्न परिवारलाई राहत मिलेको वडाध्यक्ष माङपाहाङले बताउनुभयो ।“हाम्रो वडाका एक सय २५ परिवारले जस्तापाताको छानो पाएका छन्” उहाँले भन्नुभयो,“घरको छानो फेर्न नसक्दा वषौँबाट कष्टकर जीवन बिताउँदै आएको अवस्था थियो । 

हामीले आर्थिक अवस्था कमजोर भएका कारण समस्यामा रहेको स्थानीयलाई छानोको लागि सिफारिस गरेको हौँ । हालसम्म ९० परिवारले छानो फेरिसकेका छन् । बाँकीको पनि काम धमाधम भइरहेको छ ।”स्थानीयलाई आगाजनीलगायत विपद्बाट बचाउनको लागि वडालाई फुसको छानोमुक्त बनाउने लक्ष्यका साथ काम भइरहेको उहाँको भनाइ छ । 

गरिबीका कारण वषौँबाट खरको चुहिने घरमा बस्दै आएको अवस्थामा जस्तापाताको छानो पाउँदा सहजता भएको स्थानीयवासी भीमकुमारी विश्वकर्माले बताउनुभयो । “आर्थिक अवस्था कमजोर भएको कारण लामो समयदेखि फुसको चुहिने छानोमा बस्दै आएका थियौँ” उहाँले भन्नुभयो,“वडाको पहलमा राज्यको तर्फबाट टिनको छानो फेर्न पाउँदा खुसी लागेको छ । यसले भावी दिनमा दैनिकी कटाउन सहजता भएको छ ।” 

लेकका ठाउँमा चुँहिने घरमा कष्टकर जीवन बिताउँदै आएको अवस्थामा सरकारले छानो दिएपछि दैनिकीमा परिवर्तन आएको स्थानीयवासी हर्कराज विश्वकर्माले बताउनुभयो । घरमा जस्तापाताको छानो लगाएकाले वर्सेनी छानो फेर्नुपर्ने अवस्थाको अन्त्य भएको उहाँको भनाइ छ ।

“राज्यले हाम्रो गरिबीलाई देखेको छ”उहाँले भन्नुभयो,“लेकको ठाउँमा चुहिने घरमा बस्दा वर्षातको समयमा जनजीवन निकै कष्टकर थियो । अहिले छानो पाएका छौँ । यसले हामीलाई निकै ठूलो राहत मिलेको छ ।” घर चुहिने हुँदा चिसोका कारण दैनिकजसो बालबच्चासँगै वृद्धवृदालाई बिरामी हुने गरेको अवस्थामा जस्तापाताको छानो पाउँदा सहजता भएको स्थानीयवासी आशबहादुर राईले बताउनुभयो । 
“चुहिने घरका कारण वर्षातको समयमा बालबच्चा तथा वृद्धवृदालाई चिसोबाट जोगाउन नै गाह्रो हुन्थ्यो” उहाँले भन्नुभयो,“ढिलै भए पनि राज्यले हाम्रो दुःख देख्यो । म जस्ता विपन्न परिवारले निःशुल्क छानो पाएका छौँ । मलाई खुसी लागेको छ ।”

प्रकाशित मितिः सोमबार, ०७ जेठ २०८१
https://jawaaf.com/storage/01HYACFYRRMTGYGCXEXDFMDXQR.jpg

इरानका राष्ट्रपति राईसी चढेको दुर्घटनाग्रस्त हेलिकप्टर भेटियो, विमानमा सवार कोही पनि जीवित नरहेको सम्भावना

इरानी उत्तरपश्चिमी क्षेत्रमा दुर्घटनाग्रस्त इरानी राष्ट्रपति इब्राहिम राइसी चढेको हेलिकोप्टर सोमबार विहान भेटिएको छ । 

हेलिकप्टरमा अहिलेसम्म जीवनको कुनै सङ्केत फेला नपरेको इरानको राष्ट्रिय टेलिभिजनले जनाएको छ ।

आइतबार पूर्वी अजरबैजान प्रान्तको आकाशबाट उहाँ र विदेशमन्त्री हुसेन अमिर अब्दोल्लाहियानसहित अन्य व्यक्तिसँगको सम्पर्क टुटेको थियो । 

विमान हराएको करिब १५ घण्टापछि सरकारी टेलिभिजनद्वारा प्रशारित समाचारमा भनिएको छ, “हेलिकप्टर फेला परेको तर हेलिकप्टरका यात्रुहरू जीवितै रहेको कुनै सङ्केत देखिएको छैन ।”

इरानको रेड क्रिसेन्टका प्रमुख पिरहुसेन कूलिभान्डले भन्नुभयो, “विमानलाई फेला पारेपछि उद्धार टोली घटनास्थलतर्फ गइरहेको छ ।” 

उहाँले भन्नुभयो, “हेलिकप्टर फेला परेको छ । अब हामी हेलिकप्टरतर्फ अघि बढिरहेका छौं,” कुलिभान्डले भन्नुभयो । 

उहाँले भन्नुभयो, “हामीले हेलिकप्टर देखिरहेका छौँ । स्थिति राम्रो छैन ।” इरानी सञ्चारमाध्यम फार्सलगायत इरानी सञ्चारमाध्यमले हेलिकप्टरको भग्नावशेषको ड्रोन तस्वीर सार्वजनिक गरेका छन् ।

प्रकाशित मितिः सोमबार, ०७ जेठ २०८१