बिहिबार, ११ भदौ २०८३

/frontend/images/redline.png
https://jawaaf.com/storage/01HY9T8MSMMZ46J25J0X7ZMVTD.jpg

प्रधानमन्त्री दाहालले आज विश्वासको मत लिनुहुँदै

काठमाडौँ I प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिनिधिसभाबाट आज विश्वासको मत लिनुहुनेभएको छ । नेपालको संविधानको धारा १०० को उपधारा (२) बमोजिम उहाँले प्रतिनिधिसभाबाट  विश्वासको मत लिन लाग्नुभएको हो ।

प्रधानमन्त्रीले प्रतिनिधित्व गर्ने दल विभाजन भएमा वा सरकारमा सहभागी दलले आफ्नो समर्थन फिर्ता लिएमा तीस दिनभित्र विश्वासको मतका लागि प्रतिनिधिसभा समक्ष प्रस्ताव राख्नुपर्ने सवैधानिक व्यवस्था छ ।

वर्तमान सरकारमा सहभागी तत्कालीन उपप्रधानमन्त्री एवं स्वास्थ्यमन्त्री उपेन्द्र यादवको नेतृत्वमा रहेको जनता समाजवादी पार्टी सरकारबाट बाहिरिएसँगै प्रधानमन्त्री दाहालले विश्वासको मत लिन लाग्नुभएको हो ।

उक्त विश्वासको मतसम्बन्धी पेश भएको प्रस्ताव प्रतिनिधिसभामा तत्काल कायम रहेका सम्पूर्ण सदस्य सङ्ख्याको बहुमतबाट पारित हुन पर्ने व्यवस्था छ ।

प्रधानमन्त्री दाहालले प्रतिनिधिसभा नियमावली २०७९ को निमय १५५ बमोजिम आजको बैठकमा त्यससम्बन्धी प्रस्ताव पेश गर्नुहुने सङ्घीय संसदको आजको सम्भावित दैनिक कार्यसूचीमा उल्लेख छ  ।

सभामुखबाट उक्त प्रस्ताव बैठकमा निर्णयार्थ प्रस्तुत हुनेछ । विश्वासको मतसम्बन्धी प्रस्तावमाथि सभाको निर्णय सदस्यको दस्तखतसहितको मतविभाजनद्वारा हुनेछ ।

प्रधानमन्त्रीले विश्वासको मत लिने विषयमा छलफल गर्न आजै विहान १० बजे संसद भवन बानेश्वसरमा कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाइएको सभामुखका प्रेस सल्लाहकार शेखर अधिकारीले जानकारी दिनुभयो ।

सङ्घीय ससद्को चौथो अर्थात बर्खे अधिवेशन गत वैशाख २८ बाट शुरुभएको हो । संसद्को संयुक्त वैठकमा यही जेठ १ गते आगामी आर्थिक बर्ष २०८१/८२ का लागि नेपाल सरकारको नीति तथा कार्यक्रम प्रस्तुत भइसकेको छ भने प्रत्येक वर्ष जेठ १५ गते बजेट प्रस्तुत गर्ने सवैधानिक व्यवस्था छ ।

प्रकाशित मितिः सोमबार, ०७ जेठ २०८१
https://jawaaf.com/storage/01HY8MJ6M9N2MQ12G8V3TGCJ0A.jpg

सहकारीको रकम अपचलन गर्नेलाई कारबाही हुन्छः नगर प्रमुख कोइराला

विराटनगर I विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले नियम विपरीत सञ्चालित सहकारीमाथि कारबाही हुने बताउनुभएको छ । महानगरले आयोजना गरेको पाँचदिने सहकारी लेखा तथा पल्र्स तालिमको आज भएको समापन कार्यक्रममा उहाँले जनताले गाँस काटेर जम्मा गरेको पैसा हिनामिना गर्नेविरुद्ध कडा कारबाही गर्ने स्पष्ट पार्नुभयो ।   
  
उहाँले नगर क्षेत्रमा सञ्चालित प्रत्येक सहकारीको गतिविधि र क्रियाकलापलाई महानगरले सूक्ष्मरुपमा अध्ययन गरिरहेको समेत बताउनुभयो । “महानगरको क्षेत्राधिकारमा रहेका सहकारी संस्थाले बदमासी गरे निर्ममतापूर्वक कारबाही गर्छौं”, प्रमुख कोइरालाले भन्नुभयो ।   
  
तालिममा ह्रास कट्टी, जोखिम ऋण व्यवस्थापन, तिर्नुपर्ने रकम, ब्याज मुल्तबी, अन्तिम मालशेष, पाउनुपर्ने रकम, कारोबारको सम्पुष्टि र तयारी विधि, मुख्य खाता, सहायक खाता र प्रयोजनगत लगतहरू, अन्तिम खाता, पर्ल्सको उपयोग, पर्ल्सको परिचय, पर्ल्सको महत्व, वित्तीय सहकारीमा यसको उपयोगितालगायतका विषयमा प्रशिक्षण दिइएको सहकारी शाखाकी प्रमुख सुशीला अधिकारीले जानकारी दिनुभयो ।   
  
तालिममा सहकारीविज्ञ रामचन्द्र गौतम र लक्ष्मी सापकोटाले सहजीकरण गर्नुभएको थियो भने ३५ जना लेखा कर्मचारीको सहभागिता थियो । विराटनगर महानगरको क्षेत्राधिकारभित्र एक सय ७३ वटा सहकारी सञ्चालनमा छन् ।   
 

प्रकाशित मितिः आइतबार, ०६ जेठ २०८१
https://jawaaf.com/storage/01HY8M6T67QM6AAAGA91RS6CQ7.jpg

‘प्रधानमन्त्रीले अघिल्लो पटकभन्दा बढी विश्वासको मत पाउनुहुन्छ’

काठमाडौँ I नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का सांसद माधव सापकोटाले वर्तमान प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अघिल्लो पटकभन्दा बढी विश्वासको मत प्राप्त गर्ने बताउनुभएको छ ।   
  
प्रतिनिधिसभाको आजको बैठकपछि सञ्चारकर्मी संक्षिप्त प्रतिक्रिया दिँदै उहाँले तत्कालका लागि सरकार तलमाथि हुने र सत्ता गठबन्धनमा समस्या नाउने समेत धारणा राख्नुभयो । प्रधानमन्त्री दाहालले यही जेठ ७ गते विश्वासको मत लिँदै हुनुहुन्छ ।   
  
सांसद सापकोटाले भन्नुभयो, “यसपटक पनि विश्वासको मत बढ्छ, घटेर जादैन । तत्कालका लागि सरकार तलमाथि हुने र सत्ता गठबन्धनमा गडबढी हुने स्थिति पनि छैन ।” उहाँले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले सदनमा व्यक्त गर्नुभएको अभिव्यक्ति सरकार छाडनेसँग सम्बन्धित नभएको स्पष्ट पार्नुभयाे ।   
  
“उपप्रधान एवं गृहमन्त्री लामिछानेले सदनमा सैद्धान्तिक रुपमा भनाइ राख्नुभएको हो । वर्तमान सरकारलाई विश्वासको मत दिने र सरकार अघि बढाउने कुरासँग धेरै प्रभावित हुन्छ भन्ने मलाई लाग्दनै”, उहाँले भन्नुभयो ।   
  
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सहप्रवक्ता एवं प्रतिनिधिसभा सदस्य मनिष झाले उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको सदनमा सम्बोधनपछि प्रमुख प्रतिपक्षबाट सदन गतिरोध नहुने अपेक्षा व्यक्त गर्नुभयो ।   
  
“रास्वपा सभापति एवं गृहमन्त्री लामिछानेले आफनै तरिकाले कार्यादेश बनाउन र निष्पक्ष अभ्यासका लागि स्वतन्त्रता दिन्छौ भनेर बोलिसक्नुभयो”, उहाँले भन्नुभयो, “समिति गठनपछि प्रतिपक्षबाट सदन अवरुद्ध हुँदैन भन्नेमा विश्वास छ ।”   

प्रकाशित मितिः आइतबार, ०६ जेठ २०८१
https://jawaaf.com/storage/01HY8KXBKVJMMB2N28W3MQ1S5R.jpg

सहमतिका साथ अघि बढ्न उपप्रधानमन्त्री लामिछानेको आह्वान

काठमाडौँ I उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले आरोप–प्रत्यारोपको शृङ्खला अन्त्य गरेर सहमतिका साथ अघि बढ्न आह्वान गर्नुभएको छ ।   
  
प्रतिनिधिसभाको आजको बैठकमा आफ्ना भनाइ राख्नेक्रममा उहाँले सदनलाई मर्यादित रुपमा अगाडि बढाउन सबै दलहरु जिम्मेवार बन्नुपर्ने बताउनुभयो । “सदनलाई मर्यादित रुपमा अगाडि बढाऔँ । सदनमा झडपको अवस्था सिर्जना हुनु राम्रो होइन, देशलाई आशा र भरोसा जगाउन सबै जिम्मेवार बनौँ । हूलहुज्जत र बल मिचाइले सदन चन्दैन”, उहाँले भन्नुभयो ।   
  
सहकारी संस्थाहरुको रकम अपचलन भएको विषयमा संसदीय छानबिन समिति गठन गर्दा व्यक्तिविशेषलाई केन्द्रित नगरी समग्र समस्या हल गर्नेगरी गरिनुपर्ने उहाँको भनाइ छ ।   
  
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले उपप्रधानमन्त्री लामिछानेलाई विभिन्न सहकारी संस्थाको रकम अपचलन गरेको आरोप लगाउँदै आएकामा लामिछानेले भने त्यसको प्रतिवाद गर्नुभयो । “सहकारीका विषयमा अदालतमा मुद्दा छैन, कसैको बयानले मलाई पोलेको छैन”, उहाँले भन्नुभयो, “कुनै पनि ज्ञापनपत्रमा मेरो बारेमा उल्लेख गरेको छैन । मेराबारे सहकारीका सम्बन्धमा धेरै समाचार आए । हल्ला र मिडिया ट्रायलका भरमा समिति बनाउँदै जाने हो भने हामीले कस्तो संसदीय अभ्यास बनाउँदैछौँ भन्ने प्रश्न आउँछ ।”   
  
छानबिन समितिको कार्यादेश तय गर्ने विषयमा प्रमुख प्रतिपक्षी दल कठोर भएर उपस्थित भएको र व्यक्ति विशेष छानबिन थालिनुपर्ने अडानमा कायम रहँदा सहमति जुट्न नसकेको लामिछानेको भनाइ छ ।   
  
“प्रतिपक्षले लचकताका आधारमा समिति बनाउने कुरामा सहमति गरेर आएका हौँ, तर कार्यादेशको विषय नटुङ्गिँदै मिडियामा आइसक्छ । तपाईंहरुले कस्तो किसिमको समिति बनाउन खोज्नुभएको हो ?, रास्वपालाई बाहिर राखेर समिति गठन गर्ने भए पनि गर्नुस्”, गृहमन्त्री लामिछानेले भन्नुभयो ।   
  
नयाँ दलका रुपमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) उदाएको विषयलाई पुरानो र लामो संसदीय अभ्यास गुजारिसकेको नेपाली कांग्रेसले सहन नसकेको उहाँको आरोप थियो । उहाँले भन्नुभयो, “लोकतन्त्र र संविधानका आधारमा रास्वपा भर्खरै हुर्केको हो तर यहाँ निमोठ्ने प्रयास भयो । एउटा व्यक्तिलाई खुइल्याउने, सदनमा बोल्न नदिने अनि समस्याको समाधान गर्न पहल पनि गर्न नदिने स्थिति बन्यो ।”   
  
उपप्रधानमन्त्री लामिछानेले सहकारी समस्या समाधानका लागि व्यक्ति केन्द्रित नभई समस्या केन्द्रित रहेर जानुपर्नेमा सरकार सदैव तयार रहेको बताउनुभयो । उहाँले समस्याग्रस्त सहकारीमा सबैभन्दा पहिला बचतकर्ताको रकम फिर्ता गर्न सरकार तयार रहेको पनि स्पष्ट पार्नुभयो ।   
  
उहाँले यही अधिवेशनमार्फत सहकारीका समस्या समाधानका लागि कुनै कानुन बनाएर जानसकिने भन्दै त्यस प्रक्रियामा सहजीकरण गर्न प्रतिपक्षी दललाई आग्रह गर्नुभयो ।   
  
यसअघि विभिन्न समयमा उठेका आर्थिक अनियमितताका उदाहरण दिँदै उपप्रधानमन्त्री लामिछानेले ती घटनामा पनि छानबिन थालिनुपर्ने धारणा राख्नुभयो । सहकारी ठगीको विषय फौजदारी कसुरको विषय भएकाले सोहीअनुसार अनुसन्धान र अभियोजनलगायत कानुनी प्रक्रियामा जानुपर्ने उहाँको भनाइ छ ।   
  
उपप्रधानमन्त्री लामिछानेले समस्या केन्द्रित छानबिन अगाडि बढ्दा आफूले त्यसलाई सहजै स्वीकार्ने र आफूमाथिको छानबिनका लागि सहजीकरण गर्न तयार रहेको स्पष्ट पार्नुभयो । “संसदीय छानबिन समिति बनाउनूस्, म परीक्षित हुन तयार छु । सञ्चारमाध्यममा समाचार आएकै भरमा व्यक्ति केन्द्रित विषयमा समिति बनाउने होइन । समस्या केन्द्रित भएर छानबिन गरिनुपर्छ”, उहाँले भन्नुभयो ।   
  
प्रतिनिधिसभाको आजको बैठक निर्धारित कार्यसूचीअनुसार अगाडि बढ्न सकेन । उपप्रधानमन्त्री लामिछानेको सम्बोधनपछि प्रमुख प्रतिपक्षी दल कांग्रेसले उठेर विरोध जनाएपछि सभामुख देवराज घिमिरेले आजका लागि निर्धारित विषयहरु कार्यसूचीबाट हटाएको जानकारी दिनुभयो । प्रतिनिधिसभाको अर्को बैठक भोलि जेठ ७ गते सोमबार बिहान ११ बजे बस्नेछ ।  

प्रकाशित मितिः आइतबार, ०६ जेठ २०८१
https://jawaaf.com/storage/01HY828SPJB6MSDN7KANEPM98P.webp

इजरायली हवाई आक्रमणमा २० जनाको मृत्यु

मध्य प्यालेस्टिनी क्षेत्रमा रहेको शरणार्थी शिविरको एक घरलाई लक्षित गरि गरिएको इजरायली हवाई आक्रमणमा परी कम्तीमा बीस  जनाको मृत्यु भएको आइतबार गाजा अस्पतालले जनाएको छ । 
“मध्य गाजाको अल–नुसिरात शरणार्थी शिविरमा रहेको हसन परिवारको घरलाई इजरायली हवाई आक्रमणले निशाना बनाएपछि बीस जना मृत र धेरै घाइते अवस्थामा यहाँ ल्याइएको छ“, अल–अक्सा शहीद अस्पतालमा एक विज्ञप्तिमा भनिएको छ। 
प्रत्यक्षदर्शीका अनुसार ३  बजे स्थानीय समयमा आक्रमण भएको थियो। इजरायली सेनाले घटनको रिपोर्ट जाँच गरिरहेको बताएको छ। 
प्यालेस्टिनी आधिकारिक समाचार एजेन्सी वफाले घाइतेहरुमध्ये धेरै बालबालिका रहेका र उद्धारकर्ताहरूले भग्नावशेषमुनि फसेका व्यक्तिहरूको खोजी गरिरहेको जानकारी दिएको छ ।  
उत्तरी गाजाको जबालिया शिविरमा पनि प्यालेस्टिनी लडाकु र इजरायली सेनाबीच केही दिनदेखि झडप हुँदै आइरहेको छ। 
प्रत्यक्षदर्शीका अनुसार गाजा क्षेत्रमा रातको समयमा भएको हवाई आक्रमणमा अन्य धेरै घरहरू लक्षित गरिएको साथै राफाहका केही भागहरूमा पनि हवाई आक्रमण र गोलाबारी भएको थियो । 
घटनाको अघिल्लो दिन गाजामा थप दुई जना सैनिक मारिएको इजरायली सेनाले जनाएको छ।  अक्टोबर २७ मा आक्रमण सुरु भएदेखि गाजाको सैन्य अभियानमा अहिलेसम्म दुई सय ८२  जना सैनिक मारिएको सेनाले जनाएको छ।

प्रकाशित मितिः आइतबार, ०६ जेठ २०८१
https://jawaaf.com/storage/01HY81KNR9JE7JN6XWF0XKN06F.jpg

डोको बोकेर दौडिने प्रतियोगितामा फक्ताङ्लुङका कार्की प्रथम

ताप्लेजुङ I यहाँ जारी ताप्लेजुङ पर्यटन महोत्सवअन्तर्गत आज भएको डोको क्यारी रन (डोको बोकेर दौडिने) प्रतियोगितामा फक्ताङ्लुङ गाउँपालिकाका–२ का छत्रबहादुर कार्की प्रथम हुनुभएको छ । 

सदरमुकामदेखि सुकेटारस्थित सानो पाथीभरा मन्दिर पुगेर फर्किनुपर्ने करिब १४ किलोमिटरको निर्धारित दूरी एक घण्टा १५ मिनेटमा पार गर्दै कार्की प्रथम हुनुभएको आयोजक समितिले जनाएको छ ।
 
यस्तै पाँचथरको फिदिम नगरपालिका–१४ का विशाल राई एक घण्टा १९ मिनेटमा निर्धारित दूरी पार गर्दै द्वितीय हुनुभएको छ भने मिक्वाखोला गाउँपालिकाका–३ का मिङ्मा शेर्पा एक घण्टा २० मिनेटमा दूरी पार गरेर तृतीय हुनुभएको छ ।
 
चौथोदेखि क्रमशः दसौँसम्म फक्ताङ्लुङका सञ्चबहादुर शेर्पा, मिक्वाखोलाका फुर्वालाक्पा शेर्पा, मैवाखोलाका पाशाङ बाङ्गल शेर्पा, फुङ्लिङ नगरपालिकाका दिपेन्द्र सुजी, मैवाखोलाका लाक्पानुर्वु शेर्पा र मैवाखोलाकै आशकुमार लिम्बू रहेका छन् ।
 
प्रतियोगिताका प्रथम, द्वितीय र तृतीयलाई क्रमशः रु ३० हजार, रु २० हजार र रु १० हजार नगदसहित प्रमाणपत्र प्रदान गरिएको छ भने चौथोदेखि दसौँसम्मका लागि जनही रु एक हजारसहित प्रमाणपत्र प्रदान गरिएको आयोजक समितिले जनाएको छ ।
 
महोत्सवअन्तर्गत यसअघि दुना टपरी गाँस्ने, धुप बाट्ने, वक्तित्वकलालगायतका प्रतियोगिता सम्पन्न भएका छन् भने महोत्सवको अन्तिम दिन सोमबार पाथीभरा म्याराथन हुने आयोजक समितिका संयोजक तथा जिल्ला समन्वय समितिका प्रमुख छिरिङ लामाले जानकारी दिनुभयो

प्रकाशित मितिः आइतबार, ०६ जेठ २०८१
https://jawaaf.com/storage/01HY7XGVF0TB8F1MCSZ67931N9.jpg

राप्रपाको केन्द्रीय समितिको बैठक आह्वान

काठमाडौँ  I राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले केन्द्रीय समितिको बैठक यही जेठ ११ देखि १३ गतेसम्म काठमाडौँमा आह्वान गरेको छ । 

पार्टीले उठाउँदै आएको हिन्दूराष्ट्र, सङ्घीयतालगायत विषयमा वैचारिक दृष्टिकोण, देशभर पार्टी सङ्गठनको अवस्था, जनवर्गीय सङ्गठनका कार्यप्रगति, पार्टीको आन्तरिक विवाद समाधानका लागि बैठक आह्वान गरिएको सो पार्टीका नेता राजाराम श्रेष्ठले जानकारी दिनुभयो ।

उहाँका अनुसार समसामयिक परिस्थितिबारे छलफल गरिनेछ । बैठकमा प्रदेश, क्षेत्र र भूगोलको सन्तुलन मिलाएर आवश्यक स्थानमा नेताहरुको जिम्मेवारी तोकिनुका साथै सङ्गठन विस्तार तथा पार्टीलाई आधारभूत तहसम्म स्थापित गर्न आवश्यक कार्ययोजनाबारे छलफल गरिनेछ ।

पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनले समसामयिक राजनीतिक प्रतिवेदन तथा महामन्त्री डा धवलशम्शेर जवराले साङ्गठनिक प्रतिवेदन पेस गर्नुहुनेछ । बैठकमा  पार्टीको आगामी कार्यक्रम, युवा सहभागिता वृद्धि गर्ने, विधान आवश्यक हेरफेरका लागिसमेत छलफल गरिने नेता श्रेष्ठले बताउनुभयो ।

पार्टी मातहतका विभिन्न समिति तथा जिल्ला तहका कार्यकर्ताबाट विधान संशोधनका विषयलाई परिमार्जन गर्न माग गरिएको जनाइएको छ । 

विभिन्न समितिबाट भएगरेका निर्णयलाई अनुमोदन गरिने बैठकमा पार्टीको कार्यदिशा, कार्ययोजना, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परिस्थितिलाई दृष्टिगत गरी विधान परिमार्जन गर्न सुझाव आएको केन्द्रीय प्रचार विभाग सदस्य सचिव सुन्दर पाण्डेले जानकारी दिनुभयो ।

पार्टी अध्यक्ष लिङ्देनले उद्घाटन गर्नुहुने उक्त बैठकको समाचार प्रचारप्रसारका लागि सूचना सङ्कलन केन्द्र, सहभागी प्रतिनिधिको परिचयपत्र व्यवस्थापन, सुरक्षा व्यवस्थाका लागि स्वयंसेवकको व्यवस्था गरिएको पार्टी कार्यालयले जनाएको छ । बैठकमा करिब चार सय प्रतिनिधिको सहभागिता रहनेछ । 

प्रकाशित मितिः आइतबार, ०६ जेठ २०८१
https://jawaaf.com/storage/01HY7X6G4A5N323PNW57PY8NBP.webp

गृहमन्त्री लामिछानेलाई सदनमा बोल्न दिने विपक्षी दलको निर्णय

काठमाडौँ  I प्रतिनिधिसभाका विपक्षी दलहरुले उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेलाई प्रतिनिधिसभाको आजको बैठकमा बोल्न दिने भएका छन् ।
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आज सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा बोलाउनुभएको विपक्षी दलहरुको संयुक्त बैठकले गृहमन्त्री लामिछानेको जवाफ सुन्ने निर्णय गरेको हो ।

सहकारीको रकम अपचलनमा निष्पक्ष छानबिनका लागि शनिबार सरकारले संसदीय समिति बनाउने विषयमा गरेको सहमतिलाई सकारात्मकरुपमा लिएको नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले जानकारी दिनुभयो । सत्तापक्ष र विपक्षी दलले शनिबार सो सम्बन्धमा संसदीय समिति बनाउने र त्यसका लागि कार्यादेश बनाउन कार्यदल समेत गठन गरेका छन् ।

विपक्षी दलको बैठकले गृहमन्त्री लामिछानेले बोलेपछि समिति गठन गर्नुपर्ने माग गरेको छ । समिति गठन नभएसम्म सरकारी कार्यसूचीमा प्रवेश गर्न नदिने विपक्षी दलको निर्णय रहेको प्रमुख सचेतक लेखकले बताउनुभयो ।

कांग्रेसले सहकारीको रकम अपचलनमा उपप्रधानमन्त्री लामिछानेको संलग्नता देखिएको आरोप लगाउँदै निष्पक्ष छानबिनका लागि संसदीय समिति गठन गर्नुपर्ने मागसहित प्रतिनिधिसभा बैठक अवरुद्ध गर्दै आएको छ ।

प्रकाशित मितिः आइतबार, ०६ जेठ २०८१
https://jawaaf.com/storage/01HY7VFYBMBC589B4M10PS9KXN.jpg

चेपाङ बस्तीमा प्राधिकरणले जब निःशुल्क मिटर बाँड्यो

काठमाडौँ  I अतिसिमान्तकृत चेपाङ समुदायको बाहुल्यता रहेको धादिङ र चितवनका विकट बस्तीमा राष्ट्रिय प्रसारण लाइनको विद्युत् पुगेको छ । धादिङको गजुरी तथा बेनिघाट रोराङ गाउँपालिका र चितवनको इच्छाकामना गाउँपालिकाका विकट चेपाङ बस्तीमा राष्ट्रिय प्रसारण लाइन पुर्‍याएर विद्युतीकरण गरिएको हो । नेपाल विद्युत् प्राधिकरणले चेपाङ समुदायलाई निःशुल्क मिटर पनि उपलब्ध गराएको छ । 

प्राधिकरणले विद्युत्को पहुँच विस्तारका लागि मिटर नै किन्न नसक्ने पिछडिएका तथा आर्थिकरुपमा विपन्न घरपरिवारलाई निःशुल्क विद्युत् मिटर वितरण गर्दै आएको छ । मुलुकभर रहेका आफ्ना वितरण केन्द्रमार्फत प्राधिकरणले विपन्न वर्गलाई निःशुल्क मिटर उपलब्ध गराएर विद्युत् जडान गरिदिँदै आएको छ । विपन्न वर्गले प्राधिकरणको मापदण्डअनुसारको ५ देखि ३० एम्पिएर क्षमताको बक्ससहितको सिङ्गल फेज इनर्जी मिटर र एमसिबी बक्स निःशुल्क पाउनेछन् । प्राधिकरणले मिटर जडानका लागि सेवा शुल्क लिँदैन । 

चितवनको इच्छाकामना गाउँपालिका–१ कालिङमा आयोजित कार्यक्रममा प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले गाउँपालिकालाई पूर्ण विद्युतीकरण भएको घोषणा गर्नुभयो । साथै कार्यकारी निर्देशक घिसिङले गाउँपालिकामा बसोबास गर्ने चेपाङ समुदायलाई निःशुल्क मिटर वितरण गर्नुभयो । 

प्राधिकरणले इच्छाकामना गाउँपालिकाका सात वटा वडाको विद्युतीकरणका लागि चालू आर्थिक वर्षमा मात्र रु १५ करोड रकम खर्च गरेको छ । कार्यकारी निर्देशक घिसिङले सरकारले उपलब्ध गराएको बजेट, प्राधिकरणले कमाएको नाफा र अन्तर्राष्ट्रिय वित्तीय संस्थामार्फत सहुलियतपूर्ण ऋण लिएर देशलाई पूर्ण विद्युतीकरण गर्ने काम गर्दै आएको छ । 
 
“सात÷आठ वर्षअघि राष्ट्रिय प्रणालीबाट करिब ६० प्रतिशत जनसङ्ख्यामा मात्र विद्युत्को पहुँच पुगेको थियो, विद्युत् पुगेको ठाउँमा पनि विद्युत्भार कटौती थियो भने अन्य ठाउँ अन्धकारमै थिए, हाल विद्युत्भार कटौती अन्त्य भई इतिहास बनेको छ, ९५ प्रतिशत जनजङ्ख्यामा राष्ट्रिय प्रणालीको विद्युत् पुगेको छ, शतप्रतिशत विद्युतीकरणका लागि ठेक्का सम्झौता सम्पन्न भई काम भइरहेको छ”, घिसिङले भन्नुभयो । 

पहिले विद्युत् चाहियो भनेर प्राधिकरणका कार्यालयमा धाउनुपथ्र्यो भने अहिले विद्युत् नपुगेको घर खोज्दै प्राधिकरण हिँडेको छ । विकट क्षेत्रमा रहेको एउटा घरमा विद्युत् पु¥याउन लाखौँ रुपैयाँ खर्च गरिएको छ । विद्युत् खपत बढाउन विद्युतीय चुलोको प्रयोग गरी ग्यासलाई विस्थापन गर्न आग्रह गर्दै उहाँले जग्गाधनी पूर्जा नभएका सुकुम्बासीले विद्युत् मिटर लिँदा राख्नुपर्ने एक हजार धरौटी रकम व्यावहारिक नदेखिएकाले यसलाई हटाउन आवश्यक निर्णय गरिने बताउनुभयो । 

गाउँपालिकाका अध्यक्ष दानबहादुर गुरुङले गाउँपालिकालाई विभिन्न स्रोतबाट एक वर्षमा प्राप्त हुने बजेटभन्दा बढी रकम प्राधिकरणले इच्छाकामनाको विद्युतीकरणमा विनियोजन गरी काम अगाडि बढाएकाले पूर्णरुपमा विद्युतीकरण सम्भव भएको बताउनुभयो । अध्यक्ष गुरुङले सकुम्बासीले विद्युत् जडान गर्दा राख्नुपर्ने रु एक हजार धरौटी रकम गाउँपालिकाले राखिदिने व्यवस्था गरिएको उल्लेख गर्नुभयो । 

प्राधिकरणका वितरण तथा ग्राहक सेवा निर्देशनालयका उपकार्यकारी निर्देशक मनोज सिलवालले विद्युत् सुरक्षितरुपमा प्रयोग गर्न र महसुल समयमै तिर्न आग्रह गर्नुभयो । गाउँपालिकाका उपाध्यक्ष माया सिलवाल र १ नं वडाका वडा अध्यक्ष सन्तबहादुर मगरले पालिकाका बासिन्दा अँध्यारोमा बस्नुपर्ने अवस्थाको अन्त्य भई त्यस क्षेत्रको आर्थिक क्रियाकलाप बढ्ने बताउनुभयो । 

प्रकाशित मितिः आइतबार, ०६ जेठ २०८१
https://jawaaf.com/storage/01HY7T7BRRT3B5EFYEXM4MQ7AM.jpg

बाघखोरलाई घरबास गाउँ घोषणा

 त्रिवेणी (नवलपरासी) I नवलपरासी (बर्दघाघाट पूर्व) नवलपुरको कावासोती –१५, बाघखोरलाई घरबास गाउँ घोषणा गरिएको छ । अमलटारी मध्यवर्ती सामुदायिक घरबास सञ्चालितको दश वर्ष पूरा भएका अवसरमा सिङ्गो गाउँलाई नै घरबास घोषणा गरिएको अमलटारी मध्यवर्ती सामुदायिक घरबासका अध्यक्ष प्रेमशंकर मर्दनिया थारूले जानकारी दिनुभयो । घरबासको नीति, मापदण्ड, अवधारण, कार्यविधि र दिगोपनालाई मध्यनजर गरि यहाँ रहेका होटल, रेष्टुरेन्ट र आवास गृह सबैलाई घरबासका रूपमा परिणत गरिएका अध्यक्ष थारूले बताउनुभयो । शनिबार गण्डकी प्रदेशसभा सदस्य पद्मा जिसी श्रेष्ठले गाउँलाई घरबास गाउँ घोषणा गर्नुभएको हो ।     
      
यस क्षेत्रमा छुट्टाछुट्टै स्वरूपमा घरबाससहित, होटल, रेष्टुरेन्ट सञ्चालन गर्दा भविष्यमा घरबासको मौलिकता गुम्दै जाने खतरा बढेकाले सबैलाई एकै मापदण्डमा ल्याउन यस्तो घोषणा गरिएको उहाँले भन्नुभयो । हाल अमलटारी घरबासअन्तर्गतका ४३ आवास र होटलमा सञ्चालित ६४ कोठालाई एकीकृत गरि घरबासको मापदण्डमा लैजाने निर्णय गरिएको छ । ‘हामीले यसअघिका घरबास र पछि सञ्चालित सबै होटलका कोठालाई घरबासमै गाभेका छौ, यहाँ आउने पाहुनाहरू एकद्वार प्रणालीबाट आउन र राम्रो सेवा लिन सकुन् भन्ने हाम्रो चाहना हो । यो योजनाले घरबासको मौलिकता जोगाउन सहयोग पुग्नेछ”, अध्यक्ष थारूले भन्नुभयो ।     
      
घरबासलाई थप व्यवस्थित गर्न दशवर्षे रणनैतिक योजनासमेत बनाइएको छ । जसमा एक घर एक रोजगार, गाउँमा सत्प्रतिशत साक्षरता, वातावरणमैत्री व्यवसाय, सबै घरमा करेसाबारीसहित थारू, बोटेलगायत स्थानीय समुदायका संस्कृति, रहनसहनलाई संरक्षण गर्ने गरि म्युजियम निर्माणको योजना छ । वन र वन्यजन्तुको संरक्षणसहित आर्थिक विकासमा जोडिन सम्भव छ भन्ने उद्देश्यका साथ यहाँ थप अभियानहरू पनि सञ्चालन गर्ने व्वस्थापन समितिको योजना छ । “जैविक विविधताको संरक्षण, दिगो वन व्यवस्थापन, मानव वन्यजन्तुको सहअस्तित्व कायम गर्दै यो क्षेत्रलाई पर्यापर्यटनको गन्तव्यका रूपमा विकास गर्ने हाम्रो अभियान छ”, अध्यक्ष थारूले भन्नुभयो ।     
      
अमलटारी घरबासले थारु, बोटे समुदायको जीवनस्तर सुधारका साथै महिलाहरूको क्षमता विकासमा पनि सहयोग पुगेको गण्डकी प्रदेशसभा सदस्य पद्मा जिसी श्रेष्ठले बताउनुभयो । घरबासबाट जिविकोपार्जनसहित गाउँको आर्थिक तथा सामाजिक विकास सम्भव छ भन्ने उदाहरण अमटारी घरबासले प्रस्तुत गरेकामा उहाँले प्रशंसा गर्नुभयो ।     
      
चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रसँग जोडिएको कावासोतीको बाघखोरमा अमलटारी क्षेत्रमा घरबास सञ्चालन पछि यहाँको आर्थिक विकासमा ठूलो सहयोग पुगेको छ । यहाँका मध्यवर्ती सामुदायिक वनमा गैंडा अवलोकनका लागि आन्तरिक तथा बाह्य पर्यटक आउने गर्छन् ।     

प्रकाशित मितिः आइतबार, ०६ जेठ २०८१