बुधबार, १० भदौ २०८३

/frontend/images/redline.png
https://jawaaf.com/storage/01HY620REY9XA4DG2E070KSESN.jpg

दिक्तेल-खानीडाँडा-आहाले सडक : छ वर्षपछि कालोपत्र सुरु

खोटाङ I कालोपत्रको ठेक्का लिएको छ वर्षपछि दिक्तेल-खानीडाँडा-आहाले सडकको कामले गति लिएको छ । सदरमुकाम दिक्तेल बजारबाट पूर्वी तराई जोड्ने यो सडक विसं २०७६ चैत ७ गतेसम्ममा कालोपत्र गर्नेगरी याक्थुङहाङ-साप-सिरुवा जेभीले विसं २०७५ असोज १ गते ठेक्का लिएको थियो ।     
     
राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले भ्याटसहित रु २१ करोड एक लाख ८८ हजारमा सम्पन्न गर्नेेगरी १० दशमलव ९७४ किलोमिटर सडकखण्ड कालोपत्रको ठेक्का लगाएको थियो । मूल ठेकेदारसँग सम्झौता गरी यसअघि दुईवटा ठेकेदार कम्पनीले पेटी ठेक्का लिएर अलपत्र छाडेका थिए । हाल बाँकी काम गर्ने जिम्मा श्रीनिक बिल्डर्स प्रालिले लिएको छ ।     
     
दिक्तेलबाट खानीडाँडा विमानस्थल हुँदै उदयपुरको गाईघाट जोड्ने उक्त सडक अहिले धमाधम कालोपत्र भइरहेको स्थानीयवासी सन्तोष पौडेलले जानकारी दिनुभयो । ढिलै भए पनि सडक कालोपत्र हुने भएपछि स्थानीय बासिन्दा हर्षित भएका छन् । सुरुमा राम्चे निर्माण सेवा कम्पनीका कल्याण दाहाललाई प्रतिनिधि राखेको ठेकेदार कम्पनीले दोस्रोपटक खोटाङ हलेसी कन्स्ट्रक्सन प्रालिका खगेन्द्र राईलाई प्रतिनिधि चयन गरेको थियो । दाहाल र राईले काम नगरेपछि अहिले श्रीनिक बिल्डर्स प्रालिका प्रोप्राइटर भैरव बस्नेतलाई जिम्मा दिइएको याक्थुङहाङ-साप-सिरुवा जेभीले जनाएको छ ।     
     
कालोपत्र भइरहेको दिक्तेल-खानीडाँडा-आहाले सडक यही जेठ मसान्तमा सम्पन्न गरेर असार पहिलो साताभित्र प्राधिकरणलाई हस्तान्तरण गर्नेगरी काम भइरहेको प्रोप्राइटर बस्नेतले बताउनुभयो । “अघिल्लो ठेकेदार कम्पनीले नाली, साइड ड्रेन, ग्राभेल, बेस तथा सब–बेसलगायत अधिकांश भौतिक संरचनाका काम सम्पन्न गरेको भनेर भुक्तानी लिएका रहेछन् । ती कामहरु अहिले पुनः गर्नुप¥यो । हामीले जिम्मा लिएको काम तोकिएको समयमा सम्पन्न गर्ने तयारी छ”, उहाँले भन्नुभयो, “अहिले दक्ष जनशक्तिसहित ७० जना कामदार खटिएका छन् । जेठ मसान्तभित्र कालोपत्रको सबै काम सकिन्छ ।”     
     
अघिल्लो दुईवटा ठेकेदार कम्पनीका प्रतिनिधिले प्राधिकरणबाट रु १३ करोड ६९ लाख पाँच सय ३८ भुक्तानी लिइसकेका छन् । बाँकी कालोपत्र सम्पन्न गर्न श्रीनिक बिल्डर्स प्रालिले रु सात करोड २२ लाख तीन हजार चार सय ३५ मा पेटी ठेक्का लिएको हो । सडकको नाली, रिटेनिङ वाल, ग्राभेल आरसिसी ढलान, साइड ड्रेन, ग्राभेलसहित ६.२५ मिटर चौडा हुने सडकको ३.७५ भागमा कालोपत्र हुनेछ । १८ महिनाभित्र सम्पन्न गर्ने भनिएको सो सडक विसं २०७५ मङ्सिर १ गते तत्कालीन प्रतिनिधिसभा सदस्य विशाल भट्टराईले शिलान्यास गर्नुभएको थियो ।     
     
निर्माणमा ठेकेदारको चरम लापरबाही भएपछि प्राधिकरणले विसं २०७६ पुस ९ गते लिखितरुपमा पत्राचार गरी काम रोक्न निर्देशन दिएको थियो । माटो मिसिएको बालुवा तथा एक टिन सिमेन्टसँग दश टिन बालुवा÷गिट्टी घोलेर प्रयोग भइरहेको गुनासो आएपछि निर्माण रोकिएको थियो ।   

प्रकाशित मितिः शनिबार, ०५ जेठ २०८१
https://jawaaf.com/storage/01HY61T05XT7NJRN4C22MX9E52.jpg

फोर्ब्सद्वारा प्रकाशित सु ब्रिजम्यानको ‘द सीक्यू एज’ नेपालमा सार्वजनिक

काठमाडौँ  I सु ब्रिजम्यानद्वारा लिखित ‘द सीक्यू एज’ पुस्तक सार्वजनिक गरिएको छ । यहाँ आयोजित एक कार्यक्रममा लेखक ब्रिजम्यानको उपस्थितिमा पुस्तक सार्वजनिक गरिएको हो । अन्तर्राष्ट्रिय प्रकाशन ‘फोर्ब्स बुक्स’द्वारा प्रकाशित उक्त पुस्तक आत्मविश्वास अभिवृद्धि, चिन्ता निवारण, प्रभावकारी सञ्चार र बौद्धिकता कसरी बढाउने भन्ने विषयमा केन्द्रित छ ।     
     
“पुस्तक सांस्कृतिक बौद्धिकता कसरी अभिवृद्धि गर्ने, कुशल वक्ता कसरी बन्ने विषयका लागि मार्गदर्शक बन्नेछ”, लेखिका सुले भन्नुभयो, “आत्मविश्वास अभिवृद्धि, प्रभावकारी सञ्चारका लागि सहयोगी हुने विश्वास लिएकी छु ।”     
     
एघार अध्याय रहेको पुस्तक कुशल वक्ता बन्न चाहनेका लागि मार्गदर्शक बन्नेमा लेखक सुले विश्वास व्यक्त गर्नुभयो । “सम्भाषण कला, आत्मविश्वास अभिवृद्धि, प्रस्तुतिको शैलीलाई प्रभावकारी बनाउनका लागि पुस्तक सहयोगी बन्न सक्छ”, उहाँले भन्नुभयो । प्रभावकारी सञ्चारमार्फत कुनै पनि व्यक्तिमा निहित अथाह सम्भावना प्रस्फुटन गराउन सकिने भन्दै उहाँले यस पुस्तक सहयोगी हुने बताउनुभयो ।     
     
लेखक सुले पुस्तकमा आत्मविश्वास बढाउने शैली, सञ्चार शैली प्रभावकारी कसरी बनाउने भन्ने विधि उल्लेख गर्नुभएको छ । सरल सुझाव र सजिलो लेखन शैलीको पुस्तकमा व्यक्तिगत र व्यावसायिक क्षमता अभिवृद्धिका लागि अन्तर–सांस्कृतिक सीप बढाउन चाहनेका लागि उपयोगी मानिएको छ ।     
     
‘स्पिकफ्लुएन्स ग्लोबल’ संस्थाको संस्थापक एवं प्रबन्ध निर्देशकका साथै अधिवक्ता समेत रहनुभएकी लेखक सु ल सोसाइटी अफ अपर क्यानडाको सदस्य हुनुहुन्छ । उहाँ पछिल्लो दुई दशकयता आफ्नो व्यवसायिक अनुभवका आधारमा सकारात्मक सोच प्रबर्द्धनमा सक्रिय हुनुहुन्छ ।   

प्रकाशित मितिः शनिबार, ०५ जेठ २०८१
https://jawaaf.com/storage/01HY61J4HKC1FZG055R0DZRQNY.jpg

स्वास्थ्य संस्थाको गुणस्तर सुधारमा सरकार प्रतिबद्धः स्वास्थ्यमन्त्री यादव

पर्सा I स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप यादवले देशभरिका सरकारी स्वास्थ्य संस्थाको गुणस्तरमा सुधार ल्याउन सरकार प्रतिबद्ध रहेकोे बताउनुभएको छ । जनता समाजवादी पार्टी पर्साले आज वीरगञ्जमा आयोजना गरेको सम्मान तथा अगुवा कार्यकर्ता भेलामा उहाँले सरकारी अस्पतालबाट वितरण गरिने औषधोपचार सेवाको गुणस्तरसँगै अवश्यकताका आधारमा सरकारी अस्पतालमा विशेषज्ञ सेवासमेत सञ्चालन गर्ने सोचका साथ नेपाल सरकार अगाडि बढिरहेको बताउनुभयो ।     
      
मन्त्री यादवले वीरगञ्जको नारायणी अस्पतालको बजेट बढाउने तयारी भइरहेको पनि जानकारी दिनुभयो । उहाँले नारायणी अस्पतालमा चाँडै क्यान्सर रोगीको उपचारको व्यवस्था गर्ने तयारीमा समेत सरकार रहेको बताउनुभयो ।     
      

पर्साको बहुदरामाई नगरपालिकाका नगरप्रमुख तथा पार्टीका नेता सिङ्घासन साहको अध्यक्षतामा सम्पन्न कार्यक्रम्ममा जसपा मधेस प्रदेशका संयोजक अशोक यादव, वीरगञ्ज महानगरपालिकाका प्रमुख तथा पार्टीका केन्द्रीय सदस्य राजेशमान सिंहलगायतका वक्ताले धारणा राख्नुभएको थियो ।     
 

प्रकाशित मितिः शनिबार, ०५ जेठ २०८१
https://jawaaf.com/storage/01HY61AWCEE2RN5ACZAPSWFJ06.jpg

राष्ट्रिय साइकल दौड: प्रकाश र उषा च्याम्पियन

कास्की I पोखरामा आज सम्पन्न राष्ट्रिय साइकल दौड प्रतियोगिताको उपाधि पुरुषतर्फ प्रकाश थापामगर र महिलातर्फ उषा खनालले जित्नुभएको छ । साइक्लिङको माध्यमबाट खेल पर्यटनको प्रवर्द्धन गर्ने उद्देश्यले पोखरा महानगरपालिका खेलकुद विकास समितिले राष्ट्रिय दौड प्रतियोगिता आयोजना गरेको हो । पोखरा –१७ र २१ भित्र तय गरिएको रुटमा च्यापिम्पयन बनेका दुबै जनाले जनही रु ५० हजार नगद, मेडल र प्रमाणपत्र पुरस्कार प्राप्त गर्नुभयो ।     
     
प्रकाशले निर्धारित २८ किमी दूरी एक घण्टा ३७ मिनेट १३ सेकेन्ड र उषाले निर्धारित २० किलोमिटर एक घण्टा ३९ मिनेट १० सेकेन्डमा पूरा गर्नुभएको थियो । प्रतियोगितामा पुरुषतर्फ एक घण्टा ३९ मिनेट २३ सेकेन्डमा दौड सकेर सुरज रानामगर द्वितीय र एक घण्टा ४३ मिनेट ५८ सेकेन्डमा सकेर हिमाल टमाटा तृतीय हुनुभयो ।     
     
महिलातर्फ हुमी बुढा मगर द्वितीय र इन्द्रकुमारी तामाङ तृतीय हुनुभयो । बुढाले एक घण्टा ४० मिनेट ११ सेकेन्ड र तामाङले एक घण्टा ५९ मिनेट एक सेकेन्डमा २० किलोमिटर दूरी पार गर्नुभयो । प्रतियोगितामा द्वितीय र तृतीय हुने महिला–पुरूष खेलाडीले क्रमशः रु ३०-३० हजार र रु २०-२० हजार सहित मेडल र प्रमाणपत्र पुरस्कार प्राप्त गर्नुभयो ।     
     
पुरुषतर्फ अनिल विक र महिलातर्फ सोफिया विक पोखरा च्याम्पियन बन्नुभयो । उहाँहरुले जनही रु १०-१० हजार मेडल र प्रमाणपत्र पुरस्कार पाउनुभयो । विजेता र सहभागी खेलाडीलाई गण्डकी प्रदेश सभा सदस्य भीमबहादुर कार्की, पोखरा–१७ का वडाध्यक्ष राधिका शाही योगी, कास्की जिल्ला साइक्लिङ सङ्घका अध्यक्ष शङ्कर भण्डारी लगायतले पुरस्कार वितरण गर्नुभएको थियो ।     
     
पोखरा महानगरपालिका वडा नं १७ र कास्की जिल्ला साइक्लिङ सङ्घको सहआयोजना र नेपाल साइक्लिङ सङ्घको प्राविधिक सहयोगमा भएको प्रतियोगितामा पुरुष, महिला र ‘रन फर फन’ विधामा गरेर एक सय जनाभन्दा बढी खेलाडी सहभागी थिए । पोखरा–१७ पावरहाउसबाट सुरू भएको दौड महतगौँडा–दोबिल्ला झोलुङ्गे पुल हुँदै पोखरा–२१ फेदीपाटन–खर्सयाङ–निर्मलपोखरी–फेदीपाटन–दम्सादी हुँदै पावरहाउस पुगेर टुङ्गिएको थियो ।     
 

प्रकाशित मितिः शनिबार, ०५ जेठ २०८१
https://jawaaf.com/storage/01HY60RN67YWSAGD3DSXRDYJZH.jpg

जनता समाजवादी पार्टीको धरान उपमहानगर समिति गठन

धरान । जनता समाजवादी पार्टी (जसपा) को धरान उपमहानगरपालिका समिति गठन भएको छ । आज धरान १० स्थित यलम्बर स्मृति संग्रहालय मा आयोजना गरेको कार्यक्रमले नगेन्द्र पारघरी लिम्बुको अध्यक्षतामा ६१ सदस्यीय समिति गठन भएको हो । समितिको उपाध्यक्षमा प्रेम शाक्य र प्रेम कुमार राई ,सचिवमा शम्भु पृथक राई, सहसचिवमा लक्ष्मी राई, रणजित राई र कोषाध्यक्षमा केदार राई चयन भएका छन् ।

कार्यक्रम पार्टीको केन्द्रीय उपाध्यक्ष रनध्वज कन्दङवाको प्रमुख अतिथिमा सम्पन्न भएको थियो । प्रदेश कार्यकारिणी सदस्य राम माण्डुपा राई, प्रदेश युवा इन्चार्ज गौरीमान राई, किरात राष्ट्रिय समिति सदस्य बिना पुमा राई, केदार सोनाहाङ लगायतको उपस्थिति रहेको थियो भने कार्यक्रम सञ्चालन यलमहाङ राईले गर्नुभएको थियो । 

नव गठित समितिका अध्यक्ष नगेन्द्र पारघरी लिम्बुले आफ्नो मन्तव्य राख्ने क्रममा कार्यक्रम भव्य र सव्य रूपमा सफल बनाउन सहयोग गर्नुहुने सबै लाई धन्यवाद प्रकट गर्दै समितिमा नव संगठित पदाधिकारी तथा सदस्यहरूलाई पार्टीको अनुशासनमा रहेर जनताको सेवा र पार्टीलाई लोकप्रिय बनाउन लाग्नु पर्छ साथै यस क्षेत्र सुनसरी निर्वाचन १ मा पर्ने भएकोले केन्द्रीय अध्यक्ष माननीय अशोक राईको क्षेत्र पनि भएकोले हामी अनुशासित र जिम्मेवारहुनु पर्ने भनाई राख्नुभयो ।

यसै गरी कार्यक्रमका प्रमुख अतिथि तथा जसपाका केन्द्रीय उपाध्यक्ष रनध्वज कन्दङवाले पार्टी विभाजित हुनुमा वैचारिक–सैद्धान्तिक,सङ्गठनात्मक र पूर्व पार्टी अध्यक्ष उपेन्द्र यादवको कार्यशैली नै मुख्य हो भन्नुभयो । अध्यक्ष यादवले मधेसी जनअधिकार फोरमको उदेश्य र कार्यक्रम नै जनता समाजवादी पार्टी नेपालको हो भन्ने भनाई र सोही प्रकारको कार्यशैली रहेको साथै पार्टीलाई मधेस प्रदेशमा मात्र सीमित राख्नचाहानुभएकोले हामी हिमाल, पहाड तराई मधेस कोईछैन पराई भन्ने विचार राख्नेहरू सो पार्टीमा बस्न नसक्ने भएकोहुदा नयाँ दल दर्ता गर्न बाध्य भएको हो भन्ने भनाई राख्नु भयो ।

यसै गरी नव गठित समितिलाई १ नं. प्रदेश समिति सदस्य राम माण्डुपा राई, किरात राष्ट्रिय समिति अध्यक्ष रमेश राई, सदस्य बिना पुमा राईले शुभकामना मन्तव्य राख्नुभएको थियो ।

प्रकाशित मितिः शनिबार, ०५ जेठ २०८१
https://jawaaf.com/storage/01HY5NMS35NR9N3FS2MEQTSWRF.jpg

भोलिसम्म राजनीतिक गत्यावरोधले निकास पाउँछ : प्रधानमन्त्री

काठमाडौँ  I प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पछिल्लो राजनीतिक गत्यावरोध निकासको दिशातर्फ अगाडि बढेको बताउनुभएको छ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)को पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आज आयोजित पुस्तक विमोचन कार्यक्रममा प्रधानमन्त्री दाहालले छलफल र संवादबाट विद्यमान अवरोधले निकास पाउने विश्वास व्यक्त गर्नुभयो ।     
      
 “प्रमुख प्रतिपक्षी दल र सत्तासमीकरणका साझेदार प्रमुख दलबीच निरन्तर छलफल र संवाद भइरहेको छ”, प्रधानमन्त्री दाहालले भन्नुभयो, “भोलिसम्म सदनको अवरोध हट्नेछ ।”     
      

यही जेठ ७ गते आफूले विश्वासको मत लिने तयारी गरेको जानकारी दिँदै प्रधानमन्त्रीले संसद्बाट विश्वास प्राप्त हुनेमा आफू विश्वस्त रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “विश्वासको मत प्राप्त हुनेमा कुनै दुविधा छैन ।”     
      
सदनमा प्रस्तुत भएको नीति तथा कार्यक्रमलाई कार्यान्वयन गर्नेगरी बजेट निर्माण भइरहेको जानकारी दिँदै प्रधानमन्त्रीले आगामी बजेटमार्फत जनताका आकाङ्क्षा सम्बोधन गरिने बताउनुभएको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ ।     
      
“सरकारको ध्यान यस वर्षको नीति तथा कार्यक्रमलाई पारित गर्ने र संविधानले व्यवस्था गरेअनुसारको बजेट बनाउनेमा छ”, प्रधानमन्त्रीले भन्नुभयो, “बजेटमार्फत नीति तथा कार्यक्रमलाई सहीरुपमा सम्बोधन गर्नुपर्नेछ ।     
      
एकीकृतरुपमा कम्युनिष्ट आन्दोलनलाई अगाडि बढाउनुपर्नेमा जोड दिँदै प्रधानमन्त्रीले नेपालको लोकतन्त्र सुदृढीकरणका लागि पनि कम्युनिष्टहरू एकीकृत हुनुपर्ने बताउनुभयो । “समाजवादी क्रान्तिलाई अगाडि बढाउन कम्युनिष्ट विचारका सबै एक ठाउँमा आउनुपर्छ, त्यसका लागि सकारात्मक वातावरण बनेको छ”, प्रधानमन्त्री दाहालले भन्नुभयो, “कम्युनिष्ट आन्दोलनका दस्तावेजलाई एकीकृत गर्नुपर्ने अवस्था आएको छ । लोकतन्त्र सुदृढीकरण र जनताका आकाङ्क्षा पूरा गर्न सबै एकजुट हुनुपर्छ ।”     
      
प्रधानमन्त्री दाहालले नेकपा(माओवादी केन्द्र) कर्णाली प्रदेश समितिद्वारा प्रकाशित ‘नेपाली कम्युनिष्ट आन्दोलन र जनक्रान्तिका ऐतिहासिक दस्तावेजहरू ग्रन्थ–२’, आस्था केसीद्वारा लिखित ‘जनयुद्धका चिठी’ र ‘कालीकोट’ स्मारिका विमोचन गर्नुभएको हो ।     

प्रकाशित मितिः शनिबार, ०५ जेठ २०८१
https://jawaaf.com/storage/01HY5NAZWT0VQCDFRFV4NTFWVC.jpg

सन्तानब्बे वर्षीया वृद्धाको स्तन क्यान्सरको सफल शल्यक्रिया

भरतपुर I चितवनमा ९७ वर्षीया वृद्धाको स्तन क्यान्सरको सफल शल्यक्रिया गरिएको छ । म्याग्दी स्थायी घर भई हाल चितवनको वीरेन्द्रनगर बस्दै आउनुभएकी तमिसरा पुन मगरको भरतपुरस्थित नारायणी सामुदायिक अस्पतालले सफल शल्यक्रिया गरेको हो । शुक्रबार बिहान डा भक्तमान श्रेष्ठ नेतृत्वको चिकित्सकको टोलीले सफल शल्यक्रिया गरेको अस्पतालले जनाएको छ । 

वृद्धावस्थाको यो उमेर समूहमा स्तन क्यान्सरको शल्यक्रिया पहिलोपटक गरिएको डा श्रेष्ठले बताउनुभयो । उहाँले भन्नुभयो, “९७ वर्षका वृद्धालाई शल्यक्रिया गरिएको चितवनमा पहिलोपटक हो, मेरो जानकारीमा भएसम्म नेपालमै पहिलो हुनुपर्दछ ।” सामान्यतया ७० वर्ष उमेर नाघेपछि शल्यक्रिया गर्न उच्च जोखिम मानिन्छ । ८० वर्षभन्दा माथिको उमेर समूहका व्यक्तिलाई शल्यक्रिया गर्नु चरम जोखिम मानिन्छ । 

डा श्रेष्ठ वरिष्ठ क्यान्सर सर्जन हुनुहुन्छ । उहाँले २०५० सालदेखि शल्यक्रिया गर्दै आउनुभएको छ । यसअघि ८३ वर्ष उमेर समूहको मानिसको शल्यक्रिया गरेको उहाँको अनुभव छ  । डा श्रेष्ठको नेतृत्वको चिकित्सक र स्वास्थ्यकर्मीको टोलीले करिब एक घण्टा पाँच मिनेट लगाएर शल्यक्रिया गरेको थियो । उपचारमा डा सुरेश गौतम, डा इन्द्रनारायण श्रेष्ठ, डा रवीन्द्र केसी, डा सागर भुसाल, डा सुधीर रेग्मी, डा मणिप्रसाद गौतम, डा किशोर गौतम र नर्सहरु निरु आलेमगर, मुना श्रेष्ठ, शिल्पा पोखरेललगायतको संलग्नता रहेको थियो । अहिले वृद्धाको अवस्था सुधारोन्मुख रहेको श्रेष्ठले बताउनुभयो । “जोखिम लिएर शल्यक्रिया गरेका थियौँ, बेहोस बनाउने चिकित्सकहरु पनि डर मानिरहनुभएको थियो, हामीलाई उहाँहरुले शल्यक्रिया गर्न डेढ घण्टाको समय दिनुभएको थियो, त्यसमा हामी सफल भयौँ,” उहाँले भन्नुभयो, “शल्यक्रिया गरेको पाँच मिनेटमै होसमा आउनुभयो ।” 

तमिसराको स्तनमा गिर्खा देखिएपछि उपचारका लागि अस्पताल आउनुभएको थियो । परीक्षणका क्रममा क्यान्सर पुष्टि भएपछि परिवारको सल्लाहमा शल्यक्रिया गरिएको डा श्रेष्ठले बताउनुभयो । वृद्धाको स्तनमा दुई दशमलब पाँच सेन्टिमिटरको गिर्खा थियो । 

“अहिले सिटिस्क्यानको रिपोर्टअनुसार उहाँ क्यान्सरमुक्त हुनुहुन्छ, इमियुनो हिस्टो केमेष्ट्री (आइएचसी) परीक्षणका लागि नमूना भारत पठाएका छौँ”, उहाँले भन्नुभयो, “उहाँले ९७  वर्षको उमेर समूहमा भएको सफल शल्यक्रियाले आफूलाई खुसी र उत्साहित बनाएको अनुभव सुनाउनुभयो ।”  

प्रकाशित मितिः शनिबार, ०५ जेठ २०८१
https://jawaaf.com/storage/01HY4YEA0C0QEXYQXZGC4N3AXM.jpg

चार एसएसपीलाई डिआइजीमा बढुवा सिफारिस

काठमाडौँ  I नेपाल प्रहरीका चार प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)लाई प्रहरी नायब महानिरीक्षक (डिआइजी)मा बढुवाका लागि सिफारिस गरिएको छ । गृह मन्त्रालयको बढुवा समितिको शुक्रबार बसेको बैठकले चार एसएसपीलाई डिआइजीमा बढुवा गर्न सिफारिस गरेको हो । प्रहरी नियमावली २०७१ (संशोधनसहित) को नियम २७ को उपनियम (४) अनुसार बढुवाका लागि सिफारिस गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । डिआइजी बढुवा सिफारिसमा पर्नेमा कृष्णहरि शर्मा, दानबहादुर कार्की, डा मनोजकुमार केसी र राजन अधिकारी हुनुहुन्छ । 

प्रकाशित मितिः शनिबार, ०५ जेठ २०८१
https://jawaaf.com/storage/01HY4KVV4TPYMA7HVY125STNE9.jpg

बेनीका विद्यार्थीलाई पढाइसँगै सीप

म्याग्दी I म्याग्दीको बेनी नगरपालिकाले विद्यार्थीहरुलाई पढाइसँगै सीप सिकाउन ‘हामी सक्छाँै, हामी गर्छौं’ कार्यक्रम सञ्चालन गरेको छ । 

माध्यमिक तहमा अध्ययन गर्ने विद्यार्थीहरुलाई विद्यालयमै सीप सिकाउन थालिएको हो । नगर प्रमुख सुरत केसीले विद्यार्थी र शिक्षालाई सीप र श्रमसँग जोड्न कार्यक्रम सञ्चालन गरिएको जानकारी दिनुभयो । 

“माध्यमिक तहको शिक्षा हासिल गरेका विद्यार्थीले आफ्नो रुचिअनुसारको व्यवसाय गरी आयआर्जन र आफ्नो घर, टोल छिमेकमा आवश्यक पर्ने काम गर्न सक्ने बनाउने लक्ष्य छ”, उहाँले भन्नुभयो, “गत वर्ष वडाको एक वटा विद्यालयमा सञ्चालन गरिएको कार्यक्रम प्रभावकारी बनेपछि यस वर्ष सबै सामुदायिक माविमा लागू गरेका छाँै ।”

हाउस वायरिङ, पलम्बिङ, कपाल काट्ने, अतिथि संस्कार, खाना पकाउने, प्रेसर कुकर बनाउनेलगायतका सीपमूलक तालिम सञ्चालन गर्न नगरपालिकाले १६ वटा विद्यालयलाई चालु आर्थिक वर्षमा रु एक-एक लाखका दरले बजेट उपलब्ध गराएको छ । 

कक्षा ८ देखि १२ सम्म अध्ययन गर्ने विद्यार्थीहरुलाई लक्षित गरेर सीपमूलक तालिम सञ्चालन गरिएको बेनी नगरपालिकाको शिक्षा शाखाका उपसचिव हेमचन्द्र पौडेलले जानकारी दिनुभयो । बिहान बेलुकी विद्यार्थीको अनुकूल समयमा आलोपालो गरेर तालिममा सहभागि हुने व्यवस्था मिलाइएको छ । 

बेनी नगरपालिकाको १६ वटा सामुदायिक विद्यालयका दुई हजार जनाभन्दा बढी विद्यार्थीहरु सीपमूलक तालिममा सहभागी हुने अपेक्षा गरिएको छ । विद्यालयमा प्रारम्भिक चरणको सीप सिकेका विद्यार्थीलाई अन्य तालिममार्फत क्षमता विकास गरिने नगर उपप्रमुख ज्योती लामिछानेले बताउनुभयो । 

दक्ष, सीपयुक्त जनशक्ति उत्पादन गरेर रोजगारी सिर्जना, स्वरोजगार बन्ने वातावरण बनाउने कार्यक्रम सहयोगी बन्ने नगर उपप्रमुख लामिछानेले बताउनुभयो । म्याग्दीमा पलम्बिङ, वायरिङ, कपाल काट्ने काम गर्ने स्थानीय जनशक्तिको अभाव छ । 

प्रकाशित मितिः शनिबार, ०५ जेठ २०८१
https://jawaaf.com/storage/01HY3JAWSWKD9NK638ZZYHKCBZ.jpg

लागुऔषधको कुलतबाट विद्यार्थी जोगाउन अभियान

झापा I लागुऔषधको कुलतबाट विद्यार्थीलाई जोगाउन झापामा विद्यालय लक्षित सचेतनामूलक अभियान तीव्र बनाइएको छ । स्थानीय सरकार, प्रहरी र समुदाय अभियानमा सक्रिय भएका छन् ।

शिवसताक्षी नगरपालिकाले पालिकाभित्रका सबै विद्यालयमा लागुऔषधको कुलत नियन्त्रणसम्बन्धी अभिमुखीकरण कार्यक्रम पुर्याउन अभियान सुरु गरेको नगरप्रमुख मेगाहाङ थोप्राले बताउनुभयो । नेपाल स्काउटको नगर समितिसँग सहकार्यमा नगरपालिकाले भगवती माध्यमिक विद्यालयबाट अभियान सुरु गरेको छ । आगामी एक महिनाभित्र नगरभित्रका २२ वटा माध्यमिक तहका विद्यालयका एक हजार विद्यार्थीमाझ अभियान पुर्याउने नगरपालिकाको योजना छ ।

“लागुऔषधको डढेलोले परिवार, गाउँ र समाज सखाप हुँदै गएको छ”, नगरप्रमुख थोप्राले अभियानबारे जानकारी दिँदै भन्नुभयो, “अहिले जसरी दुव्र्यसन फैलिँदै आएको छ, यसको जडबाटै निराकरण गर्ने हो भने विद्यार्थीलाई सचेत गराउनुपर्छ भन्ने निष्कर्षमा पुगेर यो अभियान सुरु गरिएको हो ।”

नेपाल स्काउटको शिवसताक्षी नगर समितिका संयोजक डिगम पराजुलीले गाँजा, चरेस र मदिराको दुव्र्यसनमा फँसेका विद्यार्थीलाई मुक्त बनाउन र यसको नकारात्मक असरबारे जागरण ल्याउन अभियानमा स्काउट कार्यकर्ता सक्रिय रहेको बताउनुभयो । 

मेचीनगरको वडा नं १, २, ३ र ४ मा बाहुनडाँगी जेसिजले विद्यार्थी लक्षित लागुपदार्थको दुव्र्यसन रोकथाम अभियान सञ्चालन गरिरहेको छ । ‘बाहुनडाँगी जेसिजको अभियानः लागुऔषधरहित समाजको पहिचान’ नामक एक साताव्यापी अभियानलाई १५ वटा विद्यालयका सात सय विद्यार्थीमाझ पुर्याउने लक्ष्य लिइएको जेसिजका अध्यक्ष देबु बानियाँले बताउनुभयो ।

“लागुऔषधका कारोबारीहरूले विद्यार्थीलाई उपभोक्ता बनाएका कारण समाजमा भयावह अवस्था सिर्जना भइरहेको छ”, बाहुनडाँगी जेसिजका अध्यक्ष बानियाँले अभियानको औचित्य प्रष्ट्याउँदै भन्नुभयो, “यसको नियन्त्रण गर्न विद्यार्थीमाझ नै जानुपर्छ भनेर जेसिजले आफ्नै स्रोतसाधनले अभियान चलाएको हो ।” 

लागुऔषध नियन्त्रण ब्यूरो काँकडभिट्टा शाखाका प्रहरी नायब निरीक्षक कुमार लामिछानेले पछिल्लो समय खुला सिमानाको फाइदा उठाउँदै लागुऔषधको ओसारपसारमा वृद्धि भएको जनाउँदै यसलाई न्यूनीकरण गर्न विद्यार्थीहरुले भूमिका निर्वाह गर्नुपर्ने बताउनुभएको छ ।

नेपाल प्रहरीले पनि समुदायसँगको साझेदारीमा लागुऔषधविरुद्ध चेतनामूलक कार्यक्रम गरिरहेको जनाएको छ । ब्यूरोले मेचीनगरका विभिन्न विद्यालयमा गएर लागुऔषधको दुव्र्यसनबाट जोगिन विद्यार्थीलाई आग्रह गर्दै आएको लामिछानेले बताउनुभयो ।

नारी सञ्चारगृह झापाले भद्रपुर नगरपालिकासँगको सहकार्यमा लागुऔषधविरुद्ध अभियान सञ्चालन गरेको छ । लागुऔषधको दुव्र्यसन समाजको विकराल समस्या भएको हुँदा यसको न्यूनीकरणमा सञ्चारकर्मीले समेत भूमिका निर्वाह गर्नुपर्छ भनेर गृहले स्थानीय समुदायलाई समेटेर अभियान सञ्चालन गरेको गृहकी अध्यक्ष रेजिना गौतमले बताउनुभयो ।

बर्सेनि बढ्दै कारोवारी र प्रयोगकर्ता

जिल्ला प्रहरी कार्यालय झापाका अनुसार चालु आर्थिक वर्ष २०८०-८१ को दश महिनामा जिल्लामा दुई सय ४० वटा लागुऔषध कारोबारसँग सम्बन्धित मुद्दा दर्ता भएका छन् भने तीन सय ७२ जना अभियुक्त पक्राउ परेका छन् ।

झापामा प्रत्येक वर्ष लागुऔषधका कारोबारी र प्रयोगकर्ता बढिरहेका छन् । आर्थिक वर्ष २०७६-७७ मा झापामा एक सय ९० जना लागुऔषधका कारोबारी तथा प्रयोगकर्ता पक्राउ परेका थिए भने आव २०७७-७८ मा यो सङ्ख्या बढेर तीनसय ११ पुगेको थियो ।
 
जिल्ला प्रहरी कार्यालय झापाकी प्रहरी निरीक्षक यशोदा घलेका अनुसार आव २०७८÷७९ मा लागुऔषधका कारोबारी र प्रयोगकर्ता तीन सय नौजना पक्राउ परेका थिए भने दुई सयजनाविरुद्ध मुद्दा दर्ता गरिएको थियो । यसैगरी आव २०७९-८० मा तीन सय ३६ जना पक्राउ गरिएको थियो भने दुई सय छवटा मुद्दा दर्ता भएका थिए । 

कारोबारीहरूले सीमा नदीमा पौडी खेल्ने, गाईवस्तु चराउने र घुम्न जाने बहानामा लुकाइछिपाई लागुऔषध भित्र्याउने गरेको पाइएको छ । पछिल्लो समय प्रहरीले काँकडभिट्टा नाकामा निगरानीका लागि तालिमप्राप्त कुकुरको समेत प्रयोग गर्दै आएको छ ।

प्रकाशित मितिः शुक्रबार, ०४ जेठ २०८१