कृषि मजदुरका समस्या समाधानका लागि आग्रह
१९ वैशाख, जनकपुर I दासप्रथाको अवशेषका रूपमा रहेका हरवाचरवा लगायत प्रथा अन्त्य र कृषि मजदुरका समस्या समाधानका लागि यस क्षेत्रमा क्रियाशील संस्थाहरूले सरकारसँग आग्रह गरेका छन् ।
अन्तर्राष्ट्रिय श्रमिक दिवसका अवसरमा आज संयुक्त प्रेस विज्ञप्ति जारी गरी राष्ट्रिय हरवाचरवा अधिकार मञ्च र राष्ट्रिय दलित नेटवर्क नेपाल (आरडिएन) ले सबै प्रकारका श्रम शोषणको अन्त्य गर्दै मुक्त हरवाचरवा, कम्लहरी, हलिया तथा कमैयाको पूर्ण पुनर्स्थापनाका लागि सङ्कल्प गर्न सरकारलाई आग्रह गरेका हुन् । “नेपालको संविधानको धारा २४ (छुवाछूतविरुद्धको हक), २९ (शोषणविरुद्धको हक) र ४० (दलित हक) विपरित अहिले पनि पश्चिम नेपालका मुक्त कमैया, कम्लहरी तथा हलियाहरूको पुनर्स्थापनाका काम अझै पूरा हुनसकेका छैनन । त्यसैले सरकारले गठन गरेको मुक्त कमैया, कम्लहरी, हलिया तथा हरवाचरवा अध्ययन समितिको प्रतिवेदन कार्यान्वयन गर्न र पुनर्स्थापना सम्बन्धी कार्यविधि पारित गरी तत्काल पुनर्स्थापनाका बाँकी काम अगाडि बढाउन आग्रह गर्दछौँ”, विज्ञप्तिमा उल्लेख छ ।
त्यस्तै, मधेश प्रदेशका आठ जिल्लामा विद्यमान हरवाचरवा प्रथा मुक्तिको घोषणा गरिए पनि पुनर्स्थापनाका लागि प्रारम्भिक काम समेत अगाडि बढ्न नसकेकामा सरोकारवालाहरूको ध्यानाकर्षण गराइएको छ । “कृषि तथा सेवा लगायत श्रमका विभिन्न क्षेत्रमा श्रम र सीप लगानी गरी मधेश प्रदेशको समृद्धिमा योगदान गरिरहेका एक लाख भन्दा बढी हरवाचरवा परिवारको तथ्याङ्क सङ्कलन, प्रमाणीकरण तथा वैज्ञानिक वर्गीकरण सहित पुनर्स्थापनाका काम अघि बढाउन माग गर्दछौँ । कृषि मजदुरको अवस्था बदल्नका लागि मर्यादित श्रम, उचित पारिश्रमिक एवं सामाजिक सुरक्षा लगायतका श्रमिक अधिकारलाई सुनिश्चित गर्नेतर्फ अग्रसर हुन श्रमिक दिवसले सबैलाई प्रेरणा प्रदान गरोस्”, अधिकार मञ्चका अध्यक्ष दशनलाल मण्डल र आरडिएनका अध्यक्ष मोहन ओडद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ ।
सूर्यविनायकमा लागेको आगो नियन्त्रणमा आएको छ
१९ वैशाख, भक्तपुर I भक्तपुरको सूर्यविनायक स्थित जङ्गलमा लागेको आगो चार दिन पछि नियन्त्रणमा आएको छ । सूर्यविनायक नगरपालिकाका प्रवक्ता एवं सूर्यविनायक‐७ गुण्डुका वडाध्यक्ष रविन्द्र सापकोटाका अनुसार ललितपुरको पाइलटबाबा आश्रम नजिकबाट जङ्गलमा फैलिएको आगो सूर्यविनायक–८ सिपाडोल सम्म फैलिएको थियो । चार दिनको प्रयास पछि आगो नियन्त्रणमा आएको उहाँले जानकारी दिनुभयो ।
भक्तपुरका प्रमुख जिल्ला अधिकारी रोशनीकुमारी श्रेष्ठले भक्तपुरको जुद्ध बारुण यन्त्र, काठमाडौँ र ललितपुरबाट मगाएको दमकल, नेपाली सेना, सशस्त्र प्रहरी बल, नेपाल प्रहरी, स्थानीयवासी, जनप्रतिनिधि लगायतको प्रयासका कारण आगो नियन्त्रणमा आएको बताउनुभयो । उहाँले भन्नुभयो– “आज बिहान सम्म कहिँ कतै धुँवा देखिएको छैन, तर पनि सचेत हुनुपर्छ ।” आगलागीबाट भएको क्षतिको विवरण जिल्ला वन कार्यालयले सङ्कलन सुरु गरेको प्रजिअ श्रेष्ठले जानकारी दिनुभयो ।
सूर्यविनायक नगरपालिकाका प्रवक्ता सापकोटाले सूर्यविनायक जङ्गलमा लागेको आगोका कारण जङ्गली जनावर मरेको बताउनुभयो । धुँवाले गाउँ टोलमा तुवालो लागे जस्तै भएको उहाँले बताउनुभयो । आगो फैलिन सक्ने अवस्थालाई ध्यानमा राख्दै दमकल तयारी अवस्थामा राखिएको उहाँले बताउनुभयो ।
हेटौँडा उपमहानगरपालिकाद्वारा स्थानीय पाठ्यक्रम ‘हाम्रो हेटौँडा’ लागू
१९ वैशाख, बागमती I हेटौँडा उपमहानगरपालिकाले चालु शैक्षिकसत्र देखि सामुदायिक तथा संस्थागत सबै विद्यालयको कक्षा ८ सम्म स्थानीय पाठ्यक्रम ‘हाम्रो हेटौँडा’ लागू गरेको छ ।
उपमहानगरपालिकाको सम्पन्न ४३औँ कार्यपालिका बैठकले चालु शैक्षिकसत्र देखि उपमहानगर क्षेत्र भित्रका सबै सामुदायिक तथा संस्थागत विद्यालयको कक्षा ८ सम्म स्थानीय पाठ्यक्रम ‘हाम्रो हेटौँडा’ लागूगरी अनुगमन गर्ने निर्णय गरेको हो ।
कार्यपालिका बैठकले हेटौँडा–६ कान्तिराजपथ स्थित सडक क्षेत्रमा निर्माण गरिएका घर, टहरा लगायतका भौतिक संरचना हटाई सडकको क्षेत्राधिकार कायम गर्ने निर्णय गरेको उपमहानगरपालिकाका प्रवक्ता सविन न्यौपानेले जानकारी दिनुभयो ।
यस्तै कार्यपालिका बैठकले उपमहानगरपालिकालाई आवश्यक पर्ने चारवटा कार्यविधि तथा निर्देशिका स्वीकृत गर्ने निर्णय भएको प्रवक्ता न्यौपानेले बताउनुभयो ।
उहाँका अनुसार बैठकले हेटौँडा उपमहानगरपालिका पूर्वनिर्मित भवन अभिलेखीकरण तथा नियमित कार्यविधि २०८१, हेटौँडा उपमहानगरपालिका तयारी कक्षा एवं भाषा शिक्षण सम्बन्धी निर्देशिका २०८१, सामुदायिक विद्यालय दरबन्दी मिलान तथा प्राधानाध्यापक व्यवस्थापन कार्यविधि, २०८१ र उपमहानगरपालिका वृति मार्गनिर्देशन सेवा सञ्चालन सम्बन्धी कार्यविधि, २०८१ स्वीकृत गरेको छ ।
त्यस्तै कार्यपालिका बैठकले उपमहानगरपालिकालाई आवश्यक रहेको चार कानुन तर्जुमा र संशोधन गर्न सैद्धान्तिक सहमति दिएको छ । उपमहानगरपालिका उद्योग व्यवसाय दर्ता सम्बन्धी ऐन, सार्वजनिक सम्पत्ति व्यवस्थापन तथा सञ्चालन सम्बन्धी कार्यविधि, उद्यमी समूह गठन, व्यवस्थापन तथा सञ्चालन अनुदान कार्यविधि, २०८० को पहिलो संशोधन र कृषि तथा पशुपालन अनुदान वितरण कार्यविधि, २०७९ को पहिलो संशोधन गर्न सैद्धान्तिक सहमति दिने निर्णय गरेको प्रवक्ता न्यौपानेले बताउनुभयो ।
हुम्ला बृहत् स्वास्थ्य शिविरमा, एक हजार आठ सयभन्दा बढीले लिए सेवा
१९ वैशाख, सिमकोट (हुम्ला) I हुम्लाको मध्यभागमा रहेको सर्केगाड गाउँपालिकाको सर्केगाडमा बृहत् निःशुल्क स्वास्थ्य शिविर आयोजना गरिएको छ । सो शिविरबाट एक हजार आठ सय २५ जना स्थानीय नागरिक लाभान्वित भएका छन् ।
सोमबार र मङ्गलबार आयोजित सो शिविरमा ठूलो सङ्ख्यामा स्थानीय सहभागी रहेका थिए । काठमाडौँ मेडिकल कलेजका विशेषज्ञ चिकित्सकहरूको टोलीले जिल्लाको सर्केगाड गाउँपालिकामा पुगेर यहाँका स्थानीयलाई निःशुल्क स्वास्थ्य सेवा प्रदान गरेको हो ।
पालिका केन्द्र सर्केगाडमा सञ्चालन भएको सो स्वास्थ्य शिविरमा मुटुरोग, न्यूरो, सर्जरी, पाठेघर, क्यान्सर, दम, हाडजोर्नी, निमोनियालगात सबै प्रकारका रोगको उपचार गरी निःशुल्क औषधि पनि वितरण गरिएको थियो ।
जाँच गरिएका बिरामीमध्ये एक सय ४७ जनामा गम्भीर प्रकृतिको रोग देखिएकाले उनीहरूलाई काठमाडौँ मेडिकल कलेज सिनामङ्गल रेफर गरिएको र ती सबै बिरामीलाई काठमाडौँमा पनि निःशुल्क उपचार गरिने छ ।
सो निःशुल्क स्वास्थ्य शिविरमा सर्केगाड गाउँपालिकाका सायाँ, गोठी, दुल्ली, रिप, उनापानी, राहादेउ, भुवा, कल्लासलगायत गाउँका नागरिकले सेवा पाएका थिए। स्वास्थ्य पहुँचमा नपुगेका र दुर्गम क्षेत्रका नागरिकले गाउँघरमै विशेषज्ञ सहितको सेवा पाउँदा खुसी व्यक्त गरेका छन् ।
हुम्लाका स्थानीयले विशेषज्ञ चिकित्सकहरूको टोलीले आफ्ना गाउँघरमै आएर उपचार सेवा प्रदान गरेकामा धन्यवाद दिँदै आगामी दिनमा पनि यस्तै सहयोगको अपेक्षा गरिएको बताएका थिए ।
सम्भव भएका नागरिकलाई सोही शिविरमै उपचार दिने र गम्भीर रोगको आशङ्का लागेकालाई बाटो खर्च समेत दिई काठमाडौँ बोलाइएको र सिनामङ्गल स्थित काठमाडौँ मेडिकल कलेजमा पनि निःशुल्क उपचार गरिने डा सुनिल शर्माले बताउनुभयो । दुर्गमका नागरिकहरू पैसा अभावमा उपचारको पहुँचबाट बञ्चित हुन नपरोस् भनेर आफ्नो नेतृत्वमा देशका दुर्गम क्षेत्रमा समय–समयमा स्वास्थ्य शिविर सञ्चालन गर्ने गरेको डा शर्माले बताउनुभयो । उहाँले आज मुगु जिल्लामा यस्तै निःशुल्क स्वास्थ्य शिविर सेवा दिने कार्यक्रम रहेको जानकारी दिनुभयो ।
सो चिकित्सक टोलीले यसअघि यही वैशाख १३ गते डोटीको दिपायल र १५ गते बाजुराको तिलिचौरमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको थियो । आज मुगुको गमगढीमा र २१ गते जुम्ला र कालिकोटको सिमानामा पर्ने नाम्मामा स्वास्थ्य शिविर सञ्चालन गर्ने कार्यक्रम रहेको पनि उहाँले जानकारी दिनुभयो ।
रारा क्षेत्रमा रिसोर्ट निर्माणको सम्झौता हुनु सुखद : प्रधानमन्त्री
१९ वैशाख, काठमाडौँ I प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तेस्रो लगानी सम्मेलनका क्रममा रारा होल्डिङ र एक्पर्ट ग्रुप अष्ट्रेलिया बीच मुगुको रारा ताल समीप रिसोर्ट निर्माणको सम्झौता भएकामा खुसी व्यक्त गर्दै पर्यटन प्रवर्द्धनका लागि सरकारको सहयोग रहने बताउनुभएको छ ।
आज बिहान रारा होल्डिङका प्रतिनिधिहरूसँगको कुराकानीमा प्रधानमन्त्रीले सो कुरा बताउनुभएको हो । भेटमा प्रधानमन्त्रीले भन्नुभयो, “राराको मुर्माटपमा रिसोर्ट निर्माणका निम्ति भएको सम्झौता महत्त्वपूर्ण छ । नेपालमा समृद्धिका लागि प्रचुर सम्भावनाका क्षेत्र मध्ये पर्यटन एक महत्त्वपूर्ण क्षेत्र हो । त्यसका निम्ति पर्यटन पूर्वाधारमा राज्यले जोड दिनुपर्दछ । तपाईँहरू निजी क्षेत्र आफैँले यसका निम्ति पहल लिनुभएकामा म खुसी छु । रारामा आन्तरिक र बाह्य पर्यटन प्रवर्द्धनमा महत्त्वपूर्ण योगदान पुग्नेछ ।”
प्रधानमन्त्रीले रारामा पर्यटकको आकर्षणका निम्ति राज्यको तर्फबाट पूर्वाधार विकासमा सहयोग गर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “रिसोर्ट निर्माणका निम्ति राज्यले समेत पूर्वाधार विकासमा भूमिका खेल्नेछ । मुख्यतः त्यहाँ पुग्ने सडक निर्माण, विद्युत् प्रसारण, खानेपानी लगायत क्षेत्रमा सरकारका तर्फबाट सहयोग हुनेछ । यो लगानीले नेपालमा पर्यटक भित्र्याउनमात्र सहयोग पुग्ने छैन, आन्तरिक राजश्वसमेत अभिवृद्धि हुनेछ ।”
भेटमा रारा होल्डिङ प्रालिका अभिषेकविक्रम शाह र एक्पर्ट ग्रुप अष्ट्रेलियाका सञ्जीव शर्माले लगानी सम्मेलनमा भएको सम्झौता बमोजिम निर्धारित समयमा नै काम सम्पन्न गरिने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
सोमबार सम्पन्न तेस्रो लगानी सम्मेलनका क्रममा रारा होल्डिङ र एक्पर्ट ग्रुप अष्ट्रेलियाबीच रु एक अर्ब १० करोडको लागतमा रारा ताल समीप सुविधा सम्पन्न रिसोर्ट निर्माण गर्ने सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको थियो ।
सवारी दुर्घटनामा एक जनाको मृत्यु, एक गम्भीर घाइते
१९ वैशाख, फिक्कल (इलाम) I आज बिहान यहाँ सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा परी मारुती भ्यानका चालक देउमाई नगरपालिका–६ का २५ वर्षीय दिपेश राईको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय इलामका प्रहरी नायब उपरीक्षक प्रकाश जवेगूले बताउनुभयो ।
भ्यानमा सवार इलाम नगरपालिका–५ निवासी २६ वर्षका विश्वास राई गम्भीर घाइते हुनुभएको छ । उहाँलाई उपाचारका लागि झापा पठाइएको प्रहरी नायब उपरीक्षक जवेगूले जानकारी दिनुभयो । झापाबाट इलाम आउँदै गरेको मे१ज ३२६३ नम्बरको भ्यान मेची राजमार्ग अन्तर्गत रोङ गाउँपालिका–४ बाइखोरमा दुर्घटना भएको हो । भ्यान राजगमार्गबाट करिब पाँच सय मिटर तल खसेको प्रहरीले जनाएको छ ।
आज अन्तर्राष्ट्रिय श्रमिक दिवस
१९ वैशाख, काठमाडौँ I आज अन्तर्राष्ट्रिय श्रमिक दिवस ‘इतिहास, उपलब्धि र आगामी बाटो’ नाराका साथ मनाइँदैछ । विश्वभरका श्रमिकले एकापसमा ऐक्यबद्धता प्रकट गर्दै श्रमिक अधिकारको रक्षा र प्रवर्द्धनका लागि सबैलाई जागरुक बनाइराख्ने अवसरका रूपमा यस दिवसलाई लिने गरेका छन् । मर्यादित काम र मुनासिब ज्यालाको अधिकार स्थापनाका लागि हालसम्म भएका आन्दोलन र उपलब्धिलाई यस दिवसले स्मरण गराउँदै मजदुरका पक्षमा लाग्न प्रेरित गर्नेछ ।
नेपालको संविधानले नागरिकको रोजगारीको हक सुनिश्चित गरी प्रत्येक श्रमिकका लागि उचित पारिश्रमिक तथा योगदानमा आधारित सामाजिक सुरक्षाको हकलाई समेत प्रत्याभूत गरेको छ । मजदूर दिवसका अवसरमा संयुक्त ट्रेड युनियन समन्वय कमिटीले आज भृकुटीमण्डपमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को प्रमुख अतिथ्यमा विशेष कार्यक्रम आयोजना गर्दैछ । समारोह अघि नयाँ सडकबाट र्यालीको आयोजना गरिने समितिका महासचिव प्रेमप्रसाद खनालले जानकारी दिनुभयो । सन् १८८१ मे १ मा अमेरिकामा भएको आम हडतालको स्मरणमा दिवसको थालनी भएको हो ।
रोजगारीको प्रलोभनमा गैरकानुनी बाटोबाट नजान दूतावासको आग्रह
१९ वैशाख, काठमाडौँ I इस्लामावाद स्थित नेपाली राजदूतावासले किर्गीस्तानमा आकर्षक रोजगारीको प्रलोभन देखाएर केही समययता धेरै नेपाली ठगिएका तथा त्यहाँ पुगेकाहरू अलपत्र परेका जनाउँदै वैदेशिक रोजगारीका निम्ति कानुनी बाटोमात्र प्रयोग गर्न सम्बद्ध सबैमा अनुरोध गरेको छ ।
दूतावासले ठगीमा परेकामध्ये केहीलाई किर्गीस्तानको बाटो प्रयोग गरी अन्य मुलुकमा पठाउने आश्वासन दिइएको जानकारी प्राप्त भएको बताउँदै अलपत्र परेकामध्ये केहीलाई उद्धार गरी नेपाल फर्काइएको, केही फर्कने क्रममा रहेका तर त्यहाँ नेपाली पुग्ने क्रम नरोकिएकामा चिन्ता व्यक्त गरेको छ ।
दूतावासले मङ्गलबार जारी गरेको सूचनामा भनिएको छ, “नेपालीलाई आकर्षक रोजगारीको प्रलोभन देखाई ठगी गर्ने र अलपत्र पार्ने काममा संलग्नहरूमा केही नेपाली र केही विदेशी समेत रहेका जानकारी प्राप्त भएको छ । यसरी गलत प्रलोभनमा नेपाली नागरिकलाई विदेश पुर्याएर अलपत्र पार्ने गैरकानुनी काममा संलग्न हुने व्यक्ति-समूहले प्रचलित कानुनको सामना गर्नुपर्ने हुन्छ । ठगी गर्ने गिरोहको प्रलोभनमा नफस्न र वैदेशिक रोजगारीमा जानका लागि नेपाल सरकारले व्यवस्था गरेको स्थापित र कानुनी बाटोमात्र प्रयोग गर्नुहुन सम्बन्धित सबैमा हार्दिक अनुरोध छ ।”
तीन दशमलव ५४ प्रतिशत आर्थिक वृद्धिदरको अनुमान
१८ वैशाख, काठमाडौँ : राष्ट्रिय तथ्याङ्क कार्यालयले चालु आर्थिक वर्ष २०८०/८१ मा नेपालले तीन दशमलव ५४ प्रतिशतको आर्थिक वृद्धिदर हासिल गर्ने अनुमान सार्वजनिक गरेको छ । चालु आवको बजेट मार्फत सरकारले छ प्रतिशतको आर्थिक वृद्धि हासिल गर्ने लक्ष्य राखेकोमा लक्ष्यको आधा बराबर मात्रै वृद्धिदर हासिल हुने अनुमान तथ्याङ्क कार्यालयले सार्वजनिक गरेको हो ।
तथ्याङ्क कार्यालयले आज आव २०८०/८१ को वार्षिक राष्ट्रिय लेखा तथ्याङ्क सार्वजनिक गर्दै यस्तो अनुमान सार्वजनिक गरेको हो । “चालु आव २०८०/८१ मा आर्थिक वृद्धिदर आधारभूत मूल्यमा तीन दशमलव ५४ प्रतिशत र उपभोक्ता मूल्यमा तीन दशमलव ८७ प्रतिशत हुने प्रारम्भिक अनुमान गरिएको छ”, कार्यालयद्वारा जारी विज्ञप्तिमा भनिएको छ, “चालु आव २०८०/८१ मा उपभोक्ता मूल्यमा आधारित मुलुकको अर्थतन्त्रको आकार रु ५७ खर्ब चार अर्ब पुग्ने अनुमान छ ।” त्यसैगरी, गत आव २०७९/८० मा नेपालको अर्थतन्त्रको आकार रु ५३ खर्ब ४८ अर्ब बराबर रहेको पनि तथ्याङ्क कार्यालयले जनाएको छ ।
तथ्याङ्क कार्यालयले चालु आवमा कृषि क्षेत्रको वृद्धिदर प्रक्ष्येपण तीन दशमलव ०५ र गैरकृषि क्षेत्रको वृद्धि तीन दशमलव ७५ प्रतिशत रहने अनुमान गरेको छ । त्यसैगरी, प्राथमिक क्षेत्र तीन प्रतिशत, द्वितीय क्षेत्र एक दशमलव दुई प्रतिशत र सेवा क्षेत्र चार र दशमलव पाँच प्रतिशत रहेको छ ।
चालु आवमा प्रतिव्यक्ति कूल गार्हस्थ्य उत्पादन अमेरिकी डलर एक हजार चार सय ३४ हुने प्रारम्भिक अनुमान गरिएको छ भने प्रतिव्यक्ति कूल राष्ट्रिय आय अमेरिकी डलर एक हजार चार सय ४५ रहने अनुमान गरिएको छ । चालु आवमा विभिन्न क्षेत्रको मूल्य अभिवृद्धि वृद्धिदर हेर्दा स्वास्थ्य तथा सामाजिक कार्यतर्फ पाँच दशमलव ५२, शिक्षातर्फ दुई दशमलव ७१, सार्वजनिक प्रशासन तथा रक्षातर्फ चार दशमलव ४९, प्रशासनिक तथा सहयोगी सेवातर्फ चार दशमलव ०४, पेसागत वैज्ञानिक तथा प्राविधिक क्रियाकलापतर्फ चार दशमलव १५ प्रतिशतको वृद्धिदर अनुमान गरिएको छ ।
त्यसैगरी, घरजग्गा कारोबारतर्फ दुई दशमलव ९८, वित्तीय तथा बीमा क्षेत्रतर्फ सात दशमलव ८०, सूचना तथा सञ्चारतर्फ चार दशमलव ९१ प्रतिशत, आवास तथा भोजन सेवातर्फ ८१ दशमलव ८४ प्रतिशत र यातायात तथा भण्डारण सेवातर्फ ११ दशमलव ८९ प्रतिशतको वृद्धि अनुमान गरिएको छ ।
थोक, खुद्रा व्यापार, गाडी तथा मोटरसाइकल मर्मत सेवातर्फ शून्य दशमलव १६, पानी आपूर्ति, ढल व्यवस्थापनलगायत क्षेत्रमा दुई दशमलव ८०, विद्युत् ग्यास तथा वातानुकूलित आपूर्ति सेवातर्फ १७ दशमलव ४४, खानी तथा उत्खननतर्फ दुई दशमलव ३१, कृषि, वन तथा मत्स्यतर्फ तीन दशमलव ०५ प्रतिशत वृद्धि रहने अनुमान गरिएको छ ।
चालु आवमा उद्योग र निर्माण क्षेत्रको मूल्य अभिवृद्धिदर ऋणात्मक रहने अनुमान गरिएको छ । उद्योग क्षेत्र एक दशमलव ६० र निर्माण क्षेत्र दुई दशमलव ०७ ले ऋणात्मक रहने कार्यालयले जनाएको छ । राष्ट्रिय लेखा अनुमान गर्न संयुक्त राष्ट्रसङ्घ, युरोपियन युनियन, विश्व बैंक, अन्तर्राष्ट्रिय मुद्रा कोष, आर्थिक विकास तथा सहयोगका लागि सङ्गठनजस्ता अन्तर्राष्ट्रिय संस्थाद्वारा संयुक्तरुपमा विकास गरेको राष्ट्रिय तथ्याङ्क कार्यालयले राष्ट्रिय लेखा तथ्याङ्क अनुमान गरी प्रकाशन गर्दछ ।
डढेलो निभाउने क्रममा घाइते भएका एकको मृत्यु
१८ वैशाख, पाटन (ललितपुर) I ललितपुरको गोदावरी नगरपालिका–४ बडिखेल स्थित तपेश्वर सामुदायिक वनमा लागेको डढेलो निभाउने क्रममा घाइते भएका एक जनाको मृत्यु भएको छ । आगलागी निभाउने क्रममा घाइते भएका दुईजनालाई कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचारका लागि पठाइएकामा एकजनाको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी परिसर ललितपुरका प्रहरी उपरीक्षक तथा सूचना अधिकारी नरेशराज सुवेदीले जानकारी गराउनुभयो ।
“आगो निभाउने क्रममा घाइते भएका शङ्कर पहरी र रमेश पहरीलाई उपचारका लागि कीर्तिपुर स्थित बर्न अस्पतालमा पठाइएको थियो । घाइते मध्ये शङ्कर पहरीको मृत्यु भएको उहाँले बताउनुभयो । ललितपुरको गोदावरी स्थित लेले जङ्गलमा तीन-चार दिन देखि लागेको डढेलो आनन्द वनमा पनि फैलिएको छ । आनन्द वनमा डढेलो फैलिए सँगै त्यहाँ सञ्चालित कुष्ठरोग अस्पताल जोखिममा परेको छ । आगो अस्पताल नजिकै पुगेपछि त्यहाँका बिरामीलाई अन्यत्र सारिएको छ । ९३ जना बिरामीलाई सुरक्षित ठाउँमा सारिएको सुवेदीको भनाइ छ । यस्तै, डढेलोमा फसेका १५ जनाको पनि उद्धार गरिएको छ ।