मतदाताको शिर झुक्न दिने छैन : सांसद नेम्बाङ
१८ वैशाख, फिक्कल (इलाम) I इलाम क्षेत्र नं २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित सुहाङ नेम्बाङले मतदाताको शिर झुक्ने कुनै पनि काम नगर्ने बताउनुभएको छ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का तर्फबाट नवनिर्वाचित प्रतिनिधिसभा सदस्य नेम्बाङले मतदाताको मतलाई शिरोपर गर्दै काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
मुख्य निर्वाचन अधिकृतको कार्यालयले आज यहाँ आयोजना गरेको प्रमाणपत्र वितरण कार्यक्रममा सांसद नेम्बाङले इलामेली मतदातालाई कुनै प्रकारको सङ्कोचनहुने गरी काम गर्ने प्रतिबद्धता जनाउनुभयो ।
“म मेरो बुबा (सुवासचन्द्र नेम्बाङ) को अपूरो र अधुरो सपना पूरा गर्न राजनीतिमा आएको हुँ, इलामे जनतालाई कुनै सङ्कोच नहुने गरी काम गर्नेछु,” उहाँले भन्नुभयो, “मलाई निर्वाचित गराउनुभएकामा सम्पूर्ण मतदातामा धन्यवाद ज्ञापन गर्दछु ।”
कार्यक्रममा सांसद नेम्बाङलाई मुख्य निर्वाचन अधिकृत केशवप्रसाद घिमिरेले प्रमाणपत्र प्रदान गर्नुभयो । कार्यक्रममा सांसद महेश बस्नेत, कोशी प्रदेशसभा सदस्य रामबहादुर मगर राना, प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादव सहित सुरक्षा निकायका प्रमुखको उपस्थिति थियो ।
जसपाको केन्द्रीय निर्वाचन समिति गठन
१८ वैशाख, काठमाडौँ I जनता समाजवादी पार्टी (जसपा) नेपालले केन्द्रीय निर्वाचन तदर्थ समिति गठन गरेको छ । केन्द्रीय कार्यकारिणी समितिले दिएको अधिकार बमोजिम अधिवक्ता दीपेन्द्र झाको संयोजकत्वमा पाँच सदस्यीय सो समिति गठन गरिएको सो पार्टीका प्रचारप्रसार तथा प्रकाशन विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिनुभयो ।
उहाँका अनुसार सो समितिका सदस्यमा मनोजकुमार बर्मा, भुवनेश्वर चौधरी, आशा राई र देवनारायण यादव चयन हुनुभएको छ । पार्टीले तयार गरेको राष्ट्रिय महाधिवेशन प्रतिनिधि निर्वाचन निर्देशिकाले स्वच्छ, निष्पक्ष तथा पारदर्शी ढङ्गले निर्वाचन गर्न गराउन आवश्यकता अनुसार केन्द्रमा केन्द्रीय निर्वाचन तदर्थ समिति तथा प्रदेशमा प्रदेश निर्वाचन तदर्थ समिति गठन गर्ने व्यवस्था गरेको छ । सोही प्रावधान बमोजिम उक्त समिति गठन गरिएको हो ।
केन्द्रीय निर्वाचन समितिले पार्टीको विधान तथा निर्देशिका अनुसार राष्ट्रिय महाधिवेशनका प्रतिनिधिहरुको निर्वाचन प्रक्रिया अघि बढाउन प्रदेशका निर्वाचन तदर्थ समितिसँग समन्वय गर्ने पनि बस्नेतले जानकारी गराउनुभयो ।
वैदेशिक रोजगारी छाडेर तरकारी खेतीमा रमाउँदै गोविन्द
१८ वैशाख, कञ्चनपुर I वैदेशिक रोजगारी छाडेर शुक्लाफाँटा नगरपालिका – ३ पीपलाडीका गोविन्द दहित तरकारी खेतीमा रमाउँदै आउनुभएको छ । तरकारी खेती गरेर उहाँले मासिक रुपमा रु एक लाख ५० हजार जति आम्दानी गर्दै आउनुभएको छ । बाह्रै महिना दहितले खेतमा मौसमी र बेमौसमी तरकारी खेती गर्दै आउनुभएको छ ।
“दैनिक रु सात हजार जतिको तरकारी बिक्री हुन्छ,” उहाँले भन्नुभयो, “दुई हजार ढुवानी खर्च कटाएर रु पाँच हजार बचत हुन्छ ।” दहितले अफ्नो स्वामित्वको डेढ बिघा जग्गामा तरकारी खेती गर्दै आउनुभएको छ । चैत महिनादेखि वैशाखको हालसम्म उहाँले रु तीन लाखको तरकारी बिक्री गर्नुभएको छ । उहाँले बारीमा लौका, खुर्सानी, फर्सी, तोरिया, तीते करेला, तरभूजा, काँक्रा फलाएका छन् । तरकारीका लागि खेत तयार गर्ने, सिँचाइ, मल, बीउसम्म गरी रु ६० हजार जति लगानी गरिएको दहितले बताउनुभयो । कम्तीमा रु ४० देखि रु एक सय २० प्रतिकिलो थोकमा तरकारी बजारसम्म पु¥याएर बिक्री गरिँदै आएको उहाँको भनाइ छ । “थोरै तरकारी टिपेको दिन नजिकैको झलारी बजारसम्म मोटरसाइकलमा तरकारी पुयाएर बिक्री गछौँ ” उहाँले भन्नुभयो, “बढी तरकारी टिपेको बेला ट्र्याक्टर र अटोमा तरकारी ढुवानी गरी महेन्द्रनगर स्थित तरकारी बजारमा पुयाएर बिक्री गर्छौं ।”
बजारमा अग्र्यानिक तरकारीको माग बढी भएकाले घरमै उत्पादन भएको जैविक मललाई बढी प्रयोगमा ल्याउने गरेको उल्लेख गर्नुहुँदै उहाँले कीराको प्रकोप भएका बेला घरमै बनाइएको जैविक विषादीको प्रयोग गरिँदै आएको बताउनुभयो । उहाँका अनुसार बर्सातका बेला लौका, काँक्रा, फर्सी, चिचिण्डा, तोरिया, घिरौँला र हिउँदमा गोलभेँडा, खुर्सानी, काउली, बन्दा, रामतोरिया, हरियो सागपात, धनियाँ, आलु, प्याजलगायतको तरकारी उत्पादन हुने गरेको छ । तरकारी खेतीबाटै बढी आम्दानी हुने भएकाले अन्नबाली भने दहितले लगाउन छाडेका छन् ।
तरकारी खेतीको कमाईबाट दहितले खेत जोत्नका लागि पावर टिलर, सिँचाइका लागि विद्युतीय मोटर खरिदसँगै पक्की घर निर्माणका लागि जग हाल्ने कार्य गरेका छन् । सरकारी तवरबाट सञ्चालन हुने तरकारी उत्पादनसम्बन्धी तालिम र अनुदानका कार्यक्रममा भने दहितलाई अहिलेसम्म समेटिएको छैन । स्थानीय किसानले गरेको तरकारीखेती लगाउने तौरतरिका सिकेर तरकारी खेतीमा व्यावसायिक रुपमा लागेको उहाँको भनाइ रहेको छ । दुई÷दुईपटक वैदेशिक रोजगारीमा जाँदा लागेको कर्जा तरकारी खेतीको कमाईले तिर्न भ्याएको उहाँ सुनाउनुहुन्छ । “गाउँको समूहबाट रु एक लाख ५० हजार कर्जा लिएर वैदेशिक रोजगारीबाट मनग्य कमाई हुने अभिलाषा बोकेर मलेसिया पुगे दहितले भन्नुभयो, “आकर्षक तलब, ओभरटाइम हुन्छ भनेकाले गतिलो कमाइ हुने ठानेर त्यसतर्फ लागँे, मलेसिया पुगेपछि १८ घण्टा काम गर्दा महिनामा रु २० हजार जति तलब दिइन्थ्यो, एकजनाको जीउ पाल्न कठिन भएपछि दुई वर्ष कटाएर घर फर्केँ ।”
“घर फर्केेको केही महिनापछि पुन: समूहबाटै रु एक लाख थप कर्जा मागेर कतारतर्फ गएँ,” दहितले दुखेको पोख्दै भन्नुभयो, “कतारमा पनि जति सोचेको थिएँ त्यस्तो तलब पाइन, खाना खर्च कटाएर महिनामा रु १० हजार जति बचाउन सकिन्थ्यो, त्यही पैसा घर पठाउँथेँ, वैदेशिक रोजगारीबाट आउने कमाईले घर खर्च र समूहको पैसा तिर्न नपुग्ने भएपछि घर फर्किएँ ।” घर फर्केको केही दिनपछि स्थानीय साथीभाइको सल्लाहमा तरकारी खेती गर्न थालेको उहाँले उल्लेख गर्नुभयो ।
तरकारी खेतीमा श्रीमती, बुबाआमा र आफूले मेहनत गर्न थालेपछि आम्दानी बढेर वैदेशिक रोजगारीमा जाँदा लागेको ऋण चुक्ता गरी बैङ्कमा भविष्यका लागि रकम बचत गर्न सम्भव भएको उहाँले बताउनुभयो । “वैदेशिक रोजगारीमा जाँदा लागेकोजस्तो ऋण छैन, बैङ्कमा रकम बचत छ, परिवारसँग बसेर सुखदुःख साटासाट गरी सहज जीवनयापन गर्न सकिएकामै आत्मसन्तुष्टि छ,” उहाँले भन्नुभयो । विदेशमा गर्ने जस्तो परिश्रम स्वदेशमै गरे सोचेकोभन्दा बढी आम्दानी गर्न सकिने भएकाले विदेश जानुभन्दा स्वदेशमै स्वरोजगार हुन युवालाई उहाँ सन्देश दिनुहुन्छ ।
दुर्घटनाका घाइते भन्छन्- गाडी पार्किङ गर्न खोज्दा पल्टियो
१८ वैशाख, धरान I धरानस्थित विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको शय्यामा भोजपुर आमचोक–१० की सरस्वती राई उपचार गराइरहनुभएको छ । सोमबार पारकुवामा भएको दुर्घटनामा उहाँको खुट्टा र निधारमा चोट लागेको छ । उहाँ भोजपुरबाट धरान फर्कने क्रममा जीपमा सवार हुनुहुन्थ्यो । “गाडीमा समस्या थियो जस्तो लाग्दैन, पारकुवामा चालकले पार्किङ गर्न खोज्दा खै के भयो गाडी पल्टियो”, शय्याबाटै उहाँले सुनाउनुभयो, “पार्किङ गर्न लागेको गाडी एक्कासी पल्टिएर तल खस्यो । हाम्रो होस हवास गुम्यो ।”
हिजो बिहान भोजपुरको आमचोक गाउँपालिका बालङ्खाबाट पारकुवा मैयुङटार आउँदै गरेको बोलेरो जिप पारखुवामा पार्किङ गर्न खोज्दा पौने १० बजे दुर्घटना हुँदा दुई जनाको मृत्यु भइसकेकोछ भने १२ जना घाइते भएका थिए । को २ ज २६१७ नम्बरको जिप सडकबाट करिब ५० मिटर तल खसेको भोजपुर दुङमानास्थित प्रहरी चौकीले जनाएको छ । जिपमा छ महिनाको बच्चासहित जम्मा १४ यात्रु सवार थिए । दुर्घटनामा घाइेत राई जस्तै १२ जनाको सोही अस्पतालमा उपचारका लागि ल्याइएको थियो । जसमध्ये तीन जना डिस्चार्ज भइसक्नुभएको छ भने नौ जनाको उपचार जारी छ ।
सरस्वति जस्तै घाइते भोजपुरको आमचोक गाउँपालिका–१० की सिर्जना राई पनि छोरा र छोरी सहित उपचाररत हुनुहुन्छ । छोरा साइमन राईको खुट्टा भाँच्चिएको छ भने छोरी लिजाको टाउकोमा गहिरो चोट लागेको आकस्मिक कक्षको शय्याबाटै उहाँले सुनाउनुभयो ।
दुर्घटनामा परी आमचोक –३ का सुमन राई गम्भीर घाइते हुनुभएको छ । उहाँ प्रतिष्ठानको आकस्मिक कक्षमै हुनुहुन्छ । उहाँ बोल्न सक्न अवस्थामा हुनुहुन्न । उहाँका आफन्त दिक्पाल राईले दुर्घटनाको कारण थाहा नभएको बताउनुभयो ।
दुर्घटनाको सूचना पाए लगत्तै घटनास्थल पुगेर यात्रुको उद्धारमा लाग्नुभएका भोजपुर आमचोक गाउँपालिकाका उपाध्यक्ष सीता राईले दुर्घटनाले आफूहरुलाई गम्भीर बनाएको बताउनुभयो । “हिजोको घटनाले हामी सबैलाई गम्भीर बनाएको छ, पछिल्लो समय पहाडी क्षेत्रमा सवारी दुर्घटनाको घटना बढ्दै जाँदा स्थानीय सरकारको ध्यानाकर्षण भएको छ”, उहाँले भन्नुभयो ।
उहाँले पहाडी भेगको बाटो मर्मत तथा स्तरोन्नतिका लागि ठूलो बजेट आवश्यक भएकाले सङ्घीय सरकारसँग सहयोगको अपेक्षा गरेका छौँ । उहाँले चार जना घाइतेको अवस्था गम्भीर रहेको र तत्काल आइसीयुको आवश्यकता परेकाले धरान उपमहानगरपालिकाका उपप्रमुख अइन्द्र विक्रम वेघासँग सहयोगको अपिल गरेको बताउनुभयो । उपप्रमुख वेघाले विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पुगी घाइतेहरुको अवस्थाबारे जानकारी लिनुभएको थियो । उहाँले आफूले सक्दो सहयोग गर्ने वचन समेत दिनुभयो ।
धरानबाट भोजपुर पुग्ने सडकको अवस्था राम्रो नहुँदा यात्रुहरुले समय समयमा दुःख पाउने गरेका छन् । कतिपय स्थानमा मोटरेबल पुलको समेत अभाव छ । भोजपुरबासीका लागि दुधकोशीको झोलुङ्गे पुल तरेर फेरि अर्को गाडीमा चढ्नपर्ने बाध्यात्मक अवस्था छ ।
भोजपुरको दक्षिणी क्षेत्रका बासिन्दाका लागि तराईका जिल्लामा आउजाउ गर्ने छोटो दूरीको यो सडक खण्ड सहज छैन । भोजपुरको आमचोक, हतुवागडी देखि, सप्तकोशी नदीपारिको भिरको यो बाटो दूधकोशी किनारको मैयुङटार उदयपुरको मैनामैनी सोमबारे कोठहुँदै सुनसरीको धरान सम्म पुग्छ ।
यसअघि गत चैत्र १ गते भोजपुर मैयुङटार नजिक उदयपुरको वेलका नगरपालिका–७ मैनामैनीमा भोजपुर जाँदै गरेको जिप बाटोबाट करिब चार सय मिटर तल खस्दा चालक सहित दुर्घटनामा आठ जनाको मृत्यु भएको थियो । उक्त दुर्घटनामा घाइते मध्येका केहीको अहिले पनि विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचार भइरहेको छ ।
इतिहास जोगाउन स्थानीय सरकार
धनकुटा जिल्लाको चौबिसे गाउँपालिका (साबिकको कुरुले तेनुपा गाविस) मा एउटा थुम्को छ । त्यस थुम्कोलाई गढी भनिन्छ । त्यस थुम्कोमा अहिले कुरुले तेनुपा माध्यमिक विद्यालयको भवन छ । ऐतिहासिक रुपमा सामरिक र प्रशासनिक दृष्टिकोणले अत्यन्तै ठूलो महत्त्व राख्ने कुनै बेला एउटा गढी थियो यो थुम्कोमा तर अब यस ऐतिहासिक गढीको कुनै पनि भौतिक संरचनाको अवशेष देख्न पाइँदैन । इतिहासको यो गढी अब एकादेशको दन्त्यकथा जस्तै हुन पुगेको छ ।
इतिहासकारहरुले गरेको यो गढीको चर्चा अनुसार यसको महत्त्व प्राचीनकालतिर पुग्छ । इतिहासकारद्वय प्रेमबहादुर मावोहाङ र भूपेन्द्रनाथ ढुङ्गेलले २०११ सालमा छापिएको आफ्नो पुस्तक सङ्क्षिप्त नेपाल इतिहासमा यो गढी यस क्षेत्रमा लिम्बूहरुको बसोबास सुरु भए देखि नै तत्कालीन लिम्बू राजा मावोहाङ रायले निर्माण गरेको उल्लेख गरेका छन् ।
यस्तै, इतिहासकार शिवकुमार श्रेष्ठले २०४२ सालमा प्रकाशित भएको आफ्नो पुस्तकमा यो गढी लिम्बू राजा साइयोकहाङले निर्माण गरेको उल्लेख गरेका छन् । यो गढीका बारेमा पृथ्वीनारायण शाहको पत्रमा पनि उल्लेख छ । १८३१ साउनमा विजयपुरबाट अभिमानसिंह बस्न्यात र पारथ भण्डारीको नेतृत्वमा उत्तर पाँचथर तिर बढेको गोर्खाली सेना यो गढी पुगेको र त्यहाँ बाट अगाडि बढेको पृथ्वीनारायण शाहको पत्रमा उल्लेख छ । सेनकालमा यो गढीबाट महत्त्वपूर्ण प्रशासन चल्थ्यो भन्ने ऐतिहासिक तथ्यको सङ्केत पृथ्वीनारायण शाहको पत्रबाट पनि मिल्छ । पछि सम्म यो गढीका कुरुवाहरुलाई जिम्मेवारी र जागिरहरु दिइएका ऐतिहासिक लालमोहरहरु पाइएका छन् ।
इतिहासको महत्त्व बुझ्न नसक्दा त्यस महत्त्वपूर्ण ऐतिहासिक स्थललाई मासेर विद्यालय भवन निर्माण गरिएको देखिन्छ । अब फेरि सञ्चालनमा आएको विद्यालय भवनलाई भत्काएर गढी भएको यो स्थलको उत्खनन् गर्न सम्भव छैन । त्यसैले यस गढी सम्बन्धी प्राप्त हुनसक्ने ऐतिहासिक पत्रहरु केलाएर गढी सम्बन्धी ऐतिहासिक अभिलेख भने राख्न सकिन्छ ।
धनकुटाको कुरुले गढी मासिए जस्तै नेपालमा यस्ता ऐतिहासिक स्थलहरु कति मासिए होलान् ? अब अन्य कुनै पनि ऐतिहासिक स्थलहरुलाई मासिनबाट जोगाउन सरोकारवाला स्थानीय सरकारले विशेष बुद्धिमत्ता अपनाएर पहलकदमी गर्न जरुरी छ । प्रकृतिले दिएको मात्रै होइन, पुर्खाले छाडी गएको निसानीले वर्तमानको गौरवलाई समृद्ध बनाउँछ । यस्ता गौरवहरु भावी पुुस्तालाई समर्पण गर्न सकिए उनीहरु पनि गौरवान्वित हुनेछन् । पुर्खाको निशानी मास्नु भनेको आफ्नै गौरव र सभ्यतालाई छिन्नभिन्न बनाउनु हो । यस्तो कार्यलाई किमार्थ उचित मान्न सकिन्न ।
शिलालेखहरुको संरक्षण
हाम्रा पुर्खाहरुको समयमा सुधारका लागि जनहितको काम गर्दा चौतारा, हिटी, पोखरी, मन्दिर तथा पाटीपौवा आदि बनाउने चलन थियो । यिनीहरुसँगै शिलालेख राखेर आफ्नो धर्मकीर्तिका बारेमा जानकारी दिने चलन थियो । अहिले पनि यस्ता महत्त्वपूर्ण शिलालेखहरु ठाउँठाउँमा भेटिन्छन् । कतिपय शिलालेखहरु त मासिएर पनि गएका छन् । कतिपय शिलालेखहरु घर वा सडक बनाउँदा प्रयोग भए होलान् ।
स्थानीय सरकारहरुले आफ्नो पालिका क्षेत्रभित्र रहेका सार्वजनिक स्थलका शिलालेखहरुको संरक्षण गर्न पहल गर्नुपर्छ । यस्ता शिलालेख राख्ने व्यक्ति वा परिवारले दर्साएको परोपकारी व्यवहारलाई उचित मूल्याङ्कन गर्नु वर्तमान पुस्ताको दायित्त्व भित्र पर्छ । यस्ता कीर्ति राख्नका लागि अरुलाई पनि उत्प्रेरित गर्न सकिने हुँदा इतिहासका यस्ता प्रमाणहरुलाई नष्ट हुनबाट जोगाउन स्थानीय सरकारहरुले गम्भीरता पूर्वक काम गर्न सक्छन् । भौतिक विकास तथा निर्माण गर्ने नाममा ऐतिहासिक धरोहरहरु सँगै इतिहासको प्रमाण बोल्ने शिलालेखहरु नष्ट हुन सक्नेतर्फ स्थानीय सरकार सावधान हुन जरुरी छ । इतिहासलाई नष्ट पार्ने अधिकार कसैलाई छैन ।
यस्तै, मन्दिरमा चढाइने घण्ट तथा ताम्रपत्रहरुमा पनि अभिलेखहरु लेखिएको पाइन्छ । यिनीहरु पनि इतिहासको प्रमाण बोल्ने साक्षीहरु हुन्, जसलाई संरक्षण गर्न स्थानीय सरकार प्रशस्तै कामहरु गर्न सक्छन् । शिलालेखहरुको संरक्षणको सन्दर्भमा हनुमानढोका दरबार क्षेत्रमा भेटिएको एउटा शिलालेखबारे यहाँ चर्चा गर्न उपयुक्त हुनेछ ।
इतिहासकार गौतमबज्र बज्राचार्यले आजभन्दा ५० वर्षअघि हनुमानढोका दरबार क्षेत्रको अध्ययनका क्रममा एउटा यस्तो शिलालेख फेला पारे, जुन हनुमानढोकाको देगुतले मन्दिरमा पेटी बनाउन प्रयोग गरिएको थियो । यसरी पेटी बनाउन प्रयोग गरिएको कारण शिलालेखको धेरै भाग खण्डित हुन पुगेको छ । अंशुवर्माको समयको यो शिलालेखमा ‘किरात’ भन्ने शब्द परेको छ ।
नेपालका किरातकाल थियो र किराती राजाहरु थिए भन्ने वर्णन गोपालराजवंशावली लगायत अन्य केही वंशावलीमा पाइन्छ तर किरात लेखिएको कुनै अभिलेख भने पाइएको थिएन । लिच्छवीकालमा ‘किरात’ लेखिएको शब्द फेला परेकाले किरातकाल थियो भन्ने प्रमाण जुटाउनका लागि महत्त्वपूर्ण हुने यो शिलालेख माथि इतिहासकार गौतमबज्र बज्राचार्यको पहिलो नजर पर्न गयो । त्यसपछि यो शिलालेखलाई इतिहासकारहरु धनबज्र बज्राचार्य तथा महेशराज पन्तले गम्भीरतापूर्वक अध्ययन गरेको पाइन्छ ।
अहिले यो शिलालेख हनुमानढोका सङ्ग्रहालयमा सुरक्षित राखिएको छ । गौतमबज्र बज्राचार्य जस्तो मर्मज्ञ इतिहासकारको नजर नपरेको भए यो शिलालेखको हालत के हुने थियो होला ? यस्ता ठूला महत्त्वका शिलालेखहरु स्थानीय स्तरमा पनि पाइने हुँदा तिनीहरुको संरक्षण गर्न सके इतिहास संरक्षणमा ठूलो योगदान गर्न सकिन्छ । यसबारे स्थानीय सरकारले हेक्का राख्न जरुरी छ, यस्ता शिलालेखहरु रोडा गिट्टीमा परिणत नहोउन् ।
भौतिकसँगै बौद्धिक विकास
झट्ट हेर्दा भौतिक विकास निर्माण मात्रै स्थानीय सरकारको दायित्त्व भित्र पर्ने काम हो कि जस्तो पनि लाग्छ । नेपालको सबै ठाउँमा सडक, विद्युत्, विद्यालय, खानेपानीजस्ता भौतिक पूर्वाधारहरुको विकास भइनसकेका कारण प्रायः सबैजसो स्थानीय सरकारले भौतिक पूर्वाधारमै जोडबल गरेको देखिन्छ । यसकै लागि स्थानीय सरकारहरुले अधिकतम बजेट छुट्याएर काम गरिरहेका छन् । यो अनावश्यक काम होइन तर भौतिक विकास र निर्माणसँगै पुरातात्विक र ऐतिहासिक धरोहरको संरक्षण र तिनीहरुको अभिलेखीकरणलाई पनि उत्तिकै प्राथमिकताको सूचीमा राखेर स्थानीय सरकारले उचित कदम चाल्न सके यसले उक्त पालिका क्षेत्रको बौद्धिक सौन्दर्य र पहिचानलाई यथोचित रुपमा स्थापित गर्न सक्छ । किनकि ऐतिहासिक धरोहरहरुको संरक्षण र अभिलेखीकरणले इतिहास संरक्षणका लागि वास्तविक सहयोग पुयाउँछ । इतिहास भनेको ज्ञानको स्रोत हो । ज्ञानको स्रोतको संरक्षण बौद्धिक विकासको पर्याय हो । यस प्रकारको पहल कदमीबाट पनि ती पालिकाहरुको बौद्धिक सभ्यता आङ्कलन गर्न सकिन्छ ।
उदाहरणका लागि तेह्रथुम जिल्लाको लालीगुराँस नगरपालिकाको कामलाई लिन सकिन्छ । यस नगरपालिकाले चोत्लुङ पार्क निर्माण गर्दा पार्कभित्र लिम्बू परम्परागत घर निर्माण गरेको छ । यस नगर क्षेत्रमा घुम्न वा काम विशेषले पुग्नेहरु मध्ये सबैजसो यो पार्कमा पुग्छन् । त्यहाँ पुगेर लिम्बू परम्परागत घरलाई पृष्ठभूमिमा राखेर फोटो खिचाउँछन्, कोही सेल्फी खिच्छन् । यसरी यो पार्कले पर्यटकहरुलाई आकर्षण गरिरहेको छ । यो पार्क भित्र रमिता हेर्ने, फोटो खिच्ने र रमाउने साधनहरु मात्रै छैनन्, लिम्बू परम्परागत घरभित्र सिङ्गो सङ्ग्रहालय पनि छ ।
यस सङ्ग्रहालयमा पुराना भौतिक सामग्रीहरु प्रदर्शनमा राखिएका छन् । अझ यो सङ्ग्रहालयको अर्को विशेषता हो, पुराना अभिलेख तथा पुस्तकहरुको सङ्ग्रह । सङ्ग्रहालयभित्र सुरक्षित पुराना कागजपत्रहरु इतिहास अध्येताहरुका लागि ठूलो राहतका साधनहरु हुन् । त्यसैले यो पार्कमा पुग्दा भौतिक मनोरञ्जन मात्र होइन, बौद्धिक मनोरञ्जन पनि प्राप्त गर्न सकिने हुँदा यो पार्कको लक्ष्य प्राज्ञिक पर्यटन प्रवद्र्धन पनि रहेको देखिन्छ, खासगरी इतिहासको क्षेत्रमा ।
यस नगरपालिकाको मेयर अर्जुनबाबु माबुहाङ आफैँ पनि इतिहासकार र लिम्बू मुन्धुमविद् हुन् । उनले आफ्नो ज्ञानको भरमग्दुर प्रयोग यो पार्कमा गरेको देखिन्छ । पहिलेको तुलनामा अहिलेका स्थानीय सरकारहरु धेरै स्वायत्त र अधिकार सम्पन्न छन् । यस्तो अधिकार र स्वायत्ततालाई केबल भौतिक विकास र निर्माणको क्षेत्रमा मात्रै लागू गर्न हुँदैन । विकासको मापन भौतिक उन्नति र परिवर्तनको आधारमा मात्रै गरिनु हुँदैन । अझ भौतिक विकास निर्माणका क्रममा ऐतिहासिक र सांस्कृतिक सम्पदा ध्वस्त हुन पुगेको सन्दर्भ यो लेखको सुरुमै उल्लेख भइसकेको छ । विद्यालय भवन निर्माणको नामका एउटा सिङ्गो ऐतिहासिक गढीलाई मैदान हुनबाट जोगाऔँ । (लेखक इतिहास अध्ययनमा रुचि राख्नुहुन्छ)
महाधिवेशन केन्द्रित बन्यो एकीकृत समाजवादी
१८ वैशाख, काठमाडौँ I नेपाल कम्युनिष्ट पाटी (एकीकृत समाजवादी) ले महाधिवेशनको तयारीलाई तीव्र बनाएको छ । महाधिवेशन मूल व्यवस्थापन कमिटीले अन्य कमिटीलाई जिम्मेवारी प्रदान गरेको छ भने मातहतका सबै कमिटीलाई सदस्यता अभिलेख, कार्य प्रगतिको विवरण केन्द्रमा बुझाउन निर्देशन दिएको हो । सबै कमिटी, विभाग र फाँटलाई आगामी असार ५ गते भित्र महाधिवेशन प्रतिनिधिको फोटो सहितको विवरण पार्टी केन्द्रीय कार्यालयमा पठाउन भनिएको छ ।
पार्टीले मातहतका सबै निकाय, क्षेत्र तथा तहबाट महाधिवेशन प्रतिनिधि छनोट गरी निर्धारित शुल्क सहित प्रतिनिधि छनोटको नामावली समयमा केन्द्रमा बुझाउनुपर्ने छ । पार्टी अन्तर्गत रहेका सबै कमिटीले असार १ गते प्रतिनिधि छनोट गर्ने कार्यतालिका रहेको पार्टी पोलिटब्यूरो सदस्य दिलु पन्तले जानकारी दिनुभयो ।
केन्द्रीय सङ्गठन विभागले नेता तथा कार्यकर्ताको सदस्यता प्रदान र नवीकरणको सबै प्रक्रियाका साथै शुल्क सहितको विवरण केन्द्रले प्रमाणीकरण गर्ने छ । सदस्यता प्रमाणित गरेपछि त्यसको नामावली विवरण यही वैशाख ३० गते सम्ममा सम्बन्धित कमिटीमा पठाइने छ ।
आगामी असार १६ देखि २० गतेसम्म काठमाडौँमा गर्न लागिएको दसौँ राष्ट्रिय महाधिवेशनलाई केन्द्रित गरी यही वैशाख २८ र २९ गते केन्द्रीय कमिटीको बैठक आह्वान गरिएको छ । त्यसले प्रतिनिधिको नामवली लगायत अन्य आवश्यक कार्यसूची अनुमोदन गर्ने छ ।
आगामी जेठ ९ गतेसम्ममा सबै कमिटीमा महाधिवेशनका लागि प्रस्तुत गरिने मस्यौदा दस्तावेज पठाइने छ । सबै कमिटीले मस्यौदा दस्तावेज माथि आफ्नो कार्यक्षेत्रमा रहेका पार्टी सङ्गठित सदस्यहरुलाई आगामी जेठ ३२ गतेसम्म छलफल गराउने तालिका छ ।
आगलागीपीडितको पीडा : सबै जल्यो, के खाने ? कहाँ बस्ने ?
१८ वैशाख, देउखुरी (दाङ) I २०८१ वैशाख १६ गते बिहान करिब १० बजेतिर घरदेखि पश्चिमतरिको जङ्गलमा आगो लागेको थियो । सोही आगो निभाउन भनेर राजपुर गाउँपालिका–७ हाडबासका खिमलाल खत्री जानुभएको थियो । गाउँले सबै त्यहीँ गएको समयमा छिमेकीको एक घरमा आगोले भेट्यो । त्यही आगोले खत्रीको घर पनि भेट्यो । घरभित्र रहेको सबै अन्नपात जलेर छिनभरमै खरानी भयो । छोराले गाडीको हेबी लाइसेन्स बनाउन भनेको थियो त्यो बुझाउनका लागि एक लाख ऋण गरेर ल्याएको पैसा र घरमा भएको २० हजार पैसा थियो त्यो पनि जल्यो । घरमा भएको अन्नपातदेखि सबै सामग्री खरानी भयो ।
यस्तो होला भनेर हामीले सोचेका थिएनाँै अहिले खुल्ला आकाशमा बस्नु परेको छ खत्रीले भन्नुभयो । पाँचबोरा तोरी, मसुरो, चार क्विन्टल आलु थियो, सबै खरानी भयो । घरमा भएको अन्नपात लत्ताकपडा, भाँडाकुँडा केही पनि झिक्न नपाएको उहाँँले सुनाउनुभयो । शरीरका कपडाबाहेक केही बचेको छैन । कुखुराको खोर, गाईगोठ र बस्ने घर सबै जलेर आँखै अगाडि खरानी भयो । त्यही खरानीको थुप्रो हेरेर दिनरात कटाउँदैछौँ उहाँले भन्नुभयो ।
सोही ठाउँकी लक्ष्मी भण्डारीको घर, गोठ, बाख्राको खोर र कुखुराको खोर जलेर खरानी भएको छ । एक्कासि आगो घरमा आयो चारैतिरबाट घेरा हालेको आगोको रापले घर भित्र बस्न सकेनौँ बाहिर निस्कँदा घरभित्रको सामान सबै जल्यो सुत्ने खाट, दराज, टेबल सबै जलेर खरानी भयो भण्डारीले भन्नुभयो, “छवटा बाख्रा र पाँच सय कुखुरा पनि जलेर खरानी भए ।” आगालागीले सबै जलेपछि केही सामग्री आएको छ, तर पकाउनका लागि भाँडा छैन । उहाँका लगाउने चप्पल पनि जलेर खाली खुट्टा हिँड्नु भएको थियो ।
सोही गाउँकी मिनीकुमारी बोहराको पाँचजनाको परिवार पनि खुल्ला आकाशमुनि बसेको छ । घरको अन्नपात, गोठ बाख्राको खोर सबै जल्यो । मान्छे कसरी सुरक्षित हुने भन्ने मात्रै सोच आयो सबै घरबाहिर रुवावासी गर्न थाल्याँै । घर नजिकमा पानी पनि छैन केही पर बग्ने राप्तीमा तल झर्ने बाटो छैन त्यहाँबाट पानी ल्याउन सम्भव भएन । गाउँले सबैको घर छिनभरमै खरानी भयो । घर छेउमा रहेका रूखबिरुवा पनि जलेका छन् ।
वडा नं ७ का अध्यक्ष पुस्कर वली घटनास्थलमै हुनुहुन्थ्यो । घटनाका बारेमा जानकारी प्राप्त हुने बित्तिकै आफू त्यहाँ पुगेको उहाँले बताउनुभयो । स्थानीयवासीको उद्धारका लागि उहाँ लागिपर्नुभएको छ । प्रहरीसँगको सहकार्यमा क्षतिको विवरण सङ्कलन गर्न लाग्नुभएको छ । गाउँसम्म पुग्ने बाटो नहुँदा आगो निभाउन दमकल पुग्न नसकेको उहाँले बताउनुभयो ।
नजिकै राप्ती नदी छ तर त्यहाँबाट पानी ल्याउन भाँडा नभएका कारण आगो नियन्त्रण हुन नसकेको अध्यक्ष वलीले बताउनुभयो । आगलागीबाट २३ घर र एक सय १० जना प्रभावित भएका छन् । आगलागीस्थलमा नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयवासीहरू परिचालन भए पनि पर्याप्त पानीको स्रोत नहुँदा र भौगोलिक कठिनाइका कारण आगो नियन्त्रणमा ल्याउन कठिनाइ भएको उहाँले बताउनुभयो । गाउँको आगो अझै नियन्त्रणमा आउन सकेको छैन । रूखहरु जलेर धुवाँ उडिरहेको छ ।
पानी र बत्तीको समस्या
गर्मी मौसम सुरु भएपछि जङ्गलमा आगो लाग्यो खानेपानीको पाइप सबै जल्यो । त्यसपछि हाडबासका स्थानीयलाई पानीको समस्या भयो । एक घण्टाको दूरीमा रहेको हाटबास खोलामा बालुवा खोस्रेर बनाइएको जरुवाबाट पानी ल्याएर जीविका चलाएको स्थानीय लक्ष्मी भण्डारीले बताउनुभयो । एक घण्टाको उकाली ओराली गरेर ल्याएको पानीले जीविका चलेको छ भण्डारीले भन्नुभयो, “आगलागी भएपछि गाउँमा बिजुलीबत्ती छैन । तीन दिन भयो, बत्ती नभएकाले मोबाइल फोन चार्ज गर्न पनि सकेका छैनौँ । सञ्चारविहीन भएका छौँ ।”
आगलागीपीडितलाई स्वास्थ्य परामर्शमा ध्यान दिन अपिल
दाङको राजपुर गाउँपालिका–७ हाडबास गाउँवासीले आगलागीबाट ठूलो भौतिक क्षति व्यहोर्नु परेको घटनाप्रति नागरिक समाज दाङले दुःख व्यक्त गरेको छ । वैशाख १६ गते नजिकैको सामुदायिक वनबाट बस्तीमा पसेको आगोले हाडबास गाउँका २३ घरगोठ जल्दा दर्जनौँ चौपाया, पक्षी मर्नाका साथै अन्नपात, लत्ताकपडा, भाँडावर्तन जलेर गाउँ नै खरानी भएको घटनाप्रति दुःख व्यक्त गर्दै पीडित गाउँलेको उद्धारपछिको उचित राहत व्यवस्थापनामा ध्यान दिन सबैमा हार्दिक अपिल गरेको छ ।
नागरिक समाज दाङका संयोजक नीमबहादुर थापा र सचिव नारायणप्रसाद श्रेष्ठद्वारा सोमबार जारी विज्ञप्तिमा भनिएको छ । पीडादायी घटनाप्रति मानवीय समवेदना आत्मसात् गरेर उदार मनले सहयोग कार्यमा जुट्न स्थानीय सरकार, सरकारी, गैरसरकारी कार्यालय, सङ्घसंस्था, व्यापार सङ्घ, रेडक्रस, उद्योगी, व्यवसायी एवम् सबै मनकारीमा नागरिक समाज दाङले अनुरोध गरेको छ ।
आगलागीका कारण गाउँवासीको बसाइ व्यवस्थापनसँगै खानपानमा ध्यान दिन तथा खानेपानीको पाइप जलेको हुँदा अर्को व्यवस्था नभएसम्मका लागि सुरक्षित खानेपानीको सहज रुपमा उपलब्ध गराउन आग्रह गरेको छ । आगलागीका कारण गाउँवासीमा विभिन्न प्रकारका स्वास्थ्य समस्या आउने सम्भावना भएको हुँदा स्वास्थ्य उपचारसँगै स्वास्थ्य परामर्शमा ध्यान दिन पनि समाजले अपिल गरेको छ । विपन्न परिवार बसोबास गर्ने घरको खरको छाना विस्थापन गरी टिन लगाउने अभियान अहिले अलपत्र परेको हुँदा यस प्रकारका विपद्बाट क्षति भइरहेकोप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै अविलम्ब खरको छानो विस्थापन अभियान कार्यान्वयन गर्न पनि राज्यका तीन तहका सरकारलाई सचेत गराइएको छ ।
बढ्दो गर्मी अनि हावाहुरीले जताततै आगलागीको जोखिम कायमै रहेको हुँदा जोखिम बस्तीमा सचेतना अभियान व्यापक बनाउन पनि सरोकार सबैमा नागरिक समाज दाङले ध्यानाकर्षण गराएको समाजका सचिव श्रेष्ठले बताउनुभयो । साथै, नागरिक समाजले आगलागीको घटनालगत्तै उद्धारमा अहोरात्र खटिएर सुरक्षा दिनुभएका नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना, स्थानीय सरकार, जनप्रतिनिधि, अमिलियावासी, स्थानीय, पत्रकारलगायत सबैमा आभार प्रकट गरेको छ ।
आगलागीबाट ८७ लाख ७५ हजार बराबरको क्षति
गाउँमा रहेका २८ घरमध्ये २३ घर आगलागीबाट जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक जनकबहादुर मल्लले जानकारी दिनुभयो । आगलागीबाट ८७ लाख ७५ हजार बराबरको क्षतिको प्रारम्भिक अनुमान रहेको प्रवक्ता मल्लले जानकारी दिनुभयो । पीडितलाई राहतस्वरुप घोराहीमा रहेको मानव कल्याण तथा वातावारण संरक्षण केन्द्र र वडा कार्यालयले खाद्यान्नसहित चाउचाउ र बिस्कुट म्याट र त्रिपाल वितरण गरेको थियो ।
डढेलोले उदयपुरमा तीन सय हेक्टर वनमा क्षति
१८ वैशाख,गाईघाट (उदयपुर) I केही दिनदेखि जिल्लाको पूर्वी क्षेत्र चौदण्डीगढी, बेलका र त्रियुगा नगरपालिका क्षेत्रको जङ्गलमा लागेको डढेलोका कारण तीन सय हेक्टर भन्दा बढी जङ्गलका रुखबिरुवामा क्षति भएको छ । डिभिजन वन कार्यालयका अनुसार दशदिन अघि देखि लागेको डढेलोका कारण त्रियुगा चौदण्डीगढी र त्रियुगा नगरपालिका बीच क्षेत्रको फुलजोर देवीस्थान, सरस्वती, बेल्टार सामुदायिक वनमा क्षति भएको हो ।
खडेरीका कारण जङ्गल क्षेत्रमा डढेलो चारैतिर फैलिएकाल साना रुख बिरुवामा क्षति पुगेको डिभिजन वन कार्यालय गाईघाटका सूचना अधिकारी तथा सहायक वन अधिकृत जागेश्वर साहले बताउनुभयो । यसैगरी, जिल्लाको मध्यउत्तरी पहाडी क्षेत्रको लिम्चुङबुङ गाउँपालिका–५ क्षेत्रका जङ्गलमा पनि डढेलो लाग्दा वनमा क्षति भएको छ । डढेलो नियन्त्रणको प्रयास भए पनि हुरीबतासका कारण त्यो पूर्ण रूपमा सफल नभएको डिभिजन वन कार्यालयले जनाएको छ ।
अफगान मस्जिदमा बन्दुक आक्रमणमा छ जनाको मृत्यु
पश्चिमी अफगानिस्तानमा बन्दुकधारीले एक मस्जिदमा आक्रमण गर्दा छ जनाको मृत्यु भएको सरकारका एक प्रवक्ताले मङ्गलबार बताएका छन् । गृह मन्त्रालयलका प्रवक्ता अब्दुल मतिन कानीले सोमबार राति करिब नौ बजे हेरात प्रान्तको गजुरा जिल्लामा ‘एक अज्ञात हतियारधारीले मस्जिदमा नागरिक उपासकहरूमाथि गोली चलाएको’ बताउनुभयो । “छ नागरिक सहिद भए र एक जना घाइते भएका छन्”, मङ्गलबार बिहान उहाँले सामाजिक सञ्जाल एक्समा लेख्नुभयो ।
सरकारी बख्तर समाचार एजेन्सीले आक्रमणमा मर्नेहरूको सङ्ख्या त्यति नै भएको उल्लेख गरेको छ । घटना प्रान्तीय राजधानी हेरात सहरको दक्षिणमा रहेको एक जिल्लामा भएको थियो ।अहिलेसम्म कुनै पनि समूहले आक्रमणको दाबी नगरे पनि विश्लेषकहरूले इस्लामिक स्टेटको क्षेत्रीय अध्याय अफगानिस्तानमा सबैभन्दा ठूलो सुरक्षा खतरा रहेको बताएका छन् ।
विपन्न विद्यार्थीलाई छात्रवृत्ति
१८ वैशाख, फुङ्लिङ (ताप्लेजुङ) I स्थानीय लालीगुराँस सेवा समाजले आर्थिक रूपले विपन्न चार विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्ने भएको छ । आर्थिक अभावमा बीचमै पढाइ छाड्न नपरोस् भनेर छात्रवृत्तिको व्यवस्था गरिएको हो ।
जिल्लाको फक्ताङलुङ गाउँपालिका–२ खेजेनिम गाउँ अवस्थित मेजेनिम माध्यमिक विद्यालयमा अध्ययनरत चार विद्यार्थीलाई छात्रवृत्ति उपलब्ध गराउनेगरी लालीगुराँस सेवा समाज संस्था र विद्यालयबीच सम्झौता भएको विद्यालय व्यवस्थापन समिति अध्यक्ष दिलकुमार पताङवाले बताउनुभयो । पताङवाका अनुसार कक्षा ५ भन्दा मुनिका दुई छात्र र दुई छात्रा गरी चार विद्यार्थीलाई वार्षिक रु तीन हजारका दरले कक्षा १० सम्म छात्रवृत्ति प्रदान गर्ने सम्झौता भएको छ ।
सम्झौताअनुसार छात्रवृत्ति प्राप्त विद्यार्थीले कक्षा छाडेर गएमा विद्यालयको सिफारिसमा अर्का विद्यार्थीलाई प्रदान गरिने छ । उक्त संस्थाले चालु आर्थिक वर्षका लागि आवश्यक रकम विद्यालयलाई उपलब्ध प्रदान गरिसकेको छ । संस्थाले रु दुई लाख बराबरको खेलकुद सामग्री उपलब्ध गराएको विद्यालयले जनाएको छ ।
