माओवादी केन्द्रको एकता राष्ट्रिय सम्मेलन कात्तिक १९ गर्ने निर्णय
काठमाडौं । नेकपा (माओवादी केन्द्र) राष्ट्रिय महाधिवेशन आयोजक समितिको पूर्ण बैठकले नयाँ पार्टीको एकता राष्ट्रिय सम्मेलन यही कात्तिक १९ गते गर्ने निर्णय गरेको छ ।
मंगलबार बसेको बैठकले नयाँ पार्टीको नाम नेपाली कम्युनिस्ट पार्टी रहने र यसको चुनाव चिह्न पाँच कुने तारा हुने निर्णय गरेको नेकपा (माओवादी केन्द्र)का प्रवक्ता अग्नि सापकोटाले जानकारी दिए ।
उनले भने, ‘नयाँ पार्टीको एकता राष्ट्रिय सम्मेलन यही कात्तिक १९ गते हुनेछ । जसमा महाधिवेशनमा सहभागी हुने प्रतिनिधिहरू सबै दलले आपसी सहमति र समझारीमा कायम गर्नेछन्’, उनले भने, ‘नयाँ दलको नाम नेपाली कम्युनिस्ट पार्टी राखिएको छ । यसको चुनाव चिह्न पाँच कुने तारा हुनेछ ।’
सापकोटाले लोकतान्त्रिक गणतन्त्रको रक्षा गर्नुका साथै समाजवादी क्रान्तिको लक्ष्य पूरा गर्न वृहत कम्युनिष्ट आन्दोलनको एकिकरण आजको वस्तुगत आवश्यकता रहेको बताए ।
‘लोकतान्त्रिक गणतन्त्रको रक्षा, राष्ट्रिय स्वाधिनताको रक्षा, सुशासन, सामाजिक न्याय र आर्थिक सामाजिक रुपान्तरण गर्दै समाजवादी क्रान्तिको लक्ष्य पूरा गर्न वृहत कम्युनिष्ट आन्दोलनको एकिकरण आजको वस्तुगत आवश्यकता हो,’उनले भने ।
उनले नयाँ पार्टीको एकता राष्ट्रिय महाधिवेशन ६ महिनाभित्र गरिने पनि जानकारी दिए । ‘केन्द्रीय समिति गठन आपसी सहमतिका आधारमा गठन गरिने छ । केन्द्रीय समितिमा संयोजक र सह–संयोजक पद हुनेछ’, उनले भने, ‘तलैसम्म, टोलैसम्म संयोजक र सहसंयोजकको व्यवस्था गरिएको छ ।’
उनका अनुसार पार्टीको मार्ग निर्देशित सिद्धान्त माक्सवाद, लेलिनवाद हुनेछ । उनले नेपाली क्रान्तिको कार्यक्रम नेपाली विशेषताको वैज्ञानिक समाजवाद हुने बताउँदै भने, ‘पार्टीको तत्कालिन कार्यनीति पुँजीवादी जनवादी क्रान्तिका उपलव्धिहरुको रक्षाका राष्ट्रिय स्वाधिनताको संरक्षण सुशाषन, सामाजिक न्याय, आर्थिक सामाजिक रुपान्तरण गर्दै समाजवादको आधार तयार गरिने छ ।’
नयाँ पार्टीको आन्दोलनको स्वरुप आन्दोलन मुलत शान्तिपूर्ण हुने भन्दै सापकोटाले परिस्थिती अनुसार ससद, सडक र सरकारलगायत आवश्यकता अनुसारका सबै मोर्चाहरु आन्दोलनको मोर्चा हुने बताए ।
राष्ट्रपति पौडेल र राष्ट्र संघका महासचिव गुटेरेसबीच शिष्टाचार भेटवार्ता
कतार (दोहा) । राष्ट्रपति रामचन्द्र पौडेलसँग संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरेसले शिष्टाचार भेटवार्ता गरेका छन् ।
कतारका अमिर शेख तमिम बिन हमद अल थानीको निमन्त्रणामा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै कतारको राजधानी दोहामा मङ्गलबारदेखि शुरु भएको ‘सामाजिक विकासका लागि दोस्रो विश्व शिखर सम्मेलन’मा सहभागी हुन आएका राष्ट्रपति पौडेल र संयुक्त राष्ट्र संघका महासचिव गुटेरेसबीच आज शीष्टाचार भेटवार्ता भएको हो ।
सो अवसरमा राष्ट्रपति पौडेलले कोपनहेगन प्रतिबद्धताहरूलाई कार्यान्वयन गर्न र सामाजिक विकासलाई तीव्रता दिन संयुक्त राष्ट्रसंघका महासचिवले खेल्दै आएको भूमिकाको प्रशंसा गरे । उनले शान्ति, सामाजिक न्याय र दिगो विकासका साझा लक्ष्य प्राप्तिका लागि राष्ट्र संघसँग निकट रही काम गर्न नेपाल तयार रहेको समेत बताए ।
‘गत सेप्टेम्बरमा भएको जेन–जी आन्दोलनपछि नेपालमा नयाँ सरकार गठन भएको छ, यस आन्दोलनले जवाफदेही, उत्तरदायी र भ्रष्टाचारमुक्त शासन व्यवस्थाको माग गरेको छ, युवाहरूको आकांक्षा पूरा गर्न हामी प्रतिबद्ध छौं’, भेटमा राष्ट्रपति पौडेलको भनाई उदृत गर्दै उनका प्रेस सल्लाहकार किरण पोखरेलले भने ।
राष्ट्रपति पौडेलले प्रतिनिधिसभा विघटन भएर आगामी फागुन २१ मा आम निर्वाचनको घोषणा गरिएको तथा स्वतन्त्र र निष्पक्ष निर्वाचन सम्पन्न गर्न नेपाल क्रियाशील रहेको उल्लेख गर्दै यस निर्वाचनले नेपालमा राजनीतिक निकास दिनुका साथै सुशासन, विकास र समृद्धिको मात्रा सुनिश्चित गर्ने विश्वास लिएको बताए ।
‘हामीले जेनजी आन्दोलनबाट मुलुकलाई सुरक्षित अवतरण गराएका छांै, नेपालको संविधान र लोकतन्त्रको रक्षा गरेका छौं, राष्ट्रपति पौडेलले भने ।
कार्बन उत्सर्जन नगण्य रूपमा गरेपनि नेपालले जलवायु परिवर्तनका प्रतिकूल प्रभावहरू असमानुपातिक र गम्भीर रूपमा भोगिरहेको बताउँदै राष्ट्रपति पौडेलले हामी जलवायु परिवर्तनका असरहरूको न्यूनीकरण र अनुकूलनका लागि अन्तर्राष्ट्रिय समुदायको सहयोगको अपेक्षा गरेको बताए ।
‘सगरमाथा आधार शिविरको भ्रमणका क्रममा तपाईंले अवलोकन गर्नुभए जस्तै हाम्रा सेता हिमालहरू काला पहाडमा परिवर्तन भइरहेका छन्, यी हिमालहरू एसियाको पानीको स्रोत पनि हुन्, तर तीव्र गतिमा हिउ पग्लँदै जाँदा समग्र पारिस्थिति प्रणाली र तल्लो तटीय क्षेत्रमा बसोबास गर्ने मानिसहरूको जीविकोपार्जनमा जोखिम सिर्जना भइरहेको छ’, उनले भने ।
गरिबी निवारण, रोजगारी सिर्जना र सामाजिक समावेशिताको सुनिश्चितताजस्ता चुनौती सम्बोधन गर्नुपर्ने खाँचो रहेको भन्दै यो सम्मेलनले सामाजिक विकासप्रतिको विश्वव्यापी प्रतिबद्धतालाई पुनः दोहो¥याउने र दिगो विकास एजेन्डा २०३० को कार्यान्वयनलाई थप गति दिने उहाँले विश्वास व्यक्त गरे ।
राष्ट्रपति पौडेलले सामाजिक विकास, समावेशीकरण र गरिबी निवारण नेपालका प्रमुख प्राथमिकताहरू भएको भन्दै नेपालले गरिबी न्यूनीकरण, मानव विकास, शिक्षा, स्वास्थ्य र सामाजिक सुरक्षाको पहुँचजस्ता क्षेत्रमा उल्लेखनीय प्रगति हासिल गरेको बताए ।
सो अवसरमा संयुक्त राष्ट्र संघका महासचिव गुटेरेसले जलवायु परिवर्तनको मार खेपिरहेका नेपालजस्ता मुलुकहरूका लागि जलवायु अनुकूलनका लागि विकसित देशहरूबाट सहयोग उपलब्ध गराउन राष्ट्र संघ लागिरहेको बताउँदै कार्वन उत्सर्जन घटाउनेतर्फ पनि आफू लागिरहेको जानकारी दिएको प्रेस सल्लाहकार पोखरेलले बताए ।
उनले नेपालले मानव अधिकारका पक्षमा राम्रो गरिरहेको पनि बताए । उनले नेपालको पछिल्लो घटनाका सन्दर्भमा नेपालले आफ्नो समस्या आफैं समाधान गर्न नेपालका संस्थाहरू सक्षम रहेकोमा राष्ट्र संघ पूर्ण विश्वस्त रहेको पनि बताए ।
सप्तरीमा कृषि सडकमा अनियमितता : निर्देशनालय प्रमुखसहित आठ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
सर्लाही । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कृषि विकास निर्देशनालय, नक्टाझिज धनुषाका प्रमुख रत्नकुमार झासहित आठ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
सप्तरीको महादेवा गाउँपालिका– २ स्थित दोमुहान डगर देखि पश्चिम खाँडो नदी हुँदै भीम बाँध सम्म निर्माणाधीन कृषि सडकमा वित्तीय अनियमितता भएको ठहर गर्दै आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको हो ।
मुद्दामा निर्देशनालयका योजना प्रमुख तथा कृषि अर्थविद् विकासकुमार साह, लेखा अधिकृत चक्रप्रसाद अधिकारी, महादेवा–२ का वडाध्यक्ष जगदीश मण्डल, उपभोक्ता समितिका अध्यक्ष हरिनारायण यादव, सचिव गंगाराम यादव, कोषाध्यक्ष सावित्रीदेवी यादव र कन्सल्टेन्ट कम्पनीका प्रोप्राइटर हरिशकुमार सिंह समेतलाई प्रतिवादी बनाइएको आयोगले जनाएको छ ।
आयोगका प्रवक्ता राजेन्द्रकुमार पौडेलका अनुसार ती आठै जनामाथि ६ लाख ९० हजार ६५७ रुपैयाँ बराबरको आर्थिक बिगो कायम गरी विशेष अदालतमा मङ्गलवार मुद्दा दायर गरिएको हो ।
६१ किलो सुन तस्करी प्रकरणमा जीवन चलाउनेविरुद्ध सम्पत्ति शुद्धीकरण मुद्दा दायर
काठमाडौँ । ६१ किलो सुन तस्करी प्रकरणमा संलग्न मष्टा ग्रुप प्रालिका सञ्चालक जीवन चलाउनेविरुद्ध काठमाडौँ जिल्ला अदालतमा सम्पत्ति शुद्धीकरणको मुद्दा दायर गरिएको छ । सम्पती शुद्धीकरण विभागले उनि विरुद्ध मुद्दा दायर गरेको हो ।
अनुसन्धानमा उनले अवैध सुन तस्करीबाट प्राप्त रकम प्रयोग गरी झापा, काठमाडौँ, रौतहट र काभ्रेपलाञ्चोकमा ३२ कित्ता जग्गा खरिद गरेको देखिएको छ ।
अभियोगपत्र अनुसार, कुल २ अर्ब ७ करोड रुपैयाँभन्दा बढी रकम उनले अवैध स्रोतबाट शुद्धीकरण गरेको पुष्टि भएको छ । उनको सम्बन्ध बेल्जियम नागरिक दावा छिरिङसँग पनि देखिएको छ ।
विभागले दायर गरेको अभियोगपत्रमा भनिएको छ, ‘खरीदको कुल मूल्य समेत गर्दा हुन आउने कुल रकम १,४५,५४,०३,९४८ रुपैयाँ तथा विदेशबाट अवैध तरिकाले आयात गरेको सुन ६० केजी ७१६ ग्रामको तत्कालीन अवस्थाको मूल्य प्रतितोला १,१२,५०० रुपैयाँका दरले हुने कुल मूल्य ५८,५६,०९,५६८ रुपैयाँ र हिमालयन बैंकमा निजका नाउँमा रहेको नं. ००२१०५५००१९००१३ को खातामा कसुरबाट प्राप्त गरी जोर जम्मा गरी कारोबार गरी निःसर्ग गरेको रकम ३,५२,००,००० रुपैयाँ समेत गरी हुने कुल रकम २,०७,६२,१३,५१६ रुपैयाँ प्रतिवादी जीवन चलाउनेले शुद्धीकरण गरेको पुष्टि हुन आयो छ ।‘
साउन ३ गते राजस्व अनुसन्धान विभागले मोटरसाइकलको ब्रेक प्याडभित्र लुकाइएको सुन बरामद गरेको थियो । पछि अनुसन्धानलाई केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) लाई जिम्मा दिइएको र ३०२ किलो सुन तस्करी भएको निष्कर्षमा पुगेको थियो ।
यस प्रकरणमा दावा छिरिङ, जीवन चलाउनेसहित २९ जनाविरुद्ध सुन भन्सार चोरी, पैठारी र संगठित अपराधसम्बन्धी मुद्दा दायर गरिएको छ । समितिले अनुसन्धानमा संलग्न केही प्रहरी अधिकारीहरूको कारबाही र केही राजनीतिक तथा विदेशी सम्बन्धित व्यक्तिविरुद्ध पनि मुद्दा सिफारिस गरेको छ ।
रोल्वालिङ हिमपहिरोमा हराइरहेका ४ जनाको उद्धार, तिनजनाको मृत्यु, बेपत्ताहरुको खोजीकार्य जारी
रामेछाप । दोलखाको रोल्वालिङ हिमशृङखलामा गएको भीषण हिमपहिरोमा परी हराइरहेका चार जनाको आज बिहान उद्धार गरिएको छ । उद्धार गरिएका सबैजना घाइते अवस्थामा भेटिएको जिल्ला प्रशासन कार्यालय दोलखाले जनाएको छ ।
दोलखाका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद रिसालका अनुसार, हाइ अल्टिच्युड हेलिकोप्टरमार्फत दुई जना विदेशी तथा दुई जना नेपाली पथप्रदर्शकलाई आज बिहान यलुङ री हिमालको आधार शिविर नजिकैबाट उद्धार गरिएको हो । हिमपहिरोस्थल नजिकैबाट चार जनालाई घाइते अवस्थामा हेलिकोप्टरले उद्धार गरेको उनले जानकारी दिए ।
यसै गरी हिमपहिरोबाट जोगिएका थप तीन जना नेपाली पथप्रदर्शकलाई दोलखाको ना गाउँमा सुरक्षित रूपमा राखिएको छ । उनीहरूलाई पनि केही बेरमा उद्धार गरेर चरिकोट ल्याइने तयारी गरिएको प्रशासनले जनाएको छ ।
रोल्वालिङ हिमशृङखलाको डोल्मा खाङ (६,३३२ मिटर) र यलुङ री (५,६३० मिटर) हिमाल आरोहणका लागि आइतबार पाँच विदेशीसहित १५ जना आरोही यलुङ री बेस क्याम्प पुगेका थिए । बाक्लो हिमपातका कारण उनीहरूले सोही ठाउँमा टेन्ट टाँगेर बसेका थिए । सोमबार बिहान आरोहण सुरु गर्ने तयारीमा रहेका बेला आकस्मिक रूपमा हिमपहिरो खस्दा उनीहरू पुरिएका थिए ।
हिमपहिरोमा पुरिएर एक विदेशीसहित तीन जनाको हिजै मृत्यु भएको पुष्टि भएको छ भने अझै पाँच जना बेपत्ता छन् । हराइरहेका व्यक्तिहरूको खोजी कार्य जारी छ ।
उद्धार तथा खोजी कार्यमा नेपाली सेनाको टोली, सशस्त्र प्रहरी र स्थानीय उद्धारकर्मी परिचालन गरिएको छ । टोली हाल ना गाउँ हुँदै हिमपहिरो गएको स्थानतर्फ अघि बढिरहेको छ तर दुर्गम भौगोलिक स्थिति र प्रतिकूल मौसमका कारण सो स्थलमा पुग्न कठिनाइ भएको जनाइएको छ ।
दुई छुट्टाछुट्टै ट्राभल कम्पनीमार्फत पुगेका आरोही समूहहरू डोल्मा खाङ र यलुङ री दुवै हिमाल आरोहणका लागि तयारी अवस्थामा रहेका थिए । आइतबार आधार शिविरमा पुगेका उनीहरू सोमबार आरोहणको तयारीमा थिए । तर सोमबार बिहानै पहिरो गएको थियो ।
स्थानीय प्रशासनले प्रतिकूल मौसममा हिमाली क्षेत्रका आरोही तथा पर्यटकहरूलाई अत्यधिक सतर्कता अपनाउन आग्रह गरेको छ । मौसमविद्हरूका अनुसार पछिल्ला दिनहरूमा उच्च हिमाली भागमा लगातार बाक्लो हिमपात भइरहेको छ । यसले हिमपहिरोको जोखिम बढाएको छ ।
जेन–जीआन्दोलनका ४५ जना मृतकलाई सहिद घोषणा, सुची सहित
काठमाडौं । सरकारले गतभदौ २३ र २४ गते देशभर भएकाप्रदर्शनकाक्रममाज्यानगुमाएका ४५ जनालाई सहिद घोषणा गर्ने निर्णय गरेको छ । सोमबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकले उक्त निर्णय गरेको हो।
भदौ २३ र २४ को जेन–जीआन्दोलनमाशहीद घोषणा भएकाशहीदहरु
१.बुद्धिबहादुरतामाङ,किर्तिपुर–२काठमाडौं
२. सन्तोष विश्वकर्मा, बेलका–४उदयपुर
३.सुलभराजश्रेष्ठ, नेपालगञ्ज–१बाँके
४.श्रीयमचौलागाइर्, बेलबारी–११मोरङ
५.ईसवतबहादुर अधिकारी – का.म.पा.–२९ काठमाडौँ
६.आयुषथापा – नेपालगञ्ज–२ बाँके
७.गौरब जोशी – धनगढी–५ कैलाली
८.योगबहादुर श्रेष्ठ – बारबिसे–६ सिन्धुपाल्चोक
९.माधव सारु मगर – भुमिकास्थान–४ अर्घाखाँची
१०.बिमलबाबु भट्ट – बारपाक सुलिकोट–५ गोरखा
११.असहावआलम ठकुराई – बिरगञ्ज–२२ पर्सा
१२.सौरभ किशोर श्रेष्ठ – बाग्लुङ–४ बाग्लुङ
१३. सुभाषकुमार बोहरा – खप्तडछान्ना–७बझाङ
१४. रसिक खतिवडा खत्री – पनौती–१० काभ्रे
१५.बिनोद महर्जन – ललितपुर–७ललितपुर
१६.दिल नारायण तामाङ – तिमाल–७काभ्रे
१७.योगेन्द्र न्यौपाने – गोलान्जोर–२ सिन्धुली
१८.अभिषेक श्रेष्ठ – इनरुवा न.पा.–८ सुनसरी
१९.मोहन सरदार – इटहरी–११ सुनसरी
२०.छत्रमान कुसुमी – पाख्रिबास–२ धनकुटा
२१.ओझन बुढा – स्वामिकात्तिकखापर–२ बाजुरा
२२.साजन राई – धरान–५ सुनसरी
२३.अनिश पराजुली – पालुङटार–३ गोरखा
२४.सारकुमार राई – चौदण्डीगढी–२ उदयपुर
२५.अर्जुन भट्ट – गण्डकी–४ गोरखा
२६.चिरञ्जब श्रेष्ठ – तादी–३ नुवाकोट
२७.देवकुमार सुवेदी – लालबन्दी–५ सर्लाही
२८.उमेशमहत – चौतारा साँगाचोकगढी–८ सिन्धुपाल्चोक
२९.प्रविण कुलुङ – सिलिचोङ–३ संखुवासभा
३०.निखितागौतम – कालिका–८ चितवन
३१.अभिषेक चौलागाई – शेलुङ–४ दोलखा
३२.विजयचौधरी – लहान–१६ सिरहा
३३.भिम राजधामी – दुर्गाथली–२ बझाङ
३४.निरज पन्त – दशरथ–६ बैतडी
३५.दिपकसिंह साउद – शिवनाथ–२ बैतडी
३६.शुभराजबलामीश्रेष्ठ – ककनी–९ नुवाकोट
३७.ज्ञानिन्द्र सेढाई – अर्जुनधारा–११ झापा
३८.दिनेश राजवंशी – अर्जुनधारा–४ झापा
३९.कमल भण्डारी – हिलिहाङ–२ पाँचथर
४०.दिपेश सुलुवार – तिनपाटन–६ सिन्धुली
४१.महेश बुढाथोकी – बिगु–३ दोलखा
४२.लच्छुमान राई –पञ्चकन्या–२ नुवाकोट
४३.मिलन राय – दुधौली–८ सिन्धुली
४४.अमृत गुरुङ – रुपा–८ कास्की
४५.उत्तमथापा – लेकम–३ दार्चुला
जेनजी आन्दोलनमा मृत्यु भएका ४५ जनालाई शहीद घोषणा गर्ने निर्णय
काठमाडौं । सरकारले गत भदौ २३ र २४ गते गरिएको प्रदर्शनका क्रममा मृत्यु भएका ४५ जना व्यक्तिहरुलाई शहीद घोषणा गर्ने निर्णय गरेको छ ।
सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले सुशासन तथा भ्रष्टाचार नियन्त्रणका माग राखि जेनजी पुस्ताद्वारा गरिएको प्रदर्शनका क्रममा काठमाडौंलगायत मुलुकका विभिन्न भागमा मृत्यु भएका ४५ जना व्यक्तिहरुलाई राज्यको तर्फबाट शहीद घोषणा गर्ने निर्णय गरेको सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदिश खरेलले जानकारी दिए ।
उनले भने,‘सुशासन तथा भ्रष्टाचार नियन्त्रणका माग राखि जेनजी पुस्ताद्वारा २०८२ भदौ २३ र २४ गते गरिएको प्रदर्शनका क्रममा काठमाडौं लगायत मुलुकका विभिन्न भागमा मृत्यु भएका ४५ जना व्यक्तिहरुलाई राज्यको तर्फबाट शहीद घोषणा गर्ने निर्णय गरेको छ, अन्य थपको पनि अध्ययन हुँदैछ ।’
त्यस्तै उनले वैदेशिक रोजगार न्यायाधिकरणको सदस्यमा सहन्यायाधिवक्ता घनश्याम ओझालाई तोक्ने निर्णय भएको पनि जानकारी दिए ।
सुन कारोबारको बहानामा हत्या : शव पुलमुनी गाडियो, गाडी जलाइयो
विराटनगर । झापाको शिवशताक्षी नगरपालिका–१० का ३३ वर्षीय सरोज शर्माको हत्या प्रकरण रहस्यमय हुँदै गएको छ । प्रारम्भिक अनुसन्धानका आधारमा सुन कारोबारको प्रलोभन देखाएर योजनाबद्ध रूपमा हत्या गरिएको खुलेको छ । प्रहरीले घटनामा संलग्न दुई जनालाई पक्राउ गरी आइतबार सार्वजनिक गरेको छ ।
पहिलो भेट र योजना
काठमाडौंमा बस्दै आएका सरोज शर्माको चिनजान झापाका २७ वर्षीय सुनिल साहसँग भएको थियो । शर्माले सस्तोमा सुन पाइने र आफैंले पनि किन्ने, साथै काठमाडौंमा चिनेजानेकालाई पनि किनिदिने भन्दै कुरा गर्ने गरेका थिए । यही कुराबाट लोभिएर सुनिल र उनका भान्जा २३ वर्षीय राहुल साहले शर्मासँग भएको पैसा लुट्ने योजना तयार पारेको बताइएको छ ।
सुन देखाउने बहानामा अपहरण
गत कात्तिक ९ गते सुनिलले सरोज शर्मालाई फोन गरी भारतबाट ल्याएको सुन देखाउने बहानामा बोलाए । त्यसपछि उनीहरू अर्जुनधारा नगरपालिका–४ अन्तर्गत दहिझोडा सामुदायिक वनतर्फ गए । प्रहरीका अनुसार यही ठाउँमा तीनैजना पुगेपछि सुन देखाउने बहानामा विवाद भएको र त्यही बेला सुनिल र राहुलले योजनाबद्ध रूपमा शर्मामाथि हमला गरेका थिए ।
हत्याको क्रूर मोड
प्रहरी अनुसन्धानअनुसार, उनीहरूले हातमा रहेको हथौडाले सरोजको टाउकोमा प्रहार गरि हत्या गरे । त्यसपछि शवलाई लुकाउनका लागि उनीहरूले शर्माकै सवारी साधन बा.प्र.०१–३० च ७१९४ नम्बरको गाडीमा राखेर झापा गाउँपालिका–५, हुलाकी मार्गस्थित बिरिङ खोलाको पुलमुनि गाडेको प्रहरीको अनुमान छ ।
शव लुकाउने र गाडी जलाउने प्रयास
हत्या लुकाउनका लागि अपराधीहरूले शर्माको गाडी मेचीनगर–१३, निचाझोडा सिमसार क्षेत्रमा लगेर जलाएका थिए । प्रहरीले जनाएको अनुसार, उनीहरूले हत्या भएको पाँच दिनपछि अर्थात् कात्तिक १३ गते राति गाडी जलाएका थिए ।
शर्मा हराएपछि खोजतलास
कात्तिक ९ गतेदेखि सम्पर्कविहीन भएका सरोज शर्माबारे परिवारले प्रहरीलाई जानकारी गराएपछि खोजतलास सुरु भएको थियो । अनुसन्धानका क्रममा प्रहरीले कात्तिक १३ गते शर्माको गाडी जलिरहेको अवस्थामा फेला पा¥यो । त्यसपछि प्रहरीले सो क्षेत्र र सम्भावित ठेगानामा खोजी विस्तार गरेको थियो ।
शव फेला र घटनाको खुलासा
अन्ततः कात्तिक १५ गते राति १ बजे बिरिङ खोलाको पुलमुनि गाडिएको अवस्थामा शर्माको शव फेला पर्यो । त्यसपछि प्रहरीले शकको आधारमा सुनिल र राहुललाई नियन्त्रणमा लियो । प्रारम्भिक सोधपुछका क्रममा दुवैले अपराध स्वीकार गरेको प्रहरीले जनाएको छ ।
पक्राउ र थप अनुसन्धान
जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायव उपरीक्षक खगेन्द्रबहादुर खड्काका अनुसार, घटनामा संलग्न अर्का एक जना भारतीय नागरिक अझै फरार छन् र उनको खोजी भइरहेको छ ।
पक्राउ परेकामाथि अपहरण, शरीर बन्धक, आपराधिक प्रवेश, उपद्रव र ज्यान सम्बन्धी कसुरमा जिल्ला अदालत झापाबाट ७ दिनको म्याद लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
जसपाको बैठक : ‘वर्तमान परिस्थिति र नीति’ प्रतिवेदन अध्ययनका लागि पठाइयो
काठमाडौं, कात्तिक १६ । जनता समाजवादी पार्टी (जसपा) को आगामी कात्तिक १९ र २० गते काठमाडौंमा हुने केन्द्रीय समिति बैठकका लागि तयार गरिएको “वर्तमान परिस्थिति र पार्टीका नीतिहरु” विषयक प्रतिवेदन केन्द्रीय पदाधिकारी तथा सदस्यहरूलाई अध्ययनका लागि पठाइएको छ ।
पार्टी कार्यालय सचिवका अनुसार, उक्त प्रतिवेदन पार्टीका सबै सदस्यहरूका इमेल र ह्वाट्सएपमार्फत वितरण गरिएको हो ।
यस प्रतिवेदनमा देशको हालको राजनीतिक अवस्था, जसपाको संगठनात्मक संरचना, पार्टी नीति तथा आगामी रणनीतिसम्बन्धी प्रस्तावहरू समावेश गरिएको जनाइएको छ ।
सचिवालयले सबै केन्द्रीय सदस्यहरूलाई प्रतिवेदन अध्ययन गरी आफ्नो सुझाव तथा धारणा सहित बैठकमा सहभागी हुन अनुरोध गरेको छ ।
८ वामपन्थी दलबीच पार्टी एकता सहमति, कार्तिक १९ मा संयुक्त सम्मेलन हुने
काठमाडौं । नेपालको प्रमुख वामपन्थी ८ दलहरूले पार्टी एकता सहमति गरेका छन् । संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा, राष्ट्रिय स्वाधीनता, सुशासन, सामाजिक न्याय र आर्थिक रूपान्तरणमार्फत समाजवादी क्रान्तिको लक्ष्य हासिल गर्ने उद्देश्यसहित नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), नेपाल समाजवादी पार्टी, नेकपा (समाजवादी), जनता समाजवादी पार्टी, नेपाल, नेकपा (माओवादी समाजवादी) र नेकपा (साम्यवादी) बीच १८ बुँदे ‘पार्टी एकता सहमति पत्र’ मा हस्ताक्षर गरिएको छ ।
सहमति अनुसार आगामी १९ गते सहभागी सबै घटक दलका केन्द्रीय समितिहरुको संयुक्त भेलाको रूपमा एकता राष्ट्रिय सम्मेलन आयोजना हुनेछ । उक्त सम्मेलनले पार्टी एकताको घोषणा गर्दै घोषणा–पत्र, अन्तरिम विधान पारित गर्ने र नयाँ केन्द्रीय समिति गठन गर्ने निर्णय भएको छ ।
एकता सम्मेलनपछि ६ महिनाभित्र एकता राष्ट्रिय महाधिवेशन आयोजना गरिने छ । नयाँ पार्टीको नाम ‘नेपाल कम्युनिष्ट पार्टी (नेकपा)’ रहने र चुनाव चिन्ह पाँचकुने तारा तय गरिएको छ ।
सहमति पत्रमा पार्टीको मार्गनिर्देशक सिद्धान्त मार्क्सवाद–लेनिनवाद, र नेपाली क्रान्तिको कार्यक्रम ‘नेपाली विशेषताको वैज्ञानिक समाजवाद’ हुने उल्लेख गरिएको छ । आन्दोलन मुख्यतः शान्तिपूर्ण रहने र परिस्थिति अनुसार सडक, सदन तथा सरकार लगायत सबै मोर्चामा सक्रिय भूमिका रहने सहमति गरिएको छ ।
पार्टीको संरचना अनुसार केन्द्रदेखि वडा तहसम्म संयोजक र सहसंयोजक प्रणाली रहनेछ । सबै तहका समितिहरूमा सहभागी दलहरूबाट समानुपातिक समायोजन हुने र समितिहरू जनवादी केन्द्रियताको सिद्धान्तअनुसार सामूहिक नेतृत्व प्रणालीमा सञ्चालन हुने उल्लेख छ ।
वैचारिक–राजनीतिक मतभेदका विषयमा निरन्तर छलफल गर्दै अन्ततः एकता राष्ट्रिय महाधिवेशनबाट निष्कर्षमा पुग्ने सहमति गरिएको छ ।
सहमति पत्रमा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष महेन्द्रराय यादव, नेपाल समाजवादी पार्टीका अध्यक्ष डां. बाबुराम भट्टराई, साथै अन्य सहभागी दलका शीर्ष नेताहरू चिरन पुन, राजु कार्की, सुवासराज काफ्ले, कर्णजित बुढाथोकी र प्रेमबहादुर सिंहले हस्ताक्षर गरेका छन् ।