एमालेको ११ औँ महाधिवेशन काठमाडौंमै हुने
काठमाडौं । नेकपा एमालेको सचिवालय बैठकले मंसिरमा हुन लागेको ११ औँ महाधिवेशन स्थल परिवर्तन गरेको छ ।
शनिबार गुण्डुमा बसेको सचिवालय बैठकले मंसिरमा हुने महाधिवेशन अब काठमाडौंमै गर्ने निर्णय गरेको उपमहासचिव प्रदीप ज्ञवालीले बताए ।
उनले बैठकपछि सञ्चारकर्मीहरुलाई जानकारी दिँदै भने, ‘नेकपा एमालेको सचिवालय बैठकले मुख्यतया तीनवटा महत्वपूर्ण निर्णयहरु गरेको छ । पहिलो एजेण्डा चाँही पार्टीको ११ औँ राष्ट्रिय महाधिवेशन आगामी मंसिर २७ गतेदेखि २९ सम्म गर्ने निर्णय गरि नै सकेको छ । त्यो निर्णयलाई थप जोड दिँदै केन्द्रीय सचिवालयको बैठकले महाधिवेशनको स्थल भने परिवर्तन गरेको छ । अब ११ औँ महाधिवेशन पोखराको सट्टामा काठमाडौंमा आयोजना गरिनेछ ।’
यसअघि एमालेले महाधिवेशन पोखरामा गर्ने निर्णय गरेको थियो । उपमहासचिव ज्ञवालीले ६ लाख ६७ हजार ६३० पार्टी सदस्यबाट विभिन्न अनुपातमा प्रतिनिधि चयन गरिने बताए ।
उनले प्रतिनिधि चयन मंसिर १३ गते शनिबार देशभर एकै दिन हुने बताए । प्रतिनिधिको विवरण मंसिर १५ गते साँझसम्म केन्द्रीय कार्यालयमा पठाइसक्नुपर्ने उनले बताए ।
माओवादीले ६ वटा पार्टीहरुसँग एकता गर्दै
काठमाडौं । नेकपा माओवादी केन्द्रले नेकपा एकीकृत समाजवादीसहित ६ वटा पार्टीहरुसँग एकताको प्रक्रिया चाँडै गरिने प्रवक्ता अग्नि सापकोटाले जानकारी दिएका छन् ।
शनिबार बसेको सचिवालय बैठकले एकता प्रक्रियालाई चाँडै टुङ्ग्याउने निर्णय गरेको उनले बताए ।
पार्टी कार्यालयमा बसेको बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले भने, ‘ हाम्रो आजको बैठकको एजेण्डा पार्टी एकता थियो । पार्टी एकतामा वैचारिक, राजनैतिक, सैद्धान्तिक, नीतिगत कुराहरु करिव टुङ्गे लगाइसकेको छौँ । आज खासगरी प्राविधिक र सांगठानिक विषयमा छलफल केन्द्रित भएको छ । छलफल र पार्टी एकतामा आउने सम्भावनामा एकीकृत समाजवादी, महेन्द्रराय यादवको नेसपा, एमालेबाट विद्रोह गरेका प्रेमबहादुर सिंह, राजु कार्कीको नेकपा समाजवादी, सुवास काफ्लेको जनसमाजवादी पार्टीसँग भएको छ र भर्खरै नेकपाबाट विद्रोह भएको चिरण सीसँग पनि कुराकानी भईरहेको छ ।’
उनले नेकपा समाजवादी र विप्लव नेतृत्वको नेकपालाई पनि सँगै ल्याउने प्रयास गरेको बताए ।
उनले भने, ‘हामीले विप्लव सीको पार्टीलाई सँगै ल्याउने प्रयत्न गरेको हो, यता एकीकृत समाजवादी पार्टीलाई सोलेडोले ल्याउन प्रयत्न गरेको कुनै कसुर राखेको छैन । उहाँहरुको आफ्नो निर्णय निर्णायक हुन्छ । हाम्रो प्रयत्नले पुगेन ।’
उनले अब एकता गर्न ढिलो गर्न नहुँने भन्दै ढिलो भए राष्ट्रिय राजनीतिमा पहल कदमी कमजोर हुने बताए ।
‘हामी आज के निश्कर्षमा पुग्यौं भने अब एकता गर्न ढिलो गर्नु हुँदैन । एकता ढिलो गरियो भने राष्ट्रिय राजनीतिमा हाम्रो पहल कदमी कमजोर हुन्छ,’ उनले भने ।
श्री एयरलाइन्सको विमानमा समस्या, भैरहवामा आपतकालीन अवतरण
काठमाडौं । ८२ जना यात्रु बोकेको यात्रुवाहक विमानमा प्राविधिक समस्या आएपछि भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा आपतकालीन अवतरण गरिएको छ ।
धनगढीबाट काठमाडौं जाँदै गरेको श्री एयरलाइन्सद्वारा सञ्चालित विमानले पाइलटले ‘हाइड्रोलिक्समा समस्या’ भएको रिपोर्ट गरेपछि भैरहवास्थित विमानस्थलमा आपतकालीन अवतरण गरेको हो।
‘विमान धनगढीबाट बिहान १० बजे उडान भरेको थियो र पाइलटले हाइड्रोलिकमा समस्या भएको रिपोर्ट गरेका थिए। विमानस्थलमा आपतकालीन अवतरण गर्न भनिएको थियो,’गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका सूचना अधिकारी विनोद सिंह राउतले एएनआईलाई बताए।
उडान नम्बर २२२ भएको विमान अवतरण गरेको चालीस मिनेट पछि ट्याक्सीवेमा पुगेको थियो । त्यतिन्जेलसम्म विमानस्थल बन्द थियो।
‘विमानस्थलको धावनमार्गमा नै रहेकोले हामीले लगभग चालीस मिनेटको लागि विमानस्थल बन्द गर्नुप¥यो। दिउँसो १२ः३० बजे हाइड्रोलिकमा समस्या समाधान भएपछि विमान ट्याक्सीवेमा सर्यो,’ राउतले थपे।
अधिकारीका अनुसार, विमानमा चालक दलका सदस्यहरू सहित जम्मा ८२ जना सवार थिए। विमानस्थलमा अवतरण गरेपछि, उडानमा रहेका सबै कर्मचारीहरूलाई बाहिर निकालिएको थियो।
‘विमानको बारेमा कुनै पनि निर्णय गर्नु अघि एयरलाइन्स कम्पनीका इन्जिनियर र प्राविधिकहरूले थप निरीक्षण गर्नेछन्,’ विमानस्थलका निर्देशक तथा प्रवक्ता श्याम किशोर साहले एएनआईलाई बताए।
पछि, यात्रु र चालक दललाई काठमाडौं फिर्ता ल्याउन अर्को विमान भैरहवाको लागि प्रस्थान ग¥यो। विमानले कर तिरेर धावनमार्ग खाली गरेपछि विमानस्थल पुनः खोलिएको थियो। श्री एयरलाइन्सले दिउँसो ४ः३० बजे सम्म यस विषयमा कुनै प्रतिक्रिया जनाएको छैन् ।
यसअघि, अप्रिल १६ मा, नेपालको दुर्गम क्षेत्रमा सञ्चालन हुने निजी वायुसेवा कम्पनी सीता एयरलाइन्सको १२ भारतीय यात्रु बोकेको विमान दिउँसो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आपतकालीन अवतरण गरिएको थियो।
शिल्पा शेट्टी : फिटनेस आइकन
एजेन्सी । बलिउड अभिनेत्री शिल्पा शेट्टी उमेरले ५० पुगेपनि फिटनेस आइकनका रुपमा दरिएकी छिन् । हालै मुम्बईको खार क्षेत्रमा देखिएकी उनी सुन्दर र आकर्षक देखिएकी थिइन् ।
आकर्षक फेसन सेन्सका लागि परिचित शिल्पा क्याजुअल तर स्टाइलिश लुकमा देखिएकी थिइन् । स्वास्थ्य र स्वस्थ जीवनमा आफ्नो ध्यान केन्द्रित गरेर लाखौंलाई प्रेरित गरिरहेकी शिल्पाले ढल्किदो उमेरमा पनि धेरैको ध्यान तानिरहेकी छिन् ।
उनको सरल व्यवहार र मैत्रीपूर्ण हावभावले दर्शकहरू लोभिने गरेका छन् । फिल्म प्रमोशन, फिटनेस कार्यक्रम र टेलिभिजन शोहरुमा व्यस्त उनी शारीरिक रुपमा फिट देखिन्छिन् ।
व्यावसायिक क्षेत्रमा, शिल्पाले आफ्नो फिल्म र उद्यमशीलतालाई सन्तुलनमा राखेको एएनआइले उल्लेख गरको छ । योग, सचेत जीवनशैली र महिला सशक्तिकरणको क्षेत्रमा समेत उनी बलिउडको सबैभन्दा प्रशंसित व्यक्तित्वहरू मध्ये एक हुन्।
उनको पछिल्लो सार्वजनिक उपस्थितिले फेरि एक पटक स्टाइल आइकन र फिटनेस प्रेरणाको रूपमा देखिएकी थिइन् । (एएनआइ)
नेकपा एसका नेताहरू अलगिएपछि झलनाथले भने : ‘सिङ्गो हुनलाई टुक्रा भएको हो’
काठमाडौँ । माओवादीसँग एकता गर्ने निर्णयपछि नेकपा एकीकृत समाजवादी पार्टीका नेताहरू अलगिएका छन् । पार्टीका पोलिटब्युरो सदस्य रहेका धर्म निरौलाले पार्टीबाट अलग भएको भन्दै अब एक हप्ता भित्र राष्ट्रिय कार्यकर्ता भेला गरि दृष्टिकोणसहितको कार्ययोजना प्रस्तुत गर्ने बताए ।
अलगै पार्टी बनाउन भएको भेलाअघि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले भने, ‘अहिले हामी त्यहाँबाट अलग भएका छौ । अब कसरी बढ्ने भन्ने सन्दर्भमा आज हामी छलफलमा छौ हामी एक हप्ता भित्र राष्ट्रिय कार्यकर्ता भेला गर्छौ । त्यो भेलामा हामी कसरी भन्ने दृष्टिकोणसहितको कार्ययोजना प्रस्तुत गर्छौ र अगाडि बढ्छौ।’
उनले अबको नेतृत्व महासचिव घनश्याम भुसालले गर्नुपर्ने नेता झलनाथ खनाल संरक्षक भएर बसेर महासचिव भुसाल संयोजक हुनुपर्ने बताए।
‘हाम्रो संयोजनको जिम्मा हाम्रो वैचारिक नेता घनश्याम भुसालले गरेर जानुपर्छ । अरू कम्रेडहरु पनि हुनुन्छ जो हिजो आदरणीय हुनुहुन्थ्यो उहाँहरू संरक्षक हुनुपर्छ । वैचारिक संरक्षण उहाँहरूको हुनेछ र उहाँहरूको वैचारिक संरक्षणमा हामीहरू अगाडि बढ्ने छौ,’उनले भने ।
यस्तै भेलामा सहभागी भएका नेता खनालले सिङगो हुनलाई टुक्रा भएको भन्दै पार्टी गठन र पूर्नगठन हुनु सामान्य प्रक्रिया भएको बताए ।
‘टुक्रा भएपछि सिङ्गो हुन्छ । त्यो सिङ्गो हुनलाई टुक्रा भएको हो । पूर्नगठन, गठन त प्रोसेस हो । आन्दोलनलाई व्यापक एकतामा पुर्याउनुको लागि गरिएको आजको छलफल हो,’उनले भने ।
सिक्किमको दौरसाङदेखि नेपालको पहाडी भू–भागसम्म समान मौसमी स्वरूप, जनजीवनमा असर
काठमाडौं । नेपाल र भारतको उत्तरपूर्वी राज्य सिक्किमका हिमाली र डाँडापाखा क्षेत्रहरूमा पछिल्ला दिनहरूमा उल्लेखनीय मौसमी समानता देखिएको छ। पछिल्लो २४ घण्टाको अवस्थाअनुसार, दुबै क्षेत्रमा चिसो हावा, बदली र क्वैंका मौसमी प्रभावले जनजीवनलाई शीतल बनाएको छ ।
सिक्किमको पूर्वी भागमा पर्ने दौरसाङ र त्यस आसपासका पहाडी गाउँहरूमा हाल आंशिकदेखि पूर्ण बदली मौसम छाएको छ । यद्यपि, दौरसाङको प्रत्यक्ष मौसम डाटा उपलब्ध नभए पनि नजिकको साङ फरेस्ट ब्लक क्षेत्रको पछिल्लो मापनअनुसार अधिकतम तापक्रम २६ डिग्री सेल्सियम र न्यूनतम तापक्रम १९ डिग्री सेल्सियम रहेको देखिन्छ ।
यो तथ्यांकले स्थानीय स्तरमा मध्यम शीतलता र हल्का आर्द्रतायुक्त मौसमको संकेत गर्दछ । सिक्किमको राजधानी गंगटोकमा पनि न्यूनतम तापक्रम १४ डिग्री सेल्सियम को आसपास झरेको छ, जसका कारण बिहान–साँझ हावाको सिरेटो बढेको महसुस भइरहेको छ ।
नेपालका पहाडी क्षेत्रमा पनि चिसो बढ्दो
नेपालको मौसम पूर्वानुमान महाशाखाका अनुसार, हाल देशका पहाडी र हिमाली भूभागहरूमा आंशिकदेखि पूर्ण बदली छ ।
कोशी, बागमती र गण्डकी प्रदेशका डाँडापाखा क्षेत्रमा विशेषगरी चिसो र ओसिलो वातावरण कायम छ। तराई क्षेत्रमा भने आंशिक घाम र हल्का बादल देखिए पनि उच्च पहाडी क्षेत्रमा तापक्रम उल्लेखनीय रूपमा घटेको छ ।
हाल नेपालका विभिन्न स्थानहरूमा न्यूनतम तापक्रम १० डिग्री सेल्सियम देखि १८ डिग्री सेल्सियम बीचमा रेकर्ड गरिएको छ । उदाहरणका लागि, जुम्लामा तापक्रम ७–९ डिग्री सेल्सियम, र काठमाडौंमा १४–१६ डिग्री सेल्सियम बीचमा रहेको छ । यसले हिउँद प्रारम्भको संकेत दिन थालेको मौसमविद्हरू बताउँछन् ।
तुलनात्मक दृष्टि
नेपालको मध्य र पूर्वी उच्च पहाडी क्षेत्र र सिक्किमको दौरसाङ क्षेत्रको मौसमी स्वरूप अहिले लगभग समान देखिन्छ । दुवै क्षेत्रमा घना बादल, मध्यम तापक्रम र हल्का शीतलता मुख्य विशेषता बनेका छन् । हिमालपारिको यो समान मौसमी प्रणालीले पूर्व–हिमालय क्षेत्रलाई एउटै मौसमी प्रभावले घेरेको संकेत गर्दछ ।
जनजीवन र पर्यटनमा असर
यस्तो शीतल र बदली मौसमले स्थानीय बासिन्दा र पर्यटक दुबैका दैनिक गतिविधिमा केही असर पारिरहेको छ । बिहान र बेलुका चिसो हावा चलेका कारण न्यानो कपडाको आवश्यकता बढेको छ ।
पर्यटन क्षेत्रका विज्ञहरूका अनुसार, यस्तो मौसममा दृश्ययता घट्ने सम्भावना हुने भएकाले यात्रुहरूले सावधानीपूर्वक योजना बनाउनुपर्ने सल्लाह दिएका छन् ।हालसम्म ठूलो वर्षा वा हिमपातको सम्भावना कम रहेको मौसमविद्हरूको पूर्वानुमान छ । तर, शीतल हावाका कारण स्वास्थ्यमा विशेष ध्यान दिनुपर्ने चेतावनी जारी गरिएको छ ।
आज हरिबोधिनी एकादशी, तुलसी र दामोदरको विवाह गरी मनाइदैँ
काठमाडौं । आज हरिबोधिनी एकादशी, यसलाई एकादशीहरूमा सबैभन्दा ठुलो एकादशीका रूपमा लिइन्छ । प्रत्येक वर्ष कात्तिक शुक्ल एकादशीका दिन मनाइने हरिबोधिनी एकादशी पर्व आज तुलसी र दामोदरको विवाह गरी मनाइन्छ । त्यसैले पनि जनजिब्रोमा यो एकादशीलाई ठुली एकादशी भन्ने पनि छ ।
जनविश्वास तथा धार्मिक परम्पराअनुसार आजको दिन भगवान् विष्णु उठ्नुहुन्छ भन्ने छ । हरिशयनी एकादशीबाट चीर निद्रामा सुतेका विष्णु भगवान् आज उठ्ने विश्वास भएकाले पनि आजको एकादशीलाई विशेष मानिन्छ ।
आजको दिन तुलसीको विवाहको दिन भनेर पनि चिनिन्छ, वैदिक सनातन हिन्दु धर्मशास्त्रमा आयुर्वेदमा पनि महत्त्वपूर्ण भूमिका भएको तुलसीको विरुवाको धार्मिक, सांस्कृतिक र वैज्ञानिक रूपमा पनि निकै महत्त्व रहेको छ । वैदिक सनातनमा तुलसीको महत्त्व प्रत्येक विशेष उत्सव वा कुनै धार्मिक कार्यमा पनि रहँदै आएको छ ।
हरिशयनी एकादशीका दिन घरघरमा रोपेर विशेष पूजा गरिएको तुलसीको मठमा गाईको गोबर र रातो माटोले पोतेर सिँगारी फूल मालाले सजाएर विवाह गरिन्छ । तुलसी विष्णुप्रिया भएकाले यस दिन तुलसीको दामोदरसँग विवाह गर्ने परम्परा बसेको हो । तुलसीको मठ नजिकै विष्णुको प्रतीकका रूपमा निगालाको लिङ्ग गाडेर विधिपूर्वक पूजा गरिन्छ ।
आजको दिन अन्न खान नहुने भएकाले सखरखन्ड, पिँडालु र वनतरुल उसिनेर फलाहार गरिन्छ । यसरी व्रत गरेमा पापको नाश भई पुण्य वृद्धि हुने र मोक्ष प्राप्ति हुन्छ भन्ने धार्मिक विश्वास छ । ठूलो एकादशी पनि भनिने आजको एकादशी व्रतले हजार अश्वमेध यज्ञ तथा राजसूय यज्ञ गरे बराबरको फल पाइने शास्त्रीय मान्यता छ ।
आजका दिन काठमाडौँ उपत्यकाका चार नारायण, भक्तपुरको चाँगुनारायण, ललितपुरको विशङ्खुनारायण, काठमाडौँका शेष नारायण र इचँगुनारायण स्थानमा विशेष मेला लाग्दछ । यहाँ जान नसक्नेले काठमाडौँको उत्तरमा रहेका बूढानीलकण्ठ नारायणस्थानको दर्शन गर्दा चार नारायणको दर्शन र पूजा गरे बराबरको फल पाइने विश्वास गरिन्छ ।
नगरप्रमुख र प्रमुख प्रशासकीय अधिकृतमाथि आक्रमणको प्रयास
मलंगवा । सर्लाहीको हरिपुर्वा नगरपालिकाका नगरप्रमुख विनोद कुमार साह कानु र प्रमुख प्रशासकीय अधिकृत सिकिन्द्र प्रसाद साहमाथि हिजो (बिहीबार) साँझ आक्रमणको प्रयास भएको छ ।
पूर्व–पश्चिम राजमार्ग अन्तर्गत लालबन्दी बजारस्थित प्रमुख प्रशासकीय अधिकृत साह बस्दै आएको क्वार्टरमा केही वडाध्यक्षको नेतृत्वमा स्थानीय समूह पुगेको र तोडफोडसहित आक्रमणको प्रयास गरिएको प्रहरीले जनाएको छ ।
आक्रोशित वडाध्यक्ष र स्थानीयले मेयर र प्रमुख प्रशासकीय अधिकृतले लालबन्दीमै बसेर कार्यालय सञ्चालन गर्दै अनियमितता गरेको र जनताका समस्यातर्फ उदासिन रहेको आरोप लगाएका छन् । उनीहरूले कोठामा रहेका टेबल, कुर्सी र अन्य सामग्रीसमेत तोडफोड गरेका थिए।
आक्रमण रोक्ने क्रममा वडा नं. ६ का वडाध्यक्ष सामसोगारथ राय यादव सामान्य घाइते भएका छन् । उनको नाक र आँखामा चोट लागेको प्रहरीले जनाएको छ ।
इलाका प्रहरी कार्यालय लालबन्दीबाट खटिएको प्रहरी टोली पुगेपछि थप घटना हुन पाएन । प्रहरीले अवस्था नियन्त्रणमा लिएको छ ।
तर नगरप्रमुख विनोद कुमार साह कानुले भने ती आरोप निराधार रहेको प्रतिक्रिया दिएका छन् । उनका अनुसार, जेनजी आन्दोलनका क्रममा कार्यालयमा आगजनी हुँदा धेरै कागजात र उपकरण जलेका कारण अहिले लालबन्दीमा बसेर वैकल्पिक रूपमा काम गर्नुपर्ने बाध्यता रहेको हो ।
‘हामी कागजात र सेवा प्रवाहको वैकल्पिक व्यवस्था गर्दै थियौँ, तर केही व्यक्तिहरू अराजक शैलीमा हुलहुज्जत गर्न आएका थिए,’मेयर साहले भने । उनका अनुसार, जेनजी आन्दोलनका क्रममा कार्यालयमा तोडफोड गर्नेहरूकै संलग्नतामा बिहीबारको घटना भएको हो ।
बेमौसमी वर्षाले कोशी प्रदेशको जनजीवन प्रभावित, किसान मारमा
विराटनगर । मोन्था चक्रवातको प्रभावले परेको बेमौसमी अविरल वर्षाले कोशी प्रदेशसहित पूर्वी नेपालभर जनजीवन अस्तव्यस्त बनाएको छ । असामान्य वर्षाका कारण किसानको भर्खर थन्काउने बेला पुगेको धानवाली र तोरीबालीमा ठूलो क्षति पु¥याएको हो ।
तराईदेखि हिमालसम्मको क्षेत्र प्रभावित हुँदा प्रदेशका सडक, विद्यालय र बाली सबै क्षेत्रमा क्षति पुगेको छ । सुनसरी, मोरङ, झापा, उदयपुर सहित विभिन्न स्थानमा पानीले धानबाली डुबाएको किसानहरूले बताएका छन् ।
रामधुनीकी निर्मला लुईटेल भन्छिन्, ‘वर्षाले भर्खरै लगाएको तोरीदेखि धान सबै डुबायो ।’
वर्षाको असरले प्रदेशका कतिपय स्थानीय तहहरूले विद्यालय बन्द गर्नुपरेको छ । इटहरी उपमहानगरपालिकाले सुरक्षा र यातायात जोखिमलाई मध्यनजर गर्दै विद्यालय अस्थायी रूपमा बन्द गर्ने निर्णय गरेको हो ।
तराईका अधिकांश भूभाग जलमग्न बनेका छन् भने नदीनालामा पानीको बहाव तीव्र बनेको छ । मेची राजमार्गसहितका कतिपय सडक खण्डमा पहिरोका कारण आवागमन अवरुद्ध भएको छ ।
उत्तरी पहाडी क्षेत्रमा भने अत्यधिक हिमपातका कारण जनजीवन कठिन बनिरहेको छ ।
कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री रेवती रमण भण्डारीले डिजिटल म्यापअनुसार प्रभावित क्षेत्र पहिचान गरी सुरक्षाकर्मीमार्फत उद्धार र राहतका काम अघि बढाइएको जानकारी दिए ।
उनका अनुसार स्थानीय सरकारमार्फत तत्कालीन राहत र उद्धारको कार्य सुरु भइसकेको छ । वर्षा भोलीसम्मै जारी रहने अनुमान मौसमविद्हरूले गरेका छन्, जसले किसानको चिन्ता झन् बढाएको छ ।
अतिक्रमित सार्वजनिक जग्गा र मापदण्ड विपरीतका संरचना हटाउन निर्देशन
काठमाडौं । काठमाडौं महानगरपालिका र काठमाडौं उपत्यका विकास प्राधिकरणले अतिक्रमित सार्वजनिक जग्गा र मापदण्ड विपरीतका संरचना हटाउने निर्णय गरेको छ ।
शुक्रबार सार्वजनिक सूचना जारी असोज २ गते बसेको संयुक्त बैठकले अतिक्रमित सार्वजनिक जग्गा र मापदण्ड विपरीतका संरचना हटाउने निर्णय गरेको जानकारी गराएका हुन् ।
‘स्थानीय सरकार सञ्चालन ऐन २०७४ के परिच्छेद ७ र दफा ४५ विपरीत भवनजन्य संरचना निर्माण गर्न नहुने र सोही ऐनको दफा ९७ अनुसार सार्वजनिक जग्गा तथा सम्पत्तिको संरक्षण, विकास व्यवस्थापन गर्ने जिम्मेवारी र दायित्व स्थानीय तहको भएकाले यस विपरीत भए÷गरेका कार्यहरू ७ (सात) दिनभित्र हटाइ सहयोग गरिदिनुहुन यसै सूचनाद्वारा जानकारी गराइन्छ,’सूचनामा भनिएको छ ।
काठमाडौं महानगरपालिका क्षेत्रभित्र र सिमाना जोडिएका काठमाडौं जिल्ला भित्रका सार्वजनिक स्थानका अतिक्रमित तथा मापदण्ड विपरीतका संरचना नहटाए कारबाही गर्ने चेतावनी समेत दिइएको सूचनाद्वारा जानकारी गराइएको छ ।