सिँचाइका रुग्ण ठेक्का तोड्न सुरु, बबई सिँचाइ आयोजनाका ६ वटा ठेक्का तोडिंदै
काठमाडौं । ठेक्का सम्झौता गर्ने तर काम नगरेर वर्षोंदेखि अलपत्र पारी रुग्ण बनाइएका सिँचाइतर्फका ठेक्का तोड्न सुरु गरिएको छ ।
बबई सिँचाइ आयोजनाले करिब ६ वर्ष अघि अमन कन्स्ट्रक्सन कम्पनी गुलरिया—५ सँग गरिएको ठेक्का सम्झौता तोड्ने बिहीबार सार्वजनिक सूचना जारी गरेको छ ।
आयोजनाले कम्पनीसँग नहर मर्मत, कमाण्ड क्षेत्र संरक्षण, भवन मर्मतलगायतका काम गर्न आर्थिक वर्ष २०७७÷७८मा ठेक्का सम्झौता गरेको थियो ।
६वटा ठेक्कामध्ये चारको निर्माण प्रगति शून्य छ । एउटाको ३० र अर्कोको ५५ प्रतिशत प्रगति रहेको छ ।
ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकास मन्त्री कुलमान घिसिङले ठेक्का लिने तर काम नगर्ने र आयोजना अलपत्र पार्ने प्रवृत्ति अन्त्यका लागि रुग्ण ठेक्का तोड्न मातहतका निकायलाई निर्देशन दिएका थिए ।
आयोजनाले पटक—पटक सूचना प्रकाशन गर्दासमेत सम्झौता बमोजिम काम सुरु नगरी बीचैमा छोडी ठेक्काको म्याद समाप्त हुँदासम्म पनि काम सम्पन्न गर्नेतर्फ कुनै जासो नदिएको जनाएको छ ।
ठेक्का सम्झौता अन्त्य गरी कारबाहीको प्रक्रिया अगाडि बढाउनुनपर्ने कुनै ठोस कारण भएमा १५ दिनभित्र प्रमाणसहित सम्बन्धित आधिकारिक व्यक्ति आयोजना कार्यालयमा उपस्थित हुन सूचना जारी गरिएको छ ।
पेस गरिएका प्रमाण नियमसङ्गत भरपर्दो वा चित्त बुझ्दो नभएमा सम्झौता र सार्वजनिक खरिद कानूनमा भएको व्यवस्था बमोजिम कार्यसम्पादन जमानत तथा धरौटी बापत राखिएको रकम जफत र कालोसूचीमा राख्ने प्रक्रिया अगाडि बढ्नेछ ।
सिँचाइ विभागअन्तर्गत राष्ट्रिय गौरबका भेरी बबई तथा सुनकोशी मरिण वहुउद्देश्यीयसहित २५ आयोजनाका ठेक्का रुग्ण छन् । त्यसमध्ये ६ वटाको ठेक्का तोड्ने प्रक्रिया अगाडि बढाइएको हो ।
दुई रुपैयाँले घट्यो पेट्रोलको मूल्य
काठमाडौं । नेपाल आयल निगमले पेट्रोलको मूल्यमा घटाएको छ । निगमका अनुसार पेट्रोलको मूल्य प्रतिलिटर दुई रुपैयाँले घटाइएको हो ।
निगमका अनुसार नयाँ मूल्य बिहीबार (आज) बिहानदेखि लागू भएको छ । मूल्य घटेपछि अब पहिलो वर्गका उपभोक्ताले प्रतिलिटर १५८ रुपैयाँ ५० पैसा तिर्नुपर्नेछ । दोस्रो वर्गका लागि मूल्य १६० रुपैयाँ र तेस्रो वर्गका लागि १६१ रुपैयाँ निर्धारण गरिएको निगमले जनाएको छ ।
निगमले पेट्रोलको मूल्य घटाए पनि डिजेल र मट्टीतेलको दरमा कुनै परिवर्तन गरेको छैन ।यसपटक भने डिजेल र मट्टीतेलको मूल्य यथावत् राखिएको छ ।
कृष्णबहादुर महरा पूर्पक्षका लागि थुनामा पठाउन आदेश
काठमाडौं । जिल्ला अदालत काठमाडौंले पूर्वसभामुख कृष्णबहादुर महरालाई पूर्पक्षका लागि थुनामा पठाउन आदेश गरेको छ । जिल्ला अदालतका न्यायाधीश हर्कबहादुर क्षेत्रीको इजलासले महरालाई थुनामा पठाउने आदेश गरेको हो ।
महरा विद्युतीय चुरोट (भेप) मार्फत सुन तस्करी गरेको आरोपमा पक्राउ परेका थिए । मंगलबार क्षेत्रीको इजलासमा बकपत्र भएको थियो । बुधबार बहस सकिएपछि उनलाई थुनामा राख्ने आदेश भएको हो ।
सरकारले तोकिएकै समयमा निर्वाचन गराउनुपर्छ : प्रदीप यादव
वीरगंज (पर्सा) । जनता समाजवादी पार्टीका उपमहासचिव एवं पूर्वमन्त्री प्रदीप यादवले सरकारले तोकिएको समयमै अर्थात आगामी फागुन २१ गते देशमा निर्वाचन गराउनुपर्ने बताएका छन् ।
आज जसपा जिल्ला समिति, पर्साले आयोजना गरेको अगुवा कार्यकर्ता भेला कार्यक्रमलाई प्रमुख अतिथिका रुपमा सम्बोधन गर्दै उनले सरकारले तोकिएको समयमै निर्वाचन गराउनुपर्ने तथा राष्ट्र निर्माणमा जिम्मेवार भूमिका निर्वाह गर्नुपर्ने बताएका हुन् ।
उपमहासचिव यादवले तोकिएको समयमा निर्वाचन गराउन सरकार प्रतिबद्ध हुनु पर्ने र सबै दलहरुलाई निर्वाचनमा सहभागी गराउन वर्तमान सरकारले आवश्यक पहल चाल्नु पर्ने धारणा राखे ।
उनले भने, ‘सरकारले आगमी फागुन २१ गते निर्वाचन गराउनुपर्छ । निर्वाचनमा भागलिन हामी तयार छौँ । अन्य पार्टीलाई पनि चुनावमा सहभागी गराउनुपर्छ ।’
सोही कार्यक्रमलाई सम्बोधन गर्दै यादवले यो सरकारले मधेस विरोधी निर्णय ग¥यो भने मधेसका जनता संघर्षमा उत्रिने भएकाले वर्तमान शुसीला कार्की नेतृत्वको सरकारले मधेसका माग र मुद्दामा केन्द्रित रहेर काम गर्नुपर्ने सुझाब दिए ।
गत भदौ २३ र २४ गते देशमा उत्पन्न विसम परिस्थितबाट नेपाली सेनाले संविधानको रक्षा गर्दै राष्ट्रपतिको सहयोगमा नागरिकको सरकार बनाउन सहजीकरण गरेको र तत्कालिन सबै मन्त्रीहरु तथा नागरिकको सुरक्षाका लागि खेलेको रचनात्मक भुमिकाको प्रशंसा गर्दै उनले उक्त कार्यका लागि नेपाली सेनालाई धन्यवाद समेत व्यक्त गरे ।
‘दशैँको खुशी अरूलाई समर्पण’ - रियादका नेपालीबाट क्यान्सर पीडित जयन्तीका लागि सहयोग
रियाद (साउदी अरब)। साउदी अरबको रियादमा कार्यरत नेपालीहरूले क्यान्सर पीडित जयन्ती राई तामाङको उपचारका लागि सहयोग रकम सङ्कलन गरी नेपाल पठाएका छन्।
खोटाङ जिल्ला, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–७ दोर्पा निवासी जयन्ती राई तामाङ फोक्सोको क्यान्सरबाट पीडित भई हाल भक्तपुर क्यान्सर अस्पताल, चितवनमा उपचाररत छिन् । आर्थिक अवस्था कमजोर रहेकाले तामाङ परिवारले देश–विदेशमा रहेका आफन्त र सहयोगी मनहरूलाई आर्थिक सहयोगको अपिल गरेका थिए ।
त्यसपछि रियादमा कार्यरत नेपाली समुदायको साझा संस्था ‘केरि हातेमालो समूह’ र राई समुदायको संस्था ‘किरात राई यायोक्खा साउदी अरब रियाद समिति’ को सक्रियतामा दशैँ विशेष कार्यक्रम आयोजना गरी सहयोग रकम सङ्कलन गरिएको थियो।
कार्यक्रममा उपस्थित नेपालीहरूले स्वेच्छिक रूपमा सहयोग प्रदान गर्दै नेपाली रुपैयाँ जम्मा ८४ हजार ४ सय ६४ सङ्कलन गरिएको समूहका अध्यक्ष राज तोङमालुङ राईले जानकारी दिए।
सहयोग सङ्कलनमा वसन्त राई (ओखलढुङ्गा), किरण राई (खोटाङ), सुरेन्द्र राना (स्याङ्जा–वालिङ) र करण बुढाथोकी (दाङ–तुल्सीपुर) लगायतका सहयोगी मनहरूको उल्लेखनीय आर्थिक योगदान रहेको बताइएको छ।
सङ्कलित रकम क्यान्सर पीडितका भदैनी सन्तोषी राईको नाममा असोज २५ गते नेपाल पठाइएको र परिवारले उक्त रकम प्राप्त गरिसकेको समूहले जनाएको छ।
केरि हातेमालो समूह र किरात राई यायोक्खा रियाद समितिले जयन्ती राई तामाङको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै उहाँलाई सहयोग गर्नुहुने सहयोगी सबैप्रति हार्दिक आभार प्रकट गरेका छन्।
पानीमा फोहोर भेटिएपछि उद्योगलाई दुई लाख जरिवाना
सर्लाही । सप्तरीमा उत्पादन भएको मिनरल पानीमा लेदो भेटिएपछि एक उद्योगलाई दुई लाख रुपैयाँ जरिवाना गरिएको छ । जिल्लाको शम्भुनाथ नगरपालिका–५ मोहनपुरस्थित वीरेन्द्र फुड्स एण्ड बेभरेज इन्डस्ट्रीजले उत्पादन गरेको एक्वा ब्रान्डको बोतलमा लेदो तथा आँखाले देख्न सकिने धुलो–कण (सोलिड एण्ड डस्ट) फेला परेपछि जरिवाना गरिएको हो ।
संयुक्त बजार अनुगमन टोलीले अनुगमनको क्रममा ६० वटा बोतलमा लेदो भेटेपछि ती सबै पानीका बोतल नष्ट गरिएको जिल्ला प्रशासन कार्यालय सप्तरीका प्रशासकीय अधिकृत जितेन्द्र पासवानले जानकारी दिएका छन् ।
खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय राजविराजका प्रमुख राजिन बुढाथोकीका अनुसार दूषित उत्पादन गरेको पुष्टि भएपछि उद्योगलाई दुई लाख रुपैयाँ जरिवाना लगाइएको र बिक्रीमा समेत रोक लगाइएको हो ।
बिपिनसहित चारजनाको शव पहिचान
काठमाडौं । इजरायली सुरक्षा बल (आइडीएफ)ले हमासले फिर्ता पठाएका चार जनाको शव पहिचान गरेको छ । तीमध्ये दुई जना गाई इलोज र बिपिन जोशीको नाम बाहिर आएको छ भने बाँकी दुई जनाको नाम परिवारको अनुरोधमा हाललाई गोप्य राखिएको छ ।
आइडीएफका अनुसार बिपिन जोशीको हत्या युद्धको पहिलो केही महिनामै भएको अनुमान गरिएको छ । गाई इलोज भने अपहरणको समयमा घाइते भएका थिए र पर्याप्त उपचार नपाएकै कारण कैदमा मृत्यु भएको अनुमान रहेको छ ।
विपिनलाई २३ वर्षको उमेरमा किब्बुत्ज अलुमिमको आश्रयस्थलबाट हमासले अपहरण गरेको आइडीएफले जनाएको छ । राष्ट्रिय फरेन्सिक मेडिसिन केन्द्रले मृत्युको परिस्थितिको जाँच पूरा गरेपछि अन्तिम निष्कर्ष निकाल्नेछ ।
साँढे ५ लाखसहित २ जना पक्राउ, वैध रकमलाई अवैध भनी पक्राउ गरेको भन्दै विरोध प्रदर्शन
सर्लाही । सर्लाहीको सीमावर्ती ब्रह्मपुरी गाउँपालिका–४, त्रिभुवननगरमा प्रहरीले वैध रकमलाई अवैध भन्दै बरामद गरेको भन्दै सोमबार सदरमुकाम मलङ्गवामा विरोध प्रदर्शन गरिएको छ।
प्रहरी चौकी त्रिभुवननगरले सोमबार चन्द्रनगर गाउँपालिका–५, मोहनपुरका २५ वर्षीय आलम मन्सुर र ४० वर्षीय विकाउ मन्सुरलाई बीआर–०६ बीटी–३४३६ नम्बरको मोटरसाइकलसहित नगद पाँच लाख ४५ हजार रुपैयाँ लिएर हिँडिरहेको अवस्थामा नियन्त्रणमा लिएको थियो।
सर्लाही प्रहरीका प्रवक्ता डिएसपी सरोज राईका अनुसार नियन्त्रणमा लिइएका व्यक्तिले रकमको स्रोत स्पष्ट पार्न नसकेपछि सो रकमसहित दुवै जनालाई आवश्यक कारबाहीका लागि जिल्ला भन्सार कार्यालय मलङ्गवामा बुझाइएको हो।
तर, मन्सुर परिवार र स्थानीयले भने प्रहरीको कार्यशैलीमाथि प्रश्न उठाएका छन्। उनीहरूको भनाइ अनुसार विवाहको सरसामग्री किनमेलका लागि रकम लिइरहेका बेला प्रहरीले ‘अवैध रकम’ भन्दै लुटपाटजस्तो शैलीमा रकम बरामद गरेको हो।
प्रदर्शनकारीले मलङ्गवास्थित कुमारी बैंकबाट रकम झिकिएको बैंक स्टेटमेन्ट देखाउँदै प्रहरी र प्रशासनविरुद्ध नाराबाजी गरेका थिए। उनीहरूले जिविस चोकमा टायर बाल्दै विरोध प्रदर्शनसमेत गरेका छन्।
मोहनपुरकी अप्सना खातुनका अनुसार छोरीको विवाहका लागि किनमेल गर्न भन्दै उनले आफ्ना नातेदार आलम र विकाउलाई उक्त रकम जिम्मा लगाएकी थिइन्। तर, प्रहरीले वास्तविकता नबुझी हतारमा भन्सारमा बुझाएको आरोप उनले लगाइन्।
प्रहरी प्रवक्ता डिएसपी राईले भने पक्राउ परेका व्यक्तिहरू शंकास्पद अवस्थामा ठूलो परिमाणको नगदसहित भेटिएकाले कानूनी प्रक्रिया अनुसार रकम भन्सारमा बुझाइएको स्पष्ट पारेका छन्। उनले मलङ्गवाबाट पैसा झिकेर त्रिभुवननगरतर्फ लैजाने प्रयोजन पनि शंकास्पद रहेको बताए।
वीरगन्जमा राजस्वको छापा : सुन व्यवसायीको घरबाट ठूलो परिमाणमा अवैध सुन बरामद
पर्सा । वीरगन्जस्थित एक सुन व्यवसायीको घरमा सोमबार राजस्व अनुसन्धान कार्यालय पथलैया, सशस्त्र प्रहरी बल नेपाल र वीरगन्ज भन्सार कार्यालयलगायतका निकायहरूको संयुक्त टोलीले ठूलो परिमाणमा स्रोत नखुलेको सुन बरामद गरेको छ।
राजस्व अनुसन्धान कार्यालयका स्रोतका अनुसार माईस्थानस्थित व्यवसायी अभिषेक सर्राफको घरमा सोमबार बिहानदेखि सुरु भएको छापामारी दिउँसो अबेरसम्म जारी रहेको थियो। टोलीले घरभित्रका विभिन्न कोठा र सुरक्षित स्थानहरूमा लुकाइएका सुनचाँदीका गहना, बन्धकी राखिएका बहुमूल्य वस्तुहरू र कारोबारसँग सम्बन्धित कागजातहरू समेत बरामद गरेको जनाएको छ।
सर्राफ वीरगन्ज–८ मा रहेको अभिषेक ज्वेलर्सका सञ्चालक हुन्। राजस्व चुहावटको आशंकाको आधारमा राजस्व अनुसन्धान कार्यालयले उनको घर, कारोबार स्थल र गोदाममा खानतलासी गरेको थियो । प्रमुख अनुसन्धान अधिकृत हरि प्रसाद शर्माका अनुसार कारोबारसँग सम्बन्धित खाता, विद्युतीय माध्यम र अन्य प्रमाणहरू कब्जामा लिइएका छन्।
अधिकारीहरूले सर्राफलाई पठाएको पत्रमा भनिएको छ, ‘राजस्व चुहावट भएको भन्ने सूचनाको आधारमा यो खानतलासी गरिएको हो। राजस्व चुहावट ‘अनुसन्धान तथा नियन्त्रण’ ऐन, २०५२ बमोजिम आवश्यक प्रमाणहरू कब्जामा लिइनेछ।’
हाल टोलीले बरामद गरेको सुन लगायतका सामग्री माईस्थानमा रहेको सुनचाँदी व्यवसायी संघको कार्यालयमा लगी तौल तथा आवश्यक कानुनी प्रक्रिया अगाडि बढाइरहेको छ। यसै क्रममा अभिषेक सर्राफलाई पनि नियन्त्रणमा लिइएको बताइएको छ।
छापामारीपछि वीरगन्जमा सञ्चालित सुन व्यवसाय र त्यससँग जोडिएका शंकास्पद कारोबारमाथि गम्भीर प्रश्न उठेको छ। स्थानीय व्यवसायीहरूबीच यो घटनाले ठूलो हलचल मच्चाएको छ।
यसैबीच, सुनचाँदी व्यवसायीहरूले छापामारीको विरोध गर्दै नाराबाजी गरेका छन्। उनीहरूले राजस्व अनुसन्धान कार्यालयले व्यवसायीहरूलाई अनावश्यक दुःख दिएको र त्रसित बनाएको आरोप लगाएका छन्। ‘घरमा सामग्री राख्दैमा अनुसन्धान गर्नु अनुचित छ,’व्यवसायीहरूको भनाइ छ ।
राजस्व अनुसन्धान कार्यालयले भने यो कार्य कानूनी प्रक्रिया अनुसार भएको र थप विवरणका लागि अनुसन्धान जारी रहेको जनाएको छ।
सुन तस्करी प्रकरणमा पूर्वसभामुख महराविरुद्ध मुद्दा दायर
काठमाडौं । पूर्वसभामुख एवं माओवादी उपाध्यक्षकृष्णबहादुर महराविरूद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता भएको छ । सोमबारउनी विरुद्ध भन्सार छलेको र संगठित अपाराध गरेको आरोपमा भन्सार ऐन, २०६४ र संगठित अपराध निवारण ऐन, २०७० मा टेकेर जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर भएको हो । महरासँग ८ करोड ५५ लाख २८ हजार ३७४ रूपैयाँ बिगो र ३ वर्षभन्दा बढी अवधि कैद सजाय मागदाबी गरेको छ।
२०७९ सालमा विद्युतीय चुरोट (भेप) मा लुकाएर ल्याएको ९ किलो सुन तस्करीमा महरा संलग्न रहेको आरोप रहेको छ। उनलाई आइतबार पक्राउ गरी अनुसन्धान प्रक्रिया अघि बढाएको हो । यसअघि महरालाई २०८० चैतमा पनि प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरेको थियो ।
