यसरी बन्दैछ इलाका प्रहरी कार्यालय इटहरीको ‘कामचलाउ’ भवन
विराटनगर । गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका कारण कोशी प्रदेशका ५७ वटा प्रहरी कार्यालयहरुको भौतिक संरचनामा क्षति पुग्यो ।
जसमा पनि २४ वटा संरचना पूर्णरुपमा क्षतिग्रस्त भए । त्यसमध्येको एक हो, इलाका प्रहरी कार्यालय इटहरी । आन्दोलनकारीको आगजनीले ध्वस्त बनेको इलाका प्रहरी कार्यालय अहिले प्रहरी चौकी तरहराको ‘शरण’मा छ ।
अगलागी भएपछि पूर्णरुपमा बस्न अयोग्य बनेको इलाकालाई अहिले भने इटहरी ९ रगंशालाको जीवनयोग प्रयोगशाला र ज्येष्ठ नागरिकको दुई तले भवनलाई इलाका प्रहरीको कार्यालयको रुपमा धमाधम बनाउने कार्य भइरहेको छ ।
इलाका प्रहरी कार्यालय इटहरीका प्रमुख डीएसपि सुवास हमालका अनुसार इटहरी उपमहानगरको कार्यपालिका बैठकले रगंशालामा अस्थायी रूपमा ठाउँ उपलब्ध गराएपछि प्रहरी कार्यालय बनाउने काम धमाधम भइरहेको हो ।
इटहरी उपमहानगरले अस्थायी रूपमा इटहरी प्रहरीलाई कार्यालय प्रयोजनको लागि प्रदेश खेलकुद बिकास वोर्डसँग सहजीकरण गरेपछि अहिले ग्लोबल एभरेष्ट कन्ट्रक्सनले धमधम काम गरिरहेको छ । कन्ट्रक्सनका एक प्रतिनिधि भन्छन,‘हामी तीन दिनभित्रै काम सक्नेगरी गरिरहेका छौं ।’
आन्दोलनका कारण आफैं क्षतिग्रस्त रहेको इटहरी उपमहानगरले वडा नं. ९ का अध्यक्ष जितेन थापाको संयोजकत्तवमा प्रहरी प्रशासन पुनस्र्थापना समिति बनाएर काम गरिरहेको हो । समितिले करिव १० लाखको अनुमानित खर्चमा इलाका प्रहरीको भवन बनाउन लागेको हो ।
इटहरी उपमहानगरपालिकाका मेयर हेमकर्ण पौडेलले इलाका प्रहरीले यसै हप्ता काम सकिने र इलाकाले काम धाल्ने जनाएका छन् । इलाकालाई एउटा सवारी साधन समेत व्यवस्थापन गरेर कार्य सञ्चान हुने जनाए ।
उनले नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालयलाई व्यवस्थित गरी नियमित रूपमा राजमार्ग सुरक्षाको साथै ट्राफिक व्यवस्थापन कार्य गर्न सहयोग गरिनेका साथै नगर प्रहरी सेवालाइ ब्यबस्थापन गरी नगर प्रहरीलाई निरन्तर रूपमा बजार अनुगमन तथा नगर सुरक्षामा खटाइने प्रतिबद्धता समेत जनाएका छन् ।
नगरपालिकामा लगाईएको ताला खोलियो, माग पूरा नगरे पुनः तालाबन्दी गर्ने चेतावनी
बाजुरा । बाजुराको पुर्वि उत्तरी क्षेत्रमा पर्ने बुढिनन्दा नगरपालिकामा लगाईएको ताला खोलिएको छ । स्थानीयहरूका माग एक हप्ता भित्र सुनुवाइ हुने निर्णयका साथ ताला खोलिएको हो ।
स्थानीय जनताको मागअनुसार काम गर्न नसकेको भन्दै युवाहरुले नगरपालिकाको कार्यालयमा तालाबन्दी गरेका थिए। कोल्टीमा खानेपानी र विद्युत सेवालाई चुस्त बनाउन माग गर्दै उनीहरुले तालाबन्दी गरेका हुन् ।
युवाहरुले कोल्टी बजारमा तत्काल खानेपानी र नियमित विद्युत सेवाको व्यवस्था गर्न माग गर्दै ताला लगाएका थिए तर नगरपालिकाले एक हप्ता भित्र माग पूरा गर्ने निर्णय अनुसार ताला खोलेको छ ।
ताला खोलिनु पुर्व तालाबन्दी कर्ता र नगर उपप्रमुख राम बहादुर बोहरा बिच छलफल भएको थियो । छलफल पश्चात् एक हप्ता भित्र माग पूरा गर्ने निर्णयका साथ ताला खालिएको हो । एक हप्ता भित्र माग सुनुवाइ भएन भने पुनः तालाबन्दी गर्ने समेत युवाहरूको चेतावनी दिएका छन् ।
कोल्टीमा दुई दशक पहिला नै विद्युत बने पनि जुड्डीगार्ड लघुजलविद्युत आयोजनाको नहर बेला बेला भत्किने र विजुली समेत अनियमित भइरहने हुँदा स्थानीयले सास्ती खेप्न बाध्य छन् । जसले गर्दा मोबाईल चार्ज गर्न समेत उनीलाई सामुदायिक रेडियोमा लाईन लाग्नु पर्ने अवस्था छ।
स्थानीय जनता मुहान अभावले खानेपानीको समस्या भोग्न बाध्य छन् । नगरपालिका पछिल्लो समय विद्युत र खानेपानीको दीगो व्यवस्थापन गर्न जिम्मेवार बनेको देखिन्छ। विजुलीको लागि केन्द्रीय प्रशारण लाइन जडानको अन्तिम तयारीमा पुगेको छ भने खानेपानीका लागि पनि बृहत योजना अघि बढाइएको छ ।
बिपी राजमार्गमा एकतर्फी यातायात सञ्चालन गर्ने तयारी
रामेछाप । असोज १७, १८ र १९ गतेको वर्षाका कारण रोशी खोलामा आएको बाढीले बगाएको बिपी राजमार्ग निर्माण कार्य आज सकिने भएको छ ।
बाढीले सडक बगाएको ठाउँमा डाइभर्सन निर्माण गरी अस्थायी रूपमा एकतर्फी यातायात सञ्चालन गर्ने गरी सडक बनाउने काम सकिने सडक विभागका सुपरिटेण्डेण्ट इञ्जिनियर शुभराज न्यौपानेले जानकारी दिए ।
आफूले बाढीले क्षति पु¥याएको काभ्रेको चौकीडाँडादेखि सिन्धुलीको नेपालथोकसम्मको सडक स्थलगत अनुगमन गरेको बताउँदै न्यौपानेले चौकिडाँडा र नेपालथोकका ठुला डाइभर्सन बनिसकेका र बाँकी क्षति पुगेको ठाउँमा पनि निर्माण कार्य जारी रहेको बताए । सम्भवतः भोलि साँझसम्म, नभए पनि पर्सी बिहानसम्म एकतर्फी सवारी सञ्चालन हुने उनले बताए ।
बाढीले काभ्रेको चौकीडाँडादेखि सिन्धुलीको नेपालथोकसम्म ठाउँ ठाउँमा सडक बगाएको छ । बगाएको सडकमा दुवै तर्फबाट निर्माणको काम भइरहेको छ । रोशीखोलाको पानीलाई सडक बगाएको ठाउँबाट डाइभर्ट गरी खोलाले बगाएको ठाउँ पुरेर सडक बनाउने काम भइरहेको छ ।
देशका पहाडी भू–भागका केही स्थानमा हल्का वर्षाको सम्भावना
काठमाडौं । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर मनसुनी वायुको प्रभाव क्रमशः कमजोर हुँदै गएको छ ।
साथै, सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशको पश्चिमी भाग प्राय र गण्डकी प्रदेशको पश्चिमी भागको थोरै स्थानहरूमा भने अझै पश्चिमी वायुको प्रभाव रहेको महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार आज दिउँसो कोशी प्रदेश लगायत देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मुख्यतया सफा रहने छ । देशका पहाडी भू–भागका एक–दुई स्थान हल्का वर्षाको सम्भावना रहेको छ ।
यस्तै, आज राती भने कोशी प्रदेश लगायत बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मुख्यतया सफा रहने छ ।
कोशी प्रदेश लगायत बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
समसामयिक विषयमा विदेशमा रहेका नेपाली राजदूतहरूसँग प्रधानमन्त्रीको भर्चुअल बैठक
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले विदेशमा रहेका नेपाली राजदूतहरूसँग भर्चुअल बैठक सम्पन्न गरेकी छन् ।
बुधबार साँझ भएको बैठकमा प्रधानमन्त्रीले नेपालमा भएको परिवर्तनको बारेमा सम्बन्धित मुलुक र सरोकारवालालाई जानकारी गराउने र निर्वाचनको लागि विदेशी सरकार र संस्थाहरुसँगको समन्वयको बारेमा निर्देशन दिनु भएको परराष्ट्र मन्त्रालयका प्रवक्ता लोक बहादुर क्षेत्रीले जानकारी दिएका छन् ।
उनले भने, ‘बैठकको क्रममा प्रधानमन्त्रीले मूलत पाँच वटा विषयमा निर्देशन दिनु भएको छ । पहिलो विषय नेपालमा यति ठूलो जुन परिवर्तन भएको छ यसको बारेमा सम्बन्धित मुलुक र सरोकारवालालाई जानकारी गराउने दोस्रो जुन निर्वाचनको मिति तय भएको छ । निर्वाचनमा विदेशी सरकार र संस्थाहरुको सहयोग आवश्यक पर्ने हुदा त्यसको लागि आवश्यक समन्वय गर्न, तेस्रो आन्दोलनको क्रममा पर्यटनको क्षेत्रमा जुन प्रभाव परेको थियो अहिले भने नेपाल खुलेको छ र पर्यटनलगायत आर्थिक गतिविधिहरु सुचारु भईसकेको छ अवस्थामा यो विषयलाई सबै ठाँउमा प्रचार प्रसार गर्न आवश्यक छ भन्ने विषय राख्नु भएको छ ।’
साथै, उनले विदेशमा रहेका नेपालीहरुको अपेक्षा अनुसार छिटो प्रविधिमैत्रि सेवा प्रवाह गर्न र पुननिर्माण कोषको खाताको विषयमा पनि प्रचारप्रसार गर्नको लागि सबै राजदूतहरुलाई प्रधानमन्त्रीले आग्रह गरेको पनि बताए ।
हत्याको आरोपमा एक जना पक्राउ
बर्दिया । बर्दियामा बालिका हत्याको अरोपमा एक युवा पक्राउ परेका छन् ।
गत असोज १७ गते बेपत्ता भई २० गते मृत फेला परेकी १० वर्षीया बालिका भारती (एन्जल) देउवाको हत्याको आरोपमा प्रहरीले गेरुवा गाउँपालिका वडा नं ५ झबही बस्ने २१ वर्षीय समिर तिरुवा सुनारलाई पक्राउ गरेको हो ।
पक्राउ परेका समिर तिरुवाले मृतक बालिका देउवालाई उनले लगाएको गहनाको लोभमा हत्या गरेको स्विकारेको प्रहरीले बताएको छ ।
जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी उपरिक्षक सरोज पौडेलले तिरुवाले हत्या गरेको स्विकारेको र अरु थप अनुसन्धान गर्दा समेत प्रमाणहरू भेटिएको बताए ।
उनका अनुसार आरोपी तिरुवा गेरुवा र राजापुरका विभिन्न सुन पसलमा मृतक बालिकाको सुन बेच्न पुगेका थिए । सो ठाउँमा सुन नबिकेपछि कैलाली सम्म सुन बेच्न पुगेकोको अनुसन्धानबाट खुलेको छ ।
प्रहरीका अनुसार एक्लै साइकल डोर्याएर हिँडेकी एन्जलले सुन लगाएको देखेपछि समिरले समातेको र झाँडीमा लगि घाँटी थिचेर मारेको स्विकारेका छन् । मारिसकेपछि शव छिट्टै सडोस र नेचुरल देखियोस भनेर नांगै बनाएर बालुवामा पुरेको तिरुवाले प्रहरीलाई बताएका छन् । मृत्यु भईसकेपछि बलत्कारको प्रयास गरेको समेत स्विकारेको प्रहरीले जनाएको छ ।
बालिकाको मृत्यु कसरी भएको र बलात्कार भए नभएको पोष्टमार्टम रिपोर्ट पछि मात्र खुलासा हुने प्रहरी उपरिक्षक पौडेलले बताए । उनले घटनाको थप अनुसन्धान भईरहेको र पोष्टमार्टम रिपोर्ट आउन बाँकी रहेको बताए ।
हत्या आरोपी तिरुवालाई आजै बर्दिया आदालतमा उपस्थित गराई पाँच दिनको म्याद थपि अनुसन्धान सुरु गरिएको छ । अनुसन्धानको क्रममा संकास्पद ६ जनालाई नियन्त्रणमा लिई सोधपुछ गरिएको थियो । आज नै बालिकाको शव भेरी अस्पताल नेपालगञ्जमा पोष्टमार्टम गरिएको छ ।
बालिकाको आमा देउमा देउवाले भारतीको हत्या भएको हुनसक्ने भएकोले शवको पोष्टमार्ट गरी घटनाको अनुसन्धान गर्नका लागि इलाका प्रहरी कार्यालय पाताभारमा मंगलबार जाहेरी दिएको इलाका प्रहरी कार्यालय पाताभारका प्रमुख तथा प्रहरी निरिक्षक मदन बहादुर गुरुङले बताए ।
गत असोज १७ गते शुक्रबार करिब ३ बजे गेरुवा गाउँपालिका वडा नं ५ गणेशपुर स्थित आफन्तको घरमा बैवाहिक कार्यक्रममा सहभागी हुने गएकी थिईन् । पछि कपडा फेर्ने भन्दै आफ्नो घर फर्कने क्रममा बाटोबाटै उनी सम्पर्क विहिन भएकी थिइन् ।
बालिका घर नफर्केपछि १७ गते साँझ नै परिवारले प्रहरीलाई जानकारी गराएका थिए । बालिकाको खोजतलास गर्दै जाने क्रममा १८ गते शनिबार सोही वडाको मुलापानी बुढीखोलामा साइकल फेला परेका थियो ।
बाजुराको बुढीनन्दा नगरपालिकामा युवाहरुको तालाबन्दी
बाजुरा । बाजुराको पूर्वी–उत्तरी क्षेत्र अन्तर्गत पर्ने बुढीनन्दा नगरपालिकामा बुधबार स्थानीय युवाहरुले तालाबन्दी गरेका छन् । नगरपालिकाको वडा नम्बर २ कोल्टीका युवाहरुले स्थानीय जनताको मागअनुसार काम गर्न नगरपालिकाले ध्यान नदिएको भन्दै कार्यालयमा तालाबन्दी गरेका हुन् ।
युवाहरुले कोल्टी क्षेत्रमा गुणस्तरीय खानेपानी र नियमित विद्युत सेवा सुनिश्चित गर्न माग गर्दै तालाबन्दी गरेका हुन् । स्थानीयवासीका अनुसार कोल्टीमा लामो समयदेखि खानेपानी र विद्युत आपूर्तिको समस्या गम्भीर बनेको छ। गुणस्तरहीन विद्युत सेवा र लगातारको अवरोधका कारण बजार क्षेत्र प्रायः मैनबत्तीको भरमा चल्ने गरेको बताइन्छ। त्यस्तै, खानेपानी वितरण प्रणाली व्यवस्थित नहुँदा स्थानीयले दैनिक समस्या भोगिरहेका छन् ।
तालाबन्दीमा सहभागी युवाहरुले माग पूरा नभएसम्म तालाखोल्ने पक्षमा नरहेको बताएका छन् । यसैबीच, तालाबन्दीपछि उप–प्रमुख रामबहादुर बोहोरा र युवासमूहबीच छलफल जारी रहेको बताइएको छ ।
सर्लाहीमा वडाध्यक्ष पक्राउपछि स्थानीय आक्रोशित, गोडैता बजार बन्द
सर्लाही । सर्लाहीमा प्रहरीकै निर्देशनमा विवाद मिलाउन पुगेका वडाध्यक्षलाई उल्टै दोषी बनाएर पक्राउ गरिएको भन्दै गोडैता नगरपालिका–७ का स्थानीयवासी आक्रोशित बनेका छन्।
प्रहरीका अनुसार वडाध्यक्ष विनेश कुमार दासमाथि प्रहरी चौकीमा आक्रमण र प्रहरी कुटपिट गरेको आरोप लगाइएको छ। मंगलबार इलाका प्रहरी कार्यालय कर्मैया अगाडिबाट उनलाई पक्राउ गरिएको सर्लाही प्रहरीका सूचना अधिकारी डीएसपी सरोज राईले जानकारी दिए।
उनका अनुसार, असोज १७ गते साँझ गोडैता प्रहरी चौकीमाथि ढुंगामुढा र कुटपिट हुँदा वडाध्यक्षकै नेतृत्वमा समूह पुगेको प्रारम्भिक अनुसन्धानबाट देखिएको छ।
वडाध्यक्ष दासलाई हाल जिल्ला प्रहरी कार्यालय मलंगवाको हिरासतमा राखिएको र कुटपीट, अङ्गभङ्ग, ज्यान मार्ने उद्योग तथा आपराधिक उपद्रो सम्बन्धी मुद्दामा बुधबार सर्लाही जिल्ला अदालतबाट म्याद थप गर्ने तयारी भइरहेको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार आक्रमणबाट गोडैता प्रहरी चौकीका इन्चार्ज प्रहरी नायब निरीक्षक (सई) अवधेश प्रसाद यादवका दाँत भाँचिएका छन्। अन्य पाँच जना प्रहरी समेत घाइते भएका छन्।
ढुंगामुढा र बाँसको प्रहारका कारण तीनवटा मोटरसाइकल क्षतिग्रस्त भएको प्रहरीले दाबी गरेको छ।
विवाद दुर्गा पूजाका लागि चन्दा उठाउने विषयमा भएको बताइएको छ। गोडैता–७ का कारिल यादवलाई सर्लाहीकै रामनगर गाउँपालिका–५ का अनिल राय यादवलगायतले कुटपिट गरेपछि विवाद उत्पन्न भएको थियो।
प्रत्यक्षदर्शीका अनुसार, दुई पक्षबीच विवाद भएपछि जिल्ला प्रहरी कार्यालय सर्लाहीका एसपी योगेन्द्र कुमार खड्काले फोनमार्फत वडाध्यक्ष दासलाई विवाद मिलाउन चौकीमा जान अनुरोध गरेका थिए।
तर, उनी पुगेपछि प्रहरीले भिडियो खिचेर पछि त्यही फुटेजका केही अंशका आधारमा वडाध्यक्षमाथि आक्रमणको आरोप लगाएको दाबी गरिएको छ।
वडाध्यक्ष दासको पक्राउको विरोधमा बुधबार बिहानैदेखि गोडैता बजार पूर्ण रूपमा बन्द गरिएको छ। स्थानीयले निष्पक्ष छानबिन र वडाध्यक्षको तत्काल रिहाइको माग गर्दै प्रदर्शन गरेका छन्।
स्थानीयको भनाइमा प्रहरीको रिपोर्ट एकतर्फी छ, त्यसैले घटनाको निष्पक्ष अनुसन्धान गरी वास्तविक दोषी पहिचान गर्नुपर्ने माग गरिएको छ।
बाढीपहिरोबाट क्षति पुगेका सडकको पुनर्निर्माण गर्न १२ अर्ब ३८ करोड लाग्ने अनुमान
काठमाडौं । असोज १८ देखि २० गते सम्म र त्यस अगाडिको बाढीपहिरोका कारण क्षति पुगेका सडक संरचनाको पुनर्निर्माणका लागि करिब १२ अर्ब ३८ करोड रुपैयाँ लाग्ने अनुमान गरिएको छ ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले यस वर्षको मनसुनजन्य विपद्बाट क्षति पुगेका मुख्य राजमार्ग, वैकल्पिक सडक, बेलिब्रिज र स्थायी पुल पुनर्निर्माणका लागि १० अर्ब ६८ करोड रुपैयाँ लाग्ने अनुमान गरेको छ । गत वर्षको विपद्बाट क्षति पुगेका संरचना पुनर्निर्माणका लागि १ अर्ब ७० करोड रुपैयाँ बाँकी रहेको छ ।
ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकास मन्त्री कुलमान घिसिङले बाढिपहिरोबाट क्षति पुगेर अवरुद्ध भएका सडक सञ्चालन उच्च प्राथमिकतामा राखी मातहतका निकायले काम गरिरहेको बताए । अवरुद्ध सडक सञ्चालन जतिसक्दो छिट्टो सञ्चालनका लागि उपकरण र जनशक्ति परिचालन गरिएको र कामको आफू एवम् मन्त्रालयकातर्फबाट निममित अनुगमन भइरहेको मन्त्री घिसिङले उल्लेख गरेका छन् ।
यस वर्षको मनसुनजन्य विपद्बाट सबैभन्दा बढी क्षति मेची राजमार्गमा पुगेको छ । मेची राजमार्गको पुनर्निर्माणका लागि डेढ अर्ब रुपैयाँ लाग्ने अनुमान गरिएको छ । क्षति भएका कोशी, मध्यपहाडी, हुलाकी, अरनिको, कान्ति, नारायणघाट—मुग्लिङलगायतका राजमार्गको पुनर्निर्माणका लागि झण्डै तीन अर्ब ७७ करोड रुपैयाँ लाग्ने अनुमान छ ।
त्यस्तै, क्षति पुगेका १७ वटा स्थायी पुल पुनर्निर्माणमा चार अर्ब ५२ करोड रुपैयाँ लाग्ने अनुमान छ । क्षति पुगेका र सडक सञ्चालनका लागि राख्नु पर्ने नयाँ पर्ने बेलिब्रिजका लागि ८० करोड रुपैयाँ लाग्ने अनुमान छ । बैकल्पिक सडक पुनर्निर्माणका लागि एक अर्ब ५९ करोड रुपैयाँ लाग्ने अनुमान गरिएको छ ।
कोशी, कर्णाली र सुदुरपश्चिम प्रदेशका थोरै स्थानहरूमा मध्यम वर्षाको सम्भावना
काठमाडौं । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर मनसुनी वायुको प्रभाव क्रमशः कमजोर हुँदै गएको छ ।
साथै, सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशको पश्चिमी भाग प्राय र गण्डकी प्रदेशको पश्चिमी भागको थोरै स्थानहरूमा भने अझै पश्चिमी वायुको प्रभाव रहेको महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार आज दिउँसो कोशी प्रदेश, कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेश लगायत देशका पहाडी भू–भागमा साधारणतया बदली रही बाँकी तराई भू–भागमा आंशिक बदली रहने छ।
यस्तै, कोशी प्रदेश, कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेशका थोरै स्थानहरूमा तथा बाँकी प्रदेशका एक–दुई स्थानमा मेघगर्जन÷चट्याङ सहित मध्यम वर्षाको सम्भावना समेत रहेको महाशाखाले जनाएको छ ।
यसैगरी आज राती भने कोशी प्रदेश र मधेश प्रदेश लगायत देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मुख्यतया सफा रहने महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार कोशी प्रदेश र मधेश प्रदेश लगायत बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ।