महिला यू–१९ एसिया कपमा नेपाल श्रीलंकासँग भिड्दै
काठमाडौं । महिला यु–१९ एसिया कप क्रिकेट प्रतियोगितामा नेपालले आज ‘सुपर चार’मा श्रीलंकासँग प्रतिस्पर्धा गर्दैछ । मलेसियामा जारी प्रतियोगिताको समूह चरणको पहिलो खेलमा पाकिस्तानमाथि ६ विकेटको शानदार जित निकाल्दै सुपर चारमा पुगेको नेपालले बिहीबार श्रीलंकासँग प्रतिस्पर्धा गर्न लागेको हो ।यो खेल नेपाली समय अनुसार आज बिहीबार बिहान ११ः४५ बजे सुरु हुनेछ ।
एक खेल अगाडि नै सुपर चारमा पुगेको नेपालले समूह चरणको अन्तिम खेलमा भने भारतसँग अंक बाँडेको थियो । मंगलबार मलेसियाको बायोमास क्रिकेट मैदानमा नेपालले प्रस्तुत गरेको ९५ रनको लक्ष्य पछ्याइरहेको भारतले ३।१ ओभरमा विकेट नगुमाई २८ रन बनाएको अवस्थामा पानी परेपछि खेल रोकिएको थियो। खेल रोकिएपछि भारत र नेपालले एकएक अंक बाँडेका हुन् ।
यो नतिजासँगै समूह ‘बी’ मा समान ३ अंक रहे पनि नेटरनरेटका भारत विजेता र नेपाल उपविजेता बन्दै सुपर चारमा पुगेका हुन् ।
समूह ‘बी’ मा नेपालसहित भारत र पाकिस्तान सहभागी थिए । एसिया कपको समूह ‘ए’ मा श्रीलङ्का, बङ्गलादेश र मलेसिया छन् । पाकिस्तान र मलेसिया प्रतियोगिताबाट बाहिरिएका छन् । सुपर फोको अर्को प्रतिस्पर्धामा नेपाल शुक्रवार बंगलादेशसँग भिड्नेछ । सुपर चारका शीर्ष दुई टिमले फाइनल खेल्नेछन् । फाइनल भिडन्त आइतवार बिहान हुनेछ ।
इंग्लिस प्रिमियर लिगमा लिभरपुलले साउथह्याम्पटनलाई हरायो
काठमाडौँ । इंग्लिस प्रिमियर लिगको शीर्ष स्थानमा रहेको लिभरपुलले बुधवार लिगकपको सेमिफाइनल यात्रा तय गरेको छ । लिभरपुलले प्रिमियर लिगमा रेलिगेसनबाट बच्न संघर्षरत साउथह्याम्पटनलाई २–१ ले हराएको हो ।
त्यसमा आर्ने स्लटको टिमका लागि डार्विन नुनेज र हार्भे इलिटले गोल गरे । यस्तै आर्सनलले भने क्रिस्टल प्यालेसको चुनौतीलाई ३–२ ले समाप्त पारेको हो ।
आर्सनलको योजितको नायक ग्याब्रिएल जेसस रहे । उनले ह्याट्रिक गरे । ब्राजिली खेलाडीले तीनै गोल दोस्रो हाफमा गरेका हुन् । न्युकासलले भने ब्रेन्टफोर्डलाई ३–१ ले पराजित गरेको हो ।
त्यसमा सान्ड्रो टोनालीले दुई गेल गरे । अब बिहीबार हुने अन्तिम क्वाटरफाइनलमा टोटनहमले म्यानचेस्टर युनाइटेडको सामना गर्नेछ ।
एनपिएलको फाइनलमा पुग्न कर्णाली र जनकपुर भिड्दै
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत बिहीबार दोस्रो क्वालिफायर हुँदैछ । यो भिडन्तमा इलिमिनेटरको विजेता कर्णाली याक्स र पहिलो क्वालिफायरमा पराजित जनकपुर बोल्टस्को रोचक भेट हुनेछ ।
दोस्रो क्वालिफायरको भेट एलिमिलेटरका विजेता कर्णाली याक्स र पहिलो क्वालिफायरमा हारेको टोली जनकपुरका लागि फाइनल पुगेर उपाधि होडमा रहने अन्तिम मौका हो ।
पहिलो क्वालिफायरमा विजेता टोली सुदूरपश्चिम फाइनलका लागि प्रतिस्पर्धी कुरिरहेको छ । दोस्रो क्वालिफायर विजेता टोलीसँग सुदूरपश्चिमले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछ । यो खेल बिहीबार दिउँसो १२ ः ३० बजे कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुनेछ ।
दोस्रो क्वालिफायर खेल जनकपुरका लागि अवसर हो । पहिलो क्वालिफायरमा सुदूरपश्चिमसँग हारेको टोली जनकपुरले दोस्रो क्वालिफायरमा कर्णालीलाई हराउन सके उपाधिका लागि सुदूरपश्चिमसँगै खेल्न पाउनेछ ।
तर जनकपुरका लागि सुदूरपश्चिमसँगका दुई भेट सुखद् छैनन् । पहिलो क्वालिफायरमा सुदूरपश्चिम रोयल्सले जनकपुर बोल्ट्सविरुद्ध ८ विकेटको फराकिलो जित निकाल्यो ।
दोस्रो क्वालिफायरमा प्रतिस्पर्धा गर्न लागेका कर्णाली र जनकपुरको यो दोस्रो भेट हो । लिग चरणको खेलमा जनकपुरले कर्णालीलाई ८ विकेटले हराएको थियो ।
सुदूरपश्चिमलाई जनकपुरले दियो १ सय ४० रनको मध्यम लक्ष्य
काठमाडौं । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग(एनपिएल) मा फाइनल प्रवेशका लागि सुदूरपश्चिम रोयल्सले जनकपुर बोल्ट्सबाट मध्यम लक्ष्य पाएको छ ।
टियु मैदानमा जारी एनपिएलको दोस्रो क्वालिफायर खेलमा जनकपुरले सुदूरपश्चिमलाई जितका लागि १ सय ४० रनको मध्यम लक्ष्य दिएको हो । टस जितेर पहिले ब्याटिङ गरेको जनकपुरले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय ३९ रनको मध्यम योगफल तयार गर्यो ।
जनकपुका लागि जेम्स निशमले सर्वाधिक ४५ रन जोडे । उनले २३ बलमा ३ चौका र ३ छक्का प्रहार गरे । अर्धशतकबाट ५ रनले चुक्दै निशम स्कट कुग्गेलेइनको बलमा बोल्ड हुन पुगे । शुभ कसांकार २४ बलमा २६ रन बनाउँदै रन आउट भए । शुभ हर्ष ठाकरसँग रन लिनेक्रममा तालमेल नमिल्दा आउट हुन पुगे ।
कप्तान अनिल शाहको अनुपस्थितीमा ओपन गर्न आएका लाहिरु मिलन्था १४ बलमा २ चौकाको सहयोगमा १२ रनमा आउट भए । तेस्रो ओभरको पाँचौ बलमा मिलन्था सुदूरपश्चिमका कप्तान दीपेन्द्रसिंह ऐरीको बलमा एलबिडब्लु आउट भए ।
नियमित कप्तान अनिलको स्थानमा टोलीको कप्तानी गरिरहेका आसिफ शेख १० बलमा २ चौकाको सहयोगमा ११ रन जोड्दै आउट भए । कप्तान आसिफ छैठौं ओभरको पाँचौ बलमा सेफ अलि जेबबाट बोल्ड आउट भए ।
हर्ष ठाकर १४ बलमा १२ रन बनाउँदै सेफ अलि जेबको बलमा आउट भए । अरनिको यादव २० बलमा ११ रन जोड्दै दीपेन्द्रको बलमा एलबिडब्लु भए । मोहम्मद मोहसिन ६ बलमा ३ रन बनाउँदै कप्तान दीपेन्द्रको बलमा एलबिडब्लु भए ।
सुदूरपश्चिमका लागि कप्तान दीपेन्द्र सिंह ऐरीले ३, सेफ अलि जेबले २ तथा अभिनास बोहोरा र स्कट कुग्गेलेइनले १ विकेट लिए ।
एनपीएलमा कर्णालीसँग हारेसँगै बाहिरियो चितवन
काठमाडौं । सिद्धार्थ बैक नेपाल प्रिमियर लिग(एनपिएल) को इलिमिनेटर खेलमा कर्णाली याक्सले चितवन राइनोजलाई हराउँदै दोस्रो क्वालिफायरमा स्थान बनाएको छ ।
बुधवार भएको इलिमिनेटर खेलमा चितवनलाई २१ रनले हराउँदै कर्णालीले दोस्रो क्वालिफायरमा स्थान बनाएको हो ।
कर्णालीले फाइनल प्रवेशका लागि दोस्रो क्वालिफायरमा पहिलो क्वालिफायरको पराजित हुने टोलीसँग खेल्नेछ । पहिलो क्वालिफायरमा आजै सुदूरपश्चिम रोयल्स र जनकपुर बोल्ट्स खेल्दैछन् ।
कर्णालीले दिएको १ सय ७६ रनको लक्ष्य पछ्याएको चितवनले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १ सय ५४ रन मात्र जोड्न सक्यो । चितवनका लागि रवि बोपाराले सर्वाधिक ५३ रन बनाए । उनले ३४ बलमा ३ चौका र ४ छक्का प्रहार गरे । प्रतियोगिताको तेस्रो अर्धशतक उनले ३२ बलमा पुरा गरे । अर्धशतक बनाएका बोपारा नन्दन यादवको बलमा गुलशन झाबाट समातिए ।
कप्तान कुशल मल्लले २४ बलमा १ छक्काको सहयोगमा २१ रन जोड्दै विपिन शर्माको बलमा बोल्ड आउट भए । ल्युक बेनकिस्टेन १३ बलमा १ चौका र १ छक्काको सहयोगमा १६ रन जोडे । उनी जिशान मक्शुदबाट बोल्ड आउट भए । दोस्रो विकेटका रुपमा विपिन रावल १० बलमा ४ चौकाको सहयोगमा १८ रनमा जोड्दै आउट भएका थिए । विपिन सोमपाल कामीको बलमा गुलशन झाबाट समातिएका थिए ।
पहिलो ओभरको पाँचौ बलमा हसन इसाखिल १ रन जोड्दै आउट भए । इसाखिल कर्णालीका कप्तान सोमपाल कामीको बलमा गुलशन झाबाट समातिएका थिए । सन्तोष कार्की ८, अमरसिंह राउटेला ९ तथा सोहेल तन्भिर ४ रनमा आउट भए । शरद भेषवाकर १० रनमा नट आउट रहे ।
कर्णालीका लागि जिशान मक्शुदले ३ तथा कप्तान सोमपाल कामी र नन्दन यादवले समान २ विकेट लिए ।
त्यसअघि टियु क्रिकेट मैदानमा बुधवार टस हारेर ब्याटिङको निम्तो पाएको कर्णालीले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय ७५ रनको योगफल तयार गरेको थियो ।
कर्णालीका लागि कोल्सावालाले सर्वाधिक ५३ रन जोडे । उनले ३९ बलमा ६ चौका र २ छक्का प्रहार गरे । एनपिएल डेब्यु खेल खेलिरहेका कोल्सावालाले ३६ बलमा अर्धशतक पूरा गरेका थिए । अर्धशतक बनाए लगत्तैको अर्को ओभरमा कोल्सावाला रवि बोपाराको बलमा शरद भेषवाकरद्वारा समातिए ।
विलियम बोसिस्टोले ३९ बलमा ३ चौका र २ छक्काको सहयोगमा ५२ रन जोडे । एनपिएलको आफ्नो दोस्रो अर्धशतक बोसिस्टोले ३७ बलमा पूरा गरे । अर्धशतक बनाए लगत्तै बोसिस्टो सोहेल तन्भिरको बलमा बोल्ड आउट भए । उनले यस अघि लिग चरणको खेलमा विराटनगर किंग्सविरुद्ध अर्धशतक बनाएका थिए ।
चाल्डिक वाल्टन २२ बलमा ४ चौका र ३ छक्काको सहयोगमा ४६ रन जोड्दै नट आउट रहे । देव खनाल ३ बलमा ३ रन जोड्दै रन आउट भए । दोस्रो ओभरको पहिलो बल सामना गर्ने क्रममा रित गौतम आउट भएका हुन् । इनिङको पहिलो बल सामना गर्ने क्रममा रित सोहेल तन्भिरको बलमा विकेटकिपर विपिन रावलबाट समातिए ।
जिशान मक्शुदले १२ बलमा १ चौका र १ छक्काको सहयोगमा १४ रन जोडे । मक्शुद शरद भेषवाकरको बलमा रञ्जित कुमारबाट क्याच भए । शरदको प्रतियोगितामा यो पहिलो विकेट हो ।
चौधौं ओभरको चौथो बलमा गुलशन झा रनको खाता नखोल्दै कप्तान कुशल मल्लको बलमा बोल्ड आउट भए । चितवनका लागि तन्भिरले २ तथा बोपारा, शरद र कुशलले समान १ विकेट लिए । लिग चरणको खेलमा पनि कर्णालीले चितवनलाई पराजित गरेको थियो ।
कर्णालीले दियो चितवनलाई १७६ रनको लक्ष्य
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिलए) आजको पहिलो इलिमिनेटरमा कर्णाली याक्सले चितवन राइनोजलाई १७६ रनको लक्ष्य दिएको छ ।
टियु क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको कर्णालीले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय ७५ रनको योगफल तयार गरेको हो ।
कर्णालीका लागि कोल्सावालाले सर्वाधिक ५३ रन जोडे । उनले ३९ बलमा ६ चौका र २ छक्का प्रहार गरे ।
एनपिएल डेब्यु खेल खेलिरहेका कोल्सावालाले ३६ बलमा अर्धशतक पूरा गरेका थिए । अर्धशतक बनाए लगत्तैको अर्को ओभरमा कोल्सावाला रवि बोपाराको बलमा शरद भेषवाकरद्वारा समातिए ।
विलियम बोसिस्टोले ३९ बलमा ३ चौका र २ छक्काको सहयोगमा ५२ रन जोडे । एनपिएलको आफ्नो दोस्रो अर्धशतक बोसिस्टोले ३७ बलमा पूरा गरे । अर्धशतक बनाए लगत्तै बोसिस्टो सोहेल तन्भिरको बलमा बोल्ड आउट भए । उनले यस अघि लिग चरणको खेलमा विराटनगर किंग्सविरुद्ध अर्धशतक बनाएका थिए ।
चाल्डिक वाल्टन २२ बलमा ४ चौका र ३ छक्काको सहयोगमा ४६ रन जोड्दै नट आउट रहे । देव खनाल ३ बलमा ३ रन जोड्दै रन आउट भए ।
दोस्रो ओभरको पहिलो बल सामना गर्ने क्रममा रित गौतम आउट भएका हुन् । इनिङको पहिलो बल सामना गर्ने क्रममा रित सोहेल तन्भिरको बलमा विकेटकिपर विपिन रावलबाट समातिए । जिशान मक्शुदले १२ बलमा १ चौका र १ छक्काको सहयोगमा १४ रन जोडे । मक्शुद शरद भेषवाकरको बलमा रञ्जित कुमारबाट क्याच भए । शरदको प्रतियोगितामा यो पहिलो विकेट हो ।
चौधौं ओभरको चौथो बलमा गुलशन झा रनको खाता नखोल्दै कप्तान कुशल मल्लको बलमा बोल्ड आउट भए । चितवनका लागि सोहेल तन्भिरले २ तथा रवि बोपारा, शरद भेषवाकर र कुशल मल्लले समान १ विकेट लिए ।
लिग चरणको खेलमा कर्णालीले चितवनलाई ६ विकेटले पराजित गरेको थियो । यो खेलको विजयी टोलीले फाइनल प्रवेशका लागि आजै हुने पहिलो क्वालिफायरको पराजित हुने टोलीसँग बिहीवार खेल्नेछ ।
एनपिएलमा आज दुई खेल हुदैँ
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) मा आज दुई खेल हुदैँछ । बुधबारको पहिलो इलिमिनेटर खेलमा चितवन राइनोज र कर्णाली याक्स भिड्दै छन् । खेल कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा बिहान ९ बजे सुरु हुनेछ ।
यो खेल दुबै टोलीका लागि ‘नकआउट’ म्याच हुनेछ, यो खेलमा हार्ने टोलीको एनपिएल यात्रा समाप्त हुनेछ भने जित्ने टोलीले क्वालिफायर २ मा आफ्नो स्थान सुरक्षित गर्नेछ ।
चितवन र कर्णालीले लिग चरणमा समान नतिजा हासिल गरेका थिए । दुवै टोलीले सात खेलमा चार जित र तीन हारसहित आठ अंक जोडेका छन् । नेट रनरेटका आधारमा चितवन तेस्रो स्थानमा रहँदै प्लेअफमा पुगेको थियो ।
समूह चरणमा कर्णालीले चितवनलाई ६ विकेटले हराएको थियो, जसले कर्णालीलाई थप आत्मविश्वास दिएको छ ।
यस्तै आजको दोस्रो खेल भने सुदूरपश्चिम रोयल्स र जनकपुर बोल्ट्स बीच हुदैँछ । यो खेलले फाइनलको यात्रा सुनिश्चित गर्नेछ । खेल दिउँसो १ बजे सुरु हुँदैछ ।
यो खेल जित्ने टोलीले सिधै फाइनलमा स्थान सुरक्षित गर्नेछ भने पराजित टोलीले दोस्रो क्वालिफायर मार्फत अन्तिम अवसर पाउनेछ । लिग चरणमा सुदूरपश्चिमले सातमध्ये ६ खेलमा जित र एक हारसँगै १२ अंक जोड्दै शीर्ष स्थान हासिल गरेर क्वालिफायर १ मा स्थान बनाएको हो । जनकपुरले भने पाँच जित र दुई हारको नतिजासहित १० अंक जोड्दै दोस्रो स्थानमा रहेको छ ।
समूह चरणमा सुदूरपश्चिमले जनकपुरलाई ७२ रनले हराएको थियो । जनकपुरका कप्तान अनिलकुमार साहले चोटका कारण बाँकी खेल खेल्न नपाएको अवस्थामा कप्तानीको जिम्मेवारी आसिफ शेखले लिएका छन् ।
महिला एसिया कप : आज नेपाल भारतसँग भिड्दै
काठमाडौं ।एसीसी यु–१९ महिला एसिया कप क्रिकेटमा आज नेपाल भारतसँग भिड्दै छ। खेल मलेसियाको बायुमास ओभलमा नेपाली समय अनुसार मध्याह्न पौने १२ बजे सुरु हुनेछ ।
हिजो भएको समूह ‘बी’को खेलमा नेपालले टेस्ट मान्यता प्राप्त पाकिस्तानलाई ६ विकेटले हराएर सुपर ४ मा स्थान बनाएको थियो । प्रतियोगितामा एशियाका ६ टोली सहभागी छन् । जसमा समूह ‘ए’ मा बंगलादेश, मलेसिया र श्रीलंका छन् भने समूह ‘बी’ मा नेपालस हित भारत र पाकिस्तान छन् । आजको खेलपछि नेपालले सुपर ४ मा समूह ‘ए’को शीर्ष दुई टोलीसँग खेल्नेछ ।
क्रिकेट खेलाडीहरुलाई लन्डनमा अवार्ड
लन्डन । लन्डनस्थित नेपाली व्यवसायीद्वारा सञ्चालित कम्पनी ‘माया सपोर्टेड लिभिङ लिमिटेडले क्रिकेट खेलाडीहरुलाई अवार्ड प्रदान गरेको छ । जस अनुसार वेष्ट फिल्डर अफ द सिजन अवार्ड विशाल बन्जाडे, वेष्ट बलर अफ द सिजन चन्दन रावल, वेष्ट ब्याट्सम्यान अफ द सिजन प्रकाश विष्ट, आउटस्ट्याण्डिङ अफ द सिजन सचिन शर्मा र ट्यालेन्ट अफ द सिजन अवार्ड नवीन तामाङले प्राप्त गरे । ‘सरप्राइज अफ द इयर’ अवार्ड आशिष कुर्मीले पाए ।
प्रमुख अतिथि रोयल बरो अफ ग्रीनवीचका मेयर काउन्सिलर जीत रानाभाटले अवार्ड प्रदान गरेका थिए । सो अवसरमा माया सपोर्टेड लिभिङमा पाँच वर्ष काम गरिसकेका कर्मचारीहरुलाई पनि विशेष सम्मान गरिएको थियो।
माया सपोर्टेड लिभिङका प्रवन्ध निर्देशक राज पाण्डेले कार्यक्रम सफल बनाउन सहयोग गर्ने सहयोगी, प्रायोजक, अतिथि लगायत सबैप्रति आभार व्यक्त गरे । उनले ट्रफी डिजाइनमा सहयोग गरेका माया ब्राण्ड एम्बेसडर तथा कर्णाली याक्सका कोचप्रति पनि कृतज्ञता व्यक्त गरे ।
माया क्रिकेट अवार्डका लागि नेपाल फुड्स, नेपाली बियर, एचटिआर केयर एण्ड रिक्रुटमेन्ट, ह्याम्सटेड इयर क्लिनिक, क्याटलिष्ट आइटी र किया ओभल स्टेडियमले प्रायोजन गरेका हुन्।
फेब्रुअरी २०१९, २१ तारिखदेखि सेवा दिन थालेको माया सपोर्टेड लिभिङका अहिले १० वटा शाखा छन् । मायाले लर्निङ डिसेबलिटी, अटिजम, मेन्टल हेल्थ (डिमेन्सिया) जस्ता बिरामीलाई ब्रिटिश सरकारको मापदण्ड अनुसार विशेष केयर सेवा प्रदान गर्छ । तस्विरहरुः कुशल श्रेष्ठ
कर्णालीलाई हराएको सुदूरपश्चिमले क्वालिफायर खेल्ने
काठमाडौं । पहिलो संस्करणको नेपाल प्रिमियर लिग(एनपिएल)को प्लेअफ समिकरण पूरा भएको हो । सोमबार एनपिएलको लिग चरणको खेलको समाप्ती सँगै प्लेअफ समिकरण पूरा भएको छ । लिगको अन्तिम खेलमा सोमबार सुदूरपश्चिमले कर्णाली याक्सलाई हराएपछि प्लेअफको समिकरण तय भएको हो ।
कर्णाली याक्सविरुद्ध ६ विकेटको जित निकाल्दै सुदूरपश्चिम रोयाल्सले शीर्ष स्थानमा पुगेको छ । जितससँगै सुदूरपश्चिमले सात खेलमा १२ अंकका साथ शिर्ष स्थानमा रहेको छ ।
यस्तै चितवन राइनोज र कर्णाली याक्सले एलिमिनेटर खेल्ने भएका छन् । लिग चरणको खेलपछि सुदूरपश्चिम ७ खेलबाट १२ अंक जोडेर शीर्ष स्थानमा रह्यो । समान खेलबाट १० अंक जोडेर जनकपुर दोस्रो भयो । सुदूरसँग पराजित भएपनि कर्णाली चौथो हुँदै प्लेअफ पुगेको हो । चितवनले यसअघि नै ७ खेलबाट ८ अंक जोडेर प्लेअफ पुगिसकेको छ ।
लिग चरणको शीर्ष स्थानमा रहेर सुदूरपश्चिम रोयल्स, दोस्रो स्थानमा रहेर जनकपुर बोल्ट्स, तेस्रो स्थानमा रहेर चितवन राइनोज तथा चौथो स्थानमा रहेर कर्णाली याक्स प्लेअफमा छनोट भए ।
एनपिएलको प्लेअफको पहिलो खेलमा बुधबार बिहान ९ बजे हुने इलिमिनेटर खेलमा तेस्रो स्थानको चितवन तथा चौथो स्थानको कर्णालीबीच खेल हुनेछ । यस खेलको विजेता टोलीले फइनल प्रवेशका लागि दोस्रो क्वालिफायरमा प्रवेश पाउँने छ । पराजित हुने टोली भने प्रतियोगिताबाट बाहिरिने छन् ।
बुधवार दिउँसो १ बजे प्लेअफको दोस्रो खेल हुनेछ । प्लेअफको दोस्रो खेलमा पहिलो क्वालिफायर खेल हुनेछ । पहिलो क्वालिफायर खेलमा शीर्ष स्थानमा रहेको सुदूरपश्चिम र दोस्रो स्थानको जनकपुर बोल्ट्सबीच खेल हुनेछ ।
पहिलो क्वालिफायर खेलको विजेता टोलीले फाइनलमा स्थान पक्का गर्नेछन् । पहिलो क्वालिफायरमा पराजित हुने टोलीले फाइनलमा स्थान बनाउँने अर्को मौका पाउँने छ । पहिलो क्वालिफायरको पराजित टोली तथा इलिमिनेटर खेलको विजेता टोलीबीच दोस्रो क्वालिफायर खेल हुनेछ ।
दोस्रो क्वालिफायर खेलको विजेता टोलीले फाइनलमा स्थान बनाउँनेछ । पहिलो संस्करणको एनपिएलको फाइनल खेल आगामी शनिवार मध्यान्ह १२ बजे हुनेछ ।




































