कमाने प्रिमियर लिग क्रिकेट प्रतियोगितामा ८ वटा टिम सहभागी हुँदै
हेटौँडा । तेस्रो संस्करणको कमाने प्रिमियर लिग क्रिकेट प्रतियोगितामा ८ वटा टिम सहभागी हुने भएको छ । आइतवार क्लबले खेलाडी लिलामी कार्यक्रमको आयोजना गर्दै प्रतियोगितामा ८ वटा टिमहरू सहभागी हुने जानकारी गराएको छ।
कमाने क्रिकेट क्लबका अध्यक्ष किशोर खत्रीको सभाध्यक्ष तथा हेटौँडा उपमहानगरपालिका वडा नम्बर–८ का वडाध्यक्ष रामकृष्ण थापाको प्रमुख आतिथ्यमा लिलामी कार्यक्रम भएको हो ।
हेटौँडा–८ स्थित चन्द्रोदय माध्यमिक विद्यालयको चौरमा आउँदो माघ १६ गतेदेखि १९ गतेसम्म प्रतियोगिता हुनेछ । कार्यक्रममा नगर खेलकुद विकास समितिका सदस्य यज्ञबहादुर रायको पनि उपस्थिति रहेको थियो ।
हेटौंडा उपमहानगरपालिका ८ नम्बर वडा कार्यालयको सहयोग रहने प्रतियोगितामा कमाने अर्ना, कमाने हन्टर्स, कमाने टाइगर, कमाने बुल्स, कमाने रोयल्स, कमाने लायन्स, कमाने राइनोज र कमाने राइडर्स गरी ८ वटा टिमको सहभागिता रहनेछ ।
खेलाडी लिलामी कार्यक्रममा सहभागी भएका ९८ जना खेलाडीलाई क्याटग्योरी ‘ए’देखि ‘पी’सम्म छुट्याएर छुट्टाछुट्टै टिममा सहभागी गराइएको छ । क्लबले जिल्लास्तरीय, प्रदेशस्तरीय तथा राष्ट्रियस्तरको प्रतियोगितामा भाग लिएका ८ जना खेलाडीलाई पनि प्रतियोगितामा सहभागी गराउन लागेको छ ।
लिलामी कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै वडाध्यक्ष थापाले वैदेशिक रोजगारी तथा उच्च शिक्षा हासिल गर्ने बहानामा युवा विदेशीने क्रम बढेकोमा चिन्ता व्यक्त गर्नुभएको छ । युवा पुस्तालाई विदेशीनबाट रोक्नका लागि खेलकुदमा सहभागी गराएर राष्ट्रियस्तरमा र्पुयाउन आवश्यक रहेको उनले औँल्याए । प्रतियोगिताको तेस्रो संस्करणसम्म आइपुग्दा वडाको स्तरलाई बढाएको आफूले मूल्याङ्कन गरेको उनले बताए ।
कमानेभित्रका खेलाडीहरूको पहिचान बढाउन, क्रिकेट खेलको क्रेज बढाउन, खेलाडीहरुबिच भातृत्वको सम्बन्ध कायम गराउन, खेलाडीलाई राष्ट्रियस्तरमा र्पुयाउन र क्रिकेट खेलको महत्वबारे बुझाउनका लागि यस वर्ष पनि क्लबले प्रतियोगितालाई निरन्तरता दिन लागेको अध्यक्ष खत्रीले बताए । उनका अनुसार प्रतियोगिताका लागि वडा कार्यालयले २ लाख रुपैयाँ बजेट छुट्याएको छ ।
प्रतियोगिताका लागि प्रथम पुरस्कार जनकपुर बोल्ट्सका ओप्नर उत्सव सिग्देलले प्रायोजन गर्ने घोषणा गर्नुभएको छ । उहाँले क्लबले गर्न लागेको प्रतियोगिताबारे यस वर्षबाट मात्र थाहा पाएको भन्दै पुरस्कार सौजन्य गर्ने निर्णय गरेको बताए ।
प्रतियोगिताको उपाधि विजेता टिमले ५० हजार रुपैयाँ र उपविजेता टिमले २५ हजार रुपैयाँसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी, सर्वोत्कृष्ट ब्याट्सम्यान र सर्वोत्कृष्ट बलरलाई पनि पुरस्कार प्रदान गरिने जनाइएको छ । गत वर्ष भएको दोस्रो संस्करणको कमाने टि–१० प्रिमियर लिग क्रिकेट प्रतियोगिताको उपाधि कमाने राइडर्सले जितेको थियो ।
छैठौँ बकैया फुटबल प्रतियोगिताको तयारी तीव्र भोलि शुक्रवार खेल तालिका सार्वजनिक गरिने
मकवानपुर । छैठौँ संस्करणको बकैया कप फुटबल प्रतियोगिताको तयारी तीव्र भएको छ । आगामी पुस २४ गतेबाट सुरु हुने प्रतियोगिताको तयारी तीव्र र अन्तिम चरणमा पुगेको बकैया खेलकुद विकास समितिका संयोजक विजय लामा थिङले बताएका छन् ।
बकैया–३ स्थित बकैया रङ्गशालामा हुने प्रतियोगिताको खेल तालिका भोलि शुक्रवार दिउँसो २ बजे सार्वजनिक गरिने संयोजक लामाले बताए ।
यस संस्करणको प्रतियोगितामा सिनियर टिम तथा जुनियर टिमको फरक–फरक प्रतिस्पर्धा हुने भएको छ । सिनियर टिममा वडा नम्बर ३, ४, ५, ६, ७, ८, ९ र १० गरी ८ टिम सहभागी हुनेछन् भने जुनियरतर्फ वडा नम्बर १, २, ११, र १२ गरी ४ टिम रहनेछन् ।
यस वर्ष जुनियर टिमबाट विजेता हुने टिम आगामी वर्ष सिनियर टिममाच बढुवा हुनेछ भने सिनियर टिमको अन्तिम टिम घटुवा हुने संयोजक लामाले बताए ।
माघ १ गतेसम्म सञ्चालन हुने प्रतियोगिता नकआउट चरणमा खेलाइने जनाएको छ । प्रतियोगितामा सिनियरतर्फको विजेता टिमले १ लाख रुपैयाँसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् भने उपविजेता टिमले ५० हजार रुपैयाँ प्राप्त गर्नेछन् ।
यस्तै यस्तै जुनियरतर्फको विजेताले ५० हजार रुपैयाँसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् भने उपविजेताले २५ हजार रुपैयाँ प्राप्त गर्नेछन् ।
एन्फा महिला फुटबल लिगको अन्तिम चरणका खेल बिहीबारबाट
काठमाडौँ । एन्फा महिला फुटबल लिगको अन्तिम चरणका खेलहरू बिहीबारबाट सुरु हुदैँछ । बुधवार काठमाडौँमा पत्रकार सम्मेलनको आयोजना गर्दै एन्फाले बिहीबार हुने पहिलो खेलमा त्रिभुवन आर्मी क्लब र बागमती यूथ क्लबबिच खेल हुन लागेको जानकारी गराएको हो । खेल एन्फा कम्प्लेक्समा दिउँसो ३ बजे सुरु हुनेछ ।
सोही क्रममा नेपाल एपिएफ क्लबको कोच जिवेश पाण्डेले खेलको तयारी राम्रो भएको भन्दै खेलको लागि एकदम तयार रहेको बताए । उनले भने, ‘हामी खेलको लागि एकदम तयार छौ । हामीले तयारी राम्रो नै गरिरहेका छौ ।’
यस्तै, सोही टिमका कप्तान अनिता बस्नेतले पहिला भएका गल्तीहरूलाई नदोहोराई टाइटलको लागि खेल्ने बताए । उनले भनिन्, ‘तालिमहरू सबै राम्रो नै भईरहेको छ । पहिला भएका गल्तीहरूलाई नदोहोराई राम्रो तरिकाले खेल्ने छौ । टाइटलको लागि नै भनेर खेल्ने हो । मेरो गल्तीहरूलाई सिखको रूपमा लिएको छु र अब राम्रो गर्ने योजना छ ।’
यसको साथै, त्रिभुवन आर्मी क्लबका कोच कृष्ण ठगुन्नाले पनि उपाधि जित्ने अपेक्षा राखेको बताए । उनले भने, ‘तयारी सबै राम्रो नै छ । उपाधि जित्ने अपेक्षा छ ।’
यस्तो घरेलु लिगहरूले खेलाडीहरूलाई प्रोत्साहन गर्ने भन्दै यस्तो खेल आवश्यक भएको सोही टिमकी कप्तान पुनम जर्घा मगरले बताइन् । उनले भनिन्, ‘टिमको तयारी राम्रो नै भईरहेको छ र राम्रो खेल्ने आशा गरेका छौ । उपाधि पाउने नै प्रयास हो । घरेलु लिगहरू धेरै हुनुपर्छ जस्तो लाग्छ मलाई । हाम्रो किप्परहरू राम्रो नै छ ।’
अखिल नेपाल फुटबल संघ(एन्फा)को आयोजनामा हुने अन्तिम चरणको लिगमा ५ टोलीले प्रतिस्पर्धा गर्नेछन् । गत भदौमा भएको दोस्रो चरणको लिगमा सहभागी दश टोलीबाट शीर्ष ५ टोली अन्तिम चरणका लागि छनोट भएका थिए ।
माघ १६ गतेसम्म चल्ने अन्तिम चरणको लिगमा विभागीय टोलीहरू नेपाल पुलिस, नेपाल एपिएफ क्लब र त्रिभुवन आर्मी क्लब, वालिङ नगरपालिका र बागमती यूथ क्लबले सहभागीता जनाउँदै छन् ।
अन्तिम चरणका लागि छनोट भएको कोशी प्रदेशले आर्थिक कारणले प्रतियोगिताबाट नाम फिर्ता लिएको थियो । कोशीले नाम फिर्ता लिएपछि पहिलो चरणको लिग छैठौँ स्थानमा रहेको बागमती यूथ क्लबले अन्तिम चरण खेल्ने अवसर पाएको छ । अन्तिम चरणमा २४ खेलहरू हुनेछन् ।
बकैया गाउँपालिका स्तरीय खुला कराते प्रतियोगिता सम्पन्न
मकवानपुर । बकैया गाउँपालिका स्तरीय खुला कराते प्रतियोगिता २०८१ सम्पन्न भएको छ । सोमवार बकैया गाउँपालिका वडा न. ११ खेलकुद विकास समितिको आयोजना तथा बकैया गाउँपालिका वडा न. ११ को व्यवस्थापनमा भएको गाउँपालिका स्तरीय खुला कराते प्रतियोगिता सम्पन्न भएको हो ।
बागमती प्रदेशका युवा तथा खेलकुद मन्त्री मीनकृष्ण महर्जनले उद्घाटन गरेका एक दिने बकैया गाउँपालिका स्तरीय कराते प्रतियोगितामा ७ स्वर्णसहित बकैया गाउँपालिकाको छतिवन कराते डोजो टिम प्रथम हुँदै ट्रफी हातपार्न सफल भएको छ ।
छतिवनले ७ स्वर्ण सहित ५ रजत तथा १ कास्य पदक हात पारेको थियो तेसैगरी ७ स्वर्ण हात्तीसुँडे डोजो टिम दोस्रो हुन सफल भयो दोस्रो भएको हात्तीसुँडेले ७ स्वर्ण सहित १ रजत ८ कास्य हात पार्यो भने ३ स्वर्ण पदक ,९ रजत पदक र ९ कास्य जित्दै सिमान डोजो टिम तेस्रो भएको थियो ।
बकैया गाउँपालिका खेलकुद विकास समिति संयोजक विजय लामा थिङको अध्यक्षतामा सम्पन्न प्रतियोगिता समारोहमा बागमती प्रदेशका युवा तथा खेलकुद मन्त्री मीनकृष्ण महर्जनले बकैया गाउँपालिकाले खेलकुद क्षेत्रको विकासको लागि सहयोग गर्दै आएको बताएका छन् । उनले बकैया गाउँपालिकामा आयोजना हुने सबै खेललाई समान महत्व दिएको धारणा व्यक्त गरे ।
ड्रागन डुंगा दौड प्रतियोगिता आजदेखि पोखरामा शुरु
पोखरा । पर्यटकीय नगरी पोखराको फेवातालमा नेपाल– चीन मैत्रीपूर्ण ड्रागन डुंगा दौड प्रतियोगिता आजदेखि शुरु भएको छ । नेपाल र छिमेकी मुलुक चीनबिचको सांस्कृतिक तथा जनस्तरसम्मको सम्बन्ध सुमधुर बनाउँदै नेपालको पर्यटन प्रवर्धन गर्ने उद्देश्यले आयोजित दोस्रो संस्करणको नेपाल– चीन मैत्रीपूर्ण ड्रागन डुंगा दौड प्रतियोगिता आजदेखि पोखराको फेवातालमा शुरु भएको हो ।
गण्डकी प्रदेश सरकार, पोखरा महानगरपालिका, नेपालस्थित चिनियाँ दूतावास र नेपाल पर्यटन बोर्डले संयुक्त रूपमा आयोजना गरेको उक्त प्रतियोगितामा पाल, चीन र सिङ्गापुरका२० वटा समूह सहभागी छन् ।
सोमवारसम्म सञ्चालन हुने प्रतियोगितामा भाग लिन चीनको छेन्दुबाट विमान चार्टर गरी १२९ खेलाडी पोखरा आएका छन् ।
प्रतियोगितामा चीनको आठ, सिङ्गापुरको एक तथा बाँकी ११ टोली नेपालका विभिन्न ठाउँबाट सहभागी हुने भएका छन् । प्रतियोगितामा गण्डकी, बागमती, कर्णाली, त्रिभुवन आर्मी क्लब, ड्रागन बोर्ट गण्डकी, बेगनास टोली, रुपाताल टोली र नेपाल राफ्टिङ एजेन्सी एसोसिएसन (नारा) सहित नेपालका ११ टोलीको सहभागिता रहने छ ।
प्रतियोगितामा ५०० सय र २०० मिटर दौडका विजेता टोलीलाई पाँच हजार अमेरिकी डलर, उपविजेतालाई दुई हजार डलर र तृतीय हुने टोलीलाई एक हजार दुई सय अमेरिकी डलर पुरस्कार प्रदान गरिने छ ।
छैठौँ संस्करणको बकैया कप फुटबल प्रतियोगिता पुस २४ गतेबाट हुने
मकवानपुर । छैठौँ संस्करणको बकैया कप फुटबल प्रतियोगिता आगामी पुस २४ गतेबाट सुरु हुने भएको छ । शुक्रवार एक सूचना जारी गर्दै बकैया गाउँपालिका खेलकुद विकास समितिका संयोजक विजय लामा थिङले पुस २४ गते देखि गोल्डकप सुरु हुने जानकारी गराएका हुन् ।
बकैया–३ स्थित हात्तीसुँडे खेल मैदानमा हुने प्रतियोगितामा सिनियर टिम तथा जुनियर टिमको फरक–फरक प्रतिस्पर्धा हुने भएको छ । सिनियर टिममा वडा नम्बर ३, ४, ५, ६, ७, ८, ९ र १० गरी ८ टिम सहभागी हुनेछन् भने जुनियरतर्फ वडा नम्बर १, २, ११, र १२ गरी ४ टिम रहनेछन् ।
यस वर्ष जुनियर टिमबाट विजेता हुने टिम आगामी वर्ष सिनियर टिममाच बढुवा हुनेछ भने सिनियर टिमको अन्तिम टिम घटुवा हुने संयोजक लामाले बताए ।
माघ १ गतेसम्म सञ्चालन हुने प्रतियोगिता नकआउट चरणमा खेलाइने जनाएको छ । प्रतियोगितामा सिनियरतर्फको विजेता टिमले १ लाख रुपैयाँसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् भने उपविजेता टिमले ५० हजार रुपैयाँ प्राप्त गर्नेछन् । यस्तै यस्तै जुनियरतर्फको विजेताले ५० हजार रुपैयाँसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् भने उपविजेताले २५ हजार रुपैयाँ प्राप्त गर्नेछन् ।
प्रतियोगितामा सहभागिताका लागि पुस १९ गतेसम्म वडाहरूलाई टिम दर्ताका लागि समय दिइएको छ भने २० गते खेल तालिका सार्वजनिक गर्ने संयोजक लामाले बताए ।
जनकपुर बोल्टसका खेलाडीलाई जनकपुरमा स्वागत
जनकपुर । पहिलो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) को च्याम्पियन जनकपुर बोल्ट्सका खेलाडीहरु जनकपुरधाम आइपुगेका छन् । मधेश प्रदेशको सबै आठ जिल्लामा चार दिने ‘ट्रफी परेड’ गरिरहेको जनकपुर बोल्टसका खेलाडीलाई शुक्रवार जनकपुरधाममा भव्य स्वागत गरिएको छ ।
आजदेखि सुरु भएको परेडको पहिलो दिन धनुषास्थित राम जानकी मन्दिरमा तय गरिएको छ । त्यस्तै भोलि शनिवार महोत्तरी, सर्लाही र रौतहटमा ट्रफी परेड गरिनेछ । तेस्रो दिन आइतवार बारा र पर्सामा परेड गरिने र अन्तिम दिन अर्थात् सोमवार सिराहा र सप्तरीमा ट्रफी परेड गरिनेछ ।
गत शनिवार भएको फाइनलमा सुदूरपश्चिम रोयल्सलाई पराजित गर्दै जनकपुरले पहिलो संस्करणको एनपिएलको उपाधि जितेको थियो ।
बागमती प्रदेश लिग फुटबलमा आज दुई खेल हुँदै
मकवानपुर । बागमती प्रदेश लिग फुटबलको दोस्रो दिन आज दुई खेल हुँदैछ । अखिल नेपाल फुटबल संघ (एन्फा) को आयोजना तथा मकवानपुर जिल्ला फुटबल संघको संयोजनमा भएको प्रतियोगिताको पहिलो खेलमा आज समूह डि मा रहेको बट्टर युथ क्लब नुवाकोटले टाइगर टिम दोलखाको सामना गर्नेछ ।
मध्यान्न १२ः३० बजेबाट सुरु हुने खेलमा दुबै टोली जित निकाल्दै प्रतियोगितामा सुखद सुरुवात गर्न चाहन्छ ।
यस्तै आजै दिउँसो ३ः०० बजेबाट सुरु हुने दोस्रो खेलमा समूह ए मा रहेका थिमी युथ क्लब भक्तपुर र ब्लु अल्पाइन सिन्धुलीबिच प्रतिस्पर्धा हुँदैछ । दुबै टोली उच्च मनोबल लिएर मैदान उत्रिँदै छन् ।
यसअघि प्रतियोगिता अन्तर्गत हिजो भएको उद्घाटन खेलमा चित्लाङ फुटबल क्लब काठमाडौंले माउन्ट एभरेस्ट एफसी काभ्रेलाई ३–० गोल अन्तरले पराजित गर्दे सुखद सुरुवात गरेको थियो ।
प्रतियोगितामा बिजेता तथा उपविजेताले नगद दुई लाख र एक लाख शिल्ड तथा प्रमाणपत्र प्राप्त गर्नेछन् । प्रतियोगितामा ३१ लाख खर्च हुने अनुमान आयोजकले गरेको छ ।
लिगमा मकवानपुरको पदमपोखरी युवा क्लब, बिएफसी चितवन, धुनिवेशी युथ समाज धादिङ, बट्टर युथ क्लब नुवाकोट, चित्लाङ फुटबल क्लब काठमाडौं, थिमी युथ क्लब भक्तपुर, माउन्ट एभरेस्ट एफसी काभ्रे, चौतारा स्पोर्टिङ सिन्धुपाल्चोक, टाइगर टिम दोलखा, ब्लु अल्पाइन सिन्धुली र ललितपुरको क्लब सहभागी हुनेछन् ।
जनकपुर बोल्ट्स टीम बिहीबार जनकपुरधाम आउने
काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल)का विजेता जनकपुर बोल्ट्स टीम बिहीबार जनकपुरधाम आउने भएको छ । जनकपुर बोल्ट्स टीम बिहीबार साँझ जनकपुरधाम आउने र शुक्रवार रजौलस्थित रामजानकी स्टेडियमबाट खेलाडीहरूको सम्मानमा नगरपरिक्रमा गरिने जिल्ला क्रिकेट संघ धनुषाका अध्यक्ष शोभाकान्त पाण्डे ले जानकारी दिए ।
उनले सोही साँझ जानकी मन्दिरमा ट्रफीसमेत प्रदर्शन गरिने बताए । खेलाडीहरूको सम्मानमा बाजागाजासहितको टोली जनकपुरधाम विमानस्थल पुग्ने छ । जिल्ला क्रिकेट संघले टोलीलाई भव्य स्वागतसहित नगरपरिक्रमा गराउने जनाएको छ । टीमलाई स्वागत तथा सम्मान गर्न जानकी मन्दिर, राजदेवी मन्दिर, युवा क्लबहरू, प्याबसन, एनप्याबसन धनुषा, उद्योग वाणिज्य संघ धनुषालगायत विभिन्न संघ संस्थाले तयारी गरेको छ ।
नेपालमा पहिलो पटक आयोजना गरिएको एनपीएल प्रतियोगिताको विजेता जनकपुर बोल्ट्स टीम बनेको छ ।जनकपुर बोल्ट्सले शनिवार काठमाडौँ स्थित त्रिभुवन विश्वविद्यालयको खेलमैदानमा भएको एनपीएलको फाइनल खेलमा सुदूरपश्चिम टीमलाई ५ विकेटले पराजित गर्दै उपाधि कब्जा गरेको थियो ।
बुढासुब्बा गोल्डकपको २५औँ संस्करण माघमा
८ पुस, धरान । अन्तर्राष्ट्रिय आमन्त्रण बुढासुब्बा गोल्डकप फुटबल प्रतियोगिताको २५ औँ संस्करण आगामी माघ १९ गतेदेखि २६ गतेसम्म हुनेभएको छ । धरान फुटबल क्लबद्धारा आज आयोजित पत्रकार सम्मेलनमा क्लबका अध्यक्ष प्रताप तामाङले उक्त कुराको जानकारी गराएको हो ।
धरान उपमहानगरपालिका–१६ रङ्गशालामा हुने प्रतियोगितामा १० वटा क्लबको सहभागी रहनेछ । प्रतियोगितामा एनआरटी क्लब काठमाडौँ, लिग च्याम्पियन चर्च ब्वाइज क्लब, नेपाल पुलिस क्लब, भुटान फुटबल एकेडेमी, त्रिभुवन आर्मी क्लब, इटहरी जागृति क्लब, युके एफसि भारत, मच्छि«न्द्र क्लब काठमाडौँ, काँकडभिट्टा फुटबल ट्रेनिङ सेन्टर झापा र धरान फुटबल क्लब रहने जनाइएको छ ।
प्रतियोगिताको विजेताले ट्रफी सहित रु १० लाख र उपविजेताले नगद रु पाँच लाख पुरस्कार पाउने छन् । उत्कृष्ट खेलाडीले नगद रु एक लाख र प्रत्येक खेलको प्लेयर अप दि म्याच हुनेले रु १५ हजार, सर्वाधिक गोलकर्ताले रु ३५ हजार, उत्कृष्ट गोलरक्षक, उत्कृष्ट डिफन्स, उत्कृष्ट मिड फिल्डर, उत्कृष्ट स्ट्राइकर, उत्कृष्ट प्रशिक्षकले जनही रु २५ हजार पुरस्कार पाउने अध्यक्षले बताउनुभयो ।
प्रतियोगिता रु ८० लाख १० हजार खर्च हुने अनुमान गरिएको छ भने रु एक करोड दुई लाख २५ हजार आम्दानी हुने लक्ष्य राखिएको क्लबका महासचिव नवीन राईले बताउनुभयो ।
प्रतियोगितामा उपविजेताले पाउने रु पाँच लाख धरान उपमहानगरपालिका–१५ निवासी हाल पोर्चुगलमा रहनुभएको अरुण राईले प्रदान गर्ने अध्यक्ष तामाङले बताउनुभयो । प्रतियोगिताको गत वर्षको संस्करणमा एनआरटी क्लब काठमाडौँ विजेता र जिल्ला फुटबल सङ्घ मोरङ उपविजेता भएका थिए ।































