सुदूरपश्चिमले कर्णालीविरुद्ध टस जितेर बलिङ गर्दै
काठमाडौं । पहिलो संस्करणको सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग(एनपिएल) को समूह चरणको अन्तिम खेलमा सुदूरपश्चिम रोयल्सले कर्णाली याक्सविरुद्ध टस जितेको छ ।
टियु क्रिकेट मैदानमा भएको टस जितेर सुदूरपश्चिमका कप्तान दीपेन्द्रसिंह ऐरीले बलिङ रोजेका हुन् । प्लेअफमा स्थान बनाउन कर्णालीलाई यो खेल सामान्य अन्तरको जित आवश्यक छ । यदी सामान्य अन्तरले पराजित भए पनि कर्णालीले प्लेअफमा स्थान बनाउने छ ।
नेपाल कबड्डी लिग (एनकेएल) को ड्राफ्ट : ६ टिममा ८४ खेलाडी
काठमाडौँ । नेपाल कबड्डी लिग (एनकेएल) को पहिलो संस्करणको लागि टिमका प्रशिक्षक, मार्की खेलाडीको घोषणासँगै खेलाडीको ड्राफ्ट आइतवार सफलतापूर्वक सम्पन्न गरिएको छ । ड्राफ्टबाट ६ टिमले ८४ खेलाडी छनोट गरेका छन् ।
एस्ट्रोनिक्स म्यानेजमेन्ट प्रालिले आयोजना गर्ने एनकेएलमा ६ सहरका ६ टिमले प्रतिस्पर्धा गर्नेछन् । जसमा विराटनगर ब्यान्डिट्स, जनकपुर नाइट्स, काठमान्डु माभरिक्स, पोखरा लेकर्स, हिमालयन रेइडर्स र धनगढी वाइल्डक्याट्स छन् ।
विराटनगरले लोकबहादुर विष्ट, जनकपुरले पार्वती राई, काठमान्डुले सरोजकुमार सिंह, पोखराले विष्णुदत्त भट्ट र धनगढीले महेश बोहोरालाई प्रशिक्षक बनाएका छन् । बुटवलको हिमालयन रेइडर्सले दुई जना प्रशिक्षक राखेका छन् । जसमा सन्दीप पन्त र भारतका पोथुगान्ती सतीशकुमार छन् ।
१९ औं एसियाली खेलकुदमा नेपाली महिला टिमले कांस्यपदक जित्दाकी प्रशिक्षक पार्वतीले पुरुष टिम सम्हाल्ने संभववत् पहिलो नेपाली प्रशिक्षक बन्ने अवसर पाएकी छन् भने भारतका सतीशकुमार प्रो कबड्डी लिगका पूर्वखेलाडी हुन् ।
प्रशिक्षकपछि मार्की खेलाडी घोषणा गरिँदा विराटनगरमा कल्याण भुजेल, धनगढीमा पदमबहादुर विष्ट, हिमालयनमा गणेश पार्की, जनकपुरमा रामु टमाटा, काठमान्डुमा घनश्याम रोका मगर र पोखरामा प्रदीप मिजार परेका छन् । भारतको प्रो कबड्डी लिगमा आबद्ध घनश्याम नेपाली राष्ट्रिय टिमका कप्तान पनि हुन् ।
प्रशिक्षक र मार्कीको छनोटपछि एनकेएलमा खेलाडीको ड्राफ्ट गरियो । ड्राफ्टमा ९२ जना नेपाली र २५ बिदेशी गरी कुल १ सय १७ खेलाडी रहेका थिए । बिदेशी खेलाडीमा थाइल्यान्ड, श्रीलंका, बंगलादेश र केन्याका थिए ।
प्रशिक्षकहरूले आ–आफ्नो रणनीतिअनुसार ड्राफ्टबाट ६ टिमले ८४ खेलाडी लिएका छन् । जसमा ६६ नेपाली र १८ जना विदेशी खेलाडी छन् । प्रत्येक टिममा १४ खेलाडी छन् । हरेक टिमले २ देखि ४ जनासम्म विदेशी खेलाडी लिएका छन् ।
कार्यक्रमका प्रमुख अथितीका राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङले भने, ‘निजी क्षेत्रबाट देशको खेलकुदको लागि ठूलो योगदान भइरहेको छ । ठूला कार्यक्रम आइरहेका छन् । यसमा एनकेएल पनि आएको छ । एनकेएलको सुरुआतले कबड्डीलाई नेपालमा विकास, विस्तार र व्यावसायिकताको मार्गमा लाने विश्वास छ ।’
आयोजक एस्ट्रोनिक्स म्यानेजमेन्टका चेयरमेन अमित बेगानीले भने, ‘मधेशमा निक्कै लोकप्रिय खेलको रुपमा रहेको कबड्डीलाई हामीले नयाँ उचाई दिनको लागि एनकेएल ल्याएका छौं । यसले कबड्डी खेलेरै पनि खेलाडीले केही गर्नसक्छ भन्ने देखाउन चाहान्छौँ । वास्तवमै हामी कबड्डीलाई एनकेएलमार्फत् व्यावसायिक खेलको रूपमा स्थापित गर्न चाहान्छौँ ।’
शानदार ब्याटिङका बावजुद पनि जनकपुर चितवनसँग पराजित
काठमाडौं । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग(एनपिएल) मा जनकपुर बोल्ट्सलाई चितवन राइनोजले हराएको छ । शनिबार भएको खेलमा चितवनले जनकपुरमाथि ३२ रनको जित हासिल गरेको हो ।
चितवनले दिएको १ सय ८१ रनको बलियो लक्ष्य पछ्याएको जनकपुरल १८औं ओभरको अन्तिम बलमा अल आउट हँुदै १ सय ४८ रन मात्र बनाउन सक्यो । जनकपुका लागि जिमी निशमले सर्वाधिक ६५ रन बनाए ।
उनले २४ बलमा ५ चौका र ६ छक्का प्रहार गरे । प्रतियोगिताको पहिलो अर्धशतक निशमले १८ बलमा पूरा गरेका थिए । प्रतियोगितामा यो सबैभन्दा कम बलमा बनेको अर्धशतक हो । यसअघि विराटनगर किंग्सविरुद्ध सुदूरपश्चिम रोयल्सका कप्तान दिपेन्द्रसिंह ऐरीले २३ बलमा अर्धशतक पूरा गरेका थिए ।
आसिफ शेख २३ रन बनाउँदै अमरसिंह राउटेलाको बलमा आउट भए । शुभल कसांकार १५ तथा मोहम्मद मोहसिन १३ रनमा आउट भए ।
बासिल हमिदले १४औं ओभरमा २४ रन खर्चिएपछि खेल खेल जनकपुरको पक्षमा गएको थियो । तर, १५औं ओभरमा सोहल तन्भिरले जिमी निशम सहित २ विकेट लिए पछि जनकपुर हार तर्फ पुग्यो ।
चितवनका लागि सोहेल तन्भिर र कप्तान कुशल मल्लले समान २ तथा रिजन ढकाल र अमरसिंह राउटेलाले समान १ विकेट लिए ।
त्यसअघि टियु मैदानमा टस जितेर ब्याटिङ गरेको चितवनले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १ सय ८० रनको योगफल तयार गरेको थियो । चितवनका लागि कप्तान कुशलले ७२ रन जोडेका थिए । उनले ४१ बलमा ३ चौका र ७ छक्का प्रहार गरेका थिए ।
उनी जिमी निशमको बलमा आउट भए । प्रतियोगिताको आफ्नो पहिलो अर्धशतक उनले २८ बलमा पूरा गरे । १७औं ओभरको दोस्रो बलमा कुशलले जीवनदान पाएका थिए । जिमी निशमको बलमा बाउन्ड्रिमा आसिफ शेखले क्याच ड्रप गरेका थिए । त्यस समयमा कुशलले ५४ रन जोडेका थिए ।
मोहसिनको तेह्रौं ओभरमा चितवनका कप्तान कुशलले तीन छक्का प्रहार गर्दै खेल आफ्नो पक्षमा ल्याएका थिए । त्यसपछिको चौधौं ओभरमा अरनिको यादवलाई कप्तान मल्लले २० रन प्रहार गरे । सुरुवाती ११ बलमा ७ रन बनाएका कप्तान कुशलले पछिल्लो ३० बलमा ६५ रन जोडे ।
कुशलले रवि बोपारासँग मिलेर चौथो विकेटका लागि १ सय १३ रनको शतकीय साझेदारी गरेका थिए । प्रतियोगितामा चौथो विकेटका लागि भएको यो सर्वाधिक साझेदारी हो । बोपाराले ३२ बलमा ५ चौका र १ छक्काको सहयोगमा ४४ रन जोडे । बोपारा ललित राजवंशकिो बलमा आउट भए ।
ओपनर हसन इसाखिल १९ बलमा ४ चौका र १ छक्काको सहयोगमा २८ रन बनाउँदै आउट भए । इसाखिल हर्ष ठाकरको बलमा विकेटकिपर लाहिरु मिलन्थाबाट समातिए । सन्तोष कार्कीले १२ बलमा १४ तथा ओपनर विपिन रावलले १० बलमा ३ रन जोडे ।
जनकपुका लागि ललित राजवंशीले २ तथा हर्ष ठाकर, मोहम्मद मोहसिन र जिमी निशमले समान १ विकेट लिए । लिग चरणको अन्तिम खेलमा जित सहित चितवनको प्लेअफ सम्भावना बलियो बनेको छ । पराजित जनकपुर १ खेल अगावै प्लेअफ पुगिसकेको थियो ।
आजै भएको पहिलो खेलमा पोखरा एभेन्जर्सलाई पराजित गर्दै काठमाडौं गुर्खाजले प्लेअफ प्रवेश सम्भावना बलियो बनाएको छ । प्लेअफमा प्रवेशका लागि कर्णाली याक्स, काठमाडौं गुर्खाज, सुदूरपश्चिम रोयल्स र चितवन राइनोजबीच ३ स्थानको लागि प्रतिस्पर्धा रहेको छ ।
चितवनको जितका कारण पोखरा र विराटनगर प्रतियोगिताबाट बाहिरिएका छन् । चौथो स्थानमा रहेको कर्णालीको ८ अंक रहेको छ । एक खेल खेल्न बाँकी विराटनगर र पोखराले बाँकी रहेको दुवै खेल जितेपनि ६ अंक मात्र हुनेछ । र, उनीहरुको शीर्ष ४ मा पर्ने सम्भावना नरहेको हुँदा दुवै टोली बाहिरिएका हुन् ।
पोखराले काठमाडौंलाई दियो १ सय ३९ को मध्यम लक्ष्य

टियु क्रिकेट मैदानमा जारी खेलमा काठमाडौंले पोखराबाट १ सय ३९ रनको मध्यम लक्ष्य पाएको हो ।
टस हारेर ब्याटिङको निम्तो पाएको पोखराले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय ३८ रनको मध्यम योगफल तयार गरेको हो ।
पोखराका लागि रेमन राइफरले नट आउट रहँदै सर्वाधिक ४१ रन जोडे । उनले ३० बलमा १ चौका र ३ छक्का प्रहार गरे । दिनेश खरेलले २५ बलमा ६ चौका र १ छक्काको सहयोगमा ३८ रन जोडे । दिनेश टिमको स्कोर ४४ रन हुँदा राशिद खानबाट एलबिडब्लु सिकार भए । दिलिप नाथले २४ बलमा २ छक्काको प्रहार गर्दै आउट भए । २७ रन बनाएका दिलिप राशिदकै बलमा बोल्ट आउट भए ।
आन्द्रेश गौस रनको खाता नै नखोल्दै जेहार्ड एरास्मसको बलमा माइकल लेभिटबाट समातिए । कप्तान कुशल भुर्तेल ७ रन बनाउँदै राशिदकै बलमा बोल्ड आउट भए । यसै खेलमा एनपिएल डेब्यु गरेका भारतीय घरेलु खेलाडी आकर्षित गोमिल ८ रन बनाउँदै माइकल लेभिटको एलबिडब्लु सिकार भए ।
१७औं ओभरमा कप्तान करण केसीले माइकल लिस्क तथा नारायण जोशीलाई पेभिलियनको बाटो देखाए पछि काठमाडौं पोखराविरुद्ध पुरै हाबी भएको थियो । १९औं ओभरको तेस्रो कप्तान करणले विपिन खत्रीलाई ४ रनमा आउट गराएका थिए । काठमाडौंका लागि राशिद खान र कप्तान करण केसीले समान ३ तथा जेर्हाड एरास्मस र माइकल लेभिटले समान १ विकेट लिए ।
यस खेलमा विजयी हुने टोलीको प्लेअफ प्रवेशको सम्भावना बलियो रहने छ ।
एनपीएलमा आज पनि दुई खेल हुँदै
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत शनिबार (आज) दुई खेल हुँँदैछन् । बिहान पोखरा एभेन्जर्स र काठमाडौं गुर्खाज प्रतिस्पर्धा गर्दैछन् ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा यो खेल बिहान ९ बजे सुरु हुनेछ । पोखरा कुशल भुर्तेलको कप्तानीमा मैदानमा हुनेछ भने काठमाडौं कप्तान करण केसीको कप्तानीमा मैदानमा हुनेछ ।
प्लेअफ दौडको कठिन मोडमा पुगेका काठमाडौं र पोखराको खेललाई महत्त्वका साथ हेरिएको छ ।
यसैगरी एनपीएल अन्तर्गत शनिवार नै हुने अर्को खेलमा चितवन र जनकपुर भिड्दैछन् । यो खेल दिउँसो १ बजे सुरु हुनेछ । जनकपुर अनिल शाहको कप्तानीमा मैदानमा हुनेछ भने चितवन कप्तान कुशल मल्लको कप्तानीमा मैदानमा हुनेछ ।
अबको एक हारले प्लेअफ दौड कठिन बन्ने चितवनलाई आजको खेल जित्नैपर्ने दबाब छ । तालिकाको शीर्ष स्थानको जनकपुर भने आजको खेलमा जित निकाल्दै तालिकाको दोस्रो स्थानको सदूरपश्चिमसँग अंक बढाउन चाहन्छ । जनकपुरले १० अंक जोडिसकेको छ भने दोस्रो स्थानको सुदूरपश्चिमको आठ अंक छ ।
चितवन भने ६ अंकसहित चौथो स्थानमा छ । चितवन र जनकपुरका लागि आजको खेल नै अन्तिम हो । सुदूरपश्चिमले दुई खेल खेल्न बाँकी छ भने कर्णालीले एक खेल खेल्न बाँकी छ ।
एनपील तालिकामा पोखरा र काठमाडौँको समान चारचार अंक छ । विराटनगरको चार अंक भए पनि रनरेटका आधारमा अगाडि छ ।
चितवनविरुद्ध विराटनगरको फराकिलो जित
काठमाडौं । प्लेअफको गणितीय सम्भावना जिवित राख्दै विराटनगर किङ्सले चितवन राइनोजविरुद्ध फराकिलो जित हासिल गरेको छ । शुक्रबार भएको खेलमा विराटनगरले चितवनलाई ५१ रनले पराजित गरेको हो ।
जितसँगै विराटनगरले प्लेअफ पुग्ने सम्भावना कायमै राखेको छ । एनपीएलमा विराटनगरको यो दोस्रो जित हो । विराटनगरले दिएको १८२ रनको लक्ष्यमा जवाफी ब्याटिङ गरेको चितवनले पूरै ओभर खेलेर ६ विकेटको क्षतिमा १३० रन बनायो ।चितवनका लागि अमर रौतेलाले ४२ रन जोडे । सन्तोष कार्कीले २८ र रवि बोपाराले २० रन बनाए । कप्तान कुशल मल्लले २५ रन बनाए ।
विराटनगरका लागि कप्तान सन्दीप लामिछानेले २ तथा लोकेश बम, बसिर अहमद र सुवास भण्डारीले १–१ विकेट लिए । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जितेर ब्याटिङ थालेको विराटनगरले पूरै ओभर खेलेर ५ विकेटको क्षतिमा १८१ रन बनाएको थियो । विराटनगरका लागि बासिर अहमदले ६८ रन जोडे । उनले ४४ बलमा ४ चौका र ४ छक्का प्रहार गरे ।
ओपनर मार्टिन गप्टिलले ३५ बलमा १ चौका र ४ छक्का प्रहार गर्दै ४५ रन बनाए । राजेश पुलामीमगरले ३३ रन बनाए । उनले १ चौका र ३ छक्का प्रहार गरे । चितवनका लागि रिजन ढकालले दुई तथा कप्तान कुशल मल्ल, सोहेल तानबिर र बासिल अहमदले एकरएक विकेट लिएका छन् । अङ्कतालिकामा चितवन ६ अङ्कसहित चौथो स्थानमा रहेको छ । विराटनगरले ४ अङ्कसहित प्ले अफमा पुग्ने झिनो सम्भावना राखेको छ ।
मेयर शाह र प्रमुख प्रशासकीय अधिकृत गुरागाइँको नेतृत्वमम मैत्रीपूर्ण फुटबल सम्पन्न
काठमाडौं । मैत्रीपूर्ण फुटबल खेलमा काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) ले प्रमुख प्रशासकीय ११ विरुद्ध १ गोल गरेका छन् । ३० औँ महानगर दिवसको अवसरमा आज सैनिक मुख्यालय भद्रकालीको फुटबल ग्राउण्डमा भएको खेलमा उनले दोस्रो हाफमा गोल गरेका हुन् ।
खेलमा प्रमुख ११ को टिमले ५ गोल र प्रमुख प्रशासकीय अधिकृत ११ को टिमले २ गोल गरेको छ । खेलमा जनप्रतिनिधिको नेतृत्व गर्दै प्रमुख बालेन्द्र शाह (बालेन) र कर्मचारीको नेतृत्व प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँले खेल खेलेका थिए । महानगरपालिकाका उपप्रमुख सुनिता डंगोलले रेफ्रीलाई फुटबल दिएर खेल सुरु गरेकी हुन् ।
प्रमुख ११ कातर्फबाट प्रमुख शाहसँगै सन्तोष ढुङ्गेलले २ गोल, नविन भण्डारीले १ गोल र विनय शाक्यले १ गोल गरेका थिए । प्रमुख प्रशासकीय अधिकृत ११ का तर्फबाट राजु पौडेलले २ गोल गरेका थिए ।
महानगर दिवसका अवसरमा भोलि परम्परागत बाजा गुरु सम्मान, विद्यालयका विद्यार्थीस्तरीय हाजिरी जवाफ प्रतियोगिता र शिक्षक स्तरीय कविता बाचन प्रतियोगिताका विजेतालाई पुरस्कार तथा प्रमाण पत्र प्रदान गरिनेछ ।
मंसिर २९ गते शनिवार विहान ८ बजेदेखि सैनिक मञ्च टुँडिखेलमा औपचारिक कार्यक्रम हुनेछ । त्यस अवसरमा सबै वडाबाट सांस्कृतिक झाँकी प्रदर्शन हुनेछ । त्यसै अवसरमा विभिन्न क्षेत्रगत रुपमा योगदान दिने विभिन्न क्षेत्रका व्यक्तित्वहरुको सम्मान कार्यक्रम हुनेछ । ९ बजेदेखि टुँडिखेल मैदानमा स्थानीय मौलिक परिकार तथा पेय पदार्थहरुको स्टल, एक वडा एक नमूना कार्यक्रमअन्तर्गत उत्पादित सामान तथा वस्तुको प्रदर्शनी हुनेछ । दिउँसो ३ बजेदेखि व्याण्ड तथा कलाकारहरुको सांगीतिक प्रस्तुति हुनेछ ।
एनपीएल : काठमाडौंसँग लुम्बिनी १८ रनले पराजित
काठमाडौँ । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग(एनपीएल) मा बुधवारको दोस्रो खेलमा काठमाडौँ सँग लुम्बिनी १८ रनले पराजित भएको छ ।
काठमाडौँले दिएको एकसय ४ रनको लक्ष्य पछ्याएको लुम्बिनी १९.२ ओभरमा अलआउट भएको हो । लुम्बिनीले सबै विकेट गुमाउँदै ८५ रन मात्रै बनाउन सफल भएको छ ।
टियु क्रिकेट मैदानमा काठमाडौँका कप्तान करण केसीले टस जितेर ब्याटिङ रोजेका थिए । लिग चरणमा कर्णाली याक्ससँग खेल्न बाँकी लुम्बिनीले चितवन राइनोजलाई ३३ ले मात्रै हराउन सक्यो । बाँकी खेलमा हार बेहोरेको लुम्बिनी प्रतियोगिताबाट बाहिरिने पहिलो टोली बन्यो ।
यता, काठमाडौंले भने दोस्रो जित हासिल गरेको छ । काठमाडौँले यसअघि कर्णाली याक्सलाई तीन विकेटले पराजित गरेको थियो ।
सुदूरपश्चिमका बलर चम्कँदा जनकपुरको पहिलो लज्जासपद हार
काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट प्रतियोगिता अन्तर्गत अहिलेसम्म अपराजित रहँदै आएको जनकपुर बोल्ट्सलाई सुदूरपश्चिम रोयल्सले आज भएको खेलमा हराएको छ ।
बुधवार पहिला ब्याटिङ गर्दै सुदूरपश्चिम रोयल्सले १२३ रन बनाएको थियो । जवाफी ब्याटिङमा उत्रिएको जनकपुर बोल्ट्स ५१ रनमा सीमित रहँदै सुदूरपश्चिमले जनकपुरलाई ७२ रनले हराएको हो ।
यो एनपिएलमा बनेको सबैभन्दा कम स्कोर हो । यसअघि पोखरा एभेन्र्जसले चितवन राइनोजविरुद्ध ७४ रनमा अल आउट भएको थियो ।
जनकपुरका लागि जोशुवा ट्रम्पले सर्वाधिक १३ रन जोडे । उनले १३ बलमा १ चौका र १ छक्का प्रहार गरे । जनकपुरका अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् । लाहिरु मिल्न्था ७ रन बनाउँदै आउट भए ।
ओपनर आसिफ शेख ४, कप्तान अनिल शाह रनको खाता नखोल्दै र हर्ष ठाकर ५ रन बनाउँदै आउट भए । सुदूरपश्चिमका लागि कप्तान दीपेन्द्र सिंह ऐरी र इशान पान्डेले समान २ तथा स्कट कुगेलेन, नरेन साउद, सेफ अलि जेब र हर्मित सिंहले समान १ विकेट लिए ।
त्यसअघि टियु क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १ सय २३ रनको सामान्य योगफल तयार गरेको थियो ।
सुदूरपश्चिमका लागि ओपनर विनोद भन्डारीले सर्वाधिक ३३ रन जोडेका थिए । तेस्रो विकेटका रुपमा आउट भएका विनोदले ३५ बलमा ३ चौका र १ छक्का प्रहार गर्दै शेर मल्लको बलमा जोशुवा ट्रम्पबाट क्याच आउट भएका थिए ।
सेफ अलि जेबले २१ बलमा २ छक्काको सहयोगमा २१ रन बनाएका थिए । पहिलो विकेटका रुपमा सेफ आठौं ओभरको चौथो बलमा आउट भए ।
सेफ हर्ष ठाकरको बलमा अरनिको यादवबाट क्याच भए । इशान पान्डेले १४ बलमा १ चौका र १ छक्काको सहयोगमा १७ रन जोडे । इशान किशोर महतोको बलमा जिमी निशमबाट समातिए ।
१८औं ओभरमा जनकपुरका तीव्र गतिका बलर किशोर महतोले ४ विकेट लिएपछि टोली पूर्णत खेलमा हाबी बनेको थियो । पावर प्लेमा सुदूरपश्चिमले कुनै विकेट नगुमाई ४२ रन जोडेको थियो । पछिल्लो १४ ओभरमा ८१ रन जोड्दै ९ विकेट गुमाएको थियो ।
दोस्रो विकेटका रुपमा यसै खेलबाट एनपिएल डेब्यु गरेका हर्मीत सिंह आउट भएका थिए । सिंहले ३ बलमा १ रन मात्र जोड्न सके । सिंहलाई शेर मल्लले बोल्ड आउट गरे ।
चौथो विकेटका रुपमा कप्तान दीपेन्द्रसिंह ऐरी रनको खाता नखोल्दै आउट भए । सुदूरपश्चिमको पाँचौ खेल जारी रहँदा कप्तान दीपेन्द्र पहिलो पटक रनको खाता नखोल्दै आउट भएका हुन् ।
पाँचौ विकेटका रुपमा बे्रन्डन मक्मलेन ११ रन बनाउँदै आउट भए । १७ बलको सामना गरेका मक्मलेन अरनिकोको बलमा यसै खेलमा एनपिएल डेब्यु गरिरहेका जोशुवा ट्रम्पबाट समातिए ।
आरिफ शेख ६, स्कट कुगेलेन ७ नरेन साउद ३ रनमा आउट भए । अभिनास बोहोरा २ तथा नरेश बुढाऐर ९ रनमा नट आउट रहे । जनकपुरका लागि किशोरले ४ तथा अरनिको यादव र शेरले समान २ तथा हर्ष ठाकरले १ विकेट लिए ।
पाँचौ खेलमा चौथो जित हात पार्दै सुदूरपश्चिम शीर्ष स्थानमा उक्लिएको छ । पराजित जनकपुर भने पाँचौ खेलमा पहिलो हारका साथ दोस्रो स्थानमा झरेको छ । जनकपुर हारका साथ २ खेल अगाबै प्लेअफ पुग्न चुकेको छ ।
सांसदहरूले खेले फुटसल
काठमाडौँ । प्रतिनिधिसभा र राष्ट्रिय सभाका सदस्यहरू बीच मंगलबार मैत्रीपूर्ण फुटसल प्रतियोगिता आयोजना गरिएको छ । मंगलबार काठमाडौँको भृकुटीमण्डपस्थित फुटसलमा १८औं संघीय संसद सेवा दिवसको अवसरमा मैत्रीपूर्ण खेल आयोजना गरिएको हो ।
प्रतिनिधि सभाको टिमको नेतृत्व गरेका सभामुख देवराज घिमिरेलेले १८ औं संसद सेवा दिवसको अवसरमा आयोजित सप्ताहव्यापी कार्यक्रम अन्तर्गत आज मैत्रीपूर्ण फुटसल प्रतियोगिता आयोजना गरेको बताए । उनले सो खेल केवल खेल मात्र नभइ युवाहरूलाई खेलमा प्रोत्साहन गर्न मद्दत पुग्ने विश्वास व्यक्त गरे ।
उनले भने, संघीय संसद सेवा दिवस हो । स्थापना भएको १८ वर्ष पुगेको अवसरमा सप्ताहव्यापी विभिन्न कार्यक्रम गरिरहेको छौँ । त्यही कार्यक्रम अन्तर्गत आज फुटसल प्रतिनिधिसभा र राष्ट्रिय अर्को टिम भएर म्याच चलीरहेको छ । टिम क्याप्टेन प्रतिनिधिसभाको म छु र उता राष्ट्रिय सभाको अध्यक्ष हुनुहुुन्छ । यो खेल केवल खेल मात्र होइन यसले युवाहरूलाई खेलमा प्रोत्साहन गर्छ ।’


































