अमेरिकालाई हराउँदै भारत विश्वकपको सुपर आठमा
काठमाडौँ, ३१ जेठ I आइसिसी टि ट्वान्टी विश्वकप क्रिकेट प्रतियोगितामा अमेरिकालाई पाखा लगाउँदै भारत विजयी भएको छ ।
अमेरिकाको न्यूयोर्कमा गए राति सम्पन्न खेलमा अमेरिकालाई सात विकेटले हराउँदै भारत विश्वकपको सुपर आठमा पुगेको हो । लगातार तेस्रो जित हात पारेको भारत छ अङ्क जोड्दै समूह ‘ए’ बाट सुपर ८ मा प्रवेश गर्ने पहिलो टोली बन्यो । सोही समूहमा रहेको अमेरिका तीन खेलबाट चार अङ्कसहित दोस्रो स्थानमा छ । पाकिस्तान र क्यानाडाको समान दुई अङ्क छ । आयरल्यान्डले अङ्क खाता खोल्न सकेको छैन ।
खेलमा अमेरिकाले निर्धारित २० ओभरमा आठ विकेट गुमाउँदै एक सय ११ रनको लक्ष्य प्रस्तुत गरेको थियो । जवाफमा भारतले १८ दशमलव ३ ओभरमा तीन विकेट गुमाउँदै लक्ष्य पूरा गरेको अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।
भारतका लागि सूर्यकुमार यादवले ४९ बलमा दुई चौका र दुई छक्कासहित सर्वाधिक ५० रनको योगदान दिए । त्यस्तै ऋषभ दुबेले ३१ रन बनाए भने ऋषभ पन्तले १८ रनको योगदान दिए ।
अमेरिकाका सौरभ नेत्रवालकरले दुई विकेट लिए भने अली खानले एक विकेट झारे । त्यसअघि टस हारेर पहिला ब्याटिङ गरेको अमेरिकाका ओपनर सायन जहान्गिरलाई अर्शदीप सिंहले पहिलो बलमै आउट गर्दै दबाब दिएका थिए । त्यसपछि नितिश कुमारले २३ बलमा सर्वाधिक २७ रनको योगदान गरे भने अर्का ओपनर स्टेभन टेलरले ३० बलमा २४ रन बनाए ।
भारतका अर्शदीप एक्लैले चार विकेट लिए भने हार्दिक पाण्डेयाले दुई तथा एक्सर पटेलले एक विकेट लिए ।
आइसिसी टि–२० विश्वकप २०२४ को सुपर आठमा अष्ट्रेलिया प्रवेश
काठमाडौँ, ३० जेठ I अष्ट्रेलियाले नामिबियालाई हराउँदै आइसिसी टि–२० विश्वकप २०२४ को सुपर आठमा पुगेको छ । वेस्टइन्डिजको सरभिभियन रिचर्ड्स रङ्गशालामा भएको खेलमा अस्ट्रेलियाले नामिबियालाई नौ विकेटले पराजित गर्दै विश्वकपको सुपर आठमा प्रवेश गरेको हो । समूह ‘बी’ मा रहेको अष्ट्रेलियाले लगातर तेस्रो जित निकाल्दै विश्वकपको सुपर आठमा पुगेको हो । अष्ट्रेलियाले यसअघि ओमानलाई ३९ र इंग्ल्याण्डलाई ३६ रनले हराएको थियो ।
अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार नामिबियाले जितका लागि दिएको ७३ रनको सामान्य लक्ष्य पछ्याएको अष्ट्रेलियाले पाँच दशमलव चार ओभरमा एक विकेट गुमाउँदै पूरा गर्यो । अष्ट्रेलियाका लागि ट्रविस हेडले सर्वाधिक ३४ रनको योगदान दिए । उनले १७ बलमा पाँच चौका र दुई छक्कासहित ३४ रनमा अविजित रहेका हुन् । त्यस्तै डेविड वार्नरले २० जोड्दा कप्तान मिचेल मार्सले १८ रन बनाए । नामिबियाका डेविड विजाले एक विकेट लिए ।
त्यसअघि टस हारेर पहिला ब्याटिङको गरेको नामिबिया १७ ओभरमा सबै विकेट गुमाउँदै ७२ रनमा समेटिएको थियो । नामिबियाका लागि कप्तान जेराल्ड इरास्मसले ४३ बलमा चार चौका र एक छक्कासहित सर्वाधिक ३६ रनको योगदान दिए । त्यस्तै माइकल भान लिंगेनले १० रन बनाउनुबाहेक अन्य खेलाडीले दोहोरो अङ्कमा रन बनाउन सकेनन् ।
समूह ‘बी’मा अष्ट्रेलिया तीन खेलमा छ अङ्कका साथ शीर्षस्थानमा छ । त्यसैगरी सोही समूहमा रहेको स्कटल्याण्ड तीन खेलमा दुईमा जित र एक खेलमा अङ्क बाँड्दै पाँच अङ्कका साथ दोस्रो स्थानमा छ । नामिबिया तीन खेलमा एक जित र दुई खेलमा हारसहित दुई अङ्कका साथ तेस्रो स्थानमा छ । इंग्ल्याण्ड दुई खेलमा एक अङ्कका साथ चौथो स्थानमा छ । ओमान तीन खेलमा जितविहीन हुँदै विश्वकपबाट बाहिरिसकेको छ । विश्वकपमा सहभागी प्रत्येक समूहका शीर्ष दुई स्थानमा पुग्ने टोली सुपर आठमा पुग्ने प्रावधान रहेको छ ।
नेपाल र यमनबीचको खेल बराबरीमा टुङ्गियो
काठमाडौँ, ३० जेठ I फिफा विश्वकप २०२६अन्तर्गत एसियाली छनोटको दोस्रो चरणको अन्तिम खेलमा नेपाल र यमनले समान गोल गरेका छन् ।
साउदी अरबको दमामस्थित प्रिन्स मोहमद बिन फहद मैदानमा आज बिहान सखारै समाप्त भएको खेलमा नेपाल र यमनबीचको खेल दुई–दुई गोलको बराबरीमा टुङ्गिएको हो ।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार नेपालका लागि फरवार्डरद्वय सञ्जीव विष्ट र जिलेस्पीजङ्ग कार्कीले समान एक–एक गोल गरे । खेलको नवौँ मिनेटमा पेनाल्टीमार्फत नेपालले गोल खान पुगेको थियो । बक्सभित्र मनिष डाँगीले यमनका खेलाडी रमी अल–वासमानीमाथि खेल नियम उल्लङ्घन गरेपछि यमनले पेनाल्टी पाएको थियो । पेनाल्टी सदुपयोग गर्दै नसीम अल–गाहवाहीले गोल गरेका थिए ।
खेलको २२औँ मिनेटमा सञ्जीवले गोल फर्काका थिए । खेलको ६६औँ मिनेटमा नेपालले अग्रता लियो । नेपालका छिरिङ लामाले खेलेको क्रसमा सञ्जीवकै हेडरमा जिलेस्पीले गोल गरे । नेपालको दुई–एक गोलको अग्रता लामो समयसम्म टिक्न सकेन । खेलको दोस्रो हाफको अतिरिक्त समयमा यमनका मोहम्मद अल–दाहीको गोल गरेपछि अन्ततः खेल दुई–दुई गोलको बराबरीमा सकियो ।
उक्त छनोट प्रतियोगितामा नेपालले एक अङ्क जोडेको हो । नेपालले यसअघि कुनै पनि गोल गर्न सकेको थिएन । यो खेलसँगै नेपालले समूह चरणका छ खेलमा एक अङ्क जोड्दै विश्वकप छनोटको दोस्रो चरणको यात्राको अन्त्य गरेको छ ।
यसअघि नेपाल युएईसँग पहिलो खेलमा चार–शून्य र यमनसँग दुई–शून्यले पराजित भएको थियो । बहराइनसँगको पहिलो खेलमा पाँच–शून्य र दोस्रो खेलान तीन–शून्यले नेपाल पराजित भएको थियो ।
नेपाल रहेको समूह ‘एच’ मा संयुक्त अरब इमिरेट्स (युएई) १६ अङ्कसहित शीर्षस्थानमा छ भने बहराइन ११ अङ्कसहित दोस्रोमा छ । यी दुई टोली विश्वकप छनोटको तेस्रो चरणमा प्रवेश गरेका छन् । पाँच अङ्कसहित तेस्रो भएको यमन र नेपालले एसियन कप छनोटको तेस्रो चरणमा पनि स्पर्धा गर्नेछन् ।
विश्वकप क्रिकेटः वर्षा भएपछि नेपाल र श्रीलङ्काबीचको खेलमा टस हुन सकेन
काठमाडौँ, ३० जेठ I आइसीसी पुरुष टि–ट्वान्टी विश्वकप क्रिकेट प्रतियोगिताअन्तर्गत नेपाल र श्रीलङ्काबीचको खेलमा पानी परेपछि टसमा ढिलाइ भएको छ । अमेरिकाको फ्लोरिडास्थित ब्रोआर्ड काउन्टी रङ्गशालामा आज विहान हुने भनिएको खेलमा पानी परेपछि टसमा ढिलाइ भएको आइसीसीले जनाएको छ ।
आजको खेल दुवै टोलीका लागि महत्वपूर्ण मानिएको छ । समूह चरणका चार खेलमध्ये पहिलाे खेल हारेको नेपालले दोस्रो खेलमा जित निकाल्ने दाउमा छ भने श्रीलङ्काले यसअघिका दुवै खेलमा हार बेहोरेकाले अन्तिम आठमा स्थान बनाउनका लागि आजको खेल जित्नै पर्ने दबाबमा छ ।
सिनियर क्रिकेट प्रतियोगितामा नेपाल र श्रीलङ्का पहिलो पटक आमने सामने हुन लागेका छन् । यसअघि उमेर समूहमा यी दुई टोलीको पटक-पटक भेट भए पनि सिनियर टोलीमा भने पहिलो अवसर हो ।
नेपालले समूह चरणको पहिलो खेलमा नेदरल्यान्ड्ससँग छ विकेटले पराजित भएको थियो भने श्रीलङ्का पहिलो खेलमा दक्षिण अफ्रिकासँग छ विकेट र दोस्रो खेलमा बङ्गलादेशसँग दुई विकेटले पराजित भएको थियो ।
आजको खेलपछि समूह चरणका बाँकी दुई खेल खेल्न नेपाली टोली वेस्टइन्डिज जानेछ । वेस्टइन्डिजको सेन्ट भिन्सेन्टमा नेपाली टोलीले यही जेठ ३२ गते दक्षिण अफ्रिका र आगामी असार २ गते बङ्गलादेशसँग खेल्नेछ ।
नेपालले विश्वकपको दोस्रो खेल श्रीलङ्कासँग खेल्ने
काठमाडौँ, २९ जेठ I आइसिसी पुरुष टि ट्वान्टी विश्वकप क्रिकेट प्रतियोगिताअन्तर्गत समूह चरणको आफनो दोस्रो खेलमा नेपालले भोलि टेस्ट मान्यता प्राप्त राष्ट्र श्रीलङ्कासँग खेल्दैछ ।
अमेरिकाको फ्लोरिडास्थित ब्रोआर्ड काउन्टी रङ्गशालामा हुने उक्त खेल नेपाली समयअनुसार भोलि बिहान ५ः१५ बजेदेखि सुरु हुनेछ । सिनियर क्रिकेट प्रतियोगितामा नेपाल र श्रीलङ्का पहिलो पटक आमनेसामने हुन लागेका हुन । त्यसो त उमेर समूहमा भने यी दुई टोलीबीच पटक–पटक भेट भएको थियो । नेपालले टेष्ट राष्ट्र श्रीलङ्कालाई हराउँदै आफनो विश्वकप यात्रालाई अगाडि बनाउने कोसिसमा रहनेछ ।
त्यसैगरी लगातार दुई खेलमा पराजित श्रीलङ्काले पनि नेपाललाई हराउदै विश्वकपको अघिल्लो चरण प्रवेशको सम्भावनालाई जीवितै बनाउन चाहन्छ । नेपाललाई विश्वकपको सुपर आठमा प्रवेश गर्नका लागि पनि बाँकी खेल जित्नुपर्ने दबाब छ । विश्वकपमा प्रत्येक समूहका शीर्ष दुई टोली अर्को चरणमा पुग्ने प्रावधान छ ।
नेपाल आफ्नो पहिलो खेलमा नेदरल्यान्डसँग ६ विकेटले पराजित भएको थियो । यता श्रीलङ्काको दक्षिण अफ्रिकासँग छ विकेट र बङ्गलादेशसँग दुई विकेटले पराजित भएको थियो ।
नेपाली टोलीका कप्तान रोहितकुमार पौडेलले श्रीलङ्काविरुद्धको खेल नेपालका लागि टेस्ट राष्ट्रविरुद्ध जित हासिल गर्ने पहिलो अवसरको रुपमा रहेको बताउनुभयो । उहाँले विश्वकप क्रिकेट प्रतियोगितामा एशोसिएट राष्ट्रले पनि टेस्ट राष्ट्रलाई पराजित गरेको इतिहास रहेको भन्दै आफ्नो टोलीले उच्च मनोबलका साथ श्रीलङ्का विरुद्धको खेलमा जित निकाल्ने विश्वास व्यक्त गर्नुभयो । विश्वकप अघि नेपालले फ्लोरिडामै क्यानडाविरुद्ध एक अभ्यास खेल खेलेको थियो । जसमा नेपाल क्यानडासँग पराजित भएको थियो ।
फ्लोरिडामै श्रीलङ्काले भने दुई अभ्यास खेल खेलेको थियो । पहिलो खेलमा नेदरल्यान्ड्ससँग हारेको श्रीलङ्काले दोस्रो खेलमा आयरल्यान्डलाई पराजित गरेको थियो । विश्वकपमा नेपालको यो दोस्रो सहभागिता हो । यसअघि नेपालले सन् २०१४ मा पहिलो पटक विश्वकप खेलेको थियो । घरेलु मैदानमा भएको एसिया छनोट खेलमा नेपालले संयुक्त अरब इरिरेट्स (यूएई) लाई सेमिफाइनलमा पराजित गर्दै दोस्रो पटक विश्वकपमा स्थान पक्का गरेको थियो ।
लयमा फर्किए सन्दीप : आइसिसी टि ट्वान्टी विश्वकप क्रिकेट विश्वकप खेल्ने
काठमाडौँ, २८ जेठ I आइसिसी टि ट्वान्टी विश्वकप क्रिकेट प्रतियोगिताअन्तर्गत वेस्ट इन्डिजमा आयोजना हुने खेलमा नेपाली टोलीका स्पिनर सन्दीप लामिछानेले खेल्ने भएका छन् । नेपाल क्रिकेट सङ्घ (क्यान) द्वारा आज यहाँ जारी विज्ञप्तिमा वेस्ट इन्डिजमा हुने दक्षिण अफ्रिका र बङ्गलादेशविरुद्धको खेलमा सन्दीपले सहभागिता जनाउने उल्लेख गरिएको छ । सन्दीप नेपाली राष्ट्रिय क्रिकेट टोलीमा समावेश हुँदै उक्त प्रतियोगिता खेल्न लागेका हुन् ।
क्यानले यसअघि यही जेठ २ गतेदेखि सन्दीपलाई घरेलु तथा अन्तर्राष्ट्रिय सबै प्रकारका क्रिकेट खेल गतिविधिको निलम्वनबाट फुकुवा गरेको थियो । उच्च अदालत पाटनको फैसलाबमोजिम बलात्कार मुद्दामा सफाइ पाएसँगै क्यानले पनि सोही दिनदेखि क्रिकेट गतिविधिबाट निलम्वन फुकुवा गरेको थियो ।
युवा बलर प्रतिश जिसीलाई ‘ट्राभलिङ रिजर्र्भ’ राख्दै सन्दीपलाई नेपाली टोलीमा समावेश गरेको क्यानका सचिव पारस खड्काले जानकारी दिनुभयो । सङ्घले पूर्वघोषित टिमबाट युवा बलर जिसीलाई ट्राभलिङ रिजर्भमा राख्ने निर्णय गर्दै सन्दीपलाई विश्वकप खेल्ने आधिकारिक १५ जना टोलीको अन्तिम नामावली आइसिसी सामु पेस गरेको क्यानको भनाइ छ ।
विज्ञप्तिमा भनिएको छ, “यही जेठ ३ गतेदेखि नै सन्दीप नेपालको अफिसियल टिममा रहेका तर अमेरिकी राहदानी प्राप्त नभए तापनि आइसिसीसँग समन्वय गरी वेस्ट इन्डिजमा हुने दक्षिण अफ्रिका तथा बङ्गलादेशविरुद्ध नेपालका दुई खेलमा सन्दीपको उपस्थिति रहने जानकारी गराउन चाहन्छौँ । ”
विश्वकप क्रिकेट २०२४ का खेल अमेरिका र वेष्टइण्डिजमा भइरहेका छन् । अमेरिकामा भएको नेदरल्यान्ड्सविरुद्धको पहिलो खेलमा पराजित भएको नेपालले आफ्नो दोस्रो खेल यही जेठ ३० गते अमेरिकामै श्रीलङ्कासँग खेल्नेछ । उक्त खेल खेलेपछि नेपाली टोली वेस्ट इन्डिजको सेन्ट भिसेन्टमा पुग्नेछ । त्यहाँ नेपालले दक्षिण अफ्रिका र बङ्गलादेशसँग खेल्नेछ ।
विश्वकप क्रिकेट : भारतद्वारा पाकिस्तान पराजित
काठमाडौँ, २८ जेठ I भारतले पाकिस्तानलाई ६ रनले पराजित गदै आइसिसी टि–२० विश्वकप क्रिकेट प्रतियोगितामा लगातार दोस्रो जित दर्ता गराएको छ । विश्वकपको पहिलो खेलमा भारतले आयरल्यान्डलाई पराजित गरेको थियो ।
अमेरिकाको न्युयोर्कमा गए राति सम्पन्न खेलमा भारतले दिएको एक सय सय २० रनको सामान्य लक्ष्य पछ्याएको पाकिस्तानले निर्धारित २० ओभरमा सात विकेट गुमाउँदै एक सय १३ रनमा समेटियो । पाकिस्तानका लागि मोहम्मद रिजवानले सर्वाधिक ३१ रन बनाए । त्यस्तै इमाद वासिमले १५ रन रन बनाउँदा बाबर आजम, उस्मान खान र फखर जमानले समान १३÷१३ रन बनाए ।
पाकिस्तानलाई एक सय १३ रनमा समेट्ने क्रममा भारतका जस्प्रित बुम्राहले तीन विकेट लिए भने हार्दिक पन्ड्याले २ विकेट झारे । त्यस्तै अश्रदिप सिंह र अक्षर पटेलले समान एक एक विकेट लिए ।
त्यसअघि टस हारेर पहिला ब्याटिङ गरेको भारतले १९ ओभरमा सबै १० विकेट गुमाउँदै एक सय १९ रनको योगफल बनाएको थियो । भारतका लागि रिशभ पन्तले सर्वाधिक ४२ रनको योगदान दिए । उनले ३१ बलमा ६ चौकासहित ४२ रन बनाए हुन । यस्तै अक्षर पटेलले १८ बलमा २० तथा कप्तान रोहित शर्माले १२ बलमा १३ रन जोडे ।
पाकिस्तानका लागि नसिम शाह र हरिस रौफले समान तीन तीन विकेट लिए भने मोहम्मद आमिरले २ विकेट लिए । त्यस्तै शाहिन शाह अफ्रिदीले एक विकेट झारे । यसहारसँगै पाकिस्तानको अन्तिम आठमा पुग्ने सम्भावनामा न्यून भएको छ । पाकिस्तानको यो लगातार दोस्रो हार हो । यसअघि पाकिस्तान अमेरिकासँग पराजित भएको थियो । यस जितसँगै भारतले दुई खेलमा ४ अङ्क जोडेको छ । अमेरिकाको पनि दुई खेलमा समान ४ अङ्क नै छ । क्यानाडाको दुई खेलमा २ अङ्क रहेको छ । पाकिस्तानको दुई खेलमा र आयरल्याण्डको एक खेलमा अङ्कविहीन छन् ।
विश्वकप क्रिकेटः अष्ट्रेलिया विजयी
काठमाडौँ, २७ जेठ I अष्ट्रेलियाले आइसिसी टि–२० विश्वकप क्रिकेटअन्तर्गत समूह ‘बी’को खेलमा इङ्ल्याण्डलाई ३६ रनले पराजित गरेको छ ।
बार्बाडसमा गए राति सम्पन्न खेलमा पहिले ब्याटिङ गरेको अष्ट्रेलियाले निर्धारित २० ओभरमा सात विकेट गुमाउँदै दुई सय एक रनको योगफल बनाएको थियो ।
अष्ट्रेलियाका लागि डेविड वार्नरले सर्वाधिक ३९ रनको योगदान दिए । उनले १६ बलमा दुई चौका र चार छक्कासहित ३९ रन जोडेका हुन् । त्यस्तै ट्राभिस हेडले ३४ रन बनाए । उनले १८ बलमा दुई चौका र तीन छक्काको सहयोगमा ३४ रन बनाएका हुन् । कप्तान मिचेल मार्सले २५ बलमा दुई चौका र दुई छक्काको सहयोगमा ३५ रन बनाए । ग्लेन म्याक्सवेले २८ तथा मार्कस स्टोइनिसले ३० रन बनाए ।
इङ्ल्याण्डका क्रिस जोर्डनले दुई विकेट लिए । दुई सय दुई रनको विजयी लक्ष्य पछाएको इङ्ल्यान्ड २० ओभरमा छ विकेट गुमाउँदै एक सय ६५ रनमा समेटियो । इङ्ल्यान्डका लागि कप्तान जोस बटलरले २८ बलमा पाँच चौका र दुई छक्काको सहयोगमा सर्वाधिक ४२ रनको योगदान दिए ।
त्यस्तै फिल साल्टले ३७ रन जोडे । उनले २३ बलमा चार चौका र दुई छक्का प्रहार गरे । मोइन अलीले २५, ह्यारी ब्रुकले २०, लियाम लिभिङ्गस्टोनले १५, विल ज्याक्सले १० तथा जोनी बेयरस्टो सात रन बनाए । अष्ट्रेलियाका प्याट कमिन्स र एडम जाम्पाले समान दुई–दुई विकेट लिए । यससँगै अष्ट्रेलियाले दुई खेलमा चार अङ्क जोडेको छ ।
क्यान्सरपीडित खेलाडीलाई आर्थिक सहयोग
काठमाडौँ, २५ जेठ I नेपाल महिला फुटबल सङ्घको पहलमा क्यान्सरपीडित पूर्वफुटबल खेलाडी गङ्गा गुरुङलाई स्वास्थ्य उपचारका लागि आज आर्थिक सहयोग प्रदान गरिएको छ ।
महिला फुटबल सङ्घका पदाधिकारी, खेल पत्रकार, शिक्षक र विदेशमा रहेका नेपालीबाट सङ्कलित रु एक लाख पाँच हजार जमुना गुरुङलाई हस्तान्तरण गरिएको महिला फुटबल सङ्घकी महासचिव विना श्रेष्ठले जानकारी दिनुभयो ।
अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगितामा नेपालबाट पहिलो गोल गर्ने पूर्वकप्तान तथा महिला फुटबल सङ्घकी अध्यक्ष पेम्बा डोल्मा लामाले हस्तान्तरण गर्दै गङ्गाको शीघ्र स्वास्थ्यलाभको कामना गर्नुभयो ।
सो अवसरमा फुटबलकी मुख्य प्रशिक्षक अरुणा गुरुङ, नेपालबाट छनोट चरण पार गरी ओलम्पिक खेल्ने पहिलो खेलाडी तेक्वान्दोकी स(ङ्गीना वैद्य, पूर्वकप्तानद्वय जमुना गुरुङ र चन्द्रा भण्डारीको उपस्थिति रहेको थियो । गंगाले भारतको नयाँ दिल्लीस्थित राजीव गान्धी अस्पतालमा उपचार गराइरहनुभएको छ ।
बास्केटबल टोली चीन जाने
काठमाडौँ, २५ जेठ I छैटौँ एसियाली विश्वविद्यालय थ्री एक्स थ्री बास्केटबल प्रतियोगितामा सहभागी हुन चार पुरुष खेलाडीसहित पाँच सदस्यीय नेपाली टोली आज चीनको झौसन प्रस्थान गर्नेभएको छ ।
यही जेठ २९ देखि ३१ गतेसम्म हुने उक्त प्रतियोगितामा मनिष केसी (कप्तान), निकेश राखल मगर, सुदीप पौडेल क्षेत्री र श्रेयश शाहले नेपालको प्रतिनिधित्व गर्नेछन् । प्रशिक्षक तथा व्यवस्थापकको भूमिकामा भने सुशील गुरुङ रहेका छन् ।
चीनकै युनानमा गत वैशाख १२ देखि १८ गतेसम्म भएको बोर्डर सिङफु भिलेज स्पोर्ट्स कार्निभलअन्तर्गत पुरुष थ्री एक्स थ्री बास्केटबलमा नेपालले स्वर्ण जितेको थियो । कप्तान मनिष र निकेश त्यो टोलीका सदस्य थिए ।
नेपाली टोलीलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य-सचिव टङ्कलाल घिसिङ र नेपाल बास्केटबल सङ्घका अध्यक्ष भीमसिंह गुरुङले आज यहाँ आयोजित एक कार्यक्रममा सफलताको शुभकामना दिँदै बिदाई गर्नुभयो । सदस्य-सचिव घिसिङले चीनमै नेपाली पुरुष टोलीले स्वर्ण जितिसकेको स्मरण गर्दै वर्तमान टिमले पनि त्यही सफलता दोहो-याउने विश्वास व्यक्त गर्नुभयो ।