गणेश हिमालको आधार शिविरसम्म पदमार्गको खोजी
गोरखा, २५ जेठ I गोरखाको उत्तरी क्षेत्रमा पर्ने चुमनुब्री गाउँपालिकास्थित गणेश हिमाल आधार शिविरसम्म पुग्न पदमार्गको सम्भाव्यता अध्ययन गरिएको छ । धार्चे मनास्लु पर्यटन विकास समितिका अध्यक्ष सानेबहादुर गुरुङले पर्यटन प्रवद्र्धनमा थप मद्दत पुग्ने अपेक्षासहित गणेश हिमालको आधार शिविरसम्म पदमार्गको पहिचानका लागि प्रारम्भिक अध्ययन गरिएको जानकारी दिनुभयो ।
स्थानीय सरोकार भएकाहरू सहित इन्फ्रा डेभलपमेण्ट कन्सल्ट्यान्टको टोलीले करिब चार हजार आठ सय १० मिटर उचाइसम्म पुगेर पदमार्गको सम्भाव्यता अध्ययन गरेको उहाँले बताउनुभयो । सम्भावित पदमार्गको कतिपय ठाउँमा खानेपानीको समस्या देखिएकाले कहाँबाट पानी ल्याउन सकिन्छ भन्नेमा थप अध्ययन गर्न बाँकी रहेको उहाँले बताउनुभयो । ‘‘विसं २०७९ मा धार्चेसम्म गणेश हिमाल पदमार्ग सम्भाव्यता अध्ययन भइसकेको थियो, चुमनुब्रीतर्फ काम भएको थिएन, यसपटक प्रारम्भिक अध्ययनको काम सम्पन्न गरिएको छ’’, अध्यक्ष गुरुङले भन्नुभयो ।
अध्ययनका क्रममा पदमार्गमा पर्यटक बस्नका लागि सुरक्षित क्याम्प रहने स्थान, जोखिमपूर्ण स्थानलगायतको पनि अध्ययन गरिएको थियो । धार्चे र चुमनुब्री गरी गणेश हिमाल पदमार्ग पूरा गर्न करिब एकहप्ता लाग्ने अनुमान गरिएको छ ।
टोलीले सल्लेरी, पातीबाट देवल, दोङकरचेत, लङ्तखर्क, भीमाथाङखोला हुँदै गणेश हिमालको आधार शिविरसम्म पदमार्गको अध्ययन गरेको अध्यक्ष गुरुङले जानकारी दिनुभयो । ‘‘पदमार्गको ठाउँठाउँमा साइन बोर्ड राख्नुपर्ने र तीन ठाउँमा पुल हाल्नुपर्ने अध्ययनका क्रममा पाइएको छ”, उहाँले भन्नुभयो, “त्यति गर्नसके पदमार्गमा पर्यटक भित्र्याउन सकिन्छ ।’’
विश्वकपको पूर्वविजेता पाकिस्तान अमेरिकासँग पराजित
काठमाडौँ, २५ जेठ I आइसिसी टि–२० विश्वकपको पूर्वविजेता पाकिस्तान सुपरओभरमा अमेरिकासँग पराजित भएको छ ।
अमेरिकाको डालसस्थित ग्राण्ड प्रेरी क्रिकेट रङ्गशालामा गए राति सम्पन्न समूह ‘ए’को खेलमा दुवै टोलीले बराबर खेलेपछि खेल सुपरओभरमा पुगेको थियो । डालासमा घरेलु टोली अमेरिकाले पाकिस्तानलाई जितको लागि १९ रनको लक्ष्य दिएको थियो । पाकिस्तान १३ रनमा समेटिएपछि अमेरिका विजयी भएको हो ।
टस हारेर पहिला ब्याटिङ गरेको पाकिस्तानले निर्धारित २० ओभरमा सात विकेट गुमाउँदै एक सय ६० रनको लक्ष्य प्रस्तुत गरेको थियो । अमेरिकाले २० ओभरमा तीन विकेट गुमाएर बराबर गर्यो। अमेरिकाका लागि कप्तान मोनाङक पटेलले सर्वाधिक ५० रन बनाए । उनले ३८ बलमा सात चौका र एक छक्काको सहायताले सर्वाधिक ५० रन बनाएका थिए । त्यस्तै आरोन जोनेसले ३६ र आन्द्रेस गौसले ३५ रन बनाएका थिए । पाकिस्तानका मोहम्मद आमिर, नसिम साह र हरिस रौफले समान एक–एक विकेट लिए ।
त्यसअघि पाकिस्तानको लागि कप्तान बाबर आजमले ४३ बलमा ४४ रन बनाए । त्यस्तै सादव खानले २५ बलमा ४० रन बनाए भने साहिन शाह अफ्रिदीले २३ रन जोडे । अमेरिकाका नोष्थुश केजिङ्गेले तीन विकेट लिए भने सौरभ नेत्रवालकरले दुई विकेट झारे । त्यस्तै अली खान र जसदीप सिंहको नाममा समान एक–एक विकेट रह्यो ।
नेपाल युएईसँग पराजित
काठमाडौँ, २५ जेठ I फिफा विश्वकप २०२६ छनोटअन्तर्गत दोस्रो चरणको आज भएको खेलमा संयुक्त अरब इमिरेट्स (युएई)ले नेपालविरुद्ध शानदार जित हासिल गरेको छ । साउदी अरेबियाको प्रिन्स मोहम्मद विन रङ्गशालामा सम्पन्न खेलमा युएईले नेपाललाई ४-० गोलअन्तरले पराजित गरेको हो ।
युएईले खेलको पहिलो हाफमा दुई गोलको अग्रता लिएको थियो भने दोस्रो हाफमा थप दुई गोल गरेको थियो । युएईका लागि हरिब अब्दुल्लाह अल्मुशरखले दुई गोल गरे भने अली सलेह अम्रो र हाजिम अब्बासले समान एक/एक गोल गरे ।
अल्मुशरखले खेलको १२औँ र १४औँ मिनेटमा गोल गरेका थिए भने अम्रोले ५३औँ र अब्बासले ७५औँ मिनेट गोल गरेपछि यूएईले शानदार जित हासिल गरेको हो । जितसँगै पाँच जितका साथ युएईले १५ अङ्क जोड्दै समूह ‘एच’को शीर्ष स्थानमा छ । पाँच वटै खेलमा पराजिति नेपाल भने अङ्कबिहीन छ । नेपालले अन्तिम खेलमा यही जेठ २९ गते यमनसँग खेल्नेछ I
विश्वकप छनोट : नेपाल र युएई भिड्दै
काठमाडौँ २४ जेठ I फिफा विश्वकप २०२६ अन्तर्गतको छनोट खेल आज नेपाल र संयुक्त अरब इमिरेट्स (युएई)बीच हुँदैछ । साउदी अरबको दमामस्थित प्रिन्स मोहमद विन फहद रङ्गशालामा नेपाली समयअनुसार राति ९ः४५ बजे खेल हुनेछ ।
यसअघि नेपाल र युएईबीच युएईको घरेलु मैदानमा भएको खेलमा नेपाल ४–० ले पराजित भएको थियो । नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनेसले युएईविरुद्धको खेलमा नेपाली टोलीले उत्कृष्ट प्रदर्शन गर्ने विश्वास व्यक्त गर्नुभएको । फिफा वरीयतामा युएई ६७औँ स्थानमा छ भने नेपाल एक सय ७८औँ स्थानमा छ ।
नेपाली टोलीमा गोलरक्षक कप्तान किरण चेम्जोङ (कप्तान) सहित विशाल सुनार र अभिषेक बराल छन् । त्यस्तै डिफेन्डरमा विमल पाण्डे, अभिषेक लिम्बू, अनन्त तामाङ, विशाल बस्नेत, छिरिङ लामा, सौभाग्य राई र रोहित चन्द छन् । यसैगरी मिडफिल्डरमा भरत खवास, लाकेन लिम्बू, मणिकुमार लामा, मनिष डाँगी, सुमन श्रेष्ठ, वसन्त जिम्बा र आशिष राई छन् । फरवार्डमा जिलेस्पीजङ्ग कार्की, हिसुब थपलिया, सञ्जीव विष्ट, आयुष घलान र आशिक बाबु चौधरी छन् ।
आइसिसी टी–२० विश्वकप क्रिकेट : नेपाल पहिलो खेलमा नेदरल्यान्डससँग पराजित
काठमाडौँ, २३ जेठ I आइसिसी टी–ट्वान्टी पुरुष विश्वकप क्रिकेट प्रतियोगितामा नेपाल पहिलो खेलमा नेदरल्यान्डससँग ६ विकेटले पराजित भएको छ ।
नेपालले जितका लागि नेदरल्यान्डससामु एक सय सात रनको विजयी लक्ष्य प्रस्तुत गरेको थियो । सो लक्ष्य नेदरल्यान्डसले १८ दशमलव चार ओभरमा चार विकेट गुमाएर पूरा गर्यो । नेदरल्यान्डसका लागि म्याक्स ओडाउडले अविजित ५४ रन बनाए । उनले ४८ बल खेल्ने क्रममा एक छक्का र चार चौका प्रहार गरे ।
यस्तै विक्रमजित सिंहले २२, सेब्राण्ड एन्जेलब्रेचिटले १४ तथा बास डी लिडले अविजित ११ रन बनाए । बलिङतर्फ नेपालका लागि सोमपाल कामी, दीपेन्द्रसिंह ऐरी र अविनास बोहराले एक एक विकेट लिए ।
यसअघि अमेरिकाको डालासस्थित ग्राण्ड प्रेरी रङ्गशालामा नेदरल्यान्डसले टस जितेर फिल्डिङ रोजेपछि नेपालले पहिला ब्याटिङ गरेको थियो । नेपालले १९ दशमलव दुई ओभरमा सवै विकेट गुमाएर एक सय ६ रन बनायो । नेपालका लागि कप्तान रोहितकुमार पौडेलले ३५ रन बनाए । उनले ३७ बल खेल्दै पाँच चौका प्रहार गरे। यस्तै करन केसीले १२ बलमा १७ रन जोडे । गुल्सन झाले १४ तथा अनिल साहले ११ रन बनाए ।
बलिङतर्फ नेदरल्यान्ड्सका टिम प्रिङगनल र लगन भान वीकले तीन तीन तथा बास डी लिड र मकेरेनले दुई दुई विकेट लिए।
नेपालले अब आफ्नो दोस्रो खेल यही जेठ २९ गते श्रीलङ्कासित अमेरिकाको फ्लोरिडामा खेल्नेछ।
टी–२० विश्वकप क्रिकेट निःशुल्क प्रत्यक्ष प्रदर्शन गरिने
काठमाडौँ, २२ जेठ I आइसिसी पुरुष टी–ट्वान्टी विश्वकप क्रिकेट प्रतियोगिताअन्तर्गत नेपाल र नेदरल्याण्ड्सबीचको खेल निःशुल्क प्रत्यक्ष प्रदर्शन गरिने भएको छ । काठमाडौँ महानगरपालिकाले ओपन डोर्स इन्टरटेनमेन्टको सह–आयोजना तथा युवा तथा खेलकुद मन्त्रालयसँगको सहकार्यमा टुँडिखेल, तीनकुने र हाँडिगाउँ उक्त खेल हेर्न प्रत्यक्ष प्रदर्शनको तयारी गरेको हो ।
ओपन डोर्स इन्टरटेनमेन्टका अध्यक्ष एलिन श्रेष्ठले खेलकुदप्रेमीको मनोबल उच्च पान टी–ट्वान्टी विश्वकप क्रिकेटको निःशल्क प्रत्यक्ष प्रदर्शन गर्न लागेको जानकारी दिनुभयो । यसका लागि ती ठाउँमा आवश्यक तयारी थालिएको छ । अध्यक्ष श्रेष्ठका अनुसार आज साँझ ६ बजे टुँडिखेलमा सांस्कृतिक कार्यक्रमको आयोजना गरिएको छ । सांस्कृतिक कार्यक्रममा कलाकार इन्दिरा जोशी, महेश काफ्ले, रचना रिमाललगायतको साङ्गीतिक प्रस्तुति रहने छ ।
नेपाल र नेदरल्याण्ड्सबीचको पहिलो खेल अमेरिकाको डालासमा आज राति ९ः१५ बजे सुरु हुने छ । उक्त खेल हेर्नका लागि राति टुँडिखेल खुला रहने अध्यक्ष श्रेष्ठले बताउनुभयो ।
विश्वकप क्रिकेटमा नेपालले दश वर्षपछि पुनरागमन गर्दै
काठमाडौँ, २२ जेठ I आइसिसी टी–२० विश्वकप क्रिकेटमा १० वर्षपछि पुनरागमन गरेको नेपालले आज नेदरल्याण्डसँग खेल्दै प्रतियोगताको उद्घाटन गर्दैछ । नेपालले यसअघि सन् २०१४ मा पहिलोपटक टी–२० विश्वकप खेलेको थियो । काठमाडौँमा गत कात्तिकमा मूलपानीस्थित माथिल्लो मूलपानी क्रिकेटमैदानमा भएको एसिया छनोट खेलमा नेपालले संयुक्त अरब इरिरेट्स (युएई)लाई सेमिफाइनलमा पराजित गर्दै विश्वकपमा स्थान पक्का गरेको थियो ।
नेपालले दोस्रोपटक टी–२० विश्वकपमा सहभागिता जनाउँदा नेदरल्याण्ड भने पाँचौँपटक सहभागिता जनाउँदैछ । नेपाल र नेदरल्याण्ड दुवै चिरपरिचित प्रतिद्वन्द्वी हुन् । तीन महिनाअघि नेपालमा नै भएको त्रिदेशीय टी–२० शृङ्खलामा नेदरल्याण्डले दुई खेल जित्दा नेपालले एक खेलमा जित हासिल गरेको थियो ।
विश्वकपअन्र्गत अमेरिकाको डालसस्थित ग्राण्ड प्रेरी रङ्गशालामा आज राति हुने उक्त खेलमा नेपालले विजयी लक्ष्य हासिल गर्ने उद्देश्यका साथ मैदानमा उत्रँदैछ । त्यसो त नेदरल्यान्ड पनि आफ्नो पहिलो खेलमा जित हासिल गर्दै आगामी यात्रालाई सहज बनाउने कोसिसमा रहनेछ ।
नेपाली राष्ट्रिय टोलीका मुख्य प्रशिक्षक मोन्टी देशाईले नेदरल्याण्डविरुद्धको खेलका लागि आफ्नो टोली तयारी अवस्थामा रहेकाले प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले अमेरिकाको हावापानी र त्यहाँको अवस्थासँग भिज्ने राम्रो असवर पाएको जनाउँदै पहिलो खेलका लागि आफ्नो टोली तयारी अवस्थामा रहेको बताउनुभयो । नेपाली टोलीले करिब एक महिनासम्म अमेरिकामा अभ्यास गरेको थियो ।
त्यसैगरी यस विश्वकप क्रिकेट प्रतियोगितामा सवैभन्दा कम उमेरमा कप्तानीको भूमिका निर्वाह गरेका २१ वर्षीय नेपाली राष्ट्रिय टोलीका कप्तान रोहितकुमार पौडेलले नेदरल्याण्डविरुद्धको खेलमा उत्कृष्ट क्रिकेट खेलेर देश र नेपाली फ्यानलाई गर्व गर्न सक्ने वातावरण तय गर्ने विश्वास व्यक्त गर्नुभयो ।
यसैगरी यसपटकको विश्वकपमा नेपालका अर्का खेलाडी गुलशन झा सबैभन्दा कम उमेरमा विश्वकप खेल्ने खेलाडीको कीर्तिमानी बनाउने भएका छन् । उनी १८ वर्ष भएका छन् ।
विश्वकप खेल्ने तयारी अवस्थामा रहेका नेपाली क्रिकेट टोलीलाई उच्च मनोबलका साथ खेलमा सहभागी हुन राष्ट्रपति रामचन्द्र पौडेलले शुभकामना समेत प्रदान गर्नुभएको छ ।
अमेरिका र वेस्टइन्डिजमा चालु टी–२० विश्वकप क्रिकेटका विजेता टोलीले २४ लाख ५० हजार अमेरिकी डलर पुरस्कार पाउँदा उपविजेताले १२ लाख २८ हजार डलर पाउनेछन् । त्यस्तै विश्वकपमा सेमिफाइनलमा पुग्ने दुई टोलीले जनही सात लाख ८७ हजार डलर पाउनेछन् भने प्रतियोगितामा सहभागी सबै टोलीले २ लाख २५ हजार अमेरिकी डलर पाउनेछन् ।
विश्वकपमा नेपाल र नेदरल्यान्ड समूह ‘डी’मा रहेका छन् । नेपालको समूहमा टेस्ट मान्यता प्राप्त राष्ट्र दक्षिण अफ्रिका, श्रीलङ्का र बङ्गलादेश छन् । नेपाल र नेदरल्याण्डबीचको खेल नेपाली समयानुसार आज राति ९ः३० हुनेछ । त्यस्तै समूह ‘डी’मा नै रहेको दक्षिण अफ्रिकाले श्रीलङ्कालाई छ विकेटले पराजित गर्दै प्रतियोगितामा सुखद सुरुआत गरिसकेको छ ।
विश्वकप क्रिकेटः दक्षिण अफ्रिकाद्वारा श्रीलङ्का पराजित
काठमाडौँ, २२ जेठ I आइसिसी टी–२० विश्वकप क्रिकेट प्रतियोगिताअन्तर्गत समूह ‘डी’को पहिलो खेलमा दक्षिण अफ्रिकाले श्रीलङ्कालाई पराजित गरेको छ । अमेरिकाको न्युयोर्कस्थित नासौं काउन्टी इन्टरनेशनल क्रिकेट रङ्गशालामा गए राति सम्पन्न खेलमा दक्षिण अफ्रिकाले श्रीलङ्कालाई छ विकेटले हराउँदै विजयी भएको हो । अठहत्तर रनको सामान्य लक्ष्य पछ्याएको दक्षिण अफ्रिकाले १६ दशमलव दुई ओभरमा चार विकेट गुमाउँदै पूरा गर्यो ।
दक्षिण अफ्रिकाका लागि क्विन्टन डी ककले २७ बलमा एक चौकासहित सर्वाधिक २० रन जोडे । त्यस्तै हेनरिक क्लासेनले अविजित १९ रन बनाए । उनले २२ बलमा एक चौका र एक छक्कासहित १९ रन बनाएका हुन् । त्यस्तै, ट्रिस्टन स्टब्सले १३ तथा एडेन माक्ररमले १२ रन जोडे । श्रीलङ्काका कप्तान वानिन्दु हसरङ्गाले दुई विकेट लिए भने दासुन शानका र नुवान थुसराले समान एक–एक विकेट लिए ।
त्यसअघि टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएको श्रीलङ्काले १९ दशमलव एक ओभरमा सबै विकेट गुमाउँदै ७७ रनमा समेटिएको थियो । श्रीलङ्काका लागि कुशल मेन्डिसले ३० बलमा एक चौकासहित सर्वाधिक १९ रन जोडे भने एन्जिलो म्याथ्युजले १६ बलमा दुई छक्कासहित १६ रन बनाए । त्यसैगरी कामिन्दु मेन्डिसले ११ रन जोडे । श्रीलङ्कालाई सस्तैमा समेट्ने क्रममा दक्षिण अफ्रिकाका एनरिच नोर्कियाले चार विकेट लिए भने कागिसो रबाडा र केशव महाराजले समान दुई–दुई विकेट लिए । समूह ‘डी’ अन्तर्गतको दोस्रो खेल नेपाली समयअनुसार आज राति ९ः३० बजे अमेरिकाको डालसस्थित ग्राण्ड प्रेरी रङ्गशालामा नेपाल र नेदरल्याण्डबीच प्रतिस्पर्धा हुनेछ ।
तीन सय दर्शक क्षमताको ‘कभर्डहल’ सञ्चालन
खोटाङ, २१ जेठ I दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१२ जालपामा निर्माण भएको ‘जालपा कभर्डहल’ सञ्चालनमा आएको छ । नगरपालिकाको रु ७० लाख र स्थानीय उपभोक्ताको श्रमदानबाट निर्माण भएको बहुउद्देश्यीय कभर्डहल आइतबारदेखि सञ्चालनमा आएको हो ।
कभर्डहल तीन सय दर्शक क्षमताको बनेको जालपाका वडाध्यक्ष दानबहादुर राईले बताउनुभयो । विसं २०७६ मा निर्माण सुरु गरिएको उक्त कभर्डहल आइतरबार कोशी प्रदेश प्रमुख परशुराम खापुङले औपचारिकरुपमा उद्घाटन गर्नुभयो ।
उद्घाटन कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का केन्द्रीय अनुशासन आयोगका अध्यक्ष एवम् पूर्वसांसद टङ्क राई, नगरप्रमुख तीर्थराज भट्टराई, नेपाल कम्युनिष्ट पार्टी (एमाले) खोटाङका नेता रामप्रसाद दङ्गाललगायतको उपस्थिति थियो । करिब पाँच वर्ष लगाएर सम्पन्न गरिएको कभर्डहलमा खेलकुद सम्बन्धी विभिन्न गतिविधि, सभा, सम्मेलन लगायत कार्यक्रम गर्न सकिने वडाध्यक्ष राईले जानकारी दिनुभयो ।
कभर्डहल उद्घाटनको अवसरमा भलिबल र ब्याडमिन्टन प्रतियोगिता, पूर्वखेलाडीलाई सम्मानका साथै साङ्गीतिक कार्यक्रम आयोजना गरिएको वडाध्यक्ष राईले बताउनुभयो । उहाँका अनुसार यही जेठ १८ गतेदेखि सुरु भएको कार्यक्रमअन्तर्गत खुला वडास्तरीय पुरुष भलिबल प्रतियोगिताको उपाधि ओखलढुङ्गाको चिसङ्खुगढी गाउँपालिका–१ कुइभिरले जितेको छ ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका र वडा कार्यालय जालपाको संयुक्त आयोजनामा सम्पन्न प्रतियोगितामा रावाबेँसी गाउँपालिका–१ कुभिण्डेलाई हराउँदै कुइभिरले उपाधि जितेको हो । उपाधि विजेताले रु ५० हजारसहित ट्रफी र प्रमाणपत्र प्राप्त गरेका वडाअध्यक्ष राईले जानकारी दिनुभयो । उहाँका अनुसार दोस्रो भएको रावाबेँसी–१ कुमिण्डेले रु ३० हजारसहित ट्रफी र प्रमाणपत्र प्राप्त गरेको छ ।
विभिन्न जिल्लाका १९ वडाले सहभागिता जनाएको प्रतियोगितामा ऐँसेलुखर्क गाउँपालिका–५ तेस्रो हुँदै रु २० हजारसहित ट्रफी र प्रमाणपत्र प्राप्त गरेको छ । स्थानीयस्तरमा खेलाडी उत्पादन गर्ने उद्देश्यले खुला वडास्तरीय भलिबल प्रतियोगिता आयोजना गरिएको आयोजकले जनाएको छ ।
ब्याडमिन्टन प्रतियोगिताअन्तर्गत पुरुषतर्फको खुला डबल ब्याडमिन्टनमा दिक्तेलका पूजन आचार्य र सञ्जय कार्की पहिलो, दिक्तेलका समीर बजिमय र विकास खत्री दोस्रो तथा जालपाका युनिशन राई र रमेश श्रेष्ठ तेस्रो भएका छन् ।
महिलातर्फको डबल प्रतियोगितामा दिक्तेलका रेणुका राई र ममता राई पहिलो, जालपाका अनिता श्रेष्ठ र वर्षा गुरुङ दोस्रो तथा दिक्तेलका कल्पना जोशी (राई) र स्मिता राई तेस्रो भएका छन् । खुला महिला÷पुरुष दुवैतर्फ पहिलो, दोस्रो र तेस्रो हुनेले क्रमशः रु २० हजार, रु १५, रु १० हजारका साथमा ट्रफी र प्रमाणपत्र प्रदान प्राप्त गरेका छन् ।
पुरुषतर्फको डबल भेट्रानमा दिक्तेलका राजु श्रेष्ठ र समीर बजिमय पहिलो, जालपाका गोपाल गुरुङ र ज्ञानबहादुर श्रेष्ठ दोस्रो र दिक्तेलका मनविक्रम राई र हरि खत्री तेस्रो भएका छन् । भेट्रानतर्फ पहिलो, दोस्रो र तेस्रो हुनेले क्रमशः रु १२ हजार, रु दश हजार, रु आठ हजार पुरस्कार प्राप्त गरेका छन् ।
पन्ध्र वर्षमुनिका पुरुषतर्फको ब्याडमिन्टनमा केपिलासगढी गाउँपालिका–४ का ग्याल्जेन तामाङ र आशिष राई पहिलो, दिक्तेलका संयोग धमला र विवेक आचार्य दोस्रो र दिक्तेलकै योजन दाहाल र अनिशान्त दङ्गाल तेस्रो भएका छन् । पहिलो, दोस्रो र तेस्रो हुनेले क्रमशः रु आठ हजार, रु पाँच हजार र रु तीन हजार ुिरस्कार प्राप्त गरेका आयोजकले जनाएको छ ।
कार्यक्रममा भलिबलका पाँच तथा तेक्वान्दो र सितोरियो करातेका दुई÷दुईजना पूर्वखेलाडीलाई सम्मान गरिएको छ । भलिबलका पूर्वक्षेत्रीय खेलाडी बलराम राई, सम्बरबहादुर राई, वीरबहादुर तामाङ, ताराकला राई र जसुदा राई, तेक्वान्दोका पूर्वखेलाडी विकास र सङ्गम गुरुङ तथा सितोरियो करातेका चन्द्रबहादुर राई ‘मदन’, गौतम राई र कैलाश राईलाई सम्मान गरिएको वडाध्यक्ष राईले जानकारी दिनुभयो ।
विश्वकप क्रिकेट : आयोजक वेस्ट इन्डिज विजयी
काठमाडौँ, २१ जेठ I वेस्ट इन्डिजले पपुवा न्यूगिनीलाई पराजित गर्दै आइसिसी टि–२० विश्वकप प्रतियोगितामा सुखद् सुरुआत गरेको छ । गए राति सम्पन्न खेलमा आयोजक वेस्ट इन्डिजले समूह चरणको आफ्नो पहिलो खेलमा पपुवा न्युगिनीलाई पाँच विकेटले हराउँदै प्रतियोगितामा सुखद् सुरुआत गरेको हो ।
पपुवा न्यूगिनीले दिएको एक सय ३७ रनको मध्यम लक्ष्य वेस्ट इन्डिजले १९ ओभरमा ५ विकेट गुमाएर पूरा गर्यो । वेस्ट इन्डिजका लागि रोस्टन चेजले २७ बलमा ४ चौका र २ छक्कासहित ४२ रन बनाए । त्यस्तै ब्रान्डन किंगले २९ बलमा ७ चौका सहित ३४ रन जोडे । यसैगरी निकोलस पुरनले २७ तथा रोभमन पावेल र आन्द्रे रसेलले समान १५–१५ रन जोडे । पपुवा न्यूगिनीका लागि असद भालाले २ विकेट लिए भने अलेइ नाओ, चाड सोपर र जोन करीकोले समान १–१ विकेट लिए ।
त्यसअघि गयानमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको पपुवा न्यूगिनीले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै एक सय ३६ रन बनाएको थियो । पपुवा न्यूगिनीका लागि सेसे बाउले सर्वाधिक ५० रनको योगदान दिए । उनले ४३ बलमा ६ चौका र १ छक्कासहित ५० बनाएका हुन । किप्लिन डोरिगाले १८ बलमा २७ रन जोडे । असद भालाले २२ बलमा २१ रन बनाए । चार्ल्स अमिनीले १२ रन जोड्दा चाड सोपरले १० रन बनाए । वेस्ट इन्डिजका लागि आन्द्रे रसेल र अलजारी जोसेफले समान २–२ विकेट लिए भने अकिल होसेन, रोमारियो शेफेर्ड र गुडकेश मोतिले समान १–१ विकेट लिए । विश्वकप क्रिकेटअन्तर्गत अहिले नामिबिया र ओमानवीच प्रतिस्पर्धा भइरहेको छ ।