आइतबार, ०४ असोज २०८३

/frontend/images/redline.png
https://jawaaf.com/storage/01HYDA4075384Q855X3YG6QDKM.jpg

ओलम्पिक छनोटका लागि नेपाली बक्सिङ टोली बैङ्कक जाँदै

काठमाडौँ I बक्सिङको दोस्रो ओलम्पिक छनोट प्रतियोगितामा सहभागी हुन तीन खेलाडीसहित चार सदस्यीय नेपाली टोली भोलि थाइल्यान्डको बैंकक प्रस्थान गर्ने भएको छ । 

यही जेठ ११ देखि २१ गतेसम्म हुने प्रतियोगितामा दुई पुरुष र एक महिला खेलाडीले नेपालको चुनौती प्रस्तुत गर्नेछन् । पुरुष ५१ केजीमा चन्द्रबहादुर थापा र ६३ दशमलव पाँच केजीमा प्रकाश इजम लिम्बूले प्रतिस्पर्धा गर्नेछन् । त्यसैगरी, महिला ५४ केजीमा अन्जनी तेलीले खेल्नेछिन् । प्रशिक्षकमा प्रकाश थापा मगर छन् । 

नेपाली टोलीलाई राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव टङ्कलाल घिसिङ, नेपाल बक्सिङ महासङ्घका अध्यक्ष राम अवाले लगायतले आज यहाँ आयोजित एक कार्यक्रममा सफलताको शुभकामना दिँदै टोलीको  बिदाइ गर्नुभयो । सदस्यसचिव घिसिङले खेलाडीलाई उच्च मनोबलका साथ प्रदर्शन गर्न आग्रह गर्नुभयो ।

प्रकाशित मितिः मङ्गलबार, ०८ जेठ २०८१
https://jawaaf.com/storage/01HYB1QWJ9K55H571FA414ATB7.jpg

ताप्लेजुङ पर्यटन महोत्सव अन्तर्गत आज भएको म्याराथन दौडको उपाधि आर्मीका श्रेष्ठलाई

ताप्लेजुङ I ताप्लेजुङ पर्यटन महोत्सवअन्तर्गत आज भएको पाथीभरा म्याराथन दौडमा त्रिभुवन आर्मी क्लबका होमलाल श्रेष्ठ प्रथम हुनुभएको छ । श्रेष्ठले फुङलिङ–पाथीभरा ४८ किलोमिटरको निर्धारित दूरी चार घण्टा पाँच मिनेट २७ सेकेन्डमा पूरा गर्नुभएको थियो ।     
     
प्रथम हुनुभएका श्रेष्ठले रु एक लाख ५१ हजार एक सय ११ सहित प्रमाणपत्र पाउनुभएको छ । यस्तै, त्रिभुवन आर्मी क्लबकै तिलक सुनुवार द्वितीय हुनुभएको छ । उहाँले निर्धारित दूरी चार घण्टा १२ मिनेट ४८ सेकेन्डमा पूरा गर्नुभएको थियो । उहाँले रु एक लाख ११ हजार एक सय ११ सहित प्रमाणपत्र प्राप्त गर्नुभयो । तृतीय हुनुभएका आर्मीकै प्रताप थाम्सुहाङले चार घण्टा १३ मिनेट २४ सेकेन्डमा निर्धारित दूरी पार गर्नुभएको थियो । उहाँलाई रु ५१ हजार एक सय ११ सहित प्रमाणपत्र प्रदान गरिएको छ । पाथीभरा खुला म्याराथनमा एक सय १४ जना सहभागी हुनुभएको थियो ।     
     
महिला हाफ म्याराथनतर्फको उपाधि पनि आर्मी क्लबकै सुनसरी रोकाया प्रथम हुनुभएको छ । रोकायाले सदरमुकाम–काफ्लेपाटी ३९ किलोमिटरको निर्धारित दूरी तीन घण्टा ४४ मिनेट ५२ सेकेन्डमा पूरा गर्नुभएको थियो ।     
     
यस्तै, फुङलिङ–६ की कुमारी गुरुङ चार घण्टा २२ मिनेट ५३ सेकेन्डमा निर्धारित दूरी पार गरी दोस्रो हुनुभएको छ । मैवाखोला गाउँपालिका–१ ढुङ्गेसाँघुकी विनिता तामाङले चार घण्टा २७ मिनेट ४९ सेकेन्डमा निर्धारित दूरी पार गरी तेस्रो हुनुभएको छ । महिलातर्फका प्रथम, द्वितीय र तृतीयले क्रमशः रु ८१ हजार एक सय ११, रु ५१ हजार एक सय ११ र रु ३१ हजार एक सय ११ सहित प्रमाणपत्र प्राप्त गरेका छन् ।     
     
महिला हाफ म्याराथन दौडमा ४७ धावक सहभागी हुनुभएको पाथीभरा म्याराथन दौड व्यवस्थापन उपसमितिका संयोजक विनोद भारतीले जानकारी दिनुभयो । यही जेठ ३ गतेदेखि सुरु भएको ताप्लेजुङ महोत्सव आज सम्पन्न भएको छ । महोत्सवअन्तर्गत डोको क्यारी रन, अन्तरपालिकास्तरीय मेयरकप रनिङ भलिबल प्रतियोगितासहितका खेलकुद भएका छन्भने पाथीभरा साइकल यात्रासमेत सम्पन्न भएको छ ।     
     
 

प्रकाशित मितिः सोमबार, ०७ जेठ २०८१
https://jawaaf.com/storage/01HYAV0F0WYQD6W127ZJWSGDJS.jpg

वडाध्यक्षलाई विद्यार्थीको प्रश्न : ‘खेल्ने सामग्री कसले दिन्छ ?

काठमाडौँ  I “हाम्रो विद्यालयमा केटीहरुलाई खेल्ने सामग्री छैन । कसले दिन्छ वडाध्यक्ष ज्यु ” यो प्रश्न कक्षा ९ की विद्यार्थी क्रिष्टिना खड्काले काठमाडौँ महानगरपालिका–१० का वडाध्यक्ष रामकुमार केसी समक्ष गरेकी हुन् । 

रत्नराज्यलक्ष्मी उच्च माध्यमिक विद्यालयमा अध्ययनरत क्रिष्टिनाले आज विद्यालयको हलभित्र वडाध्यक्षलाई प्रश्न गरेकी छन् । “स्कुलमा खेलकुदमा विभेद् छ । केटालाई जति खेलकुदमा महत्व दिइन्छ त्यति केटीलाई ध्यान दिने गरिँदैन”, उहाँले भन्नुभयो । 

क्रिष्टिनाको प्रश्नप्रति वडाध्यक्ष केसीले तत्कालै सम्बोधन गर्दै आवश्यकपर्ने खेलकुद सामग्रीको बजेट तयार पारेर खरिद गर्न विद्यालयका प्रधानाध्यापकलाई निर्देशन दिनुभयो । खेलकुद सामग्री आउने कुराले क्रिष्टिनालगायत बालबालिकाले खुसी हुँदै उहाँलाई धन्यवाद दिएका थिए ।

एकता फाउन्डेशनले आज मध्यबानेश्वरस्थित उक्त विद्यालयमा ‘बालबालिका र वडाध्यक्षबीच प्रश्न–उत्तर’ कार्यक्रम आयोजना गरेको थियो । ‘बालविकास विषयक’ विद्यालयस्तरीय कार्यक्रममा सहभागी अरु विद्यार्थीलेसमेत आफ्ना जिज्ञासा जनप्रतिनिधिसमक्ष राखेका थिए । वडाध्यक्ष केसीले बालबालिकाको विकासका लागि आवश्यक रणनीति बनाएर अघि बढ्नुपर्ने भन्दै आफ्नोतर्फबाट सदैव सहयोग रहने प्रतिबद्धता जनाउनुभयो । 

विद्यालयमा खेलमैदानको अभाव रहेको भन्दै वडाध्यक्ष केसीले भद्रघले सदनको खुला मैदानमा विद्यालयका लागि रङ्गशाला बनाउने तयारी भइरहेको जानकारी दिनुभयो । “खेलमा विभेद् हुनुहुँदैन, सबैले खेल्ने वातावरण बनाउदैछौँ”, उहाँले भन्नुभयो, “योजना बनाएर हरेक सामुदायिक विद्यालयमा खेल मैदान बनाउने छौँ ।” विद्यार्थीले शैक्षिक भ्रमण गर्न नपाएको गुनासो गरेपछि वडाध्यक्षले विद्यार्थीलाई शैक्षिक भ्रमण समिति बनाउन सुझाव दिँदै सोहीअनुसार बजेट ल्याइने बताउनुभयो ।

“एउटै बेच्नमा सात जना कोचिएर पढ्नुपर्छ । हामीले कहिले खुला भएर पढ्न पाउने रु” यो प्रश्नमा वडाध्यक्ष केसीले उक्त समस्याको चाँडै समाधान निकाल्ने प्रतिबद्धता जनाउनुभयो । कार्यक्रमा शिक्षा मन्त्रालयका शाखा अधिकृत उषा लामिछानेले ‘बालअधिकार र विद्यालयमा बालमैत्री वातावरण निर्माणमा विद्यार्थीको भूमिका’ विषयमा कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । 

वडा सदस्य सुनिता भित्रकोटीले रत्नराज्यलक्ष्मी विद्यालयको शैक्षिक गुणस्तर सुधारिँदै गएको बताउनुभयो । विद्यालयका प्रधानाध्यापक रामाशिष यादवले विद्यालयको सीमित स्रोतसाधनमा पनि बालबालिकालाई पढ्ने अनुकूल वातावरण मिलाउँदै आएको बताउनुभयो । उहाँले पछिल्लो समय पढ्ने मात्रै शिक्षा नभई असल संस्कृति अनुशरण गर्नु पनि रहेको बताउँदै बालबालिकामा असल संस्कृतिको अभ्यास गराइरहेको जानकारी दिनुभयो । 

एकता फाउन्डेशनका अध्यक्ष रामहरि शाही (समुन्द्री)ले बालबालिकामा प्रश्न गर्ने संस्कार विकास गराउन यस्तो अन्तक्र्रिया कार्यक्रम गर्दै आइएको जानकारी दिनुभएको थियो । 

प्रकाशित मितिः सोमबार, ०७ जेठ २०८१
https://jawaaf.com/storage/01HYANWVSZD388G8X35999JQS2.jpg

बृहत् खोटाङ–हलेसी महोत्सवमा राष्ट्रिय गायनको उपाधि मिलनलाई

खोटाङ I नेपाल खेलकुद प्रतिष्ठान खोटाङले आयोजना गरेको ‘प्रथम बृहत् खोटाङ–हलेसी खेलकुद, साहित्यिक, साङ्गीतिक तथा पर्यटन महोत्सव’अन्तर्गत राष्ट्रिय गायन प्रतियोगिताको उपाधि मिलन विश्वकर्माले जित्नुभएको छ ।     
      
दिक्तेलस्थित खोटाङ बहुउद्देश्यीय कभर्डहलमा गएराति सम्पन्न प्रतियोगितामा १८ वर्षमुनिका २९ जना प्रतिस्पर्धीको सहभागिता थियो । प्रतियोगितामा २८ जनालाई पछि पार्दै मिलनले उपाधि जित्नुभएको हो ।     
      
देशभरका २९ जनाको सहभागिता रहेको प्रतियोगितामा सुदीप विश्वकर्मा दोस्रो, कञ्चन राई तेस्रो, अदिती शाक्य चौथो र डेनिस राई पाँचौँ हुनुभएको आयोजकले जनाएको छ । प्रतियोगितामा पहिलो, दोस्रो, तेस्रो, चौथो र पाँचौँ हुनेलाई क्रमशः नगद रु ४० हजार, रु २५ हजार, रु १७ हजार, रु ११ हजार र सात हजारको साथमा मेडल र प्रमाणपत्र प्रदान गरिएको आयोजकले जनाएको छ ।     
      
प्रतियोगिताका विजयी तथा सहभागी गायकगायिकालाई कार्यक्रमका प्रमुख अतिथि, गीतकार एवं कोशी प्रदेशका पूर्वसामाजिक विकासमन्त्री राजन राईले पुरस्कार तथा प्रमाणपत्र प्रदान गर्नुभएको थियो । खोटाङ कलाकार समाजको सहआयोजनामा सञ्चालन भएको राष्ट्रिय गायन प्रतियोगिताको निर्णायकमा सङ्गीतकार महेश खड्का, गायिका पार्वती राई र गायक तथा सङ्गीतकार रोशन राई रहनुभएको थियो ।     
      
प्रतियोगितामा सहभागीमध्ये पहिलो चरणबाट दोस्रो चरणमा उत्कृष्ट १५ जना छनोट गरिएको थियो । उत्कृष्ट १५ मा छनोट भएकाले पुनःप्रस्तुति दिएपछि विजेतासँगै उत्कृष्ट पाँच छनोट गरिएको सहआयोजक समाजका अध्यक्ष एवं गायक तथा सङ्गीतकार रुपकुमार राईले जानकारी दिनुभयो ।     
      
गत वैशाख ३१ गते देखि यही जेठ १० गतेसम्म सञ्चालन हुने महोत्सवअन्तर्गत गायन प्रतियोगिता समापनका अवसरमा वरिष्ठ सङ्गीतकार महेश खड्का र गायिका पार्वती राईलाई सम्मान गरिएको छ । खोटाङमा जन्मिएर नेपाली साङ्गीतिक क्षेत्रमा पु¥याएको योगदानको कदरस्वरुप उहाँहरुलाई नगद रु सात हजार सात सय ७७ नगदसहित सम्मान गरिएको आयोजकले जनाएको छ ।     
      
खेलकुदका माध्यमबाट खोटाङलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा परिचित गराउने, पर्यटकीय जिल्लाको रुपमा अघि बढाउने, खेलकुदलाई जिल्लाको गौरवको आयोजना बनाउने, सन् २०५० भित्र ओलम्पिक पदक जित्ने खेलाडी जिल्लामै उत्पादन गर्नेलगायत उद्देश्य सहित खेलकुद, साहित्यिक, साङ्गीतिक तथा पर्यटन महोत्सवको आयोजना गरिएको आयोजक नेपाल खेलकुद प्रतिष्ठान खोटाङका अध्यक्ष सञ्जयकुमार राईले जानकारी दिनुभयो ।     
      
एघार दिनसम्म सञ्चालन हुने महोत्सवअन्तर्गत गत वैशाख ३१ गते एथ्लेटिक्स विद्याका प्रतियोगिता तथा जेठ ४ गते खुला राष्ट्रिय कविता प्रतियोगिता सञ्चालन गरिएको थियो ।     
      
एथ्लेटिक्स प्रतियोगिताअन्तर्गत खुला महिला/पुरुष हाफ म्याराथनको उपाधि महिलातर्फ नेपाल प्रहरीका राममायाँ बुढा र पुरुषतर्फ त्रिभुवन आर्मी क्लबका गजेन्द्र राईले पाउनुभएको छ । उपाधि विजेता बुढा र राईलाई जनही नगद रु ७५/७५ हजार, ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिएको छ ।     
      
त्रिधार्मिकस्थल हलेसीमा आयोजित खुला राष्ट्रिय कविता प्रतियोगितामा १५ जना प्रतियोगीलाई पछि पार्दै सुनसरीका कवि किरण सिवाले उपाधि जित्नुभएको थियो । कवि सिवाको ‘बिर्खे दमाईको आवाज’ शीर्षकको कविताले रु ४० हजार राशीको उपाधि जितेको हो ।     
      
जेठ ८ गतेदेखि १० गतेसम्म राष्ट्रिय कराँते प्रतियोगिता सञ्चालन हुँदैछ । सातवटै प्रदेश, सोतोकान कराँते, गोजोरियो कराँते, वादोरिया कराँते र आयोजक सहित ११ टोली सहभागी प्रतियोगितामा महिला/पुरुष दुवै विधाका टोली प्रथम, द्वितीय, तृतीय र चौथोले क्रमशः रु एक लाख ११ हजार एक सय ११, रु ५५ हजार पाँच सय ५५, रु ३३ हजार तीन सय ३३ र २२ हजार दुई सय २२ नगद पुरस्कार प्राप्त गर्ने जनाइएको छ ।     
      
चन्दा सङ्कलन तथा दाताको सहयोगमा आयोजना गरिएको महोत्सव सम्पन्न गर्न करिब रु ५२ लाख खर्च हुने आयोजक संस्थाका अध्यक्ष राईले जानकारी दिनुभयो ।     
      
दिक्तेल बजारमा आयोजना गरिएको बृहत् महोत्सव अवधिभरमा करोडौँको आर्थिक कारोबार हुने अपेक्षा गरिएको उद्योग वाणिज्य सङ्घ खोटाङका अध्यक्ष राजनप्रसाद आचार्यले बताउनुभयो ।     
      
महोत्सव सफल पार्न जिल्ला समन्वय समितिका प्रमुख सनबहादुर राईको संयोजकत्वमा मूल समारोह समिति, विभिन्न सङ्घसंस्थाका प्रमुख तथा प्रतिनिधिलाई समेटेर नौ वटा उपसमिति गठन गरिएको छ । महोत्सवमा सहभागी हुन राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरका खेलाडीका साथै साहित्यिक एवं सङ्गीतिककर्मीहरु दिक्तेल बजारमा भेला भएका छन् ।     
 

प्रकाशित मितिः सोमबार, ०७ जेठ २०८१
https://jawaaf.com/storage/01HY81KNR9JE7JN6XWF0XKN06F.jpg

डोको बोकेर दौडिने प्रतियोगितामा फक्ताङ्लुङका कार्की प्रथम

ताप्लेजुङ I यहाँ जारी ताप्लेजुङ पर्यटन महोत्सवअन्तर्गत आज भएको डोको क्यारी रन (डोको बोकेर दौडिने) प्रतियोगितामा फक्ताङ्लुङ गाउँपालिकाका–२ का छत्रबहादुर कार्की प्रथम हुनुभएको छ । 

सदरमुकामदेखि सुकेटारस्थित सानो पाथीभरा मन्दिर पुगेर फर्किनुपर्ने करिब १४ किलोमिटरको निर्धारित दूरी एक घण्टा १५ मिनेटमा पार गर्दै कार्की प्रथम हुनुभएको आयोजक समितिले जनाएको छ ।
 
यस्तै पाँचथरको फिदिम नगरपालिका–१४ का विशाल राई एक घण्टा १९ मिनेटमा निर्धारित दूरी पार गर्दै द्वितीय हुनुभएको छ भने मिक्वाखोला गाउँपालिकाका–३ का मिङ्मा शेर्पा एक घण्टा २० मिनेटमा दूरी पार गरेर तृतीय हुनुभएको छ ।
 
चौथोदेखि क्रमशः दसौँसम्म फक्ताङ्लुङका सञ्चबहादुर शेर्पा, मिक्वाखोलाका फुर्वालाक्पा शेर्पा, मैवाखोलाका पाशाङ बाङ्गल शेर्पा, फुङ्लिङ नगरपालिकाका दिपेन्द्र सुजी, मैवाखोलाका लाक्पानुर्वु शेर्पा र मैवाखोलाकै आशकुमार लिम्बू रहेका छन् ।
 
प्रतियोगिताका प्रथम, द्वितीय र तृतीयलाई क्रमशः रु ३० हजार, रु २० हजार र रु १० हजार नगदसहित प्रमाणपत्र प्रदान गरिएको छ भने चौथोदेखि दसौँसम्मका लागि जनही रु एक हजारसहित प्रमाणपत्र प्रदान गरिएको आयोजक समितिले जनाएको छ ।
 
महोत्सवअन्तर्गत यसअघि दुना टपरी गाँस्ने, धुप बाट्ने, वक्तित्वकलालगायतका प्रतियोगिता सम्पन्न भएका छन् भने महोत्सवको अन्तिम दिन सोमबार पाथीभरा म्याराथन हुने आयोजक समितिका संयोजक तथा जिल्ला समन्वय समितिका प्रमुख छिरिङ लामाले जानकारी दिनुभयो

प्रकाशित मितिः आइतबार, ०६ जेठ २०८१
https://jawaaf.com/storage/01HY7H5R1HA1TS3GWFMS18K6XH.jpg

फुङलिङ–पाथीभरा साइकलयात्रा

ताप्लेजुङ I ताप्लेजुङ पर्यटन महोत्सव आयोजक समितिले जिल्लाको प्रसिद्ध तीर्थस्थल पाथीभरा देखि फुङलिङ बजारसम्म साइकलयात्रा आयोजना गरेको छ । पाथीभरा महोत्सवका क्रममा यात्रा आयोजना गरिएको हो ।     
     
पाथीभराको प्रचारप्रसारका साथै धार्मिक पर्यटन प्रवर्द्धनमा टेवा पुर्याउने उद्देश्यले शनिबार आयोजित साइकलयात्रामा धरानका १६ वर्षीय दीपसागर तामाङसहित १७ जना सहभागी थिए । यसअघि पनि पाथीभरामा साइकलयात्रा गर्नुभएका तामाङले नेपालका अन्य ठाउँको तुलनामा पाथीभरा साइकलयात्राका लागि उत्कृष्ट क्षेत्र भएको बताउनुभयो । पाथीभरा पदमार्गलाई साइकलयात्राका लागि पनि हुनेगरी स्तरोन्नति गर्नसके यस क्षेत्रमा साइकलयात्रा गर्नेको सङ्ख्या बढ्ने उहाँले बताउनुभयो ।     
     
यही जेठ ३ गतेदेखि सुरु भएको महोत्सव सोमबार सम्पन्न हुनेछ । महोत्सवका क्रममा म्याराथन, मेयरकप भलिबल प्रतियोगिता, दुनाटपरी गाँस्ने, धुप बाट्नेलगायत प्रतियोगिता तथा कृषि प्रदर्शनी भइरहेको छ ।     
 

प्रकाशित मितिः आइतबार, ०६ जेठ २०८१
https://jawaaf.com/storage/01HY61AWCEE2RN5ACZAPSWFJ06.jpg

राष्ट्रिय साइकल दौड: प्रकाश र उषा च्याम्पियन

कास्की I पोखरामा आज सम्पन्न राष्ट्रिय साइकल दौड प्रतियोगिताको उपाधि पुरुषतर्फ प्रकाश थापामगर र महिलातर्फ उषा खनालले जित्नुभएको छ । साइक्लिङको माध्यमबाट खेल पर्यटनको प्रवर्द्धन गर्ने उद्देश्यले पोखरा महानगरपालिका खेलकुद विकास समितिले राष्ट्रिय दौड प्रतियोगिता आयोजना गरेको हो । पोखरा –१७ र २१ भित्र तय गरिएको रुटमा च्यापिम्पयन बनेका दुबै जनाले जनही रु ५० हजार नगद, मेडल र प्रमाणपत्र पुरस्कार प्राप्त गर्नुभयो ।     
     
प्रकाशले निर्धारित २८ किमी दूरी एक घण्टा ३७ मिनेट १३ सेकेन्ड र उषाले निर्धारित २० किलोमिटर एक घण्टा ३९ मिनेट १० सेकेन्डमा पूरा गर्नुभएको थियो । प्रतियोगितामा पुरुषतर्फ एक घण्टा ३९ मिनेट २३ सेकेन्डमा दौड सकेर सुरज रानामगर द्वितीय र एक घण्टा ४३ मिनेट ५८ सेकेन्डमा सकेर हिमाल टमाटा तृतीय हुनुभयो ।     
     
महिलातर्फ हुमी बुढा मगर द्वितीय र इन्द्रकुमारी तामाङ तृतीय हुनुभयो । बुढाले एक घण्टा ४० मिनेट ११ सेकेन्ड र तामाङले एक घण्टा ५९ मिनेट एक सेकेन्डमा २० किलोमिटर दूरी पार गर्नुभयो । प्रतियोगितामा द्वितीय र तृतीय हुने महिला–पुरूष खेलाडीले क्रमशः रु ३०-३० हजार र रु २०-२० हजार सहित मेडल र प्रमाणपत्र पुरस्कार प्राप्त गर्नुभयो ।     
     
पुरुषतर्फ अनिल विक र महिलातर्फ सोफिया विक पोखरा च्याम्पियन बन्नुभयो । उहाँहरुले जनही रु १०-१० हजार मेडल र प्रमाणपत्र पुरस्कार पाउनुभयो । विजेता र सहभागी खेलाडीलाई गण्डकी प्रदेश सभा सदस्य भीमबहादुर कार्की, पोखरा–१७ का वडाध्यक्ष राधिका शाही योगी, कास्की जिल्ला साइक्लिङ सङ्घका अध्यक्ष शङ्कर भण्डारी लगायतले पुरस्कार वितरण गर्नुभएको थियो ।     
     
पोखरा महानगरपालिका वडा नं १७ र कास्की जिल्ला साइक्लिङ सङ्घको सहआयोजना र नेपाल साइक्लिङ सङ्घको प्राविधिक सहयोगमा भएको प्रतियोगितामा पुरुष, महिला र ‘रन फर फन’ विधामा गरेर एक सय जनाभन्दा बढी खेलाडी सहभागी थिए । पोखरा–१७ पावरहाउसबाट सुरू भएको दौड महतगौँडा–दोबिल्ला झोलुङ्गे पुल हुँदै पोखरा–२१ फेदीपाटन–खर्सयाङ–निर्मलपोखरी–फेदीपाटन–दम्सादी हुँदै पावरहाउस पुगेर टुङ्गिएको थियो ।     
 

प्रकाशित मितिः शनिबार, ०५ जेठ २०८१
https://jawaaf.com/storage/01HY3H4T5BRJW6VA4D4H32W21Y.jpg

पोखरामा शनिबार राष्ट्रिय साइकल दौड प्रतियोगिता

कास्की I साइक्लिङको माध्यमबाट खेल पर्यटनको प्रवर्द्धन गर्ने उद्देश्यले पर्यटनको राजधानी पोखरामा भोली राष्ट्रिय साइकल दौड प्रतियोगिता हुँदैछ । पोखरा महानगरपालिका खेलकुद विकास समितिको आयोजनामा तेस्रो संस्करणको राष्ट्रिय साइकल दौड प्रतियोगिता हुन लागेको छ । महिला, पुरूष र ‘रन फर फन’ गरेर तीन विधामा प्रतियोगिता सञ्चालन हुने समितिका अध्यक्ष दीपकबहादुर गोदारले आज आयोजित पत्रकार सम्मेलनमा जानकारी दिनुभयो । गोदारका अनुसार प्रतियोगिताको सबै तयारी पूरा भएको छ ।   
  
प्रतियोगिताको रूट पोखरा–१७ र पोखरा–२१ मा पर्ने गरेर तय गरिएको सहआयोजक कास्की जिल्ला साइक्लिङ सङ्घका अध्यक्ष शङ्कर भण्डारीले बताउनुभयो । प्रतियोगितामा पुरूषतर्फ २८ किलोमिटर र महिलातर्फ २० किलोमिटरमा खेलाडीबीच प्रतिस्पर्धा हुनेछ ।   
  
पोखरा–१७ पावर हाउसबाट बिहान प्रतियोगिता सुरू हुनेछ । पावर हाउसबाट सुरू हुने दौड महतगौँडा–दोबिल्ला झोलुङ्गे पुल हुँदै पोखरा–२१ फेदीपाटन–खस्र्याङ–निर्मलपोखरी–फेदीपाटन–दम्सादी हुँदै पावर हाउस आएर टुङ्गिने छ । प्रतियोगितामा एक सय जना खेलाडी सहभागी हुने आयोजकको अनुमान छ ।   
  
प्रतियोगितामा सहभागी खेलाडीको रु पाँच लाख बराबरको बीमा गरिएको अध्यक्ष गोदारलले जानकारी दिनुभयो । प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुने महिला–पुरूष खेलाडीले जनही क्रमशः रु ५० हजार, रु तीन हजार र रु २० हजारका दरले नगदसहित मेडल र प्रमाणपत्र पुरस्कार पाउने खेलकुद विकास समितिका सदस्य सचिव सुवास खड्काले जानकारी दिनुभयो । 
  
चौँथो र पाँचौँ हुनेले क्रमश ः रु १० हजार र रु पाँच हजारसहित मेडल र प्रमाणपत्र पाउने छन् । प्रतियोगितामा सहभागी हुने पोखरा महानगरपालिकाभित्रका खेलाडी जसले दूरी सुरूमा पार गर्छ उसले नगद रु १० हजार पोखरा च्याम्पियनको उपाधि प्राप्त गर्ने बताइन्छ ।   
  
प्रतियोगिताको सहआयोजक पोखरा महानगरपालिका–१७ का वडाध्यक्ष राधिका शाही योगीले पर्यटकीय राजधानी पोखरा भन्ने नारालाई सफल पार्न यस्ता प्रतियोगिताको महत्वपूर्ण भूमिका हुने बताउनुभयो । उहाँले स्वस्थ हुन खेलकुद आवश्यक रहेकाले वडाले विभिन्न खेल प्रतियोगिता गरेर स्वस्थ नागरिक र खेलाडी उत्पादनमा ध्यान दिएको बताउनुभयो । समितिका अध्यक्ष गोदारले महानगरले ग्रास रूटबाटै खेलाडी उत्पादनमा जोड दिएको बताउनुभयो ।   
उहाँले भन्नुभयो, “हामीले १० वटा ग्रासरूट प्रतियोगिता ग¥यौँ । यो भनेको विद्यालयसँग जोडिन्छ जहाँबाट खेलाडी उत्पादन हुन्छ, ।”  

प्रकाशित मितिः शुक्रबार, ०४ जेठ २०८१
https://jawaaf.com/storage/01HY2ZKFG486DP1FDFB9GWSKPE.jpg

नेपाली सेनाले भलिबल खेलाडीहरुलाई सहयोग गरेको छ

महेन्द्रनगर (कञ्चनपुर) I नेपाली सेनाले भलिबल खेलाडीहरुलाई सहयोग गरेको छ । कञ्चनपुरको महेन्द्रनगरस्थित भलिबल प्रशिक्षण केन्द्रमा आश्रित सुदूरपश्चिमका विभिन्न जिल्लाका खेलाडीलाई सेनाले खाद्यान्नलगायत सामग्री सहयोग गरेको हो ।     
      
कञ्चनपुर जिल्ला भलिबल सङ्घले लामो समय देखि खेलाडी एकत्रित गरेर यहाँस्थित प्रशिक्षण केन्द्रमा भलिबलको अभ्यास तथा उहाँहरुलाई पढ्न सहयोग गर्दैआएको छ । खेलाडीको नियमित प्रशिक्षणका दौरान उहाँहरुको खानपिनको व्यवस्थापनमा सहयोग पुगोसो भन्ने उद्देश्यले यहाँस्थित सेनाको श्री नं. २५ बाहिनी अड्डा भगतपुर ब्यारेक, रुद्रध्वज गण र श्रीदल गुल्मले चामल, तेल, मसला, बिस्कुटलगायतका सामाग्री सहयोग हो ।     
      
श्री नं. २५ बाहिनी अड्डाका बाहिनीपति सहायकरथि मनोज थापाले उक्त सामाग्री भलिबल प्रशिक्षक जगदीशप्रसाद भट्टलाई हस्तान्तरण गर्नुभयो । सो अवसरमा बाहिनीपति सहायकरथि थापाले खेलाडीलाई अनुशासित, लगनशिल र मेहनतका साथ प्रशिक्षणमा लगाव राख्न तथा भलिबल खेलमार्फत विश्वर नेपाललाई चिनाउन सफल हुने विश्वास व्यक्त गर्नुभयो ।     
      
नेपाली सेनाले यसअघि भलिबल प्रशिक्षण केन्द्रको भवन निर्माणदेखि विभिन्न प्रतियोगितामा समेत सहयोग र सहकार्य गर्दै आएको भलिबल प्रशिक्षक भट्टले बताउनुभयो । हाल प्रशिक्षण केन्द्रमा झण्डै एक सयको हाराहारीमा खेलाडी प्रशिक्षणरत छन् । पन्ध्र खेलाडी प्रशिक्षण केन्द्रमै बसेर अध्ययन तथा भलिबलको अभ्यास गर्दैआएका छन् ।     
 

प्रकाशित मितिः शुक्रबार, ०४ जेठ २०८१
https://jawaaf.com/storage/01HY2QHN0PKPTHPGHXG2BQEPMV.webp

महिला क्रिकेटको फाइनलमा सुदूरपश्चिम प्रदेश

काठमाडौँ I सुदूरपश्चिम प्रदेश ललितपुर मेयर कप राष्ट्रिय महिला टि–ट्वान्टी क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । सुदूरपश्चिमले बागमती प्रदेशविरुद्ध १०९ रनको फराकिलो अन्तरले पराजित गर्दै प्रतियोगिताको फाइनलमा प्रवेश गरेको हो ।     
     
 कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज भएको खेलमा सुदूरपश्चिमले प्रस्तुत गरेको एक सय ५८ रनको लक्ष्य पछ्याएको बागमतीले १६ दशमलव १ ओभरमा सबै विकेट गुमाउँदै ४८ रनमा समेटियो । जितसँगै चार खेलमा छ अङ्क जोड्दै सुदूरपश्चिम दोस्रो स्थानमा रहदै फाइनलमा पुगेको हो । पराजित बागमती प्रदेश समान खेलबाट दुई अङ्क जोड्दै प्रतियोगिताबाट बाहिरियो ।     
     
 बागमतीका लागि करिश्मा गुरुङले १६ रन बनाउनुबाहेक अन्य खेलाडीले दोहोरो अङ्कमा रन जोड्न सकेनन् । कन्चन श्रेष्ठले ७, विपिसा साहीले ४ तथा सोनी पाख्रिनले ३ रन जोडे ।     
     
 बागमतीलाई सस्तैमा समेट्नेक्रममा सुदूरपश्चिमकी ऋतु कनोजियाले तीन विकेट लिइन् भने कविता जोशी र लक्ष्मी साउदले समान दुई/दुई विकेट लिए । त्यस्तै कप्तान विन्दु रावल र करिश्मा थापाले समान एक/एक विकेट लिए ।     
     
 त्यसअघि टस हारेर पहिला ब्याटिङको निम्तो पाएको सुदूरपश्चिमले निर्धारित २० ओभरमा दुई विकेट गुमाएर एक सय ५७ रनको योगफल बनाइएको थियो ।     
     
 सुदूरपश्चिमका लागि सम्झाना खड्काले सर्वाधिक ७४ रनको योगदान दिइन् । उनले ४७ बलमा १० चौकाको मद्दतले अविजित ७४ रनको योगदान दिएकी हुन् । त्यस्तै, रुवी पोदार र विन्दु रावलले समान २८/२८ रन बनाए भने कविता जोशीले अविजित २० रन बनाएकी थिइन् ।     
     
 बागमतीका लागि करिश्मा गुरुङले एक विकेट लिइन् । योजितसँगै सुदूरपश्चिमले उपाधिका लागि अब नेपाल एपिएफ क्लबसँग प्रतिस्पर्धा गर्नेछ । फाइनल खेल भोलि हुनेछ ।     

प्रकाशित मितिः शुक्रबार, ०४ जेठ २०८१