वेस्ट इन्डिज ‘ए’ विरुद्धको खेलमा नेपालले पहिला बलिङ गर्ने
काठमाडौँ I वेस्ट इन्डिज ‘ए’ विरुद्धको ट्वान्टी–२० शृङ्खलाको पाँचौँ तथा अन्तिम खेलमा नेपालले टस हारेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भर्खरै भएको टसमा वेस्ट इन्डिजका कप्तान रोस्टन चेजले टस जितेर पहिले ब्याटिङको निर्णय लिएका छन् । योसँगै नेपालले पहिला बलिङ गर्नेछ ।
उक्त शृङ्खलामा वेस्ट इन्डिज ३–१ ले अगाडि रहेको छ । यसअघि भएको पहिलो खेलमा नेपालले वेस्ट इन्डिजमाथि चार विकेटको जित निकालेको थियो भने त्यसयता लगातार तीन खेलमा नेपाल पराजित भएको छ । वेष्ट इन्डिजले नेपाललाई दोस्रो खेलमा १० रनले, तेस्रो खेलमा ७६ रनले र चौथो खेलमा २८ रनले पराजित गरेको थियो ।
आजको खेलमा नेपालले वेस्ट इन्डिजसको ए टोलीलाई हराउँदै प्रतियोगिताको अन्त्य गर्न चाहन्छ । नेपालले टोलीमा आज दुई खेलाडीलाई परिवर्तन गरिएको छ । गुल्सन झा र ललितनारायाण राजवंशी बेन्चमा रहँदा अनिकुमार साह र सागर ढकालले मौका पाएका छन् ।
नेपाली टोलीका कप्तान रोहितकुमार पौडेलसहित आसिफ शेख, कुशल भुर्तेल, दीपेन्द्रसिंह ऐरी, कुशल मल्ल, सोमपाल कामी, ललितनारायण राजवंशी, प्रतिश जिसी, गुल्सन झा, अभिनाश बोहरा र सन्दीप जोरा छन् ।
टी ट्वेन्टी शृङ्खलाः नेपाल र वेष्ट इण्डिज ‘ए’ बीचको अन्तिम खेल आज
काठमाडौँ I नेपाल र वेस्ट इण्डिज ‘ए’ बीचको ट्वेन्टी–२० शृङ्खलाको अन्तिम खेल आज मध्याह्न कीर्तिपुर स्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा हुँदैछ । पाँच खेलको शृङ्खलामा एक खेल बाँकी हुँदा नै वेस्ट इण्डिजले शृङ्खलालाई आफ्नो पक्षमा पारिसकेको छ । नेपालसँगको चौथो खेलमा २८ रनको जित निकाल्दा वेस्ट इन्डिज ‘ए’ले शृङ्खला आफ्नो पक्षमा पारेको हो । चार खेल सकिँदा वेस्ट इण्डिजले तीन र नेपालले एक खेल जितेको छ । शृङ्खलाको पहिलो खेलमा नेपाल चार विकेटले विजयी हुँदा दोस्रो खेलमा १० रन र तेस्रो खेलमा ७६ रनले पराजित भएको थियो
गत बिहीबारको खेलमा वेस्ट इन्डिजले प्रस्तुत गरेको २१० रनको लक्ष्य पछ्याउने क्रममा नेपालले निर्धारित २० ओभर खेले पनि १८१ रनमात्र बनाउन सकेको थियो । यो जितसँगै वेस्ट इन्डिजले ३–१ को अग्रतासहित शृङ्खला सुनिश्चित गरेको हो ।
वेस्ट इन्डिज ‘ए’ ब्याटिङ गर्दै, नेपाल जित्नैपर्ने दबाबमा
काठमाडौँ I टी–ट्वान्टी क्रिकेट शृङ्खलाअन्तर्गत नेपाल विरुद्धको चौथो खेलमा वेस्ट इन्डिज ‘ए’ ले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय गरेको छ । आजको खेलमा नेपाल जित्नैपर्ने दबाबमा छ । आजको खेल कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा १२ः१५ बजे सुरु हुँदैछ ।
नेपाली टोलीमा रोहितकुमार पौडेल, कुशल भुर्तेल, आसिफ शेख, कुशल मल्ल, सन्दीप जोरा, गुलशनकुमार झा, दीपेन्द्रसिंह ऐरी, सोमपाल कामी, प्रतिश जिसी, ललितनारायण राजवंशी र अभिनाश बोहरा रहेका छन् ।
यसअघि भएका तीन खेलमध्ये वेस्ट इन्डिज ‘ए’ले दुई खेल जितेको छ भने नेपाल एउटा खेलमा मात्र विजयी भएको छ । यही वैशाख १५ गते भएको पहिलो खेलमा नेपाल चार विकेटले विजयी भएको थियो । सो खेलमा वेस्ट इन्डिज ‘ए’ले दिएको दुई सय पाँच रनको विजयी लक्ष्य नेपालले ६ विकेट गुमाएर पुरा गरेको थियो । उक्त खेलमा कप्तान रोहितकुमार पौडेलले शतकीय पारी खेलेका थिए । उनले एक सय १२ रन बनाउनुका साथै बलिङतर्फ एक विकेट समेत लिएका थिए ।
यसैगरी वैशाख १६ गते भएको दोस्रो खेलमा भने नेपाल वेस्ट इन्डिज ‘ए’सँग मात्र १० रनले पराजित भयो । सो खेलमा वेस्ट इन्डिज ‘ए’ले नेपालसामु जितका लागि एक सय ६१ रनको लक्ष्य प्रस्तुत गरेको थियो । तर नेपालले निर्धारित २० ओभरमा नौ विकेट गुमाएर एक सय ५० रन मात्र बनाउन सक्यो । उक्त खेलमा पनि कप्तान पौडेलले उत्कृष्ट ब्याटिङ गरे । उनले अविजित ७१ रन बनाए । पहिलो खेलमा जस्तै दोस्रो खेलमा पनि नेपाली ब्याटरले सम्झिन लायक ब्याटिङ गर्न सकेनन् । फलस्वरुप नेपालले सो खेल झिनो रनअन्तरले गुमाउन पुग्यो ।
यस्तै बुधबार भएको तेस्रो खेलमा भने नेपाल वेस्ट इन्डिज ‘ए’सँग फराकिलो रनअन्तरले पराजित भयो । वेस्ट इन्डिज ‘ए’ले जितका लागि नेपालसामु दुई सय २८ रनको विजयी लक्ष्य प्रस्तुत गरे पनि नेपाली टोली एक सय ५१ रनमै समेटियो । सो खेलमा त्यसअघिका दुई खेलको भन्दा कमजोर खेल प्रदर्शन ग¥यो । नेपाली टोलीको अन्य दुई खेलको तुलनामा बलिङ, ब्याटिङ र फिल्डिङमा फितलो प्रदर्शन रह्यो । सो खेलमा वेस्ट इन्डिज ‘ए’का जोनसन चाल्र्सले शकतीय पारी खेले भने आन्द्रे फ्लेचरले अद्र्धशतक प्रहार गरे । पाँच खेलको जारी शृङ्खलामा वेस्ट इन्डिज ‘ए’ आजको खेलमा बिनादबाब मैदानमा उत्रने छ । नेपाली टोली जित्नैपर्ने दबाबमा हुनेछ ।
नेपाल र वेस्ट इन्डिज ‘ए’ बीचको अन्तिम खेल शनिबार हुनेछ ।
नेपाल वेस्ट इन्डिज ‘ए’ सँग पराजित
१९ वैशाख, काठमाडौँ I टी–ट्वान्टी शृङ्खलाको तेस्रो खेलमा नेपाल वेस्ट इन्डिज ‘ए ’सँग ७६ रनले पराजित भएको छ । जितका लागि दुई सय २८ रनको विजयी लक्ष्य पच्छाएको नेपालको पारी १९ दशमलव २ ओभरमा सवै विकेट गुमाउँदै एक सय ५१ रनमा समेटियो ।
नेपालका लागि करण केसीले २८, लोकेश बमले २८, कुशल मल्लले २०, विनोद भण्डारीले १९, अनिल साहले १४, कप्तान दीपेन्द्रसिँह ऐरीले ७, गुल्सन झाले ६ तथा विवेक यादव, सागर ढकाल र आरिफ शेखले समान तीन तीन रन बनाए । करणले १७ बल खेल्दै तीन चौका र एक छक्का प्रहार गरे । बमले २९ बलमा एक चौका र दुई छक्का हाने । नेपाललाई एक सय ५१ रनमा समेट्ने क्रममा वेस्ट इन्डिज ‘ए’ का हायडेन वाल्सले तीन, गुदाकेश मोतीले दुई तथा फबिएन एलेन, म्याथ्यु फर्ड र ओबेद म्याककोयले एक एक विकेट लिए ।
त्यसअघि कीर्तिपुर स्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ रोजेको वेस्ट इन्डिज ‘ए’ले निर्धारित २० ओभरमा तीन विकेट गुमाउँदै दुई सय २८ रनको योगफल बनायो । वेस्ट इन्डिज ‘ए’का लागि जोनसन चाल्र्सले शतकीय पारी खेले । उनले ६१ बलमा १३ चौका र सात छक्काको मद्दतमा एक सय १९ रन बनाए । यस्तै आन्द्रे फ्लेचरले ५३ रन बनाए । उनले ३३ बल खेल्ने क्रममा चार चौका र र तीन छक्का हाने । यस्तै फबिएन एलेनले १९, एलिक एथानाजेले १७ तथा किमो पलले अविजित १३ रन बनाए ।
बलिङ तर्फ नेपालका लागि करण केसी र सागर ढकालले एक एक विकेट लिए । पाँच खेलको जारी शङ्खलामा वेस्ट इन्डिज ‘ए’ दुई तथा नेपाल एक खेलमा पजयी भएको छ । पहिलो खेलमा नेपालले वेस्ट इन्डिज ‘ए’लाई चार विकेटले हराएको थियो । नेपाल दोस्रो खेलमा वेस्ट इन्डिज ‘ए’सँग १० रनले पराजित भएको थियो । शृङ्खलाको चौथो खेल बिहीबार हुनेछ ।
विपन्न विद्यार्थीलाई छात्रवृत्ति
१८ वैशाख, फुङ्लिङ (ताप्लेजुङ) I स्थानीय लालीगुराँस सेवा समाजले आर्थिक रूपले विपन्न चार विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्ने भएको छ । आर्थिक अभावमा बीचमै पढाइ छाड्न नपरोस् भनेर छात्रवृत्तिको व्यवस्था गरिएको हो ।
जिल्लाको फक्ताङलुङ गाउँपालिका–२ खेजेनिम गाउँ अवस्थित मेजेनिम माध्यमिक विद्यालयमा अध्ययनरत चार विद्यार्थीलाई छात्रवृत्ति उपलब्ध गराउनेगरी लालीगुराँस सेवा समाज संस्था र विद्यालयबीच सम्झौता भएको विद्यालय व्यवस्थापन समिति अध्यक्ष दिलकुमार पताङवाले बताउनुभयो । पताङवाका अनुसार कक्षा ५ भन्दा मुनिका दुई छात्र र दुई छात्रा गरी चार विद्यार्थीलाई वार्षिक रु तीन हजारका दरले कक्षा १० सम्म छात्रवृत्ति प्रदान गर्ने सम्झौता भएको छ ।
सम्झौताअनुसार छात्रवृत्ति प्राप्त विद्यार्थीले कक्षा छाडेर गएमा विद्यालयको सिफारिसमा अर्का विद्यार्थीलाई प्रदान गरिने छ । उक्त संस्थाले चालु आर्थिक वर्षका लागि आवश्यक रकम विद्यालयलाई उपलब्ध प्रदान गरिसकेको छ । संस्थाले रु दुई लाख बराबरको खेलकुद सामग्री उपलब्ध गराएको विद्यालयले जनाएको छ ।
पोखरा स्पोर्ट्स अवार्ड : चार विधामा मनोनयन सार्वजनिक
१७ वैशाख , कास्की I नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले वर्षेनी गर्दै आएको पोखरा स्पोर्ट्स अवार्डको आठौँ संस्करण यही वैशाख २८ गते पोखरा सभागृहमा हुने भएको छ । मञ्चले खेलकुदको क्षेत्रमा क्रियाशील खेलाडी तथा व्यक्तिहरुलाई प्रोत्साहित गर्नका लागि अवार्ड वितरण गर्दै आएको छ । सो समारोहको तयारीका काम अघि बढाइएको मञ्चले जनाएको छ ।
मञ्चले आज पत्रकार सम्मेलन गरी स्पोर्टस् अवार्ड अन्तर्गत चार विधामा मनोनयन सार्वजनिक गरेको छ । विगत एक वर्षमा खेलकुदमा गरेको प्रदर्शनका आधारमा खेलाडी हरेक विधामा तीन जनाका दरले मनोनयन सार्वजनिक गरिएको हो । यस वर्ष खेलाडी पुरुष विधामा क्रिकेटका अर्जुन कुमाल, टेनिसका प्रदीप खड्का र भलिबलका हिमाल सुनारी मनोनयनमा पर्नुभएको छ ।
यसै गरी वर्ष खेलाडी महिलामा आर्चरीकी अनुस्का शेरचन, भलिबलकी अरुणा शाही र आइटिएफ तेक्वान्दोकी सुस्मिता थापामगर रहनुभएको छ । यसै गरी १७ वर्ष मुनिका खेलाडी बीच प्रतिष्पर्धा हुने उदियमान खेलाडी विधामा क्रिकेटकी ज्योत्सनिका मरासिनी, ब्याडमिण्टनकी दिलासा राना र एथलेटिक्सका बादल कार्की मनोनयनमा पर्नुभएको छ । उत्कृष्ट प्रशिक्षक विधामा टेनिसका नीरज थापा, भलिबलका रमेश केसी र क्रिकेटका रिजन प्रजु पर्न सफल भएको नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीका अध्यक्ष दीननाथ बरालले बताउनुभयो ।
उहाँका अनुसार स्पोर्ट्स अवार्डमा सात विधामा अवार्ड प्रदान गरिनेछ । बाँकी विधाहरु ‘लाइफटाइम एचिभमेन्ट अवार्ड’, वर्ष उत्कृष्ट खेल सङ्घ वा क्लब र पत्रकारिता अवार्डको घोषणा पछि सार्वजनिक गरिने मञ्चले जनाएको छ । वर्ष खेलाडी पुरुष र महिलाले इलेक्ट्रिक स्कुटर र ट्रफी पुरस्कार पाउनेछन् । लाइफटाइम अचिभमेन्ट अवार्ड प्राप्त गर्नेलाई चाँदीको करुवा, ट्रफी, ताम्रपत्र र दोसल्लाले सम्मान गरिनेछ । वर्ष उत्कृष्ट उदियमान खेलाडी, वर्ष उत्कृष्ट प्रशिक्षक, वर्ष उत्कृष्ट खेल पत्रकार र वर्ष उत्कृष्ट खेलकुद सङ्घ संस्था वा क्लबतर्फका विजेताले जनही नगद रु ३५ हजार सहित ट्रफी पाउने मञ्चका महासचिव राजाराम पौडेलले जानकारी दिनुभयो ।
मञ्चले स्पोर्ट्स अवार्डलाई बृहत् बनाउन मञ्चका अध्यक्ष बरालको संयोजकत्वमा मूल आयोजक समिति गठन गरेको जनाएको छ । मूल आयोजक समितिको सहसंयोजकमा मञ्च उपाध्यक्ष सुरज श्रेष्ठ रहनुभएको छ । यसै गरी विभिन्न ११ वटा उपसमितिका संयोजक र सह–संयोजक समेत चयन गरिएको छ । आर्थिक सङ्कलन उपसमितिको संयोजक कविता घर्तीमगर र सह–संयोजक शशीकुमार पौडेललाई जिम्मेवारी दिइएको छ ।
प्रचारप्रसार उपसमितिको संयोजकमा मञ्चका महासचिव पौडेल, सहसंयोजकमा विजय नेपाल, अन्तर्राष्ट्रिय समन्वय उपसमितिको संयोजकमा केशव पाठक र सहसंयोजकमा सुदर्शन रञ्जित, स्वागत सत्कार उपसमितिको संयोजकमा एकराज गिरी र सहसंयोजकमा फडिन्द्र अकिञ्चन हुनुहुन्छ ।
स्वयंसेवक परिचालन उपसमितिको संयोजकमा मानबहादुर घर्ती र सहसंयोजकमा राम गुरुङ, फोटोग्राफी तथा भिडियोग्राफी उपसमितिको संयोजकमा उमेश पुन र सहसंयोजकमा वसन्त शेर्पा, मञ्च व्यवस्थापन समितिको संयोजकमा सन्देश श्रेष्ठ र सहसंयोजकमा धनबहादुर गुरुङ सुमन, सांस्कृतिक कार्यक्रम उपसमितिको संयोजकमा मन क्षेत्री र सहसंयोजकमा सुशील हुनुहुन्छ ।
यसैगरी सङ्घ संस्था समन्वय उपसमिति संयोजकमा रोहितराज पराजुली र सहसंयोजकमा कृष्ण दवाडी, मूल्याङ्कन तथा अनुगमन उपसमिति संयोजकमा रामकृष्ण ज्ञवाली र सहसंयोजकमा गणेश बराल (ढाकामोहन), क्विक रेसपोन्स उपसमिति संयोजकमा राजु गिरी र सहसंयोजकमा अर्जुन गाहा सुशान्त रहनुभएको छ ।
अवार्ड कार्यक्रमलाई गण्डकी प्रदेश सरकारको, प्रदेश खेलकुद परिषद् गण्डकी, पोखरा महानगरपालिका र राष्ट्रिय खेलकुद परिषद्ले सघाएका छन् । गण्डकी प्रदेशका सम्पूर्ण खेलकुद पत्रकारको साझा संस्थाका रुपमा विसं २०५७ मा मञ्चको स्थापना भएको हो । मञ्चमा हाल ७४ जना खेल पत्रकार आबद्ध छन्
इलाम-२ उपनिर्वाचन : मतदानमा महिला सहभागिता उत्साहजनक
१५ वैशाख ,फिक्कल (इलाम) I इलामको माङसेबुङ गाउँपालिका-२ हुलाककी ७९ वर्षीया ज्येष्ठ नागरिक महिला गङ्गादेवी राई बिहानै लठ्ठी टेक्दै नजिकै रहेको जनताकल्याण आधारभूत विद्यालयस्थित मतदान केन्द्रमा पुग्नुभयो । ज्येष्ठ नागरिकलाई लाइनमा बस्नु नपर्ने भएकाले स्वयम्सेवकले प्रवेशद्वारबाटभित्र मतदानस्थलमा प्रवेश गराउनुभयो । उहाँले आफूले मन परेको उम्मेद्वारको चिन्हमा मतदान गरेर बाहिर निस्कनुभयो ।
“यतिका उमेरसम्म दर्जनौँ पटक मतदान गरियो, आफूले मतदान गरेकाले जितेर पनि गए, तर गाउँको विकास भएन,” उहाँले भन्नुभयो, “यस पटक पनि मैले मत दिएको उम्मेद्वारले जितोस्, तर यस पटक जितेर गएकाले गाउँमा विकासको चाँही गर्नुपर्छ ।” गाउँमा बिजुली, खानेपानी र बाटोघाटोको समस्या समाधान गर्नुपर्ने उम्मेद्वारसँग उहाँको अपेक्षा छ ।
माङसेबुङ गाउँपालिका-२ डाँडागाउँकी अर्की एकल महिला आशमति लिम्बूले पनि उत्साहका साथ मतदान गर्नुभयो । पञ्चायतकालदेखि मतदान गर्दै आउनुभएको उहाँले राम्रो मान्छे जिताउन मतदान गर्न आएको बताउनुभयो । लठ्ठीको सहारामा आधा घण्टा पैदल हिँडेर मतदान केन्द्रसम्म आइपुग्नुभएकी उहाँले बेलाबेलामा मतदान गर्न पाउँदा आफूलाई भाग्यमानी ठान्ने गरेको बताउनुभयो । “आफूलाई मन परेको उम्मेद्वारले जितोस् भन्न सधैँ मतदानमा सहभागी हुने गरेकी छु,” उहाँले भन्नुभयो, “यसरी बेलाबेलामा मतदान गर्न पाउँदा भाग्यमानी ठान्दछु ।”
माङसेबुङ गाउँपालिका-३ सुवाचेनकी ८१ वर्षीय वृद्ध नारायणश्वरी राईको भनाइ पनि उस्तै थियो । “उम्मेद्वारमध्ये राम्रो र योग्य मान्छेलाई जिताउन मतदान गर्न आएकी छु,” उहाँले भन्नुभयो, “राम्रो र योग्य उम्मेद्वार जिताउन मेरो एक मत अमूल्य रहन्छ ।”
उल्लेखित पात्रहरु प्रतिनिधि उदाहरण मात्र हुन् । इलाम क्षेत्र नं २ मा प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनका लागि आज जारी मतदानमा महिला मतदाताको उपस्थिति उत्साहजनक रहेको छ । बिरामी, अशक्त, वृद्धवृद्धाले अप्ठ्यारोसमेत बिर्सेर उपनिर्वाचनमा मतदान गर्न मतदान केन्द्रमा पुगेका छन् । महिला मतदाताको सक्रिय उपस्थिति देखिएको थियो ।
त्यस्तै माङसेबुङ गाउँपालिका-२ स्थित इभाङ माध्यमिक विद्यालय मतदान केन्द्रमा मतदान गरेपछि स्थानीय ८४ वर्षीया वृद्धा मैतमाया लिम्बूलाई निर्वाचनको रोनक निकै मन प-यो । “सबै एकैठाउँ भेला भएको देख्न पाएँ, यसरी बेलाबेला निर्वाचन आउँदा त खुब रमाइलो लाग्छ,” उहाँले भन्नुभयो ।
यस निर्वाचन क्षेत्रमा कूल मतदाता एक लाख १५ हजार आठ सय ८९ रहेकोमा ५९ हजार १८ पुरुष, ५६ हजार आठ सय ६९ महिला र दुई तेस्रो लिङ्गी मतदाता छन् । यहाँ तोकिएका ७९ मतदानस्थलमा एक सय ४९ मतदान केन्द्रमा मतदान भइरहेको छ । यसैबीच ५२ प्रतिशत मत खसेको छ । दिउँसो ३ः३० बजेसम्मको तथ्याङ्क अनुसार ६० हजार मत खसेको छ ।
खसेको मत सङ्ख्याको आधारमा यो ५२ प्रतिशत मत हो । सबै केन्द्रमा शान्तिपूर्ण र उत्साहजनक रुपमा मतदान भइरहेको प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिनुभयो । २०७९ मङ्सिर ४ को प्रतिनिधिसभा निर्वाचनमा इलाम-२ बाट निर्वाचित नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उपाध्यक्ष सुवासचन्द्र नेम्बाङको निधन भएपछि रिक्त रहेको सो निर्वाचन क्षेत्रमा उपनिर्वाचन गराइएको हो ।
प्रत्यक्ष निर्वाचित सांसद पद रिक्त भएमा उपनिर्वाचनबाट पदपूर्ति गर्नुपर्ने कानुनी व्यवस्था छ । इलाम-२ मा १२ राजनीतिक दलका र सात स्वतन्त्र गरी १९ जना उम्मेद्वार चुनावी प्रतिस्पर्धामा छन् । सो क्षेत्रमा एमालेका सुहाङ नेम्बाङ, नेपाली कांग्रेसका डम्बरबहादुर खड्का, राष्ट्रिय स्वतन्त्र पार्टीका मिलन लिम्बू र पहिचानवादी साझा स्वतन्त्र उम्मेद्वार डकेन्द्रसिंह थेगिमबीच मुख्य प्रतिस्पर्धा हुने आँकलन छ ।
एशिया कप ट्रायथलन : इजिप्टका इसमाइल र आइसल्याण्डका इडालाई उपाधि
१५ वैशाख, कास्की I पोखरामा आज सम्पन्न एशिया कप ट्रायथोलन तथा दक्षिण एशियाली च्याम्पियनसिपमा एशिया कपको उपाधि पुरुषतर्फ इजिप्टका सिफेलडिन इसमाइलले जितेका छन् । यसैगरी महिलातर्फ आइसल्याण्डका इडा हानिसडोटिर विजयी भइन् ।
ट्रायथलनको स्प्रिन्ट विधा अन्तर्गत फेवातालमा सात सय ५० मिटर पौडी र २० किलोमिटर साइक्लिङ र पाँच किलोमिटर दौड भएको थियो । पुरुषतर्फका विजेता इसमाइलले निर्धारित दूरी ५६ मिनेट ४५ सेकेण्डमा पूरा गरे । अष्ट्रेलियाका ब्रुक्किन हेनरीले ५७ मिनेट १० सेकेण्डमा पूरा गरी द्वितीय र जापानका मिट्सुहो मोचीजुकील ५७ मिनेट २५ सेकेण्डमा पूरा गरी तृतीय भए ।
महिलातर्फकी विजेता इड्डाले निर्धारित दूरी पार गर्न एक घण्टा छ मिनेट लगाइन् । यसैगरी उपविजेता गुआमका मानामी लिजिमाले एक घण्टा ४२ सेकेण्ड र तृतीय उज्वेकिस्तानका एलिना खाकीमोवाले एक घण्टा चार मिनेटमा पार गरिन् ।
दक्षिण एसियाली ट्रायथलन च्याम्पियनसिपमा पुरुष तथा महिला दुबैतर्फ भारतीय खेलाडीले वर्चस्व राखे । पुरुषतर्फ भारतका मुरलीधर नैरले एक घण्टा दुई मिनेट तीन सेकेण्डमा तोकिएको दूरी पार गरी उपाधि जिते । यसैगरी कौसिक विनयले एक घण्टा तीन मिनेट २६ सेकेण्ड लगाउँदै उपविजेता बने । नेपालका विपन खत्कत्वा एक घण्टा पाँच मिनेट २५ सेकेण्ड लगाउँदै तृतीय भए ।
महिलातर्फ भारतका मान्सी मोहितिले निर्धारित दूरी एक घण्टा सात मिनेट ५१ सेकेण्डमा पूरा गरी विजेता बनिन् । नेपालका श्रेवी महर्जनले एक घन्टा ११ मिनेट ४५ सेकेण्डको पूरा गरी उपविजेता बनिन् । नेपालकै शोभा बलामीले एक घण्टा २१ मिनेट १३ सेकेण्डमा पूरा गरी तृतीय हुन सफल भइन् ।
यसैगरी राष्ट्रिय च्याम्पियनसिपमा विपन खत्कत्वाले एक घन्टा पाँच मिनेट २५ सेकेण्डमा निर्धारित दूरी पार गरी च्याम्पियन बने । प्रवीन थारुले एक घन्टा छ मिनेट २० सेकेण्डमा पार गरी द्धितीय र मुकेश थारुले एक घण्टा १५ मिनेट ११ सेकेण्ड लगाउँदै तृतीय हुन सफल भए ।
महिलातर्फ एक घन्टा ११ मिनेट ४५ सेकेण्डको समयमा दूरी पार गर्दै श्रेवि महर्जन च्याम्पियन बनिन् । शोभा बलामीले एक घण्टा २१ मिनेट १३ सेकेण्डमा पार गरी द्धितीय र ज्ञानु कुमारी चौधरीले एक घण्टा २१ मिनेट ५७ सेकेण्डमा पूरा गरी तृतीय स्थान हासिल गरिन् ।
यसैगरी जुनियर साउथ एसिया च्याम्पियनसिपमा पुरुषतर्फ भारतका साइ केडी च्याम्पियन बने । भारतकै कृषिभ पटेल द्धितीय र नेपालका यजु महर्जन तृतीय भए । महिला जुनियरतर्फ नेपालका श्रेवी महर्जन विजेता बनिन् । भारतका दुर्विशा पवार द्धितीय र प्रेरणा श्रवणकुमार तृतीय भइन् ।
नेपाल ट्रायथलन सङ्घको आयोजना तथा गण्डकी प्रदेश र कास्की जिल्ला ट्रायथलन सङ्घको व्यवस्थापनमा सञ्चालन भएको च्याम्पियनसिपमा विभिन्न १५ देशका ३८ पुरुष र २४ महिला गरी ६२ जना खेलाडीले प्रतिस्पर्धा गरेका थिए ।
प्रतियोगिताका विजेतालाई गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री खगराज अधिकारी, राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टङ्कलाल घिसिङ, वल्र्ड ट्रायथोलन सङ्घका अध्यक्ष मारिसोल कासडो, महासचिव एन्टोनियो आरामानी, नेपाल ट्रायथलन सङ्घका अध्यक्ष नीलेन्द्रराज श्रेष्ठ लगायतले पुरस्कार तथा मेडल वितरण गरेका थिए । प्रतियोगिता अन्तर्गत आइतबार दुआथलन च्याम्पियनसिप हुने आयोजकले जनाएको छ ।
वेस्ट इन्डिज ‘ए’ द्वारा नेपाललाई २०५ रनको लक्ष्य
१५ वैशाख, काठमाडौँ I आजदेखि सुरु भएको टी–ट्वान्टी शृङखलाको पहिलो खेलमा वेस्ट इन्डिज ‘ए’ ले नेपाललाई जितका लागि दुई सय पाँच रनको लक्ष्य दिएको छ । कीर्तिपुर स्थित त्रिभुवन विश्वविद्यालयको मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको वेस्ट इन्डिज‘ए’ले निर्धारित २० ओभर पाँच विकेट गुमाउदै दुई सय चार रनको योगफल बनायो । वेस्ट इन्डिज ‘ए’का लागि कप्तान रोस्टन चेशले सर्वाधिक ७४ रनको योगदान दिए । उनले ४६ बलमा नौ चौका र दुई छक्का प्रहार गरे । यसैगरी एलिक एथानाजेले २५ बल खेल्दै ४७ रन जोडे । उनले यस क्रममा पाँच चौका र तीन छक्का हाने । यस्तै केसी कार्टीले ३८ तथा कदीम एलियनले १५ रन बनाए ।
बलिङ तर्फ नेपालका अभिनाश बोहोरा, कमलसिंह ऐरी, दीपेन्द्रसिह ऐरी र कप्तान रोहितकुमार पौडेलले एक एक विकेट लिए । नेपालले अहिले जवाफी ब्याटिङ गरिरहेको छ । केहीबेर अघिसम्मको खेलमा नेपालले आठ ओभरमा दुई विकेट गुमाएर ६० रन बनाएको छ । अनिल साह पाँच तथा कुशल भुर्तेल १६ रन बनाएर पभेलियन फर्केका छन्
प्यालेस्टिनी खेलाडीहरूलाई ओलम्पिकमा आमन्त्रित गरिने
अन्तर्राष्ट्रिय ओलम्पिक समिति (आइओसी) का प्रमुख थोमस बाखले छ देखि आठ प्यालेस्टिनी खेलाडीले पेरिस ओलम्पिकमा भाग लिने अपेक्षा गरिएको बताउनुभएको छ । उहाँका अनुसार खेलका लागि छनोट हुन अयोग्य भए पनि केहीलाई आइओसीले आमन्त्रण गर्नेछ ।
बाखले शुक्रबार एएफपीलाई जुलाई २६ देखि सुरु हुने पेरिस ओलम्पिक खेलका लागि धेरै खेलका छनोट कार्यक्रम जारी रहेको बताउनुभयो । “तर कुनै पनि प्यालेस्टिनी खेलाडी खेल मैदानमा छनोट भएन भने पनि योग्य खेलाडी नभएका अन्य राष्ट्रिय ओलम्कि समिति जस्तै प्यालेस्टिनको ओलम्पिक समितिले आइओसीको निमन्त्रणाबाट लाभ उठाउनेछ”, स्विट्जरल्यान्डको लुजानस्थित आइओसीको मुख्यालयमा एक अन्तरवार्तामा उहाँले भन्नुभयो ।
उहाँले प्यालेस्टिनी प्रतिनिधिमण्डलको सङ्ख्या ‘छ देखि आठ’ हुने अपेक्षा गरिएको बताउनुभयो । बाखले गाजामा ‘युद्धको पहिलो दिनदेखि’ नै आइओसीले ‘खेलाडीहरूको योग्यतामा भाग लिने र आफ्नो प्रशिक्षण जारी राख्ने अनुमति दिनका लागि विभिन्न तरिकामा समर्थन गरेको’ जानकारी दिनुभयो ।
इजराइल र गाजामा युद्धको तुलनामा युक्रेन माथिको आक्रमणलाई लिएर आइओसीले रुसलाई फरक व्यवहार गरेको भन्ने भनाइलाई बाखले अस्वीकार गर्नुभयो । युक्रेनमा आक्रमण गरेपछि रुसलाई धेरै अन्तर्राष्ट्रिय खेलबाट निलम्बन गरिएको थियो र उसका खेलाडीहरूलाई पेरिस २०२४ ओलम्पिकमा राष्ट्रिय झन्डा मुनि रहेर प्रतिस्पर्धा गर्न प्रतिबन्ध लगाइएको थियो ।
पेरिस ओलम्पिकमा भाग लिनका लागि रुसले युक्रेन विरुद्धको युद्धलाई सार्वजनिकरूपमा समर्थन नगरेको र सेना वा सुरक्षा सेवाहरूले काम नगरेको हुन आवश्यक छ । सन् २०२२ मा बेइजिङमा आयोजित शीतकालीन ओलम्पिक लगत्तै युक्रेनमा आफ्नो आक्रमणमा मस्कोले ‘ओलम्पिक युद्धविरामको’ उल्लङ्घन गरेको र युक्रेनी खेल सङ्गठनहरूलाई कब्जा गरेका कारण रुसमाथि प्रतिबन्ध लगाइएको थियो ।
“इजराइल र प्यालेस्टिन बीचको अवस्था पूरै भिन्न छ”, बाखले भन्नुभयो । इजराइलमा हमासको आक्रमण र गाजामा युद्धको ‘भयानक परिणामहरू’ प्रति युक्रेनको सार्वजनिक भनाइमा एकअर्काप्रति समान रहेको बाखले बताउनुभयो ।
“पहिलो दिन देखि हामीले अक्टोबर ७ र फेरि युद्ध तथा त्यसको परिणामका बारेमा हामी कति भयभीत थियौँ भनेर भनेका थियौँ”, उहाँले भन्नुभयो, “हामीले युक्रेनमा रुसी आक्रमणलाई लिएर सधै स्पष्ट छौँ ।”