किक्रेटर लामिछानेलाई उच्च अदालतबाट सफाइ
काठमाडौँ I क्रिकेट खेलाडी सन्दीप लामिछानेलाई उच्च अदालत पाटनले सफाइ दिएको छ । न्यायाधीशद्वय सुदर्शनदेव भट्ट र अञ्जु उप्रेतीको इजलासले किक्रेटर लामिछानेलाई बलात्कारको मुद्दामा केहीबेर अघि सफाइ दिएको उच्च अदालत पाटनले जनाएको छ । यसअघि जिल्ला अदालत काठमाडौँले लामिछानेलाई बलात्कार मुद्दामा दोषी ठहर गर्दै आठ वर्ष कैद र जरिवानाको फैसला सुनाएको थियो ।
प्रतिकूल मौसमका कारण दुई दिनदेखि सगरमाथा आरोहण अवरुद्ध
काठमाडौँ I प्रतिकूल मौसमका कारण दुई दिनदेखि सगरमाथा आरोहण अवरुद्ध भएको छ । पर्यटन विभागका निर्देशक राकेश गुरुङका अनुसार सगरमाथाको चौथो शिविरभन्दा माथितिरको प्रतिकूल मौसमको कारण हिजो मङ्गलबार र आज कुनै पनि टोलीको आरोहण नभएको सगरमाथा आधार शिविरमा रहेको विभागको फिल्ड कार्यालयले जानकारी गराएको छ ।
सगरमाथा आरोहणका क्रममा हराइरहेका दुई जना मङ्गोलियन आरोहीको खोज तथा उद्धारका लागि ‘एटके एक्सपिडिसन’ प्रालिमार्फत दुई शेर्पा खटाइए पनि मौसमी प्रतिकूलताका कारण चौथो शिविरमै रोकिएको र उद्धारका लागि थप दुई जना शेर्पा हाल तेस्रो शिविर पुगेको जनाइएको छ ।
पर्यटन विभागको पर्वतारोहण शाखाका अनुसार वसन्त ऋतुको जारी आरोहणमा गत वैशाख ३१ गते बिहान ८ः४५ बजे सगरमाथाको चुचुरोतर्फ लागेका मङ्गोलिन नागरिक ५३ वर्षीय युखजर्गल सिडेनडम्बा र ३१ वर्षीय प्योरभिस्रन खाग्बाजाभ सम्पर्कविहीन भएको विभागले जनाएको छ ।
गत वैशाख २८ गतेदेखि सुरु भएको वसन्त ऋतुको जारी आरोहणमा हालसम्म ७० भन्दा बढी आरोहीले सगरमाथा आरोहण गरिसकेका छन् । कामीरिता शेर्पाले वैशाख २९औँ पटक सगरमाथा आरोहण गरेर यसअघि धेरै पटक सगरमाथाको सफल आरोहण गर्ने आफ्नै नाममा रहेको कीर्तिमान तोड्नुभएको छ । विभागको पर्वतारोहण शाखाका अनुसार यस याममा सगरमाथा आरोहण गर्न ४१ आरोही समूहका ७५ महिला र तीनसय ३९ पुरुषसहित चार सय १४ जनाले अनुमति लिएका छन् ।
ओलम्पिक तयारीका लागि प्रिन्स दाहाललाई खेल सामग्री
काठमाडौँ I राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले फ्रान्सको पेरिसमा आयोजना हुने ओलम्पिकको तयारीका लागि ब्याडमिन्टन खेलाडी प्रिन्स दाहाललाई खेल सामग्री प्रदान गरेको छ राखेपका सदस्य–सचिव टङ्कलाल घिसिङले ब्याडमिन्टनका मुख्य प्रशिक्षक सुदिप योञ्जनको उपस्थितिमा दाहाललाई खेल सामग्री हस्तान्तरण गरे । दाहाललाई याकेट, स्ट्रिङ, जुत्ता र ब्याग प्रदान गरिएको हो ।
सदस्य–सचिव घिसिङले खेल सामग्री प्रदान गर्नुअघि सो सामग्री गुणस्तरीय भए नभएको बारेमा दाहालसँग सल्लाह गरेका थिए । ब्याडमिन्टन खेलाडी दाहाल केही दिनअघि वाइल्ड कार्डमार्फत पेरिस ओलम्पिकका लागि छनोट भएका थिए । गृष्मकालीन ओलम्पिकका लागि पहिलो पटक नेपाली ब्याडमिन्टन खेलाडीका रुपमा उनी सहभागी हुन लागेका हुन् ।
विश्वकप छनोटका लागि नेपाली फुटबल टोलीको घोषणा
काठमाडौँ I विश्वकप छनोटको दोस्रो चरणअन्तर्गत संयुक्त अरब इमिरेट्स विरुद्ध हुने खेलका लागि आज २८ सदस्यीय नेपाली फुटबल टोलीको घोषणा भएको छ ।
नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनेसले प्रारम्भिक चरणमा २८ सदस्यीय खेलाडीको घोषणा गर्नुभएको हो । छनोट हुने नेपाली टोलीको गोलकिपरमा किरण चेम्जोङ, अभिषेक बराल, विशाल सुनार र सन्तोष महत रहेका छन् ।
त्यसैगरी रक्षकमा अभिषेक लिम्बू, अनन्त तामाङ, विमल पाण्डे, विशाल बस्नेत, छिरिङ लामा, रोहित चन्द, सनिश श्रेष्ठ, सौभाग्य राई, अजय चौधरी र योगेश गुरुङ छनोटमा परेका छन् ।
मिडफिल्डरमा भरत खवास, लकेन लिम्बू, मणिकुमार लामा, मनिष डाँगी, वसन्त जिम्बा, फत्तेमान घले, रोहन कार्की र सुमित श्रेष्ठ छन् भने फरवार्डमा अञ्जन विष्ट, दिनेश हेन्जन, जिलेस्पीजङ्ग कार्की, हिसुब थपलिया, समिर तामाङ र सञ्जीव विष्ट छन् ।
नेपाल र युएईबीचको खेल यही जेठ २४ गते दशरथ रङ्गशालामा हुने तय भएको थियो । तर दशरथ रङ्गशालाको मापदण्ड नपुगेको भन्दै एएफसी (एसियन फुटबल महासङ्घ) ले खेल ‘न्युट्रल भेन्यु’मा गर्न निर्देशन दिएको छ ।
राष्ट्रिय भलिबल खेलाडी सम्मानित
वालिङ (स्याङ्जा) I गण्डकी प्रदेशको प्रतिनिधित्व गर्ने राष्ट्रिय भलिबल खेलाडीहरूलाई सम्मान गरिएको छ । भलिबल खेलका माध्यमबाट जिल्लाका साथै प्रदेशको प्रतिष्ठा बढाएकामा उनीहरूलाई सम्मान गरिएको हो ।
स्याङ्जाको वालिङ–७ वनकट्टामा अवस्थित मनकामना युवा क्लबको १६औँ वार्षिकोत्सव तथा वैशाख पञ्चमीको अवसरमा आयोजित पुरुष भलिबल प्रतियोगिताका अवसरमा पूर्वराष्ट्रिय खेलाडी तथा गण्डकी प्रदेश भलिबल टिमका प्रशिक्षक रमेश केसी, गण्डकी प्रदेशका टिम क्याप्टेन खोमप्रसाद पाण्डेय (हरि), खेलाडीहरू राजन दर्लामी, सुजन चोखाल, हिमाल सुनारी र सरोज बर्देवालाई सम्मान गरिएको हो ।
गण्डकी टिमका भलिबल प्रशिक्षक तथा खेलाडीलाई नेपाली कांग्रेसका उपसभापति एवं पूर्वमन्त्री धनराज गुरुङले सम्मान गर्नुभएको थियो ।
दोस्रो अल्फा विटा ओपन बास्केटवलको उद्धघाटन खेलमा व्रदस क्लव विजयी
धरान I धरान बास्केटवल संघको आयोजना तथा सुनसरी बास्केटवल संघको सहयोगमा शनिवार देखि सुरु भएको दोस्रो अल्फा विटा ओपन महिला पुरुष बास्केटवल प्रतियोगिताको उद्धघाटन खेलमा व्रदस बास्केटवल क्लव विजयी सुरुवात गरेको छ ।
व्रदसले अइएसएल नेपाल काठमाण्डौ ए टिमलाई ५१–४४ अंकको अन्तरले पराजित गर्दै अगाडि वढेको छ । प्रतिस्पर्धात्मक भएको खेलमा व्रदस र आइएसएल नेपालले पहिलो क्वाटरमा ९–८, दोस्रो क्वाटरमा १४–१३, तेस्रो क्वाटरमा १९–११ र चौथो क्वाटरमा ९–१२ अंक जोडेका थिए । टिमलाई जित दिलाउन व्रदसका टिम क्याप्टेन कविन मगरले व्यक्तिगत २२ अंक ल्याएका थिए ।
महिला तर्फको खेलमा युवा जागृति, रेड डेभिल्स र आइएस एल नेपाल काठमाण्डौले जित निकाल्न सफल भए । युवा जागृतिले तरहरालाइ ३९–३ अंकको फराकिलो अन्तरले पराजित गरे । रेडडेभिल्सले इमोर्टल क्लवलाई २३–१७ र आइएसएल नेपालले धरान मेघा कलेजलाई ३५–३० अंकको अन्तरले पराजित गरे । प्रतिस्पर्धात्मक भएको खेलको निर्धारित समयमा आइएसएल र धरान मेघाले २९–२९ बराबरि अंक जोडे पछि खेल ओभर टाइममा गएको थियो । थप ५ मिनेटको समयमा आइएसएल विजयी भए ।
त्यसैगरि पुरुष तर्फको दोस्रो खेलमा होलिल्याण्डले आइएसएल नेपाल वि टिमलाई ६६–१९ अंकको अन्तरले पराजित गर्दै अगाडि वढेको छ ।
प्रतियोगितामा महिला तर्फ लिगकम नकआउटको र पुरुष तर्फ नकआउटको आधारमा खेल संपन्न भइरहेको छ । प्रतियोगीतामा महिला तर्फ ७ टिम र पुरुष तर्फ १७ टिमले सहभागिता जनाएको छ भने पुरुष तर्फ आइएसएल नेपाल काठमाण्डौ ए र वि टिम, यलम्वर क्लव, तरहरा ए र वि टिम, जेविए झपा, युवा जागृति क्लव, व्रदस क्लव, धरान १३, होराइजन क्लव, युनाइटेड गोर्खा, डिपो कलेज, केन्द्रिय प्रविधि क्याम्पस हातिसार, मिराकल क्लव, इमोर्टल क्लव, होलिल्याण्ड र धरान मेघा कलेजले सहभागिता जनाएको छ ।
महिला तर्फ आइएसए नेपाल, धरान मेघा कलेज, तरहरा, युवा जागृति, रेड डेभिल्स, इलुजन झापा र इमोर्टल क्लवले सहभागिता जनाएको छ । प्रतियोगितामा पुरुष तर्फका विजेताले नगद ५० हजार, उपविजेताले नगद २५ हजार, ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ ।
महिला तर्फका विजेताले नगद २० हजार र उपविजेताले नगद १० हजार ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । त्यसैगरि व्याक्तिगत विद्या तर्फ प्रतियोगिताको धरान मेघा मोस्ट भ्यालुएवल प्लेयर उपाधि विजेताले पुरुष तर्फ नगद १० हजार र महिला तर्फ नगद ५ हजार, ट्रफि, प्रमाणपत्र र अल्फा विटा निशुल्क छात्रवृतm प्राप्त गर्नेछ । प्रतियोगिताको राइजिङ प्लेयरको पुरुष तर्फको उपाधि विजेताले नगद ५ हजार र महिला तर्फका विजेताले नगद २ हजार ५ सय रुपैया, ट्रफि र प्रमाणपत्र प्राप्त गर्नेछ ।
प्रतियोगिताको फाइनल म्याच अघि हुने तेस्रो प्रकाश पौडेल थी्र पोइन्ट कम्पिटिसनका महिला र पुरुष विजेताले जनहि ५ हजार, ट्रफि र प्रमाणपत्र प्राँप्त गर्नेछ ।
शनिवार देखि सुरु भएको प्रतियोगिताको उद्धघाटन कार्यक्रमका प्रमूख अतिथि कोशि प्रदेशका माननिय विजयकुमार राईले क्यान्डलमा द्धिव प्रज्वलन गरी उद्धघाटन गरेका थिए । धरान बास्केटवल संघका अध्यक्ष सुरजकुमार लामाको सभाध्यक्षक संपन्न कार्यक्रममा सुनसरी वास्केटवल संघका अध्यक्ष नारायण सुवेदि, , धरान उपमहानगरपाकिला पुर्व मेयर तिलक राई, युवा नेता तथा अग्रज पत्रकार भिमज्वाला राई, धरान १० न.वडाका वडाध्यक्ष एवं सुनसरी बास्केटवल संघका उपाध्यक्ष विवेक राई, धरान १८ न. वडाका वडाध्यक्ष नरेन्द्रकुमार राई प्रविण, १६ न. वडाका वडाध्यक्ष मुरारि भट्टराई, २ न. वडाध्यक्ष रमेशकुमार राई, समाजसेवि पर्वत राई, सुनसरी फुटवल संघका अध्यक्ष नविन राई, नेपाली कांगे्रस धरान उपमहानगर अध्यक्ष श्याम पोख्रेल लगायतको उपस्थिति रहेको थियो ।
प्रतियोगिताको सम्पुर्ण खेल धरान १६ स्थित धरान रंगशाला इन्डोर बास्केटवल कोर्टमा संपन्न भइरहेको छ ।् प्रतियोगिता जेष्ठ ४ गते समापन हुनेछ । प्रतियोगिताका मुख्य प्रायोजक अल्फा विटा कोयला कन्सलटेन्सि प्रालि रहेको छ । भोलिको खेल महिला तर्फ युवा जागृति र धरान मेघा, तरहरा र आइएस ए नेपाल र इमोर्टल र इलुजन झापा विच हुनेछ । पुरुष तर्फ धरान मेघा र इमोर्टल क्लव र हातिसार कलेज र जेविए झापा विच हुनेछ ।
नेपालमा कुस्तीः चुनौतीबीच संस्कृतिको संरक्षण
लुम्बिनी (मर्चवार) I ‘कुस्ती’को जन्म छ, तर व्यवस्थापन छैन, पहलवान जोगेन्द्र यादव भन्नुहुन्छ, “परम्परागत रूपमा जरा गाडेको यो खेलले आफ्नो एतिहासिक तथा सांस्कृतिक महत्वलाई खतरामा पार्ने चुनौतीसँग जुधिरहेको छ ।”
सम्मरीमाई–४ रुपन्देहीका पहलवान रामचन्द्र यादवले दशकअघिका अखडा देखिन छोडेको बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, “आजका युवामा खेलको सौख छ, तर सरोकारवालासँग संरक्षणको चाहना छैन ।” पहलवान घनश्याम मिश्रले कुस्तीको जीवन्त विगत सम्झिँदै सार्वजनिक चासोमा आएको ह्रासप्रति दुःख व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, “कुस्तीको सारअनुसार संस्कृतिको ह्रास रोकिनुपर्छ ।” मिश्रका अनुसार यसले स्वास्थ्य, शक्ति र स्फुर्तिलाई बढावा दिन्छ, आत्म नियन्त्रण र व्यक्तित्व विकासमा लाभ पु-याउँछ ।
कुस्ती एक अनुशासनको खेल हो । यो मानिस-मानिसबिचमा लडाइँको कला हो । कुस्ती प्रतियोगिता गोलाकार खाडलमा हुन्छन्, प्रायः माटोले भरिएको हुन्छ, जसलाई ‘अखाडा’ भनिन्छ । “अखाडाले खेलाडीका लागि प्राकृतिक सतह मात्र प्रदान गर्दैन यसले माटो र खेलको सम्बन्धलाई प्रतीकात्मक महत्व राख्छ”, पहलवान राम किसुन यादवले भन्नुभयो, “यसले आध्यात्मिक र दार्शनिक आयामसँग शारीरिक पराक्रमको मिश्रण गर्दछ ।”
कुस्ती खेलाडीलाई पहलवान र यसका प्रशिक्षकलाई ‘उस्ताद’ भनिन्छ । उस्तादले आफ्ना प्रशिक्षार्थी पहलवानलाई निर्देश गर्दछन् । यो प्रतियोगितामा समानस्तरका खेलाडीबीच निष्पक्ष प्रतिस्पर्धा सुनिश्चित गर्दै, पहलवानलाई विभिन्न तौल वर्गमा वर्गीकृत गरिन्छ । अखाडामा देखिने यो अभ्यासले खेलकुदमा नयाँ रणनीति, निष्पक्षताको तत्व थप्नुका साथै अनुशासन र आचारसंहिताको पालनालाई समेट्छ ।
“कुस्तीले खेलाडीमा शारीरिक र मानसिक सहनशीलताको माग गर्दछ । असाधारण सहनशक्ति भएका व्यक्तिलाई आकार दिन्छ । शारीरिक बलको खेती गर्छ । यसको सहभागीको समग्र फिटनेसमा योगदान पु¥याउँछ”, मायादेवी गाउँपालिका रुपन्देहीका पहलवान नजाबुद्दीन मुसलमान भन्नुहुन्छ, “आफ्नै समृद्ध इतिहास र विविध रूपहरू भएको कुस्ती, खेलको कला, शारीरिक र मानसिक विकास खोज्ने व्यक्तिका लागि प्रेरणाको स्रोत हो ।”
दक्षिण एसियाली राष्ट्रमा कुस्तीको अभ्यास बढी छ । यो खेल प्रायः नेपाल, भारत, श्रीलङ्का, बङ्गलादेश, भुटान, पाकिस्तान, अफगानिस्तानलगायतका राष्ट्रहरूमा बढी खेलिन्छ । कुस्तीले ती क्षेत्रमा महत्वपूर्ण भूमिका खेल्छ जहाँ युद्ध र वीरताको महत्व बढी हुन्छ । प्राचीन सभ्यतादेखि खेलिँदै लोकप्रियता प्राप्त गरेको यसको महत्वबारे पुराण, महाभारत र रामायणलगायतका धार्मिक तथा, साहित्यिक ग्रन्थमा पनि उल्लेख छ ।
अनादिकालमा मानव विकाससँगै कुस्ती खेलको विकास भएको अन्तर्राष्ट्रिय ख्याति प्राप्त पहलवान केशव दासको बुझाइ छ । यो खेल देशको प्रतिष्ठासँग जोडिएको र मानिसको स्वास्थ्यसँग गाँसिएको विषय भएको उहाँको भनाइ छ । उहाँले भन्नुभयो, “युद्ध र वीरताको प्रयाय नेपालमा परम्परागत र सांस्कृतिक रूपमा मूल्यवान कुस्ती यहाँको गौरवपूर्ण साझा संस्कृति, आपसी सद्भाव, रणनीतिक सङ्घर्ष र राष्ट्रिय एकताको प्रतीक हो ।”
नवलपरासी घर भएका केशव दासले शारीरिक स्वास्थ्य, आत्माको निपुणता, र सामाजिक तथा सांस्कृतिक मूल्यमा योगदानको लागि कुस्तीको वकालत गर्नुहुन्छ । यसको व्यवस्थापन र जनचेतनाको भूमिकामा जोड दिँदै निर्णायक भूमिका खेल्नका लागि सरकारलाई उहाँको आग्रह छ । उहाँले कालाजङ्ग, धोबी पछाड़, मच्छीगोता, सांडीतोड, निकाल, टांगी, बगलडुव र गदालेट दांवलाई कुस्तीको प्रमुख कला बताउनुहुन्छ ।
कुस्तीलाई दयानन्द सरस्वती, स्वामी विवेकानन्द, र अन्य योगीले शारीरिक स्वास्थ्य, आत्माको प्रभुत्व, र सामाजिक तथा सांस्कृतिक मूल्यको एक हिस्सा भनेर व्याख्या गर्नुभएको छ । कुस्तीको शाब्दिक विवरण पुरातात्विक तथा पौराणिक शास्त्र, खासगरी ग्रिक तथा संस्कृत महाकाव्यबाट सुरु हुन्छ । रामायणमा रावण–सुग्रीव, महाभारतमा भीमसेन–जरासन्ध तथा विभिन्न वलशाली पहलवानबीचको मुठभेडको वर्णन गरिएको छ ।
कोटहीमाई–३, रुपन्देही घर भई लुम्बिनी प्रदेश ‘मुख्यमन्त्री स्वयम्सेवक कार्यक्रम’का कुस्ती प्रशिक्षक राजेन्द्र यादवले परम्परागत खेलको पुनःरुत्थानका लागि साझा प्रयासको आवश्यकतामा जोड दिनुभयो । ‘सिद्धार्थ भीम पुरस्कार २०५७’का विजेता, यादवले नेपालमा कुस्तीको प्रतीक मानिने सांस्कृतिक र राष्ट्रिय एकताको संरक्षणको महत्वलाई जोड दिनुहुँदै हाल १२ जना खेलाडीलाई आफ्नै गाउँ पर्सियामा प्रशिक्षण दिइरहनुभएको छ ।
पहलवान तथा प्रशिक्षक यादव भन्नुहुन्छ, “मानवको शक्ति प्रदर्शन गर्ने कुस्तीको खेल एक युगमा सुरु भएको हो, जब मानिसलाई हतियारको प्रयोगबारे थाहा थिएन । त्यस समयमा, यस प्रकारको युद्धमा क्रुर बल हावी थियो ।” उहाँका अनुसार, पशुलगायतका अन्य शक्तिलाई जित्न त्यस समयमा मानिसले विभिन्न प्रकारका युक्तिहरू प्रयोग गर्न सिकेको हुनुपर्छ र त्यसैबाट ‘कुस्ती’ वा ‘मल्लयुद्ध’ खेलको विकास भएको हो ।
बहरल्ली, भितरल्ली, तुतवा, इरानी, मुल्तानी, भालुकस, बांगुडु, चपरास, अन्टी, सखी, रामवाण, एकहरीपट, दोहरीपट, सन् दुई हजार, खेमे, भरन्दाज, रुम, गुड, महाउती, साल्तो, बैगसाल्तो गुठ्ठी, दाउँपेचबारे बताउनुहुँदै प्रशिक्षक यादवले छिडकी, तेजाब छिडकी, अकलकाटे पहाण र जुडो पहाण दाँव नेपालमा प्रचलित रहेको जानकारी दिनुभयो । यादवले नेपालमा कम्तीमा एक जिल्ला एक सुविधा सम्पन्न प्रशिक्षण केन्द्र हुनुपर्ने बताउनुभयो ।
उहाँले भन्नुभयो, “नेपालमा कुस्तीका लागि सरकारले खासै पहल गरेको नदेखिए पनि युवामा कुस्तीप्रतिको रुचि बढाउन धेरै पटक कुस्ती प्रतियोगिता आयोजना गरिएको छ । यसका लागि प्रशिक्षण केन्द्रहरू पनि छन्, जसले खेलाडीलाई विशेषज्ञता र प्रविधिमा तालिम दिने काम गरिन्छ ।” यादवका अनुसार विसं २०२८ पुुस १४ देखि २०५७ सम्म बर्षेनि सिद्धार्थनगर नगरपालिकाले ‘सिद्धार्थ भीम पुरस्कार’को आयोजना गर्ने गर्दथ्यो ।
तत्कालीन राजा वीरेन्द्रको जन्म दिवस पुस १४ गतेको अवसरमा आयोजना हुने राष्ट्रियस्तरको कुस्ती प्रतियोगितामा नेपाल र भारतलगायत देशका खेलाडीको सहभागिता हुने गर्दथ्यो । पुरस्कारका लागि पहलवानले लगातार तीन वर्ष दङ्गलमा प्रथम स्थान ल्याउनैपर्ने नियम थियो । पहलवान राजेन्द्र यादवले २०५५, २०५६ र २०५७ मा लगातार प्रथम स्थान ल्याइ ‘सिद्धार्थ भीम पुरस्कार २०५७’ प्राप्त गर्नुभएको थियो ।
राजेन्द्रले पुरस्कार पाउनु पहिले उहाँका उस्ताद प्रहलाद यादव २०५२, ०५३ र ०५४ मा लगातार विजयी हुनुभएको थियो । २०४९, ०५० र ०५१ मा नवलपरासीका पहलवान रामकिसुन यादवले प्रतियोगिता जित्नुभएको थियो । विसं २०५८ जेठ १९ गते दरबार हत्याकाण्डपछि रुपन्देहीमा सरकारीस्तरबाट कुस्ती प्रतियोगिता नभएको सिद्धार्थनगर नगरपालिकाका सूचना अधिकारी देव ज्ञवालीले बताउनुभयो ।
हुन त तराई–मधेसका विभिन्न स्थानमा कुस्ती प्रतियोगिता अझै प्रचलनमा छन् । नहान मेलाको अवसरमा रुपन्देहीको सतियामाइ स्थान र जोगियाबारी मेलामा कुस्ती दङ्गलको आयोजना हुने गरेको देखिन्छ । प्रतियोगिता स्थानीयस्तरको भए पनि नेपाल र भारतका खेलाडीलाई सहभागी गराइन्छ । तर पारिश्रमिक, पुरस्कार र खानपानको व्यवस्थापनमा कमजोर हुँदा युवामा यो खेलप्रतिको रुचि घटेको देखिन्छ ।
“शारीरिक स्फुर्तिका कारण पहिला कुस्ती र पहलवानको सामाजिक प्रतिष्ठा धेरै थियो, जसले निजी सुरक्षाकर्मी आवश्यक पर्दा पहलवानलाई उपयुक्त मानिन्थ्यो”, लुम्बिनी प्रदेशका पूर्वशिक्षा तथा खेलकुद विकासमन्त्री वसीउद्दीन खाँले भन्नुभयो, “समयसँगै यो खेल र पहलवानको सङ्ख्या घट्यो । मेलाको बेला आयोजकले दिने पुरस्कारको सीमित रकम र दर्शकबाट प्राप्त हुने बक्सिसबाहेक आम्दानीको स्रोत छैन ।”
लुम्बिनी प्रदेशका सामाजिक विकासमन्त्री चन्द्रकेश गुप्ताका अनुसार, पारम्परिक खेलहरू मनोरञ्जनका माध्यम मात्र नभई सामुदायिक संवादको मञ्च पनि थिए । यी खेलभित्र हाम्रो समाजको सांस्कृतिक समभाव पनि भएकाले कुस्ती ब्युँताउनु जरुरी छ । उहाँले भन्नुभयो, “कुस्तीप्रति युवाको आकर्षण बढाउन प्रदेश सरकारले काम गर्न लगेको छ । राष्ट्रिय वा अन्तर्राष्ट्रिय प्रतियोगिताका निम्ति खेलाडी उत्पादन हुनसक्छ भन्ने विश्वास छ ।”
खेल पर्यटन प्रवर्द्धनार्थ ‘काँक्रेबिहार म्याराथन दौड प्रतियोगिता’
कर्णाली I कर्णालीको खेल पर्यटन प्रवर्द्धनका लागि ‘काक्रेबिहार म्याराथन दौड प्रतियोगिता’को दोस्रो संस्करण सञ्चालन हुने भएको छ । मिड वेस्टर्न फिटनेस सेन्टर सुर्खेतले आज वीरेन्द्रनगर सुर्खेतमा पत्रकार भेटघाट कार्यक्रम गर्दै ‘ओलम्पिक डे’को अवसर पारेर आगामी असार ७ गते हाफ म्याराथन दौड प्रतियोगिता सञ्चालन गर्ने भएको हो ।
प्रतियोगिताबारे जानकारी दिँदै कर्णाली खेलकुद विकास परिषद्का उपाध्यक्ष एवं प्रतियोगिताका संयोजक प्रमोदजङ्ग हमालले कर्णालीलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा चिनाउने, खेल क्षेत्रको विकास र पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले प्रतियोगिताको तयारी थालिएको बताउनुभयो ।
“कर्णाली खेल क्षेत्रको उर्वर भूमि हो । खेलको माध्यमबाट स्वस्थ नागरिक उत्पादन गर्नुपर्ने उद्देश्य राखेका छौँ”, हमालले भन्नुभयो, “खेलका माध्यमबाट पर्यटन प्रवर्द्धन गर्न र यहाँको आर्थिक समृद्धिमा यसले ठूलो सहयोग पुग्ने अपेक्षाका साथ म्याराथन दौड प्रतियोगिताको आयोजना गरिएको हो ।” प्रतियोगितामा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडीका साथै यहाँका सबै विद्यालयहरूको प्रतिनिधित्व हुनेगरी दुई हजार विद्यार्थी सहभागी गराइने उहाँले जानकारी दिनुभयोे ।
मिड वेस्टर्न फिटनेस सेन्टरका अध्यक्ष सञ्जीव हमालले प्रतियोगितामा प्रथम, द्वितीय, तृतीय र चौथो स्थान प्राप्त गर्ने खेलाडीलाई क्रमशः रु एक लाख, रु ५० हजार, रु ३० हजार र रु २५ हजार नगद पुरस्कार तथा प्रमाणपत्र प्रदान गरिने जानकारी दिनुभयो । प्रतियोगताको पाँचौँ देखि दशौँ स्थानसम्म आउने खेलाडीलाई जनही रु २५ हजार नै प्रदान गरिने उहाँले बताउनुभयो ।
अध्यक्ष हमालका अनुसार प्रतियोगितामा सहभागी हुन आउने सुर्खेत बाहिरका सबै खेलाडीलाई आयोजकले नै खाना तथा आवासको व्यवस्था गर्नेछ । कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सहकार्यमा सञ्चालन हुने प्रतियोगितामा प्रदेश सरकारको रु तीन लाख र बाँकी आयोजकले व्यवस्थापन गर्नेगरी रु १५ लाख बजेट खर्च हुने जनाइएको छ ।
खेल पर्यटन प्रवर्धन गर्न अन्तर्राष्ट्रिय ‘रक क्लाइमिङ’ प्रतियोगिता
काठमाडौँ I खेल र पर्यटन क्षेत्रलाई सँगसँगै अगाडि बढाउनका लागि सोलुखुम्बु जिल्लाको माप्य दूधकोशी गाउँपालिका–५ स्थित महभिरमा अन्तर्राष्ट्रियस्तरको ‘रक क्लाइम्बिङ’ प्रतियोगिता हुने भएको छ ।
साहसिक खेल ‘रक क्लाइम्बिङ’ मार्फत आन्तरिक तथा बाह्य पर्यटन प्रवद्र्धन गर्न सोलुखुम्बुको महभिरमा आगामी असार ३ र ४ गते अन्तर्राष्ट्रियस्तरको ‘रक क्लाइम्बिङ’ प्रतियोगिता आयोजना गर्न लागिएको हो । प्रतियोगिता आयोजनाका लागि बुधबार काठमाडौँमा माप्य दूधकोशी गाउँपालिका र नेपाल आरोहण खेल सङ्घबीच सम्झौता भएको छ । सम्झौतापत्रमा गाउँपालिकाका अध्यक्ष बुद्धिकिरण राई रसङ्घका अध्यक्ष हरि धरेलले हस्ताक्षर गर्नुभएको छ ।
पर्यटन विकासको प्रचुर सम्भावना भएको माप्य दूधकोशीले गाउँपालिकाभित्रको पर्यटन प्रवद्र्धनका लागि अन्तर्राष्ट्रियस्तरको ‘रक क्लाइम्बिङ’ प्रतियोगिता आयोजना गर्न लागिएको अध्यक्ष राईले बताउनुभयो । उक्त प्रतियोगिताले माप्य दूधकोशीमात्र नभई सोलुखुम्बु जिल्लामा नै पर्यटन प्रवद्र्धनमा टेवा पुग्ने उहाँले बताउनुभयो ।
नेपाल आरोहण खेल सङ्घका अध्यक्ष धरेलले खेल र पर्यटन विकासमा प्रतियोगिताबाट सहयोेग पुग्ने विश्वास व्यक्त गर्नुभयो । प्रतियोगितामा छ देशका अन्तर्राष्ट्रियस्तरका ‘क्लाइम्बर’ले भाग लिने उहाँले बताउनुभयो । सङ्घले राष्ट्रिय खेलकुद परिषद्अन्तर्गत रहेर खेलकुदमार्फत पर्यटन प्रवद्र्धन गर्दै आएको छ ।
सहिद भीमनारायण गोल्डकपमा तीन नयाँ अभ्यास
धनकुटा I आइतबार देखि धनकुटा सदरमुकामको तल्लो टुँडिखेलमा सुरु हुन गइरहेको सहिद भीमनारायण गोल्डकपको १६ औँ संस्करणमा आयोजकले तीन वटा नयाँ अभ्यास सुरु गर्ने भएको छ ।
आयोजक सहिद भीमनारायण श्रेष्ठ स्मृति प्रतिष्ठानले शुक्रबार पत्रकार सम्मेलन गरी प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको जानकारी दिएको छ । सम्मेलनमा आयोजकले उक्त नयाँ अभ्यासका विषयमा जानकारी गराएको छ । अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकप गर्दै आएको प्रतिष्ठानले यो पटकबाट अन्तर्राष्ट्रिय आमन्त्रण हटाएर गोल्ड कप मात्र राखेको छ ।
यसले नेपाल र स्थानीयस्तरका राम्रा क्लब र खेलाडीलाई प्रतियोगितामा सहभागी हुने प्रेरणा मिल्ने आयोजकको अपेक्षा छ । यसको अर्थ प्रतियोगितामा अन्तर्राष्ट्रिय टोलीलाई समावेश नगर्ने भन्ने नरहेको आयोजक समितिका संयोजक शम्भु प्रधानले स्पष्ट पार्नुभयो ।
“अन्तर्राष्ट्रिय भन्नेबित्तिकै यहाँका राम्रा क्लब र खेलाडी वञ्चित हुने जस्तो देखियो”, यहाँले भन्नुभयो, “प्रतियोगिता फ्लेक्जिबल बनाउन हामीले अन्तर्राष्ट्रिय आमन्त्रण हटाएका हौँ ।” त्यस्तै आफ्नो टिम मजबुत बनाउन आयोजक टोलीले यो पटकबाट टिममा आठ जना राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी समावेश गर्ने भएको छ ।
खेललाई रोमाञ्चक र प्रतिस्पर्धात्मक बनाउन यसपटक खेलाडी समावेश गरिएको प्रतिष्ठानका अध्यक्ष पुरेन्द्रलाल श्रेष्ठले जानकारी दिनुभयो ।
दर्शकको गुनासो आएपछि १५औँ संस्करणसम्म सःशुल्क टिकटको व्यवस्था गरेको प्रतिष्ठानले यो पटकबाट निःशुल्क खेल हेर्ने व्यवस्था गरेको छ । धनकुटा नगरपालिकाको सहयोगमा निःशुल्क खेल हेर्ने व्यवस्था गरिएको प्रतिष्ठानकाका सचिव रोशन श्रेष्ठले जानकारी दिनुभयो ।
श्रेष्ठले भन्नुभयो, “टिकट बेचेर प्याराफिट भरेरमात्र खेल सुरु गर्नुपर्ने हाम्रो बाध्यता र आमनागरिकको सुझावमा हामीले निःशुल्क खेल हेर्ने व्यवस्था गरेका हौँ ।” यस कार्यलाई आयोजकले नगर तथा जिल्लावासीको खेलप्रतिको धारणा बुझ्ने अवसरका रुपमा लिएको श्रेष्ठले बताउनुभयो ।
२९ गतेसम्म हुने प्रतियोगितामा एपिएफ क्लब काठमाडौँ, फोर स्टार क्लब मोरङ, त्रिभुवन आर्मी क्लब काठमाडौँ र विर्तामोड युनाइटेड क्लब झापा सहभागी हुनेछन् । यस्तै राष्ट्रिय जागृति क्लब सुनसरी, बुटवल लुम्बिनी क्लब आयोजक धनकुटा, सहलेस युथ क्लब सिराहा सहभागी हुने आयोजकले जनाएको छ ।
प्रतियोगिताका विजेताले नगद रु पाँच लाख र उपविजेताले रु दुई लाख ५० हजारसहित ट्रफी मेडल, कप र प्रमाणपत्र प्राप्त गर्नेछन् । विसं २०५५ देखि सुरु प्रतियोगिता केही वर्षको स्थगनपछि २०६३ सालदेखि नियमित सञ्चालन हुँदै आएको छ ।
तत्कालीन राजा वीरेन्द्र शाहलाई बम प्रहार गरेको आरोपमा भीमनारायण श्रेष्ठलाई २०३५ सालमा मृत्युदण्ड दिइएको थियो । सरकारले २०७४ सालमा सहिद घोषणा गरेको श्रेष्ठको स्मृतिमा प्रतियोगिता सञ्चालन हुँदै आएको छ ।