पाकेर लहलह झुलेको धान बाढीले सखाप, खेत बन्यो बगर
कमलामाई (सिन्धुली), १५ असोजः सिन्धुलीको सुनकोशी गाउँपालिका–१ नेपालथोकका सुन्दर फाँट पाकेको धानले पहेँलपुर देखिएको थियो । लहलह झुलेर सुनौलो देखिएका धान भित्र्याउन किसानले खेतला खोजिसकेका थिए ।
गत शुक्रबार र शनिबार रोशी खोलामा आएको बाढी धान फाँटमा पस्यो । बाढीसँगै आएको लेदो माटो, गेग्रानले खेतै बगर बनाइदियो । दसैँअघि थन्क्याई सक्ने तयारी गरिएको धान बालीसहित उब्जाउ हुने खेत बगरमा परिणत भएपछि किसान निराश छन् ।
जग्गा भाडामा लिएर २२ रोपनीमा लगाइएको धान भित्र्याउने बेलामा बाढीले सखाप पारेपछि भोक, निद्रा हराएको किसान केशवसिंह श्रेष्ठको दुःखेसो छ । “जेठ २९ गते रु ८० हजार खर्च गरेर रोपेको धान पाकेपछि बाढीले खायो, दुःख गर्ने हामीले खान पाएनौँ । सात जनाको परिवार छ, अब के खुवाएर पाल्ने ? चिन्ता मात्र लाग्छ, चार दिनदेखि भोक, निद्रा छैन”, भन्नुभयो । किसान श्रेष्ठले २२ रोपनीबाट एक सय मुरी धान भित्र्याउने गर्नुभएको थियो । यस वर्ष एक दानो भित्र्याउन नपाई बाढीले सखाप बनायो ।
सुनकोशी–१ गोइरीकी कृष्णमाया तोलङ्गेले बाढी खेतमा पसेपछि एक दानो धान भित्र्याउने अवस्था नरहेको बताउनुभयो । तीन रोपनीमा लगाएको पाकेको धान, रोपाइँ खर्च, बीउ, मल, परिश्रम सबै खेर गएको उहाँले सुनाउनुभयो ।
बाढीले बगाएको धान खेत हेर्दै गणेश श्रेष्ठ भक्कानिनुभयो । सुनकोशी–१ गजुलीदह बस्ने किसान श्रेष्ठको मुख्य पेसा कृषि नै हो । यसैबाट निर्वाह भएको थियो, पाँच जना परिवारको जीवन । पाकेको धानसहित पाँच रोपनी खेत बगर बनाएपछि उहाँलाई यतिबेला चिन्ता बढेको छ ।
नेपालथोकका किसानलाई मात्रै होइन, बाढीले खोला र नदी आसपासका धान खेत कतै कटान गरेको छ त कहीँ ढालेर सोतर बनाएको छ भने कतै बालुवा, माटो, ढुङ्गा र मुढाले पुरेर उराठिलो बगर बनाइदिएको छ । सुनकोशी गाउँपालिकाभित्रको क्षेत्रमा मात्रै तीन सय बिघामा लगाइएको धान बाली बाढीले नष्ट गरेको उपाध्यक्ष कपिलकुमार कोइरालाले बताउनुभयो ।
गोलञ्जोर गाउँपालिका क्षेत्रमा भित्र्याउने बेला भएको ३० बिघाको धान बाली क्षति भएको उपाध्यक्ष ज्वालाप्रसाद न्यौपानेको आकलन छ । सुनकोशमा आएको बाढीले विशेषगरी गोलञ्जोर–७ को बेसीँफाँट, वडा नं ६ को बलेनी, हैवारी क्षेत्र, वडा नं २ को कुखुरेटार, ३ नं वडाको मुर्गी, दिङदिङबेँसी र वडा नं १ को च्याखुटारबेँसीको धान फाँटमा क्षति गरेको उहाँले बताउनुभयो ।
हरिहरपुरगढी गाउँपालिकामा वाग्मती नदीमा आएको बाढीले बस्तीपुर फाँट, कुर्ले फाँट, भिसापानी फाँट, श्रीपुर फाँटलगायत स्थानका धान बाली सखाप बनाएको छ । हरिहरपुरगढी–१, २ र ३ वडाको खेतीयोग्य जमिन कटान भएको छ । पालिका अध्यक्ष बज्रध्वज वाइबाका अनुसार यहाँका चार सय ६५ हेक्टर खेतीयोग्य जमिन नदीले कटान गरेसँगै धान बालीमा क्षति भएको छ ।
भर्खर पसाएको धान बाढीले जमिनसँगै कटान गरेपछि किसान दुःखी छन् । बालुवा, माटो, ढुङ्गा र मुढाले पुरेको, च्यापिएको धानको बाला हेर्दै यहाँका किसान अधिकांश समय पुर्पुरोमा हात राखेर बस्छन् । मन बुझाउने विकल्प भेट्दैनन् । किसानलाई सरकारसँग पनि केही आशा छैन ।
जिल्लाका नौवटै पालिकाका खेतीयोग्य जमिन र धान बालीमा ठूलो क्षति भएको कृषि विकास कार्यालयकी कृषि प्रसार अधिकृत उमादेवी श्रेष्ठले बताउनुभयो । उहाँले भन्नुभयो, “तीन दिनको अविरल वर्षासँगै आएको हुरी र बाढीपहिरोले जिल्लाको सबै पालिकाको धान बालीमा असर गरेको छ । खोला र नदीमा आएको बाढीले खेतीयोग्य जमिन कटान भएका छन् ।”
कुन पालिकामा कति परिणाममा क्षति भयो भन्ने यकिन तथ्याङ्क आइसकेको छैन । सयौँ हेक्टरको धान बालीमा क्षति पुगेको आकलन छ । क्षति विवरण सङ्कलन भइरहेको उहाँले बताउनुभयो । क्षति विवरण यकिन भएपछि सोही आधारमा किसानलाई राहत तथा क्षतिपूर्तिका लागि सम्बन्धित निकायसँग समन्वय गर्ने उहाँ बताउनुहुन्छ । कृषि विकास कार्यालयको तथ्याङ्कअनुसार यस वर्ष सिन्धुलीको ११ हजार एक सय ८८ हेक्टरमा किसानले धान बाली लगाएका थिए ।
स्थलगत रिपोर्टः राजमार्गमा दृष्य एक, पीडा अनेक
मलेखु (धादिङ), १५ असोजः सङ्घीय राजधानी काठमाडौँको ‘लाइफलाइन’का रुपमा पृथ्वी राजमार्गलाई लिने गरिएको छ । तीन दिनसम्म निरन्तर परेको वर्षासँगैको पहिराले पृथ्वी राजमार्गको अधिकांश स्थानमा क्षति पुगेको छ । कतै सडक पुरिएका छन्भने कतै छेउ भासिएका छन् ।
त्रिभुवन राजपथको नौबिसे नागढुङ्गा खण्डमा पर्ने झ्याप्ले खोलामा नसोचेको मानवीय क्षति भयो । एउटै पहिरोमा ३५ जनाले ज्यान गुमाउनुप¥यो । झण्डै दर्जन सवारीसाधनले क्षति व्यहोर्नुप¥यो ।
झ्याप्ले खोला क्षेत्र आइतबार बेलुकादेखि एकतर्फी रुपमा सञ्चालनमा आएको छ । पृथ्वी राजमार्ग र त्रिभुवन राजपथमा पर्ने नागढुङ्गा–मुग्लिन खण्डमा पनि सोमबार बिहानदेखि सवारी सञ्चालनमा आएका भए पनि आवागमन पूरै सहज भने भइसकेको छैन ।
राजमार्गको घुम्तीघुम्तीमा झरेको पहिराले यात्रा जोखिमपूर्ण बनेको छ । चार दिनसम्म निरन्तर परेको वर्षापछि पाइलैपिच्छे झरेको पहिरो पन्छाउने काम भइरहेको प्रहरीले जनाएको छ । काठमाडौँबाट पूर्वपश्चिमका जिल्ला जाने सवारी छोड्नु अघि पहिरो पन्छाएर भ्याउने लक्ष्यसहित तीनै तहका सुरक्षा निकाय लागिरहेका बताउँदै जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी निरीक्षक एवं सूचना अधिकारी प्रह्लाद सिलवालले छ सबै पहिरो सफा गरिसक्न अझ केही समय लाग्ने जानकारी दिनुभयो ।
राजमार्गका विभिन्न क्षेत्रमा रोकिएका सवारीसाधन सोमबार बिहानदेखि काठमाडौँ प्रवेश गरेका छन् । काठमाडौँतर्फ जानका लागि चार दिनदेखि सडकमा रोकिएका सयौँ सवारीसाधनलाई दिनभरि लगाएर प्रहरीले काठमाडौँ प्रवेश गराएको हो । “नागढुङ्गा नौबिसे क्षेत्रका पहिरो पूर्ण रुपले थामिसकेको छैन । जुनकुनै ठाउँमा जुनकुनै बेला पहिरो झर्नसक्ने र ढुङ्गा खस्नसक्ने जोखिम छ”, सिलवालले भन्नुभयो, “जोखिम क्षेत्रमा सवारी चापलाई मध्यनजर गरेर पनि साना तथा हल्का सवारीलाई धादिङको गल्छीबाट नुवाकोटको छहरे हुँदै काठमाडौँ पुग्ने सडक प्रयोग गर्न सहजीकरण गरिएको हो ।”
गल्छीबाट माथिल्लो क्षेत्रमा रहेका साना तथा हल्का सवारीसाधनलाई भने धार्के शीतापाइला सडकखण्डबाट काठमाडौँ प्रवेश गराइएको छ । अतिआवश्यकीय सामग्री (पशुचौपाया, दूधजन्य, मासुजन्य, तरकारी, खाद्यान्न) बोकेका सवारीसाधन र यात्रुवाहक बसलाई भने नौबिसे–नागढुङ्गा सडकखण्डको प्रयोग गरी काठमाडौँ प्रवेश गराइएको छ ।
नबिग्रिने सामान बोकेका मालवाहक तथा ठूला लामो दूरीका सवारीलाई भने खुला स्थानमा सुरक्षित भएर बस्न सहजीकरण गरिएको प्रहरी कार्यालय गजुरीका प्रहरी नायब उपरीक्षक डिल्लीनारायण पाण्डेले राससलाई जानकारी दिनुभयो । पहिरोको आसपासमा रोकिएर बसेका सवारीसाधनको सङ्ख्या धेरै भएकाले सोमबार दिनभर काठमाडौँबाट बाहिरिने सवारीसाधनलाई काठमाडौँतर्फ रोकेर अलपत्र परेका सवारीको उद्धार गरिएको उहाँले बताउनुभयो । काठमाडौँबाट पूर्वपश्चिम जाने सवारीसाधनलाई सोमबार साँझदेखि मात्रै नागढुङ्गा नौबिसे सडकबाट छोडिएको छ ।
राजमार्गको यात्रामा ढुक्क छैनन् चालक र यात्रु
सडकमाथि भित्ताबाट खसेका गेग्रान ढुङ्गा, नाली थुनिएर सडकमा बगेको पानी, पन्छाउँदै गरेको पहिराले साना सवारी र दुईपाङ्ग्रे सवारीलाई जोखिमपूर्ण छ । दुईपाङ्ग्रे सवारीलाई भने निकै कष्ट छ । निरन्तर पहिरा जाने क्रम रहेकाले पनि सवारी चालक र यात्रु यात्रामा ढुक्क छैनन् ।
पहिरो खसेको, गुड्दागुड्दै गाडी पुरिएको, मानिसको ज्यान गएको सुनेका यात्रुको अनुहारमा त्रासको चित्र प्रष्ट देखिन्छ । ‘हामी काठमाडौँ त पुग्छौँ नी ?, हामीलाई कुन बाटो ठीक होला ? भनेर नसोध्ने सायदै भेटिएनन् । त्रासको मानसिकतामा रहेका यात्रु निकै आत्तिएका देखिन्थ्ये ।’
गत शुक्रबार काठमाडौँबाट गोरखा जान निस्किए पनि पहिरोमा रोकिएर बल्ल गन्तव्यतर्फ हिँड्न लागेका माइक्रोबसका चालक विशाल श्रेष्ठ भन्नुहुन्छ, “हामी चालक डरैडरमा हिँडिरहेका छौँ ।” झ्याप्ले खोलाको पहिरो नजिक दुई दिन रात बिताएर सोमबार नुवाकोटको बाटो हुँदै धादिङको गल्छी निस्किनुभएका श्रेष्ठले राजधानी प्रवेश गर्ने सडकको कहाली लाग्ने पीडा सुनाउनुभयो ।
“धादिङको गल्छी, नुवाकोटको छहरे हुँदै काठमाडौँ आवतजावत गर्ने सडक पनि सवारी चापले त्यति सुरक्षित छैन । “बाटोमा ट्राफिक कतै भेटिँदैन । गाडीको सङ्ख्या अत्यधिक छ । साँघुरो बाटो, धेरै गाडी, तछाडमछाडसँग दौडिँदा दुर्घटनाको जोखिम छ”, श्रेष्ठले भन्नुभयो ।
नुवाकोटको बाटो प्रयोग गरेर पृथ्वी राजमार्ग आइपुगेका चालकको अनुभव पनि फरक छ । सोमबार दिउँसो काठमाडौँबाट नुवाकोटको छहरे हुँदै धादिङ जाँदै गर्नुभएका सरकारी सवारीका चालक विजयराज गिरी ‘रोशन’ भन्नुहुन्छ, “सवारीको चाप नहुँदा नुवाकोटको बाटो ठिकै होला तर, अहिले जोगिएर हिँड्नै मुस्किल छ ।” पहिरो पन्छाएर एकतर्फी सवारी सञ्चालनमा आएको भए पनि राजमार्ग क्षेत्रमा दुईतर्फी सवारी सञ्चालनका लागि अझै समस्या रहेको उहाँले बताउनुभयो ।
त्रिभुवन राजपथको झ्याप्ले खोला क्षेत्र, पृथ्वी राजमार्गको थाक्रे, गल्छी, गजुरीको जहरे, घाटबेंसी, बेनीघाटको चराँैदी र जोगिमारा क्षेत्रमा रहेका एक दर्जनभन्दा बढी पहिरो पन्छाउने काम भइरहेको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी निरीक्षक सिलवालले जानकारी दिनुभयो । दुईतर्फी सवारी सञ्चालन गर्न अझै केही समय लाग्ने बताउँदै पहिरा पन्छाउने काम भइरहेकाले ठाउँठाउँमा यात्रुले जामको सामना गर्न बाध्य रहेका उहाँले उल्लेख गर्नुभयो ।
लामो समयसम्म जाममा बसेका यात्रुले शौचालयको प्रयोग गर्न नपाउँदा पनि सास्ती बेहोर्नु परेको छ । बिजुलीका खम्बा ढलेर विद्युत् अवरुद्ध हुँदा सञ्चार सम्पर्कविच्छेद हुने स्थानमा पुग्दा यात्रुलाई समस्या छ । बस्ती नभएका ठाउँमा सवारी रोकियो भने यात्रुले किनेर पनि खान पाउँदैनन् भने बजार क्षेत्रमा रोकिएका सवारीका यात्रुले महँगो मूल्य तिर्न बाध्य छन् ।
“हवाइजहाज चढ्न पैसाले धान्दैन । गाडी चढ्यो मरिन्छ की बाँचिन्छ पत्तो छैन”, पोखरा जाने सवारीमा भेटिनुभएकी तुलसा रेग्मीले भन्नुभयो, “सरकारले सबै काम छोडेर राजमार्गको यात्रा सुरक्षित गराइदिए हामीजस्ताको कल्याण हुने थियो ।”
दुईतर्फी बाटो सञ्चालन गर्ने क्रममा ठाउँठाउँको जाम छिचोल्दै आइपुगेका एम्बुलेन्स चालक र बिरामीका आफन्त निकै आक्रोसित देखिन्थे । ट्राफिक व्यवस्थापन नभएकाले आवश्यकताभन्दा बढी जाममा बस्नुपरेको उनीहरुको गुनासो थियो । सवारी र यात्रु सडकमा अलपत्र नपरोस्, यात्रामा कसैलाई अप्ठ्यारो नपरोस्, परिहाले समयमै उद्धार होस् भन्नाका लागि सशस्त्र प्रहरीलेसमेत राजमार्गमा सक्रियताका साथ गस्ती गरिरहेको छ ।
सोमबार दिउँसो गल्छी गाउँपालिका–२ घाटबेंसीको पहिरो पन्छाउने क्रममा भेटिनुभएकी सशस्त्र प्रहरी बल आश्रित गुल्म धादिङबेंसीका प्रहरी नायब उपरीक्षक लक्ष्मी थपलियाले सम्भावित जोखिम कम गर्न चौबिसै घण्टा सडकमा खटिरहेको बताउनुभयो ।
यसै हप्ताबाट दसैँको रौनक सुरु हुँदैछ । सडकको अवस्था दयनीय छ । जहाजको टिकट महँगो छ । दसैँका लागि घर फर्किने यात्रुको सङ्ख्या बढेसँगै सवारी चाप बढ्नै बाँकी छ । चाडपर्वको मुखमा हरेक वर्ष ठूलाठूला दुर्घटना भएका उदाहरण प्रशस्तै छन् । सडक दुर्घटनाबाट हुने क्षति कम गर्न सबैक्षेत्र र निकायको समन्वय अनिवार्य देखिन्छ ।
मेलम्चीका बाढी, पहिरोपीडितको माग सम्बोधन गर्नेछुः मन्त्री यादव
काठमाडौँ, १५ असोजः खानेपानीमन्त्री प्रदीप यादवले मेलम्चीका बाढी, पहिरोपीडितको माग सम्बोधन गर्न अधिकतम प्रयास गरिरहेको बताउनुभएको छ ।
सोमबार मन्त्रालयमा मेलम्ची बाढीपहिरो प्रभावित क्षेत्रका जनप्रतिनिधि, सङ्घर्ष समितिका प्रतिनिधि, सङ्घीय सरकारका विषयगत मन्त्रालयका प्रतिनिधिसँगको छलफलमा मन्त्री यादवले मेलम्चीका बाढी, पहिरोपीडितका मागहरुको सम्बोधन गर्न अधिकतम प्रयास गरिरहेको बताउनुभयो ।
मन्त्री यादवले भन्नुभयो, “सङ्घर्ष समितिका जायज मागप्रति हामी चिन्तित छौँ, । मागहरुको सम्बोधन गर्न अधिकतम प्रयास गरिरहेको छु ।” खानेपानी मन्त्रालयको जिम्मेवारी सम्हालेको एक हप्तादेखि आफूले मेलम्ची पीडितका विषयमा जानकारी लिइ यस विषयलाई गम्भीरताका साथ लिएको उहाँले जानकारी गराउनुभयो ।
मन्त्री यादवले मेलम्चीका बाढीपीडितका समस्या समाधान गर्ने विषयमा आफूले अनौपचारिक रुपमा मन्त्रिपरिषद्मा कुरा उठाएको र प्रधानमन्त्री, गृहमन्त्रीसँग पनि छलफल गरिरहेको बताउनुभयो । उहाँले भन्नुभयो, “मेलम्चीपीडितका मुद्दाप्रति मन्त्रालय सकारात्मक छ । छलफल र समन्वयमार्फत समस्या समाधान गर्नुपर्छ ।”
मेलम्चीपीडितका समस्या समाधान गर्न कति सम्भव छन्, राज्यले तत्काल के के गर्न सक्छ ? उक्त विषयमा गृहकार्य गरी एउटा समिति बनाउनुपर्ने भन्दै यसका लागि मन्त्रालयले पहल गर्ने मन्त्री यादवले प्रतिबद्धता जनाउनुभयो । उहाँले भन्नुभयो, “मन्त्रालय यहाँहरुका जायज माग पूर्ति गर्न लागिरहेको छ । छलफलमार्फत सबैको हित हुने गरी समिति गठन गरी काम अगाडि बढाउने छौँ ।”
जनाताले आफ्ना जायज माग सम्बोधन गराउन सरकारविरुद्ध सडक सङ्र्घष गर्नुपर्ने अवस्था आउने विषय उपयुक्त नभएको बताउनुहुँदै मन्त्री यादले भन्नुभयो, “सरकारले समस्याको सही समाधान गर्नुपर्छ । समस्या कसरी समाधान गर्न सकिन्छ भनेर छलफल गर्न तपाईंहरुलाई मन्त्रालयमा बोलाएको हुँ । काठमाडौँवासीलाई पानी खुवाउने महान् कार्यमा यहाँहरुको सहयोग आवश्यक छ । सहजीकरण गरिदिनुहुन्छ भन्ने आशा लिएको छु ।”
विसं २०७८ पुस २२ गते बसेको सरकारको मन्त्रिपरिषद् बैठकले (मेलम्ची खानेपानी आयोजना) पुनःनिर्माणसम्बन्धी योजना स्वीकृत गरेको थियो । सोअनुसार भौतिक पूर्वाधार मन्त्रालय, जलस्रोत तथा सिँचाइ मन्त्रालय, सहरी विकास तथा भवन निर्माण मन्त्रालयबाट आफ्नो विषयगत क्षेत्रमा पूर्वाधार पुनःस्थापना तथा पुनःनिर्माण गर्नेगरी मन्त्रिपरिषद्ले निर्णय गरेको थियो ।
यसैगरी मन्त्रिपरिषद्बाट पारित भएको उक्त निर्णय कार्यान्वयनका लागि सम्बन्धित निकायले इमान्दारितापूर्वक कार्यान्वयन गर्न यादवले आग्रह गर्नुभयो । छलफलमा सहभागी भएका मेलम्ची बाढीपहिरो प्रभावित क्षेत्रका जनप्रतिनिधि, सङ्घर्ष समितिका प्रतिनिधिहरुले आफ्ना मागका विषयमा सरकारले सुनुवाइ गर्नुपर्ने भन्दै तत्काल पानी काठमाडौँ पठाउन सहयोग गरिने बताउनुभएको थियो ।
स्थलगत रिपोर्टः सुनसरीमा बाढीले कृषि क्षेत्रमा बढी क्षति
इनरुवा (सुनसरी), १५ असोजः सुनसरी भोक्राहा नरसिंह गाउँपालिकाका देवनारायण मेहताले दुई बिघामा धानखेती गर्नुभएको थियो । उहाँले खेतको गोडमेल, रोपाइँ, सिँचाइलगायत व्यवस्थाका लागि प्रतिबिघाको करिब रु ४० हजार खर्च गर्नुभएको थियो ।
केहीदिनदेखि परेको अविरल वर्षासँगैको बाढीले उहाँसँगै जिल्लाका अधिकांश किसानका धानखेतीमा क्षति पुर्याएको समाजसेवी राजकिशोर मेहताले बताउनुभयो । प्रतिबिघा रु ४० हजार लगानी गरेर खेती गर्नु आमकिसानका लागि समान्य कुरा नभएको उहाँको भनाइ छ ।
देवनारायणले खेतीमा लगानी गर्दा चिन्ता लिनुभएको थिएन् तर अहिले बाढीबाट क्षति भएपछि वर्षभरि के खाने भन्ने चिन्तामा उहाँ हुनुहुन्छ । उहाँले करिब दुई बिघामा धानखेती गर्नुभएको थियो । देवनारायणले खेतीको बिमा नगरेकाले पनि थप चिन्ता थपेको समाजसेवी मेहताले बताउनुभयो ।
देवनारायणले घुटराज जातको धान लगाउनुभएको थियो । पाकेर भित्र्याउने बेला आएको पानीले खेतीसँगै किसानको लाखौँको लगानीमा क्षति भएको स्थानीय किसान रामवृक्ष मेहताले उल्लेख गर्नुभयो । भोक्राहा नरसिंहसहित जिल्लाका विभिन्न स्थानमा घुटराज धान लगाउने किसान अहिलेको वर्षाबाट बढी प्रभावित भएका उहाँले बताउनुभयो ।
भोक्राहा नरसिंह गाउँपालिकामा मात्र घुटराज धान रोपाइँ गर्नेमा देवनारायणसहित जमाहर मेहता, श्यामदेव मेहता, जोगिन्दर मेहतालगायत छन् । यहाँ करिब ४० बिघा जमिनमा यो धान रोपाइँ भएको स्थानीय जमाहर मेहताले जानकारी दिनुभयो । लगातारको वर्षाले धान खेतमा खसेको र पानी नसुकेपछि खेतमै उम्रिने उहाँले बताउनुभयो ।
किसानले वार्षिक रुपमा मजदुकारको अभावका साथै आर्थिक सङ्कट, मल तथा बिउ अभावका बीच पनि खेती गर्दै आएका जमाहरले बताउनुभयो । “सिँचाइका लागि पानी आवश्यक भएका बेला नपर्ने, अहिले धान काटेर भित्राउने बेला परेको पानीले खेती सबै नष्ट गरेको छ”, उहाँले भन्नुभयो ।
यसैबीच लगातार वर्षासँगै आएको बाढीबाट विस्थापित भएकाहरु घर फर्किन थालेका छन् । जिल्लाको विभिन्न स्थानीय तहमा बाढीबाट विस्थापित भई सार्वजनिक स्थानमा बसेकाहरु फर्किन थालेका सशस्त्र प्रहरी बल ४ नं गण सुनसरीका प्रहरी उपरीक्षक समेनन्द बज्राचार्यले जानकारी दिनुभयो । कोशी–४ मा बाढीबाट डुबानमा परेका ४० परिवार घर फर्किएका जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक सुमन तिम्सिनाले जानकारी दिनुभयो ।
हरिनगर गाउँपालिकामा केही बाढीपीडित अहिले पनि सार्वजनिक स्थानमा रहेको भन्दै पालिकाले अस्थायी बासस्थान र खानाको व्यवस्थापन मिलाएको गाउँपालिकाका अध्यक्ष गफार अन्सारीले बताउनुभयो ।
सुनसरी खोला र मरिया खोलाको बाढीले गाउँपालिकाका कतिपय स्थान आंशिक डुबानमा परेका भन्दै वडा नं २ र ४ का पीडित घर फर्किन थालेका छन्भने वडा नं ५ र ७ का पीडित अहिले पनि सार्वजनिक स्थानमा बसिरहेका उहाँले जानकारी दिनुभयो ।
बाढीले गाउँपालिकाको करिब एक सय बिघामा पाकेको धानखेती तथा एक सय बिघा तरकारी खेतीमा क्षति गर्नुका साथै दुई किलोमिटर सडक कालोपत्र भत्काएको अध्यक्ष अन्सारीले जानकारी दिनुभयो ।
खेती गर्ने बेलामा मजदुर, मल, पानी अभाव भए पनि गरिएको तरकारी, धान र सनपाटको खेती भित्र्याउने बेलामा आएको बाढीले नष्ट गरिदिएको किसान चन्दन मेहताले बताउनुभयो । दसैँ नजिकिएसँगै बिक्रीका लागि तयार पारिएको कोपी, वैगुन, परबल, भिण्डी, करेला, लौका, फर्सी, घिरौँला, काक्रालगायत तरकारी बालीमा बाढीले क्षति पुर्याएको उहाँको भनाइ छ ।
बाढीले विभिन्न ठाउँमा भत्काएको सडकको सम्बन्धित स्थानीय तहले मर्मतसम्भार गर्न सुरु गरिसकेका जिल्ला प्रशासन कार्यालयले जनाएको छ । बाढीबाट जिल्लामा भएको क्षतिको यकिन विवरण आउनेक्रम जारी रहेको जिल्ला प्रशासन कार्यालय सुनसरीले जनाएको छ ।
वायुसेवा निगम केन्द्रीय कार्यालयमा एयरहोस्टेसको धर्ना
काठमाडौँ, १४ असोजः आफूहरुमाथि अन्याय र विभेद् भएको दाबी गर्दै नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) का एयरहोस्टेस (बिमान परिचारिका)ले विरोध प्रदर्शन गरेका छन् ।
निगममा लामो समयदेखि कार्यरत ‘क्याबिन क्रु’हरुले सर्वोच्च अदालतले दिएको अन्तरिम आदेश कार्यान्वयन नगरेको र न्यायका लागि गुहार गर्दा पनि व्यवस्थापनले बेवास्ता गरेको भन्दै उनीहरुले निगम केन्द्रीय कार्यालयमा धर्ना सुरु गरेका हुन् ।
कार्यालय प्रवेश गर्ने मुख्य प्रवेशद्धारमा एयरहोस्टेसले आज बिहान १० बजेदेखि साढे १२ बजेसम्म धर्ना दिएका छन् । झण्डै ५० जना एयरहोस्टेजले कार्यालय समयमा कार्यालय प्रमुखसहितका कर्मचारी प्रवेश गर्ने बेलामा हातमा कालोपट्टि बाँधी प्रदर्शन गरेको थिए । आफ्ना मागको सुनुवाइ नभएसम्म सङ्घर्षका कार्यक्रम जारी रहने वरिष्ठ विमान परिचारिका प्रजिता कार्कीले बताउनुभयो ।
निगम व्यवस्थापनले भने एयरहोस्टेसको पाँच वर्षको करारको सम्झौता सकिएकाले निरन्तरता दिन नसकिने जनाएको छ । “एयरहोस्टेसको पाँच वर्षको सम्झौताअनुसार काममा लगाइएको हो, उनीहरुको करार अवधि सकिएको छ । पुनःसेवा निरन्तरता दिन सकिन अवस्था छैन”, निगमका एक उच्च अधिकारीले भन्नुभयो ।
सर्वोच्च अदालतले केही महिनाअघि कर्मचारीबीच सेवा, सुविधा र सेवा अवधिमा भेद्भाव नगर्न निगमका नाममा अन्तरिम आदेश जारी गरेको थियो । सर्वोच्चको आदेशको अवहेलना गर्दै क्याबिन क्रुलाई अवकास दिन लागिएको, सेवा सुविधामा भेद्भाव भएको भन्दै केही दिनदेखि कर्मचारीबीच असन्तुष्टि छाएको थियो ।
निगमभित्रका एक सय ७२ जना क्याविन क्रु (एयरहोस्टेस) केही महिनाअघि न्यायका लागि सर्वोच्चमा पुगेका थिए । सर्वोच्चले उक्त मुद्दालाई प्राथमिकता दिँदै कर्मचारीमाथि विभेद रोक्न, मुद्दा हालेकै कारणले पूर्वाग्रह नराखी काम गर्न अन्तरिम आदेश दिएको थियो ।
कर्मचारीहरुले पर्यटनमन्त्री बद्री पाण्डेलाई समेत भेटी भेद्भाव रोक्नका लागि आवश्यक पहल गर्न सुझावपत्र दिएका थिए । सर्वोच्चमा समेत यो विषयमा मुद्दा विचाराधीन रहेकै अवस्थामा पूर्वाग्रहपूर्ण ढङ्गले कारबाही थालेको एयरहोस्टेसको आरोप छ ।
निगम परिसरमा कर्मचारीले सर्वोच्चको अन्तरिम आदेश पालना गर, विभेद् रोक, दमन गर्न पाइँदैन जस्ता प्ले कार्डसमेत बोकेका थिए ।
धितोपत्र बजार : कारोबार तीन महिनायताकै न्यून
काठमाडौँ, १४ असोज : नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ४४ दशमलव ४५ अङ्कले बढ्दा कारोबार रकम भने पौने चार अर्बमा खुम्चिएको छ ।
नेप्से परिसूचक आज एक दशमलव ८० प्रतिशतले बढेर दुई हजार पाँच सय आठ दशमलव ८६ को अङ्कमा कायम भएको हो । आज तीन सय १९ कम्पनीको ९७ लाख १७ हजार नौ सय ५९ कित्ता शेयर ५० हजार छ सय ८० पटक खरिद बिक्री हुँदा कारोबार रकम रु तीन अर्ब ७१ करोड ५३ लाख ५९ हजार नौ सय ३५ मा खुम्चिएको छ । नेप्सेमा आजको कारोबार रकम पछिल्लो तीन महिनायताकै न्यून हो ।
म्युचुअल फन्ड शून्य दशमलव ६० प्रतिशतले घटेको छ भने अरु सबै समूहको उपसूचक बढेको छ । सबैभन्दा धेरै वित्त समूह चार दशमलव १९ र उत्पादन तथा प्रशोधन समूह तीन दशमलव ८३ प्रतिशतले बढेको छ । बैंकिङ एक दशमलव १८, विकास बैंक एक दशमलव ९३, होटल तथा पर्यटन तीन दशमलव २८, जलविद्युत् एक दशमलव २२, जीवन बीमा एक दशमलव ७८ र लघुवित्त एक दशमलव ८५ प्रतिशतले बढेको छ ।
त्यस्तै, निर्जीवन बीमा शून्य दशमलव ७१, व्यापार एक दशमलव ५२ र अन्य समूह दुई दशमलव ३७ प्रतिशतले बढेको छ । सिईडिबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको शेयर मूल्यमा आज सकारात्म सर्किट लागेको छ । सबैभन्दा धेरै घट्नेमा प्रभु सेलेक्ट फन्डको शेयर मूल्य नौ दशमलव ३६ प्रतिशत छ ।
कारोबार रकमका आधारमा आज सबैभन्दा धेरै सिईडिबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको रु १७ करोड ६९ लाख ६४ हजार २७ बराबरको कारोबार भएको छ । कारोबार भएको शेयर सङ्ख्याका आधारमा भने सिटिजन सुपर–३० म्युचुअल फन्डको १२ लाख एक हजार चार सय २० कित्ता शेयर किनबेच भएको छ ।
Disaster update: 192 dead, 30 missing
Kathmandu, Sept 30: As many as 192 people have so far lost their lives and 30 others have gone missing in the floods, landslides and inundation caused by incessant rains.
Home Ministry spokesperson Rishiram Tiwari informed 194 people were injured in the incidents of natural disaster. He said that more than 4,500 disaster-affected people have been rescued so far by mobilizing all security agencies for search, rescue and relief after the floods and landslides.
Emergency relief materials, including food, have been provided to the flood and landslide affected people and the injured are being treated free of cost. Spokesperson Tiwari said that efforts are being made to open the obstructed highway for the operation of traffic.
बचेखुचेको सामान व्यवस्थापनमा जुट्दै ललितपुरका बाढीपीडित
ललितपुर, १४ असोज: शुक्रबारदेखिको अविरल वर्षाका कारण शनिबार काठमाडौँ उपत्यकाको बागमती नदीमा आएको बाढीले धेरै ठाउँमा ठूलो जनधनको क्षति पु¥यायो । ललितपुरको टीकाभैरव भएर बग्ने नख्खुखोला छेउका बस्ती पूर्ण रूपमा डुबानमा परे । घर, पसल र बासस्थानमा पानी पसेर यहाँको जनजीवन, व्यापार, व्यवासय अस्तव्यस्थ छ । खोला किनारामा बसोबास गर्नेहरूको टहरासहित सबै सरसमान बगाएको छ ।
शनिबार बेलुकीदेखि नख्खु खोलाको बहाव घटेपछि बाढीपीडितहरू बाढीबाट जोगिएका तर निथ्रक्क भिजेका सरसमानको व्यवस्थापनमा जुटेका छन् । हाल घर, पसल तथा भवनका कोठाभित्र पसेको लेदो हटाउने काम भइरहेको छ । मोटरसाइकल, गाडीलगायत धेरै सामग्री बगाएको कपितय बाढीपीडितको भनाइ छ । बाढीले आफ्ना छ बङ्गुर र ७० हाँस तथा लोकल कुखुरा बगाएको ललितपुर महानगरपालिका–१८ नख्खुपुल छेउमा बस्दै आएकी रेणुका लिम्बूले बताउनुभयो । उहाँले भन्नुभयो, “शुक्रबार राति १२ बजे कोठाभित्र पानी पसेको थियो । पानी पस्नेबित्तिकै सामान अर्को ठाउँमा सार्दै थियौँ । सामान सार्दासार्दै खोला बढ्दै गएर बिहान ७ बजेसम्म सबै बगायो । हाम्रो मात्र होइन, अरूको पनि धेरै क्षति भएको छ ।”
ललितपुर महानगरपालिका–१४ नख्खुडोल र ललितपुर वडा नं २५ भैँसेपाटी जोड्ने पुलमा बाढीले क्षति पु¥याएपछि अहिले आवतजावतमा रोक लगाइएको छ । नख्खुडोल पुल छेउमा बसोबास गर्नेको अस्थायी टहरा सबै बगाएको छ । खोलाले डुबाएको सरसमान व्यवस्थापनका लागि आफन्तको सहायता लिएर जुटेका छन् । करिब रु १३ लाख लगानी रहेको नर्सरी र अस्थायी टहरमामा रहेको सबै सरसमान बगाएको स्थानीय रोम रानाको भनाइ छ । उहाँले भन्नुभयो, “समाचारकानुसार बाढी आउलाकि भनेर हामी सचेत त थियौँ तर तत्काल सरसमान अर्को ठाउँमा सार्ने अवस्था भएन । जब राति कोठामा पानी पस्यो त्यसपछि महत्वपूर्ण कागजपत्र निकाल्न भ्यायौँ, अरु सबै बाढीले बगायो । अब के खाने र कहाँ बस्ने भन्ने चिन्ता छ । तत्कालका लागि त आफन्तकहाँ बसेका छौँ ।”
त्यसैगरी नख्खु डोलमा पाँच वटा पसल बगाएको छ । अस्थायी टहरामा सञ्चालित पसल पूर्ण रूपमा बगाएकाले कति क्षति भएको छ भन्ने एकीन गर्न नसकिएको स्थानीय बताउँछन् । दुःखले जोडेको सबै सामान बगाएकामा बाढीपीडित नारायण सुनुवार हाल निकै चिन्तामा हुनुहुन्छ । “म मजदुरी गरेर जीविका चलाउने मान्छे हुँ । काम गरीखाने सबै सामग्रीसमेत बगाएको छ । अब कहाँ बस्ने, के खाने भन्ने चिन्ता छ । अहिलेसम्म कतैबा राहातको व्यवस्था भएको छैन । ज्यान जोगिए पनि लत्ताकपडा र अत्यावश्यक सबै समान बगाएको छ”, उहाँले भन्नुभयो ।
नख्खु खोलाले क्षति पु¥याएको ठाउँमा तत्काल विद्युत्, पानी र बाटोको व्यवस्थापनमा जुट्ने ललितपुर महानगरपालिका–१३ का वडाध्यक्ष गणेश केसीले बताउनुभयो । उहाँले भन्नुभयो, “नख्खु खोलाले क्षति पुर्याएकोमा हामी निकै दुःखी छौँ । हाम्रो वडामा अवरोध भएको बाटो, विद्यत् र खानेपानी आपूर्ति व्यवस्थापनलाई पहिलो प्राथामिकता दिएर व्यवस्थापनमा लागिरहेका छौँ ।”
चितवनमा साउनयता स्क्रब टाइफसबाट २२९ संक्रमित, एकको मृत्यु
चितवन, १४ असोजः गत साउनयता जिल्लामा दुई सय २९ जनामा स्क्रब टाइफसको संक्रमण देखिएको छ । संक्रमितमध्ये खैरहनी नगरपालिका-२ मा एक ६० वर्षीया महिलाको गत भदौमा मृत्यु भएको जिल्ला जनस्वस्थ्य कार्यालयले सार्वजनिक गरेको विवरणमा उल्लेख छ ।
जनस्वास्थ्य कार्यालयका जनस्वास्थ्य अधिकृत विमल पट्टेलले जिल्लाका विभिन्न अस्पतालमा साउनयता उपचारका लागि आएका एक हजार ८१५ बिरामीको परीक्षणका क्रममा २५९ जनामा स्क्रब टाइफसको सङ्क्रमण देखिएको जानकारी दिनुभयो । सङ्क्रमितमध्ये १३० जना चितवनका रहेका छनभने १२९ जना जिल्लाबाहिरका रहेका उहाँले बताउनुभयो ।
गत आर्थिक वर्षमा ७६२ जनाको परीक्षणका क्रममा २४८ जनामा स्क्रब टाइफस देखिएको थियो । यो रोग मुसा वा अन्य जीवजन्तुमा हुने सङ्क्रमित किर्नाले मानिसलाई टोकेपछि सर्ने गर्दछ । यसबाट संक्रमण भएमा मानिसलाई उच्च ज्वरो आउने, आँखा रातो हुने, खोकी, बान्ता, पेट दुखाइ र पखालाले सताउने, सास फेर्न समस्या हुन, टाउ, जोर्नी र मांसपेशी दुख्ने, बिमिरा देखिने, टोकेको ठाउँमा कहिलेकाहीँ कालो दागजस्ता लक्षण देखिने गर्दछन् ।
यस रोगबाट बच्न खेत, झाडी वा वनजङ्गलमा जाँदा लामो बाहुला भएको कपडा र उपयुक्त जुत्ता लगाउने, शरीरको खुला भागमा कीटनाशक मलमको प्रयोग गर्ने, घर वरिपरिका खेताबारीमा घाँस धेरै बढ्न नदिने र वातावरण सफा राख्ने, मुसा नियन्त्रणका लागि उपयुक्त किसिमको अन्न भण्डारण गर्नुपर्ने पट्टेलले बताउनुभयो ।
खोटाङमा पहिरोले ३३ घर पुरिए, तराईसँग सिधा सम्पर्क विच्छेद
खोटाङ, १४ असोजः अविरल वर्षासँगै आएको बाढी तथा पहिरोले जिल्लामा ३३ घर पुरिएका छनभने दुई घाइते तथा ३८ घरमा आंशिक क्षति पुगेको छ ।
मानवीय क्षति नभए पनि करोडौँ मूल्य बराबरको क्षति पुगेको जिल्ला विपद् व्यवस्थापन समितिका संयोजक एवम् प्रमुख जिल्ला अधिकारी शिवकुमार कार्कीले जानकारी दिनुभयो । “बाढी तथा पहिरोले जिल्लामा ठूलो क्षति पुगेको छ । क्षतिको पूर्ण विवरण अझै आइसकेको छैन”, उहाँले भन्नुभयो, “दश स्थानीय तह रहेको खोटाङमा बाढी तथा पहिरोबाट दुईजना घाइते भएका छन्भने १८ वटा पशुचौपाया मरेका छन् । विस्थापितहरुको उद्धारमा तीनै सुरक्षा निकायका टोली परिचालन गरेका छौँ ।”
बाढी तथा पहिरोपीडितलाई तत्काल राहत उपलब्ध गराउन तथा पुनःस्थापनाका लागि आइतबार साँझ जिल्ला विपद् व्यवस्थापन समितिको बैठक बसेको छ । प्रतिनिधिसभा सदस्य रामकुमार राई ‘पासाङ’सहितको उपस्थितिमा आयोजित बैठकमा क्षतिको विवरण तत्काल सङ्कलन गरी चाँडोभन्दा चाँडो राहत उपलब्ध गराउने निर्णय भएको छ ।
बाढी तथा पहिरोले घर बगाएर विस्थापित बनेका एक सय ३५ स्थानीयवासीलाई नजिकको विद्यालय तथा आफन्तकामा सारिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक पुरुषोत्तम खड्काले जानकारी दिनुभयो । “बाढी तथा पहिरोले एउटा पक्की बगाउनाका साथै पाँचवटा झोलुङ्गे पुलमा क्षति गरेको जानकारी प्राप्त भएको छ । उद्धारमा खटिएका प्रहरीहरु अझै फिल्डमै छन्”, उहाँले भन्नुभयो, “जिल्लामा भएको क्षतिको विवरण यो नै पूर्ण होइन । अहिलेसम्म विकासे योजनाबाहेक मानिसका घरमा मात्र रु ७९ लाख ९९ हजार बढीको क्षति भएको जानकारी प्राप्त भएको छ । थप विवरण आउन बाँकी छ ।”
बाढीका कारण खोटाङ र उदयपुरको सिमानामा पर्ने सुनकोशीस्थित फोक्सिङटारको पक्की पुल बगाएको छ । खोटाङ र उदयपुर जोड्ने बङ्शिलाघाट, ऐँसेलुखर्क गाउँपालिका–४ जलेश्वरीस्थित कम्फुघाट, खोटाङ र उदयपुरकै धाप्लाङघाट, जन्तेढुङ्गा गाउँपालिका–१ रमिते र उदयपुर जोड्ने मैनाटार तथा दिप्रुङ चुइचुम्मा गाउँपालिका–४ बतासेस्थित भण्डारेघाटको झोलुङ्गे पुल बगाएको छ । विसं २०७९ मा निर्माण सम्पन्न गरेर सञ्चालन गरिएको फोक्सिङटारको पक्की पुल तथा अन्य पाँच झोलुङ्गे पुलहरु शनिबार दिउँसोको बाढीले बगाएको हो ।
फोक्सिङटारको पुल बगाएपछि पूर्वी तराईसँगको सिधा यातायात सम्पर्क विच्छेद भएको छ । खोटेहाङ गाउँपालिका–९ लिच्कीराम्चे र उदयपुरको रौतामाई गाउँपालिका–५ आँपटार जोड्ने ‘आर्क डिजाइन’को उक्त पुल बगाएपछि सिधा यातायात सम्पर्क विच्छेद भएको हो ।
































