माथिल्लो मनाङमा हिमपात
मनाङ, १२ असोज : देशभरि मनसुन सक्रिय भएसँगै हिमाली जिल्ला मनाङमा हिमपात भएको छ । माथिल्लो मनाङका टङ्की, खाङ्सार, तिलिचो बेसक्याम्प, थोराङ्ला भञ्ज्याङ, नार, फुलगायत क्षेत्रमा हिमपात भएको हो ।
हिमपातले माथिल्लो मनाङमा पर्यटक तथा स्थानीयको जनजीवन प्रभावित बनेका प्रमुख जिल्ला अधिकारी मातृका आचार्यले जानकारी दिनुभयो । उहाँका अनुसार ङिस्याङ गाउँपालिकाको हुम्डेबाट माथिल्लो क्षेत्र र नार्पाभूमि गाउँपालिकामा हिमपात भएको छ ।
हिमपात भएपछि पदयात्री, पर्यटक, स्थानीयलाई सडक तथा सवारीसाधनको अवस्था विश्लेषण गरेर मात्र यात्रा तय गर्न सूचित गरिएको प्रजिअ आचार्यले बताउनुभयो । उहाँले भन्नुभयो, “हिमापत हुन सुरु भएको भएको छ, हालसम्म अधिक हिमपात भने भएको छैन । यहाँ रहेका पर्यटक रमाइरहेका छन्, तर यात्रा नगर्न आग्रह गरिएको छ ।”
बिहीबार साँझदेखि लगातार वर्षा हुँदा शुक्रबार रातिदेखि हिमपात भइरहेको हो । नार र फू गाउँका साथै मेता र गाउँपालिका केन्द्र च्याखुमा पनि हिमपात भइरहेको नार्पाभूमि गाउँपालिकाका सूचना अधिकारी महेश पाख्रिनले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “नारमा डेढ फिट र फूमा छ इन्च हिउँ जमेको छ ।”
किसानले यतिबेला करु काटेर खेत र छतमा सुकाएका थिए । हिउँ छिट्टै पर्दा आलुबालीलाई पनि हिउँले पुरेको छ । यसले किसानमा चिन्ता थपिएको छ ।
“काङ्ला पास गर्ने पर्यटक नारमा रोकिएका छन्, हिमलुङ हिमाल चढ्न जाने पर्यटक भने हिँडेको गएका छन्, यो हिउँ पर्ने समय नभए पनि हिमपात सुरु भएसँगै चिसो बढेको छ”, पाख्रिनले भन्नुभयो ।
जिल्लास्थित पर्यटन व्यावसायी समितिका अध्यक्ष विनोद गुरुङले मनाङ गाउँमाथि हिउँ परिरहेकाले जनजीवन प्रभावित बनेको बताउनुभयो । हिउँले पर्यटक आवागमनलाई खासै फरक नपरे पनि किसानलाई बाली स्याहार्न समस्यामा पारेको उहाँले उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो, “समय अघि हिउँ परेपछि किसानलाई गहुँ, फापरलगायत अन्नबाली थन्क्याउन सास्ती भएको हो ।”
माथिल्लो क्षेत्र तिलिचो र थोराङ्ला क्षेत्रमा हिउँ परिरहेको भन्दै अचानक हिमपात हुँदा पर्यटक भने हिउँमा रमाइरहेका बताउनुभयो । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) इलाका संरक्षण कार्यालयका प्रमुख ढकबहादुर भुजेलले पर्यटकीय सिजन सुरु भएको बेला हिमपात हुँदा पर्यटक थप उत्साहित भएका भएको बताउनुभयो । देशभर मौसम बदली रहेकाले मौसममा सुधार नभएसम्म सुरक्षित स्थानमा रोकिन पर्यटकलाई आग्रह गरिएको उहाँले बताउनुभयो ।
आज बेलुकादेखि वर्षा मत्थर हुँदै जाने
काठमाडौँ, १२ असोजः तीन दिनदेखि परिरहेको अविरल वर्षा आज बेलुकादेखि मत्थर हुँदै जाने अनुमान गरिएको छ । बाढी पूर्वानुमान शाखाका प्रमुख विनोद पराजुलीले पछिल्ला तीन दिनमा भइरहेको वर्षाको स्तर बेलुकादेखि विस्तारै कम हुँदै जाने जानकारी दिनुभयो ।
“आज बेलुकादेखि नै वर्षा केही मथ्थर हुन सुरु हुन्छ, तर ठ्याक्कै रोकिने होइन, भोलिसम्मै रहन सक्छ, जुन ‘इन्टेन्सिटी’मा वर्षा भइरहेको छ त्यो अब हट्दै जान्छ”, उहाँले भन्नुभयो । भोलिदेखि अहिलेको मौसमी प्रणाली कमजोर हुँदै जाने उहाँको भनाइ छ ।
“बादल फाट्न चै केही दिन लाग्छ, भोलिदेखि केही क्षेत्रमा मौसमी अवस्थामा सुधार आउन सक्छ, कहीँ छिटफुट वर्षा हुन सक्छ”, पराजुलीले भन्नुभयो, “पूर्व झापादेखि पश्चिम कपिलवस्तुसम्म बढी प्रभाव रह्यो ।” नेपालको पश्चिमी भेगदेखि मौसमी प्रणाली सुधार हुँदै आइरहेको उहाँको भनाइ छ । अहिलेको मौसमी प्रणाली अन्त्यसँगै नेपालबाट यसवर्षको मनसुन बाहिरिनेछ ।
शाखाले बङ्गालको खाडीको न्यून चापीय प्रणालीको आंशिक प्रभाव र मनसुन न्यून चापीय रेखा नेपाल र भारतको सीमामा अवस्थित रहनु नै अहिलेको मनसुनी वर्षाको मुख्य कारण भएको जनाएको छ । नेपालको सीमा जोडिएको भारतका धेरै भूभागमा समेत वर्षा भएका छन् ।
पछिल्ला तीन दिनमा मुलुकका विभिन्न स्थानमा अतिभारी, भारी र सामान्य वर्षा भएका छन् । समग्रतामा तीन सय मिलिमिटरभन्दा बढी वर्षा भएको शाखाको तथ्याङ्क छ । “कहीँ त्यो भन्दा बढी र कहीँ दुई सय मिलिमिटरसम्म वर्षा भएको छ”, प्रमुख पराजुलीले भन्नुभयो ।
चौबीस घन्टामा एक सय ४० मिलिमिटरभन्दा बढी वर्षा भएमा खतराको तह पार गरेको मानिन्छ । एक सय सात वटा वर्षा मापन केन्द्रमा खतराको तह नाघेको छ । यसपटक ७७ वटै जिल्लामा वर्षा भएको छ । कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा खास वर्षा भएको छैन । बागमती, मधेस, लुम्बिनी र गण्डकी प्रदेशमा भारी वर्षा भएको छ ।
बाढी पूर्वानुमान शाखाले जल सतह खतराको तह पार गरेका २३ नदी तटीय क्षेत्रका बासिन्दामा जोखिमको एसएमएस र १७ नदी क्षेत्रमा सतर्कताको सूचना निरन्तर पठाइरहेको छ । शाखाले वेभसाइट, नियमित बुलेटिन, सामाजिक सञ्जाल र मोबाइल एसएमएसमार्फत सूचना जारी गरिरहेको छ ।
‘एक्याप’को ‘अनलाइन’ तस्बिर प्रतियोगितामा श्रेष्ठ प्रथम
गण्डकी, १२ असोजः विश्व पर्यटन दिवस–२०२४ का अवसरमा अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना ‘एक्याप’ले आयोजना गरेको ‘अनलाइन’ तस्बिर प्रतियोगितामा सिराहाका सुशीलकुमार श्रेष्ठ प्रथम हुनुभएको छ । उहाँले खिचेको अन्नपूर्ण आधार शिविरको बिहानीपखको तस्बिरले प्रथम पुरस्कार पाउन सफल भएको हो ।
कास्कीको अन्नपूर्ण गाउँपालिका–७ का भगवान पौडेलले मदी हिमाल क्षेत्रमा खिचेको डाँफेको तस्बिरले प्रतियोगितामा दोस्रो स्थान प्राप्त गरेको ‘एक्याप’का प्रमुख डा रविन कडरियाले जानकारी दिनुभयो । काठमाडौँ महानगरपालिका–२७ का सूर्य थपलियाको नीलगिरि हिमालको काखमा क्रिकेट खेलिरहेका बौद्धमार्गीहरुको तस्बिरले तेस्रो स्थान प्राप्त गरेको उहाँले बताउनुभयो ।
विश्व पर्यटन दिवसका ‘एक्याप’द्वारा शुक्रबार आयोजित कार्यक्रममा आयोजना प्रमुख डा कडरियाले अनलाइन तस्बिर प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुनेलाई क्रमशः रु २० हजार, १५ हजार र १० हजारसहित प्रमाणपत्र प्रदान गर्नुभएको थियो । अनलाइनमार्फत प्राप्त भएका २०७ तस्बिरमध्ये श्रेष्ठ, पौडेल र थपलियाले पुरस्कार हात पार्न सफल हुनुभएको हो । अन्नपूर्ण संरक्षण क्षेत्रमा खिचिएका तस्बिरलाई प्रतियोगितामा समावेश गराइएको थियो ।
अन्नपूर्ण क्षेत्रका पर्यटन प्रवद्र्धन हेतु तस्बिर प्रतियोगिताको आयोजना गरिएको प्रमुख डा कडरियाले बताउनुभयो । विश्व पर्यटन दिवसका अवसर पारेर अन्नपूर्ण संरक्षण क्षेत्रको भ्रमणका लागि चाहिने प्रवेशाज्ञा (परमिट) का लागि चाहिने प्रवेश शुल्क अनलाइनबाटै तिर्न मिल्ने व्यवस्था मिलाइएको उहाँले बताउनुभयो । उक्त सेवाको शुभारम्भ गर्दै उहाँले सेवाग्राहीले भिषा र मास्टरकार्डमार्फत प्रवेश शुल्क तिरेर अनलाइनबाटै प्रवेशाज्ञा लिनसक्ने बताउनुभयो ।
“प्रवेशाज्ञाका लागि शुल्क सङ्कलनकक्षमा हुने सेवाग्राहीको भीडलाई मध्यनजर गरेर प्रविधिमैत्री सेवा सुरु गरिएको हो, अनलाइन सेवा चौबिस घण्टा नै सुचारु रहनेछ”, उहाँले भन्नुभयो, “अब प्रवेशाज्ञाका लागि सेवाग्राहीले पालो पर्खनुपर्ने बाध्यता हटेको छ ।” यसअघि ‘एक्याप’ले काठमाडौँको भृकुटीमण्डम, पोखराको ड्यामसाइड, लमजुङको सिमपानी र मुस्ताङको घाँसामा रहेको काउन्टरमबाट प्रवेश शुल्क लिई पर्यटकलाई प्रवेशाज्ञा दिने गरेको थियो ।
अब पर्यटकले जुनसुकै ठाउँबाट सहजै अनलाइनमार्फत प्रवेशाज्ञा लिनसक्ने ‘एक्याप’ले जनाएको छ । दिवसका अवसरमा अन्नपूर्ण क्षेत्रमा पर्ने लमजुङको सिमपानी, मनाङको धारापानी, उपल्लो मनाङ, कास्कीको पोथना, वीरेठाँटी, म्याग्दीको शिख, मुस्ताङको घाँसा, जोमसोम, मुक्तिनाथ, कागबेनी र लोमान्थाङमा अवस्थित चेकपोष्ट तथा कार्यालयहरुमा पर्यटकलाई खादा, माला र टोपीसहित स्वागत गरिएको थियो ।
पदयात्रा पर्यटनका लागि विश्वप्रख्यात अन्नपूर्ण संरक्षण सात हजार छ सय वर्ग किलोमिटरमा फैलिएको छ । कास्की, लमजुङ, मनाङ, म्याग्दी र मुस्ताङका १६ स्थानीय तहका ८९ वडा यसमा समेटिएका छन् । अन्नपूर्ण क्षेत्र प्राकृतिक सौन्दर्य, जैविक विविधता, हिमाली जनजीवन, सम्भयता, संस्कृति आदि कारणले देशविदेशका पर्यटकको रोजाइमा पर्ने गरेको छ । बर्सेनि असोज–कात्तिक र चैत–वैशाखको याममा उक्त क्षेत्रको पदयात्रा गर्ने पर्यटकको घुइँचो नै लाग्ने गर्छ ।
अन्नपूर्ण आधार शिविर, मर्दी हिमाल, घान्द्रुक, मनाङको तिलिचो ताल, थोरङ्ला भञ्ज्याङ, उपल्लो मुस्ताङ, मुक्तिनाथ, म्याग्दीको घोडेपानीलगायत अन्नपूर्ण क्षेत्रमा पर्ने पर्यटकीय गन्तव्यस्थल हुन् । कास्कीको खुमै डाँडा, कोरी, सिक्लेस, धम्पुस, ताङतिङ, ल्वाङलगायत गाउँ पनि पदयात्राका लागि चिनिएका गन्तव्यस्थल हुन् । कास्की, लमजुङ, मनाङ, म्याग्दीलगायत जनसुकै मार्गबाट अन्नपूर्ण क्षेत्रको छोटो, मध्यम र लामो दूरीको पदयात्रा तय गर्न सकिन्छ ।
अन्नपूर्ण क्षेत्रमा गत आवमा दुई लाख २२ हजार एक सय ८० विदेशी पर्यटक भित्रिएका थिए । जसमध्ये एसियाली मुलुकका एक लाख १७ हजार ८४५ र अन्य मुलुकका एक लाख चार हजार २५६ पर्यटक थिए । चार वर्षअघि चर्चित अन्तर्राष्ट्रिय ट्राभल साइट लोन्ली प्लानेटले अन्नपूर्ण चक्रीय पदमार्गलाई विश्वका घुम्नै पर्ने १० गन्तव्य सूचीमा राखेको थियो । अमेरिकी समाचार संस्था ‘सिएनएन’ले सन् २०२३ मा विश्वका घुम्नैपर्ने २३ गन्तव्यको सूचीमा परेको मुस्ताङ उपत्यका पनि अन्नपूर्ण संरक्षण क्षेत्रमै पर्छ ।
सर्वोच्च अदालतमा दुई न्यायाधीश सिफारिस
काठमाडौँ, ११ असोज : न्याय परिषद्को बैठकले सर्वोच्च अदालतका लागि दुई न्यायाधीश सिफारिस गर्ने निर्णय गरेको छ ।
प्रधानन्यायाधीश तथा न्याय परिषद्का अध्यक्ष विश्वम्भरप्रसाद श्रेष्ठको अध्यक्षतामा आज बसेको बैठकले उच्च अदालत पाटनका मुख्य न्यायाधीश नृपध्वज निरौला र उच्च अदालत तुलसीपुरका मुख्य न्यायाधीश नित्यानन्द पाण्डेलाई सर्वोच्च अदालतको न्यायाधीशमा सिफारिस गरेको हो ।
परिषद्को बैठकले उच्च अदालतका १४ न्यायाधीशको सरुवा सिफारिस गर्ने समेत निर्णय गरेको न्याय परिषद्का प्रवक्ता अशोककुमार क्षेत्रीले जानकारी दिनुभयो ।
त्यस्तै, बैठकले राजस्व न्यायाधीकरणले नेपालगञ्जको कानुन सदस्य एवं अध्यक्ष पदमा उच्च अदालत तुलसीपुर, नेपालगञ्ज इजलासका न्यायाधीश सुभाष पौडेललाई तोक्ने र वैदेशिक रोजगार न्यायाधिकरणको अध्यक्ष पदमा उच्च अदालत, दिपायलका न्यायाधीश गोकर्ण डाँगीलाई तोक्ने निर्णय गरेको छ ।
नारायणगढ–मुग्लिन सडकखण्ड रातिको समयमा बन्द हुने
चितवन, ११ असोजः अविरल वर्षाका कारण हुने सम्भावित जोखिमलाई मध्यनजर गरी नारायणगढ–मुग्लिन सडकखण्ड रातिको समयमा बन्द गरिने भएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको निर्देशनअनुसार अविरल वर्षाका कारण पहिरो खस्न सक्ने भन्दै सडकखण्ड रात्रिकालीन समयमा बन्द गरिएको हो ।
जिल्ला प्रहरी कार्यालयका प्रमुख भावेश्वर रिमालले आज र भोली यस सडकखण्डमा सवारी सञ्चालनमा रोक लगाइएको जानकारी दिनुभयो । उहाँले बेलुका ७ बजेदेखि बिहान ५ बजेसम्म सवारीसाधन सञ्चालनमा रोक लगाइएको बताउनुभयो । अत्यावश्यक सवारी साधनबाहेक अन्यलाई नारायणगढतर्फ आँपटारी र मुग्लिनतर्फ मुग्लिन बजारमा रोकिने रिजालले जानकारी दिनुभयो ।
कृषि कर्ममा रमाउँदै टेम्केमैयुङका युवा
भोजपुर, ११ असोज : भोजपुरमा आफ्नै ठाउँमा कृषि उद्यम,व्यवसायमा लाग्ने युवाको संख्या बढेको छ । सरकारको तर्फबाट विदेशबाट फर्केर उद्यम,व्यावसायमा लाग्ने युवाहरुको लागि विभिन्न प्रोत्साहनमूलक कार्यक्रम सञ्चालन गरिएपछि युवाहरुमा कृषिमा प्रतिमोह बढेको हो । यहाँका युवाहरुले अहिले व्यावसायिक रुपमा कृषि गरेर मनग्य आम्दानी समेत गर्दै आएका छन् । लामो समयसम्म विदेशमा मेहनत बगाएपनि राम्रो आम्दानी गर्न नसकेपछि उनीहरु यहि नै उद्यममा जुटेका हुन् ।
टेम्केमैयुङ गाउँपालिकाका स्थानीय गुणराज राउतले विदेशबाट फर्किएर व्यावसायिक बाख्रापालनबाट मनग्य आम्दानी गर्दै आउनु भएको छ । विदेशमा १५ वर्ष विताउनुभएका राउत अहिले आफ्नै ठाउँमा व्यावसायिक बाख्रापालनमा लाग्नु भएको हो । “विदेशमा लामो समय विताए” उहाँले भन्नुभयो,“धेरै मेहनत गर्दा पनि सोचे जस्तो आम्दानी गर्न भएन । अहिले आफ्नै ठाउँमा व्यावसायिक रुपमा बाख्रापालनमा लागेको छु । बाख्रापालनबाट यहि राम्रो आम्दानी गरिरहेको छु ।”
विदेशमा गर्ने मेहनत यहाँ गर्न सके आफ्नै ठाउँमा परिवारसँग बसेर राम्रो आम्दानी लिन सकिने उहाँको भनाइ छ । मानिसहरुले विदेशमा बगाउने पसिना यहि बगाए देशलाई पनि योगदान पुग्ने राउतको भनाइ छ ।कृषकहरुलाई व्यावसायिक रुपमा बाख्रापालनको विषयमा जानकारी नहुँदा समस्या हुने गरेको उहाँले बताउनुभयो । ग्रामिण भेगमा पशुचिकित्सकहरुको उपस्थिति कम हुने भएकाले किसानलाई समस्या हुने उहाँले बताउनुभयो ।
विदेशबाट फर्केर स्थानीय खड्गबहादुर राउतले पनि व्यावसायिक रुपमा सतुवा तथा चिराइतो खेती गरिरहेको बताउनुभयो । उहाँले व्यावसायबाट वर्षमा रु.तीनदेखी पाँच लाखसम्म आम्दानी गर्दै आएको जानकारी दिनुभयो । टेम्केमैयुङ गाउँपालिका कुमार विष्टले विदेशबाट फर्केर व्यावसायिक किवी र एभोकाडोको खेती गरिरहेको बताउनुभयो । अबको केहि वर्षमा बार्षिक रु. छ देखी आठ लाखसम्म आम्दानी लिने लक्ष्य रहेको कृषक विष्टको भनाइ छ । १५ रोपनी क्षेत्रमा किवीको व्यवसायिक खेती थालेको उहाँको भनाइ छ । किवीले यस वर्षबाट फल दिन थालेको उहाँले बताउनुभयो । “आफ्नै ठाउँमा केही गर्ने सोचले व्यावसायिक कृषि खेतीमा लागेको छु”उहाँले भन्नुभयो,“आफ्नै ठाँउमा योजनावद्ध रुपमा व्यावसायिक बन्न सकियो भने राम्रो आम्दानी लिन सकिन्छ । आफ्नै ठाउँमा नमूनायोग्य काम गर्ने सोचका साथ कृषि कर्ममा लागेको छु ।”
युवाले विदेश जान भन्दा स्वदेशमा नै व्यावसायिक भएर काम गर्न सके जीवन गुजारा गर्न समस्या नरहेको उहाँको भनाइ छ । विदेश पुगेपछि स्वदेशमा आम्दानी गर्न सकिने धेरै विकल्प देखेपछि स्वदेश फर्केर आएर व्यावसायिक रुपमा काम शुरुआत गरेको उहाँले बताउनुभयो ।
धरानमा खुल्ला ब्याडमिन्टन प्रतियोगिता हुने
धरान (सुनसरी), ११ असोज : धरानमा पहिलो पटक राष्ट्रिय खुल्ला ब्याडमिन्टन प्रतियोगिता हुने भएको छ । धरान ब्याडमिन्टन क्लबले आज पत्रकार सम्मेलन आयोजना गरी यही असोजको १७ गते देखि १९ गते तीन दिनसम्म ब्याडमिन्टन प्रतियोगिता हुने जानकारी दिएको हो ।
आयोजक समितिका संयोजक टङ्कबहादुर लिम्बूका अनुसार प्रतियोगितामा ७७ वटै जिल्लाका दुई सय टिमका छ सय खेलाडी सहभागी हुनेछन् । सुरक्षा निकायका तीन वटा विभागीय टोलीसमेत सहभागी हुने उहाँले बताउनुभयो ।
उहाँले भन्नुभयो, “खेलको माध्यमबाट आपसी भाइचारा, सद्भाव वृद्धि, साथै धरानको खेल र पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले प्रतियोगिता गर्न लागिएको हो ।” यस्ता प्रतियोगिता हुन नसक्दा युवा प्रतिभा पलायन भई सक्षम खेलाडी उत्पादनमा कमी आएको उहाँको भनाइ छ ।
प्रतियोगितामा खुल्ला पुरुष डबलतर्फका विजयी जोडीलाई रु एक लाख १५ हजार नगद पुरस्कार, उप विजेताले रु ५५ हजार र तेस्रो हुने जोडीले रु ३० हजार नगदसहित मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् ।
खुल्ला ‘भेट्रान्स’ ४५ ‘प्लस’, ‘सुपर’ भेट्रान्स ५५ प्लस र ‘लेडिज डबल्स’, ‘मिक्स डबल्स’का विजेताले रु ६५ हजार, उपविजेताले रु ३३ हजार र तेस्रो हुनेले रु ११–११ हजारसहित मेडल र प्रमाणपत्र प्राप्त गर्ने संयोजक लिम्बूले बताउनुभयो ।
प्रतियोगितामा राष्ट्रिय ‘रेफ्री’ तथा प्रशिक्षक केदार धिमाल प्रमुख निर्णायक रहने बताइएको छ । टिम दर्ता शुल्क खुल्ला मेन्स डबल, भेट्रान ४५ प्लस, सुपर भेट्रान ५५ प्लसका प्रतियोगीका लागि रु तीन हजार, मिक्स डबलका लागि रु दुई हजार पाँच सय र खुल्ला लेडिज डबलका प्रतियोगीका लागि रु दुई हजार निर्धारण गरिएको धरान ब्याडमिन्टन सङ्घले जनाएको छ ।
खेल प्रतियोगिता धरान उपमहानगरपालिका–१३ अमर सेवा समाजको कभर्ड हलमा हुने आयोजकले जनाएको छ । प्रतियोगिता सञ्चालनमा रु २२ लाखभन्दा बढी खर्च हुने अनुमान आयोजकको छ । प्रतियोगितामा कोशी प्रदेश खेलकुद परिषदले रु आठ लाख, धरान उपमहानगरपालिकाले रु एक लाख ५० हजार, विभिन्न वित्तीय सङ्घसंस्था र प्रायोजकबाट रकम सङ्कलन गरिएको आयोजकले जनाएको छ ।
कालीगण्डकी करीडोरः जोमसोम–कागबेनी खण्डमा कालोपत्र
म्याग्दी, ११ असोजः राष्ट्रिय गौरवको आयोजना कालीगण्डकी करीडोरअन्तर्गत मुुस्ताङको सदरमुकाम जोमसोमदेखि मुक्तिक्षेत्र गाउँपालिकाको केन्द्र कागबेनीसम्म १३ किलोमिटरसडक कालोपत्र भएको छ ।
जोमसोम–कागबेनी सडक ११ मिटर फराकिलो बनाएर आक्सपाल्ट प्रविधिको कालोपत्र गरिएको हो । बेनी–जोमसोम–कोरला सडक आयोजनाअन्र्तगत जोमसोम–कागबेनी खण्डमा कालोपत्र गर्न रु. २८ करोड १४ लाखमा ठेक्का सम्झौता गरेको थियो ।
बेनी–जोमसोम–कोरला सडक आयोजनाका सूचना अधिकारी विष्णु चापागार्इंले कालोपत्रको काम पूरा भएको तथा सडक फर्निचरको काम अन्तिम चरणमा पुगेको बताउनुभयो । कागबेनी देखि कोरलातर्फ दुई किलोमिटर र एक्लेभट्टी देखि कागबेनी जोड्ने बैकल्पिक सडकको एक किलोमिटर क्षेत्रमा पनि कालोपत्र भएको छ ।
जोमसोमदेखि चीनको स्वशासित क्षेत्र तिब्बतको सिमानामा रहेको कोरला नाका जोड्ने उक्त करिडोरअन्तर्गत आठ खण्डमा विभाजन गरेर प्रारम्भ भएको एक सय १० किलोमिटरमध्ये ७५ किलोमिटरमा सडक विस्तार र ग्राभेलको काम पूरा भएको छ ।
पच्चीस किलोमिटर लामो चराङ–छोसेर खण्डमा ९२ प्रतिशत निर्माण सम्पन्न भएको छ । यो खण्डको स्तरोन्नति पूरा भएपछि जोमसोमदेखि कोरलासम्मको सडक गाभ्रेल हुने आयोजना प्रमुख ध्रुवकुमार झाले बताउनुुभयो ।
कति छ आजका लागि विदेशी मुद्राको विनिमय दर ?
काठमाडौँ, ११ असोजः नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । जसअनुसार आज अमेरिकी डलर एकको खरिददर एक सय ३३ रुपैयाँ ५४ पैसा र बिक्रीदर एक सय ३४ रुपैयाँ १४ पैसा, युरो एकको खरिददर एक सय ४८ रुपैयाँ ९३ पैसा र बिक्रीदर एक सय ४९ रुपैयाँ ६० पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर एक सय ७८ रुपैयाँ ६७ पैसा र बिक्रीदर एक सय ७९ रुपैयाँ ४७ पैसा कायम गरिएको छ ।
केन्द्रीय बैंकका अनुसार स्वीस फ्रयाङ्क एकको खरिददर एक सय ५७ रुपैयाँ ५२ पैसा र बिक्रीदर एक सय ५८ रुपैयाँ २३ पैसा, अस्ट्रेलियन डलर एकको खरिददर ९१ रुपैयाँ ९१ पैसा र बिक्रीदर ९२ रुपैयाँ ३२ पैसा, क्यानेडियन डलर एकको खरिददर ९९ रुपैयाँ २० पैसा र बिक्रीदर ९९ रुपैयाँ ६५ पैसा तोकिएको छ ।
जापानी येन १० को खरिददर नौ रुपैयाँ २५ पैसा र बिक्रीदर नौ रुपैयाँ २९ पैसा, सिङ्गापुर डलर एकको खरिददर एक सय तीन रुपैयाँ ९३ पैसा र बिक्रीदर एक सय चार रुपैयाँ ४० पैसा र चिनियाँ युआन एकको खरिददर १९ रुपैयाँ ०४ पैसा र बिक्रीदर १९ रुपैयाँ १३ पैसा छ ।
साउदी अरेबियन रियाल एकको खरिददर ३५ रुपैयाँ ६० पैसा र बिक्रीदर ३५ रुपैयाँ ७६ पैसा, कतारी रियाल एकको खरिददर ३६ रुपैयाँ ६४ पैसा र बिक्रीदर ३६ रुपैयाँ ८० पैसा कायम छ ।
थाई भाट एकको खरिददर चार रुपैयाँ ११ पैसा र बिक्रीदर चार रुपैयाँ १३ पैसा, युएई दिराम एकको खरिददर ३६ रुपैयाँ ३६ पैसा र बिक्रीदर ३६ रुपैयाँ ५२ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३२ रुपैयाँ २२ पैसा र बिक्रीदर ३२ रुपैयाँ ३६ पैसा रहेको छ ।
साउथ कोरियन वन एक सयको खरिददर १० रुपैयाँ
०७ पैसा र बिक्रीदर १० रुपैयाँ १२ पैसा रहेको छ । स्वीडिस क्रोनर एकको खरिददर १३ रुपैयाँ १८ पैसा र बिक्रीदर १३ रुपैयाँ २४ पैसा, डेनिस क्रोनर एकको खरिददर १९ रुपैयाँ ९७ पैसा र बिक्रीदर २० रुपैयाँ ०६ पैसा छ । हङकङ डलर एकको खरिददर १७ रुपैयाँ १६ पैसा र बिक्रीदर १७ रुपैयाँ २४ पैसा कायम छ ।
आजका लागि कुवेती दिनार एकको खरिददर चार सय ३७ रुपैयाँ ६२ पैसा र बिक्रीदर चार सय ३९ रुपैयाँ ५९ पैसा तथा बहराइन दिनार एकको खरिददर तीन सय ५४ रुपैयाँ २६ पैसा र बिक्रीदर तीन सय ५५ रुपैयाँ ८६ पैसा कायम भएको छ ।
खुला बजारमा विदेशी मुद्राको विनिमयदर फरक हुनसक्ने राष्ट्र बैंकले जनाएको छ ।
सप्तकोसीमा खसेको बसमा सवार १७ जनाको उद्धार
इनरुवा (सुनसरी), १० असोज : कोसी ब्यारेजको ३४–३६ नम्बर ढोकाको बीचबाट सप्तकोसी नदीमा बस खसेको छ ।
बिराटनगरबाट गाईघाट जाँदै गरेको को १ ख ४६०१ नम्बरको बस ब्यारेजबाट सप्तकोसी नदीमा खसेको सुनसरीका प्रहरी नायब उपरीक्षक नवीनकृष्ण भण्डारीले जानकारी दिनुभयो ।
बसमा सबार सबै जनालाई सकुशल उद्धार गरिएको र केही घाइतेलाई उपचारका लागि अस्पताल पठाइएको उहाँले बताउनुभयो ।
सशस्त्र प्रहरीबल सुरक्षा बेस भारदह र प्रस्तावित सीमा सुरक्षा गुल्म हरिपुरबाट प्रहरी नायव उपरीक्षकको नेतृत्वमा उद्धार गरिएको थियो । बसमा १७ यात्री सवार रहेको प्रहरीले जनाएको छ ।
































