‘बाह्रै महिना मेलम्चीको पानी वितरण गर्ने योजना छ’
काठमाडौँ I खानेपानीमन्त्री प्रदीप यादवले उपत्यकामा बाह्रै महिना मेलम्चीको पानी वितरण गर्ने योजना तीव्रगतिमा अगाडि बढिरहेको जानकारी दिनुभएको छ । राष्ट्रियसभाको आजको बैठकमा राष्ट्रियसभा सदस्य मदनकुमारी शाह (गरिमा)ले गर्नुभएको प्रश्नको उत्तर दिँदै उहाँले मेलम्चीको पानी बाह्रै महिना उपत्यकावासीको धारामा ल्याउने गरी काम भइरहेको जानकारी दिनुभयो ।
मन्त्री यादवले राष्ट्रिय खानेपानी, सरसफाइ तथा स्वच्छता नीति, २०८० अनुसार नेपाल सरकारले विक्रम सम्वत् २१०० सम्म सम्पूर्ण नेपाली नागरिकलाई सुरक्षित खानेपानी तथा सरसफाइ सेवा उपलब्ध गराउने लक्ष्य लिएको जानकारी गराउनुभयो । उहाँले मन्त्रालयको अल्पकालीन र मध्यकालीन योजनामा मेलम्चीको पानी काठमाडौँ उपत्यकामा उपलब्ध गराउने योजना प्रमुख रहेको बताउनुभयो ।
“मनसुन सक्रिय हुन छाडेपछि वैकल्पिक पथान्तरण सुरुङको मर्मत सम्पन्न गरी असोज महिनाभित्र मेलम्चीको पानी काठमाडौँ उपत्यकामा उपलब्ध गराइनेछ,” मन्त्री यादवले भन्नुभयो, “मेलम्चीको पानी नियमित आपूर्ति नहुँदा बागमती तथा धाप ड्यामको पानी सुन्दरीजल प्रशोधन केन्द्रमार्फत प्रशोधन गरी आपूर्ति भइरहेको छ ।”
तराई मधेस क्षेत्रमा डिपबोरिङ्गका आयोजना सञ्चालन गरी स्वच्छ खानेपानी सेवा उपलब्ध भइरहेको बताउँदै मन्त्री यादवले यसलाई थप विस्तार गर्दै लगिने जानकारी गराउनुभयो । “अधुरा तथा निर्माणाधीन आयोजना समयमा नै सम्पन्न गरी सेवा उपलब्ध गराइने योजना रहेको छ,” उहाँले भन्नुभयो ।
“खानेपानी तथा सरसफाइ सेवा नागरिकको पहुँचसम्म पु¥याउने सरकारको प्राथमिकता नेपाल संविधानमा तीन तहको सरकारको साझा अधिकारको सूचीमा समावेश गरिएको छ,” सभालाई सम्बोधन गर्नुहुँदै मन्त्री यादवले भन्नुभयो, “हालसम्मको प्रगतिअनुसार, आर्थिक वर्ष २०७९/८० सम्म ९४.९३ प्रतिशत जनसङ्ख्यामा आधारभूत स्तरको खानेपानी सेवा पुर्याइएको छ भने सत प्रतिशत जनसङ्ख्यामा आधारभूतस्तरको सरसफाइ सुविधा उपलब्ध गराइएको छ । यसका साथै, २५.८१ प्रतिशत जनतामा उच्च तथा मध्यमस्तरको खानेपानीमा पहुँच पुर्याइएको छ ।”
उहाँले थप प्रष्ट पार्दै भन्नुभयो, “भक्तपुरको महादेव खोला, ठोस्ने खोला, सिस्नेरी खोलाको पानी वितरणको लागि सम्भाव्यता अध्ययन पूरा भएको छ र यसपछि काठमाडौँ उपत्यकामा थप पानी उपलब्ध गराइनेछ ।” सरकारले पहाडी सुक्खाग्रस्त क्षेत्रमा लिफ्टीङ आयोजना तथा तराई मधेसका जिल्लामा नदीहरूबाट थोक पानी वितरणको लागि सम्भाव्यता अध्ययन गरेर कार्यक्रम कार्यान्वयन गर्ने योजना बनाइरहेको पनि उहाँले बताउनुभयो ।
सरकारले संघ, प्रदेश र स्थानीय तहबीचको समन्वय र सहकार्यमार्फत दीर्घकालीन खानेपानी, सरसफाइ तथा स्वच्छता योजना तयार गरी कार्यान्वयन गर्ने योजना बनाएको बताउँदै मन्त्री यादवले काठमाडौँ उपत्यकामा वर्षातको पानी सङ्कलन र पुनर्भरणको कार्यक्रम प्रभावकारी रूपमा कार्यान्वयन गरिने जानकारी गराउनुभयो ।
श्रमदानमार्फत काठेपुल निर्माण
खोटाङ I विद्यार्थीलाई खोला तरेर विद्यालय जान समस्या भएको भन्दै साकेला गाउँपालिका–३ खिदिमाका स्थानीयले श्रमदानमार्फत काठेपुल निर्माण गरेका छन् । खिदिमास्थित मखमले र तावाभञ्ज्याङका ४२ जना स्थानीयले लगातार चार दिन श्रमदान गरेर बोराखोलामा करिब १२ मिटर लम्बाइको काठेपुल निर्माण गरेका हुन् ।
साविकको बोरा टोलबाट मखमले जोड्ने बोराखोलामा करिब रु दुई लाख ४५ हजार लाग्ने काठेपुल निर्माण गरी आजदेखि सञ्चालनमा ल्याइएको टोल विकास समितिका अध्यक्ष नैनबहादुर खत्रीले जानकारी दिनुभयो ।
बर्सातको समयमा खोलामा आउने बाढीले विद्यार्थी तथा स्थानीयलाई आवतजावतमा हुँदै आएको समस्या समाधानका लागि श्रमदानमार्फत काठेपुल निर्माण गरिएको खिदिमाका वडाध्यक्ष गोविन्द तामाङले बताउनुभयो । “बोरा टोलमा ३५ परिवारको बसोबास छ । यहाँका बालबालिका अध्ययनका लागि मखमलेस्थित जनता आधारभूत विद्यालय जानुपर्ने हुन्छ । बीचमा पर्ने बोराखोलामा आउने बाढी तर्न नसक्दा बर्खायाममा यहाँका बालबालिका विद्यालय जान सक्दैनन्”, उहाँले भन्नुभयो, “बालबालिकाको अध्ययन गर्न पाउने नैसर्गिक अधिकारलाई लक्षित गर्दै श्रमदानमार्फत बोराखोलामा काठेपुल निर्माण गरेर सञ्चालनमा ल्याएका छौँ । श्रमदानमार्फत निर्माण गरिएको काठेपुल सञ्चालनमा आएपछि त्यहाँका विद्यार्थीसँगै स्थानीय बासिन्दालाई बाह्रै महिना आवतजावत गर्न सहज भएको छ ।”
गाउँ तथा टोलमा गर्नुपर्ने सानातिना विकास निर्माणका काममा स्थानीयको सहभागितामा सम्पन्न गर्ने उद्देश्यअनुरूप यहाँ हरेक महिनाको एक दिन अनिवार्य श्रमदान अभियान चलाइएको वडाध्यक्ष तामाङले बताउनुभएको छ । “खिदिमामा सञ्चालित विकासे योजनामा भलबाढीले पुर्याउने क्षतिको मर्मतलगायत सानातिना काम श्रमदानबाटै गर्ने भनेर वडा कार्यपालिकाबाटै निर्णय गरिएको छ”, उहाँले भन्नुभयो, “सबै कामका लागि राज्यले बजेट उपलब्ध गराउने स्थिति छैन । वडाले सञ्चालन गरेको श्रमदान अभियानमा स्थानीय बासिन्दा स्वतःस्फूर्त सहभागी हुने गरेका छन् । यहाँ ‘आफ्नो गाउँ, आफैँले बनाउनुपर्छ’ भन्ने भावनाको विकास भएको छ ।”
श्रमदानमा सहभागी सञ्जिव राईले पुल निर्माणपछि गाउँपालिकाको कार्यालय तथा वडा कार्यालय आवतजावतमा सहज भएको बताउनुभयो । खिदिमामा सञ्चालन गरिएको श्रमदान अभियानमा सहभागी हुने स्थानीय बासिन्दालाई खुवाइने खाजा स्थानीयस्तरमा उत्पादन हुने खाद्य वस्तुमात्र प्रयोग गर्ने गरिएको छ । आयातित सामग्रीलाई प्रतिबन्ध लगाउँदै स्थानीय उत्पादनलाई प्राथिमकता दिन स्थानीय खाद्य वस्तुमात्र प्रयोग गर्ने गरिएको वडाध्यक्ष तामाङले जानकारी दिनुभएको छ ।
सहकारीसम्बन्धी संसदीय छानबिन विशेष समितिको म्याद १५ दिन थपियो
काठमाडौँ, १८ भदौ : सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिको लागि १५ दिन कार्यावधि थप गरिएको छ । प्रतिनिधिसभाको आजको बैठकमा समितिका सभापति सूर्यबहादुर थापाले समितिको कार्यावधि थपसम्बन्धी प्रस्ताव प्रस्तुत गर्नुभएको थियो । सो प्रस्तावलाई सभाले सर्वसम्मतिले पारित गरेको थियो ।
त्यसैगरी प्रतिनिधिसभा, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिका सभापति अम्मरबहादुर थापाले राष्ट्रियसभामा उत्पत्ति भएको ‘नेपाल विश्वविद्यालय विधेयकसम्बन्धी समितिको प्रतिवेदन, २०८१’ पेश गर्नुभएको छ । उहाँले ‘सावर्जनिक सेवा प्रशारण विधेयकसम्बन्धी समितिको प्रतिवेदन, २०८१’ समेत सभा समक्ष पेश गर्नुभएको छ । ‘धितोपत्रसम्बन्धी (पहिलो संशोधन) विधेयक, २०८१ लाई दफावार छलफलको लागि सम्बन्धित समितिमा पठाइयोस्’ भन्ने प्रस्ताव प्रतिनिधिसभाबाट सर्वसम्मतिले स्वीकृत भएको छ ।
‘आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) विधेयक, २०८१ लाई दफावार छलफलको लागि सम्बन्धित समितिमा पठाईयोस्’ भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत भएको छ । सभामुख देवराज घिमिरेले राष्ट्रपतिको कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरणसम्बन्धी पत्रको व्यहोरा प्रतिनिधिसभाका सदस्य समक्ष पढेर सुनाउनुभएको छ । सभाको अर्को बैठक यही भदौ २४ गते दिनको १ बजे बस्ने भएको छ ।
मिस्टर एण्ड मिसको ताज प्रतीक र आकाङ्क्षालाई
धरान, १८ भदौः ड्रिम्स प्रोडक्सन प्रा.लि. द्वारा आयोजित मिस तथा मिस्टर प्रदेश नं १ स्तरीय प्रतिस्पर्धामा सिद्धार्थ शिशु सदन धरानका छात्र प्रतीक राई र छात्रा आकाङ्क्षा शाक्यले जुनियर तर्फ प्रथम पुरस्कार हातपार्न सफल भएकाछन् । त्यसैगरी मिस सिनियर तर्फ भने निवा प्रेमी लिम्बु प्रथम हुन सफल भएका थिए ।
मिस तर्फ १७ र मिस्टरमा ३ जना गरी जम्मा बिस प्रतिस्पर्धी सहभागी भएको उक्त प्रतियोगिता धरान १५ स्थित शदन स्कुलको सभाहलमा भाद्र १५ गते सम्पन्न भएको थियो । मिस्टर एण्ड मिस किड्स प्रदेश स्तरीय कार्यक्रम २०२४ का १५ प्रतिस्पर्धीहरू लाइ पछि पार्दै आकाङ्क्षा शाक्य ले जुनियर तर्फको प्रथम उपाधि हात पार्न सफल भए भने मिस्टर तर्फ २ जना प्रतियोगी लाई पछि पार्दै प्रतीक राईले प्रथम उपाधि हात पारेका थिए ।
मिस बिजेता आकाङ्क्षा शाक्य ले नगद दश हजार र ट्रफी सहित विभिन्न गिफ्ट हात पारेकी थिईन भने मिस्टर तर्फका प्रतीक राइले नगद पाँच हजार र ट्रफिका साथमा अन्य गिफ्ट हातपारेका पारेका थिए ।
उक्त कार्यक्रमबाट मिस्टर एण्ड मिस प्रोभेन्स किड्स २०२४ को जुनियर तर्फ पहिलो पुरस्कार सहित आकाङ्क्षा शाक्यले मिस फोटोजेनिक र पब्लिक च्वाइस पुरस्कार पनि हात पारेकी थिईन । त्यसैगरी मिस्टर तर्फ का प्रतीक राईले पहिलो पुरस्कार सहित मल्टिमिडिया च्वाइस, पब्लिक च्वाइस र मिस्टर ट्यालेन्ट अवार्डहरू प्राप्त गर्न सफल भएका थिए ।
प्रतियोगिता कार्यक्रम विभिन्न चरणहरू सहित एक महिना अगाडीबाट सुरु भएको थियो । कार्यक्रमको महत्व र समय अवधिकाबारेमा आयोजकले जानकारी गराए अनुसार, बालबालिका को मनोविज्ञान वृद्धि सँगै बालबालिका मा रहेका प्रतिभा लाइ प्रस्फुटन गर्न पाउने यस कार्यक्रममा विभिन्न रचनात्मक सृजनात्मक क्रियाकलाप सम्बन्धी एक महिना सम्म आयोजकले तालिम समेत प्रदान गर्छ र चरण बद्धरूपमा विभिन्न प्रकारका व्यक्तित्व विकासका लागि गरिने क्रियाकलापले गर्दा एक महिना अवधि सम्म कार्यक्रम समय लाग्ने जानकारी गराएका थिए ।
राजदूत सिफारिसमा समावेशिता ख्याल गर्न अन्तर्राष्ट्रिय समितिको निर्देशन
काठमाडौँ, १८ भदौः प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिले विभिन्न मुलुकका लागि नेपाली राजदूतको पदमा सिफारिस गर्दा समानुपातिक समावेशी सिद्धान्तलाई ध्यान दिई सिफारिस गर्न सरकारको ध्यानाकर्षण गराएको छ ।
समितिको आज सिंहदरबारमा बसेको बैठकमा राजदूत नियुक्ति सम्बन्धमा परराष्ट्रमन्त्रीसँग छलफल गर्दै समितिले संविधानको व्यवस्था र राजदूत नियुक्ति निर्देशिका–२०७५ को व्यवस्थालाई पालना गर्न सरकारलाई निर्देशन दिएको हो ।
समितिका सभापति राजकिशोर यादवले नेपालको संविधानको प्रस्तावना, धारा ४२ र धारा २८२ को व्यवस्था तथा राजदूत नियुक्तिसम्बन्धी निर्देशिकालाई दृष्टिगत गरी सरकारले राजदूत नियुक्ति समावेशी र पारदर्शी बनाउनुपर्ने बताउनुभयो । समितिले राजदूत नियुक्ति निर्देशिकाबारे पनि परराष्ट्र मन्त्रालयसँग छलफल गर्ने उहाँले बताउनुभयो ।
समितिले परराष्ट्रमन्त्रीसँग हालै सम्पन्न भारत भ्रमण र राजदूत नियुक्ति सम्बन्धमा छलफल गरेको हो । बैठकमा सांसदहरुले राजदूत सिफारिसलाई पारदर्शी र विवादरहित बनाउनुपर्नेमा जोड दिनुभएको थियो । सांसद विमलेन्द्र निधिले परराष्ट्रमन्त्रीको हालैको भारत भ्रमण फलदायी रहेको भन्दै यसबाट दुई देशबीचको आपसी हित र सम्बन्धलाई थप बलियो बनाउने विश्वास व्यक्त गर्नुभयो ।
सांसद रघुवीर महासेठले परराष्ट्रमन्त्रीको भारत भ्रमण सफल रहेको र अन्य मुलुकसँगको कूटनीतिक सम्बन्धलाई पनि समान रुपमा बलियो बनाइनुपर्नेमा जोड दिनुभयो ।
सांसद पशुपतिशमशेर जबराले लामो समयदेखि चर्चामा आएको पञ्चेश्वर आयोजनाको प्रगतिबारे जानकारी गराउन माग गर्नुभयो । सांसद भीमप्रसाद आचार्यले विभिन्न मुलुकमा नियुक्ति भएर जाने राजदूतलाई मुलुक र जनताप्रति जिम्मेवार बनाइनुपर्नेमा जोड दिनुभयो ।
सांसद एकनाथ ढकालले आगामी दिनमा राजदूत नियुक्ति निर्देशिकाअनुरुप राजदूतको सिफारिसलाई व्यवस्थित बनाइनुपर्नेमा जोड दिनुभयो । सांसद शिशिर खनालले राजदूत नियुक्ति प्रक्रिया निर्देशिकाबमोजिम हुनुपर्नेमा जोड दिनुभयो ।
सांसदहरु हितबहादुर तामाङ, प्रभु साह, प्रेम सुवाल, गङ्गाराम चौधरी र सुनिता बरालले परराष्ट्रमन्त्रीस्तरीय भ्रमण उपलब्धीमुलक रहेको तथा भ्रमणमा उठेका विषयको कार्यान्वयनका लागि नेपालले पहल गर्नुपर्ने धारणा राख्नुभयो । साथै उहाँहरुले राजदूत सिफारिस पारदर्शी हुनुपर्नेमा समेत जोड दिनुभयो ।
राष्ट्रपति पुटिनको मङ्गोलियन समकक्षीसँग भेट
उलानबाटर, १८ भदौ : रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले मङ्गलबार उलानबटारमा आफ्ना मङ्गोलियन समकक्षीसँग भेट गर्नुभएको छ ।
गत वर्ष अन्तर्राष्ट्रिय फौजदारी अदालत (आइसिसी) ले राष्ट्रपति पुटिन विरुद्ध गिरफ्तारीको वारेन्ट जारी गरेपछि यसको सदस्य राष्ट्रमा उहाँको यो पहिलो भ्रमण हो।
आइसिसी, कियभ, पश्चिमी राष्ट्रको आह्वान विरुद्ध अवज्ञाको प्रदर्शनको रूपमा हेरिएको पुटिनलाई भ्रमणका क्रममा अघिल्लो रात राजधानीमा आइपुगेपछि सम्मान गार्डले स्वागत गरेका थिए ।
त्यसपछि उहाँले मङ्गोलियाका राष्ट्रपति उखनागिन खुरेलसुखसँग उलानबटारको भव्य चंगेज खान स्क्वायरमा भेट गर्नुभएको हो ।
सन् २०२२ मा रुसी सेनाले देशमा आक्रमण गरेदेखि युक्रेनी बालबालिकालाई अवैध निर्वासन गरेको आरोपमा हेगस्थित आइसिसीले रुसी नेतालाई खोजिरहेको छ ।
अधिकारीहरूले उहाँलाई विमानस्थलमा हिरासतमा नलिएपछि पुटिनको “युद्ध अपराध” का लागि मङ्गोलिया पनि जिम्मेवार रहेको आरोप लगाउँदै युक्रेनले यस यात्रामाथि आक्रोशका साथ प्रतिक्रिया दिएको छ ।
कियभले मङ्गोलियालाई गिरफ्तारी वारेन्ट कार्यान्वयन गर्न आग्रह गरेको थियो । आइसिसीले गत हप्ता अदालतले खोजेको व्यक्तिलाई हिरासतमा राख्ने “दायित्व” सम्पुर्ण सदस्य राष्ट्रहरुको रहेको बताएको थियो ।
विशाल रूस र चीनबिच अवस्थित मङ्गोलियाको मस्कोसँग घनिष्ठ सांस्कृतिक सम्बन्धका साथै बेइजिङसँग महत्वपूर्ण व्यापारिक सम्बन्ध रहेको छ ।
यो सोभियत युगमा मस्कोको अधीनमा रहेको थियो ।
सन् १९९१ मा सोभियत सङ्घको पतन भएदेखि मङ्गोलियाले क्रेमलिन र बेइजिङ दुबैसँग मैत्रीपूर्ण सम्बन्ध राख्न खोजिरहेको छ ।
देशले युक्रेनमा रुसी आक्रमणको निन्दा गरेको छैन साथै संयुक्त राष्ट्रमा द्वन्द्वमा मतदान गर्दा अनुपस्थित रहेको थियो ।
गत हप्ता क्रेमलिनले भ्रमणका क्रममा पुटिनलाई पक्राउ गरिने चिन्ता नभएको जनाएको थियो ।
‘ग्राफ्टिङ’ गरेर नयाँ जातका किबी उत्पादन गर्दै किसान
मङ्गलबारे (इलाम), १८ भदौः जिल्लाको सन्दकपुर गाउँपालिकाका किसानले ग्राफ्टिङ गरेर नयाँ जातका किबी उत्पादन गर्न थालेका छन् । एकपटक रोपिएको बोटलाई ग्राफ्टिङ गरेर किसानले विभिन्न नयाँ जातका किबी उत्पादन गर्न सुरु गरेका हुन् ।
सन्दकपुरका किसान रुद्र खतिवडाले रातो (रेड) सँगै सुनौलो (गोल्डेन) किबी फलाउन थालेको बताउनुभयो । “रेडसँगै अहिले गोल्डेन जातको उत्पादन सुरु भएको छ”, उहाँले भन्नुभयो, “यसलाई जिल्लास्थित कृषि विकास कार्यालयले पनि अहिलेसम्मकै अब्बल जातको किबी भनेको छ ।”
“पहिला दसैँपछि मात्र टिप्न पाइन्थ्यो । केही वर्षअघिदेखि भने वर्षामा पनि खान पाइएको छ”, किसान ठाकुर खतिवडाले भन्नुभयो । नयाँ प्रविधिको प्रयोगगरी खेती गर्दा बेमौसममा पनि उत्पादन लिएर प्रशस्त आम्दानी गर्न सकिने उहाँको बुझाइ छ ।
सुरुमा जुन जातको किबी रोपे पनि पछि विभिन्न प्रजातिको आफैँले निर्माण गर्न सकिने ठाकुरले बताउनुभयो । “सुरुमा रोपिएका हरियो बिरुवालाई ग्राफ्टिङ गरेर रेड, गोल्डेनलगायत नयाँ प्रजातिका रुपमा विकास गर्न सकिन्छ”, उहाँले भन्नुभयो । उहाँका अनुसार यतिबेला यहाँका अधिकांश किसानको बगैँचामा रेड किबी उत्पादन सुरु भएको छ ।
अन्य जातको किबीभन्दा रेडको उत्पादन चाँडो हुने बताउँदै ठाकुरले नेपालीको चाडपर्व अगाडि यो फल पाक्ने भएकाले किसानले उचित मूल्य पाउने उहाँले उल्लेख गर्नुभयो । “यो चिल्लो, बाहिरी भागमा झुस नभएको हुन्छ । बाहिर हरियो भए पनि यसको भित्री भाग रातो हुने भएकाले यसलाई रेड किबी भनिएको हो”, उहाँले भन्नुभयो ।
इलाममा व्यावसायिक रुपमा रेड किबीखेती हुने गरेको कृषि विकास कार्यालय इलामका सूचना अधिकारी एवं कृषि प्रसार अधिकृत जीवनठाडा मगरले बताउनुभयो । “पछिल्लो समय जिल्लाका किसानको किबीप्रति आकर्षण बढ्न थालेको छ । रेड किबी साउन÷भदौमा उत्पादन हुन्छ । अन्य कात्तिक÷मङ्सिरमा मात्र उत्पादन हुने भएकाले चाडपर्वमा किसानले उचित मूल्य पाउँछन्”, उहाँले भन्नुभयो ।
बर्खामा अन्य कृषि उत्पादनबाट आन्दानी कम हुने गरेकामा रेड बिक्रीको उत्पादन हुन थालेपछि यहाँका किसान उत्साहित भएका छन् । रेड किबीबाट प्रशस्त आम्दानी गर्न सकिने किसान ठाकुरले बताउनुभयो । उहाँका अनुसार प्रतिकिलो रु दुई सयदेखि रु तीन सयसम्म पर्दछ ।
अन्य प्रजातिका किबीभन्दा रेड महँगोमा बिक्री हुने भएपछि खेती विस्तार हुँदै गएको कृषि प्रसार अधिकृत मगरले बताउनुभयो । उहाँका अनुसार यो फल पौष्टिक तत्वले भरिपूर्ण हुने भएकाले स्वास्थ्यका लागि पनि फाइदा हुन्छ । जिल्लामा रेडसँगै गोल्डेन किबीको उत्पादन पनि सुरु भएको उहाँको भनाइ छ ।
एक दशकअघिदेखि सन्दकपुर गाउँपालिकाको सुलुबुङलगायत जिल्लाका विभिन्न स्थानमा व्यावसायिक किबीखेती सुरु भएको हो । तत्कालीन समयमा मूल्य नभएको भन्दै किसानले बजारीकरणका लागि सरकारले सहयोग गर्नुपर्ने बताउँदै आएका थिए । किसान ठाकुरले हाल किबीसँगै विकल्पका रुपमा यहाँका किसानले अलैँचीखेती पनि गर्दै आएका बताउनुभयो ।
रेड किबीको सेवनले मधुमेह, मुटुसम्बन्धी, मांसपेसीसम्बन्धी, क्षय, मोटोपना र दम रोग नियन्त्रणका सहयोग पुग्ने चिकित्सक बताउँछन् । सबै उमेर समूह र गर्भवतीका लागि पनि रेड किबी फाइदाजनक हुने कृषि प्रसार अधिकृत मगरले उल्लेख गर्नुभयो । रेड किबीबाट जुस, जाम र अन्य पेयपदार्थ बनाएर सेवन गर्न सकिने उहाँको भनाइ छ ।
बोटमा नै पाक्नसक्ने यो फल टिपेको लामो समयसम्म राख्न मिल्दैन । चाँडोगरी गल्ने र बिग्रिने भएकाले रेड किबी टिपेर तत्काल सेवन गर्नुपर्ने किसान बताउँछन् ।
सन्दकपुर–३ को तालगाउँ, इलाम नगरपालिका, देउमाई नगरपालिका, सूर्योदय नगरपालिकामा किबीखेती बढी हुने गरेको कृषि विकास कार्यालयका सूचना अधिकारी मगरले जानकारी दिनुभयो । सन्दकपुर गाउँपालिकाको पाँच वटा वडा र इलाम नगरपालिका–१, २ र ३ मा किबी जोन कार्यक्रम सञ्चालन गरेर सरकारले खेती प्रवर्द्धनमा जोड दिँदै आएको छ ।
पछिल्लो समय उक्त परियोजनाबाट उल्लेख्य सहयोग नपाएको किसानको भनाइ छ । सुरुमा रु सात सय प्रतिकिलो किनबेच हुने गरेकामा हाल रु एक सयदेखि रु तीन सयसम्ममा कारोबार हुने गरेको किसान खतिवडाले जानकारी दिनुभयो ।
नेपालमा रातो गुदी भएको रेड, हरियो गुदी भएको हेवार्ड, एलिसन, मोन्टी, ब्रुानो, एवोट, मचुवा र टिमोरी जातको किबी उत्पादन भइरहेको कृषि विकास कार्यालयका सूचना अधिकारी मगरले जानकारी दिनुभयो । उहाँका अनुसार पहेँलो गुदी भएको जेस्पिरी र गोल्डसमेत खेती तथा उत्पादन हुने गरेको छ ।
“किबीको बिरुवा हिउँदमा लगाउने गरिन्छ । पात झरेको समयमा पुस र माघमा बिरुवा रोप्ने गरिन्छ । किबी बहुवर्षे फल हो । किबीफल लहरामा फल्ने पत्झर फलफूलअन्तर्गत पर्दछ”, उहाँले भन्नुभयो ।
रेड किबी पाक्न थालेको बताउँदै मगरले अन्य किबी काँचो भएकाले अचारका रुपमा प्रयोग गर्ने गरिएको जानकारी दिनुभयो । उहाँका अनुसार हालसम्म विश्वमा ७६ प्रकारका किबीका प्रजातिको पहिचान भइसकेको छ ।
किबी नेपालको इलामसहित काभ्रेपलाञ्चोक, पाँचथर, सङ्खुवासभालगायत जिल्लामा खेती हुँदै आएको छ । पश्चिमी जिल्लामा पनि इलामबाट बिरुवा लगेर खेती हुन थालेको छ ।
“यसको बिरुवा रोप्दा भाले र पोथी प्रजाति पहिचानगरी सँगसँगै रोप्नुपर्दछ । भाले, पोथीको परागशेचन नभएमा यसको उत्पादन हुँदैन । भमरा, माहुरीलगायतले फूलमा भएको रस चुस्ने क्रममा यसको परागशेचन हुन्छ”, कृषि विकास कार्यालयका सूचना अधिकारी मगरले भन्नुभयो । यसलाई हाँगा (डाँठ) र दिउलबाट थप बिरुवा उत्पादन गर्ने गरिएको भन्दै रोपेको चौथो वर्षदेखि आम्दानी लिन सकिने उहाँले जानकारी दिनुभयो ।
पहाडी भू–भागमा यसको उत्पादन राम्रो हुन्छ । समुन्द्री सहतबाट एक हजार दुई सय मिटरदेखि माथि दुुई हजार चार सय मिटरसम्मको उचाइमा किबीखेती गर्न सकिने कृषि विकास कार्यालय इलामले जनाएको छ ।
जिल्लामा कूल सात सय ८० हेक्टरमा किबीखेती हुने गरेको कृषि प्रसार अधिकृत मगरले जानकारी दिनुभयो । उहाँका अनुसार जिल्लामा अघिल्लो वर्ष दुई हजार आठ सय ५२ मेट्रिकटन उत्पादन भएको थियो ।
आजको विनिमय दरः अमेरिकी डलर, युरो र पाउन्डको भाउ बढ्यो
काठमाडौँ, १८ भदौः सोमबारको तुलनामा आज अमेरिकी डलर र युरोको भाउ बढेको छ । नेपाल राष्ट्र बैंकले तय गरेको आजको विदेशी मुद्रा विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर एक सय ३३ रुपैयाँ ९८ पैसा र बिक्रीदर एक सय ३४ रुपैयाँ ५८ पैसा रहेको छ । सोमबार अमेरिकी डलर एकको खरिददर एक सय ३३ रुपैयाँ ८९ पैसा र बिक्रीदर एक सय ३४ रुपैयाँ ४९ पैसा रहेको थियो ।
हिजोको तुलनामा आज नेपाली बजारमा युरोको भाउ पनि बढेको छ । सोमबार एक युरोको खरिददर एक सय ४७ रुपैयाँ ९१ पैसा र बिक्रीदर एक सय ४८ रुपैयाँ ५८ पैसा रहेको थियो भने आज एक युरोको खरिददर एक सय ४८ रुपैयाँ २६ पैसा र बिक्रीदर एक सय ४८ रुपैयाँ ९२ पैसा कामय भएको छ ।
आजको विदेशी मुद्रा विनिमयदरअनुसार पाउण्ड स्टर्लिङ भाउ पनि बढेको छ । यस मुद्राको एकको खरिददर एक सय ७५ रुपैयाँ ९८ पैसा कायम भएको छ भने बिक्रीदर एक सय ७६ रुपैयाँ ७६ पैसा कायम भएको छ । सोमबार यस मुद्राको एकको खरिददर एक सय ७५ रुपैयाँ ८० पैसा र बिक्रीदर एक सय ७६ रुपैयाँ ५९ पैसा रहेको थियो ।
त्यस्तै, आज स्वीस फ्रयाङ्क एकको खरिददर एक रुपैयाँ ५७ रुपैयाँ ५२ पैसा र बिक्रीदर एक सय ५८ रुपैयाँ २३ पैसा कायम भएको छ । त्यसैगरी अस्ट्रेलियन डलर एकको खरिददर ९० रुपैयाँ ७६ पैसा र बिक्रीदर ९१ रुपैयाँ १७ पैसा रहेको छ । क्यानेडियन डलर एकको खरिददर ९९ रुपैयाँ २६ पैसा रहेको छ भने बिक्रीदर ९९ रुपैयाँ ७१ पैसा कायम भएको छ । त्यसैगरी, सिङ्गापुर डलर एकको खरिददर एक सय दुई रुपैयाँ ४७ पैसा र बिक्रीदर एक सय दुई रुपैयाँ ९३ पैसा कायम भएको छ ।
जापानी येन १० को खरिददर नौ रुपैयाँ १३ पैसा र बिक्रीदर नौ रुपैयाँ १७ पैसा रहेको छ । चिनियाँ युआन एकको खरिददर १८ रुपैयाँ ८४ पैसा र बिक्रीदर १८ रुपैयाँ ९२ पैसा कायम भएको छ ।
राष्ट्र बैंकका अनुसार साउदी अरेबियन रियाल एकको खरिददर ३५ रुपैयाँ ७० पैसा र बिक्रीदर ३५ रुपैयाँ ८६ पैसा तोकिएको छ । त्यस्तै, कतारी रियाल एकको खरिददर ३६ रुपैयाँ ७६ पैसा र बिक्रीदर ३६ रुपैयाँ ९२ पैसा रहेको छ । आजको विनिमयदरअनुसार थाई भाट एकको खरिददर तीन रुपैयाँ ९२ पैसा र बिक्रीदर तीन रुपैयाँ ९३ पैसा रहेको छ भने युएई दिराम एकको खरिददर ३६ रुपैयाँ ४८ पैसा र बिक्रीदर ३६ रुपैयाँ ६४ पैसा रहेको छ ।
मलेसियन रिङ्गेट एकको खरिददर ३० रुपैयाँ ७६ पैसा र बिक्रीदर ३० रुपैयाँ ९० पैसा रहेको छ । साउथ कोरियन वन एक सयको खरिददर १० रुपैयाँ र बिक्रीदर १० रुपैयाँ पाँच पैसा कायम भएको छ । स्वीडिस क्रोनर एकको खरिददर १३ रुपैयाँ छ पैसा र बिक्रीदर १३ रुपैयाँ १२ पैसा रहेको छ । त्यस्तै डेनिस क्रोनर एकको खरिददर १९ रुपैयाँ ८८ पैसा र बिक्रीदर १९ रुपैयाँ ९७ पैसा रहेको छ ।
आज हङ्कङ डलर एकको खरिददर १७ रुपैयाँ १८ पैसा र बिक्रीदर १७ रुपैयाँ २६ पैसा रहेको छ । कुवेती दिनार एकको खरिददर चार सय ३८ रुपैयाँ ४२ पैसा र बिक्रीदर चार सय ४० रुपैयाँ ३८ पैसा रहेको छ । त्यस्तै, बहराइन दिनार एकको खरिददर तीन सय ५५ रुपैयाँ ४५ पैसा र बिक्रीदर तीन सय ५७ रुपैयाँ चार पैसा रहेको छ ।
राष्ट्र बैंकले तय गरेको विदेशी विनियमदर खुला बजारमा भने फरक पर्नसक्नेछ ।
बाढीका कारण बस्ती जोखिममा
धरान (सुनसरी), १८ भदौः भारी वर्षाका कारण खहरे खोलामा आएको बाढीले लगातार खोला कटान गर्न थालेपछि धरान उपमहानगरपालिका–१३ खहरे खोला नजिकका बस्ती उच्च जोखिममा परेका छन् ।
धरान–१३ की राधिका लिम्बू घरभित्र पानी पसेपछि घर सफा गर्न दुई दिन लागेको बताउनुभयो । उहाँले भन्नुभयो, “पानी पर्न थालेपछि राति घरमा सुत्न सकिँदैन कतिबेला बाढी आएर बगाउँछ भन्ने डरले जाग्राम बस्नुपर्छ । कहिलेकाहीँ आफन्तकामा राति बास बस्न जाने गरेका छौँ ।”
“खहरे खोलामा बाढी आएपछि ज्यान जोगाउन नै सास्ती हुने लिम्बूले बताउनुभयो । “घर होचो छ, खहरे खोला माथिबाट आउनसाथ सिधैँ घरभित्र छिर्छ, एकदमै त्रासमा रात बिताउने गरेका छौँ”, उहाँले भन्नुभयो । खहरे खोलामा बस्तीमाथिबाट लगातार बाढी आउने गरेपछि यहाँका स्थानीय रातभर सुत्न नसकेर जाग्राम बस्नुपरेको बस्तीका बासिन्दा बताउँछन् ।
सोही स्थानकी कमला राईले भन्नुभयो, “घरमा बस्न नसकिने अवस्था भएर केही दिनदेखि बेलुका अर्काको घरमा जाने गरेका छौँ । पानी पर्न सुरु भएपछि घर छोडेर सुरक्षित ठाउँ खोज्दै जानुपर्ने अवस्था छ ।”
स्थानीय कौशिला श्रेष्ठले खोला नजिकै घर भएकाले उच्च जोखिममा रहेको बताउनुभयो । “घरमा केटाकेटी, बूढाबूढी बाबाआमा हुनुुहुन्छ । बेलुका बाढी आइहाले कहाँ जाने भन्ने चिन्ताले रातभर निन्द्रा नलागेर जाग्राम बस्नु परेको छ”, उहाँले भन्नुभयो ।
खहरे खोलामा आउने पानीको भर नहुने भन्दै कुनबेला कस्तो वितण्ड मच्चाउँछ थाहै नहुने धरान–१३ का स्थानीय लाक्पा शेर्पाले बताउनुभयो । उहाँले भन्नुभयो, “स्थानीय सरकारले आधुनिक प्रविध र दक्ष प्राविधिक लगाएर खहरे खोलामा आउने बाढीको दीर्घकालीन समाधानका लागि पहल गर्नुपर्छ । स्थानीय कतिदिनसम्म यसरी त्रासमा रातभर जाग्राम बस्ने ?”
आज दिउँसोको वर्षासँगै आएको बाढीले एउटा घरमा आशिंक क्षति भएसँगै परिवारलाई आफन्त कहाँ सर्न आग्रह गरिसकिएको धरान–१३ का वडाध्यक्ष नेत्र काफ्लेले बताउनुभयो । उहाँले भन्नुभयो, “खहरे खोलामा आएको बाढीले कही बिजुलीका खम्बामा क्षति हुने सम्भावना छ, तत्काल खोला नियन्त्रण गर्न सकिएकाले अहिलेसम्म क्षति हुन पाएको छैन ।”
धरान–१३ का सात घरमा क्षति भएको छ भने करिब १० घर बढीको उच्च जोखिममा परेका वडाध्यक्ष काफ्लेले जानकारी दिनुभयो । “खहरेमा आएको बाढीले पूरै खोला कटान गर्न सुरु भएपछि स्थानीय सरकार, नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीले ग्याबिन लाउने काम सुरु गरिसकेका छौँ”, उहाँले भन्नुभयो, “खोला आउँदा कटान गर्दै लाने भएपछि तत्कालै जेसिभी ल्याएर बस्ती जोगाउने काम भएको छ ।”
यही भदौ १३ गते र १७ गते दिउँसो आएको वर्षाका कारण करिब तीन करोडभन्दा बढीको क्षति भएको अनुमान गरिएको वडाध्यक्ष काफ्लेले बताउनुभयो । क्षतिको यकिन विवरण सङ्कलन गरिने बताउँदै उहाँले तत्काल समस्या समाधान गर्न ग्याबिन जाली लगाउने काम भइरहेको जानकारी दिनुभयो ।
पिताको महत्त्व झल्काउने लघु चलचित्र ‘मेरो बा’
काठमाडौँ, १७ भदौ : कुशे औंशीको अवसर पारेर पिताको महत्त्व झल्काउने लघु चलचित्र ‘मेरो बा’ सार्वजनिक भएको छ । रमेश थापाको लेखन तथा निर्देशन रहेको यो लघु चलचित्र म्युजिक नेपालको युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो ।
सो लघु चलचित्रमा प्रभाकर न्यौपाने, विकास जोशी, अनुजा अधिकारी, मेघराज पौडेल, श्याम मगर, टेकबहादुर घले, दिपेन्द्र थापा, खगेन्द्र धामी, प्रान्जिल सापकोटाका अलावा बाल कलाकार रियांशी थापा र सन्तोष बटालाको अभिनय रहेको छ ।
सङ्कल्प भुजेलको छाँयाङ्कन रहेको यो लघु चलचित्रमा बालकृष्ण श्रेष्ठ र बिक्रम चिमौरियाको सम्पादन, सोम जिसीको मुख्य सहायक निर्देशन रहेको छ ।
तीजमा दर खाने चलनको बढ्दो विकृती, बाबुलाई छोराबुहारीले गर्नुपर्ने माया र सम्मानको कमीबाट उत्पन्न हुने कठिनाई यो लघु चलचित्रमा देखाइएको छ । आधुनिकताका नाममा अनपढ बाबु आमालाई त्यसपछिको पुस्ताले गर्ने व्यवहार राम्रो नभइरहेको अवस्थामा त्यसैको प्रतिनिधि कथामा लघु चलचित्र तयार गरिएको निर्देशक थापाले बताउनुभयो ।
चन्द्र विनायक फिल्म्सको ब्यानरमा निर्माण गरिएको यो लघुचित्रकी निर्मात्री दिपा मल्ल थापा हुनुहुन्छ ।






















