काठमाडौँ महानगरपालिकाद्वारा पलेशालाई नगद पाँच लाखसहित सम्मान
काठमाडौँ, १९ भदौ : काठमाडौँ महानगरपालिकाले पेरिस पारा ओलम्पिक, २०२४ मा कास्य पदक प्राप्त गर्ने पारा तेक्वान्दो खेलाडी पलेशा गोवर्धनलाई रु पाँच लाख नगदसहित सम्मान गरेको छ । पारा ओलम्पिक
महानगरपालिका कार्यालय काठमाडौँ प्लाजामा आज आयोजना गरिएको कार्यक्रममा महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन)ले सम्मानपत्र तथा उपप्रमुख सुनिता डङ्गोलले पलेशालाई रु पाँच लाखको चेक हस्तान्तरण गर्नुभयो ।
सम्मान कार्यक्रममा महानगरपालिकाका प्रवक्ता नवीन मानन्धर, सामाजिक समितिका संयोजक रामकुमार केसी, तेक्वान्दो एशोसिएशनका अध्यक्ष प्रकाश शमशेर राणा, ओलम्पियन सङ्गीना वैद्य, पलेशाका मातापिता पनिता र प्रदीप गोवर्धनसहित खेल क्षेत्रका पदाधिकारी तथा खेलाडी सहभागी हुनुहुन्थ्यो ।
पलेशाले गत शुक्रबार फ्रान्सको पेरिसमा भएको पारा ओलम्पिकमा ‘के–४४’ विधा अन्तर्गत महिला ५७ किलो मुनिको तौल समूहमा कास्य पदक प्राप्त गरेकी थिइन् । उनले उक्त प्रतिस्पर्धामा सर्वियाकी मरिजा मिकेभलाई १५–८ अङ्कले पराजित गरेकी थिइन् । ओलम्पिकमा नेपाली खेलाडीले प्राप्त गरेको यो नै पहिलो पदक हो ।
युक्रेनका विदेशमन्त्री कुलेबाद्वारा राजीनामा
किएभ, १९ भदौ : युक्रेनका विदेशमन्त्री दिमित्रो कुलेबाले बुधबार पदबाट राजीनामा दिनुभएको छ । राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले गत साता चाँडै नै मन्त्रिपरिषद् पुनरगठन गर्ने घोषणा गर्नुभएपछि उहाँको राजीनामा आएको हो ।
कुलेबाको राजीनामाको अनुरोधलाई अर्को पूर्ण बैठकमा सांसद्हरूले छलफल गर्ने संसद्का सभामुख रुस्लान स्टेफनचुकले आफ्नो फेसबुक पेजमा बताउनुभएको छ ।
ल्भिभमा रातभर भएको आक्रमणमा कम्तीमा सात जनाको मृत्यु र ३५ जना घाइते भएका बेला विदेशमन्त्रीको राजीनामा आएको सहरका मेयर एन्ड्री सदोवीले बुधबार बिहान बताउनुभयो । उहाँले मृत्यु हुनेमा एक बालक र एक चिकित्साकर्मी रहेको र घाइतेहरूको अवस्था चिन्ताजनक रहेको जानकारी दिनुभयो ।
उक्त आक्रमण दुई ब्लालेस्टिक क्षेप्यास्त्रद्वारा युक्रेनको पोल्टावामा एउटा सैन्य एकेडेमी र नजिकैको अस्पतालमा आक्रमण भएको एक दिनपछि भएको हो । पोल्टावामा भएको आक्रमणमा ५० भन्दा बढीको मृत्यु र दुई सयभन्दा धेरै घाइते भएका थिए । युक्रेनी अधिकारीहरूले युद्ध सुरु भएपछिको यो सबैभन्दा घातक रुसी आक्रमणमध्येको एक भएको बताएका छन् ।
पोल्टावा मिलिट्री इन्स्टिच्युट अफ कम्युनिकेसनको मुख्य भवनमा क्षेप्यास्त्रहरू प्रहार हुँदा भवनका धेरै तला क्षतिग्रस्त भएका थिए ।
धेरै मानिस बम आश्रय स्थलतर्फ जाँदै गर्दा हवाई आक्रमणको चेतावनी जारी भएलगत्तै क्षेप्यास्त्रहरू प्रहार भएका थिए । युक्रेनको रक्षा मन्त्रालयले आक्रमणलाई ‘बर्बरतापूर्ण’ भनेको छ ।
पोल्टावा किएभबाट करिब तीन सय ५० किलोमिटर दक्षिणपूर्वमा रहेको छ । रुसको सीमा नजिकै रहेको यो सहर किएभ र युक्रेनको दोस्रो सबैभन्दा ठूलो सहर खार्किभ बीचको मुख्य राजमार्ग र रेलमार्गमा छ ।
यो आक्रमण अगस्ट ६ मा रुसको कुर्स्क क्षेत्रमा युक्रेनी सेनाको घुसपैठको केही सातापछि भएको हो । युक्रेनी सेना रुसको कुर्स्क सीमा क्षेत्रमा आफ्नो पकड बनाउन कोसिस गरिरहेको छ र रुसी सेनाले पुर्वी युक्रेनमा गहिराइसम्म आफ्नो मार्ग बनाएको छ ।
अन्टार्क्टिका पुग्ने पहिलो नेपालीलाई गृह जिल्लामा सम्मान
गलकोट (बागलुङ), १९ भदौ: अन्टार्क्टिका पुग्ने पहिलो नेपाली भुवनसिंह विश्वकर्मालाई गृह जिल्ला बागलुङमा सम्मान गरिएको छ । अन्टार्क्टिकामा पहिलो टेक्ने नेपाली विश्वकर्मालाई बागलुङ नगरपालिकाले रु २५ हजारसहित प्रशंसापत्र र दोसल्ला ओढाएर सम्मान गरेको हो ।
रु नौ करोड लागतमा निर्माण गरिएको आधुनिक बागलुङ बसपार्क उद्घाटन कार्यक्रममा गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेद्वारा विश्वकर्मालाई सम्मान गरिएको नगरप्रमुख वसन्तकुमार श्रेष्ठले बताउनुभयो ।
बागलुङ–१४ नारायणस्थानमा जन्मनुभएका विश्वकर्मा सन् १९८६ मा पृथ्वीको दक्षिणी ध्रुव अन्टार्क्टिका महादेशमा पुग्ने पहिलो नेपाली हुनुहुन्छ । उहाँ भारतीय सेनामा कार्यरत हुँदा भारतीय सेनाको अनुसन्धान टोलीका साथ प्राविधिकको रुपमा त्यहाँ पुग्नुभएको थियो ।
प्रसिद्ध प्रबल गोर्खा दक्षिण बाहु दोस्रोबाट सम्मानित र गिनिजबुकमा नाम लेखाउन सफल विश्वकर्माले बागलुङ नगरपालिकाको नाम चिनाउनुभएको नगरपालिकाले जनाएको छ । “बागलुङमा जन्मेर अन्टार्क्टिकामा पुग्ने पहिलो नेपालीका रुपमा देशभर परिचय बनाइसक्दा उहाँको गृह नगरपालिकाले सम्मान गर्न आवश्यक थियो”, नगरप्रमुख श्रेष्ठले भन्नुभयो, “बागलुङ जिल्लाको नाम चिनाउन उहाँको महत्वपूर्ण योगदान छ ।”
विश्वकर्मा हाल बुटवल उपमहानगरपालिका–११ मा बस्दै आउनुभएको छ । उहाँका नाममा बुटवल उपहानगरपालिकाले ‘भुुवनसिंह मार्ग’ भनेर सडकको नामाकरण गरेको छ । सम्मान ग्रहणपछि विश्वकर्माले प्रबल गोर्खा दक्षिण बाहु दोस्रोबाट सम्मानित हुँदाभन्दा गृह पालिकाले सम्मान गर्दा धेरै उत्साहित भएको बताउनुभयो । उहाँले गृह नगरले सम्झेर गरेको सम्मानप्रति आफू सदैव कृतज्ञ रहने उल्लेख गर्नुभयो । “नेपालका विभिन्न जिल्लामा सम्मान भइसक्दा बागलुङले सम्झेन भन्ने लाग्दथ्यो, बागलुङ नगरपालिकाले भव्य कार्यक्रमकाबीच सम्मान गरेको छ, जन्मगाउँमा केही गर्नका लागि बागलुङ नगरपालिकासँग सहकार्य गर्नेछु”, विश्वकर्माले भन्नुभयो ।
बागलुङको लेकमा उत्पादित कपडा विदेश निर्यात
ढोरपाटन (बागलुङ), १९ भदौ : बागलुङको निसी, भूजी र तमान क्षेत्रका अधिकांश स्थानीय पुस्तौँदेखि पशुपालनमा आवद्ध छन् । उच्च पहाडी क्षेत्र भएकाले भेडापालनमा यहाँका किसान सक्रिय छन् । भेडाबाट मासुसँगै ऊनको कपडासमेत बिक्री हुँदा किसान उत्साहित हुँदै आएका हुन् ।
दशक अगाडिसम्म भेडाको ऊनबाट बनेका कपडा गोठालाले बढी प्रयोग गर्ने गरेकामा अहिले विदेशमा पुग्ने गरेको छ । विदेशबाट माग बढ्न थालेपछि भेडापालक किसान उत्साहित बनेका छन् । भेडाको ऊनबाट बन्ने काम्लो, बख्खु, घुमलगायत कपडाले घाम पानी छेक्ने, वर्षौँ टिक्ने र न्यानो हुने भएकाले माग बढेको किसान बताउँछन् ।
यहाँका अधिकांश स्थानीयले सयौँको सङ्ख्यामा भेडापालन गर्छन् । काम्लो, बख्खु, घुमलाई गोठालाको कपडा भन्ने गरिन्छ । एउटै परिवारले पाँच सयदेखि एक हजार पाँच सयसम्म भेडाबाख्रा पाल्ने गरेका ढोरपाटन नगरपालिका–९ का बिर्खबहादुर पुनले बताउनुभयो । “भेडाबाख्राको सङ्ख्या बढी भएकाले ऊन प्रशस्त उत्पादन हुन्छ । मासु र ऊनका कपडाबाट भेडापालक किसानले राम्रो आम्दानीसमेत गर्दै आएका छन्”, उहाँले भन्नुभयो ।
मासु स्थानीयस्तरमा बिक्री हुने गरेको भन्दै त्यसबाट बन्ने कपडा देशविदेशमा निर्यात हुने गरेको पुनले जानकारी दिनुभयो । ऊनबाट बन्ने कपडाको माग नेपाली बजारमाभन्दा विदेशमा बढी हुने गरेको उहाँको भनाइ छ ।
पहिले–पहिले गोठालाले लगाउने ऊनका कपडा अहिले विदेश निर्यात हुँदा अचम्म लाग्ने पुनले बताउनुभयो । एक दशक अगाडि काम्लो, बख्खु, घुम लगाउने मान्छेलाई लेकाली र गोठालाको सङ्ज्ञा दिने गरिएकामा अहिले विदेशमा बस्नेको रोजाइमा यी कपडा पर्न थालेको उहाँले जानकारी दिनुभयो ।
पुनले एउटा काम्लो, हापदुला बुन्न समय बढी लाग्ने भन्दै ती सामान विदेश पठाउँदा आम्दानी पनि प्रशस्त हुने बताउनुभयो । एउटा ऊनको कपडाको मूल्य न्यूनतम रु १५ हजारदेखि रु ६० हजारसम्म पर्ने उहाँले जानकारी दिनुभयो ।
आफूहरुले लेकमा उत्पादन गर्ने काम्लो, बख्खु, घुम जापान, कोरिया, अमेरिका, अष्ट्रेलिया, बेलायतलगायत देशमा निर्यात हुने गरेको पुनले बताउनुभयो ।
“हामीहरुले घुम, काम्लो ओड्दा भेडाको ऊनको कपडा लगाउने मान्छे भनेर हेपेर गोठाले भन्थे । अहिले धेरैले ऊनको कपडा चाहियो भन्नुहुन्छ, खुसी लाग्छ । गाउँघरसँगै विदेशबाट बढी माग गर्नुहुन्छ” उहाँले भन्नुभयो, “भेडा पालेर पहिले मासु बेच्थ्यौँ । अहिले त्यसको रौँबाट बनेका कपडा बेच्न थालेका छौँ । नयाँ प्रविधिको प्रयोग गरी कपडा बुन्दा सहज हुन्थ्यो होला, हामीसँग प्रविधि नहुँदा पुरानै सीपको प्रयोगबाट कपडा बनाउने गरेका छौँ ।”
निसीखोला गाउँपालिका–६ का वीरमानबुढा मगरले आफूहरु सानो हुँदा चप्पल, सिरक, डसना र अन्य कपडा पाउन मुस्किल हुने गरेको स्मरण गर्दै उतिबेला ऊनबाट बनेका कपडा प्रयोग गर्ने गरेको बताउनुभयो । पछिल्लो समय भेडा पाल्ने किसान घट्दै गएको भन्दै ऊनको कपडाको माग भने बढ्दै गएको उहाँको भनाइ छ ।
मगरले चार पुस्तादेखि भेडा पाल्दै आएको सुनाउँदै आफूपछिको पुस्ताले चासो नदिएको गुनासो पोख्नुभयो । उहाँले भन्नुभयो, “पुस्ताले परम्परागत सीप सिक्न मान्दैनन्, हाम्रो पालामा कपडाको अभाव थियो, अभावले ऊनको कपडा बनाएर लगाउन सिकायो । अहिले बजारमा आधुनिक कपडा पाउँछ, त्यही भएर युवापुस्ता सीप सिक्न चाहदैनन् । अहिले यहाँबाट विदेश गएकाले फोन गरेर मलाई काम्लो, हापदुला चाहियो पठाइदिनुस् भन्छन् ।”
तमानखोला गाउँपालिकाका अध्यक्ष जोकलालबुढा मगरले ऊनका कपडा बनाउनका लागि किसानलाई आधुनिक प्रविधिसँग जोड्ने योजना बनाइएको बताउनुभयो । तमानखोलाका अधिकांश किसानले भेडापालन गर्दै आएको भन्दै किसानलाई आधुनिक उपकरणसहित आधसनिक सीप सिकाउने योजनामा पालिका रहेको उहाँले जानकारी दिनुभयो ।
किसानलाई भेडापालनतर्फ आकर्षित गर्ने र आयआर्जनसँग जोड्ने गरी योजनाबद्ध रुपमा काम गरिरहेको अध्यक्ष बुढा मगर बताउनुभयो ।
प्रधानमन्त्रीद्वारा एसियाली निर्वाचन व्यवस्थापन निकायको सम्मेलन उद्घाटन
काठमाडौँ, १९ भदौ : प्रधानमन्त्री केपी शर्मा ओलीले दक्षिण एसियाली निर्वाचन व्यवस्थापन निकायसम्बन्धी मञ्च (फेम्बोसा) को १२औँ सम्मेलनको आज उद्घाटन गर्नुभएको छ । उद्घाटन सत्रलाई सम्बोधन गर्दै उहाँले हरेक निर्वाचनले जनताको इच्छा र आकाङ्क्षालाई प्रतिबिम्बन गर्ने भएकाले मताधिकारको सम्मान गर्नु हरेक राज्यको दायित्व भएको बताउनुभयो ।
“कुनै पनि नागरिकले जहाँ रहेर पनि आफ्नो मताधिकार प्रयोग गर्न सक्नुपर्छ । यसका लागि उचित वातावरण बनाउन हाम्रो प्रयास हुनेछ”, प्रधानमन्त्री ओलीले भन्नुभयो, “बसाइँसराइ, जलवायु परिवर्तन तथा सामाजिक सञ्जालका अवसर र चुनौतीबीच देश—विदेशमा रहेका जनताका चाहना र अपेक्षाबमोजम निर्वाचन प्रक्रियालाई सहज बनाउन हामीले साझा प्रयास गर्न आवश्यक छ ।”
हिमाल पग्लिने, समुद्रको तापक्रम बढेर जलवायु परिवर्तनमा पार्ने प्रतिकूल असरका क्रमसँगै मानव जीवनमा आउने चुनौतीबीच लोकतन्त्रको अभिन्न अङ्गका रुपमा रहेको निर्वाचन प्रक्रियालाई अगाडि बढाउनु साझा दायित्व भएको प्रधानमन्त्री ओलीको भनाइ थियो । सामाजिक सञ्जालले मतदाताको अधिकारलाई सुसूचित गर्न सघाउनुका साथै मिथ्या सूचना, गलत सूचना र घृणास्पद अभिव्यक्ति प्रवाह पनि गरिरहेको सन्दर्भमा विगतका निर्वाचन व्यवस्थापनका कमजोरीबाट सिक्दै लोकतान्त्रिक मूल्य, मान्यताका साथ स्वच्छ, स्वतन्त्र, जवाफदेही र पारदर्शी निर्वाचनको दायित्व पूरा गर्न सके आम जनताको मताधिकारको सम्मान हुने उहाँले उल्लेख गर्नुभयो ।
फेम्बोसा वडापत्रलाई यस सम्मेलनले थप प्रभावकारी कार्यान्वयनमा सघाउने प्रधानमन्त्री ओलीको विश्वास थियो । सम्मेलनमा ‘निर्वाचनका जल्दाबल्दा मुद्दा ः जलवायु परिवर्तन, सामाजिक सञ्जाल र बसाइँसराइ’ केन्द्रित भई छलफल हुनेछ ।
उद्घाटनसत्रका अवसरमा उक्त मञ्चका अध्यक्ष भूटानको निर्वाचन आयोगका प्रमुख आयुक्त दासो सोनाम तोब्गेले नेपालको निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेशकुमार थपलियालाई नेतृत्व हस्तान्तरण गर्नुभयो । सम्मेलनमा नेपालका साथै भारत, भूटान, श्रीलङ्का, माल्दिभ्सलगायत मुलुकका प्रमुख निर्वाचन आयुक्त र प्रतिनिधि सहभागी हुनुहुन्छ । फेम्बोसाको ११औँ सम्मेलन दुई वर्षअघि भूटानको नेतृत्वमा भर्चुअलरुपमा भएको थियो ।
ऊन बिक्री नहुँदा भेडापालक किसान चिन्तामा
भोजपुर, १९ भदौः व्यावसायिक भेडापालनमा लागेका भोजपुरका किसान ऊन बिक्री नभएपछि चिन्तामा परेका छन् । किसानको राम्रो आम्दानीको स्रोतका रूपमा रहेको ऊन बिक्री नभएपछि उनीहरू चिन्तामा परेका हुन् ।
गाउँघरमा परम्परगत रूपमा गरिँदै आएको राडीपाखी बुन्ने पेशा लोप हुन थालेपछि उत्पादन भएको ऊन बिक्री हुन छाडेको टेम्केमैयुङ–२ का भेडापालक किसान गोविन्द कठेतले जानकारी दिनुभयो । मैयुङ क्षेत्रका भेडापालक किसानसँग रहेको गत वर्षकै करिब एक सय धार्नी ऊन बिक्री नभएको उहाँको भनाइ छ ।
“पछिल्लो समय भेडाको ऊन बिक्री हुन छाडेको छ”, किसान कठेतले भन्नुभयो, “गाउँघरमा राडीपाखी बुन्ने चलन हराउँदै गएसँगै ऊन बिक्री हुन छाडेको छ । ऊन नै बिक्री हुन छाडेपछि चिन्ता थपिएको छ ।”
विगतका वर्षहरूमा ऊन गोठबाट नै प्रतिधार्नी रु सात सयमा बिक्री हुने गरेको थियो । अहिले छिमेकी जिल्ला खोटाङ पुर्याएमा मुस्किलले प्रतिकेजी रु एक सय ५० मा बिक्री हुने उहाँको भनाइ छ । ढुवानीलगायत कारण यसरी बिक्री गरिएको ऊनबाट किसानलाई लाभ नहुने उहाँले जानकारी दिनुभयो । त्यहाँसम्म पुर्याउन नै समस्या रहेको कठेतले बताउनुभयो । उत्पादित ऊन बिक्री नहुँदा कुहिएर जाने अवस्था आएको छ ।
ऊनबाट बनेको राडीपाखी लुकुनीलगायत बजारमा राम्रो माग भए पनि उत्पादनमा समस्या रहेको उहाँले बताउनुभयो । राडीपाखी बुन्ने काम नयाँ पुस्ताको रोजाइमा नपर्दा कच्चा पदार्थका रूपमा रहेको ऊन नै बिक्री हुन नसकेको उहाँको भनाइ छ ।
किसान कठेतले विगत १५ वर्षअघिबाट व्यावसायिक रूपमा भेडापालन व्यवसाय गर्दै आएको बताउनुभयो । भेडालाई वर्षमा दुईपटक मुन्डन गरिने उहाँको भनाइ छ । आफूसँग रहेका ५० वटा भेडालाई मुन्डन गर्दा एकपटकमा सात धार्नीसम्म ऊन उत्पादन हुने उहाँको भनाइ छ । गत वर्षको ऊन नै बिक्री नभएको कठेतले बताउनुभयो । ऊनालु चारवटा भेडाको एक धार्नी ऊन उत्पादन हुने उहाँको भनाइ छ ।
हाल मैयुङ क्षेत्रमा भोजपुर र खोटाङ गरी २० वटा भेडीगोठ रहेको उहाँले जानकारी दिनुभयो । एक भेडीगोठमा न्यूनतम एक सयदेखि अधिकतम पाँच सय वटासम्म भेडा रहेको उहाँले जानकारी दिनुभयो । यहाँको मैयुङ, छिमालुङ, गिद्धे, मेरुङलगायत स्थानमा भेडापालन हुने गरेको छ ।
भेडापालक किसानको राम्रो आम्दानीको स्रोतका रूपमा रहेको ऊन बिक्री हुन छाडेपछि समस्या थपिएको किसान शेरबहादुर कठेतले बताउनुभयो । सामुदायिक वनमा चरिचरनको लागि शुल्क तिर्नुपर्दा किसान थप मारमा परेको उहाँको भनाइ छ । विभिन्न समयमा भेडामा देखिने रोग, घरपालुवा कुकुर तथा भालुले भेडा मारिदिनेलगायत समस्याले पुख्र्यौली व्यवसाय धान्न मुस्किल पर्ने अवस्था रहेको उहाँले बताउनुभयो ।
“भेडापालन व्यवसायमा धेरै समस्या छन्” उहाँले भन्नुभयो, “लेकाली भेगमा गरिने पेशा भएकाले दुःख धेरै छ । त्योसँगै ऊन बिक्री हुन छाडेको अवस्था छ । विभिन्न रोग तथा घरपालुवा कुकुर, भालुलगायत जङ्गली जन्तुले भेडा मारिदिँदा धेरै क्षति हुन्छ ।” ऊन बिक्री हुन छाडेपनि भेडाको मासु, घ्यू तथा भेडाको बोका (बल्याख्रा)को बिक्रीबाट घरपरिवार चलाउँदै आएको उहाँ बताउनुहुन्छ । भेडाको घ्यू डढेको, पोलेको घाउमा औषधिका रूपमा प्रयोग हुने उहाँले जानकारी दिनुभयो । भेडाको मासु प्रतिकेजी रु एक हजार पाँच सयदेखि दुई हजारसम्म र घ्यू प्रतिमाना रु दुई हजारमा बिक्री हुने उहाँले बताउनुभयो ।
भेडाको चार–पाँच महिनाको बोका रु १५ हजारदेखि १८ हजारसम्ममा बिक्री हुने उहाँको भनाइ छ । भेडाको बोकाको भने धेरै माग हुने उहाँले बताउनुभयो । भेडापालनमा नयाँ पुस्तालाई आकर्षित गर्न राज्यले प्रोत्साहनका कार्यक्रम सञ्चालन गर्न आवश्यक रहेको उहाँ बताउनुहुन्छ । भेडापालन व्यवसायलाई संरक्षण नगरिएमा केही समयपश्चात पेशा नै सङ्कटमा पर्ने अवस्था रहेको उहाँले बताउनुभयो ।
मौसममा सुधार आएसँग सुकेटार विमानस्थलमा पुनः उडान
फुङ्लिङ (ताप्लेजुङ), १९ भदौ : प्रतिकूल मौसमका कारण तीन महिना बढी समय बन्द रहेको सुकेटार विमानस्थलमा पुनः उडान सुरुआत भएको छ । नेपाल वायु सेवा निगमले बुधबार उडान सुरु गरेको निगमको स्टेशन कार्यालयका प्रमुख नारायणकुमार कार्कीले जानकारी दिनुभयो । उहााले भन्नुभयो, “ मौसममा सुधार आएसँगै उडान गर्न सम्भव भएको हो । ”
निगमले केही साताअघि नै उडान तालिका तोकेको भए पनि प्रतिकूल मौसमले गर्दा उडान हुनसकेको थिएन । बुधबारको उडानले मौसम पूर्ण रूपमा सुधार नभए पनि यात्रा सम्भव भएको देखाएको छ । निगमले हाललाई हप्तामा एक दिनमात्र उडान तालिका राखेको छ, यो तालिका आगामी भदौ ३० गतेसम्म बुधबारका दिन सञ्चालन हुनेछ । मौसम खुला रहेमा र यात्रुको चाप बढेमा निगमले उडान तालिका थप्ने तयारी गरिरहेको छ ।
बर्खायाम सुरु भएपछि जेठ ११ गतेदेखि सुकेटारमा उडान बन्द भएको थियो । तीन महिना लामो अवरोधपछि सुरु भएको उडानले स्थानीयमा केही आशा जागृत गरेको छ । यद्यपि, पहिलो उडानमा काठमाडौँ–ताप्लेजुङ दुवैतर्फ विमानको पूर्ण क्षमतामा यात्रु थिएनन् । ताप्लेजुङको यात्रु सङ्ख्यालाई बढावा दिन आवश्यक प्रचार–प्रसार र नियमित उडानको आवश्यकता देखिएको छ । आगामी उडानका लागि यात्रीले सम्पर्क गर्न थालेको बताइएको छ ।
उडान पुनः सञ्चालन भएसँगै दसैँ, तिहारजस्ता चाडपर्व र पर्यटकीय मौसमको नजिकिँदो समयमा यात्रुलाई सुविधा हुने अपेक्षा गरिएको छ । ताप्लेजुङ आउने पर्यटक र सर्वसाधारण यात्रीको सुविधाका लागि निगमले नियमित उडानलाई सुनिश्चित गर्नुपर्ने दबाब छ । जिल्लाका बासिन्दाले पर्यटकीय मौसममा विमान सेवा नियमित गर्न आग्रह गरेका छन् । सुकेटार विमानस्थलमा हाल निगमको ट्वीनअटर जहाजले मात्र उडान गर्दै आएको छ । ताप्लेजुङ–काठमाडौँ उडानका लागि हालको भाडादर प्रतिव्यक्ति रु नौ हजार चार सय ७६ रहेको निगमले जनाएको छ ।
कति छ आजका लागि विदेशी मुद्राको विनिमय दर ?
काठमाडौँ, १९ भदौः नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । केन्द्रीय बैंकका अनुसार आजका लागि अमेरिकी डलर एकको खरिददर १३४ रुपैयाँ ०६ पैसा र बिक्रीदर १३४ रुपैयाँ ६६ पैसा, युरोपियन यूरो एकको खरिददर १४७ रुपैयाँ ९८ पैसा र बिक्रीदर १४८ रुपैयाँ ६४ पैसा कायम छ । साथै युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १७५ रुपैयाँ ९६ पैसा बिक्रीदर १७६ रुपैयाँ ७५ पैसा छ ।
स्वीस फ्रयाङ्क एकको खरिददर एक सय ५७ रुपैयाँ ४३ पैसा र बिक्रीदर एक सय ५८ रुपैयाँ १४ पैसा, अस्ट्रेलियन डलर एकको खरिददर ९० रुपैयाँ २६ पैसा र बिक्रीदर ९० रुपैयाँ ६६ पैसा निर्धारण गरिएको छ । क्यानेडियन डलर एकको खरिददर ९९ रुपैयाँ ०१ पैसा र बिक्रीदर ९९ रुपैयाँ ४६ पैसा, सिङ्गापुर डलर एकको खरिददर एक सय दुई रुपैयाँ ३९ पैसा र बिक्रीदर एक सय दुई रुपैयाँ ८४ पैसा कायम भएको छ ।
जापानी येन १० को खरिददर नौ रुपैयाँ १८ पैसा र बिक्रीदर नौ रुपैयाँ २२ पैसा, चिनियाँ युआन एकको खरिददर १८ रुपैयाँ ८२ पैसा र बिक्रीदर १८ रुपैयाँ ९१ पैसा कायम छ ।
राष्ट्र बैंकका अनुसार साउदी अरेबियन रियाल एकको खरिददर ३५ रुपैयाँ ७२ पैसा र बिक्रीदर ३५ रुपैयाँ ८८ पैसा, कतारी रियाल एकको खरिददर ३६ रुपैयाँ ७८ पैसा र बिक्रीदर ३६ रुपैयाँ ९४ पैसा कायम भएको छ । थाई भाट एकको खरिददर तीन रुपैयाँ ९१ पैसा र बिक्रीदर तीन रुपैयाँ ९३ पैसा रहेको छ भने युएई दिराम एकको खरिददर ३६ रुपैयाँ ५० पैसा र बिक्रीदर ३६ रुपैयाँ ६६ पैसा रहेको छ ।
मलेसियन रिङ्गेट एकको खरिददर ३० रुपैयाँ ६९ पैसा र बिक्रीदर ३० रुपैयाँ ८३ पैसा, साउथ कोरियन वन एक सयको खरिददर ९ रुपैयाँ ९९ पैसा र बिक्रीदर १० रुपैयाँ ०४ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १३ रुपैयाँ ०१ पैसा र बिक्रीदर १३ रुपैयाँ ०७ पैसा र डेनिस क्रोनर एकको खरिददर १९ रुपैयाँ ८४ पैसा र बिक्रीदर १९ रुपैयाँ ९३ पैसा छ ।
हङकङ डलर एकको खरिददर १७ रुपैयाँ १९ पैसा र बिक्रीदर १७ रुपैयाँ २७ पैसा, कुवेती दिनार एकको खरिददर चार सय ३८ रुपैयाँ ६८ पैसा र बिक्रीदर चार सय ४० रुपैयाँ ६४ पैसा छ भने बहराइन दिनार एकको खरिददर तीन सय ५५ रुपैयाँ ६४ पैसा र बिक्रीदर तीन सय ५७ रुपैयाँ २४ पैसा कायम भएको छ ।
राष्ट्र बैंकले यो विनिमय दरलाई बैंकले आवश्यकताअनुसार जुनसुकै समयमा पनि संशोधन गर्न सक्ने जनाएको छ । वाणिज्य बैंकहरुले तोक्ने विनियय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ ।
मोरङका पत्रकारले कोरोना बीमाको भुक्तानी पाउने
मोरङ, १९ भदौः नेपाल पत्रकार महासङ्घ मोरङका २९ जना पत्रकारले कोरोना बीमा बापतको रकम भुक्तानी पाउने भएका छन् ।
कोरोना बीमा बापतको भुक्तानी पाउँन बाँकी रहेका उनीहरुले जनही रु एक लाखका दरले भुक्तानी पाउने भएका हुन् । बीमा कम्पनीले उक्त रकम बराबरको चेक नेपाल पत्रकार महासङ्घ मोरङलाई उपलब्ध गराएको जनाइएको छ ।
महासङ्घका सदस्यहरूको कोरोना बीमाबापतको रकम भुक्तानी गर्न अटेर गरेपछि महासङ्घ मोरङकातर्फ सचिव नेत्र पी अधिकारीले २०७८ भदौ २१ गते उच्च अदालत विराटनगरमा रिट दायर गर्नुभएको थियो ।
कोरोना महामारीको पहिलो लहरमा पत्रकार महासङ्घ मोरङ र अजोड इन्स्योरेन्सबीच द्विपक्षीय सम्झौता भई दुई सयभन्दा बढी पत्रकार र उनीहरूका परिवारका सदस्यको कोरोना बीमा गरिएको थियो । बीमा अवधिसम्म सङ्क्रमित भएकामध्ये २० जनाले मात्र बीमा दाबी भुक्तानी पाएका थिए ।
विस २०७९ जेठ १६ गते उच्च अदालत विराटनगरका तत्कालीन कायममुकायम मुख्य न्यायाधीश सत्यमोहन जोशी थारू र न्यायाधीश जगतनारायण प्रधानको संयुक्त इजलासले कोरोना बीमाको रकम भुक्तानी गर्न अजोड इन्स्योरेन्स कम्पनीका नाममा परामादेश दिएको थियो ।
अदालतको अवहेलना मुद्धा दर्ता अघि उच्च अदालत विराटनगरले गत वैशाख २५ गते आदेश बमोजिम भुक्तानीका लागि बीमा कम्पनीलाई पत्र पठाएको थियो । अदालतको परमादेशलाई पनि अटेर गरेपछि महासङ्घ मोरङले अजोड इन्स्योसेन्स कम्पनीविरुद्ध अदालतको अवहेलनामा सजायको माग गर्दै गत असार १० गते मुद्धा दर्ता गरेको थियो ।
उच्च अदालत विराटनगरले गत असार ११ गते अदालतको अवहेलना मुद्धामा युनाइटेड अजोड इन्स्योरेन्स कम्पनीलाई सात दिनभित्र लिखित जवाफ पेश गर्न आदेश दिएको थियो ।
न्यायाधीशद्वय ममता खनाल र सूर्यनाथप्रसाद अधिकारीको संयुक्त इजलासले पत्रकार महासङ्घ मोरङको माग बमोजिम अदालतको अवहेलनामा कारवाही गर्नु नपर्ने आधार र कारण भए प्रमाण सहित सात दिनभित्र लिखित जवाफ पेस गर्न उच्च अदालतले आदेश दिएको थियो ।
उच्चको आदेश बमोजिम बीमा कम्पनी र नेपाल बीमा प्राधिकरणले लिखित जवाफ पेस गरिसकेका छन् । अदालतको अवहेलनामा कारवाही मुद्धाको फैसला आउनुअघि नै बीमा कम्पनीले भुक्तानी हुन बाँकी २९ जनाको भुक्तानी पठाएको हो ।
गत साउन २२ गते पत्रकार महासङ्घ मोरङको समन्वयमा नेपाल बीमा प्राधिकरणसँग महासङ्घ कार्यालयमा गरिएको अन्तरक्रियामा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले कोरोना बीमाको रकम भुक्तानी गराउने प्रतिबद्धता जनाउनु भएको थियो ।
कोशीमा कडा रोगका बिरामीले पाए पाँच करोड सहायता
झापा, १९ भदौः कोशी प्रदेश सरकारले कडा रोगका विरामीलाई रु पाँच करोड आर्थिक सहायता वितरण गरेको छ । विगत एक वर्षमा पाँच सय बिरामीले उक्त सहायता लिएका छन् ।
कोशी प्रदेशको स्वास्थ्य मन्त्रालयका सूचना अधिकारी डा रविन्द्र निरौलाका अनुसार आर्थिक वर्ष २०८०/८१ मा सहायताका लागि दुई हजार सात सय जना विरामीले मन्त्रालयमा निवेदन दर्ता गराएका थिए ।
जसमध्ये बजेट अभावमा क्यान्सर, मृगौला, पार्किन्सन्स, अल्जाइमर्स, स्पाइनल इञ्जुरी, हेड इञ्जुरी र सिकलसेन एनिमियालगायतका पाँच सय जना विरामीलाई रु एक लाखका दरले आर्थिक सहायता वितरण गरेको उहाँले जानकारी दिनुभयो ।
“निवेदन धेरै परेको थियो, बजेट थोरै थियो”, उहाँले भन्नुभयो, “सुरुमा निवेदन दिनेले पाउनुभयो, अझै दुई हजार दुई सय निवेदकले सहयोग रकम पाउन बाँकी छ ।” सरकारले चालू आवमा रु पाँच करोड नै बजेट बिनियोजन गरेको छ ।
कडा रोगीहरुका लागि विनियोजन गरेको रकम वितरणका लागि प्रदेश सरकारले नयाँ कार्यविधि पारित गरेको छ । जसका कारण पुराना निवेदकले नयाँ कार्यविधिबाट सहयोग पाउन सम्भव नरहेको उहाँले बताउनुभयो ।
प्रदेश सरकारको नयाँ कार्यविधि अनुसार विरामीले अबदेखि मन्त्रालयबाट होइन, अस्पतालबाटै उपचारको रकम शोधभर्ना पाउने व्यवस्था छ । नयाँ कार्यविधि समेत कार्यान्वयनमा आउन सकेको छैन ।
“नयाँ कार्यविधि बन्यो, कार्यान्वयन हुन बाँकी छ । पुरानो निस्क्रिय भइसक्यो”, उहाँले भन्नुभयो, “निवेदन लिएका पुराना सेवाग्राहीले मन्त्रालयमा फोन गरेर सोधिरहनु भएको छ । उहाँहरुलाई रकम दिन अब प्रदेश सरकारले कार्यविधि परिमार्जन गर्न छलफल सुरु गरेको छ ।”
उहाँले वि.सं. २०८० चैतबाट मन्त्रालयले निवेदन लिने काम बन्द गरिसकेको जानकारी दिनुभयो । प्रदेशमा कडा रोग लागेका विरामीलाई पहिलोपल्ट आव २०७९/८० को असारमा सात जनालाई सहयोग वितरण गरिएको थियो ।




















