मधेश र लुम्बिनी प्रदेशका सांसदसँग गृहमन्त्रीको छलफल : सीमापार तस्करी नियन्त्रणमा जोड
काठमाडौं । गृहमन्त्री सुधन गुरुङले मधेश र लुम्बिनी प्रदेशबाट प्रतिनिधिसभा सांसदहरुसँग छलफल गरेका छन् ।
शुक्रबार गृह मन्त्रालयमा उनीहरुबिच सीमापार तस्करी नियन्त्रणसम्बन्धी विषयमा छलफल भएको छ । छलफलमा सांसदहरुले सीमा क्षेत्रमा हुने तस्करीलाई प्रभावकारी रुपमा नियन्त्रण गर्नुपर्ने धारणा राखेका छन् ।
सांसदहरुले विद्यमान भन्सार प्रणालीमा सुधार गर्ने, भन्सार दर पुनरावलोकन गर्ने, सीमामा प्रभावकारी निगरानी गर्ने, कृषि सामग्री तथा मलखादको भन्सार प्रक्रिया सरलीकृत गर्ने, सीमा क्षेत्रमा बसोबास गर्ने नागरिकलाई दैनिक उपभोग्य सामग्रीको आयातमा निश्चित हदसम्म भन्सार छुट दिन मापदण्ड निर्धारण गर्ने लगायतका सुझाव दिएका छन् ।
छलफलका क्रममा उठेका गृह मन्त्रालयसँग सम्बन्धित सवालहरु गृह मन्त्रालयले कार्यान्वयन गर्ने र अर्थ मन्त्रालयसँग सम्बन्धित विषयमा अर्थ मन्त्रालयसँग थप छलफल गरी समाधान गर्ने भएको छ ।
एक हजार ९७ जनाको आपराधिक पृष्ठभूमिका व्यक्तिहरुको प्रोफाइल तयार हुँदैछ : प्रवक्ता भट्टराई
काठमाडौं । काठमाडौं जिल्ला प्रहरी परिसरले गत भाद्र २३ र २४ गतेको जेनजी आन्दोलनपछि चैत्र मसान्तसम्म गरेको कार्यसम्पादन सार्वजनिक गरेको छ ।
शुक्रबार पत्रकार सम्मेलन गर्दै परिसरले असोजदेखि ६–७ महिनाको अवधिमा भएका कार्य सम्पादन गर्नकासाथै समिक्षा गरेको हो ।
पत्रकार सम्मेलनमा जिल्ला प्रहरी परिसर एसपी तथा प्रवक्ता पवनकुमार भट्टराईले असोजदेखि चैत्रसम्म ५ हजार ५ सय ६६ वटा मुद्दाहरु दर्ता भएको र त्यसमध्य ४ हजार २ सय ७९ व्यक्तिहरु पक्राउको दायरामा रहेर अभियोजन र न्यायनिरुपणको क्रममा रहेको जानकारी दिए ।
उनले भने,‘५ हजार ५ सय ६६ वटा मुद्दाहरु दर्ता भएका छन् । त्यसमध्य ४ हजार २ सय ७९ व्यक्तिहरु पक्राउको दायरामा रहेर अभियोजन र न्यायनिरुपणको क्रममा हुनुहुन्छ । काठमाडौं जिल्ला प्रहरी परिसरले मात्रै दैनिक ५० देखि ५५ वटा जायरीहरु लिएर अनुसन्धान सुरु गरेको छ ।’
त्यस्तै उनले काठमाडौं अर्को ट्रेन्डिङमा देखिएको अपराधमध्य साइबर क्राइम भएको भन्दै यस अवधिमा १३ सय ३० वटा उजुरी प्राप्त गरेको बताए ।
‘काठमाडौं अर्को ट्रेन्डिङमा देखिएको अपराधमध्य एउटा साइबर क्राइम हो । यस अवधिमा हामीले १३ सय ३० वटा उजुरी प्राप्त गरेको छौं । अनलाइन सपिङमा ठगी सबैभन्दा ठूलो छ,’ उनले भने ।
उनको अनुसार घरेलु हिंसामा पर्ने पुरुषको संख्या बढ्दै गएको छ ।
पछिल्लो ६ महिना काठमाडौंमा मात्रै ९८ जना पुरुषले आफू घरेलु हिंसामा परेको उजुरी आएको उनले जानकारी दिए । उनले भने ,‘पहिला महिला मात्रै घरेलु हिंसामा भन्ने सुनिन्थ्यो । तर हामी कहाँ पुरुष व्यक्ति पनि हिंसामा परेको भन्दै उजुरी आउने क्रम बढेको छ । यस अवधिमा काठमाडौंमा मात्रै ९८ जना पुरुषले आफू घरेलु हिंसामा परेको उजुरी दिएका छन् ।’
त्यस्तै ६२९ महिलाले आफू घरेलु हिंसामा परेको भन्दै उजुरी दिएका छन् । त्यस्तै उनले १ हजार ९७ जना गुण्डागर्दीमा संलग्नहरुको प्रोफाइल तयार पारेको पनि जानकारी दिए । ।
‘कुनै पनि घट्नामा संलग्न भएका,संलग्न हुनसक्ने, उजुरी परेका, रेकर्डमा रहेका र आशंका गरिएका र हाम्रो अनुसन्धानको दायरामा रहेका एक हजार ९७ जनाको आपराधिक पृष्ठभूमि सहितको प्रोफाइलिङ गरेको छौं,’उनले भने ।
आज मातातीर्थ औँसी अर्थात् आमाको मुख हेर्ने दिन
काठमाडौं । आज मातातीर्थ औँसी अर्थात् आमाको मुख हेर्ने दिन ।
प्रत्येक वर्ष वैशाख कृष्ण औँसीका दिनमा आमालाई श्रद्धा तथा भक्तिसाथ आमालाई मीठा मीठा खानेकुरा खान दिई पर्व मनाइन्छ ।
छोराछोरीले आज बिहानै उठी नुहाएर आफ्नी आमालाई राम्रा राम्रा लुगा लगाउने र मीठा मीठा–तागतिला खानेकुरा खान दिई आशीर्वाद थाप्ने चलन छ । आमा नभएकाहरू भने आमालाई तर्पण र पिण्ड तथा पुरोहितलाई सिदादानसहित भोजन गराइ दिवङ्गत आमा र उनले गरेका महान् एवं कष्टकर काम सम्झने गर्दछन् ।
शास्त्रमा उपाध्याय, आचार्य र पिताभन्दा पनि ठुली मानिएकी आमाप्रति श्रद्धा, भक्ति, सम्मान र आदर गर्ने तथा आमाबाट शुभाशीर्वाद थाप्ने दिनका रूपमा यो पर्वलाई लिइन्छ ।
१२ वटा संसदीय समितिको सभापतिमा मनोनयन दर्ता
काठमाडौं । संघीय संसद्अन्तर्गत संसदीय समितिहरूको सभापतिको निर्वाचनका लागि आज मनोनयन दर्ता भएको छ । प्रतिनिधिसभा अन्तर्गतका १० वटा विषयगत समिति र २ वटा संयुक्त समितिका सभापतिका लागि संसद सचिवालयमा मनोनयन दर्ता भएको हो ।
कानून न्याय तथा मानवअधिकार समितिको सभापतिमा समीक्षा बास्कोटा, कृषि सहकारी तथा प्राकृतिक श्रोत समितिको सभापतिमा अशोक चौधरी, पूर्वाधार विकास समितिमा आशिष गजुरेल, महिला तथा सामाजिक मामिला समितिमा आकृती अवस्थी, राज्य व्यवस्था तथा सुशासन समितिमा हरि ढकालको मनोनयन दर्ता भएको छ ।
शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिको सभापतिमा रास्वपाका डा.ओजस्वी शेरचन र एमालेका गुरु बरालको मनोनयन दर्ता भएको छ । त्यसैगरी सार्वजनिक लेखा समितिमा कांग्रेसका भरत बहादुर खड्का, अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिमा सुम्निमा उदास, अर्थ समितिमा कृष्णहरि बुढाथोकी र उद्योग समितिको सभापतिमा रहवर अन्सारीको मनोनयन दर्ता भएको छ ।
त्यस्तै संयुक्त समिति अन्तर्गत संसदीय सुनुवाइ समितिमा बोधनारायण श्रेष्ठले मनोनयन दर्ता गरेका छन् । राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्याङ्कन समितिको सभापतिमा रास्वपाका गणेश कार्की र नेकपाका तर्फबाट राष्ट्रिय सभा सदस्य मदन कुमारी शाह (गरिमा) ले मनोनयन दर्ता गरेका छन् ।
शुक्रबार बस्ने सम्बन्धित समितिको बैठकमा मनोनयनसम्बन्धी प्रस्ताव निर्णयार्थ प्रस्तुत हुने र सभापति निर्वाचित भएको घोषणा हुने सचिवालयले जनाएको छ ।
नेपाली कांग्रेस बैठक : संगठन सुदृढीकरणदेखि महाधिवेशन तयारीसम्म गहन छलफल
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा विभिन्न विषयमा व्यापक छलफल भएको छ । पार्टीका प्रवक्ता देवराज चालिसेले बैठकमा उठेका कतिपय विषयमा थप गहिरो छलफल आवश्यक देखिएकाले भोलि पुनः बैठक बस्ने सहमति भएको जानकारी दिए ।
उनका अनुसार आजको बैठकमा विशेषगरी भदौ २३ र २४ गतेको घटनाबारे जाँचबुझ गर्न सरकारले गठन गरेको गौरीबहादुर कार्की आयोगको प्रतिवेदनमाथि थप अध्ययन र विश्लेषण गर्न पार्टीले चासो दिएको छ। उक्त प्रतिवेदन अध्ययनका लागि वरिष्ठ अधिवक्ता यदुनाथ खनालको संयोजकत्वमा गठित समितिले आफ्नो सुझाव पेश गरेको र त्यसप्रति पार्टीले आभार व्यक्त गरेको छ। सो विषयमा पनि भोलि थप छलफल गरिने चालिसेले बताए ।
बैठकले पार्टीको नीति तथा प्रशिक्षण कार्यलाई व्यवस्थित गर्न विश्वप्रकाश शर्माको अध्यक्षतामा ‘नीति प्रतिष्ठान’ गठन गर्ने निर्णय गरेको छ । यस अन्तर्गत नेतृत्व विकास तथा प्रशिक्षण कार्यक्रम सञ्चालन गरिनेछ । त्यसैगरी निर्वाचनसम्बन्धी कामलाई व्यवस्थित गर्न उपाध्यक्ष पुष्पा भुषालको संयोजकत्वमा स्थायी निर्वाचन संरचना निर्माण गर्ने निर्णय भएको छ ।
पार्टी संगठनलाई प्रभावकारी बनाउन महामन्त्री गुरुराज घिमिरेको संयोजकत्वमा सहमहामन्त्री बहादुर सिंह लामा र मुक्त यादव सदस्य रहेको संयन्त्र गठन गरिएको छ। यसले केन्द्रीय कार्यालयमार्फत संगठन समन्वय गर्नेछ ।
त्यसैगरी क्रियाशील सदस्यता व्यवस्थापनका लागि महामन्त्री प्रदीप पौडेलको संयोजकत्वमा सहमहामन्त्री योगेन्द्र चौधरी र प्रकाश स्नेही सदस्य रहेको समिति गठन गरिएको छ, जसले १५औँ महाधिवेशनलाई लक्षित गर्दै काम गर्नेछ ।
पार्टीले संसदभित्र र बाहिर रहेका दलहरूसँग संवाद तथा सहकार्य गर्न वरिष्ठ नेता अर्जुन नरसिंह केसीको संयोजकत्वमा वार्ता तथा संवाद समिति गठन गरेको छ । उक्त समितिले राष्ट्रिय मुद्दामा सहकार्य र पार्टी समावेशीकरणलगायत विषयमा छलफल गर्ने जिम्मेवारी पाएको छ ।
त्यस्तै पार्टीका सार्वजनिक कार्यक्रमहरूलाई अझ व्यवस्थित, आकर्षक र प्रभावकारी बनाउन आवश्यक कार्यविधिहरू पारित गरिएको प्रवक्ता चालिसेले जानकारी दिए ।
महाधिवेशनको तयारीका क्रममा देखिएका असन्तुष्टि समाधान गर्न तथा समयमै १५औँ महाधिवेशन सम्पन्न गर्न पार्टी सभापति गगन कुमार थापालाई विभिन्न नेताहरूसँग संवाद गर्ने जिम्मेवारी दिइएको छ। बाँकी विषयमा भोलि थप छलफल गरी निष्कर्षमा पुग्ने जनाइएको छ।
शिक्षा र स्वास्थ्यलाई राजनीतिभन्दा टाढा राखेमात्र सरकार सफल हुन्छ : प्राडा दाहाल
काठमाडौं । शिक्षाविद् प्राध्यापक डाक्टर राम प्रसाद दाहालले वर्तमान सरकारले शिक्षालाई राजनीतिबाट टाडा राख्न सुझाव दिएका छन् । उनले शिक्षालाई प्राज्ञिक उन्नयन, बौद्धिक विकास, बौद्धिक बहस र विश्वको बदलिंदो परिस्थिति अनुसार अगाडि बढाउनुपर्नेमा जोड दिए ।
उनले भने, ‘वर्तमान सरकारले शिक्षालाई राजनीतिभन्दा टाढा राख्नुपर्छ । प्राज्ञिक उन्नयन, बौद्धिक विकास, बौद्धिक बहस र विश्वको बदलिंदो परिस्थितिअनुसारको शिक्षा ल्याउन सक्नुपर्छ । त्यस्तो शिक्षाले मात्र समाज बन्छ ।’
कतिपय देशमा शिक्षा–स्वास्थ्य निःशुल्क गरेकाले नेपालमा पनि विद्यालय शिक्षा निःशुल्क गर्नुपर्नेमा उनको जोड छ ।
उनका अनुसार सरकारले निःशुल्क शिक्षाको अवधारणा अनुसार काम गर्नुपर्ने औल्याउँदै भावी दिनमा कुशल, आदर्शवान र चरित्रवान शिक्षकको रुपमा जन्मिने वातावरण बनाउनुपर्ने पनि बताए ।
प्राडा दाहालले भने,‘शिक्षाका सम्बन्धमा संविधानभित्र नमिल्दो छ भने मिलाउपर्छ । मापदण्ड वा योग्यताको आधारमा नियुक्ति गर्ने, क्षमतालाई प्रोत्साहन दिनेगरी काम गर्नुपर्छ,’ उनले अगाडि भने,‘ शिक्षा शिक्षाकै रूपमा विकास हुनुपर्छ । त्यहाँ राजनीति विस्तार वा राजनीति मिसिएर आउनु हुँदैन । शिक्षा राजनीति भन्दा बाहिरै हुनुपर्छ ।’
नेपालमा एउटाले खारेज गर्ने, अर्काले हडताल वा बन्द गर्ने परिपाटी मौल्याएको बताउँदै उनले भने,‘शिक्षाको मन्दिर यस्तो पवित्र बनाउनुपर्यो कि सबैको एउटै कर्तव्य र दायित्व बनाएर लैजानुपर्छ ।’
प्राडा दाहालले वर्तमान सरकारले राजनीतिलाई पाँच वर्षसम्म चलाउन गुरुमन्त्र लिनुपर्ने बताए । उनले जनताले विश्वास सरकार भएकाले काम गर्ने अवसर पर्याप्त पाएको दाबी गरे ।
उनले भने, ‘हालको सरकार दुई तिहाइ नजिक छ । अब स्थिर हुनुपर्यो । उहाँहरु आफैं बीचमा झगडा, मनमुटाब र म ठूलो भनेर झगडा गर्नु थाल्नु भएन् । जनमत फेरि विगारनु हुँदैन । अहमबाट मुक्ति लिएर, जनताका सेवक हौँ भन्ने भावनाको विकास हुनुपर्छ । मिलेर पाँच वर्ष जानुपर्छ । गुरुमन्त्रले लिएर अगाडि बढ्नुपर्छ ।’
उनका अनुसार आशावादी मत ल्याउने सरकारले मान्छेलाई समेटेर, आग्रह–पूवाग्रह नहेरेर संमग्र नेपाललाई उत्थान गर्छु भनेर अगाडि बढ्ने प्रतिबद्धता राख्नुपर्छ । जनताले पनि साथ दिन्छन् ।
उनले दुर्गम र विकट स्थानमा पाठ्य पुस्तक पुर्याउन सबै तहका कर्मचारी र सम्बन्धित व्यक्तिहरु परिचालित हुनुपर्ने सुझाव दिए ।
उनले भने, ‘प्रत्येक बर्ष सेसन सुरु हुन्छ भन्ने थाहा पाउने बित्तिकै दुर्गम र विकट पुस्तक पुर्याउन सबै कर्मचारी संयन्त्र र सरकार लाग्नुपर्छ । हालै भएको निर्वाचनमा करोड मतपत्र तत्कालै पुग्यो र चुनाव सम्पन्न भएको उदाहरण हामीसामू छ ।’
सरकार अल्पकालीन र दिर्घकालीन दुबै तरीकाले अगाडी बढ्नुपर्नेमा उनले जोड दिए ।
उनले भने, ‘अहिले दुई किसिमबाट सरकार जानुपर्छ–एउटा अल्पकालीन रुपमा । त्यस अन्तर्गत तत्कालिन राहत उपलब्ध गराउनेगरी अगाडि बढ्नुपर्छ । अर्को भनेको दिर्घकालीन अगाडि बढ्नुपर्छ । १० वा २० वर्षपछि रिजल्ट निकाल्ने निकाल्नेगरी रणनीति बनाउनुपर्छ ।’
उनका अनुसार देशको अभिभावक भनेको सरकार भएकाले सबै मन्त्रालय वा निकायहरुले छलफल, विचार–विमर्स गरेर बुद्धी पुर्याएर काम गर्नुपर्छ । नेपाल जति सुन्दर विश्वमै अरु देश नभएकाले नेपाललाई समृद्ध गर्नलाई समय धेरै नलाग्ने उनको जिकिर थियो ।
<iframe width="100%" height="315" src="https://www.youtube.com/embed/BbZksWzRoD0?si=eh1zqLR9yymXRFfD" title="YouTube video player" frameborder="0" allow="accelerometer; autoplay; clipboard-write; encrypted-media; gyroscope; picture-in-picture; web-share" referrerpolicy="strict-origin-when-cross-origin" allowfullscreen></iframe>
सिरुवाको रौनकमा कोशी, आज सार्वजनिक बिदा
विराटनगर । नयाँ वर्षको सुरुवातसँगै कोशी प्रदेशका तराई जिल्लाहरू यतिबेला सिरुवा पर्वको उत्साहमा डुबेका छन् । झापा, मोरङ र सुनसरीका गाउँ–बस्तीहरूमा पानी, हिलो र रङको खेलले सांस्कृतिक जीवन्तता झल्किएको छ भने प्रदेश सरकारले दिएको सार्वजनिक बिदाले पर्वको रौनक झन् बढाएको छ ।
राजवंशी, थारु, ताजपुरिया, धिमाल, मेचे, गनगाई, माझी लगायतका आदिवासी समुदायहरू परम्परागत विधि, पूजा–पाठ र आपसी सद्भावसहित सिरुवा मनाइरहेका छन् । नयाँ वर्षसँगै सुरु हुने यो पर्व केवल मनोरञ्जनमा सीमित नभई प्रकृति, शरीर र समाजबीच सन्तुलन कायम गर्ने गहिरो सन्देश बोकेको सांस्कृतिक अभ्यासका रूपमा स्थापित छ ।
जुरशीतलका नामले समेत परिचित सिरुवा तीन दिनसम्म मनाइने पर्व हो। पहिलो दिन ‘पानी सिरुवा’मा गाउँ–बस्तीहरू बिहानैदेखि पानी छ्याप्ने, हाँसो–ठट्टा गर्ने र शुभकामना साटासाट गर्ने गतिविधिले भरिन्छन् । झापाको गौरिगञ्जदेखि मोरङ र सुनसरीका विभिन्न बस्तीहरूमा युवादेखि वृद्धसम्म सहभागी बनेका दृश्यहरूले सामुदायिक एकताको सन्देश दिएका छन् ।
दोस्रो दिन ‘काद सिरुवा’ अर्थात् हिलो खेल्ने परम्परा बुधबार मनाइँदैछ। खेतबारी वा खुला स्थानमा जम्मा भएर एकअर्कालाई हिलो छ्याप्ने चलनले पृथ्वीसँगको सम्बन्धलाई प्रतीकात्मक रूपमा झल्काउँछ। यसलाई शरीर शुद्ध गर्ने र स्वास्थ्यका लागि लाभदायक मानिने विश्वास पनि रहिआएको छ।
तेस्रो दिन ‘रङ सिरुवा’सँगै पर्वको समापन हुन्छ। विभिन्न रङहरूको प्रयोग, सामूहिक नाचगान, बाजागाजा र स्थानीय परिकारले गाउँ–बस्तीहरू अझ रंगीन बन्ने गर्छन्। यस दिनलाई नयाँ वर्षलाई उल्लासपूर्ण स्वागत गर्ने अवसरका रूपमा लिइन्छ।
सिरुवा पर्व धार्मिक र सांस्कृतिक दृष्टिले पनि उत्तिकै महत्वपूर्ण मानिन्छ। घरघरमा कुलदेवता र ग्रामदेवताहरूको पूजा गरिन्छ भने अग्रजहरूले परिवारका सदस्यलाई पानी राखेर ‘शीतलता र शान्ति’को आशीर्वाद दिने परम्परा अझै जीवित छ। महिलाहरूले घाटोसरी पूजा गर्ने चलन पनि निरन्तर रहेको छ।
पर्वको अर्को विशेषता चुलो पूजा हो। वर्षमा एक दिन चुलोलाई विश्राम दिने मान्यताअनुसार बेलुकाको खाना नपकाइ दिनमै बनाइएको भोजन खाने चलनले श्रमप्रति सम्मान र प्रकृतिप्रति कृतज्ञताको सन्देश दिन्छ।
सिरुवासँगै पूर्वी तराईका विभिन्न स्थानमा मेला र महोत्सवहरूको चहलपहल पनि बढेको छ। झापाको कमल गाउँपालिका, मंगलबारे तथा मोरङको सुनवर्षी क्षेत्रमा नयाँ वर्षको पहिलो दिनदेखि नै स्थानीय परिकार, हस्तकला र सांस्कृतिक प्रस्तुति सहितका मेलाहरूले आकर्षण बढाएका छन्।
यो पर्व नेपालभित्र मात्र सीमित छैन। भारतका आसाम, मेघालय, पश्चिम बंगाल र कोचबिहारसम्म फैलिएको समान सांस्कृतिक पृष्ठभूमिले सीमापारिको सम्बन्धलाई समेत सुदृढ बनाएको छ।
यसैबीच, कोशी प्रदेश सरकारले वैशाख २ गते बुधबार सार्वजनिक बिदा घोषणा गरेको छ। सरकारी कार्यालय, शैक्षिक संस्था र विभिन्न निकायहरू बन्द रहे पनि गाउँ–बस्तीहरू भने उत्सवमा रमाएका छन्।
कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्की ले सिरुवा (जुडशीतल) को अवसरमा शुभकामना व्यक्त गर्दै पर्वले आपसी सद्भाव, मेलमिलाप र सांस्कृतिक एकताको सन्देश दिने उल्लेख गरेका छन्। बसन्त ऋतुको आगमन, नयाँ वर्षको सुरुवात र नयाँ आशाको प्रतीकका रूपमा मनाइने यस पर्वले समाजमा सहिष्णुता र न्यानोपन फैलाउने विश्वास व्यक्त गरिएको छ।
उनले नेपाल बहुजातीय, बहुभाषिक र बहुसांस्कृतिक मुलुक भएकाले यस्ता पर्वहरूले सामाजिक एकता सुदृढ बनाउने धारणा राख्दै प्रदेश सरकारले सबै समुदायको संस्कृति संरक्षणलाई प्राथमिकतामा राख्दै आएको बताएका छन्।
सिरुवा पर्वले पानी, माटो र रङजस्ता प्राकृतिक तत्वमार्फत मानिसलाई प्रकृतिसँग जोड्ने सन्देश दिँदै आएको छ। कोशी प्रदेशभर देखिएको उत्साहले यसको सांस्कृतिक जीवन्तता अझ दीर्घकालसम्म कायम रहने संकेत दिएको स्थानीय अगुवाहरू बताउँछन्।
इरानसँगको युद्ध अन्त्यको नजिक रहेको अमेरिकी राष्ट्रपति ट्रम्पको दाबी
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको द्वन्द्व अन्त्यको नजिक रहेको बताएका छन् । फक्स न्युजसँगको अन्तर्वार्तामा राष्ट्रपति ट्रम्पले पश्चिम एसियामा जारी शत्रुता समाप्त गर्न भइरहेको वार्तामा केही अवरोध देखिए पनि स्थिति सकारात्मक रहेको र इरान सम्झौताका लागि निकै उत्सुक रहेको दाबी गरे ।
अमेरिका रणनीतिक रूपमा निकै बलियो अवस्थामा रहेको उल्लेख गर्दै उहाँले तेहरानले वार्तामार्फत छिट्टै समाधान खोज्ने विश्वास व्यक्त गरेका छन् ।
यसैबीच, वासिङ्टन र तेहरानबीच इस्लामावादमा दोस्रो चरणको वार्ता हुने सम्भावनाको चर्चा सुरु भएको छ । सिएनएनका अनुसार अमेरिकी उपराष्ट्रपति जेडी भान्सको नेतृत्वमा हुन सक्ने उक्त वार्तामा ट्रम्पका विशेष दूत स्टिभ विटकफ र जारेड कुश्नर पनि सहभागी हुने अपेक्षा गरिएको छ ।
ट्रम्पका सल्लाहकारहरूले इरानी अधिकारीहरूसँग कूटनीतिक बाटो खोज्न २१ घण्टा लामो छलफल गरिसकेको भए पनि अर्को चरणको वार्ताको निश्चित समय र तालिका भने अझै तय भइनसकेको अमेरिकी अधिकारीहरूले जानकारी दिएका छन् ।
प्रधानमन्त्री शाहले समानुपातिक सांसदहरूसँग आज अन्तरक्रिया गर्ने
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले संघीय संसदमा प्रतिनिधित्व गर्ने समानुपातिक सांसदहरूसँग आज अन्तरक्रिया गर्ने भएका छन्।
आज मध्याह्न १२ बजे शिहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा अन्तरक्रिया गर्ने भएका हुन् ।
कार्यक्रममा सांसदहरूले आ–आफ्ना क्लस्टरका समस्या, चुनौती तथा समाधानका उपायबारे प्रत्यक्ष रूपमा धारणा प्रस्तुत गर्ने छन् ।
यस अन्तरक्रियामार्फत जनप्रतिनिधि र कार्यपालिकाबिच प्रत्यक्ष संवाद स्थापित गरी नीति निर्माण तथा कार्यान्वयनलाई थप प्रभावकारी बनाउने उद्देश्य राखिएको छ । कार्यक्रमलाई सुशासन, उत्तरदायित्व र जनमुखी शासन प्रणाली सुदृढ गर्ने महत्त्वपूर्ण अवसरका रूपमा हेरिएको छ ।
‘राष्ट्रिय प्रतिबद्धता’ को मस्यौदा सार्वजनिक : पर्यटनमार्फत ५ वर्षमा खर्च दोब्बर बनाउने लक्ष्य
काठमाडौं । सरकारले फागुन २१ गते सम्पन्न निर्वाचनमा राष्ट्रिय मान्यता प्राप्त गरेका ६ वटा राजनीतिक दलका घोषणापत्रका आधारमा ‘राष्ट्रिय प्रतिबद्धता’को मस्यौदा तयार गरी सार्वजनिक गरेको छ।
सरकारले उक्त मस्यौदामाथि सम्बन्धित राजनीतिक दलहरूबाट बैशाख १० गते भित्र राय तथा सुझाव माग गरेको जनाएको छ ।
मस्यौदामा पर्यटन क्षेत्रको विकासलाई प्राथमिकतामा राख्दै नेपाल भित्रिने पर्यटक संख्या र औसत बसाइ अवधि बढाई गुणस्तरीय पर्यटनको आधार तयार गर्ने तथा आगामी पाँच वर्षभित्र प्रतिव्यक्ति खर्च दोब्बर बनाउने लक्ष्य राखिएको छ ।
यसका लागि पर्यटन क्षेत्रलाई विविधीकरण गर्दै प्रकृति, संस्कृति र समुदायलाई जोडेर नयाँ पर्यटन इकोसिस्टम निर्माण गरिने उल्लेख गरिएको छ ।
पशुपतिनाथ, लुम्बिनीका साथै काठमाडौं उपत्यकाको सांस्कृतिक तथा वास्तुकलागत सम्पदा, देवघाटदेखि मुक्तिनाथसम्मको हिन्दु–बौद्ध धार्मिक मार्ग र जनकपुरलाई धार्मिक–सांस्कृतिक पर्यटन केन्द्रका रूपमा विकास गर्न विशेष पूर्वाधार निर्माण गरिनेछ ।
त्यसैगरी, प्रदेश सरकार, स्थानीय तह, निजी क्षेत्र र समुदायको सहकार्यमा सन् २०२७ लाई ‘राष्ट्रिय आरोग्य वर्ष’का रूपमा मनाउँदै आरोग्य (वेलनेस) पर्यटनको प्रवर्धन गरिनेछ ।
नेपाली सभ्यता, जीवनशैली, स्थानीय भेषभूषा, रैथाने खानपान र शिल्पकलामा आधारित पर्यटन प्याकेज तथा होमस्टे सञ्चालन गरिनेछ । साहसिक तथा मनोरञ्जनात्मक पर्यटन प्रवर्धनका लागि तीनै तहका सरकारबिच समन्वय गर्दै ‘सफा हिमाल, सुरक्षित आरोहण’ अभियान सञ्चालन गरिनेछ ।
साल्पा सिलिचुङ, बौद्ध, लुम्बिनी, मुक्तिनाथ, हलेसी महादेव, पिण्डेश्वर, दन्तकाली, स्वयम्भू, गोसाइँकुण्ड, पशुपतिनाथ, पाथिभरा (मुकुम्लुङ), सुम्निमा-पारुहाङ लगायतका स्थलहरूलाई धार्मिक पर्यटन केन्द्रका रूपमा विकास गरिनेछ ।
पर्यटन तथा आतिथ्ययता सम्बन्धी तालिम कार्यक्रम प्रदेश र स्थानीय तहमा सञ्चालन गरिनेछ । मौसमी पर्यटनलाई प्रवर्धन गर्न अफ–सिजन प्याकेजसहित विशेष कार्यक्रम लागु गरिनेछ ।
पर्वतारोहण प्रवद्र्धनका लागि नयाँ हिमालहरू आरोहणका लागि खुला गरिनेछन् भने सार्वजनिक–निजी साझेदारीमा होटेल, रिसोर्ट, एडभेन्चर सेवा र इको–टुरिज्म विस्तार गरिने नीति लिइएको छ ।