पदोन्नति नपाएका राष्ट्रसेवक मन्त्रालयको मुलद्वारमा लुडो खेलेर दुई घण्टा बिताउँदै
- नारायण न्यौपाने
काठमाडौँ, २४ असार I असार बित्न एक साता बाँकी छ, किसान होस् वा कर्मचारी, कामको चटारो छ सबैलाई । तर, मुलुकको सङ्घीय राजधानी सिंहदरबारस्थित कृषि तथा पशुपक्षी मन्त्रालयको मूलद्वारमा भने केही राष्ट्रसेवक दैनिक दुई घन्टा लुडो खेल्दै धर्ना दिइरहेका छन् । उनीहरू एकै श्वरमा भन्छन्, “विसं २०७५ मा कर्मचारी समायोजन गरिँदा केन्द्रमा क्षमताभन्दा बढी कर्मचारी राखियो, जसले हाम्रो पदोन्नति र वृत्ति विकास भएन ।”
सिंहदरबार परिसर आन्दोलन र धर्ना निषेधित क्षेत्र भए पनि मन्त्रालयकै प्रवेशद्वारमा नौ दिनदेखि निरन्तर धर्ना र ‘घरपास–नागपास’ चलिरहेको छ । त्यहाँ धर्ना दिइरहेका कर्मचारी दैनिक दुई घन्टा यसरी नै समय कटाइरहेका छन् । कृषिप्रधान मुलुकमा असार मानो रोपेर मुरी उब्जाउन व्यस्त रहने तथा कर्मचारी वर्षभरको कामको हरहिसाब समीक्षामा खटिनुपर्ने समय हो ।
राष्ट्रिय बाली संरक्षण अधिकृत तोयानाथ जोशी भन्नहुन्छ, “ सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले कर्मचारी समायोजनमा केन्द्रमा क्षमताभन्दा बढी कर्मचारी राखेका कारण आठ वर्षदेखि हाम्रो बढुवालगायत वृत्ति विकास रोकिएको छ, न पद छ, न कुर्सी नै, हामी अहिले म्यादी प्रहरी जस्ता छौँ ।” समायोजनमा चाहिनेभन्दा बढी सङ्ख्यामा केन्द्रमा कर्मचारी राखिएका कारण वृत्ति विकासमा समस्या भएको जनाउँदै धर्नारत कर्मचारीले दरबन्दी प्राप्तिका लागि धेरै पटक ताकेता गर्दा पनि सुनुवाइ नभएपछि बाध्य भएर आन्दोलनमा उत्रनुपरेको प्रतिक्रिया दिए ।
लामो समयदेखि जिम्मेवारीविहीन अस्थायी पुलमा रहन परेकामा दुखेसो पोख्दै उनीहरूले सर्वोच्च अदालतबाट भएको फैसला कार्यान्वयन नभएकामा आश्चर्य प्रकट गरे । जोशी भन्नुहुन्छ, “हाम्रो माग र चासोबारे अदालतबाट परमादेश भएको दुई वर्ष भइसक्यो, अझै कार्यान्वयन भएन । अदालतको आदेश पालना नभएपछि मानहानिको मुद्दा पनि दायर गरिएको छ ।”
कर्मचारी समायोजन गर्ने विगतको सामान्य प्रशासनको निर्णयबाट कृषि मन्त्रालयमातहत कार्यरत शाखा अधिकृतस्तरका एक सयभन्दा बढी कर्मचारी प्रभावित भएको उनीहरू बताउँछन् । यद्यपि बिहान १० देखि मध्याह्न १२ बजेसम्म दैनिक निरन्तर धर्नामा रहेका ती कर्मचारीको माग सम्बोधन गर्नेबारे सरकार सकारात्मक रहेको कृषि तथा पशुपक्षी मन्त्रालयका प्रवक्ता हरिबहादुर केसीले बताउनुभयो । कर्मचारीका समस्या समाधान गर्न अर्थ मन्त्रालयमा प्रस्ताव पुगिसकेको तथा चालु आर्थिक वर्षमा उनीहरूका माग सम्बोधन हुनेमा आफू विश्वस्त रहेको बताउनुभयो ।
अविरल वर्षाले खोटाङका ग्रामीण सडक अवरुद्ध
खोटाङ, २४ असार I अविरल वर्षाले जिल्लाका सबै ग्रामीण सडक अवरुद्ध बनेका छन् । वर्षासँगै आएको भलबाढी तथा पहिरोका कच्ची अवस्थामा रहेका अधिकांश ग्रामीण सडक अवरुद्ध बनेका हुन् ।
ग्रामीण सडक अवरुद्ध भएपछि जिल्लाका स्थानीय तहहरु राष्ट्रिय सडक सञ्जालबाट विच्छेद भएका छन् । स्थानीय तहसँग जोडिएको सबै ग्रामीण सडक अहिलेसम्म कच्ची अवस्थामा रहेकाले समस्या भएको यातायात व्यवसायीले बताएका छन् ।
जन्तेढुङ्गा, बाराहापोखरी र खोटेहाङ गाउँपालिकाको कच्ची सडक हिलाम्य भएपछि सञ्चालन हुन सकेको छैन । केपिलासगढी र ऐसेलुखर्क गाउँपालिकालगायतका ग्रामीण क्षेत्रमा पनि झरीले बाटो हिलाम्य हुँदा यातायात सञ्चालन हुन नसकेको खोटाङ यातायात प्रालिका महासचिव रामकुमार हिङ्माङले जानकारी दिनुभयो ।
यसबाहेक सगरमाथा लोकमार्गअन्तर्गत दिक्तेल–गाईघाट सडक पनि अवरुद्ध छ । यसले जिल्लाबाट तराई जान र तराईबाट जिल्ला आउन समस्या भएको छ । जिल्लाका केही ठाउँमा पहिरो तथा रुखले ग्रामीण सडक अवरुद्ध गरे पनि स्थानीय र प्रहरीले खुुलाएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
अवरुद्ध ग्रामीण सडक खुलाउने विषयमा स्थानीय तहहरुले पहल नगरेको यातायात व्यवसायीले आरोप लगाएका छन् ।
राजधानी काठमाडौँ जोड्ने मध्यपहाडी लोममार्ग भने निरन्तर सञ्चालनमा रहेको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक पुरुषोत्तम खड्काले जानकारी दिनुभयो । मध्यपहाडी लोकमार्ग ठाउँठाउँमा झरेको पहिरो प्रभावित बनाएको छ ।
यसैबीच यही असार २० गतेदेखिको अविरल वर्षाका कारण दिप्रुङ चुइचुम्मा गाउँपालिका–७ टेम्मामा एक घर भत्किएको छ । अविरल वर्षाकै कारण टेम्माको एक्लेबरस्थित जगबहादुर मगरको घर भत्किएको हो ।
पहिरो खस्दा हलेसी तुवाचुङ नगरपालिका–३ च्यास्मिटारका अस्तजित राईको घर भत्किएको छ । पहिरोले दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेल थर्पुका रमेश खड्काको घरमा क्षति पुगेको छ ।
बाढी तथा पहिरोबाट जोगिन उच्च सतर्कता अपनाउन सम्बन्धित निकायले आग्रह गरिरहेका छन् । मनसुनजन्य विपद् व्यवस्थापनका लागि जिल्लास्थित सबै संयन्त्र तयारी अवस्थामा राखिएको जिल्ला विपद् व्यवस्थापन समितिका अध्यक्ष एवं प्रमुख जिल्ला अधिकारी शिवकुमार कार्कीले जानकारी दिनुभएको छ । जिल्लास्थित दशवटै स्थानीय तहले समेत विपद् व्यवस्थापनका लागि आ–आफ्नो क्षेत्रमा तयारी गरेको पाइएको छ ।
प्रहरीले गरेको सर्वेक्षणअनुसार दश स्थानीय तह रहेको जिल्लामा मनसुनजन्य विपद् बाढीबाट ८५ घरधुरीको तीन २० र पहिरोबाट चार सय ३९ घरधुरीको एक हजार सात सय ६१ जना मानिस उच्च जोखिममा रहेका छन् । मनसुन सुरु भएसँगै उच्च जोखिममा रहेका स्थानीय बासिन्दालाई मातहतका प्रहरी परिचालन गरेर सतर्कता अपनाउन आग्रह गरिएको प्रनाउ खड्काले जानकारी दिनुभएको छ ।
पुरानै शैलीमा पुनःनिर्माण हुँदै लमजुङ दरबार
गण्डकी, २४ असार I चौबिसे राज्यका पालाको लमजुङ दरबार पुनःनिर्माण भइरहेको छ । सोह्रौँ शताब्दीमा बनेको जिकिर गरिएको उक्त दरबार जीर्ण भएपछि पुरातत्व विभागले दुई वर्षअघि पुनःनिर्माण थालेको थियो । विभागका इन्जिनियर गोविन्द अधिकारीका अनुसार दरबार पुनःनिर्माणमा झण्डै ७० प्रतिशत भौतिक प्रगति भएको छ ।
“स्रोतको कमी भएन भने आगामी आर्थिक वर्षभित्रमा काम पूरा गर्ने लक्ष्य लिइएको छ”, उहाँले भन्नुभयो, “यो वर्ष बजेट कम भएकाले सोचे जति काम हुन सकेन ।” गत आवमा रु एक करोड ३३ लाख बजेटबाट पुनःनिर्माण सुरु गरिएकामा चालु आवमा सरकारले जम्मा रु ५० लाख बजेट छुट्टाएको थियो । पहिलो वर्ष भक्तपुरको निर्माण कम्पनी ‘एनपिएस’ र यो वर्ष भक्तपुरकै ‘आरजिएस÷ विष्णु जेभी’ले दरबार पुनःनिर्माणको जिम्मा पाएको हो ।
इन्जिनियर अधिकारीले पुरानै शैली र स्वरुपमा दरबारको पुनःनिर्माण भइरहेको बताउनुभयो । दरबारसहित ऐतिहासिक कालिका मन्दिरको पुनःनिर्माण पनि सँगसँगै भइरहेको उहाँको भनाइ छ । दरबार बुइँगलसहित तीनतले र कालिका मन्दिर प्यागोडा (छाने शैली)को बन्नेछ । दरबार बनाउन चाहिने इँटा, काठ, सुर्कीलगायत निर्माण सामग्री भक्तपुरबाट ल्याइएको इन्जिनियर अधिकारीले जानकारी दिनुभयो ।
“परम्परागत वास्तुकला झल्काउने गरी दरबार र मन्दिर पुनःनिर्माणको काम भइरहको छ, पुरातात्विक महत्वको संरचना भएकाले निर्माण सामग्री पनि महँगो पर्छ, मेहनत र समय पनि उत्तिकै लाग्छ”, उहाँले भन्नुभयो, “मौलिक शैली र स्वरुपमा दरबार बन्छ ।” दोस्रो तलाको गारो र झ्याल–ढोका राख्ने काम भइसकेको उहाँले बताउनुभयो ।
उक्त ऐतिहासिक दरबारको संरक्षण योजनाअन्तर्गत पुरातत्व विभागले पुनःनिर्माणमा अगुवाइ गरेको हो । गाउँसहर कालिका मन्दिर संरक्षण तथा व्यवस्थापन समितिका अध्यक्ष राजेन्द्र बोहोराले यसै आवभित्र दरबार पुनःनिर्माण गरिसक्ने लक्ष्य लिइए पनि बजेटको सीमितताका कारण कामको प्रगति सुस्त देखिएको बताउनुभयो ।
“अघिल्लो वर्षको तुलनामा यो वर्ष बजेट झन घटेर आयो, पर्याप्त बजेट आएन भने आउँदो वर्ष पनि दरबार पुनःनिर्माण पूरा हुने देखिन्न”, उहाँले भन्नुभयो, “पुरातत्व विभागले पुनःनिर्माणको काम गरे पनि लमजुङ दरबार कुन सरकारको मातहत रहने भन्ने अन्योल रहँदा ऐतिहासिक महत्वको सम्पदा ओझेलमा परेको छ ।” एतिहासिक धरोहरको रुपमा रहेको दरबार पुनःनिर्माण तथा व्यवस्थापनमा सङ्घ, प्रदेश सरकार र स्थानीय तहले लगानी गर्नुपर्ने उहाँको भनाइ छ ।
लमजुङको बेँसीसहर गाउँपालिका–३ गाउँसहरमा अवस्थित उक्त दरबार तथा कालिका मन्दिरलाई ऐतिहासिक तथा सांस्कृतिक सम्पदास्थलका रुपमा विकास गर्नुपर्ने आवाज जनस्तरबाट उठ्दै आएको छ । जीर्ण भएर अलपत्र अवस्थामा पुगेको दरबार पुनःनिर्माणले नयाँ आशा जगाएको अध्यक्ष बोहोराले बताउनुभयो ।
“छिटो पुनःनिर्माण पूरा गर्न सकिएमा दरबारलाई पर्यटकीय गन्तव्यका रुपमा स्थापित गर्न सकिन्छ, यसबाट सिङ्गै लमजुङ जिल्लाको पहिचान र चिनारी देश विदेशमा फैलिन्छ”, उहाँले भन्नुभयो । गाउँसहरका भीमबहादुर गुरुङले पहिले झिङ्गटीले छाएको दरबार रहेको सुनाउनुभयो । पछिल्लो समय दरबारको छानो ढुङ्गाले छाइएको थियो ।
“बाउबाजेका पालादेखि नै यहाँ दरबार थियो, बडादसैँ र चैतेदसैँमा यहाँ विशेष पूजाआजा हुन्छ, टाढाटाढाबाट मानिस दरबार हेर्न गाउँसहर आउँछन्”, ७० वर्षीय गुरुङले भन्नुभयो, “दरबार पुरानो भएर छानो पनि चुहिने भएको थियो, अब नयाँ बन्न लागेको छ, हामी खुसी छौँ ।” विसं १५५० मा राजा यशोबह्म शाहले शासन सुरु गरेको उक्त दरबारमा पुराना तोप, तरबार, भालालगायत सामग्री सुरक्षित छन् ।
दरबार परिसरमा लमजुङ राज्यका पहिलो राजा यशोबह्मको अर्थकदको सालिकसमेत बनाइएको छ । समुद्री सतहदेखि एक हजार चार सय ४५ मिटर उचाइमा रहेको उक्त दरबारमा सदरमुकाम बेँसीसहरदेखि ३० मिनेटको मोटर यात्रामा पुगिन्छ । पर्यटकीय गाउँ काउलेपानीदेखि नजिकै दरबार अवस्थित छ । दरबारले १६ रोपनी क्षेत्रफल ओगटेको व्यवस्थापन समितिका अध्यक्ष बोहोराले जानकारी दिनुभयो ।
यस्तो छ लमजुङ दरबारको इतिहास
चौबिसे राज्य स्थापना हुने सिलसिलामा विसं १५२४ मा कास्की राज्य स्थापना भएको थियो । कास्कीका राजा कुलमण्डन शाहले आफ्ना माइला छोला कालु शाहलाई लमजुङ राज्य स्थापना गर्न भनी पठाएको डा राजाराम सुवेदीद्वारा लिखित ‘लजमुङ राज्य’ शीर्षकको आलेखमा उल्लेख छ ।
राज्य स्थापनाका लागि जाने क्रममा घले राजाका सेनाहरुबाट उनी मारिएपछि लमजुङका खाजे दुरा, नारायण दुरा, कुश्माखर घिमिरेलगायत ठकुरी राजा माग्न कास्कीकोट गएको सन्दर्भ उक्त आलेखमा छ ।
राजा माग्न गएका लमजुङेलाई कास्कीका राजा कुलमण्डनले बेस्सरी हकारेको र आफ्ना कान्छा छोरा यशोबह्मलाई राजा बनाउन लमजुङ खटाएको इतिहासमा उल्लेख छ । कास्कीकोटबाट आएका यशोबह्मले विसं १५५० असार १५ गते लमजुङ राज्यको गद्दी सम्हालेका थिए । राजा यशोबह्मको मृत्युपछि उनका जेठा छोरा नरहरि शाह विसं १५९८ मा लमजुङ राज्यको राजा भए । नरहरिपछि चुडा शाह, अचित शाह, नरेन्द्र शाह, केहरीनारायण शाह, भीम शाह, रीपुमर्दन शाह, वीमर्दन शाह गरी नौ पुस्ताले सो दरबारबाट शासन चलाएका थिए ।
विसं १८३९ कात्तिकसम्म शाहवंशका राजाले लमजुङ दरबारबाट शासन चलाएको इतिहासमा उल्लेख छ । शाहवंश आउनुअघि यहाँ घलेराजाले राजकाज चलाउने गर्दथे । प्राचिनकालबाटै लमजुङ क्षेत्र लिच्छवि शासनअन्तर्गत पथ्र्यो ।
पृथ्वीनाराण शाहले बाइसे चौबिसे राज्यलाई एकीकरण गरी अखण्ड नेपाल विस्तारको अभियान थाले । विसं १८३९ मा पृथ्वीनारायण शाहकी बुहारी राजेन्द्रलक्ष्मी शाहको पालामा लमजुङ नेपाल राज्यमा गाभिएको जानकारहरुको भनाइ छ ।-रासस
किसानलाई हल गोरु वितरण
भोजपुर, २४ असार I भोजपुरको हतुवागढी गाउँपालिकाले किसानलाई प्रोत्साहन गर्न हल गोरु वितरण कार्यक्रम सञ्चालन गर्ने भएको छ । यसअघि फैलिएको लम्की स्किन रोगका कारण गोरु मरेपछि किसानलाई प्रोत्साहन स्वरुप हल गोरु वितरणको कार्यक्रम ल्याएको हो ।
पशुपन्छी तथा कृषि विकासका लागि रु ५६ लाख २० हजार बराबरको कार्यक्रम सञ्चालन गरिने प्रमुख प्रशासकीय अधिकृत महेश निरौलाले बताउनुभयो । किसानको मागको आधारमा आगामी आर्थिक वर्षमा नौ हल गोरु वितरण गरिने प्रमुख प्रशासकीय अधिकृत निरौलाले जानकारी दिनुभयो । किसानलाई गोरु वितरणको लागि रु तीन लाख ६० हजार बजेटसमेत विनियोजन गरिएको उहाँको भनाइ छ ।
“हामीले किसानलाई प्रोत्साहन गर्नको लागि हल गोरु वितरण कार्यक्रमअघि सारेका छौँ”, प्रशासकीय अधिकृत निरौलाले भन्नुभयो, “लम्की स्किन रोगले धेरै किसानका गोरु मरेका कारण उनीहरु समस्यामा छन् । यो कार्यक्रममार्फत उनीहरुलाई केही राहत पुग्नेछ ।”
किसानलाई ५० प्रतिशत अनुदानमा गोरु वितरण गरिने प्रशासकीय अधिकृत निरौलाले बताउनुभयो । किसानलाई कृषिमा आत्मनिर्भर बनाउँदै उनीहरुलाई आयआर्जनसँग जोड्न गाउँपालिकाले योजनाबद्ध रुपमा काम गरिरहेको उहाँको भनाइ छ । पछिल्लो समय किसानमा गोरु पाल्ने चलन हराउँदै गएकाले यसको निरन्तरताको लागिसमेत यो कार्यक्रमले टेवा पुग्ने उहाँले बताउनुभयो ।
“पछिल्लो समय गाउँघरमा गोरु पाल्ने चलन पनि हराउँदै गएको अवस्था छ”, उहाँले भन्नुभयो, “गोरु पाल्दा किसानलाई धेरै फाइदा छ । गोरु पाल्दा खेतबारी जोत्नसँगै मलमूत्र पनि काम लाग्छ ।” गाउँपालिकाले किसानलाई प्राथमिकता राख्दै यहाँको दिगो विकासमा जोड दिँदै आएको उहाँको भनाइ छ ।
किसानलाई कृषिमा लाग्न थप हौसला दिनको लागि योजनाबद्ध विकासमा जोड दिइएको गाउँपालिका अध्यक्ष प्रेमकुमार राईले बताउनुभयो । किसानलाई आयआर्जनमा जोड्न एक घर एक करेसाबारी, नर्सरी स्थापना, मौरीपालन, प्लाष्टिक पोखरी निर्माण कार्यक्रम, सुन्तला खेती विस्तारलगायत कार्यक्रम सञ्चालन भइरहेको अध्यक्ष राईको भनाइ छ । त्यस्तै उत्कृष्ट किसान सम्मान कार्यक्रम सञ्चालन भइरहेको उहाँको भनाइ छ ।
“गाउँपालिकाका किसानको जीवनस्तर सुधारको लागि कृषिको योजनाबद्ध विकासमा जोड दिएका छौँ”, अध्यक्ष राईले भन्नुभयो, “किसानलाई लक्षित गरेर हल गोरु वितरणको कार्यक्रम अघि सारेका छौँ । यसले पनि किसानलाई थप सहयोग पुग्ने छ ।” किसानलाई लक्षित गरेर उन्नत जातको भैँसी वितरण, गोठ सुधारलगायतको कार्यक्रम पनि सञ्चालन भइरहेको उहाँको भनाइ छ । समथर भू–भागका किसानलाई ध्यानमा राख्दै हाते ट्र्याक्टरलगायतका आधुनिक उपकरणसमेत वितरण भइरहेको अध्यक्ष राईले जानकारी दिनुभयो ।
‘उद्धार र राहत वितरणमा स्काउटको भूमिका महत्वपूर्ण
विराटनगर, २३ असार I विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले प्राकृतिक प्रकोपका समयमा उद्धार र राहत वितरणमा स्काउटको भूमिका महत्वपूर्ण हुने बताउनुभएको छ ।
स्थानीय स्काउट परिषद्को दीक्षान्त तथा अभिमुखीकरण कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले मानवीय सेवामा स्काउट सधँै समर्पित रहने कुरामा जोड दिनुभयो । स्थानीय स्काउट परिषद्का संरक्षक रहनुभएका प्रमुख कोइरालाले स्काउटको क्षेत्रलाई व्यापक बनाइ स्काउट रक्तदान, बाढीपहिरो र डुबान पीडितको उद्धारलगायतमा सक्रिय हुनुपर्नेमा जोड दिनुभयो ।
नेपालको इतिहासमा स्काउटको लामो इतिहास रहेको चर्चा गर्दै कोरोनाकालमा राहत वितरणसँगै नागरिकलाई सचेतना फैलाउन पनि स्काउटले खेलेको भूमिकाको प्रमुख कोइरालाले प्रशंसा गर्नुभयो । इमान्दारिता, अनुशासन, परोपकारी, राष्ट्र र शान्ति स्काउटको मूल सिद्धान्त र नियम रहेको स्काउटको संरक्षक कोइरालालाई राष्ट्रिय प्रशिक्षक तथा राष्ट्रिय कार्यकारी समितिका सदस्य (आयुक्त) नवलप्रसाद उपाध्यायले दीक्षित गराउनुभएको थियो ।
कोशी प्रदेश लोकसेवा आयोगको अध्यक्षमा गुरागाईं
मोरङ, २३ असार I कोशी प्रदेश लोकसेवा आयोगका अध्यक्षमा महेन्द्रप्रसाद गुरागाईंलाई नियुक्त गरिएको छ ।
प्रदेश प्रमुख परशुराम खापुङले प्रदेश लोकसेवा आयोग ऐन २०७६ को दफा ३ को उपदफा (२) बमोजिम गठित सिफारिस समितिको सिफारिसअनुसार आज तेह्रथुमका गुरागाईंलाई अध्यक्ष नियुक्त गर्नुभएको थियो ।
उहाँलाई आजै विराटनगर उच्च अदालतका मुख्य न्यायाधीश रमेशप्रसाद राजभण्डारीले प्रदेश प्रमुखको कार्यालयमा पद तथा गोपनीयताको शपथग्रहण गराउनुभएको छ ।
शपथग्रहण समारोहमा प्रदेश प्रमुख खापुङ, कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की, सभामुख अम्बरबहादुर विष्ट, प्रदेशका मन्त्रीहरू, सुरक्षा प्रमुख, प्रदेश लोकसेवा आयोगका सदस्य, विभिन्न मन्त्रालयका सचिवहरूलगायतको उपस्थिति रहेको थियो ।
किरिया बसेकै अवस्थामा गाउँपालिकाको काम गर्दै घिमिरे
लमजुङ, २३ असार । लमजुङ राइनास नगरपालिका–१ साहिँलिटारका नरेन्द्रराज घिमिरे दुधपोखरी गाउँपालिकाका लेखा अधिकृत हुनुहुन्छ । घिमिरेलाई यतिबेला पितृशोक परेको छ ।
घिमिरेले जनताको सेवामा समस्या नपरोस् र आर्थिक वर्षको अन्तिम समयमा भएकाले कार्यालयको काम कारबाहीमा कुनै असर नपरोस् भन्ने ध्येयले घरमा किरिया बसेकै कोठाबाट काममा गरिरहनुभएको छ ।
यही असार १९ गते उहाँका बुबा दुर्गाभक्त घिमिरेको ८२ वर्षको उमेरमा निधन भएको थियो । उहाँले भन्नुभयो, “बुबाको यही १९ गते निधन भयो, आमाको पाँच महिनाअघि हृदयघातका कारण मृत्यु भइसकेको छ । यसहिसाबले पीडा छ तर आर्थिक वर्षको अन्तिमतिर भएकाले गाउँपालिकाको काम रोक्नु त भएन, त्यसैले किरिया बसेकै अवस्थामा काम गरिरहेको छु ।”
बुवाको निधन भएको भोलिपल्टै २० गतेदेखि नै आफूँले कार्यालयको काम गरिरहेको लेखा अधिकृत घिमिरेले बताउनुभयो । “पालिकामा लेखापाल पद रिक्त छ, त्यसैले लेखाको काम म एक्लैले गर्नुपर्ने बाध्यता छ । कार्मचारी नहुँदा काम भएन भनेर किन पार्नु ! वित्तीय अनुशासन र आर्थिक दृष्टिकोणले समेत उचित नहुने ठानेर पीडा भुलेर यसरी काम गरिरहेको छु”, उहाँले भन्नुभयो ।
उहाँले गाउँपालिका अध्यक्ष, प्रमुख प्रशासकीय अधिकृतलाई भनेर आवश्यक कागजात, ल्यापटपलगायत सामग्री घरमै मगाएर काम गरिरहनुभएको छ । नेपाल सरकारको नियमानुसार क्रिया बिदा १५ दिन बस्न पाइन्छ ।
गाउँपालिका अध्यक्ष धनप्रसाद गुरुङले बुबाको निधनको पीडा हुँदा पनि घिमिरेले कार्यालयको काम गरिरहेका भन्दै प्रशंसा गर्नुभयो । घिमिरेले काम गर्छु भनेपछि आफूहरूले सोहीअनुसार सहजीकरण तथा सहयोग गरिरहेका उहाँले बताउनुभयो ।
जसपा नेपाल धरान उपमहानगर समितिको सचिवमा सागर सरगम चेम्जोङ
धरान, २३ असार। जनता समाजवादी पार्टी नेपाल धरान उपमहानगर समितिको आयोजनामा पार्टी प्रवेश तथा पदपूर्ति कार्यक्रमबाट सचिवमा सागर सरगम चेम्जोङ चयन भएका छन। सचिव चेम्जोङ २०७३ सालको महेन्द्र बहुमुखी क्याम्पस धरानका निर्वाचित पूर्व स्ववियु सभापनि पनि हुन । हिजो असार २२ गते ताजुब लिम्बुको अध्यक्षतामा सम्पन्न भएको पदपूर्ति तथा पार्टी प्रवेश कार्यक्रमबाट चेम्जोङ सचिव पदमा चयन भएका हुन।
साथै उक्त कार्यक्रममा नेफिन धरान नगर अध्यक्ष सुवास हुक्पा चोङबाङ , सह सचिव कर्ण सुनुवार, किरात सुनुवार सेवा समाज धरान कोषाध्यक्ष हेमराज सुनुवार,पूर्व संघिय लोकतान्त्रिक राष्ट्रिय मञ्च, संघीय लिम्बुवान मञ्च सुनसरी उपाध्यक्ष सन्तोष केदेम, किरात याक्खा छुम्मा सुनसरी पूर्व सचिव शान्ता लिखां लगायत अन्य ४२ जनाले पार्टी प्रवेश गरेकाछन ।
३१ सदस्य नगर समिति र ३ सदस्य सल्लाहकार समिति सहित को नगर कमिटी गठन भएको छ। उक्त कार्यक्रममा पार्टीका केन्द्रीय नेताहरूको पनि उपस्थिति रहेको थियो । कार्यक्रम पार्टीका केन्द्रीय नेता रकम चेम्जोङको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो।
धनपालथान संरक्षणको पर्खाइमा
बेलबारी (मोरङ), २३ असार I जिल्लाको धनपालथान गाउँपालिकाको अस्तित्वसँग जोडिएको पुरातात्विक महत्वको धनपालथान संरक्षणको पर्खाइमा रहेको छ । राजा धनपालको नामबाट गाउँपालिकाको नामाकरण गरिए पनि उक्त स्थानको संरक्षण र प्रवर्द्धन नहुँदा ओझेलमा पर्दै गएको हो ।
धनपालथान गाउँपालिकाको वडा नं ७ मा अवस्थित छ । यो ठाउँलाई स्थानीय भाषामा राजा धनपालको रजवाडा भनिन्छ । प्राचीन रजवाडा झण्डै चार बिघाह क्षेत्रफलमा फैलिएको छ ।
पुरातात्विक महत्व बोकेको यस स्थानको नामबाट साविकको नोचा, कदमाहा, दादरबैरिया, अमाही बरियाती र सोराभाग गाविसलाई समेटेर पुनःसंरचना भएको पालिकाको नाम धनपालथान गाउँपालिका राखिएको राजा धनपालथान संरक्षण तथा विकास समितिका अध्यक्ष सञ्जय सिंहले बताउनुभयो ।
रजवाडा परिसरमा निकै अगाडि बनाइएका टहरा जीर्ण अवस्थामा छन् भने २०५७ सालमा गठन भएको संरक्षण समितिले बनाएको देवी रणकाली र राजा धनपालको सिमेन्टको मुर्तिसमेत टुटेर जीर्ण बनेको उहाँले बताउनुभयो । ।
समितिका अध्यक्ष सिंहका अनुसार यहाँ आसपासमा पुरातात्विक महत्वको कयौँ वस्तु तथा मुर्ति भेटिएका छन् । विसं २०७१ मा स्थानीय किसान रघुसिंह नुनियाले रजवाडा नजिकैको खेतमा हलो जोत्ने क्रममा भगवान विष्णुको धातुको प्राचीन मुर्ति भेट्नुभएको थियो । उक्त मुर्ति संरक्षणका लागि ईलाका प्रहरी कार्यालय रङ्गेलीमा जिम्मा लगाइएको उहाँले जानकारी दिनुभयो ।
“२०१७ सालमा नजिकै रहेको पोखरी उत्खन्न गर्ने क्रममा धातुका पुराना भाँडावर्तनलगायतका विभिन्न सामग्रि भेटिएपनि हाल ती सामग्री कहाँ छन्, यस विषयमा स्थानीय अनविज्ञ छन्”, अध्यक्ष सिंहले भन्नुभयो ।
धनपालथान–७ का स्थानीय उचितलाल मण्डलले रजवाडा परिसरमा खन्दा करिब डेढ फिट लम्बाइ र चाँैडाइका पुराना माटोका इँटाहरु भेटिने गरेको बताउनुभयो । “यहाँ निकै पुरानो संरचना भेटिने गरेका छन् । यस क्षेत्रको उत्खनन गर्नुका साथै यसको संरक्षण र प्रवर्द्धन गरी पर्यटन प्रवर्द्धन गर्न सकिन्छ”, उहाँले भन्नुभयो ।
स्थानीय राजेन्द्र कामतले उत्खनन र अध्ययनसम्म नगरिएकाले राजा धनपाल कुन कालखण्डका को हुन् भन्नेसम्म खुल्न नसकेको बताउनुभयो । “प्राचीन विराट राजाको राज्यअन्तर्गत पर्ने यस स्थानमा रहेको मन्दिर विराट राजाले निर्माण गरेको किंवदन्ती छ”, उहाँले भन्नुभयो ।
पुरातत्व विभागले यहाँको अध्ययन अन्वेषण गरी तथ्य पत्ता लगाउनुपर्ने गाउँपालिका अध्यक्ष जिवछप्रसाद गच्छदारले बताउनुभयो । धनपालथान क्षेत्रमा गाउँपालिकाले मन्दिर मनाइसकेको भन्दै मन्दिर परिसरमा पर्खाल घेराबारा गरी मुर्ति स्थापना गरिने उहाँले जानकारी दिनुभयो ।
अध्यक्ष गच्छदारले स्थानीय सरकारसँग पर्याप्त बजेट नहुँदा पूर्वाधार निर्माण र संरक्षणमा समस्या भएको बताउनुभयो । उहाँले प्रदेश र सङ्घ सरकारले आर्थिक सहयोग गर्नुपर्नेमा जोड दिनुभयो ।
पुरातत्व विभागले यस ठाउँमा १५ वर्षअघि सामान्य अध्ययन गरी मध्यकालीन संरचना भएको हुनसक्ने निष्कर्षसहित विभागमा सूचीकृत गरेको पुरातत्वविद् भाष्कर ज्ञवालीले जानकारी दिनुभयो । उहाँले धनपालगढीमा बाहिरबाट संरचना नदेखिने भएकाले सतहमुनिको अध्ययन ‘जियोलोजिकल सर्वे’ गर्दा पौराणिकता तथ्य स्पष्ट हुने बताउनुभयो ।
विपद्प्रभावितको जिउधनको रक्षाका निम्ति सम्पूर्ण शक्ति लगाऔँ: प्रधानमन्त्री
काठमाडौँ, २३ असार I प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बाढीपहिरोबाट प्रभावित जनताको जिउधनको रक्षाका निम्ति राज्यको सम्पूर्ण शक्ति लगाउन सम्बन्धित सबै निकायलाई निर्देशन दिनुभएको छ ।
सिंहदरबारस्थित ‘कन्ट्रोल रुम’बाट बाढीपहिरोको क्षतिबारे जानकारी लिएपछि प्रधानमन्त्री प्रचण्डले प्राकृतिक विपद्का कारण प्रभावित नागरिकको उद्धार र राहतमा सक्रिय हुन सरकारका सम्पूर्ण निकायलाई निर्देशन दिनुभयो ।
बाढी पहिरोका कारण देशका विभिन्न भूभागमा भएको धनजनको क्षतिप्रति दुःख व्यक्त गर्दै प्रधानमन्त्रीले विपद्बाट प्रभावित नागरिकको उद्धार र राहतमा सक्रियतापूर्वक काम गर्नुपर्नेमा जोड दिनुभयो ।
“विपद् व्यवस्थापनका लागि व्यवस्थित तयारी गरिएको छ । उच्च सतर्कता अपनाउन सम्पूर्ण रूपले मेहेनत गरेका छौँ,” प्रधानमन्त्रीले भन्नुभयो, “यस वर्ष विपद्बाट ठूलो क्षति हुनसक्ने अनुमान गरिएको छ, सोहीअनुसार रोकथाम र क्षति न्यूनीकरणका लागि राम्रो तयारी छ, जनताको जीउधनको रक्षाका निम्ति सम्पूर्ण तागत लगाऔँ ।”
केही दिन अगाडि मात्रै आफूले उच्चस्तरीय विपद व्यवस्थापन तथा जोखिम न्यूनीकरण समितिको बैठक बोलाएर सबै सरकारी निकायबीच समन्वय गरेर जनताको जिउधनको सुरक्षामा खटिन निर्देशन दिएको बताउँदै प्रधानमन्त्रीले भन्नुभयो, “वर्षा जारी छ, अझै क्षति हुन सक्छ । सडक अवरूद्ध हुन सक्छन् । त्यसैले उद्धार एवं राहतका काममा सक्रियतापूर्वक लागौँ।”
सम्भावित जोखिमप्रति सुरक्षा सतर्कता अपनाउन सम्पूर्ण नागरिकमा अनुरोध गर्दै प्रधानमन्त्रीले सरकारको प्रयासमा सार्थक हातेमालोका निम्ति सम्पूर्ण राजनीतिक दल, नागरिक समाज र सामाजिक संस्थाहरूसँग आग्रह गर्नुभयो ।