बुधबार, १० भदौ २०८३

/frontend/images/redline.png
https://jawaaf.com/storage/01HZC5DVENGBPRTZJTERZ5Z35X.jpg

कोशी प्रदेशको नीति तथा कार्यक्रम सोमबार

विराटनगर, २० जेठ I कोशी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८१/८२ को नीति तथा कार्यक्रम सोमबार सार्वजनिक गर्ने भएको छ ।

कोशी प्रदेशका प्रमुख परशुराम खापुङले सोमबार अपराह्न ४ बजे कोशी प्रदेश सभालाई सम्बोधन गर्नुहुने कार्यक्रम तय भएको प्रदेशसभा सचिवालयका सूचना अधिकारी निरोज ढकालले जानकारी दिनुभयो । प्रदेश प्रमुख खापुङले प्रदेशसभा नियमावली, २०७४ को नियम ६ को उपनियम ३ बमोजिम बैठकलाई सम्बोधन गर्नुहुनेछ ।

प्रकाशित मितिः आइतबार, २० जेठ २०८१
https://jawaaf.com/storage/01HZBNXGXG7M9SGBA5KJ1VSFCV.jpg

एकीकृत समाजवादी जुट्यो महाधिवेशन तयारीमा

काठमाडौँ, २० जेठ I नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)ले महाधिवेशनको तयारी तीव्र गतिमा अघि बढाएको छ । महाधिवेशन मूल व्यवस्थापन कमिटीका सबै विभाग तथा निकायले निर्धारित समयमै महाधिवेशन सम्पन्न गर्ने कार्यतालिका अनुसार द्रुत गतिमा काम अघि बढाएका हुन् । 

केन्द्रीय प्रचार विभाग उपप्रमुख दामोदर अर्यालका अनुसार व्यवस्थापन कमिटीका सम्बन्धित निकायले सदस्यता अभिलेख, कार्यप्रगतिको विवरण केन्द्रमा बुझाएका छन् । आगामी असार १६ देखि २० गतेसम्म काठमाडौँमा गर्न लागिएको दशौँ राष्ट्रिय महाधिवेशनलाई केन्द्रित गरी सबै कमिटी, विभाग र फाँटलाई आगामी असार ५ गतेभित्र महाधिवेशन प्रतिनिधिको फोटोसहितको विवरण पार्टी केन्द्रीय कार्यालयमा पठाउन निर्देशन दिइएको छ । 

केन्द्रीय सङ्गठन विभागले नेता तथा कार्यकर्ताको सदस्यता प्रदान र नवीकरणको सबै प्रक्रियाका साथै शुल्कसहितको विवरण केन्द्रले प्रमाणित गरेपछि त्यसको नामावली विवरण सम्बन्धित कमिटीमा पठाएको छ । महाधिवेशनमा प्रस्तुत गरिने राजनीतिक, समाजवादी, विधान र साङ्गठनिक दस्तावेजलाई थप छलफल गर्न सबै जिल्ला तथा कमिटीहरूमा पठाइएको छ । सबै कमिटीले मस्यौदा दस्तावेजमाथि आफ्नो कार्यक्षेत्रमा रहेका पार्टी सङ्गठित सदस्यहरुलाई यही जेठ ३२ गतेसम्म छलफल गराउने तालिका छ । तल्लो तहदेखि नै आएका सुझावलाई समेटेर ती दस्तावेज थप समृद्ध बनाइने र चार वटै दस्तावेजलाई एउटै साझा प्रतिवेदन बनाएर महाधिवेशनमा लैजाने तयारी गरिएको उपप्रमुख अर्यालले जानकारी दिनुभयो ।

प्रकाशित मितिः आइतबार, २० जेठ २०८१
https://jawaaf.com/storage/01HZBAPPAEYZZC4V270B0SNK3Y.jpg

प्राविधिक जनशक्ति उत्पादन गर्न पालिकाको छात्रवृत्ति

फुङ्लिङ (ताप्लेजुङ), २० जेठ I ताप्लेजुङको पाथीभरा याङवरक गाउँपालिकाले कक्षा ११ र १२ मा विज्ञान विषय अध्ययन गर्न चाहने विद्यार्थीलाई छात्रवृत्तिको व्यवस्था गरेको छ । दक्ष प्राविधिक जनशक्ति उत्पादनमा सघाउने उद्देश्यले गाउँपालिकाले छात्रवृत्तिको व्यवस्था गरेको  हो ।

गाउँपालिकाले विगत तीन वर्षदेखि विज्ञान विषय अध्ययन गर्ने विद्यार्थीहरूलाई छात्रवृत्ति प्रदान गर्दै आएको पाथीभरा याङवरक गाउँपालिकाका शिक्षा शाखाप्रमुख लाप्साङ तामाङले बताउनुभयो । गाउँपालिकाले चालु आर्थिक वर्षमा  छात्रवृत्तिका लागि आवेदन माग गरेको छ ।  गाउँपालिकाभित्र विज्ञान विषय पठनपाठन हुँदैन ।

विज्ञान विषय पढ्न गाउँपालिका बाहिर जानुपर्ने अवस्था छ । विद्यार्थीले प्राप्त गरेको अङ्कको आधारमा एक शैक्षिक सत्रमा रु २० हजारदेखि रु ६० हजारसम्म छात्रवृत्ति प्रदान गरिने शिक्षा शाखाले जनाएको छ । चालु आर्थिक वर्षका लागि गाउँपालिकाले रु पाँच लाख विनियोजन गरेको शाखाप्रमुख तामाङले  बताउनुभयो । 

प्रकाशित मितिः आइतबार, २० जेठ २०८१
https://jawaaf.com/storage/01HZ9WKXA12CJ9MTJWC4RSE2TT.jpg

‘बेलायतसँग हुने सातौँ चरणको वार्ता परिणाममुखी बनाइयोस्‘

काठमाडौँ, १९ जेठ I ब्रिटिश गोर्खा सत्याग्रह संयुक्त सङ्घर्ष समितिले नेपाल सरकारसँग भूपू गोर्खा सैनिकको समान पेन्सनलगायतका विषयमा हुने सातौँ चरणको वार्तालाई परिणाममुखी तुल्याउन माग गरेको छ ।

आज यहाँ आयोजित पत्रकार सम्मेलनमा सत्याग्रह संयुक्त सङ्घर्ष समिति नेपालका संयोजक भीमबहादुर तावा लिम्बूले आगामी वार्तामा माग सम्बोधन नभएमा सडक आन्दोलन र न्यायालयको ढोका ढकढक्याउन बाध्य हुने चेतावनी दिनुभयो ।

समितिका प्रमुख संयोजक कृष्णबहादुर राईले विगतका छवटा वार्तामा कुनमा के भयो र अब कसरी सकारात्मक नतिजा हासिल गर्न सकिन्छ भन्नेमा सरकारबाट आवश्यक वातावरण र पर्याप्त पूर्वतयारीको खाँचो औँल्याउनुभयो ।

ब्रिटिश भूपू गोर्खा सैनिकका मागलाई सम्बोधन गर्न बेलायत सरकारसँग आवश्यक परामर्श गर्न प्रतिनिधिसभा मातहतको संसदीय समितिले सरकारलाई यसअघि दुईपटक निर्देश गरिसकेको छ । राईले बेलायतको उपनिवेशिक मानसिकता र नेपाल सरकारको आवश्यक पहलको अभावमा आफूहरूका माग सम्बोधन गर्न ढिलाइ भएको बताउनुभयो । समितिले समानताका लागि बेलायती सेनासरह नै समान पेन्सन र जुनसुकै उमेर समूहका भए पनि भूपू सैनिकका छोराछोरी बिनासर्त बेलायत जान पाउनुपर्ने माग गर्दै आएको छ । बेलायत नेपालको पुरानो घनिष्ट सम्बन्ध रहेको मुलुक हो । नेपालको विकासमा ठूलो सहयोग प्रदान गर्ने राष्ट्रको सूचीमा बेलायती अगाडि छ । 

नेपाल र बेलायतबीच  ब्रिटिश गोर्खा भूपू सैनिकका विषयमा आगामी जुन ११ मा सातौँ चरणको वार्ता हुने जानकारी दिइएको छ । समिति सचिव ओम किराँत सुनुवारले भूपू ब्रिटिश गोर्खा सैनिकसम्बन्धी सवाल नेपालको राष्ट्रिय मुद्दा भएकाले उपयुक्त वातावरण बनाएर वार्तालाई सफल तुल्याउन आग्रह गर्नुभयो । 

भूपू ब्रिटिश गोर्खाका कानुनी सल्लाहकार अधिवक्ता भोजमान लामघारेले ब्रिटिश गोर्खालाई बेलायतले पेन्सनमा गरेको विभेद समानता र अन्तर्राष्ट्रिय सन्धि–सम्झौताविपरीत रहेको बताउनुभयो । उहाँले सातौँ चरणको वार्ताले परिणाम नदिएमा समिति सडक सङ्घर्ष र कानुनी उपचारका लागि न्यायालय जान बाध्य हुने बताउनुभयो । 

बेलायती सेनामा करिब चार हजार नेपाली युवा कार्यरत रहेका र अवकाश प्राप्त गोर्खाको सङ्ख्या करिब १८ हजार रहेको समितिले जनाएको छ I

प्रकाशित मितिः शनिबार, १९ जेठ २०८१
https://jawaaf.com/storage/01HZ9TETJSKZA2PMYFWMT0PSYA.jpg

अब छोराछोरीको कमाइको १० प्रतिशत बाबुआमालाई दिनुपर्छ: मन्त्री चौधरी

भक्तपुर, १९ जेठ I महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री भगवती चौधरीले सरकारले छोराछोरीको कमाइको १० प्रतिशत रकम बाबुआमालाई दिनुपर्ने नीति ल्याउने तयारीमा रहेको बताउनुभएको छ ।

भक्तपुरमा आज सामुदायिक विकास तथा सेवा केन्द्र एवं सामुदायिक प्रहरी सेवा केन्द्र गठ्ठाघरको २०औँ स्थापना दिवस एवं सामुदायिक दर्पण लोकार्पण कार्यक्रममा उहाँले ज्येष्ठ नागरिक ऐन, ज्येष्ठ नागरिक नियमावलीको संशोधन पारित भएसँगै यस्तो नीति कार्यान्वयनमा आउने उल्लेख गर्नुभयो । 

आफ्नो आमाबाबुको सुरक्षा र संरक्षण हरेक छोराछोरीको दायित्व भए पनि आमाबाबु आफ्नै घरबाट अपहेलितमा पर्न थालेपछि ऐन पारित भएसँगै सरकारले कमाइको १० प्रतिशत बाबुआमालाई दिनुपर्ने व्यवस्था कार्यान्वयनमा आउने उहाँको भनाइ छ ।

मन्त्री चौधरीले भन्नुभयो, “आमाबाबु आफ्नै छोराछोरी वा हकवालाबाट अपहेलित भएर कोठामै बस्नुपर्ने अवस्था छ, त्यसैले अब छोराछोरी वा हकवालाले आफ्नो औपचारिक वा अनौपचारिक जुनसुकै क्षेत्रबाट हुने कमाइको १० प्रतिशत रकम आफ्नो बाबुआमलाई दिनैपर्ने व्यवस्था गर्न लागेका छौँ ।”

विधेयक पारित भएर ऐनले दिएको अधिकारलाई सात सय ५३ वटै पालिकामा पठाएर यसलाई कार्यान्वयनमा ल्याउने तयारी गरिरहेको भन्दै उहाँले संविधानले दिएको हकलाई अब ज्येष्ठ नागरिकले उपभोग गर्न पाउने बताउनुभयो । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले ज्येष्ठ नागरिकको अनुभव साट्ने थलोका रूपमा विकास गर्न सबै पालिकामा ज्येष्ठ नागरिक दिवा केन्द्र र ज्येष्ठ नागरिक मिलन केन्द्र स्थापना गर्ने तयारी गरेको उहाँको भनाइ थियो ।

मन्त्री चौधरीले भन्नुभयो, “हामीले ज्येष्ठ नागरिकको जीवन सुखी बनाउन ज्येष्ठ नागरिक मिलन केन्द्र प्रत्येक पालिकामा सञ्चालन गर्न र संरक्षणविहीन ज्येष्ठ नागरिकलाई सुरक्षित राख्न सातै प्रदेशमा ज्येष्ठ नागरिक संरक्षण भवन बनाउन मन्त्रालयले बजेट माग गरेका थियौँ तर हाम्रो मन्त्रालयको रु २९ करोड बजेट काटियो तर पनि यो लक्ष्य पूरा गर्न विकास साझेदार संस्थासँग समन्वय गर्छौँ ।”

विभिन्न कारणले बेचिएका बालबालिका तथा महिलालाई फर्काएर देशमा ल्याएपछि त्यसको अभिभावकत्व ग्रहण गर्ने जिम्मेवारी राज्यले बहन गर्न नसकेको भन्दै मन्त्री चौधरीले भन्नुभयो, “कतिपय बेचिएका महिला तथा बालबालिकालाई फर्काएर ल्याएपछि फर्केर घर वा माइती जाने र उनीहरूले स्वीकार्ने अवथा नरहँदा उनीहरूलाई कहाँ लाने भन्ने अन्योल छ, राज्यले अभिभावकत्व ग्रहण नगर्दा बाध्य भएर निजी संस्थालाई गुहार्नुपर्छ, तर उनीहरूले बजेट नभएको गुनासो गर्छन्, त्यसैले यस्ता महिलालाई राख्न सातै प्रदेशमा कम्तीमा एक–एक सुरक्षित आवास निर्माण गर्नुपर्छ ।”

निजामती सेवामा २८ प्रतिशत महिलाको प्रवेश हुनु खुसीको कुरा रहे पनि जनप्रतिनिधिमा नेतृत्व तीन प्रतिशत महिलामात्रै पुग्नु कमजोरी रहेको उहाँले औँल्याउनुभयो ।

कार्यक्रममा बागमती प्रदेशका कृषि तथा पशुपक्षी विकासमन्त्री डा राजेन्द्रमान श्रेष्ठले प्रदेश सरकारले कृषिका लागि आवश्यक बजेट विनियोजन गरेको चर्चा गर्दै रासायनिक मलको अभाव नहुने दाबी गर्नुभयो । उहाँले प्राङ्गारिक मलको उत्पादनमा किसानलाई प्रोत्साहन गरिने बताउँदै पर्याप्त दूध उत्पादन भएर बिक्री नभएपछि प्रदेशमा धुलो दूध उत्पादन भइरहेको बताउनुभयो ।

कार्यक्रममा बागमती प्रदेशसभाका सदस्य धनेश्वरी प्रजापति, नेपाल प्रहरीका अतिरिक्त महानिरिक्षक दीपक थापा, भक्तपुरकी प्रमुख जिल्ला अधिकारी रोशनीकुमारी श्रेष्ठ, केन्द्रका महासचिव नारायणप्रसाद न्यौपाने, केन्द्रका अध्यक्ष खेमप्रसाद सुवेदीलगायतले सामुदायिक सेवाभावले संस्थाहरू अगाडि बढ्नसके समाजको विकासमा तीव्रता हुने बताउनुभयो । त्यसअवसरमा सामुदायिक दर्पण लोकार्पण एवं विभिन्न व्यक्ति एवं संस्थालाई सम्मान गरिएको थियो ।

प्रकाशित मितिः शनिबार, १९ जेठ २०८१
https://jawaaf.com/storage/01HZ9R55AHPF1JSG0Q814KS60G.jpg

बजेटमा व्यापक छलफल गर्न अध्यक्ष ओलीको निर्देशन

काठमाडौँ, १९ जेठ I नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आगामी आर्थिक वर्षको बजेटमा केही कमीकमजोरी भए पनि त्यसमा व्यापक छलफल गरेर  पारित गर्नुपर्ने बताउनुभएको छ । 

नयाँ बानेश्वरस्थित संसद् भवनमा आज भएको नेकपा (एमाले)  संसदीय दलको बैठकमा उहाँले बजेटमा सघन छलफल गरेर त्यसलाई पारित गर्नुपर्छ भन्नुभयो । “बजेटलाई  हामी पूर्णरूपेण समर्थन गर्दै त्यसलाई पारित गर्नेछौँ । यसको अर्थ बजेटका कमीकमजोरी नऔँल्याउने भन्ने होइन,” उहाँको भनाइ उद्धृत गर्दै दलका एकजना सदस्यले रासस प्रतिनिधिसँग भन्नुभयो । 

अध्यक्ष ओलीले आफ्नो क्षेत्रका आयोजनाका निम्ति विनियोजित रकम तथा  प्रस्तावित आयोजना बजेटमा समावेश भएनभएको निक्र्योल गर्न आफ्नो दलका सांसदहरूलाई सुझाव दिनुभयो । उहाँले सरकारमा सहभागी दलसँग परामर्श गरेर सदनमा बजेट पेस भएको बताउनुभयो । 

बैठकमा पार्टी उपाध्यक्ष एवं पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेले बजेटका सबल र दुर्बल पक्षको समीक्षा गर्नुभएको थियो ।

प्रकाशित मितिः शनिबार, १९ जेठ २०८१
https://jawaaf.com/storage/01HZ9QSSTGEVGTRD647F5Z96RE.jpg

‘राष्ट्रनिर्माणमा दलित’ सार्वजनिक‘

काठमाडौँ, १९ जेठ I लेखकद्वय त्रिभुवनचन्द्र वाग्ले र किरणचन्द्र वाग्लेद्वारा लिखित ‘राष्ट्रनिर्माणमा दलित’ नामक पुस्तक सार्वजनिक भएको छ ।  पुस्तकभित्र राष्ट्रनिर्माणमा विभिन्न समयमा योगदान पु¥याएका दलित समुदाय अग्रज व्यक्तित्वको जीवनीलाई जीवन्त रुपमा उतारिएको छ ।  ती समुदायका ईश्वर रिजाल, उमालाल विश्वकर्मा, ऋषिबावु परियार, ओमप्रकाश भिके, ओमप्रकाश रामदाम, कालु सार्की, कृष्ण दर्जी, किसन दुसाध, कृष्ण दर्जी, कृष्णसिंह परियार, खेम नेपाली, गणेशबहादुर परियार, गिरीबहादुर बस्याल, गोल्छे सार्की र घोइरे कामीलगायत १२१  व्यक्तित्वका जीवनीलाई पुस्तकभित्र समेटिएको छ ।   

राष्ट्रिय दलित आयोगका अध्यक्ष देवराज विश्वकर्मा, पूर्वमन्त्री जीतु गौतम, संविधानसभा सदस्य कमला विश्वकर्मा, पूर्वराजदूत पदम सुन्दास र पूर्वसचिव डा मानबहादुर विकलगायतले यहाँ आज आयोजित कार्यक्रममा  सो पुस्तकको सार्वजनिक गर्नुभयो ।  सो अवसरमा आयोगका अध्यक्ष देवराजले दलित समुदायले अझै पनि भोग्दै आएको आर्थिक, सामाजिक र राजनीतिक समस्या समाधान नभएसम्म समृद्ध नेपाल निर्माणको सपना पूरा हुन सक्दैन भन्नुभयो । उहाँले भन्नुभयो, “जतिसुकै उच्च तहमा पुगे पनि दलित समुदायलाई हेर्ने दृष्टिकोण र व्यवहारमा परिर्वतन हुन सकेको छैन ।  जातीय भेद्भाव तथा छुवाछूतका व्यवहारमा परिवर्तन आएको छैन ।”

पूर्वमन्त्री जितुले पर्याप्त अधिकारलाई संस्थागत गर्दै थप अधिकार सुनिश्चित र प्राप्तिको निम्ति दलितसहित सिमान्तकृत समुदाय एकजुट हुनुपर्छ भन्नुभयो । पूर्वराजदूत सुन्दासले दलित समुदायको सीप, कला र संस्कृतिको संरक्षण र प्रवर्द्धन गर्नुपर्नेमा जोड दिनुभयो । संविधानसभा सदस्य कमलाले दलित समुदायको अधिकारका लागि थप कानुन बनाएर कार्यान्वयन गर्नुपर्ने धारणा व्यक्त गर्नुभयो । पुस्तकका लेखकद्वय त्रिभुवनचन्द्र र किरणचन्द्रले पुस्तकका बारेमा चर्चा गर्नुभएको थियो । 

प्रकाशित मितिः शनिबार, १९ जेठ २०८१
https://jawaaf.com/storage/01HZ9Q8R3BAHBVMNKJSDJNQ76X.jpg

एघार दिनपछि मनसुन भित्रिने पूर्वानुमान

काठमाडौँ, १९ जेठ I जल तथा मौसम विज्ञान विभागले यस वर्षको मनसुन भारतको उत्तरपूर्वी भूभाग, बङ्गलादेश, भुटान हुँदै भारतको सिक्किम सम्म आइपुगेको जनाएको छ ।   
  
विभागले आज मध्याह्न ‘मनसुन आगमन अनुगमन बुलेटिन’ प्रकाशन गर्दै “नेपालको पूर्वी भूभागमा मनसुन भित्रिन अझै केही दिन लाग्ने देखिएको छ । नेपालको पूर्वी भू–भागमा मनसुन आगमन हुने सरदर मिति जुन १३ रहेको छ”, भनेको छ ।   
  
यस वर्षको मनसुनी प्रणालीलाई मौसम पूर्वानुमान महाशाखाले निरन्तर अनुगमन गरिरहेको तथा सोहीअनुसार नियमित रूपमा अद्यावधिक गरिने विभागको उक्त सूचनामा जनाइएको छ ।  

प्रकाशित मितिः शनिबार, १९ जेठ २०८१
https://jawaaf.com/storage/01HZ9PT9M99MA8B2B30JTK84M7.png

राप्रपा भक्तपुर अध्यक्षमा कार्की निर्वाचित

भक्तपुर, १९ जेठ I राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को भक्तपुर जिल्ला कार्य समितिको अध्यक्षमा अर्जुन कार्की निर्वाचित हुनु भएको छ । पार्टीको आज सम्पन्न नवौँ जिल्ला अधिवेशनले उहाँको अध्यक्षतामा २४ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो । 

अध्यक्षमा निर्वाचित कार्कीले एक सय ९५ मत पाउनुभएको थियोभने उहाँका निकतम प्रतिद्वन्दी रामशरण लामिछानेले ९२ मत प्राप्त गर्नु भएको थियो । 
राप्रपाको पहिलो बैठकले पदाधिकारी तोक्ने र अन्य ६ जना सदस्य मनोनयन गरेर ३१ सदस्यीय जिल्ला कार्य समिति बनाउने निर्णय गरेको राप्रपाका सहमहामन्त्री रवीन्द्रप्रताप शाहले राससलाई जानकारी दिनुभयो ।

प्रकाशित मितिः शनिबार, १९ जेठ २०८१
https://jawaaf.com/storage/01HZ9K3ZWWMD4MWZQEP7JJ69GQ.jpg

श्रम समस्या समाधान गर्न ‘श्रमाधान रोजगार मेला'

गोदार (धनुषा), १९ जेठ I श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालले ‘श्रमाधान रोजगार मेला’ श्रम क्षेत्रका समस्या समाधानको उपायका रूपमा सुरू गरिएको बताउनुभएको छ । 

 जनकपुरधामस्थित उद्योग वाणिज्य सङ्घमा आयोजित मेलाको आज यहाँ उद्घाटन गर्दै उहाँले बेरोजगार युवालाई रोजगारीको व्यवस्था गर्न स्थानीय उद्योगीलाई आग्रह गर्नुभयो । 

मन्त्री अर्यालले रोजगारीको खोजीमा मधेसबाट ठूलो सङ्ख्यामा युवा पुस्ता विदेश जानेक्रम नरोकिएकामा चिन्ता व्यक्त गर्दै कृषिकर्ममा लाग्न उनीहरूलाई लाग्न आग्रह गर्नुभयो ।  “स्वदेश र विदेशमा भएका नेपाली श्रमिकका चाङका चाङ समस्या आउँछन् । एउटै माध्यमबाट समस्या सङ्कलन र समाधान गर्न श्रमाधान सुरू गरिएको हो”, उहाँले भन्नुभयो । 

मन्त्री अर्यालले मेलाबाट अहिले नै ठ्याक्कै यति रोजगारी दिन सकिन्छ भन्ने ग्यारेन्टी गर्न नसकिए पनि श्रमिक र रोजगारदाताका समस्या, आवश्यकताबारे बुझ्ने र दीर्घकालीनरूपमा श्रम क्षेत्रका समस्या समाधानका लागि महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गर्नुभयो ।

प्रकाशित मितिः शनिबार, १९ जेठ २०८१