मङ्गलबार, ०९ भदौ २०८३

/frontend/images/redline.png
https://jawaaf.com/storage/01HZ2G6ZAT2214CAT2TQN0DHEN.jpg

तरकारीमा कर खारेजीले गृहिणीलाई राहत

काठमाडौँ, १६ जेठ : प्रत्येक वर्षको बजेट भाषणले गृहिणीलाई बढी चिन्तित बनाउँथ्यो । किनकी महँगी वृद्धिले भान्सामा आलु, प्याज जुटाउन मुस्किल हुने गर्थ्यो । यसपटक भने बजेट भाषण सुनेपछि गृहिणीहरुले राहत महसुस गरेका छन् ।

अर्थमन्त्री वर्षमान पुनले मङ्गलबार प्रस्तुत गर्नुभएको आगामी आर्थिक वर्षको बजेट वक्तव्यमा तरकारी तथा फलफूलमा लगाइने मूल्य अभिवृद्धि कर खारेज गरेको बताउनुभयो । स्वदेशी उत्पादन संरक्षणमा टेवा पुग्ने हेतुले सरकारले यस्तो निर्णय लिएको उहाँको भनाइ थियो । तर मदिरा, बियर, सूर्ती र चुरोटलगायतमा भने अन्तःशुल्क दरमा वृद्धि गरिने वक्तव्यमा उल्लेख छ ।

शङ्खमूलकी शारदा भण्डारीले बजेट भाषण प्रत्यक्ष नसुनेपनि अरुकै मुखबाट तरकारी र फलफूलमा कर खारेज भएको समाचार सुनेको बताउनुभयो । सरकारको यो निर्णयले शारदा निकै खुसी हुनुहुन्छ । “वर्षैपिच्छे बजेट भाषणले भान्सा महँगिने चिन्ता हुन्थ्यो, यसपाली ढुक्क भएँ”, उहाँले भन्नुभयो, “तरकारीको मूल्य बढ्दा सबैभन्दा तनाव हामी गृहिणीलाई हुन्छ ।”

घरमा कमाउने श्रीमान् भए पनि सीमित खर्चमै परिवार धान्नुपर्ने बाध्यता रहने उहाँले बताउनुभयो । महँगी बढेमा कसरी पकाएर खुवाउने भन्ने तनाव यो पटक हटेकोमा उहाँले खुशी व्यक्त गर्नुभयो ।

बुद्धनगरकी प्रियङ्का दाहालले बजेट भाषणको सबैभन्दा राहत दिने पक्ष भनेकै तरकारी र फलफूलमा कर खारेजी भएको सुनाउनुभयो । घरको भान्सा सकेसम्म सस्तो हुनुपर्ने उहाँको बुझाइ छ । यसमा सरकारले मर्म बुझ्नुपर्ने हुँदा कर खारेजी प्रशंसनीय रहेको उहाँले बताउनुभयो । तर विचौलिया र कालोबजारीले गर्दा सस्तो तरकारी महँगोमा किन्नुपर्ने बाध्यता कसरी हट्ला भन्ने उहाँको चिन्ता छ । उहाँले गाउँमा १० रुपैयाँ मूल्य पर्ने टमाटर काठमाडौँमा महँगोमा खरिद गर्नुपर्ने बाध्यता रहेको बताउनुभयो ।

अघिल्लो वर्ष फलफूलमा १३ प्रतिशत भ्याट लगाउने नीति राखिएको थियो । १३ प्रतिशत भ्याटले रु ४० प्रतिकिलोको प्याजमा मूल्यवृद्धि भई रु ६० पुगेको थियो । अब भने त्यही १३ प्रतिशत भ्याट कर खारेजी पछि प्याज, आलुलगायत तरकारीको मूल्य सस्तो पर्ने व्यापारी बताउँछन् । 

नेपाल कृषिउपज आलुप्याज आयात निर्यात तथा थोक बिक्रेता  सङ्घका महासचिव  प्रकाश गजुरेलले सरकारले घोषणा गरेको भ्याट खारेजीले नेपाली उत्पादनमा सहयोग पुग्ने बताउनुभयो । “कर खारेजले स्थानीय किसानदेखि घरको भान्सासम्म राहत मिल्छ”, उहाँले भन्नुभयो, “हामीले धेरैपटक कर हटाउनुपर्छ भन्दै सरकारकासँग माग गर्दै आएका थियौँ । यसैको सुनुवाइ भएको हो ।”

प्रकाशित मितिः बुधबार, १६ जेठ २०८१
https://jawaaf.com/storage/01HZ1NWBR1PVBYDRHMEJT0S5YP.jpg

महिला ट्राफिक प्रहरीलाई राहत : महिनावारीका बेला सडकमा जानु नपर्ने

१६ जेठ, काठमाडौँ I गृहमन्त्री रवि लामिछानेले रजोवती भएका बेला ट्राफिक प्रहरीलाई चार दिन सडकमा खटिननपर्ने निर्णय गर्नुभएको छ । गृहमन्त्रीले मङ्गलबारदेखि लागू हुने गरी उक्त निर्णय गर्नुभएको हो । 

काठमाडौँ उपत्यका प्रहरी कार्यालयको निर्देशनअनुसार गृहमन्त्रीस्तरीय उक्त निर्णय सोही दिनदेखि कार्यान्वयन भएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालका प्रवक्ता जीवनकुमार श्रेष्ठले राससलाई बताउनुभयो । हाल उपत्यकाभित्र  दुई सय १३ जना महिला ट्राफिक प्रहरी कार्यरत छन् । थापाथली ट्राफिक प्रहरी वृत्तमा सबैभन्दा धेरै १७ जना महिला ट्राफिक खटिएका उहाँले जानकारी दिनुभयो ।  

 ट्राफिक महिलाले महिनावारीका बेला चार दिन सडकमा खटिनु नपर्ने निर्णयको महिला ट्राफिक प्रहरीले स्वागत गरेका छन् । थापाथली वृत्तकी अञ्जु नेपालीले सरकारको उक्त निर्णयबाट आफूहरूलाई ठूलो राहत हुने बताउनुभयो । 

यसैबीच, मादक पदार्थ सेवन गरी सवारी साधन चलाउने, सङ्केत वत्ती, गति सीमितलगायत सवारी नियम उल्लङ्घन गर्नेहरूलाई भविष्यमा त्यस्ता गल्ती दोहोरिन नदिने उद्देश्यले ट्राफिक प्रहरीसँगै उनीहरूलाई स्वयंसेवकका रूपमा सडकमा खटाएको छ । सवारी नियम उल्लङ्घनकर्तालाई उनीहरूले त्यसो नगर्न सम्झाउने छन् । 

प्रकाशित मितिः बुधबार, १६ जेठ २०८१
https://jawaaf.com/storage/01HZ1N92T1ATE9FE7KAEJ0X8QM.gif

उत्खनन र अनुसन्धानको पर्खाइमा मुक्तेश्वर मन्दिर

१६ जेठ, बरहथवा (सर्लाही) I धार्मिक पर्यटनको प्रशस्त सम्भावना बोकेको सर्लाहीको बरहथवा नगरपालिकास्थित मुक्तेश्वर महादेव मन्दिर उत्खनन र अनुसन्धानको पर्खाइमा छ । बरहथवा नगरपालिका–९, मूर्तियामा रहेको ऐतिहासिक मुक्तेश्वर मन्दिर प्रचारप्रसार अभावमा ओझेलमा परेको हो । 

विभिन्न दस्तावेजमा उल्लेख भएअनुसार दुई हजार ६ सय वर्ष पहिला भक्तपुरको तलेजु भवानी मन्दिरसँगै गयासुद्घिन भन्ने भारतका शासकले यस मन्दिर पनि भत्काइदिएका थिए । तलेजु भगवतीको मन्दिर भत्काएर फर्कने क्रममा बाटोमा रहेको यस मन्दिर समेत ध्वस्त बनाइदिएको स्थानीय जानकारहरुको भनाइ छ । यस मन्दिर बजेट अभावमा संरक्षण हुन सकेको छैन । बजेट अभावमा पुनःनिर्माण हुन नसक्दा मन्दिर परिसरमा रहेका ऐतिहासिक संरचना जीर्ण अवस्थामा पुगेका वडाध्यक्ष तुलसीप्रसाद लुइँटेलले बताउनुभयो । 

पूर्व–पश्चिम राजमार्गबाट १० किलोमिटरको दूरीमा रहेको यस मन्दिरमा दैवी शक्ति रहेको स्थानीय विमला कार्कीको भनाइ छ । विषेश गरेर यस मन्दिरमा साउनको सोमबार र शिवरात्रिमा भक्तजनको बाक्लो घुइँचो लाग्ने गर्दछ । मन्दिर दर्शनका लागि भारतका विभिन्न स्थानबाट समेत भक्तजन आउने गर्दछन् । बरहथवा नगरपालिका–९, स्थानीय ८२ वर्षीया चन्द्रनिधि तिवारीले तत्कालीन अवस्थामा यस क्षेत्र चीन र भारतको व्यापारिक केन्द्र सुवर्णग्राम सहरका रुपमा रहेको कौटिल्य शास्त्रमा उल्लेख रहेको बताउनुभयो । गयासुद्घिनले मन्दिर र सहरमा आक्रमण गरेपछि यस क्षेत्र जङ्गलमा परिणत भएको उहाँको भनाइ छ । यस मन्दिर आसपासमा अझै पनि बुद्धकालीन इँटाहरु फेला पर्ने गरेको छ । 

मन्दिर परिसरमार रहेका संरचनामध्ये मूल मन्दिरको पुरातत्व विभागले पुनःनिर्माण गरेको थियो । सोही क्रममा मन्दिरमा प्रयोग भएको कलात्मक ढुङ्गामा दुई हजार ६ सय वर्ष पुरानो बोलीचालीको भाषा ब्रह्म लिपि फेला परेको हो । विभागका तत्कालीन योजना प्रमुख रामबहादुर कुँवरको नेतृत्वमा भएको उत्खनन तथा पुनःनिर्माणका क्रममा ढुङ्गाको ब्लकमा ब्रह्म लिपि अर्थात् पाली भाषा कुँदिएको फेला परेको थियो । “मन्दिर बनाउन प्रयोग गरेको ढुङ्गामा पाली भाषामा लेखिएको भेटियो,” वडाध्यक्ष लुइँटेलले भन्नुभयो, “काम गर्ने मन्दिर बनाउने कर्मीले पक्कै त्यतिबेलाको बोलीचालीको भाषा नै ढुङ्गामा कँुदेको हुनुपर्छ ।” यस क्षेत्रमा चार फिट गहिरो खन्ने बित्तिकै ८÷८, ११÷११, १२÷१२ आकारका बुद्धकालीन इँटा फेला पर्ने गरेको स्थानीय रामकुमार नेपालले बताउनुभयो ।

मन्दिरको तीन किलोमिटर दक्षिणमा लौकठ, हिरापुरलगायतका गाउँ रहेको थियो । उक्त गाउँमा वाग्मतीलगायत विभिन्न नदीको बाढी पसेपछि २०११ सालमा स्थानीय बासिन्दा यस मन्दिर नजिकै बसाइँ सरेका थिए । गाउँ बढ्दै जाँदा यस मन्दिरको संरचनाहरु फेला परेको स्थानीय ७४ वर्षीय कृष्ण कडरियाले जानकारी दिनुभयो । उहाँका अनुसार २०२२ सालमा स्थानीयको पहलमा मन्दिर क्षेत्र सरसफाइ तथा यत्रतत्र रहेका मन्दिरका मूर्ति, गजुरलगायत सामान जम्मा गरेर मन्दिर स्थापना गरिएको थियो । 

मन्दिरको तीन सय मिटरदेखि तीन किलोमिटरको दूरीमा समकालीन चक्रेश्वर महादेव मन्दिर, गणेश मन्दिर, कटकुइँया (काठको पानी खाने डुँड), पोखरी, गुलरिया ताल, किसनपुर पोखरी, ब्रह्मनाल गुफालगायत संरचनाहरु अहिले पनि छन् । यी संरचना संरक्षणको अभावमा नष्ट हुने अवस्थामा पुगेका वडाध्यक्ष लुइँटेलले बताउनुभयोे । मन्दिर परिसरमा रहेको १० फिट गहिरो ४२ फिट लामो टनेलसंरक्षण हुन नसक्दा भत्किने अवस्थामा पुगेको छ । 

बजेट अभावमा यस मन्दिर क्षेत्रको उत्खनन र पुनःनिर्माण पूरा हुन नसकेको बरहथवा नगरपालिकाले जनाएको छ । ठूलो धनराशि लाग्ने भएपछि मन्दिर क्षेत्रको पहिलो चरणको पुनः निर्माण गरेर अरु त्यसै छाडिएको छ । स्थानीय तहको पहलमा २०७२÷७३ सालदेखि मन्दिरको मुख्य संरचनाको पुनःनिर्माण सुरु भएको थियो । दुईपटक गरेर पुरातत्व विभागले पहिलोपटक एक करोड र दोस्रो पटक पाँच करोड ३२ लाख लगानीमा मूल मन्दिरको पुनः निर्माण गरेको हो । विभागले सात वर्ष लगाएर मन्दिरको पुनःनिर्माण तथा उत्खनन गरेको थियो ।

विभागले गरेको अनुसन्धानबाट लुम्बिनीको मायादेवी मन्दिरमा फेला परेकै भाषा र  जमिनमुनिको इँटा यस मन्दिर परिसरमा पनि फेला परेको हो । यस अर्थमा पनि यो मन्दिरको संरचना पनि समकालीन रहेको दाबी गरिएको छ । यस मन्दिरको संरचना पुनः निर्माण तथा यस क्षेत्रको उत्खननका लागि पुरातत्व विभागबाहेक कतैबाट बजेटको व्यवस्था नभएको नगरपालिकाका प्रमुख कल्पनाकुमारी कटुवालले बताउनुभयो । बजेट नभएकै कारण धार्मिक पर्यटनको ठूलो सम्भावना बोकेको यस मन्दिरको प्रचारप्रसार तथा संरक्षण र पुनःनिर्माणका बाँकी काम अलपत्र परेको उहाँको भनाइ छ । 

प्रकाशित मितिः बुधबार, १६ जेठ २०८१
https://jawaaf.com/storage/01HZ1HMZT0GXBR9HJDAW41RDAV.jpg

प्रधानमन्त्री कप भलिबलको खेल तालिका सार्वजनिक

१६ जेठ, काठमाडौँ  I नेपाल भलिबल सङ्घको आयोजनामा हुने आठौँ प्रधानमन्त्री कप महिला तथा पुरुष भलिबल लिगको खेल तालिका आज सार्वजनिक भएको छ ।     
     
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा यही जेठ १९ देखि २६ गतेसम्म आयोजना हुने उक्त प्रतियोगितामा पुरुष तर्फ आठ र महिला तर्फ छ टोलीको सहभागिता रहने आयोजकले जनाएको छ ।     
     
प्रतियोगिताको पुरुषतर्फ टिपटप हेल्प नेपाल स्पोटर्स क्लब, सशस्त्र प्रहरी बलको एपिएफ, त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लबका साथै कोसी प्रदेश, गण्डकी प्रदेश, सुदूरपश्चिम प्रदेश र बूढानीलकण्ठ भलिबल क्लब रहेका छन् ।     
     
महिलातर्फ एभरेष्ट भलिबल क्लब बुटवल, नेपाल पुलिस क्लब, एपिएफ क्लब, चन्द्रागिरि न्युडायमण्ड, त्रिभुवन आर्मी क्लब र कर्णाली प्रदेश भलिबल टिमले प्रतिस्पर्धा गर्नेछन् ।     
     
यही जेठ १९ गते हुने प्रतियोगिताको उद्घाटन खेलमा पुरुषतर्फ टिपटप हेल्प नेपाल र बूढानीलकण्ड क्लबबीच प्रतिस्पर्धा हुनेछ । पहिलो दिन पुरुषतर्फ चार र महिलातर्फ दुई गरी छ खेल हुनेछन् ।     
     
साथै पुरुषतर्फ नेपाल पुलिस र सुदूरपश्चिम स्पोर्ट्स, एपिएफ र गण्डकी प्रदेश तथा त्रिभुवन आर्मी क्लब र कोसी प्रदेशबीच खेल हुनेछ । यसैगरी उद्घाटन खेलको महिलातर्फ एपिएफ र चन्द्रागिरि न्युडायमण्ड तथा नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी क्लबबीच हुनेछ ।     

प्रकाशित मितिः बुधबार, १६ जेठ २०८१
https://jawaaf.com/storage/01HZ1GZPCHTP8J7KKA3YEDGPJ0.svg

प्यालेस्टाइनलाई राज्यको मान्यता अभियानलाई संयुक्त राष्ट्रसङ्घद्वारा स्वागत

प्यालेस्टिनी जनताको अतिआवश्यक अधिकारको प्रत्याभूत गर्न बनेको विभागले प्यालेस्टाइनलाई राज्यको मान्यता दिने अभियानलाई मङ्गलबार स्वागत गरेको छ ।

विभागले बार्बाडोस, बहामास, आयरल्याण्ड, जमैका, नर्वे, स्पेन, ट्रिनिडाड र टोबागोले प्यालेस्टाइनलाई दिएको राज्यको मान्यतालाई हार्दिकताका साथ स्वागत गर्दै विभागले संयुक्त राष्ट्रसङ्घ महासभा अन्तर्गत समितिको नेतृत्व गर्दछ ।

ब्यूरोले प्यालेस्टिनी जनताको आत्मनिर्णयको अपरिहार्य अधिकारलाई समर्थन गरी गाजामा विनाशकारी युद्ध र प्यालेस्टिनी जनताको अस्तित्वको खतराको बीचमा आशा ल्याउन यी देशहरूको दृढ सङ्कल्पको प्रशंसा गर्दछ ।

प्यालेस्टिनी जनताको स्वतन्त्र राज्यको अधिकारसहित आत्मनिर्णयको अधिकारलाई  पुष्टि गर्ने सन् २०२४ मे–१० को महासभाको प्रस्तावपछि मान्यताको दिने क्रम बढेको हो ।

यस्तो घटनाक्रमले संयुक्त राष्ट्रसङ्घको बडापत्रमा स्थापित समान अधिकार र आत्मनिर्णयको माग गर्दै बढ्दो अन्तर्राष्ट्रिय आवाजहरू प्रतिध्वनित गर्दछ । यो पूर्वी जेरुसेलमलगायत प्यालेस्टिनी क्षेत्रमा ५७ बर्षे इजरायली कब्जाको अन्त्य र प्यालेस्टाइनको प्रश्नको न्यायपूर्ण, शान्तिपूर्ण र कूटनीतिक समाधानका लागि आवश्यक छ । 

ब्यूरोले राष्ट्रसङ्घीय सुरक्षा परिषद्लाई महासभाले व्यक्त गरेको व्यापक सहमतिसँग  जोड्न र प्यालेस्टिनी राज्यलाई संयुक्त राष्ट्रसङ्घको पूर्ण सदस्यको रूपमा प्रवेश गर्न सिफारिस गर्न आग्रह गर्दछ ।

यसैगरी, विभागले गाजामा चलिरहेको चरम इजरायली सैन्य कारबाहीको निन्दा गरेको छ । रफाहमा विस्थापित मानिसहरूको शिविरमा आइतवारको आक्रमणमा कम्तिमा ४५ प्यालेस्टिनी नागरिकहरू मारिए भने २०० भन्दा बढी घाइते भए । विभागले अनुसन्धानको माग गर्दै अन्तर्राष्ट्रिय कानूनको गम्भीर उल्लङ्घनका लागि जिम्मेवार व्यक्तिहरूको जवाफदेहीताको माग गर्दछ ।

विभागले अन्तर्राष्ट्रिय समुदायलाई इजरायली कब्जाको अन्त्य गरी प्यालेस्टाइनको प्रश्नको न्यायपूर्ण, स्थायी र शान्तिपूर्ण समाधान गर्न तत्काल र समन्वित प्रयासका लागि अपील गर्दै ऐतिहासिक र गम्भीर अन्यायको अन्त्य गर्न सकियोस् भन्न अभिप्राय उल्लेख गरेको  छ । 

प्रकाशित मितिः बुधबार, १६ जेठ २०८१
https://jawaaf.com/storage/01HZ1C91XEMP60N1DK8MRRK6FK.jpg

भूक्षय नियन्त्रणमा जैविक तटबन्ध प्रभावकारी

कञ्चनपुर, १६ जेठ I कञ्चनपुरमा बाँसको प्रयोग गरी भूक्षय नियन्त्रण गर्न निर्माण गरिँदै आएको जैविक तटबन्ध प्रभावकारी हुँदै गएको छ । थोरै लागतमा निर्माण हुने जैविक तटबन्धबाट खेतीयोग्य जग्गा नदीले कटान गरी बगाउने कार्य नियन्त्रण हुन थालेको छ ।   
  
जैविक तटबन्ध प्रभावकारी हुन थालेपछि स्थानीय तहहरूले दातृ निकायसँग सहकार्य गरी काम अगाडि बढाउँदै आएका छन् । जिल्लाका दोदा, वनहरा, सनवोरालगायत नदीमा दशकअघिदेखि जैविक तटबन्ध निर्माण गर्ने कार्य हँुदै आएको छ । हाल राष्ट्रिय समाज कल्याण सङ्घ (एनएनएसडब्लुए)ले ‘मर्सिकोर’को सहयोगमा सञ्चालन हुँदै आएको ‘एमरेड परियोजना’अन्तर्गत पालिकासँग सहकार्य गरी जैविक तटबन्ध निर्माण गर्दै आएको छ । यसअघि नेपाल रेडक्रस सोसाइटीले परियोजनासँगको सहकार्यमा जैविक तटबन्ध निर्माण गर्दै आएको थियो ।   
  
चालु आर्थिक वर्षमा शुक्लाफाँटा नगरपालिकासँगको लागत साझेदारीमा कल्याण सङ्घले एमरेड परियोजनाअन्तर्गत तीन सय मिटर जैविक तटबन्ध निर्माण गरेको छ । नगरपालिकाको वडा नं ११, २ र ३ भएर बग्ने सनवोरा नदीमा जैविक तटबन्ध निर्माण गरिएको छ । एमरेड परियोजनाका कार्यक्रम संयोजक महेश घिमिरेका अनुसार नगरपालिका र नेपाल राष्ट्रिय समाज कल्याण सङ्घको सहकार्यमा जैविक तटबन्ध निर्माण गरिएको हो ।   
  
कटानको उच्च जोखिममा रहेको वडा नं ११ कलुवापुरमा एक सय, वडा नं २ मा एक सय र ३ मा एक सय मिटर जैविक तटबन्ध निर्माण गरिएको छ । जैविक तटबन्ध निर्माणका लागि नगरपालिकाको तर्फबाट रु एक लाख ७९ हजार, प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत एक सय २६ दिनको रोजगारीवापत दक्ष र अदक्ष कामदारको रु ८३ हजार ज्याला ब्यहोरिएको छ । यसैगरी जनताको तटबन्धबाट रु ६ हजार तीन सय प्लाष्टिकका बोरा सहयोग गरिएको छ । स्थानीय समुदायले रु एक लाख २६ हजार बराबरको श्रमदान गरेका छन् । परियोजनाको तर्फबाट रु एक लाख ७२ हजार रकम व्यहोरिएको छ ।   
  
पुर्नवास नगरपालिका–७ परासन र वडा नं ९ सीताबस्तीको दोदा नदीमा नगरपालिकासँगको सहकार्यमा परियोजनाअन्तर्गत पाँच सय मिटर जैविक तटबन्ध निर्माण गरिएको छ । जैविक तटबन्ध निर्माणका लागि नगरपालिकाले रु तीन लाख ३९ हजार, प्रधानमन्त्री रोजगार कार्यक्रमबाट रु पाँच सय २० दिनको रोजगारीअन्तर्गत रु तीन लाख ४७ हजार र परियोजनाको तर्फबाट रु तीन लाख रकम व्यहोरिएको छ । तटबन्ध निर्माण गर्न स्थानीय समुदायले रु एक लाख १० हजार बराबरको श्रमदान गरेको छ ।   
  
“जैविक तटबन्ध निर्माण गरिएका क्षेत्रका समुदायलाई सङ्गठित गरी खाली रहेको बगरमा उखुखेती प्रवर्द्धनमा सहयोग गरेका छौँ”, संयोजक घिमिरले भन्नुभयो, “परियोजनाअन्तर्गत शुक्लाफाँटामा सात बिघामा २५ परिवारले उखुखेती गरेका छन् ।” पुर्नवास नगरपालिका नदी तटीय क्षेत्रका परिवारले पनि उखुखेती गर्दै आएका छन् । उखुको जराले माटोलाई बाँधेर राख्ने कार्य गर्ने भएकाले भूक्षयबाट रोक्ने र उखु बिक्री गरी नदी प्रभावित समुदायले गतिलो आम्दानी गर्दै आएको संयोजक घिमिरेले बताउनुभयो ।   
  
“उखुखेती गर्दै आएका किसानका लागि बजार प्रवर्द्धन गर्न चिनी मिल, सम्बन्धित पालिकाको कृषि विकास शाखासँग समन्वय र सहकार्य गरेका छौँ”, उहाँले भन्नुभयो, “बीउमा सहयोग, उखु रोप्ने प्राविधिक जानकारी, आधुनिक कृषि औजारमा सहयोग गर्ने कार्य हुँदै आएको छ ।” जैविक तटबन्ध निर्माण भएका क्षेत्रमा पानी सहन सक्ने, छिटो हुर्कने, बलियो र गहिरो जरा हाल्न सक्ने क्षमता भएका बिरुवा लगाउने काम पनि हुँदै आएका छन् ।   
  
राष्ट्रिय समाज कल्याण सङ्घका कार्यकारी निर्देशक अशोकविक्रम जैरुले जैविक तटबन्ध भूक्षय रोक्नमा प्रभावकारी भएकाले यसको माग पालिकाहरूबाट बढ्दो रूपमा आउन थालेको बताउनुभयो । “जैविक तटबन्धको महत्व नबुझ्दा विगतमा सीमित क्षेत्रमा मात्रै निर्माण हुने गरेको थियो, थोरै लगानीमा निकै ठूलो फाइदा पुर्याउन थालेपछि तटबन्ध निर्माणमा स्थानीय तहले सहकार्य गर्न थालेका छन्”, उहाँले भन्नुभयो । बगरमा उखुखेती र बगरखेती गर्न प्रोत्साहीत गर्दै आएकाले स्थानीय समुदायको आर्थिक अवस्थमा सुधार आएको पाइएको कार्यकारी निर्देशक जैरुले उल्लेख गर्नुभयो ।  

प्रकाशित मितिः बुधबार, १६ जेठ २०८१
https://jawaaf.com/storage/01HZ1BW3NS2T8HAFZDN9HPR3JR.jpg

‘विश्वको साझा सम्पत्ति सगरमाथा जोगाऔँ‘

काठमाडौँ, १६ जेठ I सन् २०१९ को वसन्तयामको सगरमाथा आरोहणका क्रममा आरोहीको ट्राफिक जामको खबर नेपालसहित विश्वका चर्चित सञ्चारमाध्यममा पनि छायो । मे २१ मा सगरमाथाको चुचुरो नजिक भएको सो जामको समाचार बिबीसी, सीएनएनलगायतका सञ्चारमाध्यमले पनि प्रशारण गरे । समाचारसँगै छापिएको थियो सगरमाथा आरोहीको भीडको तस्वीर । यति विषय पाएपछि सामाजिक सञ्जालमा नआउने झन् कुरै भएन । तर यता नेपाल सरकारद्वारा गठित छानबिन समितिले भने सगरमाथामा जाम नभई लाम लागेको निष्कर्ष निकालेको थियो । 

पछिल्लो समय हरेक वर्षजसो सगरमाथामा आरोहीको जाम हुने गरेको छ । सगरमाथाको साउथ कोल भनेर चिनिने चौथो शिविर माथितिर हरेक आरोहणको याममा आरोहीको भीड लाग्ने गरेको छ । मौसम अनुकूल आरोहण अवधि छोटो समय भएकाले सबै आरोही एकैपटक गन्तव्यमा पुग्नुपर्ने बाध्यताले सगरमाथामा आरोहीको जाम हुने गरेको आरोहीको अनुभव छ । सगरमाथा आरोहणको समयलाई व्यवस्थित गर्न सकेको खण्डमा आरोहीको सङ्ख्या बाक्लो भए पनि आरोहीको ट्राफिक जाम कम हुने सगरमाथा आरोही ज्ञानेन्द्र श्रेष्ठ बताउनुहुन्छ । “समिट विन्डो’ कम हुने भएकाले सगरमाथामा आरोहीको जाम हुने गरेको छ”, उहाँले भन्नुभयो, “मे महिनाका सीमित केही दिनमा मात्रै आरोही चुुचरोमा पुग्नुपर्ने बाध्यता हुन्छ ।”

चुचुरो आसपासमा हिमपात र वायुको गतिजस्ता चुनौती केही सहज बन्छन् । त्यही दिनलाई व्यग्रतासाथ कुरे मौसमी हिासाबकिताब गर्दै आरोहीहरु चुचुरोसम्म पुग्छन् । ‘समिट विन्डो’ भनिने त्यस्तो छोटो समयमा अरु बेला प्रतिघण्टा दुई सय किलोमिटरको वेगमा हुने चुचुरोमा चल्ने वायुले केही उत्तरतर्फ मार्ग फेर्छ । यस्तो विन्डो एक–दुई दिन र कहिले दिनमै धेरैपकट फेरबदल भइरहन्छ ।

श्रेष्ठका अनुसार वसन्तयाम सगरमाथा आरोहणको उपयुक्त समय हो । मे महिनामा सामान्यतया पाँच–छवटा त्यस्ता विन्डो देखिन्छन् । सगरमाथा आरोहणका लागि अलि फराकिलो विन्डो भएका बेला धेरैजसो आरोही उकालो लाग्न थाल्छन् । ढिलो गर्दा कहिलेकाहीँ पछिल्ला अवधिमा विन्डो देखा नपर्न सक्ने जोखिम भएकाले आरोहीहरू अघिल्लो विन्डोमा जान खोज्छन् । यस्तै परिस्थितिमाझ सगरमाथामा ट्राफिक जामको अवस्था सिर्जना हुने गरेको आरोही श्रेष्ठले बताउनुभयो । सगरमाथा आरोहण सुरु हुने १५ दिन अगाडि नै ‘रोप फिक्सिङ’ गर्न सकेको खण्डमा आरोहीको सङ्ख्या पाँच–छ सय भएर पनि केही फरक नपर्ने आरोही श्रेष्ठको भनाइ छ ।

आरोही श्रेष्ठले सगरमाथामा आरोहणको प्रतिस्पर्धा, पर्वतारोहणको तयारीबिनै रेकर्डको होडबाजीले सर्वोच्च शिखर पुग्ने सस्तो लोकप्रियताले सगरमाथाको गरिमा घटाउने बताउनुभयो । विदेशी मुद्राका लागि पर्यटनमा उच्च निर्भर नेपालका लागि आरोहीको सङ्ख्या बढ्नु सुखद् भए पनि अन्तर्राष्ट्रिय जगत्मा यो सङ्ख्यालाई विभिन्न नकारात्मक टीकाटिप्पणी गर्न थलिएको उहाँको भनाइ छ ।

पछिल्लो पाँच वर्षयता सगरमाथामा आरोहीको भीड लाग्ने गरेको छ । एकैदिन एक सयभन्दा बढी आरोही चुचुरोमा पुगेको विषयले पनि निकै चर्चा पाइरहेको छ । वसन्त ऋतुको यो याममा पनि सगरमाथाको चुचुरोमा आरोहीको जाम भएको श्रव्यदृश्य  सामाजिक सञ्जालमा छाएको छ । पर्यटन विभागको साहसिक पर्यटन तथा पर्वतारोहण शाखाका निर्देशक राकेश गुरुङका अनुसार यस याममा चार सय २१ जनाले सगरमाथा आरोहणको अनुमति लिएकामा शेर्पा सहयोगीसहित ६ सयभन्दा बढीले आरोहण गरेका छन् । अघिल्लो वर्ष सन् २०२३ मा हालसम्मकै बढी चार सय ७८ जनाले सगरमाथा आरोहणको अनुमति लिएका थिए । उनीहरूमध्ये शेर्पा सहयोगीसहित सात सयभन्दा बढीले सगरमाथा आरोहण गरेको जनाइएको छ ।

सगरमाथा आरोहणमा जाने आरोहीको कोटा र आरोहण समयमै तोक्न हालै सर्वोच्च अदालतले आदेश दिएको छ । अधिवक्ता दिवकविक्रम मिश्रले दायर गरेको सार्वजनिक सरोकारको रिटमा गत वैशाख १४ गते सर्वोच्च अदालतका न्यायाधीशद्वय सपना प्रधान मल्ल र सुष्मालता माथेमाको संयुक्त इजलासले उत्प्रेषण परमादेश जारी गरेको हो । उक्त आदेशानुसार अब हुने पर्वतारोहणको क्रममा पर्वतको सामथ्र्यताको सम्मान गर्दै उसको सीमाको मान्यता दिनुपर्ने भनेको छ ।

नेपाल पर्वतारोहण सङ्घका महासचिव मोहन लम्सालले सगरमाथा आरोहणमा निश्चित सङ्ख्या निर्धारण हुन जरुरी भएको बताउनुभयो । उहाँले भन्नुभयो, “सगरमाथा आरोहमा ‘लिमिट’ गरिनुपर्छ । सङ्ख्या बढी हुँदा आरोहीको जामलाग्ने, फोहर हुने अन्य जोखिम पनि बढ्ने हुँदा आरोहीको सङ्ख्या तीन सय हाराहारी हुँदा भीडभाड कम र फोहरमैला व्यवस्थापनमा पनि सहज हुन्छ ।”

महासचिव लम्सालले यस याममा पनि सगरमाथामा जाम लागेको तस्बिर सामाजिक सञ्जालमा आइरहेको भन्दै सगरमाथाको शानलाई बचाउन, जलवायु परिवर्तनको जोखिमबाट जोगाउन, स्वच्छता कायम गर्न सबै जिम्मेवार भएर लाग्नुपर्ने बताउनुभयो । सगरमाथमा जाम हँुदा अक्सिजन कम भएर आरोहीको मृत्यु हुने जोखिम रहन्छ । विभागका अनुसार यस याममा सगरमाथा आरोहणका क्रममा नौजनाको मृत्यु भएको छ । अघिल्लो याममा १८ जनाको मृत्यु भएको थियो । यस वर्ष मकालु हिमालमा पनि दुई आरोहीको मृत्यु भएको छ ।

एकहत्तरौँ अन्तर्राष्ट्रिय सगरमाथा दिवस मनाइरहँदा सगरमाथाको पहिचान र गौरवलाई कायम राख्न अपनाउनुपर्ने सचेतनाबारे पनि उत्तिकै ध्यान दिन जरुरी छ । विश्वको सर्वोच्च शिखर सगरमाथा (आठ हजार आठ सय ४८ दशमलव ८६ मिटर) को चुचुरोमा मानवले पहिलोपटक पाइला टेकेको ७१ वर्ष पुगेको छ । सन् १९५३ मे २९ तारिखका दिन दुई साहसी पर्वतारोही नेपाली तेञ्जिङनोर्गे शेर्पा र न्यूजील्याण्डका सर एडमन्ड हिलारी सगरमाथाको चुचुरोमा पुग्नुभएको थियो ।  यो अवधिमा सगरमाथाले इज्जत, मान, प्रतिष्ठा र आर्थिक हिसाबले पनि नेपाललाई मात्रै होइन, विश्वलाई धेरै दिएको छ । विश्वको साँझा सम्पत्तिको रूपमा रहेको सगरमाथालाई जोगाउने साझा दायित्व पनि हो ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री हितबहादुर तामाङ सगरमाथा देशको शान, अन्तर्राष्ट्रिय साझा सम्पदा पनि भएकाले यसको संरक्षण गरी पहिचान र गरिमालाई  उँचो बनाउन सबै तवरबाट पहल हुनुपर्ने बताउनुहुन्छ । “सगरमाथा नेपालको भूमिमा रहेको अन्तर्राष्ट्रिय सम्पदा हो, यसलाई प्रवर्द्धन गरेर नेपालमा बढीभन्दा बढी पर्यटक भित्र्याउने हाम्रो उद्देश्य हो, त्यसका लागि विगतबाट सिकेर आगामी दिनमा गर्नुपर्ने काम पक्कै पनि गर्नेछौँ”, उहाँले भन्नुभयो । सगरमाथा आरोहणलाई व्यवस्थित बनाउन विगतको भन्दा यस वर्ष व्यवस्थापकीय हिसाबले धेरै सकारात्मक काम भएको मन्त्री तामाङको भनाइ छ । 

सगरमाथा आधार शिविरमा फिल्ड कार्यालय स्थापना गरिएको, आरोहीको उद्धार केन्द्र बनाउनेलगायत गर्नुपर्ने कामलाई आगामी दिनमा प्राथमिकता दिने पर्यटनमन्त्री तामाङको भनाइ छ । उहाँका अनुसार सगरमाथा दिवसका अवसरमा यसपटक स्वदेशी तथा विदेशी सगरमाथा आरोहीलाई परिचयपत्र प्रदान गर्ने कार्यक्रम रहेको छ । साथै कीर्तिमानी आरोही, विदेशी आरोहीलाई सम्मान गरिनेछ ।

यसरी बर्सेनि आरोहीको ट्राफिक जामले सगरमाथाको शान जोगाउन चुनौती बनिरहेको छ । सगरमाथालाई वातावरणमैत्री, सफा राख्न नेपाल मात्र होइन विश्वकै ध्यान जान जरुरी छ । विश्वको सम्पदा संसारकै अग्लो चुली सगरमाथाको गरिमालाई कायम राख्न तथा जलवायु परिवर्तनको जोखिमबाट यसलाई जोगाउन ध्यान दिनुपर्ने अपरिहार्यता छ । आरोहीको सङ्ख्या बढ्दा देशको अर्थतन्त्रमा समेत टेवा पुग्छ । तर पैसालाई मात्र हेरेर हिमालको संरक्षण नगर्ने हो भने एक दिन सगरमाथा पनि कालापत्थरमा परिणत नहोला भन्न सकिन्न । 

पर्वतारोहणसम्बन्धी नियमावली, २०५९ अनुसार वसन्त ऋतुमा सगरमाथा आरोहणमा जानेबाट प्रतिव्यक्ति विदेशीले रु ११ लाख दस्तुर तिर्नुपर्छ । नेपालीले रु ७५ हजार तिर्नुपर्छ । विदेशीले एकपटक सगरमाथा आरोहण गर्दा कम्तीमा रु ३० लाखदेखि रु एक करोडसम्म खर्च गर्छन् । मुलुकको पर्यटनको महत्त्वपूर्ण आधार मानिने पर्वतारोहण राजस्व आम्दानीका हिसाबले पनि सबैभन्दा धेरै हिमालबाटै ‘रोयल्टी’ उठ्छ । हिमाल आरोहणवापत वार्षिक झण्डै रु एक अर्ब रोयल्टी रकम जम्मा हुने गरेको बताइन्छ ।

पर्यटन विभागका महानिर्देशक रुद्रप्रसाद पण्डितले सगरमाथा आरोहणमा रोजगारी, होटल व्यवसाय, हवाई उडान, पोर्टर आदि जोडिएको विषय भएकाले यस विषयमा नीति थितिबेगर यसो गर्ने भनेर भन्न नसकिने बताउनुभयो । तथापि सगरमाथा आरोहणलाई व्यवस्थित गर्न र स्वच्छता र वातावरणमैत्री कायम गर्न सबै सरोकारवाला जिम्मेवार भएर लाग्नुपर्नेमा उहाँले जोड दिनुभयो ।

सगरमाथा आरोहणको ७१ वर्ष

सगरमाथा आरोहणको ७१ वर्ष पूरा भएको छ । सन् १९५३ मे २९ तारिखका दिन नेपाली तेन्जिङनोर्गे शेर्पा र न्यूजील्याण्डका सर एडमण्ड हिलारीले पहिलोपटक सगरमाथाको शिखरमा पाइला टेकी विश्वलाई मानवीय साहस र क्षमताको ऐतिहासिक परिचय दिनुभएको  थियो । सोही दिनलाई स्मरण गर्दै हरेक वर्ष मे २९ का दिन अन्तर्राष्टिय सगरमाथा दिवस मनाउन थालिएको हो । यस वर्ष पनि नेपाल सरकारले ‘विश्वको सर्वोच्च शिखर सगरमाथाः नेपालको पहिचान र गौरव’ भन्ने नाराका साथ विभिन्न कार्यक्रमको आयोजना गरी भव्य रूपमा सगरमाथा दिवस मनाइँदै छ । सोही अवसरमा आज बिहान प्रभातफेरी गरिएको छ ।

यस वर्षको ७१औँ सगरमाथा दिवसका अवसरमा कीर्तिमानी आरोहीहरू र पर्वतीय पर्यटन व्यवसायीलाई सम्मान गर्दै हिमालको प्राकृतिक वातावरणको संरक्षण र दिगो तथा सुरक्षित पर्यटन प्रवर्द्धन गर्ने विषयलाई महत्व दिइएको विभागले जनाएको छ । दिवसको आयोजनाले भावी पुस्तालाई हिमाल आरोहणको सपनाहरू पछ्याउँदै भावी परिदृश्यहरूको सम्मान र संरक्षण गर्नसमेत प्रोत्साहित गर्ने विश्वास लिइएको छ ।

पर्यटन विभागका महानिर्देशक पण्डितका अनुसार दिवसलाई भव्य र सभ्य रूपमा मनाउन पर्यटनमन्त्री तामाङको अध्यक्षतामा मूल समारोह समिति गठन गरिएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को प्रमुख आतिथ्यतामा हुने औपचारिक समारोहमा कीर्तिमानी आरोहीलगायतलाई सगरमाथा पुरस्कार, बाबुराम आचार्य पुरस्कार, तेन्जिङ– हिलारी पुरस्कार प्रदान गरिनेछ । अन्तर्राष्ट्रिय सगरमाथा दिवस नेपाल र विदेशमा समेत विभिन्न कार्यक्रमका साथ मनाउने गरिन्छ । सर्वोच्च शिखर सगरमाथासहित विश्वका आठ हजार मिटर अग्ला आठवटा हिमाल नेपालमा छन् । नेपालमा हाल चार सय पाँच हिमाल आरोहणका लागि खुला गरिएका छन् ।

आठ हजार बढीले चढे सगरमाथा

सगरमाथा आरोहणको इतिहासमा हालसम्म आठ हजारभन्दा बढी स्वदेशी तथा विदेशी पर्वतारोहीले सर्वोच्च शिखरको साहसिक विजययात्रा पूरा गरिसकेका छन् । सगरमाथा चढ्ने होडबाजीका साथै आरोहीहरूले नयाँ–नयाँ कीर्तिमान समेत थप्दै आएका छन् । कामीरिता शेर्पाले ३० पटक सगरमाथा आरोहण गरी विश्व कीर्तिमान बनाउनुभएको छ । उहाँले वसन्त ऋतुको यही याममा आफ्नै कीर्तिमान तोडेर नयाँ कीर्तिमान कायम गर्नुभएको हो । यस्तै गोरखाकी फुञ्जो झङ्मु लामाले १५ घण्टाभन्दा कम समयमै सगरमाथा आरोहण गरेर विश्व कीर्तिमान बनाउनुभयो । यस्तै फोटो पत्रकार तथा आरोही पूर्णिमा श्रेष्ठले एकै याममा तीनपटक सगरमाथा आरोहण गरेर महिला आरोहीको विश्व कीर्तिमान बनाउनुभयो । फुन्जो झङ्मु लामाले १५ घण्टाभन्दा कम समयमै विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण गरेर कीर्तिमान कायम गर्नुभएको छ ।

सन् १९७५ मे १६ तारिखका दिन जापानी आरोही जुनको तावेईले सगरमाथा आरोहण गरेर पहिलो महिला सगरमाथा आरोहीको उपमा पाउनुभएको थियो । नेपालबाट पासाङल्हामु शेर्पा सगरमाथा आरोहण गर्ने पहिलो महिला हुनुहुन्छ । एक तथ्याङ्कानुसार हालसम्म चार सयभन्दा बढी आरोहीले सगरमाथाको आरोहणका क्रममा ज्यान गुमाएका छन् ।

पर्यटन विभागले प्रकाशन गरेको ‘माउन्टेनरिङ इन नेपाल, फ्याक्ट एण्ड फिगर–२०२३’ का अनुसार नेपाली तेञ्जिङनोर्गे शेर्पा र न्यूजील्याण्डका सर एडमण्ड हिलारीले आरोहण सुरु गरेयता हालसम्म सात हजार ६ सय २६ जनाले सगरमाथाको सफल आरोहण गरेका छन् । सन् २०२३ र २०२४ को आरोही सङ्ख्या जोड्दा आठ हजार बढी हुन आउँछ । हालसम्म सगरमाथा आरोहण गर्ने महिलामात्र पाँच सय १९ जना पुगेका छन् ।

कुन वर्ष कति आरोही ? 

सन् २०२२ मा आरोही तथा सहयोगी शेर्पा समूह गरी ६ सय ५८ जना सगरमाथाको चुचुरोमा पुग्न सफल भएका छन् । यसमा दुई ४० आरोही तथा चार सय १८ सहयोगी छन् । सन २०२१ मा एक सय ८३ र दुई सय ७६ सहयोगी गरी कुल चार सय ५९ जनाले सगरमाथा आरोहण गरे भने सन् २०२० मा सगरमाथामा शून्य आरोहण भयो । सन् २०१९ मा दुई सय ८० आरोही र तीन सय ६४ सहयोगी गरी जम्मा ६ सय ४४ जनाले आरोहण गरे । यस्तै सन् २०१८ मा दुई सय ८२ आरोही तथा दुई सय ९८ सहयोगी गरी पाँच सय ६० जनाले सगरमाथा आरोहण गरेका छन् ।

प्रकाशित मितिः बुधबार, १६ जेठ २०८१
https://jawaaf.com/storage/01HZ18VMQXX4QVCV5EZ929XFNX.jpg

पश्चिम तराईमा तीन दिनसम्म तातो हावा चल्ने

काठमाडौँ I आगामी तीन दिनसम्म मुलुकको पश्चिमी तराईका भू–भागहरूमा अत्यधिक गर्मीको सम्भावना छ । गर्मीको असरबाट बच्न आवश्यक सतर्कता अपनाउन अनुरोध गरिएको छ ।

मौसम पूर्वानुमान महाशाखाले सुदूरपश्चिम र लुम्बिनी प्रदेशका तराई भूभागमा आजदेखि तीन दिनसम्म तातो हावा तथा तातो लहरको सम्भावना रहेको जनाएको छ । सुदूरपश्चिम र लुम्बिनी प्रदेशका तराई भू–भागका केही स्थानमा विगत केही दिनदेखि अधिकतम् तापक्रम ४० डिग्री सेल्सियस वा सोभन्दा बढी मापन गरिएको छ ।

तातो हावा तथा तातो लहरबाट थकाइ लाग्ने, कमजोरी हुने, बढी तिर्खा लाग्ने, टाउको दुख्ने, खुट्टा बाउँडिने, चक्कर आउने, बेहोस हुने, मांसपेशी दुख्ने, बान्ता आदि असर हुनसक्ने देखिएकाले सोबाट बच्न महाशाखाले अनुरोध गरेको छ ।

तातो हावा तथा तातो लहरबाट बच्न गर्मीको समयमा घरभित्र अर्थात् चिसो स्थानमा रहने, बाहिरी वातावरणमा बढी नजाने, हल्का लुगा लगाउने, सुती कपडा लगाउने, बाहिर निस्कँदा टाउको छोप्ने, टोपी लगाउने, नियमित पानी तथा झोल पदार्थ (जुस, सर्वत) आदि प्रशस्त मात्रामा पिउन महाशाखाले आग्रह गरेको छ ।

प्रकाशित मितिः बुधबार, १६ जेठ २०८१
https://jawaaf.com/storage/01HZ1833ZGGEMPXZAF92087QH0.jpg

गर्मी अत्यधिक बढेपछि विद्यालयलाई पङ्खा वितरण

विराटनगर I गर्मी अत्यधिक बढ्न थालेपछि विराटनगर महानगरपालिकाले सामुदायिक विद्यालयलाई सिलिङ पङ्खा उपलब्ध गराएको छ । विराटनगर महानगर क्षेत्रभित्र सञ्चालित ६१ सामुदायिक विद्यालयलाई पहिलो चरणमा पाँच सय थान सिलिङ पङ्खा उपलब्ध गराएको महानगरले जनाएको छ । 

चालु आर्थिक वर्ष २०८०/८१ को विनियोजित बजेटबाटै पङ्खा खरिद गरेर विद्यालयका प्राधानाध्यपकहरुलाई वितरण गरिएको विराटनगर महानगरपालिकाका कार्यवाहक प्रमुख मधु तिवारीले जानकारी दिनुभयो । महानगरपालिका प्रमुख नागेश कोइरालाले गत वर्ष नै सबै सामुदायिक विद्यालयका कक्षाकोठामा पङ्खा जडान गर्ने घोषणा गर्नुभएको थियो । 

महानगरको शैक्षिक प्रशासन महाशाखाका अधिकृत सुशील दाहालका अनुसार विद्यालयलाई पाँचदेखि २० थानसम्म सिलिङ पङ्खा उपलब्ध गराइएको छ । सामुदायिक विद्यालयमा एक हजार पङ्खाको आवश्यकता रहेको तर बजेट अभावका कारण तत्काल पाँच सय पङ्खा मात्र वितरण गरिएको उहाँले बताउनुभयो ।

शैक्षिक प्रशाशन महाशाखाअन्तर्गत आव २०८०÷८१ मा विनियोजित रु २० लाख रकमबाट सामुदायिक विद्यालयमा पङ्खा वितरण गरिएको हो । हाल यस क्षेत्रमा दैनिक ३८ देखि ४२ डिग्री सेल्सियससम्मको तापक्रम मापन गरिएको छ ।

प्रकाशित मितिः बुधबार, १६ जेठ २०८१
https://jawaaf.com/storage/01HZ10TGK200SDWFZ49BJWX2ZR.jpg

एमाले चितवनको अध्यक्षमा पाठक

१६ जेठ, भरतपुर (चितवन) I नेकपा (एमाले) चितवनको अध्यक्षमा कमलराज पाठक निर्वाचित हुनुभएको छ । पार्टीको ११औँ जिल्ला अधिवेशनबाट उहाँ अध्यक्ष पदमा निर्वाचित हुनुभएको हो ।     
     
आज बिहान सम्पन्न मतगणनाअनुसार उपाध्यक्षमा श्यामकुमार विष्ट, सचिवमा प्रकाश ढुङ्गाना, उपसचिव (खुला) मा मीनबहादुर परियार तथा उपसचिव (महिला)तर्फ ज्वाला पुरी वन निर्वाचित हुनुभयो । प्रमुख निर्वाचन अधिकृत जगन्नाथ भण्डारीका अनुसार मतदानमा कुल सात सय २९ मत खसेको थियो ।     
     
अधिवेशनमा जिल्लाका सातै पालिका, पार्टीको जनवर्गीय सङ्गठन, सम्पर्क मञ्चलगायतबाट गरी सात सय ३२ र मनोनित २९ गरी जम्मा सात सय ६१ प्रतिनिधि सहभागी थिए ।     
 

प्रकाशित मितिः बुधबार, १६ जेठ २०८१