कांग्रेसको विरोधका बीच प्रतिनिधिसभा बैठक जारी
१३ जेठ, काठमाडौँ I प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको विरोध र नाराबाजीबीच प्रतिनिधिसभा बैठक जारी छ । प्रतिनिधिसभाको आजको बैठक प्रारम्भ हुनेबित्तिकै कांग्रेस सांसदहरु आसनबाट उठेर विरोध जनाए पनि सभामुख देवराज घिमिरेले बैठकका कार्यसूची अघि बढाउनुभएको हो । कांग्रेसले सहकारीको रकम अपचलनमा उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेको समेत संलग्नता देखिएको भन्दै निष्पक्ष छानबिनका लागि संसदीय समिति गठनको माग गर्दै आएको छ।
संसद् अवरोध अन्त्य गर्न प्रधानमन्त्रीको सक्रियता, कांग्रेस सभापति देउवासँग छलफल
१३ जेठ, काठमाडौँ I प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले संसद्को गत्यावरोध अन्त्यका लागि नेपाली कांग्रेसलाई आग्रह गर्नुभएको छ । प्रमुख प्रतिपक्षी दल कांग्रेसले सहकारीको ठगी प्रकरणमा संसदीय छानबिन समिति गठन गर्नुपर्ने मागसहित लगातार सदनको कारबाहीमा अवरोध गर्दै आएको छ ।
प्रधानमन्त्री दाहालले आज कांग्रेस सभापति शेरबहादुर देउवा निवास पुगेर सदनको काम कारबाहीलाई सहज बनाइदिन आग्रह गर्नुभएको हो । प्रधानमन्त्री दाहालले सभापति देउवासँग एक्ला एक्लै र अन्य नेताहरूसँग सामूहिक छलफल गरी सदनको अवरोध हटाइदिन आग्रह गर्नुभएको थियो ।
कांग्रेस सहमहामन्त्री जीवन परियारले समस्या समाधानका लागि प्रधानमन्त्रीले गम्भीरतापूर्वक सक्रियता लिनुभएको जानकारी दिनुभयो । प्रधानमन्त्री दाहाल र सभापति देउवाबीच समस्या समाधानका लागि महत्वपूर्ण छलफल भएको उहाँले बताउनुभयो ।
संसद्को अवरोध हटाउने विषयमा आज शीर्ष नेताहरुबीच छलफल गर्ने कार्यसूची तय भएको थियो । कांग्रेस सभापति देउवाले आफू अस्वस्थ भएको भन्दै प्रधानमन्त्री दाहाल र नेकपा(एमाले)का अध्यक्ष केपी शर्मा ओलीलाई आफ्नै निवासमा आउन आग्रह गर्नुभएको कांग्रेस नेता परियारले जानकारी दिनुभयो ।
नेकपा एमाले पाल्पाको अध्यक्षमा घर्तीमगर
१३ जेठ, रामपुर (पाल्पा) I नेपाल कम्युनिष्ट पार्टी (एमाले) पाल्पाको अध्यक्षमा ओमबहादुर घर्तीमगर निर्विरोध निर्वाचित हुनुभएको छ । पार्टीको १०औँ जिल्ला अधिवेशनले घर्तीमगरलाई अध्यक्षमा निर्विरोध निर्वाचित गरेको हो ।
शनिबार सम्पन्न अधिवेशनले घर्तीमगरको अध्यक्षतामा एक सय एक सदस्यीय जिल्ला कमिटी चयन गरेको छ । नवगठित कमिटीको उपाध्यक्षमा विमल काफ्ले, सचिवमा रामजी पोखरेल (भोजराज), उपसचिवमा दीपक विश्वकर्मा र महिला उपसचिवमा मीना जिसीलाई चयन गरिएको छ ।
जिल्ला कमिटी सदस्यमा दलिततर्फ र जनजातिमा आठ–आठ, ४० वर्षभन्दा कम उमेरका युवा १६, महिला खुला चार, मजदुर, अल्पसङ्ख्यक, अपाङ्ग, मुस्लिम गरी एक–एकजना चयन भएका नेकपा एमाले पाल्पाले जनाएको छ ।
भजन शिरोमणिको जीवनीमा आधारित चलचित्रको ट्रेलर सार्वजनिक
१३ जेठ,काठमाडौँ I भजन शिरोमणि भक्तराज आचार्यको जीवनीमा आधारित चलचित्र ‘आचार्य’ पुनः प्रदर्शन हुने भएको छ । विसं २०६८ असोज ६ गते प्रदर्शन भइसकेको चलचित्रलाई पुनः सम्पादन गरी असार ७ मा प्रदर्शन गरिने स्वर्गीय गायक आचार्यका छोरा सत्यराज आचार्यले राससलाई जानकारी दिनुभयो । पुनः प्रदर्शनलाई लक्षित गर्दै चलचित्रको नयाँ प्रचार सामग्रीको रूपमा इन्टरनेटमा श्रव्यदृश्य (ट्रेलर) सार्वजनिक गरिएको छ ।
“यो बुबालाई एउटा श्रद्धाञ्जलि पनि हो । बुबाको चलचित्रलाई पुनः प्रदर्शन गर्न आग्रह आएपछि हामीले प्रदर्शन गर्न लागेका हौँ । यो हेर्नेले बुबाको जीवनीलाई बुझ्न पाउनुहुनेछ”, गायक आचार्यले भन्नुभयो ।
चलचित्रमा सत्यराज नै पिताको भूमिकामा हुनुहुन्छ । चलचित्रमा स्वर्गीय गायक आचार्यको जीवनीका हरेक पाटालाई देखाइएको उहाँले बताउनुभयो । निर्देशक प्रशान्त रसाइलीले निर्देशन गर्नुभएको चलचित्रमा गायक आचार्यसँगै सुनिल पोखरेल, अरुणा कार्की, दयाहाङ राई, विपिन कार्की, सौगात मल्ललगायत कलाकारले अभिनय गर्नुभएको छ ।
गायक तथा अभिनेता आचार्यले सार्वजनिक श्रव्यदृश्यले राम्रो प्रतिक्रिया प्राप्त गरिरहेको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “सायद १३ वर्ष अगाडिको समय यस्ता चलचित्रको लागि उपयुक्त थिएन । त्यो समयमा पनि हामीले चलेका अनुहारभन्दा अभिनय गर्न सक्ने कलाकारलाई लिएका थियौँ । चलचित्रलाई जीवन्त बनाउने पूर्ण कोसिस गरेका छौँ ।” गायक आचार्यको ८२ वर्षको उमेरमा गत फागुन १४ गते निधन भएको थियो ।
‘द पोएट आइडल’को उपाधि सिक्किमका राईलाई
यसैबीच, कवितामा आधारित रियालिटी शो ‘द पोएट आइडल’को दोस्रो शृङ्खलाको उपाधि सिक्किमका सिमियोन सुकिता राईले जित्नुभएको छ । शनिबार बेलुकी भएको अन्तिम प्रतिस्पर्धामा मुस्कान पोखरेल, विजय लुइँटेल र मोहित जोशीलाई पछाडि पार्दै राईले उपाधि जित्नुभएको हो ।
“आज मसँगै मलाई विश्वास गर्ने सबैको जित भएको छ । मलाई यो मञ्चसम्म ल्याउन धेरै सहयोगी हातले हातेमालो गर्नुभएको छ । मेरो कविता यात्रालाई दिगो बनाउन यो उपाधि मार्गदर्शक भएको छ”, विजेता राईले भन्नुभयो । ‘द पोएट आइडल’को दोस्रो शृङ्खलामा उपेन्द्र सुब्बा, विप्लव प्रतीक, अनुप बराल र केकी अधिकारी निर्णायक हुनुहुन्थ्यो ।
आविष्कार केन्द्रले बनायो दश किसिमका कृषि औजार
१३ जेठ, वीरगञ्ज (पर्सा) I राष्ट्रिय आविष्कार केन्द्रले तीन दशक देखि बन्द भएको वीरगञ्जस्थित कृषि औजार कारखाना जिम्मा लिएको २० महिनामा १० किसिमका कृषि औजार तयार पारेको छ ।
हाल १० किसिमका साना कृषि औजार तथा उपकरण तयार पारिएको केन्द्रका सहायक मेकानिकल इन्जिनियर अरुण साहले बताउनुभयो । धान रोप्ने सानो मेसिन, घाँस खुर्किने, ड्याङ बनाउने मेसिन, खाल्डो खन्ने हातेऔजार, आलु रोप्ने, आलु गोड्ने, घाँस तथा पराल काट्ने, धान काट्ने सानो मेसिन, प्लास्टिक ओछ्याउने र केराको फाइबर निकाल्ने मेसिन तयार भएका उहाँले बताउनुभयो । यी औजार तथा उपकरणको मूल्य भने निर्धारण गरिसकेका छैनौँ”, उहाँले उपकरण उपयोगी हुने विश्वास व्यक्त गर्दै भन्नुभयो ।
इन्जिनियर साहले तीन चरणको अथक मेहनतपछि उपकरण बनाउन सफलता मिलेको बताउनुभयो । केन्द्रका कार्यरत मेकानिकल इन्जिनियरहरूको टोलीले कारखानामा रहेका पुराना साना–ठूला गरेर ५५ उपकरणमध्ये ५१ वटा मर्मतसम्भार गरेर सञ्चालन गर्न सकिने जनाएको छ । हाल केन्द्रमा १५ जना कार्यरत छन् ।
सरकारले २०७९ असोज ११ गते कृषि औजार कारखाना राष्ट्रिय आविष्कार केन्द्रलाईसञ्चालन तथा व्यवस्थापनको जिम्मा दिएको थियो । केन्द्रले औपचारिक रूपमा २०७९ माघदेखि काम थालेको हो ।
काठमाडौँ उपत्यकाको तापक्रम बढ्दो क्रममा
काठमाडौँ, १३ जेठः हाल देशमा स्थानीय वायु तथा भारतको उत्तर प्रदेश आसपास रहेको न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको जनाउँदै जल तथा मौसम विज्ञान विभागले गण्डकी र लुम्बिनी प्रदेशमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भागमा मुख्यतया मौसम सफा रहेको बताएको छ ।
साथै गण्डकी प्रदेशका पहाडी भागका केही स्थान तथा लुम्बिनी प्रदेशका तराई भागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।
विभागका अनुसार आज दिउँसो मुलुकका पहाडी भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भागमा मुख्यतया मौसम सफा रहने छ । कोशी, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशलगायत पहाडी भागका केही स्थानमा तथा बाँकी भागका एक–दुई स्थानमा मेघगर्जन, चट्याङ र हुरीबताससहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । देशको उच्च पहाडी तथा हिमाली भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना छ ।
त्यसैगरी आज राति कोशी, मधेस, वागमती, गण्डकी र कर्णाली प्रदेशलगायत देशका पहाडी भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भागमा मौसम सफा रहने छ । कोशी प्रदेशका केही स्थानमा मेघगर्जन, चट्याङ र हुरीबताससहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावन छ । साथै मधेस र सुदूरपश्चिम प्रदेशलगायत देशका बाँकी पहाडी भूभागका एक–दुई स्थानमा मेघगर्जन, चट्याङ र हुरीबताससहित हल्का वर्षाको सम्भावना छ । कोशी प्रदेशका उच्च पहाडी तथा हिमाली भागका एक–दुई स्थानमा हल्का हिमपातको पनि सम्भावना छ ।
आगामी २४ घण्टामा कोशी, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशलगायत देशका पहाडी भागका केही स्थानमा मेघगर्जन, चट्याङ र हुरीबताससहित हल्कादेखि मध्यम वर्षा हुने तथा उच्च पहाडी एवं हिमाली क्षेत्रका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको जनाउँदै विभागले ती क्षेत्रका सर्वसाधारणलाई सतर्कता अपनाउन अनुरोध गरेको छ ।
काठमाडौँ उपत्यकाको तापक्रम निरन्तर बढिरहेको छ । यहाँ आज अधिकतम तापक्रम ३१ देखि ३३.४ डिग्री सेल्सियसका बीच रहने विभागको पूर्वानुमान छ । विगत केही दिनदेखि पश्चिम तराइका धनगढी र नेपालगञ्जको अधिकतम तापक्रम ४१ डिग्री सेल्सियसभन्दा माथि पुगेको विभागले बताएको छ । विभागले ती भेगका बासिन्दालाई गर्मीबाट बच्न सतर्कता अपनाउन आग्रह गरेको छ ।
जसपा खोटाङको अध्यक्षमा निर्मल राई
खोटाङ, १३ जेठ: अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) खोटाङको अध्यक्षमा निर्मल राई चयन हुनुभएको छ । जसपाको शनिबार दिक्तेलस्थित जिल्ला समन्वय समितिको सभाहलमा सम्पन्न भेलाले तत्कालीन जनता समाजवादी पार्टी नेपाल हुँदा उपाध्यक्ष रहनुभएका राईलाई अध्यक्षको जिम्मेवारी दिएको हो ।
जसपाको जिल्ला भेलाले राईको नेतृत्वमा एक सय ११ सदस्यीय जिल्ला कार्यसमिति चयन गरेको छ । नवगठित जिल्ला कार्यसमितिको उपाध्यक्षमा गुरुराज राई र नैनकला राई, सचिवमा वीरेन्द्र दर्नाल, सहसचिवमा टीकाराम राई, शान्तिकला राई, प्रितीराज राई र कोषाध्यक्षमा गन्धमान राई चयन हुनुभएको छ ।
जिल्ला भेलामा केन्द्रीय सदस्य देवराज राई, रमेश राई, सनबहादुर राई, सङ्घीय परिषद् सदस्य राकेश राई र समाजवादी विद्यार्थी युनियनका केन्द्रीय महासचिव प्रकाश चाम्लिङ रार्ईको उपस्थिति थियो । भेलाले अग्निप्रसाद राई, मुगाधन राई, डिल्लीराज राई, शान्ता राई, राजहरि राई, नगेन्द्रराज चाम्लिङ, देवराज राई, खड्गबहादुर राई, शिवकृष्ण राई, कम्पसेर राईलगायतलाई सदस्यमा चयन गरेको छ ।
नेवार समुदायका युवायुवतीलाई वाद्यवादन तालिम
दमौली (तनहुँ) १३ जेठ: गण्डकी प्रज्ञा प्रतिष्ठानसँगको सहकार्यमा शुक्लागण्डकी नगरपालिका–४ मा नेवार समुदायका युवायुवतीलाई धिमे बाजा बजाउने तालिमको व्यवस्था भएको छ ।
धिमे बाजाबारे पछिल्लो पुस्ता अनभिज्ञ रहेकाले तालिमको व्यवस्था गरिएको अरिदेव नेवा पुचः कोषका अध्यक्ष ज्ञाननारायण श्रेष्ठले राससलाई बताउनुभयो । कोषले नै ४० जना युवायुवती छनोट गरेर एकमहिने तालिम सुरु गरेको हो । तालिम शनिबारदेखि प्रारम्भ भएको हो ।
“संस्कृति संरक्षण गर्न प्रज्ञा प्रतिष्ठानको सहयोगमा तालिम सञ्चालन गरिएको हो । यसबाट वर्तमान पुस्तालाई संस्कृति संरक्षण गर्नुपर्छ भन्ने प्रेरणा मिल्ने विश्वास छ ”, अध्यक्ष श्रेष्ठले भन्नुभयो ।
गण्डकी प्रज्ञा प्रतिष्ठानका सदस्य –सचिव मनकुमार श्रेष्ठले सबै समुदायका भाषा संस्कृति, संस्कार संरक्षणका लागि प्रतिष्ठानले विभिन्न कार्यक्रम सञ्चालन गरिरहेको जानकारी दिनुभयो । आफ्नो भाषा, संस्कृति जोगाउन सम्बन्धित समुदाय नै क्रियाशील हुनुपर्नेमा उहाँले जोड दिनुभयो ।
गण्डकी प्रदेशसभा सदस्य अशोककुमार श्रेष्ठले भाषा संस्कृति र संस्कार हरेक समुदायको परिचय एवं गौरव भएकाले त्यसको संरक्षण आवश्यक छ भन्नुभयो ।
भोजपुरको बतासे मूलाबारीमा चिया प्रशोधन कारखाना
टक्सार (भोजपुर), १२ जेठ : भोजपुरको रामप्रसाद राई गाउँपालिका– २ बतासे मूलाबारीमा चिया कारखानाको स्थापना गरिएको छ । जिल्लामा चिया खेतीको व्यावसायिक उत्पादन सुरू भएपछि कारखाना स्थापना गरिएको र त्यसबाट तयारी अर्थोडक्स चियाका विभिन्न ब्राण्ड र प्याकेजहरू उत्पादन गरिने थामडाँडा–टेम्के–सिलिचुङ कृषि सहकारी लिमिटेडका अध्यक्ष गणेश राईले जानकारी दिनुभययो ।
इलाम र झापामा मात्र चिया खेती हुन्छ भन्ने भर्मलाई चिदै जिल्लामा व्यावसायिक चिया खेती सुरू भएपछि त्यसको व्यवसायिकरणका कारखाना उपयोगी हुने उहाँको भनाइ छ । “जिल्लाका अधिकांश क्षेत्रहरुमा अहिले व्यावसायिक चिया खेती सुरू भएको छ अहिले हाम्रो संस्थाले नै भोजपुर र खोटाङ जिल्लाका १५ वटा बगानमा दुई हजार रोपनी क्षेत्रफलमा चिया खेती गरिरहेको छ । त्यसबाट व्यवसायिक उत्पादन, ब्राण्डिङ् र प्याकेजिङ् गर्न कारखाना स्थापना गरेका छौँ”, उहाँले भन्नुभयो । हाल जिल्लाको बतासे, पामाखाम, भस्मेचौर, देवनटार, नागथान बगानबाट प्रतिदिन पाँच सय केजी हरियो चिया टिप्ने काम भइरहेको अध्यक्ष राईले बताउनुभयो । कारखाना स्थापनासँगै प्रशोधन कार्यको पनि औपचारिक थालनी गरिएकाले चिया उत्पादक कृषकलाई थप उत्साह थपेको उहाँले बताउनुभयो ।
सहकारीका सचिव रामकुमार राईले उद्योग स्थापनापछि स्थानीयस्तरमा थप रोजगारी सिर्जना हुने अपेक्षा गरिएको बताउनुभयो । “हाल कारखानाबाट ग्रीन टी, ब्लाक टी, येल्लो टी, व्हाइट टी, रेड टी जस्ता चियाका उत्पादन सुरू गरेका छौँ । व्यावसायिक खेती र उद्योगको स्थापनासँगै स्थानीयले रोजगारीको अवसर पाएका छन्”, उहाँले भनाइ थियो ।
जिल्ला समन्वय समिति भोजपुरका प्रमुख कमल थुलुङ राईले बतासे मूलाबारीमा चिया कारखानाको स्थापना भएसँगै चिया खेतीमा भोजपुर पनि परिचित हुने धारणा राख्नुभयो । राईले भन्नुभयो, “भोजपुरको खुला खर्क, चउर, डाँडाकाँडा, खेतवारीमा व्यावसायिक चियाखेती विस्तार भएको छ, यसले दुर्गम ग्रामीण भेगका कृषकको जीवनस्तर उकास्ने कार्यमा पनि सहयोग गर्छ ।”
सहकारीले विश्व प्रकृति संरक्षण अभियन्ता पिके शेर्पालाई संस्थाका तर्फबाट विश्व चियादूतको उपाधि प्रदान गरेको छ ।
यस्तै टेम्केमैयुङ गाउँपालिकामा पनि विगत १२ वर्षदेखि गरस चिया उद्योग सञ्चालनमा छ । यो उद्योगले राष्ट्रिय चिया तथा कफी खेती बोर्डबाट ट्रेडमार्क पाइसकेको छ । भोजपुरको दक्षिणमा रहेको आमचोक गाउँपालिकाले सार्वजनिक जग्गामा पर्ने खुला खर्क, चउर, डाँडाकाँडामा व्यावसायिक चियाखेती विस्तार गरी दुर्गम ग्रामिण भेगका कृषकहरुको जिवनस्तर उकास्ने लक्ष्यका साथ चिया खेती विस्तार कार्यक्रमसमेत सुरू गरिएको छ ।
आमचोक गाउँपालिका अध्यक्ष अशोक राईले सिंगो गाउँपालिकाको आर्थिक उन्नति र पर्यटन प्रवदर््धनमा टेवा पु¥याउने उद्देश्यले गाउँपालिकाका सार्वजनिक जग्गामा गाउँपालिकाको वार्षिक कार्यक्रमअन्तर्गत चिया खेती विस्तार गरिएको बताउनुभयो । “खेर गइरहेका सार्वजनिक खुला खर्क, चउरी डाँडामा चिया लगाएर व्यावसायिक रुपमा सिङ्गो गाउँपालिकालाई पर्यटन, रोजगारी र अर्थोपार्जन जस्ता क्षेत्रमा बहुआयामिक बनाउने तयारीका साथ खेती विस्तार गरिएको छ”, अध्यक्ष राईले भन्नुभयो,“यसले गाउँपालिकाभित्रै रोजगारी सिर्जनाका साथै सुन्दरता थप्न र पर्यटन विकासमा समेत टेवा पु¥याउने छ ।”
---
सुदूरपश्चिममा मन्त्रिपरिषद्ले पूर्णता पाएन
सुदूरपश्चिम, १२ जेठः सुदूरपश्चिमका मुख्यमन्त्री दीर्घबहादुर सोडारी नेतृत्वमा सरकार बनेको एक महिना बितिसक्दासमेत मन्त्रिपरिषद्लाई पूर्णता दिन सकिएको छैन । संविधानको धारा १६८ (२) अनुसार वैशाख ६ गते मुख्यमन्त्री नियुक्त भएका सोडारीले यही जेठ ३ गते विश्वासको मत पाइसक्न्ुभएको छ । विश्वासको मत पाएलगत्तै एक–दुई दिनभित्र मन्त्रिपरिषद्लाई पूर्णता दिने भने पनि अहिलेसम्म पूर्णता दिन सकिरहनुभएको छैन ।
मुख्यमन्त्रीको दल नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) प्रदेश संसदीय दलका उपनेता प्रकाश रावलले मन्त्रिपरिषद्लाई पूर्णता दिन भइरहेको सत्तासाझेदार दलले सहयोग नगरेको बताउनुभयो । “हाम्रो कारणले मन्त्रिपरिषद् पूर्णता दिन ढिलाइ भएको होइन । यो सकसका बारेमा सत्ता साझेदार नेपाल कम्युनिष्ट पार्टी (एमाले) र नेपाल कम्युनिष्ट पार्टी (माओवादी) केन्द्र संसदीय दलका नेतालाई तपाईँहरूले प्रश्न गर्न आग्रह गर्दछु”, उहाँले भन्नुभयो । उहाँले मन्त्रालय फुटाएर कसैलाई मन्त्री बनाउँदा गलत सन्देश जाने भएकाले समाजवादी मन्त्रालय फुटाउने पक्षमा नरहेको पनि उहाँले बताउनुभयो ।
कुन मन्त्रालय कसले लिने भन्ने विषयमा सत्ता साझेदार दलहरूबीच कुरा नमिल्दा मन्त्रिपरिषद्लाई पूर्णता दिन सकस भइरहेको बताइएको छ । नेकपा (एमाले)ले सोडारी नेतृत्वको सरकारलाई विश्वासको मत दिए पनि तत्काल सरकारमा नजाने यसअघिको निर्णय अझै परिवर्तन गरेको छैन । एमालेबाट निर्वाचित प्रदेशसभा सदस्य धर्मराज पाठकले भन्नुभयो, “अर्को निर्णय नगर्दासम्म एमाले मन्त्रिमण्डलमा नजाने भन्ने हो, सरकारमा जाने वा नजाने विषयमा पार्टीको केन्द्रीय नेतृत्वसँग परामर्श र प्रदेशमा सत्ता साझेदार दलसँग छलफल गरिरहेका छौँ ।”
नागरिक उन्मुक्ति पार्टीका कैलाश चौधरी भौतिक पूर्वाधार विकास र टीका थापा भूमि व्यवस्था कृषि तथा सहकारीमन्त्रीको जिम्मेवारीमा हुनुहुन्छ । अन्य मन्त्रालय मुख्यमन्त्रीले आफैँसँग राख्नुभएको छ । सामाजिक विकास, आर्थिक मामिला, उद्योग, पर्यटन वन तथा वातावरण र आन्तरिक मामिला तथा कानुन मन्त्रालय मन्त्रीविहीन छन् ।
यसैबीच सुदूरपश्चिम प्रदेशसभाको बजेट अधिवेशन यही जेठ १३ गते सुरू हुँदैछ । प्रदेश प्रमुख नजिर मियाँले नेपालको संविधानको धारा १८३ उपधारा १ बमोजिम सुदूरपश्चिम प्रदेशको चौथो अधिवेशन यही जेठ १३ गते आइतबार अपराह्न ३ बजे बस्नेगरी आह्वान गर्नुभएको प्रदेशसभा सचिवालयले जनाएको छ ।