राजनीतिक दलसम्बन्धी विधेयक प्रतिनिधिसभाबाट फिर्ता
काठमाडौँ I प्रतिनिधिसभाबाट ‘राजनीतिक दलसम्बन्धी (दोस्रो संशोधन) विधेयक, २०८०’ फिर्ता भएको छ । आजको बैठकमा उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले उक्त विधेयक फिर्ता लिने प्रस्ताव प्रस्तुत गर्नुभएको थियो ।
उक्त प्रस्ताव प्रतिनिधिसभाको बहुमतबाट स्वीकृत भएको सभामुख देवराज घिमिरेले जानकारी दिनुभयो । सभामुख घिमिरेले उक्त प्रस्तावमाथि विरोधको सूचना भए पेस गर्न आग्रह गर्नुभएको थियो । सांसदबाट विरोधको कुनै सूचना नपरेपछि सभामुखले उक्त प्रस्ताव निर्णयार्थ प्रस्तुत गर्नुभएको थियो ।
यही जेठ ३ गतेको मन्त्रिपरिषद् बैठकले संसद्मा पेस भएको राजनीतिक दलसम्बन्धी (दोस्रो संशोधन) विधेयक, २०८० लाई फिर्ता लिने निर्णय गरेको थियो । प्रतिनिधिसभाको अर्को बैठक यही जेठ ११ गते बिहान ११ बजे बस्नेछ ।
मधेस सरकारको नेतृत्व परिवर्तन हुन्छ : अध्यक्ष नेपाल
जनकपुरधाम I पूर्वप्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले देशको बदलिँदो राजनीति परिस्थितिका कारण मधेस प्रदेश सरकारको नेतृत्व परिवर्तन हुने बताउनुभएको छ ।
आज जनकपुरधाममा पत्रकारहरूसँग सङ्क्षिप्त कुरा गर्दै उहाँले सङ्घीय सरकारको स्वरुपमा भएको परिवर्तन अनुसार मधेस प्रदेशमा पनि सरकार परिवर्तन हुने बताउनुभयो । मुलुक सङ्घीय संरचनामा रहेकाले केन्द्रीय संरचनाअनुसार नै प्रदेश सरकारको संरचना बाध्य भएर बनाउनुपरेको नेता नेपालले बताउनुभयो ।
“प्रधानमन्त्री पुप्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वासको मत प्राप्त गरिसक्नुभएको छ, अब मधेस प्रदेशको सरकार पनि परिवर्तन हुन्छ, ”, अध्यक्ष भन्नुभयो । फरक प्रसङ्गमा उहाँले मुलुकको समृद्धिका लागि वर्तमान सरकारले काम गरिरहेको उल्लेख बताउनुभयो ।
‘बौद्ध दर्शनको सान्दर्भिकता सर्वदा रहन्छ
काठमाडौँ I विश्वभर बौद्ध दर्शनको सान्र्दभिकता बढ्दैगएको तथा त्यो सर्वदा रहने बौद्धविद्वान्हरूले बताएका छन् ।
त्रिभुवन विश्वविद्यालय बौद्ध अध्ययन केन्द्रीय विभागले २५६८औँ बुद्धजयन्ती तथा वैशाख पूर्णिमाको अवसरमा सोमबार आयोजना गरेको ‘कार्यक्रमका वक्ताले बुद्धदर्शनको सान्दर्भिकता नेपालसहित विश्वभर बढ्दै गएको तथा त्यो सर्वदा रहने बताएका हुन् ।
त्रिभुवन विश्वविद्यालय सेवा आयोगका अध्यक्ष प्रा डा घनश्याम भट्टराईले बुुद्धका उपदेश कार्यान्वय हुनसकेमा समग्र मानवजातिको कल्याण हुने बताउनुभयो । उहाँले बौद्ध दर्शनको सान्दर्भिकता बढ्दै गइरहेकाले मानवका असीमित चाहना नै दुःखको प्रमुख हो भन्नुभयो । गौतमबुद्धको दर्शन, उपदेश र जीवन विज्ञानका बारेमा प्राज्ञिक निकायले थप अनुसन्धान गर्नुपर्ने उहाँले बताउनुभयो ।
गुम्बा विकास समितिका अध्यक्ष थुप्तेन जिग्डोलले बौद्ध अध्ययन जीवन जिउने कला भएकाले मनको शान्तिका लागि बुद्धका उपदेश उपयोगी हुने बताउनुभयो ।
त्रिभुवन विश्वविद्यालय बौद्ध अध्ययन केन्द्रीय विभागका प्रमुख डा चन्द्रकला घिमिरेले बौद्ध अध्ययन केन्द्रीय विभागलाई समयानुकूल रुपान्तरण गर्दै बौद्ध अध्ययनलाई प्रचारप्रसार गर्दै अनुसन्धानका गतिविधिमा केन्द्रित गरिएको बताउनुभयो ।
बुद्ध प्रकाश फाउण्डेसनका सदस्य खेन्पो पेमा ओजेर, त्रिविका स्वतन्त्र विद्यार्थी युनियनका सभापति श्यामराज ओझा र त्रिवि कर्मचारी सङ्घ विश्वविद्यालय क्याम्पसका सभापति अनन्त पौडेललगायत वक्ताले बुद्ध जन्मेको देश नेपालको अन्तर्राष्ट्रियस्तरमा प्रचारप्रसार गर्न आवश्यक भएको बताउनुभएको थियो । सोही अवसरमा त्रिवि बौद्ध अध्ययन केन्द्रीय विभागबाट प्रकाशित जर्नलको विमोचन गरिएको थियो ।
जलवायु परिवर्तनका क्षेत्रमा बेलायतले नेपाललाई सघाउने
काठमाडौँ I संयुक्त अधिराज्यका प्रधानमन्त्री ऋषि सुनकले जलवायु परिवर्तनका क्षेत्रमा नेपाललाई सघाउने बताउनुभएको छ ।
नेपाल र संयुक्त अधिराज्यबीच मैत्रीसन्धिमा हस्ताक्षर भएको एक सय वर्ष पूरा भएको अवसरमा प्रधानमन्त्री सुनकको कार्यालयमा सोमबार आयोजित विशेष समारोहमा उहाँले उक्त कुरा बताउनुभएको लण्डनस्थित नेपाली राजदूतावासले जनाएको छ ।
त्यस अवसरमा प्रधानमन्त्री सुनकले आगामी दिनमा बेलायत र नेपालबीच व्यापार, लगानीलगायत आर्थिक सम्बन्ध तथा जलवायु परिवर्तनका क्षेत्रमा सहकार्य अभिवृद्धि गर्ने बताउनुभयो । उहाँले बेलायत र नेपालबीचको ऐतिहासिक सम्बन्धका विभिन्न आयामका बारेमा चर्चा गर्दै द्विपक्षीय सम्बन्धलाई अझ सुदृढ तुल्याउन ‘ब्रिटिस गोर्खा’को योगदानको प्रशंसा गर्नुभयो । विगतमा राजा चाल्र्सले गर्नुभएको नेपाल भ्रमणको स्मरण गर्दै उहाँले विभिन्न क्षेत्रमा ख्यातिप्राप्त नेपाली ‘डायस्पोरा’को काम र उपलब्धिबाट आफू प्रेरित भएको बताउनुभयो ।
बेलायतकी परराष्ट्र राज्यमन्त्री आन मारी ट्रेवल्यानले बेलायत–नेपालबीचको घनिष्ठ सम्बन्धबारे चर्चा गर्दै बेलायतले नेपालको विकास प्रयासमा सहयोग गरिरहेको र त्यो जारी रहने बताउनुभयो । उहाँले नेपाालसँगको आर्थिक सम्बन्धलाई थप विस्तार गरी उसको मध्यम आययुक्त मुलुक बन्ने लक्ष्यमा सहायता गर्ने बताउनुभयो ।
बेलायतका लागि नेपाली राजदूत ज्ञानचन्द्र आचार्यले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’का तर्फबाट प्रधानमन्त्री सुनकप्रति शुभकामना व्यक्त गर्दै सन् १९२३ मा सम्पन्न मैत्रीसन्धिका विविध पक्षको चर्चा गर्नुभयो । उहाँले मैत्रीसन्धिपश्चात् अन्तर्राष्ट्रिय क्षेत्रमा नेपालको उपस्थिति र अन्तर्राष्ट्रिय सम्बन्ध प्रवर्द्धन गर्न महत्त्वपूर्ण योगदान भएको उल्लेख गर्नुभयो ।
नेपालमा हालसम्म भएका सामाजिक एवं राजनीतिक परिवर्तन तथा हासिल भएका प्रगतिबारे जानकारी दिँदै राजदूत आचार्यले नेपालको विकासमा बेलायतले पुर्याएको सहयोगका निम्ति आभार व्यक्त गर्नुभयो । साथै उहाँले आगामी एक सय वर्षमा नेपाल–बेलायत द्विपक्षीय सम्बन्धलाई थप क्षेत्रमा विस्तार गरी पारस्परिक सम्बन्ध अझ सुदृढ तुल्याउन दुवै पक्षबाट महत्त्वपूर्ण भूमिका निर्वाह हुनेमा आफू विश्वस्त रहेको बताउनुभयो ।
कार्यक्रममा बेलायतमा विभिन्न पेसा तथा व्यवसायमा रहेको नेपाली समुदाय, भूतपूर्व गोर्खा, बेलायतका सांसद तथा उच्चपदस्थ अधिकारी एवं नेपालका बेलायती मित्रहरूको उपस्थिति थियो ।
नेपाल र बेलायतबीच सन् १९२३ को मैत्रीसन्धिमा हस्ताक्षर भएको सय वर्ष पुगेको उपलक्ष्यमा विभिन्न कार्यक्रम आयोजना गरी मनाउने सिलसिलामा नेपाली राजदूतावास र बेलायती परराष्ट्र मन्त्रालयको समन्वयमा नेपाली समुदायको सहयोगमा सो समारोह सम्पन्न भएको हो । यो ऐतिहासिक अवसरलाई स्मरणीय तुल्याउन प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारस्थित प्रेक्षालयमा गत २१ डिसेम्बरमा विशेष समारोह आयोजना गरिएको थियो । सोही प्रेक्षालयमा २१ डिसेम्बर १९२३ मा उक्त सन्धिमा हस्ताक्षर भएको थियो ।
बिपी राजमार्गको आकस्मिक सूचना प्रणाली दुई वर्ष देखि बन्द
काभ्रेपलाञ्चोक I मनसुन सुरु हुनै लाग्दा समेत बिपी राजमार्गको आकस्मिक सूचना (इआइएस) प्रणाली बन्द अवस्थामा छ । दुई वर्ष देखि सूचना प्रणालीको उपकरण मर्मत नहुँदा यात्रुले सूचना पाउन सकेका छैनन् ।
गत वर्ष उक्त प्रणाली सञ्चालनार्थ अध्ययन गरिए पनि मर्मत हुन नसकेको सूर्यविनायक-धुलिखेल-सिन्धुली-बर्दिबास सडक आयोजनाले जनाएको छ । आयोजना प्रमुख राजेन्द्रप्रसाद दासका अनुसार गत वर्ष सडक विभागसँग मर्मतका लागि बजेट प्रस्ताव गरे पनि प्राप्त हुन सकेन । सूचना प्रणाली ‘बोर्ड’मा सडकको अवस्था, प्राकृतिक प्रकोप तथा दुर्घटनाबारे ‘डिस्प्ले’ हुने गर्दथ्यो । सूचनाका आधारमा यात्रुलगायत सडक प्रयोगकर्ताले यात्रा गर्दथे ।
राजमार्गको धुलिखेल-सिन्धुली-बर्दिबास सडकखण्डमा तत्कालीन मौसमी अवस्थाबारे जानकारी दिन नौ वर्षअघि अरनिको राजमार्ग प्रारम्भ हुने जडीबुटीमा र काभ्रेपलाञ्चोकको धुलिखेल देखि सिन्धुली-बर्दिबाससम्म पाँच स्थानमा डिजिटल सूचना बोर्ड राखिएको थियो । धुलिखेलमा रहेको सूचना बोर्डमा मौसम अनुसार सूचना दिने प्रणाली मर्मत गरी अद्यावधिक गर्न सकिएको छैन । उक्त प्रविधिलाई पूर्णता दिई सञ्चालनमा ल्याउन विभागले गत वर्ष जाइका एक्सपोर्टस् टिमलाई अध्ययनको स्वीकृत दिएको थियो । जाइकाको प्रतिवेदनपछि प्रणालीलाई निरन्तरता दिने योजना बनाइए पनि बजेट र जनशक्ति नहुँदा मर्मत हुन नसकेको हो ।
यस प्रणालीअन्तर्गत चारवटा केन्द्रमा स्थापना भएका ‘अटोमेटिक रेनफल अब्जरभेसन सिस्टम’ले निरन्तर वर्षातको मापन गरेर सडक विभागस्थित डाटा सेन्टरमा सूचना पठाउँछ । यस्ता केन्द्र काठमाडौँ थापाथलीस्थित उप-आयोजना कार्यालय, भक्तपुर र बर्दिबासस्थित सडक विभागका कार्यालयहरु र सिन्धुलीमा रहने व्यवस्था गरिएको थियो ।
उक्त प्रणालीअन्तर्गत ‘डाटा सेन्टर’मा निरन्तर आउने प्रकोपका विवरणहरु ‘जिपिआरएस् मोडेम’मार्फत मोबाइल, वेबसाइट र सडक सूचना बोर्डमा आफैँ ‘अपडेट’ हुन्छ । यी विवरणहरु ‘एलइडी डिस्प्ले’युक्त बोर्डमा नेपाली र अङ्गे्रजी दुवै भाषामा उपलब्ध हुने डिजाइन गरिएको थियो । चौबिसै घण्टा विवरण ‘अपडेट’मा ‘लोडसेडिङ’ले समस्या हुनसक्ने भएकाले सबै केन्द्रमा सौर्यशक्ति (सोलार) समेत जडान गरिएको छ । काभ्रेपलाञ्चोकको धुलिखेलबाट बर्दिबाससम्म एक सय ६० किलोमिटर सडक विसं २०५४ सालदेखि विस्तार गरिएको थियो ।
वैशाख मसान्तसम्ममा मुलुकले रु ११ खर्ब ७७ अर्ब १८ करोड ३४ लाख बराबर व्यापार घाटा
काठमाडौँ I चालु आर्थिक वर्षको वैशाख मसान्तसम्ममा मुलुकले रु ११ खर्ब ७७ अर्ब १८ करोड ३४ लाख बराबर व्यापार घाटा व्यहोरेको छ । भन्सार विभागले आज सार्वजनिक गरेको तथ्याङ्कअनुसार गत वैशाख मसान्तसम्ममा रु १३ खर्ब तीन अर्ब ३५ करोड ७० लाख बराबरको वस्तु आयात भएको थियोभने रु एक खर्ब २६ अर्ब १७ करोड ३५ लाख बराबरको निर्यात भएको थियो ।
विभागका अनुसार चालु आवको १० महिनामा रु १४ खर्ब २९ अर्ब ५३ करोड पाँच लाख बराबरको वैदेशिक व्यापार भएको छ । यो अवधिको कुल वैदेशिक व्यापार गत आर्थिक वर्षको सोही अवधिको तुलनामा दुई दशमलव ५० प्रतिशतले घटेको हो । गत आर्थिक वर्षको दश महिनाको तुलनामा आयात दुई दशमलव ३९ र निर्यात तीन दशमलव ६१ प्रतिशतले घटेको छ ।
समीक्षा अवधिमा भारतसँग नेपालले रु सात खर्ब २९ अर्ब ७० करोड बराबरको व्यापार घाटा व्यहोरेको छ । भारतबाट रु आठ खर्ब १५ अर्ब ७२ करोडको आयात र रु ८६ अर्बको निर्यात भएको छ । नेपालसँग दोस्रो ठूलो वैदेशिक व्यापार छिमेकी मुलुक चीनसँगको व्यापार घाटा रु दुई खर्ब ३८ अर्ब ५५ करोड बराबर रहेको छ । दश महिनामा चीनसँग रु दुई खर्ब ४० अर्ब ८३ करोड बराबरको आयात हुँदा रु २२ अर्ब ७४ करोड बराबरको निर्यात भएको छ ।
वैशाख मसान्तसम्मको वैदेशिक व्यापारमा सबैभन्दा धेरै आयात पेट्रोलियम पदार्थको भएको छ । यो अवधिमा रु एक खर्ब १५ अर्ब ६७ करोड बराबरको डिजेल रु ५६ अर्ब ८० करोड बराबरको डिजेल र रु ४६ अर्ब बराबरको खाना पकाउने ग्यास आयात भएको छ । सोही अवधिमा रु २४ अर्ब एक करोड बराबरको मोबाइल फोन आयात भएको छ ।
नेपालले बढी निर्यात गरेका वस्तुमा कार्पेट रु आठ अर्ब ७९ करोड, अलैंची रु छ अर्ब ९१ करोड, फलामजन्य वस्तु रु पाँच अर्ब ५२ करोड र पाम आयल रु पाँच अर्ब ६० करोड बराबर छ ।
सभामुखको भूमिकाप्रति कांग्रेस असन्तुष्ट
काठमाडौँ I प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सभामुख देवराज घिमिरे निष्पक्ष नभएको आरोप लगाउँदै उहाँको भूमिकाप्रति असन्तुष्टि जनाएको छ ।
नेपाली कांग्रेस संसदीय दलको आजको बैठकले प्रतिनिधिसभामा सभामुखले आज निर्वाह गर्नुभएको भूमिका पदीय गरिमा अनुकूल नभएको ठहर गर्दै त्यसप्रति प्रश्न उठाएको हो ।
कांग्रेसले प्रतिनिधिसभामा विपक्षी दलको विरोध र नाराबाजीबीच संसद् बैठकका कार्यसूची अघि बढाएको भन्दै सभामुखको भूमिकामाथि प्रश्न उठाएको हो । “सङ्घीय संसद्को गरिमामय सभभामुख पदमा आसिन व्यक्ति कुनै एक दलको इशारामा प्रयोग हुने अवस्थाले संसदीय मूल्यमान्यतालाई कुठाराघात गर्दछ । तसर्थ कांग्रेस संसदीय दलको यो बैठक सभामुखलाई संसदीय मूल्यमान्यता र परम्परा जोगाउनेतर्फ काम गर्न गम्भीररुपले ध्यानाकर्षण गर्दछ”, बैठकको निर्णयमा उल्लेख छ ।
विपक्षी दलको विरोध र नाराबाजीबीच प्रधानमन्त्रीको विश्वासको मतसम्बन्धी प्रस्ताव अघि बढाएको र नेपाली कांग्रेसका सांसदलाई बोल्न नदिएको कांग्रेस संसदीय दलको आरोप छ । संसदीय दलको बैठकका निर्णयबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा प्रमुख सचेतक लेखकले सभामुखले पार्टीको कार्यकर्ता जस्तो व्यवहार गर्न सुहाउँदैन भन्नुभयो । लोकतान्त्रिक एवं संसदीय मूल्यमान्यता बिर्सेर संसद् बैठक सञ्चालन गर्ननहुने निष्कर्ष कांग्रेसको छ ।
प्रधानमन्त्रीले विश्वासको मत लिन ३० दिनको समायावधि रहेकामा विपक्षी दलहरुको मागबमोजिम संसदीय छानबिन समिति गठन गर्नुको साटो पर्याप्त समय हुँदाहुँदै विश्वासको मत लिने प्रक्रिया पूरा गराउनु अनुपयुक्त भएको सचेतक लेखकले बताउनुभयो ।
कांग्रेससहित सङ्घीय संसद्मा रहेका सबै विपक्षी दलहरुले सहकारी ठगीसम्बन्धमा स्वतन्त्र र निष्पक्ष छानबिनको सुनिश्चितता गर्न संसदीय छानबिन समिति गठनको माग जारी राखेका छन् ।
जगदुल्लाको ऋण सम्झौता भयो, तर पुल बनेन
काँक्रेविहार (सुर्खेत) I जगदुल्ला जलविद्युत् आयोजनाले यही जेठ २ गते ऋण सम्झौता गरेको छ । आयोजनास्थल जानका लागि निर्माण हुनुपर्ने त्रिवेणीस्थित पुलको गति भने अझैँ बढ्न सकेको छैन । क्याराभान निर्माण सेवाले रु १५ करोडमा पुलको ठेक्का लिएर आयोजनासँग स्म्झौता गरेको थियो ।
जगदुल्ला जलविद्युत् कम्पनी लिमिटेडले जाजरकोट, डोल्पा र रुकुमको बीचमा रहेको त्रिवेणीस्थित भेरी नदीमा निर्माण गर्न लागेको पुल दुई वर्षदेखि अलपत्र पारेर ठेक्का बिक्री गरेको थियो ।
क्याराभान कन्ट्रक्सनले काम नै सुरु नगरी अर्को स्थानीय रेट्रो ट्रेक कन्स्ट्रक्सनलाई ठेक्का बेचेपछि पुल निर्माण अन्योल बनेको हो । भेरी करिडोरको बीचमा रहेको उक्त पुल समयमा निर्माण नहुँदा तल्लो डोल्पाका साथै जुम्ला जोड्ने सडक निर्माणमा समेत समस्या भइरहेको छ ।
भेरी नदीमा एक सय मिटर लामो पक्की पुल तीन वर्षदेखि निर्माण नहुँदा स्थानीयका साथै उक्त सडक भएर यात्रा गर्नेलाई सास्ती हुँदै आएको छ । तीन जिल्लाको सङ्गमस्थल रहेको त्रिवेणीमा अहिले ठेक्का खरिद गरेको रेट्रो ट्रेक कन्ट्रक्सनलेसमेत काममा गति नदिएको स्थानीयवासीको आरोप छ ।
रु १५ करोडमा उक्त पुल निर्माण गर्ने भन्दै कम्पनीले तीन वर्षअघि ठेक्का खोलेको थियो । क्याराभान कन्ट्रक्सनबाट रु १४ करोड १७ लाखमा कामको जिम्मा लिएको रेट्रो ट्रेकले कहिले वर्खा र कहिले जग्गा विवादको कारण देखाउँदै काम ढिला गर्दा तोकिएको समयमा सम्पन्न हुन नसकेको स्थानीय पूर्ण बुढाले बताउनुभयो ।
निर्माणको जिम्मा पाएका कन्ट्रक्सनले विभिन्न बहानामा पुल निर्माणमा ढिलासुस्ती गरेपछि १०६ मेघावाटको जगदुल्ला हाइड्रोपावर निर्माणमा बाधा पुग्ने देखिएको छ । हाइड्रोपावर कम्पनीले हजारौँ टन तौल भएका निर्माण सामग्री आयोजनास्थलसम्म लैजान भन्दै २०७७ साउनमा बोलपत्र आह्वान गरेको थियो ।
रेट्रो ट्रेकका प्रमुख बादल बुढाले पुलमा दुई वटा पिल्लर उठाउने काम भएको बताउनुभयो । क्याराभानले बोलपत्र पाएको केही समयमै प्रमुख चन्द्र थकालीले तत्काल काम सुरु गर्ने भन्दै आयोजनाबाट पेस्की लिएको आयोजना कार्यालयले जनाएको छ । पुल समयमै नबन्दा आयोजनाको निर्माण प्रभावित भएको भन्दै डोल्पाका सरोकार भएका निकायले चिन्ता व्यक्त गरेका छन् । थकालीले आफूले जिम्मा लिएको काम सम्पन्न नगरी अरुलाई ठेक्का बिक्री गर्दा समस्या थप बढेको स्थानीय बताउँछन् ।
आयोजनाको ऋण सम्झौता भइसकेकाले काम गर्न पुनःबोलपत्र आह्वान गर्ने अवस्था आएको आयोजना कार्यालयले जनाएको पुगेको छ । आयोजनास्थल जानका लागि निर्माण हुन लागेको पुल ठेकेदारले पूरा नगर्दा आयोजना निर्माणमा समस्या उत्पन्न हुने सम्भावना बढेको कर्णाली प्रदेशका सामाजिक विकासमन्त्री वीरबहादुर शाहीले बताउनुभयो । आइतबार स्थलगत अनुगमन गर्नुभएका शाहीले कामको गति राम्रो नभएको बताउनुभयो ।
तल्लुस्थित भेरी नदीमा बेलिब्रिज पुल निर्माण भए पनि सोही ठाउँमा पक्की पुल निर्माण भइसक्नुपर्नेमा अझैँ काम नभएको मन्त्री शाहीले बताउनुभयो ।
त्रिदेशीय व्यापारिक सडक भेरी करिडोरको प्रमुख पूर्वाधारका रुपमा रहेको तल्नुबगर बेलिब्रिज पुल सञ्चालनमा आएको छ । जाजरकोटको नलगाड नगरपालिका–१२ र रुकुम पश्चिमको आठबीसकोट नगरपालिकाको अनाहबीचको भेरी नदीमा बनेको उक्त पुल आइतबारदेखि सञ्चालनमा आएको हो ।
भारत–नेपाल हुँदै चीन जोड्ने भेरी करिडोरकोअन्तर्गतको तल्नु बगर बेलिब्रिजको निर्माण सम्पन्न भएसँगै पुल सञ्चालनमा आएपछि सामाजिक विकासमन्त्री शाहीले बेलिब्रिज पुलमा यात्रासमते गर्नुभयो ।
तीन वर्षअघि निर्माण सुरु भएकामा विविध कारणले ढिला हुँदै आएको थियो । सरोकार भएका पक्षको दबाबपछि पुल सम्पन्न भएको हो ।
पुल सञ्चालनमा आएसँगै डोल्पासम्म सिधा सडक सञ्जाल जोडिएको छ । मालबाहक गाडीहरू दुनैसम्म पुग्न थालिसकेका छन् । बर्खामा यातायात सञ्चालनमा ल्याउन भेरी करिडोर बीचमा पर्ने केही खोलाहरूमा ह्युम पाइप राख्न निर्देशन दिइएको सामाजिक विकासमन्त्री शाहीले जानकारी दिनुभयो । करिडोरले भारतको रुपैहिडिया–नेपालगञ्ज हुँदै डोल्पा चीनको सीमा क्षेत्र मोरिम्ला नाका जोड्ने भएकाले यस सडक राष्ट्रिय महत्वको सडक रहेको उहाँको भनाइ छ ।
उक्त पुल सञ्चालनमा आउनु सबैका लागि सुखद विषय भएको मन्त्री शाहीले बताउनुभयो । तीन वर्षअघि सडक डिभिजन कार्यालय चौहरजहारीले उक्त बेलिब्रिज पुल निर्माणका लागि ठेक्का खुलाएको थियो ।
विसं २०७८ पुसमा हिम सगरमाथा खड्का कृष्ण जेभीले रु तीन करोड ८१ लाखमा पुल निर्माणको जिम्मा पाएको एक वर्षपछि मात्र काम सुरु गरेको थियो । विभिन्न कारणले पुल निर्माणमा ढिलासुस्ती भए पनि अहिले सञ्चालनमा आएको भेरी करिडोर कार्यालयका जाजरकोटका प्रमुख सुनिल रञ्जितकारले जानकारी दिनुभयो । बाँकी खोलामा ह्युम पाइप राखेर डोल्पासम्म सिधा यातायात सञ्चालनमा ल्याउने विषयमा छलफल भइरहेको उहाँको भनाइ छ ।
भेरी करिडोर कार्यालयका अनुसार एक सय १८ किलोमिटर लम्बाइ रहेको जाजरकोट–डोल्पा सडक खण्डभित्रको ५६ किलोमिटर सडक खण्डमा अहिले काम भइरहेको छ । ६२ किलोमिटरमा कार्यालयले फराकिलो बनाउने काम सुरु गर्न थालेको जनाएको छ । जाजरकोट–डोल्पा सडकखण्डअन्तर्गत पर्ने करोपगार्ड, खदाङ, त्रिपुराकोटको बेलिब्रिज पुल यसअघि नै निर्माण भइसकेको छ, भने रुपगार्ड खोलाको बेलिब्रिजको काम सुरु भइसकेको छ ।
रुपगार्डको बेलिब्रिज पुल निर्माण सम्पन्न भएपछि भेरी करिडोरअन्तर्गतका पाँचवटा मुख्य खोलाका पुल बन्नेछन् भने अझै सानातिना खोलामा गरेर आठवटा खोलामा पुल बन्न बाँकी छ ।
वडाध्यक्षलाई विद्यार्थीको प्रश्न : ‘खेल्ने सामग्री कसले दिन्छ ?
काठमाडौँ I “हाम्रो विद्यालयमा केटीहरुलाई खेल्ने सामग्री छैन । कसले दिन्छ वडाध्यक्ष ज्यु ” यो प्रश्न कक्षा ९ की विद्यार्थी क्रिष्टिना खड्काले काठमाडौँ महानगरपालिका–१० का वडाध्यक्ष रामकुमार केसी समक्ष गरेकी हुन् ।
रत्नराज्यलक्ष्मी उच्च माध्यमिक विद्यालयमा अध्ययनरत क्रिष्टिनाले आज विद्यालयको हलभित्र वडाध्यक्षलाई प्रश्न गरेकी छन् । “स्कुलमा खेलकुदमा विभेद् छ । केटालाई जति खेलकुदमा महत्व दिइन्छ त्यति केटीलाई ध्यान दिने गरिँदैन”, उहाँले भन्नुभयो ।
क्रिष्टिनाको प्रश्नप्रति वडाध्यक्ष केसीले तत्कालै सम्बोधन गर्दै आवश्यकपर्ने खेलकुद सामग्रीको बजेट तयार पारेर खरिद गर्न विद्यालयका प्रधानाध्यापकलाई निर्देशन दिनुभयो । खेलकुद सामग्री आउने कुराले क्रिष्टिनालगायत बालबालिकाले खुसी हुँदै उहाँलाई धन्यवाद दिएका थिए ।
एकता फाउन्डेशनले आज मध्यबानेश्वरस्थित उक्त विद्यालयमा ‘बालबालिका र वडाध्यक्षबीच प्रश्न–उत्तर’ कार्यक्रम आयोजना गरेको थियो । ‘बालविकास विषयक’ विद्यालयस्तरीय कार्यक्रममा सहभागी अरु विद्यार्थीलेसमेत आफ्ना जिज्ञासा जनप्रतिनिधिसमक्ष राखेका थिए । वडाध्यक्ष केसीले बालबालिकाको विकासका लागि आवश्यक रणनीति बनाएर अघि बढ्नुपर्ने भन्दै आफ्नोतर्फबाट सदैव सहयोग रहने प्रतिबद्धता जनाउनुभयो ।
विद्यालयमा खेलमैदानको अभाव रहेको भन्दै वडाध्यक्ष केसीले भद्रघले सदनको खुला मैदानमा विद्यालयका लागि रङ्गशाला बनाउने तयारी भइरहेको जानकारी दिनुभयो । “खेलमा विभेद् हुनुहुँदैन, सबैले खेल्ने वातावरण बनाउदैछौँ”, उहाँले भन्नुभयो, “योजना बनाएर हरेक सामुदायिक विद्यालयमा खेल मैदान बनाउने छौँ ।” विद्यार्थीले शैक्षिक भ्रमण गर्न नपाएको गुनासो गरेपछि वडाध्यक्षले विद्यार्थीलाई शैक्षिक भ्रमण समिति बनाउन सुझाव दिँदै सोहीअनुसार बजेट ल्याइने बताउनुभयो ।
“एउटै बेच्नमा सात जना कोचिएर पढ्नुपर्छ । हामीले कहिले खुला भएर पढ्न पाउने रु” यो प्रश्नमा वडाध्यक्ष केसीले उक्त समस्याको चाँडै समाधान निकाल्ने प्रतिबद्धता जनाउनुभयो । कार्यक्रमा शिक्षा मन्त्रालयका शाखा अधिकृत उषा लामिछानेले ‘बालअधिकार र विद्यालयमा बालमैत्री वातावरण निर्माणमा विद्यार्थीको भूमिका’ विषयमा कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।
वडा सदस्य सुनिता भित्रकोटीले रत्नराज्यलक्ष्मी विद्यालयको शैक्षिक गुणस्तर सुधारिँदै गएको बताउनुभयो । विद्यालयका प्रधानाध्यापक रामाशिष यादवले विद्यालयको सीमित स्रोतसाधनमा पनि बालबालिकालाई पढ्ने अनुकूल वातावरण मिलाउँदै आएको बताउनुभयो । उहाँले पछिल्लो समय पढ्ने मात्रै शिक्षा नभई असल संस्कृति अनुशरण गर्नु पनि रहेको बताउँदै बालबालिकामा असल संस्कृतिको अभ्यास गराइरहेको जानकारी दिनुभयो ।
एकता फाउन्डेशनका अध्यक्ष रामहरि शाही (समुन्द्री)ले बालबालिकामा प्रश्न गर्ने संस्कार विकास गराउन यस्तो अन्तक्र्रिया कार्यक्रम गर्दै आइएको जानकारी दिनुभएको थियो ।
इरानी राष्ट्रपति रायसीको निधनपछि उपराष्ट्रपति मोखबरले जिम्मेवारी सम्हाल्ने
इरानका राष्ट्रपति इब्राहिम रायसीको आइतबार हेलिकप्टर दुर्घटनामा परी मृत्यु भएपछि देशको पहिलो उपराष्ट्रपति मोहम्मद मोखबरले कार्यबाहक राष्ट्रपतिका रूपमा पदभार ग्रहण गर्ने सर्वोच्च नेता आयातोल्लाह खामेनीले बताउनुभएको छ ।
इरानको संविधानले मोखबरको आन्तरिम नियुक्तिका लागि सर्वोच्च नेता खामेनीलाई अधिकारसुम्पिएको छ । उहाँ सबै राज्य मामिलामा अन्तिम निर्णायक हुनुहुन्छ ।
हालको अवस्थामा स्थायी उत्तराधिकारी छनोट गर्न ५० दिनभित्र राष्ट्रपतीय निर्वाचन गर्नुपर्ने प्रावधान इरानी संविधानमा रहेको छ र सभामुख , न्यायपालिकाका प्रमुख र उपराष्ट्रपतिले बनेको परिषद्लाई राष्ट्रिय मतदानको आयोजना गर्ने जिम्मा दिइन्छ।
इरानले राष्ट्रपति रायसीलगायतका दुर्घटनामा दिवङ्गत भएका नेताहरूको सम्झनामा पाँच दिनको राष्ट्रिय शोकको घोषणा गरेको छ ।
इरानी संविधानले ‘राष्ट्रपतिको मृत्यु, बर्खास्त, राजीनामा, अनुपस्थिति वा दुई महिनाभन्दा बढी बिरामी भएमा’ पहिलो उपराष्ट्रपतिले राष्ट्रपतिको पदभार ग्रहण गर्ने व्यवस्था गरेको छ ।
विदेश मन्त्री हुसेन अमिर–अब्दुल्लाहियन र अन्य अधिकारीहरूसँगै आइतबार दुर्घटनामा पर्नुभएको राष्ट्रपति रायसी आफ्नो चार वर्षीय पहिलो कार्यकालको अन्त्यतिर हुनुहुन्थ्यो ।
अगस्त २०२१ मा रायसीले कार्यभार सम्हालेपछि ६८ वर्षीय मोखबरलाई उपराष्ट्रपति नियुक्त गरिएको थियो।
सन् २००७ देखि वर्षौँसम्म मोखबरले सन् १९७९ को इस्लामिक क्रान्तिपछि जफत गरिएका सम्पत्तीहरुको व्यवस्थापन गर्ने सरकारी सङ्गठन इमाम खोमेनीको आदेशको कार्यान्वयनको अध्यक्षता गर्नुभएको थियो । सन् १९८० को दशकमा स्थापना भएको यो सङ्गठन राज्यको प्रमुख आर्थिक समूह बनेको छ ।
सन् १९८० मा इस्लामिक गणतन्त्रको पहिलो मतदानपछि प्रत्येक चार वर्षमा इरानीहरूले राष्ट्रपति चुनावका लागि मतदान गर्दै आइरहेका छन् । संविधानले इरानी राष्ट्रपतिका लागि दुई कार्यकालको सीमा तय गरेको छ ।
प्रधानमन्त्रीको प्रावधान नरहेको इरानमा राष्ट्रपतिलाई विभिन्न उपराष्ट्रपतिहरूसँगको सहकार्यमा मन्त्रिपरिषद्को गठन र निर्देशनको जिम्मेवारी दिइन्छ ।