शुक्रबार, २२ साउन २०८३

/frontend/images/redline.png
https://jawaaf.com/storage/01K91GRVSVACSWRQYPYKK4GYDD.webp

सुनको मुल्य बढ्दा चाँदीको मुल्य घट्यो

काठमाडौं । नेपाली बजारमा आज (आइतबार) सुनको मूल्य ७०० ले बढेको छ ।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार २ लाख ३९ हजारले रुपैयाँले तय भएको सुन आज प्रतितोला २ लाख ३९ हजार ७ सयले कायम भएको हो । 

त्यस्तै आज सुनको मूल्य बढ्दा चाँदीको मूल्य भने प्रतितोला ५ रुपैयाँले घटेको छ । शुक्रबार  प्रतितोला ३ हजार ६० रुपैयाँ कायम भएको चाँदी आज ३ हजार ५५  रुपैयाँले कारोबार भएको छ । 

प्रकाशित मितिः आइतबार, १६ कात्तिक २०८२
https://jawaaf.com/storage/01K91DJT0RD28ARTFQCMTYA3JF.jpg

नागढुङ्गा सुरुङ सञ्चालन तथा मर्मतका लागि अन्तर्राष्ट्रिय टेण्डर आह्वान

काठमाडौं । नागढुङ्गा–सिस्नेखोला सुरुङ मार्ग सञ्चालन तथा मर्मतका लागि अन्तर्राष्ट्रिय सेवाप्रदायक छनोट गर्न टेण्डर आह्वान गरिएको छ।

नागढुङ्गा सुरुङ निर्माण आयोजनाले आइतबार अन्तर्राष्ट्रिय प्रतिस्पर्धाबाट अनुभवी र सक्षम सेवाप्रदायक छनोट गर्ने उद्देश्यले टेण्डर आह्वान गरेको हो। बोलपत्र बुझाउने अन्तिम मिति आगामी पुस २ गते (१७ डिसेम्बर २०२५) तोकिएको छ।

सुरुङमार्गमार्फत सवारी साधन चलाउन सक्ने अवस्था पुगेको भए पनि दक्ष जनशक्ति र सुरक्षा व्यवस्थाको कारण अझै सञ्चालनमा आउन सकेको छैन। मुख्य सुरुङको लम्बाइ २.७ किलोमिटर र आपतकालीन सुरुङको लम्बाइ २.६ किलोमिटर रहेको छ। सरकारले सुरुङ प्रयोग गर्ने सवारी साधनका लागि सडक उपभोग दस्तुर (टोल) तोकिसकेको छ।

आयोजनाका अनुसार सुरुङमा अत्याधुनिक प्रणाली समावेश भएकाले यसको सञ्चालन र मर्मतका लागि दक्ष तथा विशेष तालिम प्राप्त जनशक्ति आवश्यक छ। सडक विभागको हालको कार्यबोझ र सीमित जनशक्तिका कारण यस्तो संरचना सञ्चालन कठिन हुने भएकाले अन्तर्राष्ट्रिय प्रतिस्पर्धाबाट सेवाप्रदायक छनोट गर्न लागिएको हो।

छनोट गरिने सेवाप्रदायक कम्पनीले पाँच वर्षसम्म सुरुङको सञ्चालन तथा मर्मत कार्य गर्नेछ। यस अवधिमा विदेशी विज्ञहरूबाट नेपाली प्राविधिक र व्यवस्थापकलाई प्रविधि हस्तान्तरण गराइने योजना पनि रहेको छ। यसले आगामी दिनमा अन्य सुरुङ तथा फास्ट ट्र्याकजस्ता संरचनाहरू स्वदेशी जनशक्तिबाटै सञ्चालन गर्न सहज हुने अपेक्षा गरिएको छ।

सुरुङ २४ सै घण्टा सञ्चालन गर्नुपर्ने भएकाले दुर्घटना, आगलागी वा प्रणाली बिग्रिएमा तत्कालै आपत्कालीन सेवा आवश्यक हुने बताइएको छ। त्यसका लागि सेवाप्रदायकले शिफ्ट प्रणालीमा जनशक्ति खटाउने, आपतकालीन टोली स्थापना गर्ने व्यवस्था गर्नेछ।

सुरुङ सञ्चालन तथा मर्मतका लागि करिब १५० जनाको दरबन्दी प्रस्ताव गरिएको छ। जसमा सुरुङ सञ्चालन तथा मर्मत प्रमुखको नेतृत्वमा कार्यसमूह रहनेछ। सुरक्षाव्यवस्थापन युनिटमा ६४ जना, टोल उठाउनेमा ५४ जना, ट्राफिक सुविधा र अनुगमनमा १४ जना, र सिभिल संरचना तथा अन्य मर्मत कार्यका लागि ८÷८ जना कर्मचारी रहने व्यवस्था गरिएको छ।

प्रकाशित मितिः आइतबार, १६ कात्तिक २०८२
https://jawaaf.com/storage/01K8Z15NTC48WJWBX1T2JMFEY5.jpg

नेपाल धितोपत्र बोर्डमा नेतृत्व विवाद चर्कियो, अध्यक्षलाई कार्यालय प्रवेशमा रोक

काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन) मा कर्मचारीहरूको आन्दोलन ४० दिनभन्दा बढी समयदेखि निरन्तर जारी रहेसँगै पूँजीबजार नियामक निकाय नै अक्षम बन्ने अवस्था देखिएको छ । आन्दोलन उग्र बन्दै गर्दा सेबोनमा नेतृत्व विवाद झनै चर्किएको छ ।

अर्थ मन्त्रालयको निर्देशनविरुद्ध आन्दोलित कर्मचारीहरूले आइतबारदेखि बोर्ड अध्यक्ष सन्तोषनारायण श्रेष्ठसहित सञ्चालकहरूलाई कार्यालय प्रवेशमा रोक लगाउने चेतावनी दिएपछि तनाव थपिएको हो ।

गत असोज २ गते अर्थ मन्त्रालयले सेबोनको कर्मचारी कल्याण तथा सुरक्षा कोष अवैध रहेको निष्कर्ष निकाल्दै कोष खारेज गर्न र वितरण भएको रकम असुल्न निर्देशन दिएको थियो । सो निर्देशन सार्वजनिक भएपछि नै कर्मचारीहरूले आन्दोलन थालेका हुन् ।

कर्मचारीहरूले सेबोन नेतृत्व समस्या समाधानमा निष्क्रिय रहेको र उनीहरूको पक्षमा कानुनी रूपमा लड्न नसकेको आरोप लगाएका छन् । तर बोर्डकै भित्रबाट आएका संकेतअनुसार, कानूनी बाटोलाई पन्छाएर अध्यक्ष हटाउने उद्देश्यले केही स्वार्थ समूहले आन्दोलनलाई दुरुपयोग गरिरहेको शंका बढेको छ ।

अर्थमन्त्री डा. रामेश्वर खनालले आन्दोलन अराजक हुने खतरा भएको चेतावनी दिएको भए पनि व्यावहारिक रूपमा संघीय सरकार निरिह बनेर बसेको कर्मचारी सहित लगानीकर्ताको आरोप छ ।

७० लाखभन्दा बढी लगानीकर्ताको हित संरक्षणको जिम्मेवारी बोकेको निकाय लामो समयदेखि ठप्प हुँदा पूँजीबजारमा अनिश्चितता बढेको छ । विशेषज्ञहरूका अनुसार, अराजक आन्दोलनका बीच अख्तियार दुरुपयोग अनुसन्धान आयोगको निर्देशनसम्म अवज्ञा हुने अवस्था प्रशासनिक संकटको संवेदनशील संकेत हो । कर्मचारीहरूले अध्यक्ष श्रेष्ठले राजीनामा नदिएसम्म आन्दोलन रोकिने अवस्था नरहेको बताएका छन् ।

प्रकाशित मितिः शनिबार, १५ कात्तिक २०८२
https://jawaaf.com/storage/01K8YP77ZTJEQZHK1EEY0JCXDP.jpeg

बाटोमै बच्चा जन्माउन बाध्य बाजुराका आमाः भौगोलिक विकटता र गुणस्तरीय स्वास्थ्य संस्थाको अभाव

बाजुरा । भौगोलिक विकटता र गुणस्तरीय स्वास्थ्य संस्थाको अभावमा बाजुराका आमाहरुले बाटोमै बच्चा जन्माउने क्रम जिवित छ । आवश्यक स्वास्थ्य संस्था, भौगोलिक विकटता, प्रसूति स्वास्थ्य शिक्षा र उचित परामर्श नहुँदा यहाँका आमाहरु बाटोमै बच्चा जन्माउन बाध्य छन् ।

हरेक बर्ष बाजुराका आमाहरुले बाटोमै बच्चा जन्माउने गरेको समाचार आउँने गरेका छन् । घरपरिवारको स्वास्थ्य हेरचाह, असुरक्षित खानपान, भौगोलिक विकटता र गुणस्तरीय स्वास्थ्य संस्थाको अभाव नै यहाँका आमाहरुको प्रमुख बाधक समस्या हो । 

बाजुरामा ४ वर्षको तथ्यांक मात्रै केलाउँदा दर्जनौ बढि आमाहरुको मुत्यु भएको छ भने कयौं आमाहरुले बाटोमै बच्चालाई जन्म दिएकी छन् । 

यसै क्रममा बिहिवार बाजुराको बुढीगंगा नगरपालिका ७ सिमलकोटकी सिर्जना केसीले पनि बाटोमै सन्तान जन्माएकी छन् । सिर्जनाले घरबाट स्वास्थ्य संस्था ल्याउँदै गर्दा बाटोमै बच्चाको जन्म दिएकी हुन् । 

उनलाई सहज रुपमा सुत्केरी गराउन स्वास्थ्य संस्था लैजादै गरे पनि स्वास्थ्य संस्था टाढा हुँदा उनले बाटोमै बच्चाको जन्म दिएकी हुन् । सिर्जनालाई बाटोमै ब्यथा लागेको खबर स्वास्थ्य संस्थालाई गरे पश्चात् लगत्तै सिमलकोट आधारभुत स्वास्थ्य केन्द्रमा कार्यरत विनिता विष्टले उद्दारका लागि गएकी हुन् । बिष्ट पुग्दासम्म सिर्जनाले बच्चा जन्माइसकेकी थिइन् । 

उनले सिर्जनाले बाटोमै बच्चा जन्माएपनि सालनालको व्यवस्थापन र चेकजाँचको लागि स्वास्थ्य चौकी लगेको बताईन् । अहिले आमा र बच्चाको अवस्था सामान्य रहेको विष्टले जानकारी दिएकी छन् । 

बुढीगंगामा मात्रै यो वर्ष सिर्जनासहित अन्य दुई जना आमाले बाटोमै बच्चा जन्माएकी छन् । यो एक उदाहरण मात्रै हो । बाजुरामा थुप्रै यस्ता घटनाहरु छन् । यहाँका ९ वटै स्थानीय तहका आमाहरुले बाटोमै बच्चा जन्माउने गरेका छन् ।

बाजुरामा बाटोमा सुत्केरी हुनेको यकिन तथ्याङ्क नभए पनि एक महिनामा दुईदेखि तिनजना महिला बाटोमै सुत्केरी हुने गरेको स्वास्थ्य कार्यालय बाजुराले जनाएको छ । सरकारले हवाई उद्धार कार्यक्रम सञ्चालन गरे पनि बाजुराका आमाहरुले बाटोमै बच्चा जन्माउने र मर्ने क्रम नरोकिएको स्वास्थ्य कार्यालय बाजुराले जनाएको छ ।

बाजुरामा भौगोलिक विकटता, गुणस्तरीय स्वास्थ्य सेवा पहुँचबाट वञ्चित, नियमित गर्भ जाँचको कमि, कडा परिश्रम, कम उमेरमै बच्चाको जन्म, पौष्टिक आहारको कमिलगायत कारणले सुत्केरीको ज्यान जोखिम पर्ने गरेको स्वास्थ्यकर्मीको भनाइ छ  । साथै सरकाले लागु गरेको सुत्केरी हवाई उद्धार बाजुरामा पनि प्रभावकारी बनाउन जरुरी रहेको उनीहरुको भनाइ छ ।

प्रकाशित मितिः शनिबार, १५ कात्तिक २०८२
https://jawaaf.com/storage/01K8TASWDZRBYFWSTJ512TJZS5.jpg

३४ अंक बढ्यो नेप्से, कारोबार रकममा पनि वृद्धि

काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीबार नेप्से परिसूचक ३४.२२ अंकले बढेको छ । यसअघि लगातार तीन कारोबार दिन बढेको नेप्से बुधवार भने सामान्य करेक्सन भएको थियो ।

बुधबार २,५६६.१६ विन्दुमा झरेर रोकिएको नेप्से परिसूचक यसदिन २६००.३८ अंकमा उक्लेर रोकिएको हो । आज सेन्सेटिभ इन्डेक्स ५.४० अंकले बढेको छ भने फ्लोट इन्डेक्स २.३७ अंक र सेन्सेटिभ फ्लोट इन्डेक्स १.९३ अंकले बढेको छ । यसदिन पसिूचक बढेसँगै कारोबार रकममा पनि वृद्धि भएको छ ।

आज कुल ३१९ स्टकको ५३ हजार ११२ पट्कको कारोबार मार्फत ७ अर्ब ५१ करोड ३९ लाख ३८ हजार ४७३ रुपैयाँ बराबरको २ करोड ६० लाख १० हजार ७ सय १८ कित्ता शेयर कारोबार भएको छ ।

यसअघि बुधवार ५ अर्ब ४५ करोड ९७ लाख ६७ हजार रुपैयाँ बराबरको १ करोड १५ लाख १ हजार कित्ता शेयर कारोबार भएको थियो ।

यस दिन दुई स्टकको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । यस दिन गुराँस लघुवित्त वित्तिय संस्था लिमिटेड र उन्नती सहकार्य लघुवित्त वित्तीय संस्थाको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो ।

गुराँस लुवित्तको शेयर प्रतिकित्ता १० प्रतिशतले बढेर २३१० रुपैयाँमा अन्तिम कारोबार भएको छ भने उन्नती सहकार्य लघुवित्तको शेयर पनि मूल्य प्रतिकित्ता १० प्रतिशतले नै बढेर २००२.१० रुपैयाँमा अन्तिम कारोबार भएको छ । त्यस्तै, यस दिन सुपर माई हाईड्रो पावर, गणपति लघुवित्त र पिपुल्स हाईड्रोपावर कम्पनीकोे शेयर मूल्य ९ प्रतिशत भन्दा धेरैले बढेको छ ।

आज एनआईबिएल सवल फण्डको इकाई मूल्य सर्वाधिक घटेको छ । यस म्यूचुअल फण्ड ५.७० प्रतिशतले घटेको हो भने सानिमा ग्रोथ फण्डको इकाईमूल्य ५.२४ प्रतिशतले घटेको छ । कारोबार रकमका आधारमा यस दिन हिमालयन बैंकको संस्थापक शेयर सर्वाधिक बढेको छ । सो कम्पनीको यस दिन एक अर्ब ६६ करोड ५० लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ ।

कारोबारमा आएका कुल १३ उपसमूहमध्ये यस दिन १२ उपसमूहको परिसूचक बढेको छ भने म्यूचुअल फण्ड समूहको परिसूचक घटेको छ । यस दिन हाईड्रोपावर उपसमूहको परिसूचक सर्वाधिक २.६७ प्रतिशत बढेको छ । विकास बैंक, वित्त, लगानी, जीवन बीमा, उत्पादन तथा प्रशोधन, लघुवित्त, निर्जीवन बीमा उपसमूहको परिसूचक १ प्रतिशत भन्दा बढीले बढेको हो ।

प्रकाशित मितिः बिहिबार, १३ कात्तिक २०८२
https://jawaaf.com/storage/01K8SVX14ZSJMNP35TJCE8WMA2.jpg

दक्षिण कोरियामा ट्रम्प–सी वार्ता : व्यापार समझदारीतर्फ सकरात्मक संकेत

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चिनियाँ राष्ट्रपति सी चिनफिङसँगको भेटवार्तामा अमेरिका–चीनबीच व्यापार सम्झौताको सम्भावना रहेको संकेत गरेका छन् । दक्षिण कोरियाको बसानमा आयोजित २०२५ एपीइसी शिखर सम्मेलन पूर्व यो भेटवार्ता सम्पन्न भएको हो ।

पत्रकारद्वारा सम्भावित व्यापार सम्झौताबारे सोधिएको प्रश्नमा राष्ट्रपति ट्रम्पले दुवै देशबीच सुमधुर समझदारी कायम रहने विश्वास व्यक्त गरे । ‘हामीबीच उत्कृष्ट बुझाइ छ । धेरै लामो समयसम्म हाम्रो सम्बन्ध शानदार रहनेछ,’ उनले भने । साथै, उनले राष्ट्रपति सीलाई ‘कडा वार्ताकार’ भन्दै प्रशंसा पनि गरे ।

राष्ट्रपति सीले हालै दुवै देशका आर्थिक टोलीबीच प्रमुख मुद्दामा ‘आधारभूत सहमति’ जुटेको उल्लेख गर्दै यसले बसान वार्तालाई सहज बनाएको बताए । ‘हामीले प्रमुख चिन्ताका विषयमा प्रगतिशील परिणाम हासिल गरेका छौं । त्यसैले आजको वार्ताले चीन–अमेरिका सम्बन्धलाई मजबुत बनाउँदै दुवै देशको विकासका लागि सकारात्मक वातावरण तयार गर्नेछ,’ राष्ट्रपति सीको भनाइ छ ।

गत केही महिनादेखि व्यापार विवाद चर्किएसँगै दुवै मुलुकबीच तनाव बढेको छ । यसै महिनाको प्रारम्भमा चीनले निर्यातमा नयाँ प्रतिबन्ध लगाएपछि अमेरिका पनि सफ्टवेयर तथा प्रविधि निर्यात रोक्न चेतावनी दिएको थियो ।

वार्ताको पूर्वसन्ध्यामा अमेरिकाले फेन्टानिलको अवैध आपूर्ति नियन्त्रण, टिकटकलाई बाइट डान्सबाट विभाजन गराउने मुद्दा, शुल्क दर, प्रविधि प्रतिबन्ध तथा दुर्लभ खनिज व्यापारसम्बन्धी विषयलाई एजेन्डामा राखेको थियो ।

ट्रम्प–सीबीचको यो उच्चस्तरीय भेट एपिइसी आर्थिक नेतृत्व सम्मेलनको एक दिनअघि, अक्टोबर ३१ देखि नोभेम्बर १ सम्म दक्षिण कोरियाको ग्यङ्जुमा हुँदैछ । अब दुवै देशबीच तनाव कम भई स्थिरता कायम हुनेमा विश्व समुदायको ध्यान केन्द्रित बनेको छ । एएनआई

प्रकाशित मितिः बिहिबार, १३ कात्तिक २०८२
https://jawaaf.com/storage/01K8SSA9QRR1MEFZSG1S3ZGXRH.jpg

दलगत स्वार्थ र व्यवस्थापकीय कमजोरीको नमुना : ‘शान्ति वनस्पति घ्यू उद्योग’

हेटौंडा । कुनै समय हजारौँलाई रोजगारी दिएको हेटौंडा औद्योगिक क्षेत्रभित्र रहेको ऐतिहासिक ‘शान्ति (नेपाल) वनस्पति घ्यू उद्योग लिमिटेड’ यतिबेला बन्द अवस्थामा छ । 

राजनीतिक हस्तक्षेप, नीति अस्थिरता र औद्योगिक योजनाको कमीका कारण करिब तीन दशकअघि नै बन्द भएको पूर्वकर्मचारी एवम् स्थानीवासीको भनाइ छ । यो प्रतिष्ठान अहिले पुरानो भग्नावशेषका रूपमा मात्र बाँकी छ । 

पूर्वकर्मचारी रामबहादुर खड्काका अनुसार, यो उद्योगले करिब १० हजारभन्दा बढी नेपालीलाई नियमित रोजगारी दिएको थियो तर, दलगत स्वार्थ, व्यवस्थापकीय कमजोरी र दीर्घकालीन औद्योगिक दृष्टिकोणको अभावले गर्दा उद्योग क्रमशः खस्किदै गएको छ ।

‘राजा महेन्द्र वीरविक्रम शाहले आफ्नी बहिनी शान्तिदेवी शाहको नाममा स्थापना गर्नुभएको यो उद्योग गणतन्त्र आएपछि पूर्ण रूपमा बन्द भयो, खड्काले भने, ‘स्थिर नीतिको अभाव र राजनीतिक भागबन्डाले हजारौँ परिवारको जीवननिर्वाह गर्ने यो उद्योग आज बिर्सनलायक ढिस्को बनेको छ ।’

ऐतिहासिक पृष्ठभूमि

शान्ति वनस्पति घ्यू उद्योग १३ जुलाई १९७६ (२०३३ असार) मा स्थापना भई १६ जुलाई १९८२ (२०३९ असार) देखि उत्पादनमा आएको थियो । करिब ८९ रोपनी (४.५ हेक्टर) क्षेत्रफलमा फैलिएको यस उद्योगले ‘शान्ति ब्रान्ड’ नाममा वनस्पति घ्यू उत्पादन गथ्र्यो, जुन एक समय देशभर चर्चित थियो । काठमाडौंदेखि धरान, पोखरा र जनकपुरसम्म यसको माग उल्लेखनीय थियो । 

तर, समयक्रममा भारतसँगको प्रतिस्पर्धा, कर असमानता र कच्चा मालको अभावजस्ता कारणले उद्योग कमजोर हुँदै गयो । १९९० को दशक तिर नै उद्योग संकटमा फसेको र २००७÷०८ आर्थिक वर्षसम्म आइपुग्दा उत्पादन पूर्ण रूपमा बन्द गर्नुपरेको बताइएको छ । 

बन्द हुनुका कारण

उद्योग बन्द हुनाका प्रमुख कारणहरूमा भारतबाट अत्यधिक सस्तो वनस्पति घ्यूको आयात, कर संरचनामा असमानता, व्यवस्थापनको कमजोरी र कच्चा मालको आपूर्तिमा समस्या प्रमुख रूपमा रहेको औंल्याइन्छ । 

नेपालमा कर दर निरन्तर बढ्दै गए पनि भारतमा वनस्पाती उद्योगलाई सब्सिडी र कर छुट दिइँदै आएको थियो । त्यसले गर्दा नेपाली उत्पादन बजारमा प्रतिस्पर्धा गर्न नसकेको उद्योगका पुराना रिपोर्टहरूमा उल्लेख छ । 

त्यससँगै उद्योगभित्रै हुने राजनीतिक हस्तक्षेप र कर्मचारी नियुक्तिमा दलगत भागबन्डा पनि यसको पतनको मुख्य कारण बनेको पूर्व कर्मचारीहरू बताउँछन् । 

‘व्यावसायिक दक्षता भन्दा पनि पार्टी निष्ठा हेरेर नियुक्ति गर्न थालियो,’खड्काले सम्झिए, ‘त्यो क्षणदेखि नै उद्योगको पतन सुरु भयो ।’

निष्क्रिय जग्गा र पुनःप्रयोगको प्रयास

हेटौँडा औद्योगिक क्षेत्र कार्यालयका अनुसार, उद्योग बन्द भएपछि लामो समयसम्म ८९ रोपनी जग्गा निष्क्रिय रह्यो । पछिल्ला वर्षहरूमा सरकारले त्यस्ता निष्क्रिय उद्योगका जग्गा फिर्ता लिएर पुनःउत्पादनशील बनाउन पहल थालेको छ।

तर, ‘साल्ट ट्रेडिङ कर्पोरेसन’ लगायतका केही संस्थाले त्यही क्षेत्रमा लिजमा जग्गा लिएर पनि लामो समय उपयोग नगरेका कारण विवाद बढ्दै गएको स्थानीय उद्योगीहरूको भनाइ छ।

औद्योगिक क्षेत्रका एक अधिकृतका अनुसार, ‘हेटौंडा औद्योगिक क्षेत्रका धेरै उद्योगहरू दशकौँदेखि निष्क्रिय छन् । सरकारले ती जग्गा पुनःसक्रिय बनाउन प्रयास थालेको छ, तर कानुनी र प्रशासनिक प्रक्रिया जटिल छन्।’

नीति अस्थिरताको असर

अर्थविद्हरूको ठहरमा, शान्ति वनस्पति घ्यू उद्योगको पतन नेपालमा दीर्घकालीन औद्योगिक नीतिको अभाव र राजनीतिक हस्तक्षेपको परिणाम हो । 

‘यदि यतिबेला नीति स्थिर र कर सन्तुलन कायम भएको भए, यो उद्योग अझै सञ्चालनमा रहन्थ्यो,’ उद्योग चेम्बरका एक पूर्व अधिकारीले बताए।

युगको अन्त्य

आजपनि उद्योगको भवन, चिम्नी र गोदामहरू हेटौँडा औद्योगिक क्षेत्रमा जस्ताको तस्तै देख्न सकिन्छ। तर, ती अब उत्पादनको प्रतीक होइन, एउटा गुमेको औद्योगिक युगको साक्षी बनेका छन् । 

स्थानीयहरू भन्छन्, ‘शान्ति उद्योगले हेटौँडाको औद्योगिक पहिचान बनाएको थियो। अहिले त्यही पहिचान धुलोमा हराएको छ ।’

राजनीतिकरण, नीति अस्थिरता र योजनाको कमी— यी सबै कारणले ‘शान्ति वनस्पति घ्यू उद्योग’ मात्र होइन, नेपालकै औद्योगिक इतिहासको एउटा स्वर्ण अध्याय बन्द भएको प्रतीक बनेको छ।

प्रकाशित मितिः बिहिबार, १३ कात्तिक २०८२
https://jawaaf.com/storage/01K8QEPXTJH5RBSVQRV5R8NJSF.jpg

इनरुवा-पूर्णिया र लम्की-बरेली अन्तरदेशीय प्रसारण लाइन निर्माण गर्न संयुक्त उपक्रम तथा शेयरहेल्डर सम्झौतामा हस्ताक्षर

काठमाडौं । नेपाल र भारतबीच इनरूवा–पूर्णिया र लम्की –दोदोधारा–बरेली ४०० केभी अन्तरदेशीय प्रसारण लाइन निर्माण गर्न संयुक्त उपक्रम तथा शेयरहोल्डर सम्झौतापत्रमा हस्ताक्षर भएको छ । 

ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकासमन्त्री कुलमान घिसिङ र भारतका भारतका विद्युतमन्त्री मनोहरलाल खट्ठरको उपस्थितमा बुधबार नयाँ दिल्लीमा सम्झौतापत्रमा हस्ताक्षर भएको छ । 

हस्ताक्षर समारोहमा भारतका लागि नेपालका राजदूतका शंकर प्रसाद शर्मा, भारतका विद्युत सचिव पंकज अग्रवाल, विदेश मन्त्रालयका अतिरिक्त सचिव, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सहसचिव सागरराज गौतमलगायतको उपस्थिति थियो । 

सम्झौतापत्रमा नेपाल विद्युत प्राधिकरणकातर्फबाट उपकार्यकारी निर्देशक सुभाष कुमार मिश्रर पावर ग्रिड कर्पोरेशन अफ इण्डिया लिमिटेडका अन्तर्राष्ट्रिय व्यवसाय प्रमुख सञ्चालन अधिकृत सञ्जय कुमार गुप्ताले हस्ताक्षर गर्नुभएको हो । संयुक्त लगानी सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएसँगै प्राधिकरण र पावर ग्रिडको लगानीमा दुवै प्रसारण लाइन निर्माणका लागि कम्पनी संस्थापना गर्न बाटो खुलेको छ । 

कार्यक्रममा मन्त्री घिसिङले थप दुईवटा क्रस बोर्डर प्रसारण लाइन निर्माण अगाडि बढ्नु द्धिपक्षीय एवम् क्षेत्रीय विद्युत व्यापारका लागि अर्को महत्वपूर्ण कोशेढुङ्गा भएको उल्लेख गर्नुभयो । उहाँले अन्तरदेशीय प्रसारण लाइनको निर्माणबाट दुई देशबीच तथा क्षेत्रीयस्तरमा समेत नेपालमा उत्पादित विद्युत निर्यात गर्ने आधार तयार भई अन्तर्राष्टिय ऊर्जा बजारसम्म नेपालको पहुँच पुर्याई नेपालका जलविद्युतमा स्वदेशी तथा प्रत्यक्ष वैदेशिक लगानी ल्याउन थप सहज हुने बताउनुभयो । 

भारतीय विद्युतमन्त्री खट्ठरले थप दुईवटा क्रस बोर्डर प्रसारण लाइनको निर्माण सम्पन्न भएपछि नेपाल—भारतबीचको विद्युत विनिमयलाई सारभूत रुपमा थप सुदृढ हुनुकासाथै क्षेत्री ऊर्जा सुरक्षामा सुधार, सुदृढ ग्रिड बन्नेहुँदा यसले दुर्व देशको आर्थिक बृद्धिमा योगदार पुर्याउने उल्लेख गर्नुभयो । 

मन्त्रिपरिषद्को ३० असोजको बैठकले प्रसारण लाइन निर्माणका लागि प्राधिकरण र पावर ग्रिडको लगानीमा नेपाल तथा भारत दुवै भूमिमा दुईवटा संयुक्त कम्पनी स्थापना गर्न र उक्त कम्पनीहरुमा स्वपूँजी (इक्विटी) लगानी गर्न प्राधिकरणलाई स्वीकृति दिएको थियो । 

कार्यक्रममा मन्त्री घिसिङले दुईवटा थप अन्तरदेशीय प्रसारण लाइनको निर्माणबाट दुई देशबीच तथा क्षेत्रीयस्तरमा समेत नेपालमा उत्पादित विद्युत निर्यात गर्ने आधार तयार भई अन्तर्राष्टिय ऊर्जा बजारसम्म नेपालको पहुँच पुर्याई नेपालका जलविद्युतमा स्वदेशी तथा प्रत्यक्ष वैदेशिक लगानी ल्याउन थप सहज हुने बताउनुभयो । 

दुईवटा अन्तरदेशीय प्रसारण लाइनको भारतीय भूभागमा पर्ने खण्ड निर्माणका लागि भारतमा संस्थापना गरिने संयुक्त कम्पनीमा प्राधिकरणको ४९ प्रतिशत र पावर ग्रिडको ५१ प्रतिशत सेयर हिस्सा रहनेछ । त्यस्तै नेपाली भूभागमा पर्ने खण्ड नेपालका लागि नेपालमा संस्थापना हुने संयुक्त कम्पनीमा प्राधिकरणको ५१ प्रतिशत र पावर ग्रिडको ४९ प्रतिशत सेयर हिस्सा रहनेछ । 

दुई प्रसारण लाइनको निर्माणमा ८० प्रतिशत ऋण र २० प्रतिशत सेयर पूँजी रहने गरी वित्तीय व्यवस्थापन गरिनेछ । इनरुवा पूर्णिया प्रसारण लाइनको करिब २६ किलोमिटर खण्ड नेपाली र १०९ किलोमिटर खण्ड भारतीय भूभागमा पर्नेछ । लम्की बरेली प्रसारण लाइनको करिब ३३ किलोमिटर खण्ड नेपाली र १८५ किलोमिटर खण्ड भारतीय भूभागमा निर्माण हुनेछ । 

नेपाल भारत संयुक्त प्राविधिक टोलीले सन् २०१९मा तयार पारेको अध्ययन प्रतिवेदनअनुसार इनरुवा पूर्णिया प्रसारण लाइनको प्रारम्भिक लागत नेपाली र भारतीय खण्डको क्रमशः २ अर्ब ६५ लाख र ४ अर्ब १३ करोड भारतीय रुपैयाँ (भारु) लाग्ने अनुमान गरिएको छ । 

त्यस्तै लम्की बरेली प्रसारण लाइनको नेपालमा  प्रारम्भिक लागत अनुमान नेपाली र भारतीय खण्डको क्रमश २ अर्ब ५७ करोड र ६ अर्ब १४ करोड भारु रहेको छ । प्राधिकरणले आफ्नै स्रोतबाटनेपाल र भारतमा संस्थापना हुने संयुक्त कम्पनीमा १ अर्ब र २ अर्ब बराबरको इक्विटी लगानी गर्नेछ । 

नेपाल र भारतबीचको विद्युत व्यापार, अन्तरदेशीय प्रसारण लाइन संयोजन एवम् सञ्चालन संयोजन सम्बन्धी सम्झौताको प्रावधनबमोजिम दुई देशका ऊर्जा सचिवस्तरीय संयुक्त निर्देशक समितिको ११ फेब्रुवरी २०२५मा भारतको नयाँ दिल्लीमा सम्पन्न बैठकले प्रसारण लाइन निर्माण तथा सञ्चालन र लगानी मोडालिटीमा सहमति गरेको थियो ।

त्यसपछि प्राधिकरण र बावर ग्रिडबीच विभिन्न चरणमा भएका छलफलपछि २२ अप्रिल २०२५मा प्रसारण लाइन निर्माणका लागि संयुक्त कम्पनी संस्थापना गर्ने समझदारीपत्र (एमओयू)मा हस्ताक्षर भएको थियो । दुवै लाइनको निर्माण सन् २०३० भित्र निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको छ । 

नेपाल र भारतबीच व्यापारका लागि हाल ४०० केभीको ढल्केबर–मुजफ्फपुर पहिलो क्रस बोर्डर प्रसारण लाइन सञ्चालनमा छ । बुटवल—गोखरपुर दोस्रो अन्तरदेशीय प्रसारण लाइन निर्माणाधीन छ । नेपालको चमेलियादेखि भारतको उत्तराखण्डस्थित जैलिजिवीसम्म २२० केभी प्रसारण लाइन निर्माण गर्न दुई देशबीच सहमति जुटिसकेको छ । 

त्यस्तै, भारतका बिहार, उत्तर प्रदेश र उत्तराखण्ड राज्यसँग जोडिएका १३२, ३३ र ११ केभीका प्रसारण लाइन पनि रहेका छन् । प्राधिकरणले हाल ४०० र १३२ केभी प्रसारण लाइन संरचना प्रयोग गरी भारत एवम् बंगलादेशतर्फ दैनिक रुपमा एक हजार मेगावाट विद्युत निर्यात गरिरहेको छ ।

प्रकाशित मितिः बुधबार, १२ कात्तिक २०८२
https://jawaaf.com/storage/01K8NA1ZGV94JD3TS8TMF8DXP0.avif

‘नेपालमा नवीकरणीय ऊर्जामा लगानी गर्नुहोस्’ - मन्त्री कुलमान घिसिङको आह्वान

नयाँ दिल्ली । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकासमन्त्री कुलमान घिसिङले नेपालको जलविद्युत् एवम् सौर्य जस्ता नवीकरणीय ऊर्जामा लगानी गर्न अन्तर्राष्ट्रिय समुदायलाई आह्वान गरेका छन् ।

नेपालको स्वच्छ ऊर्जाको यात्रा नयाँ युगतर्फ प्रवेश गर्ने महत्वपूर्ण मोडमा पुगेको उल्लेख गर्दै मन्त्री घिसिङले आह्वान गरेका हुन् ।

उनले भने, ‘जलविद्युत्को अपार सम्भावना, बढ्दो सौर्य ऊर्जा क्षमता र विस्तार हुँदै गएको अन्तरदेशीय प्रसारण लाइन तथा ऊर्जा सम्बन्धका साथ हामीसँग क्षेत्रलाई दिगो रूपमा ऊर्जायुक्त बनाउन सक्ने सम्भावना छ, म हाम्रा मित्र राष्ट्रहरू र साझेदारहरूलाई निम्तो दिन्छु-नेपालमा लगानी गर्नुहोस्, नवीकरणीय ऊर्जामा लगानी गर्नुहोस् र सबैका लागि उज्यालो र हरित भविष्यको हिस्सा बन्नुहोस् ।’

नेपालको जलविद्युत् यस क्षेत्रको लचिलो तथा स्थिर ग्रिडका लागि महत्वपूर्ण स्रोत रहेको उनले उल्लेख गरे ।

जलविद्युत् उत्पादन देशको विकासलाई मात्र नभई दक्षिण एशियाकै स्वच्छ तथा हरित ऊर्जा प्रमुख निर्यातकर्ता बन्ने नेपालको भिजन रहेको उल्लेख गर्दै घिसिङले सन् २०३५ सम्ममा १५ हजार मेगावाट नवीकरणीय ऊर्जा निर्यातको लक्ष्यसहित नेपाल र भारतले संयुक्त रूपमा उच्च क्षमताका प्रसारण लाइन पूर्वाधार पहिचान गरी निर्माणका काम भइरहेको बताए ।

झण्डै ८३ हजार मेगावाट जलविद्युत् सम्भावना र करिब ४२ हजार मेगावाट पम्प स्टोरेज जलविद्युत् सम्भावनाले सम्पन्न ऊर्जाका स्रोत स्वच्छ, नवीकरणीय र नेपालका छिमेकी देशहरूको सौर्य तथा वायु ऊर्जासँग उत्कृष्ट रूपमा परिपूरक रहेको उनले उल्लेख गरे ।

उहाँले क्षेत्रीय र विश्वव्यापी रूपमा ग्रिड विकसित हुँदै जाँदा अन्तरआवद्ध प्रसारण सञ्जालले विभिन्न क्षेत्रहरूबिच नवीकरणीय ऊर्जा प्रवाह सम्भव बनाउँदै विद्युत् माग र आपूर्तिको सन्तुलन कायम गर्ने, लागत घटाउने र पहुँच विस्तार गर्ने बताए  ।

‘यो दृष्टि एक सूर्य, एक विश्व, एक ग्रिड अवधारणासँग पूर्ण रूपमा मेल खान्छ, जहाँ स्वच्छ ऊर्जा सीमाना नाघेर सहज र दिगो रूपमा प्रवाहित हुन्छ, यस दृष्टिलाई वास्तविकता बदल्न क्षेत्रीय देशहरूले एकीकृत विद्युत् बजारतर्फ अघि बढ्नुपर्छ,’उनले भने ।

प्रकाशित मितिः मङ्गलबार, ११ कात्तिक २०८२
https://jawaaf.com/storage/01K8MPT6NFGRJ16TAFT3NESHC5.jpg

आज पनि घट्यो सुनचाँदीको मूल्य

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य मंगलबार पनि घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा २ हजार ९ सय रुपैयाँले  घटेको हो ।

आज सुन प्रतितोला २ लाख ३७ हजार रुपैयाँ निर्धारण भएको छ । सोमबार सुन २ लाख ३९ हजार ९००  रुपैयाँमा कारोवार भएको थियो ।  

त्यस्तै चाँदीको मूल्य पनि घटेको छ । चाँदी आज प्रतितोला ६० रुपैयाँले घटेको हो । सोमबार २ हजार ९ सय ८० रुपैयाँमा कारोवार भैइरहेको चाँदी आज २ हजार ९ सय २० रुपैयाँमा कारोवार भैइरहेको छ । 

प्रकाशित मितिः मङ्गलबार, ११ कात्तिक २०८२