शुक्रबार, २२ साउन २०८३

/frontend/images/redline.png
https://jawaaf.com/storage/01K8JDGDFYYFXYQ69WYECZQGTN.jpeg

किस्ट अस्पतालमा सुत्केरीको मृत्युपछि अवस्था तनावग्रस्त, भिड नियन्त्रणमा समस्या

काठमाडौं । ललितपुरको इमाडोलस्थित किष्ट शिक्षण अस्पतालको अवस्था तनावग्रस्त भएको छ । उपचारको क्रममा सुत्केरीको मृत्यु भएपछि अवस्था तनावग्रस्त भएको हो । अस्पताल परिसरमा ढुंगामुढासहित तोडफोड गरिँदा केही व्यक्ति घाइते समेत भएका छन् ।

अस्पतालको लापरबाहीले सुत्केरीको मृत्यु भएको भन्दै आफन्तले आज पनि प्रदर्शन गरेपछि अस्पतालमा बाक्लो संख्यामा सुरक्षाकर्मी परिचालन भएका छन् । प्रहरीले अस्पताल घेरेर राखेको छ भने बाहिर ठूलो संख्यामा मृतकका आफन्त र परिवारका सदस्यहरु भेला भएका छन् । 

गत शुक्रबार मीना राईको सुत्केरी गराउने समयमा मृत्यु भएको थियो । अस्पतालको लापरबाहीले गर्भवती महिलाको ज्यान गएको आरोप आफन्तहरुको छ । अस्पताल बन्द गर्नुपर्ने, मीनालाई न्याय दिनुपर्ने लगायतका माग राख्दै उनीहरू ढुंगा बोकेर अस्पतालमा आक्रमण गर्न पुगेका थिए भने प्रहरीलाई भिड नियन्त्रण गर्न समस्या परेको छ ।

प्रकाशित मितिः सोमबार, १० कात्तिक २०८२
https://jawaaf.com/storage/01K8J8EP2EJEF115179B9E6NGC.webp

प्रादेशीक अस्पताल मलंगवामा सरकारी सम्पत्तिको दुरुपयोग प्रकरणमा छानबिन समिति गठन

सर्लाही । प्रादेशीक अस्पताल मलंगवामा सरकारी सम्पत्तिको दुरुपयोग भएको प्रकरणमा छानबिन गर्न समिति गठन भएको छ । सर्लाहीको सदरमुकाम मलंगवास्थित प्रादेशिक अस्पतालमा कार्यरत मेसु (मेडिकल सुपरिन्टेन्डेन्ट) संजीव कुमार सिंहले सरकारी सम्पत्ति निजी प्रयोजनका लागि प्रयोग गरेको भन्ने समाचार सार्वजनिक भएको थियो ।

उक्त समाचार बाहिरिएपछि जिल्ला प्रशासन कार्यालय सर्लाहीले छानबिन समिति गठन गरेको हो । जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी शिव हरी पोखरेलको हस्ताक्षरमा आइतबार जारी पत्रका अनुसार उक्त विषयको सत्यतथ्य पत्ता लगाउन तीन सदस्यीय छानबिन समिति बनाइएको हो ।

समितिको संयोजकमा जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत जय किशोर साह रहेका छन । सदस्यमा जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी निरीक्षक विशाल बहादुर बुढाथोकी र कोष तथा लेखा नियन्त्रण कार्यालय सर्लाहीका लेखापाल रामबाबु यादव रहेका छन् ।

पत्रमा सर्लाही प्रादेशिक अस्पतालमा रहेका सरकारी सम्पत्तिको निजी प्रयोजनमा दुरुपयोग भएको समाचारप्रति प्रशासनको गम्भीर ध्यानाकर्षण भएको उल्लेख छ । समितिलाई तीन दिनभित्र प्रतिवेदन पेश गर्न निर्देशन दिइएको छ ।

जानकारी अनुसार, मेसु सिंह आगामी कार्तिक १७ गते अवकाशमा जान लागेका छन् । उनले सोही अवसर पारेर गत शुक्रबार अस्पतालका लाखौं मूल्यका सरकारी सामग्रीहरू व्यक्तिगत प्रयोजनका लागि घरतर्फ लगेका थिए । ती सामग्री अस्पतालकै सरकारी गाडीमार्फत बिरगञ्जस्थित आफ्नै निवासमा लैजाने कार्य भएको बताइएको छ ।

सिंहमाथि यसअघि पनि अस्पताललाई कमाउने साधनमा रुपान्तरण गरेको बिरामीहरूलाई निजी अस्पतालमा रेफर गरी कमिशन लिने आरोप लाग्दै आएको थियो । साथै, उनले अस्पतालका सरकारी गाडीलाई व्यक्तिगत तथा घरायसी काममा समेत प्रयोग गर्ने गरेको समाचारहरू पनि बाहिर आएका छन् ।

प्रशासनले घटनाको गम्भीरता हेर्दै तीन सदस्यीय समिति मार्फत विस्तृत छानबिन गराई आवश्यक कारबाहीका लागि प्रतिवेदन पेश गर्न निर्देशन दिएको छ ।

प्रकाशित मितिः सोमबार, १० कात्तिक २०८२
https://jawaaf.com/storage/01K8J4K52GQWVNXMMXEEJX93JZ.JPG

मन्त्री सुधा गौतमले रुँदै भनिन् : जेनजी आन्दोलन व्यर्थ नजाओस्

काठमाडौं । नवनियुक्त स्वास्थ्य तथा जनसंख्यामन्त्री डा. सुधा शर्मा गौतमले सोमबार त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल (टिचिङ) अवलोकन गरेकी छन् । उनले अवलोकनको क्रममा जेनजी आन्दोलनमा घाइते भएका व्यक्तिहरूको स्वास्थ्य अवस्थाबारे जानकारी लिएकी हुन् ।

अवलोकनका क्रममा घाइतेहरूसँग भेट्दा मन्त्री गौतम भावुक बनेकी थिइन् । सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले आँसु झार्दै भनिन्, ‘घाइतेहरुलाई हेर्दाखेरी साँच्चिकै गाह्रो भयो । यो आन्दोलन व्यर्थ नजाओस् भन्ने मेरो चाहना छ । जसले सरकारको विरोध गर्नु हुन्छ वा चुनाव भाड्न खोज्नु हुन्छ, त्यो कहिले पनि नगर्नुस्, म अनुरोध गर्न चाहन्छु ।’ 

उनको भावुकता देखेर उपस्थित सबै भावुक भएका थिए ।

प्रकाशित मितिः सोमबार, १० कात्तिक २०८२
https://jawaaf.com/storage/01K8HYZ2DFAC92T8KA25JTSXJR.jpg

प्रभु बैंकको ४ लाखभन्दा बढी संस्थापक शेयर आम सर्वसाधारणका लागि बिक्रीमा

काठमाडौं । प्रभु बैंक लिमिटेडले विभिन्न १० जना संस्थापक शेयरधनीहरुको नाममा रहेको ४ लाखभन्दा बढी संस्थापक शेयर आम सर्वसाधारणका लागि बिक्रीमा राखेको छ ।

बैंकले संस्थापक शेयरधनीहरुको स्वामित्वमा रहेको ४ लाख २२ हजार ८०७ कित्ता संस्थापक शेयर आजदेखि बिक्री खुला गरेको हो । यसअघि बैंकले विद्यमान संस्थापक शेयरधनीका लागि ३५ दिने सूचना प्रकाशित गरी शेयर बिक्रीका लागि प्रस्ताव गरेको थियो । तर सो अवधिभित्र कुनै पनि आवेदन नआएपछि अब यी शेयरहरू आम सर्वसाधारणका लागि खुला गरिएको बैंकले जनाएको छ ।

इच्छुक लगानीकर्ताले नेपाल राष्ट्र बैंकले तोकेको फिट एण्ड टेष्ट मापदण्ड पूरा हुने आवश्यक कागजातहरू सहित सूचना प्रकाशित भएको मितिदेखि १५ दिनभित्र आवेदन दिन सक्ने बताइएको छ । आवेदन बबरमहलस्थित प्रभु बैंकको केन्द्रीय कार्यालयमा बुझाउनुपर्ने उल्लेख छ ।

प्रकाशित मितिः सोमबार, १० कात्तिक २०८२
https://jawaaf.com/storage/01K8G45E6CPD30JY129JBVVR2E.webp

पहिलो त्रैमासमा अन्तर्राष्ट्रिय व्यापार ५ खर्ब नाघ्यो, निर्यात हिस्सेदारी १३.४६ प्रतिशतमा पुग्यो

काठमाडौं । चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो त्रैमास (साउन–असोज) मा नेपालको अन्तर्राष्ट्रिय व्यापार ५ खर्ब ४० अर्ब ८६ करोड रुपैयाँ पुगेको छ । जुन अघिल्लो आर्थिक वर्षको तुलनामा २६.०४ प्रतिशतले बढी हो ।

गत आर्थिक वर्ष २०८१/८२ को यसै अवधिमा ४ खर्ब २९ अर्ब १३ करोड रुपैयाँको मात्र अन्तर्राष्ट्रिय व्यापार भएको भन्सार विभागको तथ्यांकले देखाउँछ ।

असोज मसान्तसम्म ४ खर्ब ६८ अर्ब रुपैयाँ बराबरको वस्तु आयात भएको छ, जुन अघिल्लो वर्षको तुलनामा १९.७९ प्रतिशतले बढी हो । गत वर्ष असोजसम्म ३ खर्ब ९० अर्ब ७५ करोड रुपैयाँको वस्तु आयात भएको थियो ।

त्यस्तै, निर्यात व्यापारमा समेत उल्लेखनीय सुधार देखिएको छ । यस वर्ष असोजसम्म ७२ अर्ब ७८ करोड रुपैयाँ बराबरको वस्तु निर्यात भएको छ । जुन अघिल्लो वर्षको यसै अवधिको तुलनामा ८९.६४ प्रतिशतले बढी हो । गत वर्ष निर्यात ३८ अर्ब ३७ करोड रुपैयाँमा सीमित थियो ।

आयात–निर्यात दुवै बढे पनि निर्यातको उच्च वृद्धि दरका कारण व्यापार घाटाको वृद्धिदर केही नियन्त्रणमा आएको छ । यस वर्ष असोजसम्म ३ खर्ब ९५ अर्ब ३० करोड रुपैयाँ बराबरको व्यापार घाटा भएको छ । जुन अघिल्लो वर्षको तुलनामा १२.१८ प्रतिशतले बढी हो । गत वर्ष यो घाटा ३ खर्ब ५२ अर्ब रुपैयाँ रहेको थियो ।

निर्यातको योगदान बढ्दै

अन्तर्राष्ट्रिय व्यापारमा आयातको हिस्सा ४.९६ प्रतिशतले घटेर ८६.५४ प्रतिशतमा पुगेको छ भने निर्यातको हिस्सा ५०.४७ प्रतिशतले बढेर १३.४६ प्रतिशतमा पुगेको भन्सार विभागले जनाएको छ ।

केवल असोज महिनामा मात्र १ खर्ब ६३ अर्ब रुपैयाँको आयात र २५ अर्ब रुपैयाँको निर्यात भएको विभागले जनाएको छ ।

विश्लेषकहरूका अनुसार चाडबाडको सिजनका कारण उपभोग्य वस्तु, पेट्रोलियम पदार्थ र इलेक्ट्रोनिक सामानहरूको माग बढ्दा आयातमा वृद्धि भएको हो भने कृषिजन्य र उत्पादनमूलक वस्तुको निर्यातले व्यापार सन्तुलनमा आंशिक सुधार ल्याएको छ ।

प्रकाशित मितिः आइतबार, ०९ कात्तिक २०८२
https://jawaaf.com/storage/01K8FK9T1YXKJ5G4CENZRC0HES.jpeg

तिहारपछि सुनको भाउ तोलामा ११ हजार ६ सयले घट्यो

काठमाडौं । तिहारपछि नेपाली बजारमा सुनको भाउ आइतबार घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा ११ हजार ६ सय रुपैयाँले घटेको हो ।

आज सुन प्रतितोला २ लाख ४१ हजार ९ सय रुपैयाँ निर्धारण भएको छ । तिहारअघि कात्तिक ३ गते सुनको भाउ प्रतितोला २ लाख ५३ हजार ५ सय रुपैयाँ थियो । तिहारपछि नेपालमा पहिलो पटक आइतबार मूल्य समायोजन गरिएको हो ।

त्यस्तै चाँदीको भाउ पनि घटेको छ । चाँदी आज प्रतितोला २६५ रुपैयाँ घटेको हो । तिहारअघि चाँदी प्रतितोला ३ हजार २८० रुपैयाँमा कारोबार भएकोमा आज ३ हजार १५ रुपैयाँ कायम भएको छ ।

प्रकाशित मितिः आइतबार, ०९ कात्तिक २०८२
https://jawaaf.com/storage/01K8FBVYPANZCRPKP4YXS7T6DC.jpg

सिँचाइका १२ रुग्ण ठेक्का तोडियो, सडकका थप ४० ठेक्का तोड्ने प्रक्रिया अघि बढ्यो

ठेक्का सम्झौता गरी काम नगरेर वर्षोँदेखि अलपत्र पारिएका सिँचाइतर्फका १२ रुग्ण ठेक्का तोडिएको छ । साविकको जनताको तटबन्ध कार्यक्रम फिल्ड कार्यालय नं २ जलेश्वर महोत्तरी अन्तर्गतका १२ रुग्ण ठेक्का तोडिएको छ । बबई सिँचाइ आयोजनाका ६ रुग्ण ठेक्का तोड्न ३० असोजमा १५ दिने सार्वजनिक सूचना प्रकाशित भइसकेको छ ।

ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकास मन्त्री कुलमान घिसिङले ठेक्का लिने तर काम नगर्ने र आयोजना अलपत्र पार्ने प्रवृत्ति अन्त्यका लागि रुग्ण ठेक्का तोड्न मातहतका निकायलाई निर्देशन दिएका थिए ।  सोही बमोजिम ठेक्का तोड्ने प्रक्रिया अगाडि बढाइएको थियो ।

सिँचाइ तथा जलस्रोत व्यवस्थापन आयोजना, जनकपुरधामले आइतवार सार्वजनिक सूचनामार्फत १६ जेठ २०८१ र १ साउन २०८१मा ठेक्का अन्त्य गर्ने आशयको सूचना दिइएपनि निर्माण व्यवसायीबाट सम्झौता बमोजिम काम सम्पन्न नगरी निर्माण अलपत्र पारेकाले ठेक्का अन्त्य गरिएको जनाएको छ ।

कार्यालयबाट पटक पटकको अनुरोध तथा सार्वजनिक सूचना जारी गर्दासमेत काम गर्न कुनै ध्यान नदिइएको हुँदा सम्झौतामा उल्लिखित प्रावधानअनुसार कार्यसम्पादन जमानत जफत गर्ने कारबाही अगाडि बढिसकेको जनाएको छ । साथै, सार्वजनिक खरिद कानुनको व्यवस्था बमोजिम अन्य आवश्यक कारबाही अगाडि बढाउन हालसम्म गरिएको कामको नापजाँच एवम्  बाँकी कामको मूल्याङ्कन गर्न १५ दिनभित्र सम्पन्न गर्न जानकारी गराइएको छ ।

रद्द गरिएका ठेक्का आर्थिक वर्ष २०६८/६९, २०६९/७०, २०७३/७४ र २०७४/०७५ मा गरिएका थिए ।

सडकका थप ४० ठेक्का तोड्ने प्रक्रिया सुरु

सडक र पुल निर्माणका लागि ठेक्का सम्झौता गरी काम नगरेर वर्षोँदेखि अलपत्र पारिएका थप ४० रुग्ण ठेक्का तोड्ने प्रक्रिया सुरु भएको छ । सडक विभागअन्तर्गत सडक डिभिजन कार्यालय तुम्लिङ्टार, इलाम, हेटौँडा र नेपालगन्जले आइतवार आफू मातहत रुग्ण अवस्थामा रहेका ४० वटा ठेक्का तोड्ने प्रक्रिया अगाडि बढाएका छन् ।

तुम्लिङ्टारले १७, इलामले १२, हेटौंडाले ७ र नेपालगञ्जले ४ ठेक्का गरी ४० ठेक्का ठेक्का किन नतोड्ने ? भन्दै आइतवार सार्वजनिक सूचना जारी गरेका छन् । विभिन्न सडक डिभिजन कार्यालयले यस अघि रुग्ण रहेका ६८ ठेक्का तोड्ने प्रक्रिया अगाडि बढाइसकेका छन् ।

ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकास मन्त्री कुलमान घिसिङले ठेक्का लिने तर काम नगर्ने र आयोजना अलपत्र पार्ने प्रवृत्ति अन्त्यका लागि रुग्ण ठेक्का तोड्न मातहतका निकायलाई निर्देशन दिएका थिए ।

ठेक्का तथा योजनाको पटक-पटक म्याद थप भई तोकिएको अवधिमासमेत निर्माण कार्य सम्पन्न गर्नेतर्फ चासो नदेखाई निर्माण कार्य अधुरो तथा अलपत्र परी निर्माण व्यवसायी लामो समयदेखि कार्यस्थलमा भौतिक रूपमा उपस्थित नभएर आधारभूत  रूपमा ठेक्का उल्लङ्घन गरेको उल्लेख गरिएको छ ।

विभिन्न मितिमा लिखित तथा मौखिक रूपमा कार्य सम्पन्न गर्न अनुरोध तथा जानकारी गराउँदा समेत निर्माण व्यवसायीबाट निर्माण कार्य सम्पन्नतर्फ कुनै चासो नदेखाई ठेक्का सम्झौता उल्लङ्घन  गरिएको जनाइएको छ ।

सूचना प्रकाशित भएको १५ दिनभित्र काम सम्पन्न गर्न सक्ने संशोधित कार्यतालिका, स्रोत साधन परिचालनको भरपर्दो योजना, कार्य सम्पन्न गर्ने प्रतिबद्धता र ठेक्का नतोड्ने कुनै मनासिब कारण भए सत्य-तथ्य प्रमाण राखी स्पष्टीकरणसहित आधिकारिक व्यक्ति कार्यालयमा उपस्थित हुन सार्वजनिक आह्वान गरिएको छ ।

उक्त अवधिमा काम सुरु गर्ने तदारुकता नदेखाएमा सार्वजनिक खरिद कानूनमा भएको व्यवस्था बमोजिम ठेक्का सम्झौता अन्त्य गरी कालो सूचीमा राख्ने तथा कार्यसम्पादन जमानत, धरौटी बापतको रकम, पेस्की जमानत जफत र पेस्की रकमको १० प्रतिशत ब्याज असुल गर्नुको साथै बाँकी काम गर्न लाग्ने खर्च सरकारी बाँकी सरह असुलउपर गर्नेतर्फ कारबाही अगाडि बढाइने उल्लेख गरिएको छ ।

प्रकाशित मितिः आइतबार, ०९ कात्तिक २०८२
https://jawaaf.com/storage/01K8APPQTS5JA2E2GANNB68ZJ7.jpg

बाजुराको अर्गानिक स्याउ बिक्रीबाट १ करोड ५० लाख रुपैयाँ आम्दानी

बाजुरा । बाजुरामा उत्पादन भएको अर्गानिक स्याउ बिक्रीबाट कृषकहरूले एक करोड ५० लाख रुपैयाँ बराबरको आम्दानी गरेका छन्। जिल्लाका स्वामिकार्तिक, हिमाली, जगन्नाथ र बुढिनन्दा गाउँपालिकामा उत्पादित स्याउ बिक्रीबाट सो रकम आम्दानी भएको हो।

अहिले बाजुरामा उत्पादन भएका अर्गानिक स्याउ काठमाडौं, नेपालगन्ज, सुर्खेत र धनगढी जस्ता ठूला शहरका बजारमा सहजै पाइने गरेका छन्। स्थानीय कृषकहरूले आफ्नो बारीमा उत्पादन भएका स्याउ कर्णाली करिडोर हुँदै अन्य जिल्लातर्फ निर्यात गर्दै आएका छन्।

कृषि ज्ञान केन्द्र बाजुराका अनुसार अघिल्लो वर्षको तुलनामा यस वर्ष स्याउ उत्पादन केही घटेको छ। स्याउ भदौ १५ गतेदेखि पाक्न सुरु भएको थियो। कतिपय कृषकहरूले डोकोमा बोकेर स्याउ बिक्री गरे पनि ठूलो परिमाणमा बजारिकरण भएपछि आम्दानी एक करोड रुपैयाँभन्दा बढी पुगेको हो।

सडक अवरुद्धका कारण ढुवानीमा केही समस्या भए पनि पकेका स्याउ समयमै कर्णाली करिडोरमार्फत अन्य जिल्लामा पुगोस् भनेर कृषकहरूले पहल गरेका थिए। “बाटो बन्दले ढुवानीमा कठिनाइ भए पनि अन्ततः बजारमा पुर्‍याउन सफल भयौं,” बुढिनन्दा गाउँपालिकाका स्याउ कृषक पुररावतले बताए।

कृषि ज्ञान केन्द्रका अनुसार पछिल्ला चार वर्षदेखि किसानका बारीमै ढुवानी अनुदानसहित स्याउ जिल्ला बाहिर पठाउने कार्यक्रम सञ्चालन हुँदै आएको छ। हाल बाजुरामा कुल ४२५ हेक्टर क्षेत्रमा स्याउ खेती हुन्छ, जसमा करिब २०० हेक्टर क्षेत्रमा व्यावसायिक रूपमा खेती गरिन्छ। जिल्लामा वार्षिक करिब १ हजार ६ सय मेट्रिक टन स्याउ उत्पादन हुने गरेको केन्द्रले जनाएको छ।

बाजुरामा फुजी, गोल्डेन रेड, डेलिसियस र स्थानीय जातका स्याउ उत्पादन हुने गरेका छन्। हिमाली, स्वामिकार्तिक, जगन्नाथ, बुढिनन्दा, गौमुललगायतका पालिकाहरू प्रमुख स्याउ उत्पादन क्षेत्रका रूपमा चिनिएका छन्। यद्यपि, समयमै ढुवानी नहुँदा प्रत्येक वर्ष केही मात्रामा स्याउ कुहिने समस्या देखिने गरेको कृषि ज्ञान केन्द्र बाजुराले जनाएको छ।

प्रकाशित मितिः शुक्रबार, ०७ कात्तिक २०८२
https://jawaaf.com/storage/01K87TVYFK49MDK2CXEHYXT762.jpeg

फलफूल खेतीमा रमाएको घिमिरे दम्पती

रामेछाप । रामेछाप नगरपालिका–८ बाबियाखर्कका प्रह्लाद घिमिरेका दम्पती अहिले फलफूल खेतीमा रमाएका छन् । 

सरकारी सेवाबाट निवृत्त भएपछि घिमिरेले बाँझो बस्न लागेको आफ्नो जग्गामा विभिन्न जातको फलफूलका बिरुवा लगाएर हराभरा बनाएका छन् । 

घिमिरे दम्पतीले आफ्नो सबै जग्गामा अहिले फलफूल खेती सुरु गरेका छन् । रमणीय बगैँचा बनाएका छन् । 

बगैँचामा केरा, आँप, लिची, जुनार, सुन्तला, निबुवा, आँटी, अम्बा लगायतका बिरुवाहरू लगाएको शान्ता घिमिरेले बताइन् । लगाइएका मध्ये केही बिरुवाले फल दिन लागेका र केही हुर्कने क्रममा रहेका उनले जनकारी दिइन् । 

बिरुवा साना हुँदासम्म बिचमा मकै बाली पनि लगाउने गरेको बताउँदै उनले बिरुवा हुर्किएपछि भने फलफूलको मात्र बगैँचा बनाउने योजना सुनाइन् । 

३ सय ६५ झाङ केरा लगाउँदा दिनको एक घरी केरा पाक्छ भन्ने पुर्खाहरूको भनाइ रहेको बताउँदै सोही अनुसार आफूले ३ सय ६५ झाङ केरा लगाएको प्रह्लाद घिमिरेले बताए । अब कम्तीमा दिनमा एक घरी केरा बिक्री गर्न सकिने उनले सुनाए । अघिल्लो वर्ष लगाएको केरा यस वर्षबाट पसाउन लागेको उनले सुनाए । 

घिमिरेले आफ्नो १५ रोपनी जग्गामा ३ सय बोट आँप, २ सय बोट लिची, निबुवा, कागती, सुन्तला, जुनार, मरीच, ल्वाङका बिरुवा लगाएका छन् । 

त्यस्तै १० रोपनी जमिनमा मर्चमाने, मालभोग, झप्री, घ्यू लगायतका विभिन्न जातका केरा लगाएका छन् । 

वरिपरिका जमिन बाँझै बस्दा घिमिरे दम्पतीले बनाएको यो बगैँचले गरे के हुँदैन भन्ने उदाहरण दिएको छ । मिहिनेत अनुसार बिरुवाहरू राम्रो फस्टाएका उनीहरूले बताए । ‘बिरुवाहरू राम्रो सप्रिएका छन्, यसरी सप्रिएको देख्दा गरे के हुँदैन र भन्ने लागेको छ’, प्रह्लाद घिमिरेले भने ।

प्रकाशित मितिः बिहिबार, ०६ कात्तिक २०८२
https://jawaaf.com/storage/01K85606S21X5W2MWEXQYV23CK.jpeg

सरकारले नेपाली नोटमा नेपाल संवत् उल्लेख गर्ने तयारी

काठमाडौँ । सरकारले नेपाली नोटमा नेपाल संवत् उल्लेख गर्ने तयारी अघिबढाउने भएको छ । बुधवार नेपाल संवत् ११४६ को अवसरमा भक्तपुरको मध्यपुरथिमीमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा प्रधानमन्त्री सुशीला कार्कीले यसबारे जानकारी गराएकी हुन् । उनले सम्बन्धित पक्षसँग परामर्श गरी प्रक्रिया अघि बढाउने प्रतिबद्धता जनाएकीछिन् ।

‘नेपाल राष्ट्र बैँकद्वारा निष्काशन गरिने नोटमा नेपाल संवत् उल्लेख गर्ने विषयमा सम्बन्धित पक्षसँग परामर्श गरी प्रक्रिया अगाडि बढाउने प्रतिबद्धता व्यक्त गर्दछु,’  उनले भनिन ।

नेपाल संवत् लाई नेपाली नोटमा समावेश गराइने शंखधरलाई वि. सं. २०५६ मा राष्ट्रिय विभूति घोषणा गरिएको थियो भने २०६५ कात्तिक ७ गतेदेखि नेपाल संवत् लाई राष्ट्रिय संवत् घोषणा गरिएका थियो । प्रधानमन्त्री कार्कीले साःख्वाको उक्त निर्णय ऋणको भारबाट पीडित जनतालाई मुक्त गर्ने त्यो ऐतिहासिक भएको  बताउँदै सामाजिक एकता, त्याग र मानवीयताको बाटोमा हिँड्न सबैलाई प्रेरणा मिल्ने बताइन् ।

‘आज भन्दा ११४६ वर्षअघि, राजा राघवदेवको शासनकालमा उहाँले गरिबी ऋणमा डुबेका नागरिकहरूको ऋणमोचन गरी ऋणको भारबाट पीडित जनतालाई मुक्त गर्ने ऐतिहासिक निर्णय लिनुभयो । यो दिन नै नेपाल संवत् को शुभारम्भको आधार हो,’ उनले भनिन  ।

प्रकाशित मितिः बुधबार, ०५ कात्तिक २०८२