सर्लाहीमा शंकास्पद विलविजकसहित दुई ट्रक नियन्त्रणमा
सर्लाही । सशस्त्र प्रहरीले सर्लाहीको बरहथवा नगरपालिका – ९, रवि चोक नजिकबाट शंकास्पद विलविजकसहित नास्पाती बोकेका दुई ट्रक नियन्त्रणमा लिएको छ ।
शनिबार सशस्त्र प्रहरी बल नेपालको विशेष अनुगमन टोलीले म.प्र.०३.००२ ख ३६४१ र प्र.१.०१.००१ ख ४४०१ नम्बरका ट्रकमा लोड गरिएको करिब ३२ लाख ८९ हजार रुपैयाँ बराबरको नास्पाती बरामद गरेको हो ।
प्रहरीका अनुसार उक्त नास्पाती भारततर्फ लैजाने तयारीमा रहेको सूचनाका आधारमा निगरानी बढाइएपछि ट्रकहरू पक्राउ गरिएको हो । विलविजक (बिल तथा विजक) शंकास्पद देखिएपछि चालक देव श्रेष्ठ र भिम बहादुर उप्रेतीलाई समेत पक्राउ गरी अनुसन्धान अघि बढाइएको छ ।
पक्राउ परेका व्यक्ति, नास्पाती र ट्रकसहितको सम्पूर्ण सामग्री थप कारबाहीका लागि राजस्व अनुसन्धान कार्यालय पथलैयामा बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ । बरामद दुई ट्रक र नास्पातीसहित वस्तुको कुल भन्सार मूल्य करिब ८२ लाख ८९ हजार रुपैयाँ निर्धारण गरिएको बताइएको छ ।
तिहारको चटारोसँगै जुम्ली मार्सी धान भित्र्याउन किसान व्यस्त
जुम्ला । तिहारको चटारोसँगै अहिले जुम्लाका किसानहरू जुम्ली मार्सी धान काट्न र थन्क्याउन भ्याइनभ्याइ छन् । विश्वकै अग्लो स्थान छुमचौरदेखि जुम्लाका आठवटै स्थानीय तहअन्तर्गतका खेतका लटरम्म फैलिएका फाँटहरूमा प्रख्यात जुम्ली काली मार्सी धान उत्पादन हुने गर्छ । अहिले धान पाक्ने सिजन भएकाले किसानहरू बिहानदेखि साँझसम्म खेतमै व्यस्त देखिन्छन् ।
तर पछिल्ला वर्षहरूमा जुम्ली काली मार्सी धानको उत्पादन घट्दै गएको किसानहरूको गुनासो छ । तापक्रम वृद्धिका कारण अघिल्ला वर्षहरूभन्दा यसपालि धान छिट्टै पाकेपछि किसानहरूले कटान र भित्र्याउने काम अगाडि सारेका छन् । तथ्यांक अनुसार, जुम्ला जिल्लाभर करिब २ हजार ९ सय ५० हेक्टर जमिनमा धानखेती हुने गर्छ । त्यसमध्ये हाल करिब ६ हजार ३ सय ७७ मेट्रिक टनभन्दा बढी धान उत्पादन हुने गरेको कृषि ज्ञान केन्द्र जुम्लाले जनाएको छ ।
डेडिकेटेड ट्रंक लाइन बक्यौता विवादः प्राधिकरणले दिएको समय आज सकिँदै
काठमाडौं । डेडिकेटेड र ट्रंक लाइनको बक्यौता रकम बुझाउन नेपाल विद्युत प्राधिकरणले दिएको पछिल्लो समय आज सकिँदै छ । उद्योगीहरुलाई प्राधिकरणले दिएको किस्ताबन्दी सुविधा अनुसार आज बेलुका सम्म पनि किस्ता बुझाउन नगए प्राधिकरणले उद्योहरुमा लाइन काट्ने सम्मको चेतावनी दिएको छ ।
बक्यौता तिर्न चाहने उद्योगीहरुका लागि प्राधिकरणले २८ महीनाको किस्ताबन्दी सुविधा दिएको छ । यसअघि १२ असोजमा बसेको प्राधिकरण सञ्चालक समितिको बैठकले प्रशासकीय पुनरवलोकनसँग सम्बद्ध सम्पूर्ण कामकारबाही खारेज गर्दै १७ कात्तिकभित्र बक्यौता भुक्तानी गर्न सूचना जारी गरेको थियो ।
तर, प्राधिकरणले फेरि १३ असोजमा अघिल्लो सूचना सच्याउँदै २ कात्तिकभित्र बक्यौता बुझाउन सूचना जारी गरेको थियो । सोहि सुचना अनुसार उद्योगीहरुले बक्यौता तिर्ने समय आज सकिन लागेको हो । यद्यपी, हाल सम्म ९ वटा उद्योगले मात्र किस्ता बुझाएको प्राधिकरणले जनाएको छ ।
प्राधिकरणका कार्यकारी निर्देशक मनोज सिलवालका अनुसार हाल सम्म हामा आइरन एण्ड स्टीलले पहिलो किस्ता बापत २० लाख ९० हजार रुपैयाँ प्राधिकरणलाई बुझाएको छ । लक्ष्मी स्टीलले ८४ लाख ९८ हजार, सर्वोत्तम सिमेन्टले ४० लाख, हुलास स्टीलले ५० लाख ४३ हजार र अशोक स्टीलले ६३ लाख रुपैयाँ बुझाएको छ ।
त्यसैगरी, रोल्पा सिमेन्टले पाँच किस्ता बराबरको १७ लाख ७० हजार रुपैयाँ एकै पटक बुझाएको छ । सम्राट सिमेन्टले तीन किस्ता बापतको ४० लाख ४७ हजार, नवनेपाल पलाष्टिक उद्योगले १ लाख २३ हजार र शुभश्री अग्नी सिमेन्टले ३ लाख ५५ हजार रुपैयाँ किस्ता तिरेको छ । यी उद्योगबाट कुल ३ करोड २२ लाख रुपैयाँ बक्यौताबापतको रकम उठेको उनले बताए ।
केहि उद्योगीहरुले किस्ता बुझाएपनि केहि उद्योगीहरुले भने समस्या समाधान गरिदिन भन्दै शुक्रबार प्रधानमन्त्री सुशिला र्काीलाई भेटेर ध्यानाकर्षण पत्र बुझाएका छन् ।
४ हजार ८ सय रुपैयाँले घट्यो सुनको मूल्य
काठमाडौँ । नेपाली बजारमा आइतबार सुनको मूल्य तोलामा चार हजार ८०० रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार हालसम्मकै उच्च बिन्दुमा कारोबार भएको सुनको मूल्य आज दिन भने घटेर २ लाख ५३ हजार २०० रुपैयाँ कायम भएको हो ।
यसअघि शुक्रबार छापावाल सुन तोलामा २ लाख ५८ हजार रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै शुक्रबार तोलामा ३ हजार ३५० रुपैयाँ कायम भएको चाँदीको मूल्य आइतबार भने घटेर तोलामा ३ हजार २७५ रुपैयाँ कायम भएको छ ।
पूर्वी चीनमा गंगटाबाट राम्रो आम्दानी, मूल्य कति पर्छ ?
एजेन्सी । चीनमा किसानहरुले गंगटा उत्पादनबाट राम्रो आम्दानी लिइरहेका छन् । पूर्व चीनका किसानले रौं भएका गंगटाको प्रशस्त उत्पादन गर्ने गर्छन् । जियाङ्सु प्रान्तको एन्फेङ टाउनका गंगटा किसानहरूले हालको सिजनमा नयाँ उत्पादन भित्र्याइरहेका हुन् ।
गर्मीमा अनुकूल तापक्रमले गंगटाको उत्पादन बढाएको छ तर गत वर्षको तुलनामा मूल्यमा केही कमी आएको छ । एकजना गंगटा किसान झु चुन्जिया भन्छन्,‘अघिल्ला वर्षहरूको तुलनामा यस बर्षको उत्पादन थोरै कम छ । औसत मूल्य प्रतिकिलो लगभग १७ अमेरिकी डलर छ । ठूला आकारको गंगटाको मूल्य प्रति किलो २५ डलरभन्दा बढी हुनसक्छ । तर साना गंगटाको मूल्य १२ डलरभन्दा बढी हुन सक्छ ।’
एन्फेङ टाउनले गँगटा खेतीका लागि ११,००० हेक्टरभन्दा बढी जमिन छुट्याएको छ । जसमा लगभग ३५,००० मानिसहरू यस उद्योगमा कार्यरत छन् । यस वर्ष गँगटा उत्पादन लगभग २०,००० टन हुने अपेक्षा गरिएको छ ।
जियाङ्सु प्रान्तको सिङ्हुआ शहरको एन्फेङ टाउनका उपमेयर जोउ रुमिङ भन्छन्,‘यस क्षेत्रमा २१ वटा नदी गहिरो गहिरो प्रशोधन गर्ने उद्यमहरू र आठ ठूला ई–वाणिज्य कम्पनीहरू छन्, जसको वार्षिक कारोबार मात्रा लगभग १४ करोड अमेरिकी डलर छ ।’
यस वर्ष एन्फेङको गंगटा खेती उत्पादनको मूल्य लगभग २८ करोड अमेरिकी डलर हुने अपेक्षा गरिएको छ । (सीसीटीभीप्लस)
दुई ठुला अन्तरदेशीय प्रसारण लाइन निर्माणको बाटो खुल्यो
काठमाडौं । दुईवटा ठुला नेपाल–भारत अन्तरदेशीय प्रसारण लाइन निर्माणका लागि बाटो खुलेको छ । बिहीवार बेलुका बसेको मन्त्रिपरिषद बैठकले इनरुवा–पूर्णिया ४०० केभी र दोधारा–बरेली ४०० केभी अन्तरदेशीय प्रसारण लाइन निर्माण गर्न ३ अर्ब रुपैयाँ बजेट स्वीकृत गरेसँगै प्रसारण लाइन निर्माणको बाटो खुलेको हो ।
मन्त्रिपरिषदको बैठकले नेपाल विद्युत प्राधिकरण र भारतको पावर ग्रिड कर्पोरेशन अफ इण्डिया लिमिटेडको संयुक्त लगानीमा प्रसारण लाइन निर्माण गर्न नेपाल तथा भारत दुवै भूमिमा दुईवटा संयुक्त कम्पनीहरु स्थापना गर्ने र प्राधिकरणबाट क्रमश एक अर्ब र दुई अर्ब रुपैयाँ बराबरको स्वपुँजी लगानी गर्न अनुमति दिने निर्णय गरेको हो ।
यसअघि गत माघमा नेपाल–भारत सचिवस्तरीय संयुक्त निर्देशक समितिको १२ औं बैठकले यी दुई परियोजना संयुक्त उपक्रममार्फत निर्माण गर्ने निर्णय गरेको थियो ।
यस प्रसारण लाइनमा नेपालतर्फ ५१ प्रतिशत लगानी नेपाल विद्युत् प्राधिकरणको र ४९ प्रतिशत भारतको पावर ग्रीडको रहने निर्णय भएको थियो । भारततर्फ पनि सोही अनुपातमा लगानी हुने र संयुक्त कम्पनी स्थापना कार्य एक महिनाभित्र शुरू गर्ने सहमति भएको थियो ।
इनरुवा–पूर्णिया ४०० केभी प्रसारण लाइनका लागि १ अर्ब रुपैयाँ र दोधारा–बरेली ४०० केभीका लागि २ अर्ब रुपैयाँ स्वपूँजी लगानी गर्ने सरकारको योजना छ ।
ठूला क्षमताका अन्दरदेशीय प्रसारण लाइन निर्माणमा भएको ढिलाइले गर्दा विद्युत निर्यातमा समेत समस्या भएको गुनासोहरु बढेको समयमा सरकारकारल यस्तो निर्णय गरेको हो ।
सरकारले उर्जा विकास मार्गचित्र २०८१ मार्फत सन् २०३५ सम्म २८ हजार ५०० मेगावाट विद्युत उत्पादन गर्ने र त्यसमध्ये १५ हजार मेगावाट निर्यात गर्ने लक्ष्य राखेको छ । साथै सरकारले आगामी १० वर्षभित्र भारतमा १० हजार मेगावाट विद्युत निर्यात गर्ने लक्ष्य समेत राखेको छ ।
कीर्तिपुर क्रिकेट रङ्गशालाका गुरुयोजना स्वीकृत, राष्ट्रिय प्राथमिकता प्राप्त आयोजना निर्धारण
काठमाडौं । सरकारले त्रिभुवन विश्वविद्यालय (त्रिवि) परिसर कीर्तिपुरमा अन्तर्राष्ट्रिय स्तरको क्रिकेट रङ्गशाला निर्माणका लागि गुरुयोजना स्वीकृत गरेको छ । मन्त्रिपरिषद्को बिहीबारको बैठकले शहरी विकास मन्त्रालयको प्रस्तावमा रङ्गशालाको गुरुयोजना स्वीकृत गर्दै आयोजनालाई राष्ट्रिय प्राथमिकता निर्धारण गरेको छ । गुरुयोजना बमोजिम रङ्गशाला निर्माणका लागि करिब १० अर्ब रुपैयाँ लाग्ने अनुमान गरिएको छ ।
ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकास मन्त्री कुलमान घिसिङले रङ्गशाला नेपालकै पहिलो अन्तर्राष्ट्रिय क्रिकेट मैदान भएको र अन्तराष्ट्रिय खेल तथा पर्यटन प्रवर्धनमासमेत यसको योगदान उल्लेखनीय हुने देखिएकाले गुरुयोजना स्वीकृत गर्दै राष्ट्रिय प्राथमिकता प्राप्त आयोजना निर्धारण गरिएको बताए ।
रङ्गशालाको विकास र आधुनीकरण नेपालका लागि रणनीतिक रुपमा महत्वपूर्ण रहेको, अन्तर्राष्ट्रिय खेल खेलाउन सुविधा सम्पन्न क्रिकेट रङ्गशाला चाहिएकाले गुरुयोजना बमोजिम स्रोत सुनिश्चित गरी निर्माण अगाडि बढाउने निर्णय गरिएको मन्त्री घिसिङले उल्लेख गरे ।
घिसिङले राष्ट्रिय प्राथमिकता प्राप्त आयोजनाको रुपमा जग्गा सम्बन्धी सम्झौता, वातावरणीय प्रभाव मूल्याङ्कनलाई अन्तिम रुप दिने र गुरुयोजना बमोजिम रंगशाला विस्तारका लागि दोस्रो चरणको निर्माणका लागि टेण्डर प्रक्रिया अगाडि बढाउन मन्त्रिपरिषद्बाट स्वीकृति प्राप्त भएको बताए ।
केही दिन अघि रङ्गशालाको पहिलो चरणको निर्माण बारे स्थलगत निरीक्षणमा जानु भएका मन्त्री घिसिङले गुरुयोजना वमोजिम भइरहेको निर्माण कार्यलाई राष्ट्रिय प्राथमिकतामा राखी बजेट अभाव हुन नदिने गरी रङ्शाला विस्तारको दोस्रो चरण अगाडि बढाइने बताएका थिए ।
त्रिवि र नेपाल क्रिकेट संघबीचको क्रिकेट मैदान प्रयोग गर्न भएको जग्गा करार सम्झौताको म्याद २०८३ वैशाखमा सकिंदैछ । मन्त्रिपरिषद् बैठकले गुरुयोजना आवश्यक जग्गा प्राप्तिका लागि प्रचलित कानून बमोजिम रङ्गशालाको रुपमा प्रयोग गर्न त्रिवि तथा युवा खेलकुद मन्त्रालय÷ राष्ट्रिय खेलकुद परिषद्बीच सम्झौता गर्न सम्बन्धित निकायलाई निर्देशन दिएको छ ।
हाल रङ्गशालाको पहिलो चरणका संरचना निर्माणाधीन छन् । आगामी १ मङ्सिरबाट सुरु हुने नेपाल प्रिमियर लिग (एनपिएल) भन्दा अगावै रङगशाला निर्माण सम्पन्न गर्ने गरी काम धमाधम भइरहेको छ ।
सुन प्रतितोला २ लाख ५८ हजारमा, नयाँ रेकर्ड कायम - एकैदिनमा ७ हजार १ सयले वृद्धि
काठमाडौं । नेपाली बजारमा शुक्रबार सुनको मूल्य ७ हजार १ सयले बढेर नयाँ रेर्कड कायम गरेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज(शुक्रबार) सुन प्रतितोला २ लाख ५८ हजार कायम भएको छ ।
बिहीबार छापावाल सुनको मूल्य तोलामा २ लाख ५० हजार ९०० रुपैयाँ कायम भएको थियो ।
यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । शुक्रबार चाँदी ७५ रुपैयाँले बढी ३ हजार ३ सय ५० रुपैयाँमा कारोबार भईरहेको छ । बिहीबार चाँदी ३ हजार २ सय ७५ रुपैयाँमा कारोवार भइरहेको थियो ।
जेनजी आन्दोलन क्षति : राहतको आशा, तर बीमा भुक्तानी सुस्त
काठमाडौं । जेनजी आन्दोलनका क्रममा भएका क्षतिको बीमा दाबीमध्ये हालसम्म बीमा कम्पनीहरूले करिब २ अर्ब रुपैयाँ मात्र भुक्तानी गरेका छन् । नेपाल बीमा प्राधिकरणका अनुसार असोज २८ गतेसम्म देशभरका १४ निर्जीवन र ४ लघु बीमा कम्पनीमा ३ हजार १६३ वटा दाबी दर्ता भएका छन् । जसको कुल मूल्य २३ अर्ब १९ करोड रुपैयाँ छ । तर, सो मध्ये ८.४२ प्रतिशत अर्थात् १ अर्ब ९५ करोड रुपैयाँ मात्र अग्रिम वा अन्तिम भुक्तानी भएको छ ।
सरकारले पीडित व्यवसायीलाई राहतस्वरूप ५० प्रतिशत अग्रिम भुक्तानीको व्यवस्था गरे पनि पुनर्बीमा कम्पनीबाट रकम नआएकाले अधिकांश बीमकहरूले भुक्तानीमा ढिलाइ गरेका छन् । सिद्धार्थ प्रिमियर इन्स्योरेन्समा सबैभन्दा बढी ५ अर्ब ४८ करोडको दाबी परेको र त्यसमा ७८ करोड भुक्तानी भएको छ भने दि ओरिएण्टल इन्स्योरेन्सले ५ अर्ब ५४ करोड दाबीमध्ये जम्मा ७१ लाख रुपैयाँ मात्र दिएको छ ।
कुल दाबी रकम पनि पछिल्ला हप्तामा घटेको छ । असोज ९ मा २३ अर्ब ३९ करोडबाट असोज २८ सम्ममा २३ अर्ब १९ करोडमा घटेको । नेपाल बीमा प्राधिकरणले बीमा कम्पनीहरूलाई पेश्कीबापत १ अर्ब ७५ करोड रुपैयाँ उपलब्ध गराएको छ । विज्ञहरूका अनुसार यो घटना नेपालकै इतिहासको सबैभन्दा ठूलो “मास क्लेम” हो र यसले बीमा कम्पनीहरूको भुक्तानी क्षमतामा चुनौती र क्षेत्रको पुनर्संरचना आवश्यकतासमेत देखाएको छ ।
२२ अंकले घट्यो नेप्से, कारोबार रकम पनि घट्यो
काठमाडौं । बुधबार नेप्से परिसूचक लगातार दोस्रो दिन पनि घटेर बन्द भएको छ । यस दिन नेप्से २२.५८ अंकले घट्दै २५०५.५८ विन्दुमा पुगेको हो । आज कुल ३१८ स्टकको ३५,७५० पटकको कारोबारमा ३ अर्ब १० करोड रुपैयाँ बराबरका ७६ लाख ११ हजार कित्ता शेयर किनबेच भएका छन । यसअघि मंगलबार ३ अर्ब ३६ करोड ६१ लाख रुपैयाँभन्दा बढीको ७४ लाख ८८ हजारभन्दा बढी कित्ता शेयर कारोबार भएको थियो ।
यसदिन सेन्सेटिभ इण्डेक्स २.९२ अंकले, फ्लोट इण्डेक्स १.३८ अंकले र सेन्सेटिभ फ्लोट इण्डेक्स १.०५ अंकले घटेका छन् । समता घरेलु लघुवित्तको शेयर मूल्य सर्वाधिक ६.९३ प्रतिशत बढ्दा एनआईसी एशिया ब्यालेन्स्ड फण्ड ५.२३ प्रतिशत बढेको छ । समाज लघुवित्त र विन्ध्यबासिनी हाइड्रोपावरका शेयर भने नकारात्मक सर्किटमा पुगेका छन् ।
कारोबार रकममा नेपाल पुनर्बीमा कम्पनी अग्रस्थानमा रह्यो (२०.५४ करोड रुपैयाँ), त्यसपछि हिमालयन रि इन्स्योरेन्स (१३ करोड) र यूनियन हाइड्रोपावर (करिब १३ करोड) रहेका छन् ।
१३ उपसमूहमध्ये म्युचुअल फण्ड बाहेक १२ उपसमूह घटे, जसमा व्यापार उपसमूह सर्वाधिक २.०९% ले घट्यो । विकास बैंक, वित्त, होटल तथा पर्यटन, जलविद्युत र अन्य उपसमूह पनि १% भन्दा बढीले घटेका छन् ।
