नेपाल टेलिकमकमको सिममा डेटा सकिँदा स्वतः पैसा कट्ने व्यवस्थाको अन्त्य
काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको निर्देशनपछि नेपाल टेलिकमले सेवामा सुधारका काम सुरु गरेको छ । सञ्चारमन्त्री बिक्रम तिमिल्सिनाको निर्देशनपछि अब डेटा प्याक सकिएपछि स्वतः ब्यालेन्स काटिने व्यवस्था हटाइएको छ । प्रयोगकर्ताले डेटा ९० प्रतिशत खपत भएपछि सूचना पाउनेछन् र ‘पे–एज–यू–गो’ विकल्पमार्फत इन्टरनेट चलाउने वा नयाँ प्याक लिने निर्णय गर्न सक्नेछन् ।
नेपाल दूरसञ्चार प्राधिकरणका अनुसार प्रणाली परीक्षणको चरणमा रहेको यो सुविधा छिट्टै पूर्ण रूपमा लागू हुनेछ । यससँगै ‘वान टाइम केवाईसी’, ई–सिम, गुनासो व्यवस्थापनलगायत सेवा अनलाइनमार्फत उपलब्ध गराउने तयारी गरिएको छ । सेवा गुणस्तर सुधार, ग्राहक सेवा सुदृढीकरण र डिजिटल विस्तारलाई प्राथमिकतामा राखिएको मन्त्रालयले जनाएको छ ।
सुनचाँदीको मूल्यमा सामान्य वृद्धि
काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य ४०० रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा ४०० रुपैयाँले बढेको छ ।
आज सुनको मूल्य तोलाको २ लाख ९१ हजार ८०० रुपैयाँ पुगेको छ । हिजो सुनको मूल्य तोलाको २ लाख ९१ हजार ४०० रुपैयाँ रहेको थियो ।
त्यस्तै आज चाँदीको मूल्य ४० रुपैयाँले बढेको छ । चाँदी ४ हजार ८२० रुपैयाँ पुगेको छ । अघिल्लो दिन चाँदीको मूल्य तोलाको ४ हजार ७८० रुपैयाँ रहेको थियो ।
भृकुटी स्टक ब्रोकिङ निलम्बनमा
काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन) ले ब्रोकर नम्बर ५५ अन्तर्गतको भृकुटी स्टक ब्रोकिङ कम्पनीलाई निलम्बन गरेको छ । सोमबार बसेको बोर्ड बैठकले अर्को निर्णय नभएसम्म कम्पनीलाई निलम्बन गर्दै स्पष्टीकरण सोध्ने निर्णय गरेको बोर्डका एक सदस्यले जानकारी दिए ।
हिमालयन रिइन्स्योरेन्स कम्पनीको शेयर बिक्रीबापतको रकम नदिई सोही रकमबाट विवादास्पद व्यवसायी दीपक भट्टलाई सेयर खरिद गराएको, नियामक निर्देशन उल्लंघन गरेको तथा कानुनविपरीत कारोबार गरेको आरोपमा बोर्डले यस्तो कदम चालेको हो । सम्पत्ति शुद्धीकरण विभागको अनुसन्धानमा तेस्रो पक्षका खाताबाट भुक्तानी गरी उधारोमा शेयर कारोबार गराइएको पाइएको छ । यसले विद्यमान नियमअनुसार आवश्यक मार्जिन नलिइएको र वित्तीय जोखिम बढाएको निष्कर्ष निकालिएको छ ।
निलम्बनसँगै कम्पनीले अर्को आदेश नभएसम्म शेयर कारोबार गर्न नपाउने भएको छ भने देशभरका ग्राहकहरू प्रत्यक्ष प्रभावित भएका छन् ।
विशिष्ट पदाधिकारी तथा कर्मचारीको इन्धन सुविधामा कटौती
काठमाडौं । अर्थ मन्त्रालयले सरकारी कर्मचारी तथा पदाधिकारीले पाउँदै आएको इन्धन सुविधामा ब्यापक कटौती गर्ने निर्णय गरेको छ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले इन्धन संकटबाट अर्थतन्त्रलाई जोगाउन इन्धन सुविधा कटौती गर्ने निर्णय स्वीकृत गरेका हुन् ।
अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्यमा भएको भारी वृद्धि, आपूर्तिमा आएको कमी र चालु आर्थिक वर्षमा लक्ष्य अनुसार राजस्व संकलन हुन नसकेका कारण सार्वजनिक खर्चमा मितव्ययिता कायम गर्न यो निर्णय गरिएको मन्त्रालयले जनाएको छ ।
आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन, २०७६ को दफा २० र २४ ले दिएको अधिकार प्रयोग गरी अर्थ मन्त्रालयले ‘कार्य सञ्चालन निर्देशिका, २०८१’ को बुँदा नं.४९ मा रहेका इन्धन सम्बन्धी व्यवस्थाहरू संशोधन गरेको हो । अर्थमन्त्री डा। स्वर्णिम वाग्लेले आज (चैत २३ गते) यो संशोधन स्वीकृत गरेका हुन् ।
उक्त संशोधन अनुसार १२५ लिटर इन्धन पाउँदै आएका सचिव तथा विशिष्ट श्रेणीका पदाधिकारीले अब ७० लिटर पाउने छन् । १०० लिटर इन्धन पाउँदै आएका सहसचिव स्तरका पदाधिकारीहरुले अब ५० लिटर पाउनेछन् । मन्त्री तथा संवैधानिक पदाधिकारी पदाधिकारीले भने प्रचलित कानुन अनुसार नै इन्धन सुविधा पाउनेछन् ।
त्यस्तै केन्द्रीयस्तरका कार्यालयका पुल सवारी साधनहरुका लागि यसअघि उपलब्ध हुँदै आएको इन्धन सुविधा पनि कटौती भएको छ । ३० जनासम्म कर्मचारी भएका कार्यालयले ७५ लिटर पेट्रोल र १०० लिटर डिजेल पाउँदै आएकोमा अब ३५ लिटर पेट्रोल र ५० लिटर डिजेल पाउनेछन् ।
थप ५० जना कर्मचारीका भएका कार्यालयले यसअघि ७५ लिटर पेट्रोल र १०० लिटर डिजल पाउँदै आएकोमा कटौती गरी ३५ लिटर पेट्रोल र ५० लिटर डिजेल उपलब्ध गराइनेछ । त्यसपछिका थप प्रति १०० कर्मचारीका लागि ३५ लिटर पेट्रोल र ५० लिटर डिजल उपलब्ध हुनेछ । यसअघि थप १०० कर्मचारीको लागि ७५ लिटर पेट्रोल र १०० लिटर डिजेल दिइदै आएको थियो ।
त्यस्तै दुई पांग्रे सवारीले यसअघि प्रतिमहिना १२ लिटर पेट्रोल पाउँदै आएकोमा अब प्रतिमहिना ८ लिटर मात्र पाउनेछन् ।
अर्थमन्त्रीको आश्वासनपछि नेप्से परिसूचक ८३ अंकले बढ्यो
काठमाडौं । साताको दोस्रो कारोबार दिन सोमबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक उच्च अंकले बढेर बन्द भएको छ। पछिल्ला दिनमा सम्पत्ति शुद्धीकरणसम्बन्धी अनुसन्धानका क्रममा व्यवसायीहरू पक्राउ पर्न थालेपछि प्यानिक बनेको शेयर बजारमा अर्थमन्त्री स्वर्णिम वाग्लेको आश्वासनपछि सुधार देखिएको हो।
आइतबार १०० अंकभन्दा बढीले घटेको बजारलाई स्थिर बनाउन आज बिहान स्टक ब्रोकर एशोसिएसनका प्रतिनिधिहरूले अर्थमन्त्री वाग्लेलाई भेटेका थिए। भेटका क्रममा उनले सरकार निजी क्षेत्र तथा पूँजीबजारप्रति सकारात्मक रहेको स्पष्ट पार्दै इन्साइडर ट्रेडिङ, म्यानिपुलेसनजस्ता अनैतिक गतिविधिमा संलग्न नभए डराउनुपर्ने अवस्था नरहेको बताएका थिए। यही सन्देशले लगानीकर्तामा विश्वास बढाएको विश्लेषकहरूको भनाइ छ।
सोमबार नेप्से परिसूचक ८३.३३ अंकले बढेर २७६०.०२ विन्दुमा पुगेको छ। सेन्सेटिभ इण्डेक्स १४.३० अंकले उकालो लागेको छ भने फ्लोट इण्डेक्स ६.०१ र सेन्सेटिभ फ्लोट इण्डेक्स ५.०३ अंकले वृद्धि भएको छ।
यद्यपि बजार बढे पनि कारोबार रकम अघिल्लो दिनको तुलनामा घटेको छ । आइतबार १२ अर्ब ३८ करोड रुपैयाँ बराबरको कारोबार भएकोमा सोमबार १० अर्ब ९२ करोड ८५ लाख रुपैयाँमा सीमित रह्यो । यस दिन ३४५ कम्पनीका २ करोड ५१ लाखभन्दा बढी कित्ता शेयर १ लाख २४ हजारभन्दा बढी पटक किनबेच भएका छन् ।
कारोबारका क्रममा ८ कम्पनीका शेयर सकारात्मक सर्किट लेभलमा पुगेका छन् । कारोबार रकमका आधारमा रिलायन्स स्पिनिङ मिल्स शीर्ष स्थानमा रहँदा हिमालयन रि इन्स्योरेन्स र एनआरएन इन्फ्रास्ट्रक्चर क्रमशः दोस्रो र तेस्रो स्थानमा रहे ।
यस दिन सबै १३ उपसमूहका परिसूचक उकालो लागेका छन्। जलविद्युत उपसमूह सबैभन्दा धेरै ४.५९ प्रतिशतले बढ्दा वित्त, बैंकिङ, विकास बैंक, होटल तथा पर्यटन र लगानी समूहमा पनि उल्लेख्य सुधार देखिएको छ ।
अबदेखि शुक्रबार पनि शेयर कारोबार हुने, आइतबार बन्द रहने
काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले अबदेखि शुक्रबार पनि शेयर कारोबार सञ्चालन गर्ने निर्णय गरेको छ । सरकारले पेट्रोलियम पदार्थको खपत घटाउने उद्देश्यले आइतबार सार्वजनिक बिदा दिने निर्णय गरेपछि नेप्सेले आफ्नो कारोबार तालिका परिवर्तन गरेको हो ।
आईतबारको मन्त्रिपरिषद्को निर्णयअनुसार आइतबार सबै सरकारी कार्यालय बन्द रहने व्यवस्था लागू भएपछि नेप्सेले लगानीकर्ताको हित र बजारको सक्रियता कायम राख्न नयाँ तालिका लागू गरेको जनाएको हो । नेप्से सञ्चालक समितिको बैठकले सातामा पाँच दिन कारोबार सुनिश्चित गर्न शुक्रबार बजार खोल्ने निर्णय गरेको हो । अब आइतबार बजार बन्द रहनेछ भने शुक्रबार नियमित रूपमा कारोबार सञ्चालन हुनेछ ।
यसअघि पनि सरकारले २०७९ सालमा शनिबार र आइतबार सार्वजनिक बिदा लागू गर्दा नेप्सेले शुक्रबार कारोबार सञ्चालन गरेको थियो । पछि आइतबारको बिदा हटेपछि नेप्से पुरानै तालिकामा फर्किएको थियो । नयाँ व्यवस्थाअनुसार अब शनिबार र आइतबार बजार बन्द रहनेछ ।
सम्पत्ति शुद्धीकरण अनुसन्धानको प्रभावः नेप्सेमा एकसय अंकको गिरावट
काठमाडौं । साताको पहिलो कारोबार दिन आइतबार शेयर बजारमा ठूलो गिरावट आएको छ । कारोबार सुरु भएदेखिनै ओरालो लागेको नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा उच्च अंकको गिरावट देखिएको हो । अपरान्ह १ः२७ बजेसम्म नेप्से परिसूचक ९७.६१ अंकले घटेर २६८४.४२ विन्दुमा झरेको छ । बजारमा प्यानिक सेल बढेपछि सबै उपसमूहका सूचकहरू राताम्मे भएका छन् । साढे १ बजेसम्मको अवधिमा बजारमा ७ अर्ब ८४ करोड रुपैयाँभन्दा बढीको शेयर किनबेच भएको छ । नेप्सेका अनुसार कारोबारमा आएकामध्ये अधिकांश कम्पनीको शेयर मूल्य घटेको छ । विशेषगरी नारायणी डेभलपमेन्ट बैंक र हिमालयन रिइन्स्योरेन्सको सेयर मूल्यमा १० प्रतिशतको गिरावट आउँदै नेगेटिभ सर्किट लागेको छ । हालै आइपीओ जारी गरेका केही कम्पनीबाहेक अन्य सबैजसो कम्पनीका लगानीकर्ताले गुमाएका छन् ।
बजारमा देखिएको यो उच्च गिरावटको मुख्य कारण सरकारले सम्पत्ति शुद्धीकरणको अनुसन्धानलाई तीव्र बनाउनु रहेको विश्लेषण गरिएको छ । पछिल्लो समय सम्पत्ति शुद्धीकरण विभागले अनुसन्धान प्रक्रिया अघि बढाउँदै केही ‘बिचौलिया’ हरूलाई समेत पक्राउ गर्न थालेपछि ठूला लगानीकर्ताहरू त्रसित बनेका छन् ।
व्यवसायी शंकर अग्रवाल पक्राउ
काठमाडौं । व्यवसायी शंकर अग्रवाल पक्राउ गरेको छ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरोले अग्रवाललाई शुक्रबार पक्राउ गरेको हो ।
अग्रवाललाई सम्पत्ति सुद्धिकरण सम्बन्धी कसुरमा अनुसन्धान गर्न पक्राउ गरिएको व्यूरोले जनाएको छ । अहिले अग्रवाललाई जिल्ला प्रहरी कार्यालय ललितपुरमा राखिएको छ ।
बिहीबारमात्रै व्यवसायी दीपक भट्टलाई पनि ब्यूरोले पक्राउ गरेको थियो ।
आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट लेखन समिति गठन
काठमाडौं । आगामी आर्थिक वर्ष (आव) २०८३/८४ को वार्षिक बजेट तथा कार्यक्रमको तयारीका लागि अर्थ मन्त्रालयले राजस्व व्यवस्थापन महाशाखाका प्रमुख सहसचिव उत्तर कुमार खत्रीको संयोजकत्वमा ‘बजेट लेखन समिति’ गठन गरेको छ । सरकारले बजेट निर्माणको पूर्वसन्ध्यामा माननीय अर्थमन्त्रीज्यूबाट संघीय संसद्मा पेश गरिने बजेट वक्तव्यको मस्यौदा तयार गर्न र बजेटका सिद्धान्त तथा प्राथमिकताहरू निर्धारण गर्न यो समिति बनाएको हो ।
यस समितिलाई आगामी आर्थिक वर्षको नेपाल सरकारको वार्षिक नीति तथा कार्यक्रमका लागि आवश्यक सुझाव उपलब्ध गराउने र कार्यान्वयन गरिने विभिन्न आयोजना तथा कार्यक्रमहरूको प्राथमिकीकरणमा सहजीकरण गर्ने जिम्मेवारी दिइएको छ । यसका साथै, संघीय संसद्को दुवै सदनमा पेश गरिने विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकताको मस्यौदा तयार गर्ने र बजेट वक्तव्यको अन्तिम मस्यौदा पेश गर्ने मुख्य कार्यभार पनि यसै समितिको कार्यक्षेत्रभित्र तोकिएको छ । समितिको संरचनामा अर्थ मन्त्रालयका विभिन्न महत्त्वपूर्ण महाशाखाका प्रमुखहरूलाई सदस्यका रूपमा समावेश गरिएको छ ।
जसमा बजेट तथा कार्यक्रम महाशाखाका प्रमुख डा. सुमन दाहाल, अन्तर्राष्ट्रिय आर्थिक सम्बन्ध महाशाखाका प्रमुख डा. धनीराम शर्मा, आर्थिक नीति विश्लेषण महाशाखाका प्रमुख महेश भट्टराई र वित्तीय संघीयता समन्वय महाशाखाका प्रमुख सेवन्तक पोखरेल रहेका छन् । यो समितिले मुलुकको वर्तमान आर्थिक परिवेश र विकासका लक्ष्यहरूलाई सम्बोधन गर्ने गरी आगामी बजेटको पूर्ण खाका तयार पार्नेछ ।
इन्धनमा भारी वृद्धि : पेट्रोल २०२ र डिजेल १७२ रुपैयाँ पुग्यो
काठमाडौं । अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य निरन्तर बढिरहेपछि नेपाल आयल निगमले इन्धनको मूल्य पुनः समायोजन गरेको छ। मध्यपूर्वमा जारी युद्धका कारण कच्चा तेलको भाउ उकालो लाग्दै गएपछि निगमले मूल्य वृद्धि गर्नुपरेको जनाएको छ ।
निगमका अनुसार निगमले इण्डियन आयल कर्पोरेशनबाट प्राप्त नयाँ खरिद मूल्यका आधारमा स्वचालित मूल्य प्रणालीअनुसार समायोजन गर्न नसक्दा ठूलो घाटा व्यहोर्नुपरेको छ । हालको अवस्थाअनुसार पेट्रोलमा प्रतिलिटर करिब ४७ रुपैयाँ, डिजेलमा १३३ रुपैयाँभन्दा बढी तथा एलपी ग्यासमा प्रति सिलिण्डर ४ सय रुपैयाँभन्दा बढी घाटा रहेको जनाइएको छ । मूल्य समायोजन नगरेमा पाक्षिक रूपमा १३ अर्बभन्दा बढी घाटा हुने अवस्था रहेको निगमले उल्लेख गरेको छ ।
यही परिस्थितिलाई मध्यनजर गर्दै सञ्चालक समितिको चैत १९ गतेको निर्णयअनुसार आजदेखि लागू हुने गरी पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर १५ रुपैयाँले मूल्य वृद्धि गरिएको हो।
नयाँ मूल्यअनुसार काठमाडौं, पोखरा र दिपायलजस्ता तेस्रो वर्गमा पेट्रोलको मूल्य प्रतिलिटर २०२ रुपैयाँ पुगेको छ भने डिजेल र मट्टितेल १८२ रुपैयाँ कायम भएको छ। अन्य वर्गमा पनि सोही अनुपातमा मूल्य समायोजन गरिएको छ।
मूल्य वृद्धि पछि पनि निगमलाई घाटा कायमै रहने जनाएको छ। संशोधित दरअनुसार समेत पेट्रोलमा प्रतिलिटर करिब ३४ रुपैयाँ, डिजेलमा १२० रुपैयाँभन्दा बढी तथा ग्यासमा प्रति सिलिण्डर ४ सय रुपैयाँभन्दा बढी घाटा रहने अनुमान गरिएको छ। यस अनुसार निगमलाई अझै पनि पाक्षिक रूपमा करिब ११ अर्बभन्दा बढी घाटा हुने अवस्था रहेको छ।
निगमले आपूर्ति व्यवस्थापनमा समस्या आउन सक्ने भन्दै समयमै भुक्तानी गर्नुपर्ने दबाब रहेको उल्लेख गर्दै उपभोक्तालाई इन्धनको मितव्ययी प्रयोग गर्न आग्रह गरेको छ।