अब अनलाइनबाटै धितो बन्धकी हुने
काठमाडौं । नेपाल सरकार, भूमि व्यवस्थापन तथा अभिलेख विभागले मालपोत कार्यालयहरूमा अनलाइन धितो बन्धकी प्रणालीलाई अनिवार्य गर्ने भएको छ । सरकारको नतिजामा आधारित शासकीय प्रवन्ध र डिजिटल नेपालको लक्ष्य अनुरूप सेवालाई छिटो, सहज, र बिचौलियामुक्त बनाउन यो कदम चालिएको हो ।
अबदेखि बैंक तथा वित्तीय संस्थाहरूले गर्ने धितो रोक्का तथा फुकुवाका सम्पूर्ण कार्यहरू फेसलेस र समयबद्ध रूपमा डिजिटल प्रणालीमार्फत मात्र सञ्चालन हुनेछन् । विभागले जारी गरेको परिपत्र अनुसार यो व्यवस्थालाई दुई चरणमा कार्यान्वयन गरिनेछ ।
विभागसँग समझदारी पत्रमा हस्ताक्षर गरिसकेका र भू–सेवा केन्द्रको अनुमति लिएका बैंक तथा वित्तीय संस्थाहरूका लागि सरकारले बुधबार देखिनै अनलाइन प्रणाली अनिवार्य गरिसकेको छ । त्यस्तै, हालसम्म अनुमति नलिएका वा प्रक्रियामा रहेका अन्य संस्थाहरूको हकमा भने आवश्यक तयारी पूरा गरी २०८१ जेठ १ गतेदेखि अनिवार्य रूपमा यो प्रणाली लागू गर्न निर्देशन दिइएको छ ।
यो नयाँ व्यवस्था पाम प्रणाली लागू भएका देशभरका सबै मालपोत कार्यालयहरूमा कार्यान्वयन हुने विभागले जनाएको छ । यसबाट सर्वसाधारणले मालपोत कार्यालय धाइरहनुपर्ने झन्झट अन्त्य हुने, सेवामा पारदर्शिता बढ्ने र सुशासन कायम हुने विश्वास लिइएको छ ।
आँखुखोला जलविद्युतको आम्दानी ३१.९४ प्रतिशतले बढ्यो, नाफा ३ करोड ८३ लाख
काठमाडौं । आँखुखोला जलविद्युत कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमास (चैत मसान्त) सम्मको वित्तीय विवरणमा उल्लेख्य सुधार देखाएको छ । कम्पनीले सार्वजनिक गरेको अपरिष्कृत वित्तीय विवरण अनुसार विद्युत बिक्री र खुद नाफा दुवैमा सकारात्मक वृद्धि देखिएको हो ।
विवरण अनुसार समीक्षा अवधिमा कम्पनीले विद्युत बिक्रीबाट १७ करोड २४ लाख रुपैयाँ आम्दानी गरेको छ । यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ३१.९४ प्रतिशतको वृद्धि हो । अघिल्लो वर्षको चैत मसान्तसम्म कम्पनीको यस्तो आम्दानी १३ करोड ७ लाख रुपैयाँ मात्र थियो ।
कम्पनीको खुद नाफामा पनि १३.८२ प्रतिशतको सुधार आएको छ । यस अवधिमा कम्पनीले ३ करोड ८३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । आम्दानीमा भएको वृद्धि र वित्तीय खर्चमा २३.३१ प्रतिशतले आएको कमीले नाफा बढाउन मुख्य भूमिका खेलेको देखिन्छ ।
वित्तीय सूचकहरू तर्फ, कम्पनीको प्रतिशेयर आम्दानी ३१ पैसाले बढेर २ रुपैयाँ ५६ पैसा कायम भएको छ । त्यसैगरी, प्रतिशेयर नेटवर्थ ९२ रुपैयाँ रहेको छ भने मूल्य आम्दानी अनुपात १५७.१४ गुणा देखिएको छ ।
हाल २ अर्ब रुपैयाँ चुक्ता पूँजी रहेको यस कम्पनीको जगेडा कोष (अन्य इक्विटी) भने अझै १५ करोड १५ लाख रुपैयाँ ऋणात्मक रहेको छ । आम्दानी र नाफामा आएको यो सुधारले लगानीकर्ताहरूमा सकारात्मक आशा जगाएको छ ।
नेप्सेले सिडिएससीबाट किन फिर्ता बोलायो प्रविन पन्दाकलाई ?
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले सिडिएस एण्ड क्लियरिङ लिमिटेड (सिडिएससी)को सञ्चालक पदबाट प्रविन पन्दाकलाई फिर्ता बोलाउने निर्णय गरेपछि यस निर्णयको कारणबारे चासो बढेको छ । वैशाख ११ गते बसेको नेप्से सञ्चालक समितिको बैठकले पन्दाकलाई सिडिएससीको सञ्चालकबाट फिर्ता बोलाउने निर्णय गरेको हो । निर्णयअनुसार नेप्सेले सिडिएससीलाई औपचारिक पत्रसमेत पठाइसकेको जनाएको छ ।
नेप्सेको सहायक कम्पनी सिडिएससीमा नेप्सेको तर्फबाट प्रमुख कार्यकारी अधिकृत चूडामणि चापागाईं अध्यक्षका रूपमा रहेका छन् भने पन्दाक सञ्चालकको रूपमा कार्यरत थिइन् । तर, पन्दाक २०८१ पुसमा सिडिएससीको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा चार वर्षका लागि नियुक्त भइसकेकी छन् ।
यही दोहोरो भूमिकाले विवाद सिर्जना गरेको स्रोतहरू बताउँछन् । विशेषगरी संस्थापक र सर्वसाधारण शेयरका लागि फरक–फरक इन्टरनेशनल सेक्युरिटिज आइडेन्टिफिकेशन नम्बर (आईएसआईएन) लागू गर्ने विषयमा नेप्से र सिडिएससीबीच मतभेद बढ्दै गएको थियो । पन्दाकले उक्त व्यवस्थालाई अघि बढाउँदै धितोपत्र अभौतिकीकरण कार्य सञ्चालन निर्देशिका, २०८२ नेपाल धितोपत्र बोर्डमा पेश गरेकी थिइन् ।
तर हालसम्म स्वीकृति नपाएको अवस्था छ । दुई फरक आईएसआईएनको विषयमा देखिएको असहमति र नीतिगत मतभेदनै पन्दाकलाई फिर्ता बोलाउने मुख्य कारण हुनसक्ने जानकारहरूको विश्लेषण छ ।
यसबीच, सिडिएससीमा फिर्ता बोलाउने निर्णयको पत्र पाउँदा पनि पन्दाकले उक्त पत्र बुझ्न अस्वीकार गरेको बताइएको छ । स्रोतका अनुसार उनले आफूमाथि भएको निर्णयलाई ‘अनुचित’ भन्दै कानूनी प्रक्रिया अगाडि बढाउने चेतावनी दिएकी छन् । नेप्सेको यस निर्णयसँगै सिडिएससीको नेतृत्व र नीतिगत दिशाबारे थप अन्योल सिर्जना भएको छ । अब पन्दाकको सीईओ पदमा निरन्तरता रहने वा नहुने भन्ने प्रश्न पनि उठेको छ, जसले पूँजीबजारका सरोकारवालामा थप चासो बढाएको छ ।
नेपाल चिया विकास निगमको सञ्चालन आम्दानी १ अर्ब माथि, आईपीओ निष्कासनको तयारी
काठमाडौं । नेपालको चिया क्षेत्रको प्रतिष्ठित नाम नेपाल चिया विकास निगम लिमिटेडले आर्थिक वर्ष २०२४/२५ मा १ अर्ब ९ करोड ४० लाख रुपैयाँ बराबरको सञ्चालन आम्दानी गरेको छ । अघिल्लो आर्थिक वर्षको तुलनामा कम्पनीको आम्दानीमा सुधार देखिएको छ । कम्पनीले अघिल्लो वर्ष ९७ करोड ३० लाख रुपैयाँको मात्रै कारोबार गरेको थियो ।
यसअघि कम्पनीले सन् २०२२ मा कम्पनीले १ अर्ब १ करोड ३० लाख र सन् २०२१ मा १ अर्ब ८ करोड ८० लाख रुपैयाँ बराबरको कारोबार गरेको थियो । रेटिङ एजेन्सी इक्रा नेपालका अनुसार यस वर्ष कम्पनीको कर पछिको खुद नाफा कुल आम्दानीको ५.९ प्रतिशत रहेको छ भने सञ्चालन नाफा १०.४ प्रतिशत कायम भएको छ, जसले चिया बजारमा यस कम्पनीको बलियो उपस्थितिलाई दर्शाउँछ ।
पछिल्लो समय कम्पनीको वित्तीय स्वास्थ्य निकै सबल र सुरक्षित देखिएको छ भने अब सर्वसाधारणका लागि प्राथमिक शेयर (आईपीओ) निष्कासन गर्ने योजना अघि सारेको छ । इक्रा नेपालको पछिल्लो तथ्याङ्क अनुसार कम्पनीको ऋण भार शून्यको अवस्थामा पुगेको छ, जसले निगम लगभग ऋणमुक्त रहेको र वित्तीय रूपमा निकै मजबुत भएको संकेत गर्दछ ।
त्यस्तै, कम्पनीको चालू अनुपात ४.३ गुणा रहनुले यसको अल्पकालीन दायित्व भुक्तानी गर्ने क्षमता र तरलता अवस्था निकै उत्कृष्ट रहेको पुष्टि गर्दछ, जसले भविष्यमा थप विस्तारका लागि ठोस आधार प्रदान गरेको छ । नेपाल चिया विकास निगम लिमिटेडले सन् १९७४ मा सरकारी संस्थानको रूपमा स्थापना भई सन् २००० देखि निजी क्षेत्रको त्रिवेणी समूहको व्यवस्थापनमा आफ्नो व्यावसायिक यात्रालाई सफल बनाउँदै आएको छ । हाल यस कम्पनीमा संघाई परिवारको नेतृत्व रहेको त्रिवेणी समूहको ६५ प्रतिशत बहुमत शेयर छ भने बाँकी स्वामित्व नेपाल सरकारका विभिन्न मन्त्रालय र राष्ट्रिय योजना आयोगको रहेको छ । देशको अग्रणी चिया उत्पादकको रूपमा रहेको यस कम्पनीको केन्द्रीय कार्यालय काठमाडौंमा अवस्थित छ ।
कम्पनीले पूर्वी नेपालका सातवटा विशाल चिया बगानहरू मार्फत चिया खेती र प्रशोधन कार्य सञ्चालन गर्दै आएको छ । कुल १,६१७ हेक्टर उपलब्ध क्षेत्रफल मध्ये करिब १,०८७ हेक्टरमा चिया खेती फैलिएको छ । कम्पनीले आफ्नो उत्पादनलाई टोकला ब्रान्ड अन्तर्गत स्वदेशी तथा अन्तर्राष्ट्रिय बजारमा बिक्री वितरण गर्दै आएको छ, जसले उपभोक्ता माझ चियाको गुणस्तर र स्वादका लागि छुट्टै पहिचान बनाएको छ ।
आर्थिक वर्ष २०२५ मा कम्पनीको कुल आम्दानीको करिब ८० प्रतिशत हिस्सा प्याकेज गरिएको चिया बिक्रीबाट प्राप्त भएको छ, जसको ९९ प्रतिशत खपत स्वदेशी बजारमै हुने गरेको छ । निर्याततर्फ भने ब्रान्ड नभएका चियाको हिस्सा बढी रहेको छ, जसले अन्तर्राष्ट्रिय बजारमा नेपालको अर्थोडक्स चियाको पहिचानलाई सघाएको छ ।
वित्तीय दृष्टिकोणले निगमको अवस्था पछिल्ला वर्षहरूमा थप सुदृढ हुँदै गएको छ । विगत पाँच वर्षदेखि ऋणको भार निरन्तर घट्दै गएको छ भने पुँजीकरण र कभरेज सूचकहरू स्वास्थ्यकर रहेका छन् । प्रस्तावित आईपीओबाट संकलन हुने रकमलाई कम्पनीले आफ्नो नयाँ योजना र पुँजीगत खर्चमा उपयोग गर्ने लक्ष्य राखेको छ, जसले ऋणमाथिको निर्भरतालाई कम गर्नेछ । कम्पनीसँग हाल करिब २७ करोड ८० लाख रुपैयाँ बराबरको कार्यशील पुँजी सञ्चालन गर्ने पर्याप्त क्षमता रहेको छ, जसले व्यावसायिक विस्तारमा सहयोग पु¥याउनेछ ।
सबल वित्तीय अवस्थाका बाबजुद कम्पनीले केही गम्भीर चुनौतीहरूको सामना गरिरहेको छ । स्वदेशी र आयातित ब्रान्डहरूबीचको तीव्र प्रतिस्पर्धाका कारण कम्पनीले उत्पादन लागत अनुसार मूल्य बढाउन सकेको छैन, जसले गर्दा कोभिड समय (सन् २०२१) को तुलनामा नाफाको दरमा केही गिरावट आएको छ ।
साथै, चिया खेती पूर्ण रूपमा मौसममा आधारित हुने भएकाले जलवायु परिवर्तनको जोखिम, अन्तर्राष्ट्रिय व्यापार नीतिमा हुने फेरबदल र श्रमिक उपलब्धता जस्ता बाह्य कारकहरू कम्पनीको भविष्यको कार्यसम्पादनका लागि मुख्य चुनौतीका रूपमा रहने देखिएका छन् ।
यातायात व्यवसायीद्वारा ६० प्रतिशत कर छुट निरन्तरताको माग
काठमाडौं । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले यातायात क्षेत्रलाई दिइँदै आएको ६० प्रतिशत कर छुट निरन्तर कार्यान्वयन गर्न सरकारसँग माग गरेको छ । महासंघले यातायात व्यवस्था विभागलाई पत्र पठाउँदै विगतमा भएको निर्णय कार्यान्वयनमा ढिलाइ भएको भन्दै गम्भीर ध्यानाकर्षण गराएको हो ।
महासंघका अनुसार २०७६ सालमा भएको निर्णयअनुसार यातायात व्यवसायीलाई वार्षिक कर, रुट परमिट तथा जाँचपासमा ६० प्रतिशत छुट दिने सहमति भएको थियो । उक्त निर्णयलाई आधार मानी लामो समयसम्म कार्यान्वयन हुँदै आएको भए पनि संघीय संरचना कार्यान्वयनमा आएपछि विभिन्न प्रदेशमा यसको कार्यान्वयनमा असमानता देखिएको महासंघको भनाइ छ । पत्रमा उल्लेख गरिएअनुसार संविधान लागू भएपछि यातायात क्षेत्रको अधिकार प्रदेश र स्थानीय तहमा हस्तान्तरण गरिएको छ । त्यसपछि केही प्रदेशमा छुटको दर घटाएर ४५ प्रतिशतसम्म पु¥याइएको तथा अन्य प्रदेशमा फरक–फरक व्यवस्था लागू गरिएको भन्दै व्यवसायीहरू अन्योलमा परेका छन् ।
महासंघले संघीय सरकार, प्रदेश सरकार तथा सम्बन्धित निकायलाई पटक–पटक ध्यानाकर्षण गराउँदा पनि हालसम्म स्पष्ट निर्णय नआएको गुनासो गरेको छ । यसका कारण व्यवसायीहरूले पाउनुपर्ने कर छुट प्रभावकारी रूपमा कार्यान्वयन हुन नसकेको जनाएको छ । महासंघले कानुनी रूपमा स्पष्ट व्यवस्था गरी देशभर एकरूप रूपमा ६० प्रतिशत छुट लागू गर्न आग्रह गरेको छ । साथै, यस विषयमा आवश्यक छलफल गर्न आफूहरू तयार रहेको पनि जनाएको छ ।
महासचिव टेकनाथ गौतमद्वारा हस्ताक्षरित उक्त पत्रमा यातायात व्यवसायीको समस्या समाधानका लागि शीघ्र पहल गर्न सम्बन्धित निकायलाई अनुरोध गरिएको छ ।
नेप्सेमा झिनो गिरावट, कारोबार रकम भने पौने ८ अर्ब माथि
काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक बुधबार सामान्य अंकले घटेर बन्द भएको छ । पछिल्लो दुई कारोबार दिनदेखि घटिरहेको बजारले बुधबार पनि सोही लयलाई निरन्तरता दिएको हो।
बुधबार नेप्से परिसूचक २.९५ अंकले घटेर २८०४.१७ विन्दुमा झरेको छ । नेप्से घटे पनि सेन्सेटिभ इण्डेक्स भने ०.६५ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.३२ अंकले बढेको छ भने फ्लोट इण्डेक्स स्थिर रहेको छ ।
परिसूचकमा सामान्य गिरावट आएपनि कारोबार रकममा भने उल्लेख्य सुधार देखिएको छ । मंगलबार ५ अर्ब ७७ करोड रुपैयाँको शेयर कारोबार भएकोमा बुधबार ३४२ कम्पनीको १ करोड ७५ लाख ८८ हजार कित्ता शेयर ७ अर्ब ८१ करोड ३९ लाख ४७ हजार रुपैयाँमा खरिदबिक्री भएको छ। यस दिन कुल १ लाख २१ हजार ४३३ पटक कारोबार भएको थियो ।
आज बजार घटे पनि तीनवटा कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । पाल्पा सिमेन्ट इण्डष्ट्रीज, सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिक र शिखर पावर डेभलपमेन्टको शेयर मूल्य १० प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको हो। यस्तै, झापा इनर्जीको शेयर मूल्य १४ प्रतिशत र गणपति लघुवित्तको मूल्य ९ प्रतिशतले बढेको छ ।
यता, होटल फरेष्ट इनको शेयर मूल्य भने १०.७५ प्रतिशतले घटेर सर्वाधिक गुमाउने कम्पनीको सूचीमा परेको छ ।
यसदिन कारोबार रकमका आधारमा नेशनल हाइड्रोपावर कम्पनी शीर्ष स्थानमा रहेको छ। यस कम्पनीको ४१ करोड ३४ लाख रुपैयाँ बराबरको शेयर कारोबार भयो। त्यस्तै, रिलायन्स स्पिनिङ्ग मिल्सको साढे ३२ करोड र सोलु हाइड्रोपावरको साढे ३१ करोड रुपैयाँभन्दा बढीको शेयर किनबेच भएको छ ।
यसदिन कारोबारमा आएका १३ उपसमूहमध्ये ५ वटाको परिसूचक बढेको छ भने ८ वटाको घटेको छ। बैंकिङ्ग, वित्त, लगानी, उत्पादन तथा प्रशोधन र निर्जीवन बीमा उपसमूहमा सामान्य वृद्धि देखिएको छ। होटल तथा पर्यटन उपसमूह भने सर्वाधिक २.३६ प्रतिशतले घटेको छ भने व्यापार उपसमूह १ प्रतिशतभन्दा बढीले ओरालो लागेको छ।
३ करोडभन्दा माथिको घरजग्गा कारोबार अब इजाजत प्राप्त कम्पनीमार्फत मात्रै गर्नुपर्ने
काठमाडौं । भूमि सुधार तथा मालपोत कार्यालय डिल्लीबजारले महानगरपालिका र उपमहानगरपालिका क्षेत्रभित्र हुने ३ करोड रुपैयाँभन्दा बढीको घरजग्गा कारोबारका लागि नयाँ नियम सार्वजनिक गरेको छ । भूमि व्यवस्थापन तथा अभिलेख विभागको निर्देशन अनुसार अब वैशाख ८ गतेदेखि ३ करोडभन्दा माथिको थैली अङ्क भएको घरजग्गा खरिद–बिक्री गर्दा अनिवार्य रूपमा इजाजत प्राप्त एजेन्सी वा कम्पनीमार्फत मात्र गर्नुपर्नेछ । यो व्यवस्थाले ठूला कारोबारलाई सरकारी निगरानी र कानुनी दायरामा ल्याउने लक्ष्य राखेको छ ।
यो नयाँ व्यवस्था मालपोत ऐन, २०३४ को दफा २६क. र नेपाल सरकारले २०८२ असोज २७ मा राजपत्रमा प्रकाशित गरेको सूचनाको आधारमा कार्यान्वयनमा ल्याइएको हो । महानगर र उपमहानगरभित्रका प्राकृतिक वा कानुनी व्यक्तिहरूबीच हुने उच्च मूल्यका कारोबारहरूमा पारदर्शिता कायम गर्न सरकारले यस्तो कदम चालेको हो । यसअघि व्यक्तिगत रूपमा हुँदै आएका ठूला कारोबारहरू अब तोकिएको कानुनी प्रक्रिया र इजाजत प्राप्त संस्थाहरूको संलग्नता बिना मालपोत कार्यालयबाट पारित हुने छैनन् ।
सरकारी सूचना अनुसार इजाजत पत्र प्राप्त गरेका आधिकारिक कम्पनीहरूको सूची विभागको वेबसाइटमा उपलब्ध गराइएको छ । सरोकारवालाहरूलाई वैशाख ८ गतेदेखि नै यो नियम पालना गर्न र सूचीकृत कम्पनीहरू मार्फत मात्र लिखित प्रक्रिया अघि बढाउन कार्यालयले सूचित गरेको छ । यो नियमको पालनाले घरजग्गा कारोबारमा हुन सक्ने ठगी नियन्त्रण गर्न र राजस्व प्रणालीलाई थप व्यवस्थित बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
‘ट्रान्जिट’ मात्रै बन्यो इलाम बजार, स्थानीय सरकारप्रति उठ्यो प्रश्न
इलाम । पहाडकी रानी चियाबारीको खानी उपमा पाएको इलाम । कुनै समय यस्तो थियो, जब इलाम बजार प्रवेश गर्दा लाग्थ्यो यो एउटा ऐतिहासिक सहर हो । चियाबारीको हरियालीसँगै मिसिएर आउने यहाँको व्यापारिक रौनक, माईस्थान मन्दिरमा बज्ने घन्टी र बजारका पूराना काठे घरका झ्यालबाट देखिने मानिसहरूको चहलपहलले जो कोहीलाई मन्त्रमुग्ध बनाउँथ्यो ।
तर, आज तिनै चोक र गल्लीहरूमा पुग्दा सन्नाटा बाहेक केही भेटिँदैन । इलाम सदरमुकाम इलाम बजार यतिबेला केवल एक प्रशासकीय केन्द्रमा खुम्चिएको छ । यहाँको व्यापार र पर्यटनले संकटको सामना गरिरहेको छ ।
इलाम बजार अहिले रित्तिँदै गएको छ । बजारका अधिकांश घरहरू खाली बन्दै गएका छन् । शिक्षा र स्वास्थ्यको खोजीमा होस् वा अवसरको खोजीमा, इलाम बजार छाड्नेहरू धमाधम बिर्तामोड, दमक, इटहरी र काठमाडौँतर्फ बसाइँ सरिरहेका छन् ।
स्थानीय एक व्यापारी मन्दिरा घिमिरे भन्छिन्, ‘मान्छे नभएको बजारमा कस्तो रौनक हुन्छ ? साँझ पर्दा बजारमा कुकुर भुकेको सुनिन्छ, तर मान्छेको आवतजावत देखिँदैन ।’ घिमिरेले भनिन् इलाम भनेर घुम्न आउनेहरु कन्याम, अन्तु, फिक्कल, पशुपतिनगर घुमेर फर्किन्छन् । इलाम सदरमुकाम आइ नै पुग्दैन्न ।
इलामको पर्यटन अहिले चियाबारी र केही निश्चित पर्यटकीय गाउँमा मात्र सीमित भएको छ । सदरमुकामको बजार क्षेत्रलाई पर्यटकले ‘बस्ने गन्तव्य’ भन्दा पनि ‘बाटोमा पर्ने एक सुस्ताउने बिन्दु’ मात्र मान्न थालेका छन् ।
यसको प्रमुख कारण हो व्यवस्थित पर्यटकीय पूर्वाधारको अभाव हो । इलाम बजारमा कुनैपनि व्यवस्थित रुपमा पर्याप्त पार्किङ छैन । साँघुरो सडकमा मोटरसाइकल र साना गाडीहरूलाई सामान्य पार्किङ सुबिधा भएपनि पर्यटकहरु ठुला गाडि लिएर घुम्न आउँछन् तर पार्किङ गर्नै समस्यामा पर्छन । पर्यटनका नाममा करोडौँका योजना सुनिन्छन्, तर धरातलमा ती योजनाहरूले न त पर्यटकलाई रोक्न सकेका छन्, न त स्थानीय व्यवसायीको जीवनस्तर माथि उठाउन सकेका छन् ।
इलाम बजारको यो दुरावस्थामा इलाम नगरपालिकाको भूमिकालाई लिएर सर्वत्र आलोचना भइरहेको छ । होटल ब्यबसायी संघ इलामका अध्यक्ष देवि पौडेलले भने, ‘हामीले विकास भनेको सडक फराकिलो बनाउनु मात्र होइन, बजारको सौन्दर्य र यहाँको सांस्कृतिकपन जोगाउनु पनि हो भन्ने बुझ्न सकेनौँ र स्थानीय सरकारले पनि बुझ्न सकेन,’ इलाम बजारको यो सन्नाटा चिर्न अब परम्परागत शैलीको विकासले काम गर्दैन । अब इलाम बजारले आफ्नो ‘मोडल’ बदल्नुपर्छ,’ पौडेलले भने,‘पूराना घरहरूको जीर्णोद्वार गरी तिनलाई होम–स्टे वा हस्तकला पसलमा परिणत गर्ने ।
साँझको समयमा स्थानीय खाना र संगीतसहितको गतिविधिले बजारमा रौनक ल्याउने भएकाले त्यसलाई संचालनमा ल्याउनुपर्ने र बजारलाई वरिपरिका पर्यटकीय गाउँहरू जोड्ने एउटा ‘हब’का रूपमा विकास गरी पर्यटकलाई कम्तीमा दुई रात बजारमै बिताउने वातावरण बनाउनु पर्नेछ ।’
इलाम बजार कुनै समय गौरवमय इतिहास बोकेको सहर हो । तर, आज सहर अस्तित्वको लडाइँ लडिरहेको छ । यदि बेलैमा सरोकारवालाहरूको ध्यान नपुग्ने हो भने, भविष्यका पुस्ताले इलाम बजारलाई केवल किताबको पानामा मात्र खोज्नुपर्ने दिन आउन सक्छ ।
नेप्सेमा दोहोरो अंकको गिरावट, होटल र पर्यटन बाहेक सबै उपसमूह घटे
काठमाडौं । साताको दोस्रो कारोबार दिन मंगलबार पनि धितोपत्र बजारमा गिरावट आएको छ। अघिल्लो दिन सोमबार घटेर बन्द भएको नेप्से परिसूचकले यस दिन पनि सोही लयलाई निरन्तरता दिँदै १७.९१ अंकले घटेर २८०७.३१ विन्दुमा झरेको छ। नेप्से परिसूचकसँगै सेन्सेटिभ इण्डेक्स ३.०७ अंक, फ्लोट इण्डेक्स १.११ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स पनि १.०१ अंकले ओरालो लागेका छन्।
बजारमा आएको यो गिरावटले लगानीकर्तामा केही दबाब सृजना गरेको देखिएको छ। परिसूचक घटे पनि कारोबार रकममा भने अघिल्लो दिनको तुलनामा सामान्य वृद्धि भएको छ। सोमबार ५ अर्ब ४३ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएकोमा मंगलबार ३४७ कम्पनीका १ करोड ३० लाख १९ हजार कित्ता शेयर ५ अर्ब ७७ करोड ४३ लाख १७ हजार रुपैयाँमा खरिदबिक्री भएका छन्। कारोबार रकमका आधारमा सोलु हाइड्रोपावर ३७ करोड ७ लाख रुपैयाँसहित अग्रस्थानमा रह्यो भने रिलायन्स स्पिनिङ्ग मिल्सको ३० करोड र नेशनल हाइड्रोपावरको साढे २३ करोड रुपैयाँभन्दा बढीको शेयर कारोबार भएको छ।
बजार ओरालो लागे पनि सूर्यकुण्ड हाइड्रो, पाल्पा सिमेन्ट र शिखर पावर डेभलपमेन्टको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ। त्यस्तै, कर्पोरेट डेभलपमेन्ट बैंकको मूल्य करिब १५ प्रतिशतले बढ्दा दोल्ती पावरका लगानीकर्ताले भने सर्वाधिक ८.७१ प्रतिशत गुमाएका छन्।
समूहगत रूपमा हेर्दा १३ उपसमूहमध्ये होटल तथा पर्यटन उपसमूह मात्र १.१६ प्रतिशतले बढेको छ भने बाँकी १२ वटा उपसमूहका परिसूचक घटेका छन्, जसमा अन्य, जलविद्युत र वित्त उपसमूहमा १ प्रतिशतभन्दा बढीको गिरावट देखिएको छ।
नौ महिनामा साढे १० अर्बको अलैँची निर्यात
काठमाडौं । चालु आर्थिक वर्ष (आव) २०८२/८३ को नौ महिना अर्थात चैत सम्म नेपालबाट साढे १० अर्ब रुपैयाँ भन्दा धेरैको अलैँची निर्यात भएको छ । भन्सार विभागको तथ्यांक अनुसार चैत मसान्त सम्म नेपालले १० अर्ब ७० करोड रुपैयाँको ५ हजार २ सय ९५ मेट्रिक टन अलैँची निर्यात गरेको हो ।
गत आवको सोहि अवधिमा नेपालले ६ अर्ब २६ करोड रुपैयाँको ३ हजार ४४४ मेट्रिक टन मात्रै अलैँची निर्यात गरेको थियो ।